बाली हमलाका बीस वर्ष

बाली हमलामा अस्ट्रेलियाली नागरिकहरूमा पुगेको आघातले अहिलेसम्म पनि इन्डोनेसिया–अस्ट्रेलियाबीच आतंकवादलाई निर्मूल पार्न अति नै घतलाग्दो सम्बन्ध रहिआएको छ । भारत र पाकिस्तानले बाली दुर्घटनापछिको इन्डोनेसिया–अस्ट्रेलिया सम्बन्धबाट सिक्नुपर्ने पाठ, अपनाउनुपर्ने तौरतरिका र गर्नुपर्ने अठोट अघिपट्टि नै छ ।
महेन्द्र पी‍. लामा

आउँदा दुई दशक विश्वले नै नियालेर हेर्ने राष्ट्रहरूमा अस्ट्रेलिया अनि भियतनाम अग्रपंक्तिमा आउँछन् । किन ? चार विशेष कारण छन् । प्रथम, विकासका क्षेत्रमा दुवै निकै माथि पुग्ने आशा छ । भियतनाम, एकपल्ट युद्धले चकनाचुर पारेको राष्ट्र, अर्को जापान–दक्षिण कोरिया बन्ने तरखरमा छ । दोस्रो, सामरिक दृष्टिकोणमा दुइटै राष्ट्रको भूमिका अति नै महत्त्वपूर्ण रहनेछ । भियतनामको दक्षिण चीन सागर र अस्ट्रेलियाको प्रशान्त महासागरसँगको निकटताले ।

तेस्रो, दुइटै राष्ट्रमा चीनको निकै गहिरै प्रभाव छ । अस्ट्रेलियाको बजारमा कुनै उद्योगमार्फत उत्पादित वस्तु टिप्नुहोस्, अस्ट्रेलियाली कम्पनीका निम्ति बनाइएको ‘मेड इन चाइना’ नै लेखिएको हुन्छ । अनि चौथो, यी दुइटै राष्ट्रमा विदेशबाट गएका मानव संसाधनको भूमिका अति नै अहं हुँदै गएको छ । अस्ट्रेलियाका सिडनी र र मेलबर्नलाई दक्षिण एसियाली, चिनियाँ, कोरियाली, फिलिपिनोले नै ढाकेको पाइन्छ । नेपाली–भारतीय–श्रीलंकालीहरूका ताँत छन् । मेलबर्नको क्यारिङ्टन रोडलाई त सानो चीन नै भने पनि हुन्छ । चिनियाँ पुस्तकपसलसम्म छ यहाँ । गरम महिनामा क्रिसमस मनाइने, मौसम र ऋतु नै भिन्नै भएको अस्ट्रेलियामा मानवसुरक्षालाई सबैभन्दा माथि राखिएको हुन्छ । र नै, कोरोना महामारीमा पनि केवल साढे १५ हजार मानिस मरे, महामारीको चपेटामा १ करोडभन्दा बढी परे पनि ।

गत केही सप्ताह म अस्ट्रेलियामा रहँदा महामारीको प्रकोप समाप्त भएको सरकारी घोषणा गरियो । १२ अक्टोबरको दिन भने प्रायः सबै दैनिक समाचारपत्रहरू द अस्ट्रेलियन, डेली टेलिग्राफ, हेराल्ड सन आदिले प्रथम पृष्ठमै बीस वर्षअघि इन्डोनेसियाको बालीमा भएको आतंकवादी हमलामा मरेका ८८ अस्ट्रेलियाली नागरिकहरूको सम्झनामा श्रद्धाञ्जली लेख र समाचारहरू छापेका थिए । सन् २००२ मा विश्वलाई नै थर्काउने समाचार थियो यो । अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा ११ सेप्टेम्बर २००१ मा भएको भीषण हमलापछि इन्डोनेसियाका निम्ति यो अर्को ११ सेप्टेम्बर थियो । देवीदेवताहरूको भूमि मानिने बालीको कुतास्थित प्याडिज बार र सारी क्लबमा राति एघार बजे आतंकवादीहरूले सुसाइड बम्बर र गाडीमा लादिएको एक हजार किलो बमको विस्फोट गराएपछि, त्यस समुद्रतटमा आनन्द–मज्जा लिन पुगेका २० राष्ट्रका २०२ पर्यटकसहित अरूको मृत्यु भयो ।

भोलि–पर्सिपल्ट विश्वभरिकै अखबार आदिमा हाफप्यान्ट र ट्यांक टप लगाएकी २२ वर्षीया युवतीले विस्फोटबाट भयानक आघात पुगेका एक व्यक्तिलाई अँगालो हाली घटनास्थलबाट बाहिर निकाल्दै गरेको तस्बिर छापिएपछि सबै चकित, क्रोधित एवं स्तब्ध बनेका थिए । त्यस तस्बिरकी युवती थिइन् अस्ट्रेलियाकी हानाबेथ ल्युक, उनले अँगालो हालेका व्यक्ति थिए टम सिंगर अनि फोटोग्राफर थिए ब्राजिलका रोबर्टो मालाडोनाडो । सिंगर पनि मरे । हानाबेथलाई त्यसपछि ‘एन्जल अफ बाली’ नाम दिइयो । हानाबेथ र रोबर्टोको युट्युब भिडियोमा मर्मस्पर्शी कुराहरू बताइएका छन्, हानाबेथले आफ्नो पुस्तक ‘शक वेभ्स’ (सन् २०१२) मा पीडादायी दृश्यहरू अघि ल्याएकी छन् । बाली विस्फोटमा उनका केटा साथी पनि जलेरै खाक भएका थिए ।

इन्डोनेसियामा आतंकवादी हमला कुनै नयाँ कुरो थिएन । तर विदेशीहरूलाई निसाना बनाई हमला गरिएको भने प्रथम पटक थियो । दारुल इस्लामजस्ता कट्टरपन्थी–आतंकवादी संस्थाले जाभामा सन् १९६० को दशकमा र सन् २००० मा क्रिसमसको समयमा हमला अनि सन् १९८१ मा गरुड हवाईजहाजको अपहरण गरिसकेका थिए । सन् २००२ को बाली विस्फोटपछि त जाकार्ताको मेरियट होटल (सन् २००३), अस्ट्रेलियाली दूतावास (सन् २००४) र फेरि बाली (सन् २००५) लगायतमा निरन्तर विस्फोट आदि हुन थाले । इन्डोनेसियामा आतंकवादलाई समाप्त गर्न अस्ट्रेलियाका पुलिस एजेन्सीहरूले कसरी भौतिक–जासुसी–आर्थिक–संस्थागत भूमिका निभाए अनि कसरी आतंकवादको विरोधमा लड्नका लागि आजको इन्डोनेसियाको सर्वश्रेष्ठ संस्था डेन्सस–८८ निर्माण गरे आदिबारेमा अस्ट्रेलियाका दैनिक अखबारहरूले घतलाग्दो ढंगमा बाली बम्बिङको बीस वर्ष पुगेका अवसरमा लेखहरू प्रकाशित गरेका छन् ।

इन्डोनेसियाका डेन्ससका प्रमुख मार्थिनस हुकोमले आफ्नै अनुभव सार्वजनिक गरेका छन् । आफ्ना नागरिकहरू बाली विस्फोटमा मारिएपछि अस्ट्रेलिया सरकारले तीन–चार मन छुने कुराहरू गर्‍यो । पहिलो त, यस आतंकवादी हमलामा मर्नेहरूका आफन्तहरूलाई बाली नै पुर्‍यायो, घटनास्थलको प्रत्यक्षदर्शी बनायो र तिनका आफन्तहरूका मृत शरीरसमेत स्वदेशमा वापस ल्याउने प्रबन्धहरू मिलायो । हाहाकार नै भएको थियो । शरीरहरू यति डरलाग्दो गरी जलेका थिए, कसैलाई खुट्याउनै गाह्रो पर्थ्यो । कसैले हातका औंलाका औंठी, कसैले नजिकैका सरसामान त कसैले अन्दाजमा मृतकलाई आआफ्नो भन्न थाले । एक पुलिस अधिकारीका अनुसार, परिवारजन यति आतुर, हैरान र शोकाकुल थिए, मृत शरीरहरूलाई अन्दाजमै आफ्नो भन्दै उठाउन थाले । एउटा परिवारले यसरी नै दाबी गरिरहेपछि अस्ट्रेलियाका पुलिस अधिकारीले त्यो महिला शवलाई ओल्टाईपल्टाई हेरे, शवको नाभिमा सानो रिङ देखेपछि परिवारलाई ‘त्यस्तो थियो तपाईंकी आफन्तको ?’ भनी सोध्दा ‘थिएन’ भनिएपछि त्यस मृत शरीरलाई अलग्गै राखिएको थियो ।

दोस्रो, अस्ट्रेलिया सरकारले मृत शरीर खुट्याउनलाई तुरुन्त डीएनए परीक्षण केन्द्र खडा गर्‍यो । लिन्जी विल्सन–विल्डे नामक युवा वैज्ञानिकले क्यानबेरास्थित डीएनए केन्द्रको भार सम्हालिन् । यो अति नै गाह्रो काम थियो । मृतकहरू चिन्नै नसकिने भएकाले तिनका जलेका दाँत–गिजा र तिनका सम्भावित परिवारजनबीच सबै वैज्ञानिक प्रयोजनीय कुराहरू मिलाउँदै को कसको छोरा–छोरी–स्वास्नी–लोग्ने–आफन्त के हो भनी निर्क्योल गर्नु र निचोडमा पुग्नु साह्रै थियो । सबै अतालिएका थिए, बारम्बार फोन आउँथ्यो । विल्सन–विल्डेले आफूले भोगेका वैज्ञानिक चुनौती मात्रै बताएकी छैनन्रा; जनीतिक दबाब, पारिवारिक उथलपुथल अनि त फेरि कानुनी अड्चनहरू सबै खुलाएकी छन् ।

भेट्टाइएका तथ्यहरू कानुन अनुसार कसैलाई दिन नसकिने अवस्था देखिएपछि अस्ट्रेलियाको संसद्मा गई नयाँ कानुन बनाएर त्यस्ता विषयहरू अरूसँग आदानप्रदान गर्नुपर्‍यो । यति मात्रै कहाँ हो र, अस्ट्रेलियाका नागरिकबाहेक, यस बीभत्स घटनामा मारिएकाका अन्य १९ राष्ट्रसँग पनि डीएनए परीक्षणबारे तथ्य र अन्य कुराबारे समन्वय गर्नुपर्ने भो ! विल्सन–विल्डे भन्छिन्, ‘इन्डोनेसियामा रहेको अस्ट्रेलियाको दूतावासले मेरो नाम र फोन नम्बर दिएपछि त सबै परिवारका आफन्तहरूको धुइरै लाग्यो, केके मात्रै सम्हाल्ने भन्ने भयो !’ राजनीतिक नेताहरूको दबाब एकापट्टि, अर्कापट्टि पत्रकारहरूका कहिल्यै नटुंगिने प्रश्नहरूÙ उनी हत्तु–हैरान भएकी थिइन् । स्थिति नै त्यस्तै थियो । कसैको हात मात्रै, कसैको शिर मात्रै डीएनए स्याम्पलका लागि पठाउन थालियो ।

यसैबीच चाखलाग्दा घटनाहरू अघि आए । कसैले ‘मेरो आफन्त मरेकै छैन’ भन्न लागे । त्यसो भए त्यो कहाँ गयो त ? कसैलाई थाहा छैन । हराएकाहरूलाई खोज्न पुलिस अधिकारी विल ज्याक्सन अरू सहकर्मीसँग लागिरहे । कोही वरिपरि भइरहेका पूजाआजा, अन्त्येष्टि क्रिया र घरपरिवारतिर गई खोज्न थाले । त्यतिन्जेल मर्नेहरूको संख्या लगभग तय नै भइसकेको थियो । ज्याक्सनले मर्ने र हराउनेहरूको सूची पाएपछि एकएक गर्दै खोज्न लागे । सूचीमा पश्चिम अस्ट्रेलियाका ब्रुस नामक युवकको नाम पनि थियो । ब्रुसलाई बम विस्फोट हुनुअघि साँझपख प्याडिज बारमा देखिएको थियो । अस्पतालमा पनि नभेट्टाएपछि ब्रुसलाई ज्याक्सनले उनको परिवारले दिएको नम्बरमा फोन गरे ।

जहिल्यै ब्रुसको मोबाइल नम्बर नभेटिने–नपुगिने जग्गामा छ भन्ने आवाज आउँथ्यो । ज्याक्सनले फेरि गएर घटनास्थलमा खोजे, पाएनन् । ब्रुसलाई फोन गर्न भने छाडेनन् । दस दिनपछि ज्याक्सन क्यानबेराको आफ्नो कार्यालयमा मुस्कुराउँदै भन्न लागे, ‘मैले ब्रुसलाई भेटें । ब्रुसले भने— त्यो घटना भएपछि म यताउता भौंतारिइरहेंÙ के गर्नुपर्ने भन्ने थाहै भएन र म अस्ट्रेलिया फर्कें ।’ ज्याक्सनले सोधेछन्, ‘तिमीले घरपरिवारलाई खबर गर्‍यौ अस्ट्रेलिया फर्कें भनेर ?’ ब्रुसको जवाफ थियो, ‘ओहो, त्यो काम त मैले गरेकै छैन ! अब भनुँला उनीहरूलाई म ठीकै छु भनेर !’ ज्याक्सन अवाक् भएछन् र लगभग भनेछन् नै, ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैलेकैले ।’

तेस्रो, अस्ट्रेलिया सरकारले अझै घतलाग्दो काम गर्‍यो । इन्डोनेसियामा आतंकवाद र यस्ता हमलालाई गहकिलै प्रकारले रोक्न र विरोध गर्न अस्ट्रेलियन फेडरल पुलिसलाई सबै सहायता पुर्‍याउने आदेश दियो । यसपछि फेडरल पुलिसले इन्डोनेसियाको पुलिसलाई हरेक क्षेत्रमा सहायता दियो । हातहतियार, जासुसी गर्ने प्रशिक्षण प्रणाली, टेक्नोलोजी, सूचना आदि आदानप्रदानको सुविधा । प्रथम चोटिमै फेडरल पुलिसका एक सय अधिकारी आदि इन्डोनेसिया पुगे । इन्डोनेसियाका पुलिसहरूको आँट, क्षमता र आचरण देखेर उनीहरू अति नै प्रभावित भए । उनीहरू मिलेर इन्डोनेसियाको आजको शक्तिशाली आतंकवादविरोधी पुलिस फोर्स डेन्सस–८८ बनाए । र, जाकार्तामा सेन्टर फर ल इन्फोर्समेन्ट कोअपरेसन गठन गरे ।

यस अन्तर्गत आतंकवादविरोधी प्रशिक्षणहरू दिन सुरु गरियो । यसरी नै बाली हमला गर्ने अल कायदामा संलग्न जेमा इस्लामिया (जेआई) अनि दारुल इस्लामसँग सम्बन्धित मलेसिया नुरदिनका अंग–प्रत्यंगलाई खत्तमै बनाइयो । तर यसैबीच सिरियामा अबु बेकरद्वारा आईएसआईएस (इस्लामिक स्टेट) गठन गरिएपछि, अस्ट्रेलिया–इन्डोनेसिया सहकार्यसामु अर्कै प्रकारको चुनौती देखा पर्‍यो । डेन्ससले गर्दै आएको प्रयासबाट धेरै सफलता हासिल भए । आतंकवादमा लागेका कैयन् कट्टरपन्थीहरूले सरकारी पक्षलाई आतंकवादविरोधी कार्यमा सघाउ पुर्‍याउन थाले । र, एकपल्ट आतंकवादमा फसेर कारावासमा पसेका आतंकवादीहरू फेरि त्यस्तै कार्यमा वापस हुने जुन भय र आशंका थियो, त्यो पनि खर्लप्पै घटेर गर्‍यो । यो दर दस प्रतिशत (रेसिडिभिजम रेट) मा पुग्यो । आतंकवादका तीन खुँखार नेता इमाम समुद्र, अलि गुफरोन अनि अमरोजी बिन नुरहासिमलाई मृत्युदण्ड दिइयो ।

चौथो, अस्ट्रेलिया र इन्डोनेसियाले अझै दीर्घकालीन मुद्दाहरूमा कामकाज सुरु गरे । डेन्ससका प्रमुख मार्थिनस हुकोम अनुसार, आतंकवादी समस्याले अर्कै रूप लिन लागेको छ । अमेरिकामा ११ सेप्टेम्बरमा हमला गर्ने अल कायदालाई सहयोग र सहानुभूति दिने बीस हजार व्यक्ति बटुल्न लगभग २० वर्ष नै लागेको थियो । तर सिरियाको आईएसआईएसले त्यति नै सहयोगीहरू सन् २०१४–१८ को चारवर्षे अवधिमा जम्मा गर्‍यो । यसमा इन्टरनेट र आधुनिक सञ्चार टेक्नोलजीको भूमिका अति नै गहिरो रह्यो । आज आतंकवादीको एउटा टेलिग्राम च्यानललाई रोकेर केही हुँदैन, किनकि भोलि यस्ता दसवटा च्यानल अघि आउँछन् । अनि यी च्यानलहरूका सर्भर अमेरिका, रुस र चीनजस्ता सुदूर राष्ट्रहरूमा राखिएका हुन्छन् । यी राष्ट्रहरूका आफ्नै नियमकानुन हुन्छन् र सहजै प्रतिबन्ध लगाउन सकिँदैन । यसर्थ आतंकवादविरोधी कार्यको सफलताका लागि अन्तर्राष्ट्रिय सहयोग र सहकार्य चाहिन्छ ।

हुकोम यो पनि भन्छन्— आतंकवादीहरूको अति नै राम्ररी बुनिएको वैचारिक आत्मीयता, शारीरिक ढाँचा एवं भावनात्मक साङ्लो र शृंखला हुन्छ । वैचारिक आत्मीयतालाई तोडेर मात्रै आतंकवाद सकिँदैन । तीनैवटा साङ्लो एकैसाथ तोड्नुपर्छ । विशेषतः युवायुवतीमा कट्टरपन्थी विचार हाल्न निकै गाह्रो हुन्छ, तर त्योभन्दा अझै गाह्रो त्यस्तो विचारलाई उखेल्न हुन्छ ।

इन्डोनेसियाको संविधानले अनेकतामा एकताको मन्त्रलाई अघि राखे पनि कट्टरपन्थीहरू पलाउने धेरै ठाउँ छ । तर यो केवल इन्डोनेसिया र एउटा विशेष धर्मको कुरा मात्रै होइन । यो जुनै धर्म, समुदाय र समाजमा पनि हुन सक्छ । र नै, आधुनिक शिक्षा प्रणालीले जरा गाड्नु अति नै आवश्यक छ ।

यसबारे धेरैले नीति सम्बन्धी विश्लेषणसमेत गरेका भए पनि सरकारहरू आफ्नै राजनीतिक अडान र जिद्दीमा रहने प्रवृत्तिहरू प्रशस्त देखिएका छन् । आतंकवादीहरूलाई झ्यालखानाभित्र राखिँदा आतंकवाद समाप्त हुन्छ ? आतंकवादीहरू झनै फस्टाएर त निस्कँदैनन् ? यस्ता प्रश्नहरू पनि अघि आउँछन् । अझै खतरनाक कुरो त, झ्यालखानाभित्र बसेका आतंकवादीहरूले अरू साधारण अपराधीहरूलाई पनि आतंकवादको डोकामा हाले के हुन्छ ? एक अमेरिकी ज्ञाता जुली चेर्नोभ ह्वाङले आफ्नो पुस्तक ‘ह्वाई टेरोरिस्ट क्विट’ मा इन्डोनेसियाकै कैयन् कट्टरपन्थी एवं आतंकवादीहरूसँग लिइएको अन्तर्वार्ताका आधारमा भनेकी छन्— झ्यालखानामा रहेको वातावरण एवं अन्य विशेष परिवेशले पनि आतंकवाद फैलाउनमा धेरै बल पुर्‍याउँछ । यसोसले झ्यालखानाभित्र आतंकवादी र अन्य साधारण कैदीलाई अलग्गै राख्नुपर्छ । झ्यालखानाभित्रै हुने झैझगडा–हत्या आदिमा यी साधारण कैदीहरूलाई सुरक्षा चाहिए आतंकवादी कैदीकहाँ जानै दिन हुन्न । अनि झ्यालखानामा दिइने खानपिनको गुणस्तर

राम्रो हुनुपर्छ, त्यसो नभए यी कैदीहरू आतंकवादीहरूले बाहिरबाट पाउने खानेकुरा खान नै अघि आउन सक्छन् । तसर्थ झ्यालखानाभित्र आतंकवादीहरूको प्रभाव र प्रभुत्वलाई अन्य साधारण कैदीमा पर्नै दिनु हुन्न ।

बालीमा बीस वर्षअघि भएको आतंकवादी हमला र अस्ट्रेलियाका नागरिकहरूमा पुगेको आघातले अहिलेसम्म पनि यी दुई राष्ट्रबीच आतंकवादलाई निर्मूल पार्न अति नै घतलाग्दो सम्बन्ध रहिआएको छ । दक्षिण एसियाका राष्ट्रहरू, विशेषतः भारत र पाकिस्तानले बाली दुर्घटनापछिको इन्डोनेसिया–अस्ट्रेलिया सम्बन्धबाट सिक्नुपर्ने पाठ, अपनाउनुपर्ने तौरतरिका र गर्नुपर्ने अठोट अघिपट्टि नै छ ।

प्रकाशित : कार्तिक १, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

दास प्रथाको विगत र वर्तमान

कृषि, सामन्तवादी, उपनिवेषवादी युग हुँदै पुँजीवादी युगको चरम अवस्थामा पनि गरिब र पछौटे समाजबाट परिवर्तित स्वरूपको दास प्रथामार्फत श्रम बजार भरिएका छन् ।
सुशीला शर्मा

अक्टोबर १८ लाई दास प्रथाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । व्यक्तिगत सम्पत्ति राख्ने चलन सुरु भएपछि, बीसौं शताब्दीको अन्त्यसम्म दास प्रथा विश्वमा कायम थियो । सामान्य भाषामा भन्दा मान्छेले मान्छेलाई सताउने, दबाउने र यातना दिने व्यवस्था हो यो । उचित पारिश्रमिकबेगर कठिनभन्दा कठिन काम गराएर एक मान्छेले अर्को मान्छेलाई दास बनाई स्वामित्व लिने अभ्यास वा प्रणाली अझै नेपाली समाजमा कुनै न कुनै रूपमा विद्यमान छ ।

युनान र दास प्रथा : ग्रीसका चर्चित कवि होमरले इसापूर्व ८०० तिर ओडिसी तथा इलियड महाकाव्यमा दासताको अस्तित्व तथा त्यसबाट उत्पन्न नैतिक पतनबारे उल्लेख गरेका छन् । त्यसबेला युनानी उपनिवेशको स्थापनाका कारण दासको माग वृद्धि भयो । युद्धबन्दी र ऋण चुक्ता गर्न असमर्थ ऋणीहरूलाई दास बनाइन्थे । एथेन्स, साइप्रस तथा सेमोसका दास बजारमा एसियाली, अफ्रिकी र युरोपेली भूभागका दासहरूको खरिद–बिक्री हुने गर्थ्यो । घरेलु, कृषि तथा उद्योगका काममा दास राखिन्थ्यो । दासलाई मालिकको निजी सम्पत्ति मानिन्थ्यो र सम्पत्तिकै रूपमा किनबेच गरिन्थ्यो । त्यतिबेला एथेन्समा दासको संख्या स्वतन्त्र नागरिकको भन्दा बढी थियो भन्ने अुनमान गरिन्छ । दास तथा नागरिक हुनुको फरकको आधार प्रजाति नभई सामाजिक स्थिति थियो । प्रसिद्ध ग्रीक दार्शनिक अरस्तुका अनुसार दासता मालिक र दास दुवैका लागि हितकर हुन्छ । अर्का दार्शनिक प्लेटोले भने दासताको विरोध गरे, यसलाई अनैतिक माने ।

रोम : रोमको उत्थानसँगै दास व्यवस्था पनि व्यवस्थित हुँदै गयो । उपनिवेश फैलाइरहेका विजेताले आफ्नो सेवाका लागि पराजितको उपयोग गर्नु युद्धको स्वाभाविक परिणति रहँदै आएको छ । रोमन साम्राज्यको उदय र फैलावट सैन्य बलबाट भएको थियो । त्यसकारण पनि रोममा दास प्रथाको प्रचलन अत्यधिक भयो । रोमन गणराज्यको उत्तरार्द्धमा (इसापूर्ण दोस्रो र तेस्रो शताब्दी) अधिकांश स्वस्थ नागरिकलाई युद्धमा होमिनुपर्‍यो । यस्तोमा जमिन मालिकहरूले युद्धबन्दीलाई कृषिका लागि दासका रूपमा खरिद गर्न सुरु गरे । त्यसबेला एक दिनमा १० हजार दासको किनबेच हुनु सामान्य थियो । एक दास मालिकको स्वामित्वमा चार हजारसम्म दास हुन्थे र यसरी कुनै स्थानमा त दासकै बहुमत हुन्थ्यो । रोमन नागरिकको मनोरञ्जनका लागि दास योद्धालाई बिनाकवच सशस्त्र युद्ध पनि गर्नुपर्थ्यो ।

जब रोमन साम्राज्यमा बहुसंख्यक दासमाथि भएको अत्याचारले पराकाष्ठा नाघ्यो तब इटाली तथा सिसलीको ग्रामीण क्षेत्रमा दास विद्रोहको सिलसिला सुरु भयो । विद्रोही दास सेनाको आकार निरन्तर बढ्दै गयो र एक समय दक्षिण इटाली दासकै हातमा गएको थियो । रोमन साम्राज्यको अन्तिम चरणमा जब साम्राज्य प्रसार रोकियो तब नयाँ दास प्राप्त हुन बन्द भयो । परिणामस्वरूप रोमन दासको स्थिति पनि सुध्रिन थाल्यो । दासताको ठाउँमा अर्धदासता बढ्न थाल्यो ।

दासतालाई निर्ममताको शिखरमा पुर्‍याउने रोमन साम्राज्यको विघटनपछि युरोपमा दास प्रथाको कठोरतामा केही कमी आयो । युरोपका देशमा अधिकांश दास ‘स्लाव’ क्षेत्रबाट प्राप्त हुन्थ्यो । दासलाई अंग्रेजीमा बुझाउने ‘स्लेव’ शब्द यसैबाट बनेको हो । युरोपमा दसौं तथा चैधौं शताब्दीबीच दास प्रथा सामान्य रूपमा चल्यो । चौधौं शताब्दी आसपास पूर्वी युरोप तथा पश्चिमी एसियामा हुने आक्रमणबाट पश्चिमी युरोपमा पुनः युद्धबन्दी प्राप्त हुन लागे । मध्ययुगको अन्तिम चरणमा राष्ट्रवाद तथा धार्मिक कट्टरताको सम्मिश्रणसहितको विचारधाराको विकासका कारण युद्धबन्दीप्रति झन् असहिष्णु व्यवहार गर्न थालियो । गैरइसाई बन्दीहरूलाई शत्रु घोषित गरेर दासका रूपमा यिनको बिक्री गर्ने आदेश धर्म गुरुहरूले नै दिन्थे ।

अश्वेत दासता : औद्योगिक युग सुरु हुने समयतिर जब अफ्रिकी दासहरू बोकिएका जहाज नयाँनयाँ ठाउँमा पुग्न थाले तब दासताको इतिहासमा पनि नयाँ मोड आयो । मूल निवासी दासका तुलनामा नयाँ अश्वेत दासहरू आज्ञाकारी तथा कठोर श्रमिक थिए । अतः अश्वेत दासको माग बढ्न थाल्यो । उखु, कपासको खेतमा दासहरूको प्रयोग पहिलेभन्दा बढी हुन थाल्यो । अश्वेत दासको आयात यति बढ्यो कि पश्चिमी द्वीप समूहमा उनीहरूको बहुमत भयो । निजी कम्पनीमार्फत नै उनीहरूको किनबेच हुन थाल्यो । अठारौं शताब्दीको प्रारम्भसम्म अश्वेत दास व्यापार चरम उत्कर्षमा पुग्यो । यसैको व्यापार चलाएर नै बेलायत समृद्ध बनिरहेको थियो ।

अश्वेतलाई बस्तुको बदला प्राप्त गरेर जहाजमा जनावरजस्तै कोचेर एट्लान्टिक महासागर पार गरेर अमेरिका लैजाने गरिन्थ्यो । त्यहाँ उनीहरूलाई बेचेर चिनी, कपास, चामल तथा सुन लादिएको जहाज युरोप फर्कन्थ्यो । वास्तवमा इंग्ल्यान्ड, अमेरिका तथा युरोपीय पुँजीवादको एक प्रमुख आधार दास व्यापार थियो । दासहरूले युरोपीयन मालिकको भाषा र धर्म पनि ग्रहण गर्नुपर्थ्यो । उनीहरूले आफ्नो संस्कृतिलाई जीवित राख्न सक्ने कुनै गुन्जायस थिएन । मालिक श्वेतहरू अश्वेत स्त्रीसँग यौन सम्बन्ध बनाउँथे भने अश्वेतलाई श्वेत स्त्री हेर्नेसम्म पनि छुट थिएन । श्वेत मालिकहरूको यौन सम्बन्धबाट जन्मेका सन्तानहरू पनि दासकै स्तरमा रहन्थे ।

दास झुन्डका श्वेत निरीक्षकले अश्वेतहरूलाई खेतमा या कारखानामा काम गराउँदा पनि सिक्रीले बाँधिन्थ्यो । उत्तरी अमेरिका, विशेष गरी संयुक्त राज्य अमेरिकाको इतिहासमा अश्वेत दासताको आजसम्म विशेष महत्त्व रहेको छ । दास प्रथाकै कारण तमाखु, कपास खेतीआदिमा आश्चर्यजनक प्रगति भयो साथै भूमिबाट अप्रत्याशित खनिज सम्पत्ति निकालियो । दास व्यवस्थाले नै संयुक्त राज्य अमेरिकाको औद्योगिक प्रगति अघि बढेको हो र अहिले विश्वको अगुवा बन्नमा यसको भूमिका छ । राजनीतिक इतिहासमा पनि महत्त्वपूर्ण प्रभाव पारेको छ, यसै मुद्दालाई लिएर भीषण गृहयुद्ध भएको थियो ।

दास प्रथाको उन्मूलन : पश्चिममा दास प्रथा उन्मूलनका लागि अठारौं शताब्दीमा वातावरण बन्न लागेको थियो । अमेरिकी स्वतन्त्रता युद्धको एक प्रमुख नारा मानिसको स्वतन्त्रता थियो । सन् १८०४ सम्म दासताविरोधी वातावरण बनाउन मानवीय मूल अधिकारमा विश्वास राख्ने फ्रान्सेली राज्यक्रान्तिको अधिक महत्त्व छ । उक्त क्रान्तिबाट प्रेरित भएर सन् १८२१ मा युरोपभरि नै विद्रोह हुन थाल्यो । अमेरिकी महाद्वीपका सबै देशमा दासताविरोधी आन्दोलन प्रबल हुन थाल्यो । सन् १७९४ को सम्मेलनले फ्रान्सको उपनिवेशका सबै दासको मुक्तिको कानुन पारित गर्‍यो । यो कानुन छोटो अवधिसम्म लागू भयो । दस वर्षपछि नेपोलियनले पुनः दास प्रथा सुरु गरे । फ्रान्समा सन् १८४८ मा पूर्ण रूपले दास प्रथा अन्त भयो ।

संयुक्त राज्य अमेरिकाको उदारवादी उत्तर राज्यमा दासताको विरोध जति बढ्दै गयो उति नै दक्षिणका दास राज्यमा दासहरूप्रति कठोर व्यवहार बढ्दै जान लागेको थियो । यो द्वन्द्व यति बढ्यो कि उत्तरी र दक्षिणी राज्यबीच गृहयुद्ध छेडियो । यस युद्धमा अब्राहम लिंकनको नेतृत्वमा दासविरोधी एकतावादी उत्तरी राज्यको विजय भयो । सन् १८८८ मा संयुक्त राज्यमा दासतामा बनेको पोर्चुगाली ब्राजिल साम्राज्यको पतन भयो । बिस्तारैबिस्तारै अमेरिकी महाद्वीपका सबै देशमा दासताको उन्मूलन हुन थाल्यो । सन् १८९० मा ब्रसेल्सका १८ देशको सम्मेलनले अश्वेत दासको समुद्री व्यापारलाई अवैधानिक घोषणा गरिदियो । सन् १९१९ को सेन्ट जर्मेन तथा सन् १९२६ को लिग अफ नेसन्सको आयोजनामा गरिएको सम्मेलनले हर प्रकारको दासता तथा दास व्यापारको सम्पूर्ण उन्मूलन सम्बन्धी प्रस्तावमा पनि सबै प्रमुख देशले हस्ताक्षर गरे । बीसौं शताब्दीमा प्रायः सबै राष्ट्रले दास प्रथालाई अमानवीय तथा अनैतिक मानेर यसको उन्मूलनका लागि कदम चाले ।

अन्ततः एउटा मान्छेले अर्को मान्छेलाई अमानवीय यातना दिने प्रथा ढले पनि अझै यसका नयाँनयाँ स्वरूप समाजमा भेटिन्छन् । नेपालमा कमलरी प्रथा, हलिया प्रथा, बाल श्रमिक, मानव बेचबिखन, जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाइने लगायत आजपर्यन्त चलिरहेका छन् । भलै संविधानमा दास प्रथा जनिने कार्यहरूलाई वर्जित गरिएको होस् या उन्मूलनका कानुन नै पारित गरिएको किन नहोस् । कृषि, सामन्तवादी, उपनिवेषवादी युग हुँदै पुँजीवादी युगको चरम अवस्थामा पनि गरिब र पछौटे समाजबाट परिवर्तित स्वरूपको दास प्रथामार्फत श्रम बजार भरिएका छन् ।

प्रकाशित : कार्तिक १, २०७९ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×