व्यक्तिगत स्वतन्त्रताको अर्थ


नेपाली सिनेमाका चर्चित अभिनेता राजेश हमालले यस पटक फेसबुक पेजमार्फत दसैंका क्रममा खिचिएका पारिवारिक तस्बिरहरू सार्वजनिक गर्दै श्रीमतीले आफ्ना गोडा ढोगेको फोटो पनि राखेका थिए ।

स्वाभाविक थियो, सिने क्षेत्रमै उच्च बौद्धिक क्षमता भएका ठानिने हमालको यो तस्बिर ’निजी’ मात्रै ठहरिने र यत्तिकै छोडिने विषय रहेन । उनी जनसाधारणमध्येकै एक व्यक्ति हुन्थे भने यो प्रसंग उनैको चिनजानको सानो वृत्तभित्र मात्रै चर्चामा आउँथ्यो या नआउन पनि सक्थ्यो । तर व्यापक परिचय र प्रभाव बनाएका व्यक्ति भएकाले उनीमाथि उल्लेख्य स्तरमा आलोचनात्मक टिप्पणी बाहिर आए । केहीअघि मात्रै ‘जातको प्रश्न’ जस्तो सामाजिक न्यायको गम्भीर विमर्शका ‘होस्ट’ भएर टेलिभिजनमार्फत मनग्गे प्रशंसा (र यथास्थितिवादीहरूका कटु आलोचनासमेत) बटुलेका हमालले लैंगिक प्रश्नमा किन सामन्ती घेरो नाघ्न नसकेका होलान् भन्ने प्रश्न उठ्नु अस्वाभाविक थिएन । तर यसरी उठेका प्रश्नहरू कठोर पुरातन मनोवृत्तिको एउटा पंक्तिलाई यति बिझायो कि तीमध्ये कतिपयले विवेक र शिष्टताका सबै हद पार गर्ने गरी प्रश्नकर्ताको हुर्मत लिने कुचेष्टा गरे, गर्दै छन् । यसो गर्नेमा कथित ‘शिक्षित र
सुसंस्कारी’ र अझ कतिपय त लेखक/साहित्यकार भनिनेहरू नै छन् जो लोग्नेलाई स्वास्नीले ढोग्नु वा नढोग्नु महिलाको ‘व्यक्तिगत स्वतन्त्रता’ हो भन्ने ठान्छन् तर व्यक्तिगत स्वतन्त्रताका लागि व्यक्तिको निजत्व-निर्माण र सामाजिकीकरणको प्रक्रिया जिम्मेवार हुन्छ भन्नेचाहिँ मान्दैनन् ।
यिनैमध्ये पनि आफूलाई लेखकको कोटिमा राख्ने, साहित्यसेवी भन्न रुचाउने एक जना पाकी महिलाले त ‘बिहे गर्दा नै लोग्नेको गोडा ढोगेर, दासी हुन स्वीकार गरेर आएकाहरूलाई खुब नारीवादी बन्नुपर्ने ? अर्काको निजी विषयमा निन्दोचर्चो गर्नुपर्ने’ भन्दै ढोग्नुलाई आनन्दको स्रोत नै करार गर्न भ्याइन् । नेपाली समाजमा आज पनि विवाह अपवादबाहेक महिलाको स्वतन्त्र निर्णय र नियन्त्रणको संस्कार बनेको छैन भने, बीसौं-तीसौं वर्षअघि अधिकांश:
बाबुआमाले रोजेका मान्छेसँग बिहे गरेका महिलाहरूले हिजो कुन शैलीले कसरी बिहे गरे भन्ने आधारमा आज विभेदकारी चलनलाई सार्वजनिक नुमाइस गरिएको विषयमा बोल्न नपाउने हुन्छ ? ल, लोग्नेलाई ढोग गर्ने कि नगर्ने भन्ने प्रश्नमा महिलाले व्यक्तिगत स्वतन्त्रता प्रयोग गरे भनेरै पनि मानौंला, के हाम्रो समाजमा वा हाम्रा परिवारहरूमा आफ्नै मुक्त चेतले यस्तो स्वतन्त्रताको उपयोग गर्ने निरपेक्ष स्थिति उपलब्ध छ ? श्रीमतीले श्रीमान्लाई ढोग्नुपर्छ, यसो गरे मात्रै श्रीमतीले असली अर्थमा श्रीमान्लाई सम्मान गरेको ठहर्छ भन्ने भाष्य बनेको हुँदैनथ्यो भने यसै गरी ढोग गर्ने चलन स्थापित भएको हुन्थ्यो ? त्यसकारण सबैभन्दा पहिले ‘व्यक्ति’ कसरी बन्छ र उसले स्वतन्त्रताको उपयोग गर्ने अवस्था कतिखेर सृजना हुन्छ भन्ने छलफल आवश्यक देखिएको छ ।
...
‘व्यक्ति’ र ‘व्यक्तित्व’ एक्लै निर्माण हुन गाह्रो छ । अपवादहरूलाई छोडेर कुरा गर्दा व्यक्ति परिवार र समाजको निर्माण हो जहाँभित्र उसले भाषा, संस्कार र जीवनशैलीसहितको निजत्व पाउँछ तर उक्त निजत्व आफैंमा स्वायत्त र स्वतन्त्र हुँदैन समाजका प्रतिक्रियाहरूमा अन्तरनिर्भर हुन्छ । अझ व्यापक स्तरमा भन्नुपर्दा ‘व्यक्ति’ कस्तो बन्ने, उसले कसरी सोच्ने भन्ने कुरा पारिवारिक र सामाजिक आयामले मात्रै होइन, समग्रमा राज्यको चरित्र र त्यसभित्र पनि प्रभुत्वशाली/शासकवर्गीय विचार र मूल्यपद्धतिमा भर पर्छ । त्यस्तो पद्धतिका प्रतिमान धेरै हुन्छन्; जस्तो— भाषा र त्यसको शब्दकोश (व्याकरणसमेत), सामाजिक अन्तरक्रियाका नियमित चक्र, समाजले ‘रोल मोडल’ ठानेका प्रभावशाली व्यक्तिहरू, वर्चस्वशालीका अनुकूलित र स्वीकृत सामूहिक आचरण, धर्म-संस्कारजन्य क्रियाकलापहरू, कानुन र सामाजिक सुरक्षाको स्थिति, लैंगिक वा अन्य आधारमा बनेका कसरी हिँड्ने र कसरी उठबस गर्ने जस्ता कुराका मापदण्ड, औपचारिक शिक्षाका पाठ्यक्रम र तीभित्र नियतपूर्वक वा अनजानमै खिपिएका विभेदजन्य भाष्य आदि । तिनैमध्ये चाडबाड र तिनमा गरिने गतिविधि पनि पर्ने भए ।
जहाँ लिंगका आधारमा पूर्वनिर्धारित भयावह विभेद र हिंसाका अनेकौं रूप छन्, तिनै आधारमा बनेका निषेध र स्वीकारका बेहिसाब प्रपञ्च छन्, त्यहाँ राजेश हमाल दम्पतीको ढोग प्रकरण त एउटा ‘फेनोमेना’ मात्रै हो । मुख्य कुरा हो, नेपाली समाजभित्र व्यक्तिको निजत्व र विवेकको निर्माण कुन स्तरबाट हुने गरेको छ भन्ने । यसरी बन्ने ‘निजत्व’ को निर्धारक के हो र को हो भन्ने । जब कुनै महिला आफ्नो नैतिक र विवेकसम्मत प्रयासले त्यस्ता निर्धारक तत्त्वबाटै स्वतन्त्र बन्ने चेष्टा गर्छिन्, उनको व्यक्तिगत स्वतन्त्रता ‘स्टिरियोटाइप्ड’ मूल्यलाई समीक्षा गर्दै ‘स्व’ या ‘आफू’ बन्ने प्रक्रिया र प्रयोगभित्र छिरेपछि मात्रै सम्भव छ । जहाँ महिला आज पनि व्यक्ति होइन अधीनस्थ एकाइका रूपमा छन्, त्यहाँ व्यक्तिगत स्वतन्त्रताको उपयोग गरेरै कोही पददलित बन्न स्वीकार गर्छ भन्ने मान्ने र अर्कालाई जबर्जस्ती मनाउने कुचेष्टा गर्ने काम कि त रोग हो कि अपराध । यस्तो रोग र अपराधलाई प्रश्रय दिँदा समाज झन् रुग्ण र विभेदकारी बन्न पुग्छ । त्यसैले श्रीमान-श्रीमतीजस्तो सहअस्तित्वको सम्बन्धमा ढोगसँग जोडिएका पाखण्डी वक्तव्यहरूलाई ठाउँका ठाउँ चिर्नु जरुरी छ ।
व्यक्ति आफूले के सोच्ने हो, कसरी सोच्ने हो भन्ने कुराको निर्क्योल गर्न साधारण इच्छाशक्ति र प्रयत्नले पुग्दैन; स्वयंप्रति पनि कठोर आलोचनात्मक बन्न सक्ने सामर्थ्य बनाउनुपर्ने हुन्छ । त्यसैले व्यक्तिगत स्वतन्त्रता आफैंमा कैयौं चीजभित्र जेलिएको र अधीनस्थ स्थितिमा छ भन्ने स्वत: बुझिन्छ । महिलाको हकमा त यो कति हो कति विकट र दुर्गम प्रक्रिया हो, भनिसाध्य छैन । ढोग प्रकरणमा उठेका प्रश्नहरूको हुर्मत लिनेहरूले के बुझेनन् भने, उनीहरूको हुर्मत-लियाइ समेत समाज र राज्यको आधारभूत विचारबाट बनेको हो । ती त बिचरा त्यसका निमित्त मात्रै हुन् । ती आफैं शासकीय विचारधाराका कैदी, त्यसका अधीनस्थ हुन् । ती आफैंले भनिरहेको कथित ‘व्यक्तिगत स्वतन्त्रता’ उपभोग गर्न नसकेका निरीह पात्रसमेत हुन् । तिनले बोलेकै कुरा नै तिनको ‘स्वतन्त्र अभिव्यक्ति’ होइन, प्रश्नसँगको भय र विभेदकारी परम्परा नासिने असुरक्षाले जन्मेको संस्कारजन्य स्वस्फूर्तता मात्रै हो ।
जे चलिरहेको छ त्यसैलाई अक्षरश: मान्नकै लागि पनि ‘अरूलाई के बाल, म मान्छु’ भन्ने एकोहोरो मूढ तर्क होइन, विवेकसंगत आधार त चाहिन्छ नै । त्यसैले व्यक्तिगत स्वतन्त्रताको स्थिति अरूमाथि र आफैंमाथि पनि प्रश्न गर्ने चेतनाबिना आर्जन गर्न सम्भवै छैन । आम महिलाले श्रीमान्लाई ढोग्ने ‘स्वतन्त्रता’ को निर्धारक के हो ? लोग्नेलाई ढोग्दा त्यो ढोगमा सुख र सन्तुष्टि देख्ने ‘न्यारेटिभ’ कहाँबाट कसले चलाएको हो ? किन चलाएको हो ? त्यस्तो न्यारेटिभ ककसले कुनकुन क्षण र समयमा कस्ताकस्ता माध्यमबाट उनीहरूभित्र ‘इन्जेक्ट’ गरेका थिए वा छन् ? त्यसबाट सांस्कृतिक विशेषाधिकार र लाभ कसैलाई छ भने त्यो लाभ लिने को हो ? तीजमा ऋषिपञ्चमीको व्रत गर्ने महिलाहरू दिनको पूजाविधि सकिएपछि साँझ लोग्नेका गोडा धुँदै त्यही पानी खान्छन् । कतिपयले यस्तो क्रियालाई पनि ‘व्यक्तिगत स्वतन्त्रता’ भन्ने गरेका छन् । लोग्नेलाई ढोग्नु र उसका गोडाको पानी खानुलाई ‘शास्त्रसम्मत र अलौकिक सुखकारी’ भन्दै प्रवचनसमेत दिने ‘विद्वान्/विदुषी’ पनि यहीँ छन् ।
जुन समाजमा ‘खुट्टा भए जुत्ता जति पनि पाइन्छन्’ भन्दै स्त्री जातिको मानमर्दन गर्ने उखान पुस्तापुस्तादेखि प्रचलित छ, त्यहाँ खुट्टा र जुत्ताको परिभाषा दोहोर्याइरहन आवश्यक परेन । त्यही समाजमा ‘मलाई जुत्ता बन्नुमा दिव्य सुख छ’ भन्नु कति मूर्ख र आत्मघाती तर्क हो, व्याख्या नै चाहिएन । सांस्कृतिक ‘बँधुवा’ का रूपमा आत्मघातले बाँधिएको दासतुल्य अस्तित्वलाई नै निजी स्वतन्त्रता भन्दै त्यही आत्मरतिमा बाँच्नेलाई त्यसो गर्न कसैले रोक्ने कुरा भएन । त्यसैलाई ‘स्त्रीत्वको मानक’ मान्नुपर्छ भनेर जिकिर गर्ने प्रेरणा आफैंमा स्वतन्त्र प्रेरणा हुँदै होइन भन्नेमा पनि दुईमत नै छैन । त्यो त हाड र नसाका भित्तादेखि दिमागका जरासम्म पुगेर टाँसिएका पितृसत्ताका संस्कारजन्य प्रतिमानको अभिव्यक्ति हो । यी प्रतिमान व्यक्तिको सामाजिकीकरणसँग यसरी जोडिन्छन् कि तिनबाट छुट्टिएर अलग्ग एक व्यक्तिसत्ताका रूपमा आफ्नो अस्तित्व निर्माण गर्न असामान्य स्तरको आत्मसंघर्षले मात्रै सम्भव छ जुन विद्यमान व्यवस्था र मूल्यपद्धतिमा अत्यन्तै कम महिलाले मात्रै गर्न सक्छन् ।
हो, त्यही आत्मसंघर्षका क्रममा वा त्यसपछि मात्रै बन्छ व्यक्तिगत स्वतन्त्रताको उपयोग गर्ने कर्तापन अर्थात् एजेन्सी । सहरबजारमा बस्दैमा, लेखपढ गरेर कुनै ठूलो संस्थामा जागिर खाँदैमा वा व्यवसाय धानेर पैसा कमाउँदैमा, शास्त्रका ठेली पढ्दैमा वा शास्त्रका व्याख्या गर्दैमा, सुकिला महँगा लुगा लगाउँदैमा, भरपुर सुखसयलका आलिसान घरमा बस्दैमा वा आफैं मोटर गाडी हाँक्दैमा, हिरो/हिरोइन वा हिरोकी श्रीमती हुँदैमा व्यक्तिगत स्वतन्त्रता उपभोगको ‘एजेन्सी’ बन्छ भन्ने हुँदैन । यो कसैमा पनि बन्न सक्छ; लेखपढ गर्नै नजान्ने अपठित, असाक्षर सुदूर ग्रामीण महिलामा समेत ।
...
व्यक्तिगत स्वतन्त्रता व्यक्तिको सामाजिकीकरणको प्रक्रियामै अभिन्न भएर गाँसिन्छ तर व्यक्तिको आफ्नो सामाजिकीकरणका प्रक्रियामा स्वयं उसैको भूमिका भने केही पनि छैन । हाम्रो सामाजिकीकरण हामी जन्मनुअघिदेखि नै निश्चित गरिएको हुन्छ । जस्तै— हामी जुन परिवारमा जन्मेका हौं, त्यो हाम्रो छनोट होइन । उक्त परिवारले बोल्ने भाषा र गर्ने व्यवहार पनि हाम्रो रोजाइ होइन । त्यसै गरी समाज, संरचना र राज्यसमेत हाम्रा छनोट होइनन् । जैविक आकस्मिकताले एउटा निश्चित परिवारमा हामी जन्मन्छौं । खासखास आग्रहको वर्चस्व र शासनले बनेको समाजमा हुर्कन्छौं । अबोध बच्चाका रूपमा बाआमा र आफन्तबाट प्राप्त सिकाइका घेराभित्रै हामी सीमित
हुन्छौं । उहाँहरूले जानेर/नजानेर जे सिकाउनुहुन्छ, त्यसैलाई सत्य ठान्नु हाम्रा लागि निर्विकल्प बनिदिन्छ । स्कुल जान्छौं, त्यहाँ पनि पाठ्यक्रम र शिक्षकसँगको अन्तरक्रियामा जे सिकिन्छ, त्योसमेत हाम्रो छनोटमा नियन्त्रित हुँदैन । यही प्रक्रियामा हाम्रो चेतन र अवचेतन विवेक (कन्साइन्स) ले आकार लिन्छ । अब विचार गरौं, हाम्रा बाआमा, दाजु-दिदी, आफन्त, शिक्षक लगायतको चेतना जेले आकारित थियो, हामी त्यसैबाट आकारित हुन बाध्य बन्छौं कि बन्दैनौं ? के उहाँहरूको चेतना पूर्ण रूपले विवेकसम्मत, निर्विकार र विभेदरहित, पक्षपातरहित बन्न सम्भव छ ? के त्यो चेतना समग्र सामाजिक परिपाटी, उचनीचमय सामन्ती व्यवस्था र त्यसका कैयौं हिंसक दलीलहरूबाट निर्मित हुन असम्भव छ ?
‘साइकल अफ सोसलाइजेसन’ की लेखक बबी ह्यारो यसबारे बडो रोचक र सरल शब्दमा भन्छिन्— जुन लैंगिक स्थिति, वर्ग, समुदाय, संस्कृति, धर्म, सामाजिक अवस्थामा हामी जन्मन्छौं, त्यसको आधारभूत सिकाइमा कैयौं पूर्वाग्रह हुन्छन् । त्यहाँ विभेदका चरम रूप हुन्छन् र त्यसलाई टिकाउने भाष्य पनि सँगै हुन्छन् ।
तर जसले सामाजिकीकरणको यो प्रक्रियाभित्र आफू कहाँ छु भन्ने बोध गर्छ, त्यसले इतिहास खोतल्न थाल्छ, समाज पढ्न र बुझ्न थाल्छ, अरूलाई मात्र नभई आफूलाई समेत भित्रैदेखि चिन्ने र बदल्ने कठोर आत्मसंघर्ष थाल्छ । त्यहीँबाट उसको प्रश्नमुखी र उत्तरभेदी यात्रा सुरु हुन्छ ।
यस्तो अवस्थामा दुइटा कुरा हुन्छन्, कि त सचेत प्रयत्नले ऊ स्थितिहरूसँग लड्छ कि स्थितिसँग सम्झौता गर्छ । सम्झौता गर्नु व्यक्तिगत छनोट हुन सक्छ तर उसको मुक्त स्थिति र स्वतन्त्रताको अभिव्यक्ति हुन सक्दैन । यसबीच भय, द्विविधा र अनिर्णयका अनेक चरण पार गरेर जजसले स्वतन्त्रताको उपभोग गर्छन्, तिनले लोग्नेका चरण ढोगेर होइन माथ चुमेर प्रेम व्यक्त गर्छन् । श्रीमान् र श्रीमती जीवनसाथी हुन् । सहगामी हुन् । जिन्दगीको विकटभन्दा विकट यात्राका पार्टनर हुन् । त्यहाँ स्थानमान होइन, सम(बराबरी)भाव हुन्छ । त्यहाँ ढोगको ढोंगले होइन, जीवन्त अंकमालले प्रेम र समर्पणको बुलन्दी छुन्छ ।
प्रकाशित : आश्विन २५, २०७९ ०८:०३