संविधानवाद र चुनावी संस्कृति- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधानवाद र चुनावी संस्कृति

यतिचाहिँ जिब्रो नचपाई भन्न सकिन्छ— विद्यमान हाँक र हौसलालाई स्वीकार गरेर समावेशी प्रतिनिधित्वको मर्मलाई आकार दिने प्रशस्त सम्भावनालाई चुनावी गठबन्धनहरूले तुहाइदिएका छन् ।
चन्द्रकिशोर

संविधानमा शक्तिको वैधानिक मार्ग अभिरेखांकित हुन्छ भने राजनीतिक अभ्यासले शक्तिको बाँडफाँट, सन्तुलन, नियन्त्रण र विकेन्द्रीकरणलाई आकार दिन्छ । कुनै समाजको भविष्यलाई नजरमा राखेर संविधानको उपयुक्त व्याख्या गर्दा भुइँतहका तनावहरूले निकास पाउँछन् ।

जहाँका राजनीतिकर्मीले यस्तो गर्दैनन्, तिनीहरूले जार्ज बर्नार्ड शाको यस उक्तिलाई सही साबित गर्छन्, ‘हामी इतिहासबाट यही सिक्छौं कि हामीले इतिहासबाट केही सिकेनौं ।’ इतिहासका बारेमा भनिएको यस कथनलाई नेपालमा संविधान निर्माणको इतिहासको आलोकमा भन्न सकिन्छ— विगतका संविधानहरू किन टिक्न सकेनन्, किन अल्पायुमै संविधानहरू कालकवलित भइरहे भनेर हामीले मीमांसा गरेनौं ।

लोकतन्त्र उत्तरदायित्वपूर्ण व्यवस्था भएकाले यसले दलहरूको स्वेच्छाचारितालाई नकार्छ । संवैधानिक सर्वोच्चता र संवैधानिक प्रक्रियालाई जीवित बनाइराख्न स्वतन्त्र निर्वाचनको महत्त्व त हुन्छ नै, त्योभन्दा पनि निर्वाचनमार्फत संविधानले खोजेको यात्राको मार्गप्रशस्त भयो कि भएन भन्नेचाहिँ प्राथमिक पक्ष हो । नयाँ आम निर्वाचन गर्नु भनेको वर्तमान र भविष्यको आचरण तथा व्यवहारलाई नियमित र व्यवस्थित गर्न खोज्नु हो । निर्वाचनमार्फत राजनीतिक अभ्यासले जनअनुमोदन पाउँछ, मतादेश अनुसार शासनादेश पाएका दलहरूले कार्यसम्पादन गर्न निर्दिष्ट गोरेटो पाउँछन् । संविधानको मर्मलाई अतिक्रमित नगर्नसमेत त्यो मतादेशले बन्देज लगाएको हुन्छ ।

संविधानले राज्यतन्त्र समावेशी हुने परिकल्पना गरेको छ । प्रतिनिधित्वको विविधता र तीबाट ध्वनित हुने विचार, ज्ञान र अनुभवमा जुन विपुलता र सक्रियता उजागर हुन्छ, त्यसप्रति नेपाली लोकतन्त्रले गर्व गर्न सक्छ । प्रतिनिधित्वको यही विविधता नै हाम्रो राष्ट्रिय एकताको आधुनिक सूत्र हो । यो विविधतालाई कत्तिको स्वीकार, सम्मान, सक्रिय हुने अवसर दिइन्छ, हाम्रो एकता त्यसमै निर्भर हुन्छ । हाम्रो संविधानले प्रतिनिधित्वको एकरूपतालाई अस्वीकार गरेको छ । सार्थक समावेशी प्रतिनिधित्व नेपाली समाज अनुकूल अवधारणा हो । संविधानको प्रस्तावनामै ‘हामी सार्वभौम सत्तासम्पन्न नेपाली जनता’ लेखिएको छ र त्यसको विस्तार गर्दै अगाडि उल्लेख छ— ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त ।’ यस पटकको निर्वाचनले यी विशेषतालाई आत्मसात् गरी प्रतिनिधिसभा र प्रदेशसभालाई विविधताबीचको एकताको साझा मञ्च बनाउने संकल्प पूरा गर्छ कि गर्दैन ? जवाफ निराशाजनक छ ।

दलहरूभित्र नेतृत्वको आलोचना गर्ने, प्रश्न उठाउने परम्परा संकुचनमा परेको छ । दलहरू वा तिनका नेतामाथि औंला उठाउनुलाई लोकतन्त्रविरोधी हर्कत भन्न थालिएको छ । दलभित्र प्रश्न उठाउनेहरूलाई प्रत्याशी हुनबाट रोकेर दण्डित गरिएको छ । दलको आन्तरिक लोकतन्त्रका लागि तर्क र तथ्ययुक्त आलोचना एउटा अनिवार्य पक्ष मानिन्छ तर नेपालमा यो पक्षलाई नै किनारामा पारिएको छ । यतिखेर दलपतिहरूले आफ्नै कार्यकर्ताहरूबाट प्रश्नको अधिकार खोसेका छन् । यसको दुष्प्रभाव टिकट वितरणमा देखियो । दलहरूले संविधानको अन्तर्यबाट टाढा गएर प्रत्याशी खडा गरेका छन् । यतिखेर सबैभन्दा ठूलो र अभूतपूर्व संकट के हो भने, निर्वाचनको उपयोग संविधानको आत्मालाई विखण्डित गर्नका लागि गरिँदै छ ।

दलहरूको बलमिच्याइँ बढ्दो छ । यस पालि जुन असमावेशी र असन्तुलित तवरले टिकट वितरण भयो, त्यसले वर्तमानको प्रतिनिधित्वको आधार निर्माण गर्दै भविष्यको राज्य चरित्रलाई मार्गनिर्देश गर्छ । प्रतिनिधित्वमा कुनै एउटै समुदायको वर्चस्व हुनु भनेको लोकतन्त्रलाई पक्षाघात हुनु हो । निर्वाचनले जनसाधारणको महिमा र गरिमालाई केन्द्रमा ल्याउनुपर्ने हो, सीमान्तीकृत र किनारीकृतहरूलाई मुखर हुने अवसर दिनुपर्ने हो । तर, टिकट वितरण लोकतान्त्रिक तवरले नहुनुले दलहरूमा डाडुपन्यु हातमा भएका सीमित नेताहरूको अधिनायकवाद स्थापित भएको दर्साएको छ । अत्यधिक खुला, अधिक ग्रहणशील, अधिक विविधता बोकेका, अधिक सृजनशील एवं सिद्धान्तनिष्ठ समर्पित कार्यकर्ताहरूबीचबाट उम्मेदवार खडा गरिनुपर्ने थियो । तर, त्यसो नहुँदा कमसलहरूबाटै छनोट गर्नुपर्ने विकल्पहीनताको अवस्थामा मतदातालाई पारिएको छ । आज समावेशीका नाममा ‘आलंकारिक समावेशी’ एउटा वैध र सबैले प्रयोग गर्ने राजनीतिक औजार भएको छ । निर्वाचन फगत शासकीय प्रतिनिधि छान्ने प्रक्रिया नभएर समाजभित्र द्वन्द्व व्यवस्थापनको बाटो हो । विविधतायुक्त एवं सन्तुलित प्रतिनिधित्वले राजनीतिक स्थिरता दिन सक्छ । तसर्थ दलहरूले आआफ्ना प्रत्याशीको छनोट कसरी र कस्तो गर्‍यो ? त्यसले राष्ट्रको सामाजिक–राजनीतिक जीवनलाई सुदूरसम्म प्रभाव पार्छ ।

वर्तमान राजनीतिक पार्टीहरू मौजुदा व्यवस्थाको विकल्प बन्नमा अक्षम छन् । तिनीहरू मूल रोगसँग जुध्न तयार छैनन् । अहिलेको आवश्यकता भनेको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्यालाई समाधान गरी राज्यको अग्रगामी पुनःसंरचना गर्नु होÙ राज्यको केन्द्रीकृत ढाँचाको अन्त्य गरी सहभागितामूलक संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउनु हो । तर, यसको प्राथमिक पक्ष प्रतिनिधित्व गर्ने अवसर कसले पाइरहेको छ ? निर्वाचनको उद्देश्य प्रतिनिधित्वको निर्धारण हो । शासितहरू वा सेवा प्राप्त गर्नेहरूको सहमतिमा मात्र शासन सञ्चालन गर्ने परिपाटी हुन सके मात्र निर्वाचन शासनको वैद्यता पुष्टि गर्ने आधार मानिन्छ । तर प्रतिनिधित्वको छनोट पहिले दलहरूले गर्ने र पछि मतदाताले तीमध्येलाई रोज्ने प्रावधानले गर्दा मतदाताहरूका लागि विकल्प थोरै छन् ।

यस पटक दलहरूले निर्वाचनपूर्व नै गठबन्धन गरेका छन् । सत्ता र प्रतिपक्ष अर्थात् नेपाली कांग्रेस र एमालेका नेतृत्वमा अलगअलग गठबन्धन छन् । चुनावपूर्व नै गठबन्धन गरिनुका केकस्ता सीमाहरू छन्, त्यो विवेच्य विषय त हुँदै हो, तर यतिचाहिँ जिब्रो नचपाई भन्न सकिन्छ— विद्यमान हाँक र हौसलालाई स्वीकार गरेर समावेशी प्रतिनिधित्वको मर्मलाई आकार दिने प्रशस्त सम्भावनालाई चुनावी गठबन्धनहरूले तुहाइदिएका छन् । मधेशको सधैंको गुनासो रहँदै आएको छ— जहिले पनि पहाडी उम्मेदवार मधेशबाट लड्दा स्थानीय मतदाताहरूले त्यसलाई सहज रूपमा लिने र जिताएर पठाउने पनि गरेका छन्, तर पहाड–हिमालमा त्यस्तो उदारता पाउन अद्यापि सकिएको छैन । त्यसै गरी, आफूहरूलाई प्रत्यक्षमा टिकट नदिइएको दलित र महिलाहरूको गुनासो छ । गठबन्धनको राजनीतिले यस्ता गुनासाहरूलाई सधैंका लागि बन्द गर्न आधुनिक प्रतिनिधिमूलक आधार खडा गर्न सक्थ्यो । नेताहरूलाई कुनै अमुक निर्वाचन केन्द्रको बन्दी नबनाई संघीय संसद्का लागि कतैबाट उठाउन सकिन्थ्यो । यो वा त्यो गठबन्धनले दलित वा महिलालाई प्रत्यक्षतर्फ मौका दिन सक्थे । कुनै एउटा दललाई यो गर्न गाह्रो थियो होला, तर मिलीजुली चुनाव लड्दा पारम्परिक मानसमा हस्तक्षेप गर्न सकिन्थ्यो ।

निर्वाचनले राष्ट्र जोड्ने काम गर्न सक्थ्यो तर यसमा दलहरू चुके । उम्मेदवारहरूका चेहरा र स्थान छनोटमा अग्रगामी दृष्टि पुग्न नसकेको निर्वाचनले लोकतन्त्रलाई कमजोर बनाउँछ र मुलुकलाई द्वन्द्वको अवस्थामा फर्काउँछ ।

मधेश आन्दोलनसँग जोडिएका राजनीतिक दलहरूले प्रतिनिधित्वका कोणबाट मधेशी दलितहरूलाई न्याय दिन सकेनन् । नयाँ होउन् वा पुराना, सबै राजनीतिक दलमा प्रतिनिधित्वलाई लिएर केही सवालमा साझा सोच पाइन्छ— दलित र महिलालाई प्रत्यक्षमा हतपती लडाउन चाहँदैनन् । समानुपातिक प्रणालीको आवरणमा लाभ लिएका पात्रहरूका कारण यो प्रणालीमाथि नै प्रश्न उठाउनेहरू बढ्दै छन् । तर ठन्डा दिमागले सोच्दा समस्या प्रणालीमा होइन, दलहरूले छनोटको अघोषित मापदण्ड आत्मसात् नगर्नुमा छ । दलहरूले समावेशी–समानुपातिक आरक्षणका नाममा तीन ‘अ’ (आफन्त, आर्थिक हैसियतवाला र आलंकारिक प्रतिनिधित्व चाहने) लाई राजनीतिक आरोहणको मौका दिए ।

आलंकारिक प्रतिनिधित्व चाहनेहरू आफूले प्रतिनिधित्वको मौका पाएको वर्गका वास्तविक एजेन्डाप्रति प्रतिबध्द त रहँदैनन् नै, बरु त्यसविरुद्ध टिप्पणी गर्ने र दलपतिको चाहनाप्रति अन्धभक्ति देखाउने गर्छन् । आफ्नै दलले परिवर्तनका एजेन्डालाई तिरोहित बनाउँदा वा संविधानको मर्ममाथि प्रहार गर्दा उनीहरू मौन बस्छन् । एकातिर समानुपातिक प्रणालीको प्रयोग भइरहेको छ, अर्कातिर समावेशी प्रतिनिधित्वका अवसरहरू खुम्च्याइँदै लगिएको छ । तर समावेशी कोटामा पुगेका अधिकांश व्यक्ति दलभित्र शिर निहुराएर बसेका छन् । समावेशी कोटामा प्रतिनिधित्वको अवसर पाएकाहरू दलका दास होइनन् । आखिर वञ्चितिमा परेकाहरूलाई प्रत्यक्षतर्फ किन उठाइँदैन ? अनुभवसिद्ध जवाफ छ— जहाँ समावेशी कोटाबाट आएकाहरू दलपतिप्रति अनुगृहीत हुन्छन्, त्यहीँ प्रत्यक्ष निर्वाचित हुनेहरूमा तुलनात्मक रूपमा आत्मविश्वास बढी हुन्छ । हुनुपर्ने त समानुपातिक होस् वा प्रत्यक्ष, आफ्ना एजेन्डाहरूप्रति दृढसंकल्प पात्रहरू हो ।

उपर्युक्त सवालहरू शून्यमा उठेका होइनन् । संविधान कार्यान्वयनका लागि भनिएको पछिल्लो चुनावदेखि नै प्रतिनिधित्व छनोटका अनुभवहरू बडो पीडादायक छन् । विगतका चुनावहरूमा भएका अपारदर्शी छनोटहरूको शृंखलाका कारण हाम्रो राजनीतिको यस्तो हविगत भएको हो । हुन त दलहरू चुनावी मुडमा रहेका बेला यस्ता कुराहरू उठाउनु भनेको बिलौना गर्नुसरह हुन्छ तर महाभारतमा महर्षि वेदव्यासले भनेका छन्— ‘न च कश्चित् शृणोति मे’ (कसैले सुनेन भन्दैमा बोल्न छाड्न हुन्न) ।

प्रकाशित : आश्विन २७, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्

आसन्न चुनावमा गान्धीगिरी !

जहाँजहाँ संगठित घृणाविरुद्ध सामञ्जस्य र सद्भावको खोजी गरिन्छ, जबजब आत्मकेन्द्रित सत्ताविरुद्ध सविनय अवज्ञा गरिन्छ, राज्य आंतक वा अपराधसँग जुझ्न सत्य र अहिंसाको बाटो लिइन्छ, जहाँजहाँ क्षमा गरेर अर्को पक्षसँग हातेमालो गर्दै अग्रगमनको बाटो पहिल्याइन्छ, त्यहाँत्यहाँ गान्धी छन् ।
चन्द्रकिशोर

दक्षिण अफ्रिकी मुक्ति संग्रामका अगुवा नेल्सन मण्डेलालाई जब रोबेन आइल्यान्डमा कैद गरिएको थियो, त्यतिखेर उनीमाथि हिंसक अपराधहरूको मुद्दा थियो । त्यो कारागार असाध्यै कठोर सजाय भोग्नेहरूका लागि थियो । तत्कालीन शासकहरू त्यस्ता कैदीहरूलाई जिउँदै गुमनाम होऊन् भनेर निर्जन द्वीपमा राख्थे । मन्डेला शासकको यस्तो कुत्सित मनसायलाई बुझ्थे । उनले आफ्ना साथीहरूलाई भने— हामी रंगभेदी शासनको शिष्टाचार र जेल नियमावलीको पालन गर्दै प्रतिरोध गर्नेछौं । त्यहाँ मन्डेला लगभग २८ वर्ष कैदमा बसे । तर त्यो प्रयोगले गर्दा उनी व्यक्ति मात्र रहेनन्, विचारमा बदलिए ।

विश्वइतिहासमा यो एउटा प्रेरक उदाहरण हो । जेलमा रहेर पनि एउटा व्यक्तिले त्यत्रो लामो समयसम्म मुक्तिको आन्दोलन चलाउन सक्यो, जब बाहिर निस्कियो तब ‘बिर्स र माफी देऊ’ को नीति अपनाएर आफ्नो देशलाई विघटन हुनबाट जोगायो । मन्डेलाले यो कुरा महात्मा गान्धीबाट सिकेका थिए ।

बीसौं शताब्दीका चार अन्य नोबेल शान्ति पुरस्कार विजेताहरू मार्टिन लुथर किङ जुनियर, दलाई लामा, आङ सान सु की र अदोल्फो पेरेज एस्किवेलले आफूहरू महात्मा गान्धीको दर्शनबाट प्रभावित रहेको स्वीकार गरेका छन् । यीमध्ये म्यान्मारकी आङले मात्र आफ्नो व्यक्तित्वको उचाइ स्थिर राख्न सकिनन् भनेर आलोचना बेहोर्नुपर्‍यो । पछिल्लो शताब्दीमा यी विभूतिहरूलाई हटाएर हेर्नुस् त, हाम्रो हिस्सामा दुई विश्वयुद्ध, शीतयुद्धको गोलचक्कर, अनेकौं युद्ध, शरणार्थीहरू र बृहत्तर पलायन पाउँछौं । यस परिप्रेक्ष्यमा यो कुरा जोडदार ढंगले भन्न सकिन्छ— यस धरतीलाई मानवग्रह बनाइराख्नमा गान्धी र उनका मानस शिष्यहरूको ठूलो योगदान छ । यिनै प्रकाशस्तम्भको दिव्य आलोकमा आआफ्नो परिवेशको अँध्यारो हटाउन दुनियाँभरि छोटे–छोटे गान्धीहरू सक्रिय छन् । सत्य, अहिंसा र सद्भावको अभावमा तपाईं मानवताको कल्पना कसरी गर्न सक्नुहुन्छ ?

गान्धी ३० जनवरी १९४८ मा मारिए । उनको जन्मदिन २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाइन्छ । गान्धी आज पनि अनेकौं मान्छेका मनमस्तिष्कमा ज्युँदा छन् । जहाँजहाँ संगठित घृणाविरुद्ध सामञ्जस्य र सद्भावको खोजी गरिन्छ, जबजब आत्मकेन्द्रित सत्ताविरुद्ध सविनय अवज्ञा गरिन्छ, राज्य आंतक वा अपराधसँग जुझ्न सत्य र अहिंसाको बाटो लिइन्छ, जहाँजहाँ क्षमा गरेर अर्को पक्षसँग हातेमालो गर्दै अग्रगमनको बाटो पहिल्याइन्छ, त्यहाँत्यहाँ गान्धी छन् । बीसौं शताब्दीभन्दा एक्काइसौं शताब्दीमा गान्धी बढी अपरिहार्य छन् ।

गान्धीको जीवन स्वयं एक प्रयोगशाला थियो । उनी निरन्तर सिक्न खोज्थे । उनी अति जिज्ञासु थिए । उनी अहर्निश आफूलाई सुधार्न र सक्षम हुन प्रयत्नरत रहे । बाल्यकालमा उनी यति संकोची थिए, घर र स्कुलबीचको दूरी दौडेरै पार गर्थे । कसैले आफूसँग कुरा गर्ला कि भनी डर लाग्थ्यो उनलाई । तिनै मोहनदास, तिनै गान्धी दक्षिण अफ्रिकामा औपनिवेशिक शासकको अत्याचार देखेपछि मौन बस्न सकेनन् । औपनिवेशिक माहोलमा हुर्किएका उनले जीवन समाजबाट सिक्न र बदलामा समाजलाई भयमुक्त बनाउनमा लगाइदिए । गान्धीमाथि उनकै देश भारतमा हिलो छ्याप्ने काम बढी गरिन्छ । हुँदाहुँदा उनलाई गोली हान्ने नाथुराम गोड्सेको पूजा गर्ने जमातसमेत मुखर हुँदै गएको छ । यसका बावजुद भारतले अन्तर्राष्ट्रिय स्तरमा देखाउने पात्र उनै महात्मा गान्धी बनिरहेकै छन् ।

आज राजनीतिबाट नैतिकता हराउँदै गएको छ । यस्तोमा गान्धीवादी मूल्य एउटा प्रभावी विकल्पका रूपमा देखा पर्छ । आज दुनियाँले हिंसक तरिकाले विवाद सुल्झाउन सकिँदैन भनी मान्न थालेको छ । समाधानको हिंसक शैली अपनाउँदा समस्या केही कालका लागि मत्थर देखिए पनि त्यसको जरो रही नै रहन्छ । गान्धी जतिखेर जीवित थिए, त्यतिखेर युद्धलाई ‘विवाद–समस्या’ तिरोहित गर्ने एउटा साधनका रूपमा लिने गरिन्थ्यो । त्यतिखेरका बहुसंख्यक वैश्विक नेताहरू प्रथम वा द्वितीय विश्वयुद्ध तथा युरोपका कैयौं युद्धमा सहभागी थिए । तर त्यही समयावधिमा जब सिंगो विश्व हिंसात्मक युद्धमा अल्झिएको थियो र त्यसो गर्नुलाई जायज र विकल्पहीन ठान्थ्यो, त्यस्तो विपरीत परिस्थितिमा गान्धी एक्ला यस्ता व्यक्ति थिए जो सधैं युद्ध र हिंसाको रचनात्मक विकल्प हुनुपर्छ भनी सोच्थे । फ्रान्सेली दार्शनिक रोम्याँ रोलाले भनेका छन्, ‘कुनैकुनै अर्थमा त गान्धी विज्ञानभन्दा पनि अगाडि बढिसकेका थिए । उनले भविष्यका समस्याहरूको आकलन गरिसकेका थिए । यस अर्थमा उनी अत्याधुनिक व्यक्ति थिए ।’

गान्धीको विचार कहिल्यै पुरानो हुँदैन, न त उनी कुनै देश वा महादेशको सीमामा बाँधिइन सक्छन् । उनी सदैव भविष्यको बाटो समाउनमा सहायक सिद्ध हुँदै आएका छन् । गान्धी कुनै कालखण्डमा सीमित छैनन् । उनी मूलतः भविष्यका मसिहा हुन् । उनी पटकपटक स्मरणमा मात्र आउँदैनन्, अनिवार्य प्रतीत हुन्छन् । गान्धीलाई उनकै देशमा तेजोवध गर्ने शकुनि सत्ता तल्लीन रहे पनि विश्व–मानवतालाई उनकै दर्शनमा शान्ति र उन्नतिको अंकुर दृष्टिगोचर हुने गरेको छ ।

गान्धीको दूरदृष्टि बडो सूक्ष्म एवं प्रबल थियो । उनले सामाजिक, नैतिक र आर्थिक स्वतन्त्रता प्राप्त गर्नका लागि रचनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । आफैंले स्थापना गरेको भारतीय कांग्रेसले गान्धीलाई राजनीतिक नेता नभई आध्यात्मिक नायकका रूपमा ग्रहण गर्‍यो, उनको पूजा र प्रशस्तिमै केन्द्रित भयो । महात्मा गान्धीको प्रस्ट मत थियो— भारतजस्तो मुलुकमा, जसको जनसंख्या बढी छ, जहाँ ग्राम्य जीवनको परम्परा छ, पश्चिमी नमुनाको अन्ध नक्कल गर्नु जरुरी छैन । पश्चिमी सभ्यता सहरी सभ्यता हो । बेलायत र इटालीजस्ता साना मुलुकले आफ्नो व्यवस्थाको सहरीकरण गर्न सक्छन्; अमेरिकाको आफ्नै ढंगको विकासक्रम छ । यस्तोमा भारतले आफ्नो परम्परा र पृष्ठभूमिलाई चटक्क छाड्न मिल्दैन ।समयसमयमा परस्पर विरोधी विचारधाराका संस्था–संगठन वा नेताहरूले गान्धीको नाम भजाउँदै आए ।

गान्धीद्वारा लिखित ‘हिन्द स्वराज’ (सन् १९०९) को भारत भन्छ, ‘अरू मुलुकले सास थुन्ने कार्बनबाट बच्न के कटौती गर्छन्, हामीलाई मतलब छैन । हामी आफ्नो आवश्यकतालाई सीमित गर्छौं र संसारलाई जीवनको पाठ दिन्छौं । खाँचो पर्‍यो भने मृत्युगामी तिनीहरूकै अर्थव्यवस्थालाई पूर्ण असहयोग गर्छौं । यदि यसबाट संघर्ष निस्किन्छ भने सत्याग्रह र प्रेमको शक्तिको प्रयोग गर्छौं ।’ बाटो त यही हो, तर गान्धीको ‘हिन्द’ कत्तिको तयार छ ? स्वराज कत्तिको टाढा छ ? वर्तमान औद्योगिक व्यवस्थाले जीवनलाई यस्तो गलपासोमा अल्झाइदिएको छ, जहाँ मानिसहरू फस्दै गएका छन् । जति छटपटिएर पासो हटाउन खोजे पनि झन्झन् फस्दै गइन्छ, घाँटी झन् कसिँदै जान्छ । नीति–अनीतिको निर्धारण आखिर यान्त्रिकीको आवश्यकताबाट हुँदो रहेछ । जीवनको सम्भावनामाथि आसन्न संकटको अनुभूति भैराखेको हुँदैन ।

चिन्तक प्रदीप गिरि भन्नुहुन्थ्यो, ‘सामान्यतः हामी सुन्छौं, गान्धी हृदय परिवर्तनको सिद्धान्तका पक्षपाती थिए । यो सत्य हो । तर प्रश्न छ, गान्धी कस्तो प्रकारको हृदय परिवर्तन चाहन्थे ? शासक वर्गको हृदय परिवर्तन अथवा शासित वर्गको हृदय परिवर्तन ? गान्धीको जीवन र क्रियाकलापमा हामी यस प्रश्नको उत्तर पाउँछौं !’ गिरिले गान्धी–विमर्श गर्दा जहिल्यै गान्धीलाई फराकिलो क्यानभासमा हेर्न उत्प्रेरित गर्नुहुन्थ्यो । गान्धीका लागि राजनीति फगत साधन भएको, साध्य त जीवनको अर्थको खोजी रहेको उहाँ बताउनुहुन्थ्यो । गिरि स्वयं जीवनको उतरार्द्धमा गान्धीप्रति पहिलेभन्दा बढी आकर्षित हुनुभएको थियो र प्रस्ट विचार राख्न थाल्नुभएको थियो ।

नेपालमा एकथरी छन्, जो गान्धीलाई जहिल्यै केवल भारतीयका रूपमा हेर्ने गर्छन् । भारत सरकारलाई हेर्ने चस्माबाटै गान्धीलाई हेर्न र अलि दूरी राख्न खोज्छन् । गिरिको गान्धी–विमर्शबाट विभिन्न धारका नेपाली जिज्ञासुहरूमा गान्धीलाई जान्न, पढ्न र बुझ्न उत्प्रेरणा पक्कै मिलेको छ ।

विचार मेटियो, नेतृत्व स्खलित भयो भन्नेबारे चिन्ता गरिनुपर्छ । राजनीतिक दल यो नामको होस् वा त्यो संज्ञाको, चाल, चरित्र उस्तै; केवल चेहरा फरक । राजनीतिको अर्जुनदृष्टि केवल ‘सत्ताकब्जा’ भएको छ । राष्ट्रवाद देखाउने दाँत भएपछि स्वभावतः राजनीति भागबन्डामा सञ्चालन हुन्छ । गान्धी बारम्बार भन्ने गर्थे— जनताले सहयोग नगर्दासम्म शासक र शोषकहरूले केही गर्न सक्दैनन् । निर्वाचन आधुनिक लोकतान्त्रिक समाजको केन्द्रीय अंग हो । लोकतन्त्र आत्मनियन्त्रित संस्कार हो । यस पटकको निर्वाचनमा जनताले कसरी हस्तक्षेप गर्ने ? गान्धीगिरी देखाउने गुन्जाइस कहाँ छ ? जनताको समस्या नउठाउने, जनताबाट टाढै रही राजधानीमा नेता परिक्रमा गर्न रुचाउने, छवि उजिल्याउन नसक्ने उम्मेदवार घरदैलामा आइपुग्दा तिनलाई फूल दिएर सच्चिन आग्रह गरौं, हामी तपाईंजस्तालाई मत दिन्नौं भन्ने जनाउ दिऔं । देहातमा ‘हमरे भोटवा से कोटवा सिया के, मौज करेला राजधानी में / हम सुती पलानी में, ऊ मौज करेला राजधानी में’ भन्दै हिँड्ने जनतालाई अब गान्धीगिरी गर्ने उपयुक्त मौका आइलागेको छ ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×