१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्रवाहमा बगेको जीवन

उपलब्धिहरूको थुप्रो, मानसम्मानको चाङ, नामसँग जोडिएका विशेषणहरूको लाम एवं पदवी र पदकहरूको रासले जुनसुकै व्यक्तिलाई दम्भको चुचुरोमा पुर्‍याउन सक्दछ । तर सत्यमोहन जोशी आफूसँग ज्ञानको भण्डार र अनुभवको खात पनि भएकाले बकुमबहाः निवासको धरातल तथा ललितपुरका सांस्कृतिक जराहरूसँग सधैं जोडिएर बसे ।
सीके लाल

प्राणपखेरु उडेपछि पार्थिव शरीरको आ–आफ्नो परम्परा अनुसार अन्तिम संस्कार गर्ने चलन छ । लासलाई माटामा गाड्ने प्रचलन सम्भवतः सबभन्दा व्यापक हो ।

प्रवाहमा बगेको जीवन

पारसी समुदायको लोपोन्मुख प्रथामा निष्प्राण देहलाई मौनताको स्तम्भ (टावर आफ साइलेन्स) माथि पुर्‍याएर मांसाहारी पक्षीहरूको आहारका लागि समर्पण गर्ने गरिन्छ । संन्यासी सम्प्रदाय एवं त्यस्तै अन्य केही अपवादबाहेक हिन्दु धर्मका शाक्त, शैव वा वैष्णवजस्ता सबैजसो भँगालाहरूमा भने पञ्चतत्त्वबाट बनेको शरीरलाई दाहसंस्कारमार्फत पञ्चतत्त्वमै विलीन गराउने प्रथा छ । रीति रिवाजहरूसँग असहमत हुनु एउटा कुरा हो, तर सबै किसिमका परम्पराहरूको आ–आफ्नै इतिहास छ । तिनलाई समसामयिक तथ्यमा आधारित तर्कहरूको बलमा प्रतिरक्षा वा खारेज गर्न मिल्दैन । धर्म र परम्परा गुम्सिएको पोखरी नभएर कलकल बगेर आफ्नो स्वच्छता कायम राख्न सक्ने नदी हो भने अध्यात्मवादी आस्था राख्नेहरू नवप्रवर्तनबाट हच्किँदैनन् । तिनको प्रयत्नले परम्पराहरू परिष्कृत हुँदै जान्छन् ।

सत्यमोहन जोशी (सन् १९१९–२०२२) संस्कृति एवं परम्पराका अध्येता थिए, त्यसैले उनलाई जीवन्त रीतिथितिको गतिशीलतामा पूरा विश्वास थियो । मृत्युपश्चात् पार्थिव देह उपयोगी ठहरियोस् भन्ने उद्देश्यले गरिएको निर्णय अनुसार उनको शरीर शिक्षण अस्पताललाई बुझाइएको थियो । तर, रूढिका दृश्य एवं अदृश्य बेडीहरू अनेक हुन्छन् । परम्परासँग विद्रोह गरे पनि लोकसम्मतिबाट ऊर्जा प्राप्त गर्ने परिपाटीलाई भने जोशी परिवारले परित्याग गर्न सकेन । ऐतिहासिक चिनो ठहरिन सक्ने शताब्दी पुरुषको चिनाको दाहसंस्कार गरेर उनका उत्तराधिकारीहरू आफ्ना सामाजिक दायित्व निर्वाह गर्न बाध्य भए । दिवंगतको परिवारका बाध्यताहरू बुझ्न सकिन्छ । समाजमा बस्नुपर्नेहरूले सहजै सामाजिक परिपाटी उल्लंघन गर्न सक्दैनन् । तर, शताब्दी पुरुषको महाप्रस्थानमा ‘शोक मनाउन’ एक दिन बिदा दिने नेपाल सरकारको निर्णय भने श्राद्धमा बिरोलो बाँध्ने कथाभन्दा पनि उदेकलाग्दो छ । आफू जिउँदै छँदा आफ्नो देहत्यागपछि नेपाल सरकारले एक दिन बिदा दिने प्रस्ताव सुनेका भए संस्कृतिविद्को पहिचान बनाएका शताब्दी पुरुष फिस्स हाँस्थे होलान् । जन्म, कर्म र देहावसानको चक्रलाई बुझेको व्यक्तिका लागि जीवनको एउटा खास मुकामपछि मृत्यु प्रतीक्षाको घडी हुने गर्दछ किनभने कालले मात्र मुक्तिको द्वार खोल्न सक्दछ ।

सामान्य व्यक्तिको जीवन निरन्तर आ–आफ्नो चाहना पछ्याउँदैमा बित्छ । अन्न, जल, वायु, बास एवं कामेच्छाजस्ता आधारभूत आवश्यकतासँगसँगै सन्तुष्टिको तृष्णाले धेरैजसोलाई सधैं व्याकुल बनाइराख्ने रहेछ । बचपनमा वात्सल्यको छहारी खोजिन्छ । किशोरावस्थामा साथीहरूको साहचर्य प्रमुख आवश्यकता बन्न पुग्दछ । तारुण्यले छोएपछि कामेच्छाले डोर्‍याउन थाल्दछ । वयस्क भएपछि सामाजिक मूल्य र मान्यताले निर्धारित गरेका सफलताका धन, पद, सम्मान एवं नामजस्ता मानकहरूका पछाडि कुद्ने प्रतिस्पर्धा सुरु हुन्छ । विरासतको चिन्ताले पिरोल्न थाल्यो भने उत्पादक वयबाट ज्येष्ठताको चरणमा प्रवेश गरिसकेको बुझे हुन्छ । बुढेसकालले छुन थालेपछि भने आफ्नै स्वास्थ्यको चिन्ताले पिरोल्छ । त्यसपछिको अवस्था अवश्यम्भावी ‘काल कुर्ने’ हो । उमेर समूह भने स्थान र समय अनुसार फरक–फरक हुन सक्दछ । औसत आयु एवं सामान्य स्वास्थ्य सेवाको स्तर बढ्दै गएपछि पश्चिमा समाजमा ‘अहिलेको ७० उहिलेको ५०’ भन्ने ‘वयस्क–युवा’ उद्घोष लोकप्रिय हुँदै गएको छ । आजभोलि नेपालमै पनि ‘भयो साठी, हातमा लाठी’ व्यहोराको लोकोक्ति उत्ति साह्रो सुनिँदैन । काल कुर्ने अवधिको समाप्तिलाई मृत्यु–उत्सवका रूपमा मनाउने प्रचलन भने धेरै संस्कृतिमा छ । अस्पतालको शय्याबाट उठ्न असमर्थ भए पनि सायद शताब्दी पुरुषले आफ्नो मृत्युलाई मनमनै अँगालो हालेर स्वागत गरेका थिए होलान् । सन्त कबीरको प्रसिद्ध पंक्ति छ— ‘आया है सो जायेगा≤ राजा, रंक, फकिर / एक सिंहासन चढी चले, एक बँधे जात जंजीर ।’ सिंहासन नै नभए पनि पुष्पशय्या त शताब्दी पुरुषको महाप्रस्थानका लागि महाकालद्वारा पक्कै पनि पठाइएको थियो होला, तर उनले भने यमदूतसँग पनि हिँडेरै जाने जिद्दी कसे होलान् !

झन्डै एक दशकअगाडिसम्म, फुटपाथ मासिँदै गएको मोटरहरूको सहरमा उनि जताततै हिँडेरै पुग्ने गर्दथे । केही वर्षअगाडि वामपन्थी विश्लेषक श्याम श्रेष्ठ एक बिहान कीर्तिपुरमा पैदल–कर्म (मर्निङ वाक) गर्दै थिए । त्यति बेलासम्म सायद संस्कृतिविद्लाई शताब्दी पुरुष घोषणा गरिसकिएको थिएन । सदाझैं लबेदा–सुरुवाल र टोपीमा सज्जिएका सत्यमोहन जोशीलाई आदरपूर्वक अभिवादन गरेर श्यामले सोधे अरे, ‘एकाबिहानै यता कता ?’ उनको त्यस बखतको जवाफले तुलनात्मक रूपले कनिष्ठ विश्लेषकलाई अहिलेसम्म अचम्मित तुल्याउन छोडेको छैन । उमेरको नवौं दशक पार गरिसकेका संस्कृतिविद् ललितपुरको आफ्नो निवासबाट स्वयं चान्सलर (कुलपति) रहेको कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीको कार्यालयसम्म सधैंजसो हिँडेरै पुग्ने रहेछन् ! सन् १९९० को दशकताका शताब्दी पुरुषको हिँडाइ पनि गज्जबको हुने गर्दथ्यो । गन्तव्यतिर लागेका पदयात्रीहरू हतारमा हुन्छन् । हडबड गर्दै एकसुरमा लम्किरहेका हुन्छन् । तिनलाई देख्दा लाग्दछ, पाइला त तिनका हुन्, तर बाटाको मालिक समय हो । उद्देश्यहीन सयर गरिरहेका पैतालाहरू पनि अनाकर्षक देखिन्छन् । तिनमा गति त हुन्छ, तर लय हुँदैन । बाध्यताले चालेका पाइलाहरूमा अदृश्य नेल ठोकिएको जस्तो लाग्दछ । जुन काम गरिरहेको हो, आफ्नो जन्म नै त्यही कर्मका लागि भएको हो भने आत्मानुभूति हुनेहरू हिँडिरहेको देख्दा लाग्दछ, मानौं बाटो, समय र व्यक्तिबीचको तादात्म्य स्वयं प्रकृतिले नै मिलाइदिएको छ । हिँडाइमा देखिने गति, लय एवं संवेगबीचको सन्तुलन शताब्दी पुरुषको जीवनवृत्तिमा पनि देख्न सकिन्छ ।

सामाजिक प्रतिमान

शताब्दी पुरुष समसामयिक नेपाली समाजका सम्भवतः सबभन्दा कम विवादित व्यक्तित्व हुन् । साहित्यकारको रचनात्मकता, मौलिकता एवं पठनीयतामा प्रश्न उठाइन्छ । कलाकारको विलक्षणता निरन्तर परीक्षणमा हुन्छ । गायक, संगीतकार, नाटककार, सिनेकर्मी एवं प्रस्तोताहरूको क्षमताको मूल्यांकन त सामान्य श्रोता, दर्शक एवं अवलोकनकर्ताहरूले पनि गरिरहेकै हुन्छन् । समाजसेवीहरूको उद्देश्य, विधि एवं योगदानबारे आलोचनात्मक दृष्टिकोण राख्नेहरूको कहिल्यै कमी हुँदैन । राजनीतिकर्मीहरू त सबैका सहज रिस पोख्ने मुक्का झोला (पन्चिङ ब्याग) भइहाल्ने नै भए । शताब्दी पुरुषको सबभन्दा ठूलो उपलब्धि अपेक्षाकृत स्वस्थ रहेर लामो जीवन बिताउनु मात्र थिएन । लामो आयु पाउनुमा आनुवंशिक तत्त्व ‘डीएनए’ को ठूलो भूमिका हुन्छ भन्ने कुरा शरीर विज्ञानका ज्ञाताहरूले पनि स्वीकार गर्न थालेका छन् । तीन–तीन पटक मदन पुरस्कार पाउनुमा उनका कृतिहरूसँगसँगै प्रारम्भिक अवस्थामा मदन पुरस्कार गुठीले आफ्नो सान्दर्भिकता स्थापना गर्न खोजेको चाहनाको पनि केही न केही भूमिका रहेको हुन सक्दछ । शताब्दी पुरुषको सबभन्दा ठूलो सफलता भनेको निरन्तर चर्चामा रहेर पनि अरूको कुरा काट्न रुचाउने नेपाली समाजमा सार्वजनिक आलोचनाबाट लगभग मुक्त रहन सक्नुमा थियो । प्रसिद्धिले आलोचना निम्त्याउँछ भन्ने सार्वजनिक जीवनको प्रचलित नियमका असाध्यै थोरै अपवादहरूमध्ये सत्यमोहन जोशी पनि थिए । उनको हिँडाइजस्तै जीवनयात्रालाई नियाल्दा एउटा पुरानो हिन्दी गीतका प्रारम्भिक पंक्तिहरू कानमा गुन्जिन थाल्दछन्— ‘जीवन चलने का नाम, चलते रहो सुबह–ओ–शाम / के रस्ता कट जाएगा, मितरा / के बादल छट जाएगा, मितरा’ । संयुक्त राष्ट्रसंघका दिवंगत महासचिव ड्याग ह्यामरस्क्जोंल्डको प्रख्यात अभिव्यक्तिलाई पदान्तरण गरेर भन्ने हो भने, आफ्नो जीवनयात्राको गोरेटो शताब्दी पुरुषले स्वयं कोर्ने प्रयत्न गरेनन्, बरु प्रारब्धले उपलब्ध गराएका बाटाहरूमा तन्मय भएर हिँड्दै गए र कोसेढुंगा ठड्याउँदै गए ।

राणाकालमा ‘इन्डस्ट्रियल सर्भे अफिसर’ अर्थात् औद्योगिक सर्वेक्षण अधिकारी भएर खटिएका थिए । सुनिएका लोकगीतहरूलाई संगृहीत गरेर लोकसंस्कृतिका संरक्षक कहलिए । पुरातत्त्व विभागमा के पुगेका थिए, लुम्बिनी र तिलौराकोटतिरको उत्खननले उनको इतिहासप्रतिको लगाव स्थापित भयो । कुनै गाग्रीमा थन्क्याएर राखिएका पुराना मुद्राहरूको अभिलेखीकरण गरेर इतिहासका जानकार भए । हुलाक टिकट संग्रह गर्ने सोखले कलाप्रेमी बनायो । उत्तरतिर बेइजिङ गएका थिए चिनियाँहरूलाई नेपाली भाषा पढाउन, फर्किंदा भृकुटी एवं अरनिको सम्बन्धी ज्ञानका अग्रदूत भएर आए । खसहरूको उत्पत्तिलाई जुम्ली संस्कृतिसँग जोड्ने तत्कालीन सत्ताको उपक्रमसँग प्रज्ञा प्रतिष्ठानको जागिरमार्फत जोडिन पुगेपछि कर्णाली लोकसंस्कृतिका ज्ञाता र प्रस्तोता भए । मनको बह पोख्नका लागि मातृभाषाभन्दा उत्तम अर्को कुनै माध्यम हुँदैन । त्यसले गर्दा उनी नेपाल भाषाका लेखक पनि भए । जीवन संयोगहरूको सँगालो हो अनि लामो र सक्रिय जीवनले धेरै संयोगलाई एक ठाउँमा एकत्रित हुनका लागि पात्र तयार गर्दछ । शताब्दी पुरुषलाई बहुविद् (पालीमैथ) अकारण भनिएको होइन । जुनसुकै भूमिकामा उनी रमेका देखिन्छन् । शेक्सपियरको बहुउद्धृत ‘जीवन एउटा कथा हो / कुनै सिल्लीले सुनाएको / हल्ला र क्रोधले लबालब / अर्थ र संकेतविहीन’ पंक्तिले सकी–नसकी धारसँग बग्न सक्नेले मात्र पार पाउने बाध्यतालाई भने दर्साउँछ ।

साधारण रहने निरन्तर प्रयत्नले सत्यमोहन जोशीलाई असाधारण बनायो । पाटनको प्रतिष्ठित ज्योतिषी परिवारका व्यक्ति थिए । प्रयत्न र प्रारब्धबीचको अन्तरसम्बन्धलाई उनले अन्तर्ज्ञानका रूपमा विरासतमा पाएका थिए कि ? सामाजिक स्वीकार्यताको परिधिबाहिर हतपत निस्किन नचाहने उनको प्रवृत्ति भने सहजै बुझ्न सकिन्थ्यो । विवादबाट शताब्दी पुरुषलाई जोगाएको उनको उल्लेख्य अनुकूलन क्षमताले पनि हो । सामाजिक स्वीकृतिका मापकहरूमा ‘आपरूप भोजन, पररूप शृंगार’ मान्यताको ठूलो भूमिका छ । सार्वजनिक जीवनमा उनी लबेदा–सुरुवाल र टोपी सम्मिलित औपचारिक परिधानबाहेकको पोसाकमा सायदै देखिन्थे । घरमा सुकुल वा राडी र कार्यालयमा मेच रुचाउने कार्यक्रमहरूमा सम्मानका साथ कौचमा बसाइँदा उनको असहजता महसुस गर्न कठिन हुँदैनथ्यो । उपलब्धिहरूको थुप्रो, मान र सम्मानको चाङ, नामसँग जोडिएका विशेषणहरूको लाम एवं पदवी र पदकहरूको रासले जुनसुकै व्यक्तिलाई पनि दम्भको चुचुरामा पुर्‍याउन सक्दछ । तर आफूसँग ज्ञानको भण्डार र अनुभवको खात पनि भएकाले उनी बकुमबहाः निवासको धरातल तथा ललितपुरका सांस्कृतिक जराहरूसँग सधैं जोडिएर बसे । विनम्रताको तेजले उनका सम्मानहरूलाई अझ बढी चम्किलो बनाउँदै गयो । सत्यमोहन जोशीलाई सम्मानित गरेर सम्मान आर्जन गर्न चाहने व्यक्ति र संस्थाहरूलाई समेत उनी नाइँ भन्न सक्दैनथे ।

धारका विरुद्ध पौडी खेल्न जान्नेहरू विद्रोह गरेर नयाँ सामाजिक मूल्य र मान्यता स्थापित गर्दछन् । प्रतिरोधको सत्ता कालान्तरमा मूलधारको प्रवाहलाई आफूअनुकूल मोड्न पनि सफल हुन्छ । धारसँग निष्क्रिय बग्नेहरू जतिसुकै सफल भए पनि सामान्य जीवन बिताउन अभिशप्त हुन्छन । सम्भवतः सबभन्दा कठिन कर्म निरपेक्ष सक्रियताका साथ मूलधारको बहावलाई सौम्य तुल्याउने यत्नमा स्वयं पनि बग्दै जानु हो । त्यस्ता व्यक्तित्वहरूले इतिहास न बनाउँछन् न त लेख्छन् नै, बरु सामाजिक प्रतिमानको पात्र भएर सार्वजनिक स्मृतिमा लामो कालसम्म जीवित रहन्छन् ।

राजनीतिक अनुरूपता

अंग्रेजी भाषामा ‘कन्फार्मिज्म’ शब्दले परिवर्तनविरोधी मानसिकतालाई जनाउँछ । अनुकूलनीयता (अडाप्टबिलिटी) को क्षमताले प्राणीको बाँच्न सक्ने सम्भावनालाई बढाउँछ भने स्थापित सामाजिक व्यवस्था, राजनीतिक प्रणाली, आर्थिक सम्बन्ध तथा सांस्कृतिक प्रचलनहरूलाई अद्यावधिक एवं न्यायसंगत तुल्याउन संघर्ष गर्नुको साटो यथावत् स्वीकार गर्ने अनुरूपता (कन्फार्मिटी) प्रवृत्तिले परम्परागत समाजलाई अझ बढी जड बनाउछ । ज्ञानीहरू भने समाज परिवर्तनलाई कालो र सेतोमा नछुट्याई खैरो रंगको सूक्ष्मान्तरमा खेल्न रुचाउँछन् । परिस्थितिजन्य बाध्यता एवं सांस्कृतिक परिवेशले गर्दा सत्यमोहन जोशीले राणाहरूको जागिर खाए, प्रजातान्त्रिक सरकारका प्रियपात्र भए, शाहहरूका सांस्कृतिक नवरत्नमा दरिए, गणतान्त्रिक राष्ट्रिय गानका छनोट समितिमा सामेल भए र नकारात्मक छाप नलागेको राष्ट्रवादी छवि कहिल्यै भत्किन दिएनन् । सत्तासँग अनुरूपताको उनको निरन्तरता स्वतः स्पष्ट छ । तर उनी त्यति सहजै बुझ्न सकिने सपाट व्यक्ति होइनन् । समाजमा प्रचलित आम राय, स्वीकृत विचार, लोकप्रिय भावना एवं स्थापित कार्यसूचीसँग सहमत हुँदाहुँदै पनि उनी आफ्ना विपरीत सम्पर्कहरूलाई निर्जीव हुन दिँदैनथे ।

नागरिक अधिकारकर्मी एवं नेवाः आन्दोलनका अभियन्ताले शताब्दी पुरुषलाई समुदायको अभिभावक ठहर्‍याएका छन् । उनका कर्महरूमा वर्गीयताको चासो खासै प्रतिविम्बित हुँदैन, तर श्याम श्रेष्ठको मूल्याङ्कनमा उनलाई ‘वामपन्थी सोच’ भएको व्यक्ति भन्न मिल्छ । वर्चस्ववादी खस–आर्य अभियन्ताहरूका लागि त उनी भित्ते प्रचारपत्रमा छाप्न मिल्ने नेवाः पोस्टर व्यक्तित्व हुने भइहाले, तीन–तीन पटक मदन पुरस्कार ग्रहण गर्नलायकका एक मात्र व्यक्ति जो थिए ! उनी त्यति मात्र भने कदापि थिएनन् । मधेशीहरूसँग समभाव देखाउन खोज्दथे । दलित उत्पीडनप्रति संवेदनशीलता दर्साउँथे । युवाका लागि अवसर, नारीका लागि अधिकार तथा ज्येष्ठ नागरिकको सम्मानबारे चासो देखाउँथे । आध्यात्मिक थिए, तर धार्मिक कट्टरता देखिँदैनथ्यो ।

उनी स्वशासनका अभिलाषी (अस्पाइरिङ) नेवाः समुदायको सामूहिक ‘नेवाः दे दबुः’ संस्थाका संस्थापकहरूमध्ये एक थिए । त्यसभन्दा पनि पुरानो तर सार्वजनिक चर्चाबाट हराउँदै गएको ‘च्वसा पासाः’ सँग सम्बद्ध थिए । नेपाल भाषा परिषद्का अगुवाहरूमध्येका प्रतिष्ठित व्यक्तित्व थिए । नेवाः राज्य आन्दोलनको सल्लाहकार हुन स्वीकार गरेका थिए । नेपाल भाषामा दर्जनौं पुस्तक र पुस्तिका प्रकाशित गरेका थिए । जनजाति आन्दोलनकर्मीहरू उनको सम्मान गर्थे तर सँगसँगै आफ्नो अभियानमा उनको सहभागिता न्यून रहने गरेको गुनासो पनि गर्ने गर्दथे । वञ्चित र वर्चस्ववादी समुदायहरूबीच पुल बन्न सक्दथे, दक्षिणी तटमा बाँधिने गरेको डुंगाको भूमिकामा रमाए । तर, प्रत्येक व्यक्तिले अन्ततः आफ्नो

नियतिलाई स्वीकार गर्नुपर्छ । अम्बाको बोटमा आँप फलेन वा पुसको ठिहीमा सयपत्री फुलेन भने गुनासो गर्नुको अर्थ छैन । अम्बाको सुगन्ध र स्वाद एवं पाखामा टल्किएको तुषारको सौन्दर्यले प्रकृतिलाई समृद्ध तुल्याएको छ । म हिँडिरहेको बाटो मेरै हो जस्तो गरी लम्किरहेको जोकोही व्यक्ति पाटनतिर देखिए भने तिनले सत्यमोहन जोशीलाई सम्झाउनेछन् । उनको ‘जुरेली दर्शन’ खासमा पुरातन ‘चरैवेति–चरैवेति’ कै स्थानीयकरण गरिएको संस्करण हो, तर त्यसको महत्त्व भने कालजयी छ । श्रद्धाञ्जली शताब्दी पुरुष !

प्रकाशित : कार्तिक २, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?