कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी जोगाऔं सहकारी

लघुवित्त संस्थाले सदस्यलाई ऋणी होइन, व्यवसायी बन्न प्रेरित गर्नुपर्छ ।
ज्योतिचन्द्र ओझा

वित्तीय पहुँच अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका नेपालका सहकारी संस्थासहितका लघुवित्त कार्यक्रमका विषयमा अचेल थुप्रै गुनासा, असन्तुष्टि र प्रश्न उठ्न थालेका छन् । ब्याजदर धेरै भएका, शुल्कहरू पारदर्शी र ग्राहकमैत्री नभएका, ऋण असुलीमा असहिष्णुता अपनाएका, एउटै सदस्यलार्ई धेरै लघुवित्त संस्थाले लगानी गरी क्षमताभन्दा बढी ऋणको भारी बोकाएका, ऋणको बोझले पारिवारिक कलह र विघटन निम्त्याएका, थातथलो छोडेर हिँड्नुपरेका मात्र होइन आत्महत्यासम्म गर्नुपरेका उदाहरणहरू देखिएका छन् । 

यसरी जोगाऔं सहकारी

लघुवित्तमा देखिएका विसंगति, कमीकमजोरी सुधार गर्नु अहिलेको टड्कारो आवश्यकता हो । यसका लागि लघुवित्त संस्था र सदस्य दुवैले सजगता अपनाउनुपर्छ । लघुवित्त संस्थाले सदस्यलाई ऋणी होइन, व्यवसायी बन्न प्रेरित गर्नुपर्छ । नेपालका लघुवित्त संस्थाहरूले बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर डा. मोहम्मद युनुसद्वारा प्रतिपादित एवं बंगलादेशसहित धेरै देशमा सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘ग्रामीण बैंकिङ’ पद्धति अपनाएका छन् । यस मोडलमा महिला सदस्यलाई ऋण दिनुअघि एक हप्ताको समूह प्रवेश तालिम दिनुपर्छ ।

उक्त तालिममा लघुवित्त संस्थाको उद्देश्य, संस्थाबाट प्रदान गरिने सेवा र ती सेवा सञ्चालनको तरिका एवं ग्राहक सदस्यको काम, अनुशासन र जिम्मेवारी सम्बन्धमा अवगत र अभ्यस्त गराउनुपर्छ । साथै फजुल खर्च नियन्त्रण, सरसफाइ, बचत, बिमा, कर्जा, ब्याजदर, कर्जा सदुपयोगिता, कर्जा भुक्तानी आदिबारे प्रशिक्षण दिई सदस्यहरूलाई समूहमा आबद्ध गराई बचत तथा ऋणको कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

कुन सदस्यलाई कुन व्यवसायका लागि कति ऋण दिने; उसको सीप, अनुभव, ज्ञान कस्तो छ; पूर्वाधार, व्यवसायका पूरक सेवाको उपलब्ध कत्तिको छ आदिबारे अध्ययन गरी समूहले लघुवित्त संस्थामा सिफारिस गर्नुपर्छ । लघुवित्त संस्थाले समूहको सिफारिसपछि स्थलगत अध्ययन गरी उपयुक्त देखेमा ऋण प्रवाह गर्छन् । त्यसपछि पनि समयसमयमा ऋणको सदुपयोगिताको निरीक्षण र अनुगमन गरिरहनुपर्छ । लघुवित्त सञ्चालनका यी अति महत्त्वपूर्ण विषयलाई ती संस्थाहरूले कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । यी पूर्वाधारहरूको बेवास्ता गर्दै सदस्यहरूलाई ऋण लिनयोग्य बनाउने तयारीका अत्यावश्यक चरण पार नगरी ऋण दिँदा खुड्किला फड्केर भर्‍याङ चढ्दा हुने दुर्घटनाजस्तै समस्या देखिएका हुन् ।

हाल लघुवित्त वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वार्षिक ब्याजदर १५ प्रतिशत मात्र लिन सक्ने व्यवस्था छ, जुन विश्वमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संस्थाले लिने कम ब्याजदरमध्ये पर्छ । केही लघुवित्त संस्थाद्वारा आफ्ना कर्मचारीलाई सदस्य र ऋण वृद्घिको अत्यधिक लक्ष्य दिई उनीहरूको वृत्ति विकासमा त्यसलाई आबद्घ गराउनाले एउटै सदस्यमा धेरै संस्थाले लगानी गरेका छन् । सदस्यको क्षमता र गर्न लागेको व्यवसायको आवश्यकता हेरी ठिक्क मात्रामा ऋण दिनुपर्छ । ऋण थोरै भएमा आँटेको व्यवसाय गर्न रकम पुग्दैन र धेरै भएमा अनुत्पादक क्षेत्रमा खर्च हुन सक्छ ।

सदस्यले कर्जा मागेको व्यवसायको सम्भाव्यता अध्ययन गरेर मात्र लगानी गर्ने, लगानीपश्चात् कर्जाको सदुपयोग भए–नभएको निगरानी गर्ने, ऋणीले किस्ता तिर्दा आफ्नै व्यवसायको आम्दानीबाट तिरेको छ कि अन्य संस्थासँग ऋण लिएर वा सरसापटबाट तिरेको छ भन्ने कुरा लगानी गर्ने संस्थाले बुझ्नुपर्छ । लघुवित्त संस्थाका लगानीकर्ताले यो एउटा सामाजिक व्यवसाय हो, यसबाट छोटो समयमा धेरै मुनाफा आर्जन हुन सक्दैन भन्ने वास्तविकतालाई आत्मसात् गर्न जरुरी छ । मुनाफामा मात्र केन्द्रित भई लघुवित्तको मर्म अनुसार वित्तीय साक्षरता लगायतका अन्य आवश्यकता पूरा नगरी ऋण दिन छोटो बाटो अवलम्बन गर्दा हाल लघुवित्त कार्यक्रममा विकृति–विसंगतिहरू देखिएको स्वयं लघुवित्तकर्मीहरूले नै स्वीकार गरेका छन् ।

लघुवित्तका कर्मचारीहरू लघुवित्तका लक्षित वर्गबारे र कार्यक्रम सञ्चालन गर्ने तौरतरिकाबारे प्रशिक्षित नहुँदा पनि धेरै समस्या देखा परेका छन् । यी समस्या समाधान गर्नका लागि नेपाल राष्ट्र बैंकले कर्मचारी क्षमता अभिवृद्घिका लागि संस्थाहरूलाई प्रेरित गर्न नीतिगत व्यवस्था गरेको छ । तर यसका लागि लघुवित्तहरू आफैं अग्रसर हुनुपर्छ । सञ्चालकले आफ्नो संस्थाको उद्देश्यपूर्तिका लागि कस्तो ज्ञान, सीप क्षमता भएको जनशक्ति चाहिन्छ भन्ने विचार गर्नुपर्छ र सो अनुसारको प्रबन्ध गर्नुपर्छ ।

ऋण लिने सदस्यहरूले पनि सजग भएर कारोबार गर्नुपर्छ । आफूले लिएको रकम आफूजस्तै मानिसहरूले बचत गरेका हुन्, तिनले मागेको बखत बैंकले फिर्ता गर्नुपर्छ, तसर्थ लिएको ऋण सदुपयोग गरेर समयमा तिर्नुपर्छ भन्ने भावना हुनुपर्छ । ऋण तिर्नुपर्छ भन्ने भावनाले मानिसलाई जाँगरिलो र आय आर्जनपट्टि लगनशील बनाउँछ । कुनै नकारात्मक प्रतिक्रियाको पछि लागेर आफ्नो वित्तीय अनुशासनलाई बिग्रन दिनु हुँदैन ।

लघुवित्तका कमीकमजोरी सुधार गर्न सबै सरोकारवाला सक्रिय हुनुपर्छ । सरकार, केन्द्रीय बैंक, यसमा संलग्न संस्था र अग्रजहरूको ठूलो मिहिनेत र योगदानबाट निर्मित गरिबले बिनाधितो घरदैलोमा ऋण पाउने यो वित्तीय प्रणालीलाई खलबल्याउनु भनेको देश र समाजप्रतिको धोका हो । यो प्रणालीमा प्रतिकूल असर परेमा यसबाट सबैभन्दा पीडित विपन्नवर्ग नै हुन्छ । तसर्थ लघुवित्तमा हाल देखिएका कमीकमजोरी हटाई यसलाई गरिबी निवारण र रोजगारी सृजनाको प्रभावकारी माध्यमका रूपमा अगाडि बढाउन सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिका हुन्छ ।

लघुवित्त कार्यक्रमलाई हाम्रो समाजको पीँधमा रहेको अत्यन्त गरिब र पिछडिएको वर्गसम्म पुर्‍याउनु पनि चुनौतीपूर्ण छ । यस्तो वर्गलाई ऋण मात्र दिएर हुँदैन, सीप, प्रविधि, बजार, बिमा लगायतका पूरक सेवाहरूसहितको समष्टिगत प्याकेजका रूपमा सेवा दिनुपर्छ । लघुवित्तको राम्रो अभ्यास भएको बंगलादेशमा बाटाबाटामा भीख माग्नेहरूलाई पनि कर्जा कार्यक्रममा आबद्घ गराइएको छ । हाम्रो देशमा नाफामूलक कम् पनीका रूपमा चलेका लघुवित्त संस्थाहरूबाट यो स्तरको सेवाको अपेक्षा गर्न सकिएला ?

लघुवित्तमा हाल देखिएका समस्याको प्रमुख कारकमध्ये एउटा हो— ग्राहक सदस्यहरूको संस्थाप्रति अपनत्व कम हुनु । यसका लागि ग्राहकहरूलाई नै संस्थाको मालिक बनाउनुपर्छ । लघुवित्त संस्थाका अधिकांश सेयरको स्वामित्व ग्राहकलाई दिई संस्थाका बहुमत सञ्चालक ग्राहकहरूबाटै प्रतिनिधित्व हुने नीतिगत प्रबन्ध गरेमा लघुवित्तका धेरै समस्या समाधान हुन सक्छन् ।

-ओझा आरएमडीसी लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रकाशित : कार्तिक ७, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?