१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विद्यालयमा यौन शिक्षा

काठमाडौंको एक उच्च माध्यामिक विद्यालयमा कक्षा १० मा पढ्ने केही छात्रालाई इन्चार्जले छात्रहरूसँग एउटै बेन्चमा किन बसेको भन्दै पिटेपछि केही दिन विद्यालय नै आएनन् । छात्रलाई केही नभनी छात्रालाई भने चरित्रमाथि शंका गर्दै, फोटो खिचेर सार्वजनिक गरिदिनेसम्मको धम्की दिएका इन्चार्जसँग विद्यार्थी आक्रोशित थिए । कक्षा ९ देखि १२ सम्मका छात्रछात्रामा विपरीत लिंगप्रति आकर्षण देखिन्छ ।

विद्यालयमा यौन शिक्षा

बढ्दो उमेरसँगै यौन जीवन, यौन स्वास्थ र नैतिक शिक्षा लगायत विषय माध्यमिक तहका १४ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई बढी चाहिन्छ । विपरीत लिंगप्रति आकर्षण बढ्नु प्राकृतिक भए पनि सो व्यवहारलाई नकारात्मक मान्दा छात्राछात्रका मानसिकतामा गम्भीर असर पर्छ । अझ छात्रहरूको हरेक क्रियाकलापप्रति आँखा चिम्लिएर शिक्षकहरूले छात्राहरूलाई मात्र सतर्क रहन दबाब दिने, धम्क्याउने र सजाय दिने लैंगिक विभेदजन्य व्यवहारले किशोरीहरू विक्षिप्त बन्छन् ।

पछिल्लो समय यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा बालक तथा किशोरहरू नै बढी आरोपित भएको तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार लैंगिक हिंसासँग जोडिएका ६१० बालबालिकामध्ये ५०९ बालक रहेको देखिन्छ । त्यस्तै बलात्कार मुद्दामा ३५१ बालबालिकामध्ये ३४७ बालक छन् । यौन हिंसा तथा दुर्व्यवहारका कसुरमा बालबालिकाकै संख्या उच्च रहेकाले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा राम्रोसँग पठनपाठन गराउन विद्यालयले चासो बढाउनु जरुरी भइसकेको छ ।

विद्यालय तहका बालिकाहरू रिसाउने, झगडा गर्ने र विद्यालय जान नमान्ने भएको भन्दै अभिभावक शिक्षिका वा मनोविद् कहाँ पुग्ने गरेका घटना बढेका छन् । विद्यालयमा बालिकाहरूमाथि यौन दुर्व्यवहार हुने गरेकाले पनि छात्राहरूमा यस्तो व्यवहार देखिन्छ । उमेरसँगै बालबालिकामा बढ्ने यौन जिज्ञासाबारे घरपरिवार र शैक्षिक संस्थाहरूले जानकारी तथा परामर्श नदिनाले यौन हिंसा र दुर्व्यवहार बढिरहेका छन् । विद्यालयभित्र वा बाहिर शिक्षक तथा प्रधानाध्यापकबाटै यौन दुर्व्यवहारको सिकार भएका बालिका तथा किशोरीहरूले देखाउने फरक व्यवहार, चिडचिडाहट र त्रासका कारक पत्ता लगाउनभन्दा गाली गर्ने तथा दबाब दिनाले तिनको मानसिकता झन् बिग्रन्छ । सामाजिक प्रतिष्ठाका कारण तथा आर्थिक प्रलोभनमा परेर मिलापत्र गराउँदा वा डर, त्रास र धम्की दिएर घटना लुकाउन खोज्दा यसको गम्भीर असर यौन हिंसामा परेका बालिका तथा किशोरीमा देखिने गर्छ । पीडकलाई कानुनी कठघरामा नउभ्याउँदा उही पीडकबाट फेरि यौन हिंसामा पर्ने त्रासमा तिनको मनस्थिति नै खल्बलिन सक्छ । यौन हिंसामा परेका बालिका तथा किशोरीका बाबुआमा, शिक्षकशिक्षिका परामर्शदाता बन्नुपर्नेमा अझ पीडा थपिने गरी बोली–व्यवहार देखाउँदा तिनमा गम्भीर मानसिक असर देखिन सक्छ ।

बालिका बलात्कारविरुद्ध प्रहरीमा जाहेरी परे पनि छानबिनमा प्रहरीले ढिलासुस्ती गरेको र अभिभावकले पनि दबाब दिन नसकेपछि बालिकामा त्रास थपिँदै जान्छ । पीडक फरार भइदिँदा र घटना बाहिर आउँदा पीडितलाई नै दोष देखाउने प्रवृत्तिले पीडितले आत्महत्यासम्म गर्न पुग्छन् । यौनजन्य हिंसाका घटनामा पीडितले परिवार, विद्यालय र समाजबाट सहयोग, सहानुभुति र परामर्शको आशा राखेका हुन्छन् तर परिवारले ‘इज्जत गयो’ भन्दै छोरीलाई नै रिस पोख्ने र शिक्षकशिक्षिकाले पनि परामर्श र ढाडस दिनभन्दा ‘यसको चरित्र नै नराम्रो छ’ भन्दै दोष थोपर्ने गर्दा किशोरीहरू मानसिक रूपमा विक्षिप्त भई दुर्व्यसनीमा फस्ने वा घरै छाडेर भाग्ने गरेका घटना पनि प्रशस्तै छन् ।

यौनजन्य हिंसाविरुद्ध छात्रालाई मात्र होइन छात्रलाई पनि सचेत बनाउनुपर्छ ।

पाठ्यक्रममा राखिएका यौन शिक्षाका सामग्रीलाई शिक्षकहरूले राम्रोसँग बुझाउने वा सर्तक गराउने गर्नुपर्छ । यौन शिक्षा सम्बन्धी ज्ञान छात्रलाई अझ बढी जरुरी छ । छात्रछात्रा दुवैलाई समान रूपमा यौन शिक्षाबारे सिकाउँदा मात्र यौनजन्य दुर्व्यवहार नियन्त्रण गर्न सकिन्छ । विद्यालयमा नैतिक शिक्षाको अभावमा पनि यस्ता घटना बढ्न सक्छन् ।

केहीअघि मात्र काठमाडौंको नाम चलेको एक उच्च माध्यमिक विद्यालयका शिक्षकले सोही विद्यालयका विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको बाहिरियो । शिक्षकहरूबाटै छात्राहरूमाथि बारम्बार यौन दुर्व्यवहार तथा हिंसा भइरहे पनि न सरकारले कडा सजायको व्यवस्था गर्न सकेको छ न त विद्यालयहरूलाई यौन शिक्षाको खाँचोबारे नै सचेत गराएको छ । यसैको दुष्परिणाम बालबालिका एकलकाटे तथा आक्रामक बन्दै गएका छन् ।

बालबालिकाको उमेर बढ्दै जाँदा तिनमा बढ्ने यौन जिज्ञासा, चाहना र फरक क्रियाकलापहरूको निगरानी परिवार तथा विद्यालय दुवैले गर्नु जरुरी छ । विद्यालयले दिने शिक्षा, परिवारको सचेतना तथा समाजको खबरदारीले यौन दुर्व्यवहार र हिंसा रोक्न सकिन्छ । यौन जीवन र स्वास्थ्यबारे खुलस्त बुझाउनुको साटो यो त लाज लाग्ने विषय भएकाले विद्यार्थी आफैंले घरमा पढेर आउनू भन्ने शिक्षकहरू अझै भेटिन्छन् । यस्तोमा कतिपय विद्यार्थी यो विषय आफैं बुझेर पढ्नै चाहँदैनन् वा हिम्मतका साथ शिक्षकसँग सोधेर पूर्ण जानकारी लिन हच्किन्छन् । त्यसैले यौन हिंसामा पर्दा छात्राहरूले यसबारे शिक्षक तथा अभिभावकलाई खुलस्त बताउन सक्दैनन् । अर्को बताइहाले पनि उल्टै पीडितलाई नै गाली गर्ने, चरित्रमाथि शंका गर्ने प्रवृत्तिले किशोरीहरू यौन हिंसालाई लुकाउन बाध्य हुन्छन् ।

यौन हिंसा तथा दुर्व्यवहार, दुर्व्यसनी, गर्भपतन लगायत विषय र यसका लागि आवश्यक कानुनी प्रक्रिया सम्बन्धी ज्ञान बाल्यावस्थादेखि नै दिनु जरुरी छ । यौन शिक्षा र सचेतनासँग निकट रहेका स्वास्थ्य तथा शारीरिक, कानुनी तथा नैतिक शिक्षालाई विद्यालयहरूले प्राथमिकताका साथ अध्ययन–अध्यापन गराउनु जरुरी भइसकेको छ । किशोरकिशोरी विपरीत लिंगप्रति नजिकिँदा भविष्यमा पर्न सक्ने जोखिमका विषयमा कानुनी परामर्शको व्यवस्था गर्न विद्यालय र राज्य नै जुट्नुपर्ने भएको छ । गुणस्तरीय शिक्षाको मापदण्डभित्र माध्यमिक तहसम्म नै कानुनी तथा शारीरिक शिक्षा अनिवार्य समावेश गरिनैपर्छ ।

प्रकाशित : आश्विन ३१, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?