कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छायाहरूको प्रतिस्पर्धा

राजनीतिलाई माध्यम बनाएर राज्यदोहन गर्ने निरन्तरको अनैतिक अवसर कतै गुम्ने हो कि भन्ने विक्षिप्तताका कारण राजनीतिक वृद्धहरु र ‘वैकल्पिक’ प्रतिगामीहरुले चुनावलाई एउटा ‘लोजिस्टिक’ घटनामा साँघुर्‍याउँदै छन् ।
विष्णु सापकोटा

मंसिर ४ को निर्वाचन पनि एउटा राष्ट्रिय चाड नै हुनुपर्ने हो तर हुँदै छैन । भ्रष्ट, अयोग्य र प्रतिगामीहरूलाई सत्तामा दोहोरिनका लागि चोख्याउने निश्चित जस्तै देखिएको आगामी निर्वाचनलाई ‘पवित्र लोकतान्त्रिक पर्व’ मान्न मनले मानेकै छैन ।

छायाहरूको प्रतिस्पर्धा

राजनीतिलाई माध्यम बनाएर राज्यदोहन गर्ने निरन्तरको अनैतिक अवसर कतै गुम्ने हो कि भन्ने विक्षिप्तताका कारण राजनीतिक वृद्धहरू र ‘वैकल्पिक’ प्रतिगामीहरूले चुनावलाई एउटा ‘लोजिस्टिक’ घटनामा साँघुर्‍याउँदै छन् । उनीहरूमध्ये अधिकतमले आफू किन निर्वाचित हुनुपर्‍यो भनेर आफैंलाई सोध्ने नैतिक क्षमता गुमाइसकेका छन् । भन्न जे भने पनि, सक्नेजति सबैले सबैसँग तालमेल गरेका छन्, गर्दै छन् । किनकि यी सबैलाई थाहा छ, यिनीहरू त्यसैका लागि र केवल त्यसैका लागि मात्र योग्य छन् ।

तैपनि दिनमै दर्जनौंका हिसाबले बाहिर आउने निर्वाचनसम्बन्धी समाचारहरूले हामीमध्ये धेरैलाई यसरी वशीभूत गरेका छन्, मंसिर ४ मा को–कोबीच, कस्तो प्रतिस्पर्धा हुँदै छ भनेर एकैछिन अडिएर सोच्ने ‘स्पेस’ हामीले आफैंलाई नदिएका हुन सक्छौं । चुनाव हुँदै छ, त्यसैले देशमा भयंकर हुँदै छ भन्ने मनोविज्ञानले गर्दा हामी साधनलाई साध्य ठानेर सतहमा रमाइरहेका हुन सक्छौं । कहिल्यै चोखिन नसक्ने गरी बिटुलिएकाहरूलाई चुनावी लहैलहैमार्फत फेरि शुद्धीकरण गर्न लागिरहेका हुन सक्छौं । त्यसैले, चुनावलाई दसैं–तिहारभन्दा ठूलो ‘चाड’ भनिरहेको यही रौनकबीच एकैछिन अडिएर सोच्नुपर्ने भएको छ- लोकतन्त्रमा चुनाव जुन उद्देश्यका लागि गरिन्छ, मंसिर ४ मार्फत हामी त्यो प्राप्त गर्नेवाला छौं ?

जसरी सिग्मन्ड फ्रोयडलाई साइकोयानलसिस (मनोविश्लेषण) का प्रणेता मानिन्छ, त्यसरी नै बीसौं शताब्दीका अर्का प्रख्यात मनोवैज्ञानिक कार्ल युङलाई यानलिटिकल साइकोलजी (विश्लेषणात्मक मनोविज्ञान) का संस्थापक मानिएको छ । फ्रोयड र युङको सुरुको मित्रता र पछिको सैद्धान्तिक पानी–बाराबार इतिहासमा यति चर्चित छ, यही कथामा आधारित भएर सन् २०११ मा बनेको ‘अ डेन्जरस मेथड’ भन्ने सिनेमा पनि निकै मन पराइएको थियो । मंसिरको चुनावमा कस्ता राजनीतिक प्रवृत्ति र ‘व्यक्तित्व’ हरूको प्रतिस्पर्धा कसरी होला भनेर बुझ्न फ्रोयडले भन्दा कार्ल युङले हामी मान्छेका बारेमा दिएर गएको विश्लेषण बढी सान्दर्भिक हुनेछ । त्यो बुझेपछि, चुनावी तालमेलका विक्षिप्तता र नतिजाका अंकगणितीय प्रक्षेपणहरूमा ध्यान दिए पनि हुन्छ, नदिए पनि ।

हामी सबैको अरूका अगाडि देखिने जुन ‘पर्सनालिटी’ (व्यक्तित्व) छ, त्यस शब्दको जरा ल्याटिनको ‘पर्सना’ बाट आएको हो । ‘पर्सना’ शब्दको मौलिक अर्थ हो- मास्क वा नकाब । अर्थात्, आफ्नो खास परिचयभन्दा बाहेक, कुनै नाटकमा कुनै खास चरित्रको भूमिका खेल्नुपर्दा जुन मुकुन्डो लगाएर आफ्नो फरक परिचयमा अभिनय गरिन्छ, ‘पर्सना’ भनेको त्यही हो । नाटकमा आफूले खेल्ने पात्रको चरित्र अनुसारको व्यक्तित्व बनाउनका लागि ओढिने व्यक्तित्व त राम्रै कुरा भयो । तर यस शब्दको मौलिक अर्थ पछ्याउँदै कार्ल युङको दर्शनले भन्छ- वास्तविक जीवनमा हामी जसरी बच्चाबाट प्रौढ हुँदै, हुर्कंदै जान्छौं, त्यो प्रक्रियामा हामी सबै अनिवार्य रूपमा एउटा वा अर्को ‘पर्सनालिटी’ को आवरण धारण गर्दै जान्छौं । आफैंले आफूलाई म त यस्तो व्यक्ति (पर्सना) हुँ भन्ने मानेर जिन्दगीको बाटो समात्छौं । र, आफ्ना सोच र आचरणहरू त्यही धारण गरिएको आवरणअनुसार निर्धारण गर्दै आफ्नो सामाजिक व्यक्तित्व बनाउँछौं ।

यतिसम्म पनि ठीकै नै सुनिन्छ । तर आफ्नो सामाजिक व्यक्तित्व निर्माण हुने प्रक्रियामा के भइदिन्छ भने आफूभित्रका आफ्नै अरू मौलिक चरित्रहरूलाई मनभित्र लुकाउन थालिन्छ । उदाहरणका लागि, कुनै युवाले आफूलाई भिक्षु बनायो भने उसको व्यक्तित्वले आफूमा अब कामवासना हुनेछैन भनी सोच्न थाल्छ । किनकि ऊ त भिक्षु हो । दुई–चारवटा कविता लेख्न थालेपछि कसैले आफ्नै बारेमा सोच्न थाल्छ- म त अब कवि हुँ, अब मैले बाँकी समाजसँग अन्तर्क्रिया कुनै कविले जसरी गर्नुपर्छ । कुनै सरकारी कर्मचारी छ भने भित्र जति नै भ्रष्ट भए पनि उसले ‘म त राष्ट्रसेवक’ भन्ने सामाजिक आवरण ओढेर आफैंलाई आफ्ना बारेमा ढाँट्न थाल्छ । यो सब गर्ने प्रक्रियामा हामीभित्र एउटा गम्भीर मनोवैज्ञानिक रूपान्तरणले काम गरेको हुन्छ । हामीले आफ्ना अरू सबै वास्तविक व्यक्तित्वलाई मनभित्रै दबाएका हुन्छौं । बाहिरी रूपमा हामी सबै त्यो ल्याटिन शब्दले दिने अर्थजस्तो ‘पर्सना’ मात्र बाँचेका हुन्छौं । र आफ्ना अरू वास्तविक मनोवृत्ति जे छन्, ती सबै हाम्रो छाया बनेर अचेतनमा हुन्छन् । ती छायाहरू विभिन्न मनोवैज्ञानिक प्रक्रियाबाट छद्म रूपमा मौका खोजी–खोजी फुत्तफुत्त बाहिर निस्किरहेका हुन्छन् ।

युङको निष्कर्ष के छ भने, यदि कोही व्यक्ति भित्रबाट आलोचनासँग डराउने खालको छ भने उसले बाहिर आफूलाई निर्भीक छु भनेर प्रक्षेपण गरिरहेको हुन्छ । भित्रबाटै ऊ भ्रष्ट छ भने बाहिरी आवरणमा उसले अरूले भन्दा धेरै पारदर्शिताको गफ हाँकिरहेको हुन्छ । यदि कोही व्यक्ति आत्मकेन्द्रित छ र देशप्रति खासै माया छैन भने उसको सामाजिक व्यक्तित्वले अरूले भन्दा बढी राष्ट्रवादी कुरा गरिरहेको हुन्छ । किनकि उसको अचेतनलाई थाहा छ, ऊ औसत नागरिकजति पनि राष्ट्रप्रेमी छैन र केवल राजनीतिक स्वार्थका लागि उसले त्यस्तो अभिनय गरिरहेको छ । त्यसको प्रतिक्रियास्वरूप उसको व्यक्तित्व बाहिर निस्कँदा अरूभन्दा चर्को राष्ट्रवादी भइसकेको हुन्छ । रोचक भन्ने कि विडम्बना, यिनीहरूलाई आफ्नो भित्री झुकावबारे थाहै नहुन सक्छ । मानिस स्वभावले बहुआयामिक हुने भए पनि उसले समाजमा धारण गर्ने व्यक्तित्व अक्सर एकांगी हुन्छ । उसका अरू सबै स्वभाव छाया बनेर सधैं ऊसँगै हिँडिरहेका हुन्छन् ।

यति सैद्धान्तिक फेरो समातेपछि अब निर्वाचन किन र कसरी केवल छायाहरू बीचको मात्र प्रतिस्पर्धा हुँदै छ भनेर बुझ्न सजिलो हुन्छ । २०७९ सालको यो चुनाव संसदीय इतिहासकै वृद्ध नेतृत्व रहेका दलहरूको प्रतिस्पर्धा त हुँदै हो, सँगसँगै, अपवादबाहेक यसमा भाग लिने दलहरू सबै विगत पन्ध्र वर्ष लगभग सधैं सत्तामा बसेकाहरूको जमात हो । समकालीन नेपालका जति पनि बेथिति र निराशाहरू छन्, ती सबैका प्रणेताहरू सामूहिक रूपमा यिनै हुन् । र, फेरि पनि चुनावी प्रतिस्पर्धा मुख्यतः यिनीहरूबीच नै हुँदै छ ।

यसको अर्थ, यो चुनावमा यिनीहरूले आलोचना गर्ने सामूहिक रूपमा आफूले आफूलाई नै हो । यिनीहरूले कसैका विरुद्ध आफूलाई भोट माग्दै छन् भने त्यो आफ्नै विरुद्ध माग्दै छन् । यिनीहरूको कसैसँग प्रतिस्पर्धा छ भने त्यो आफ्नै छायासँग छ । यिनीहरू लड्ने, भिड्ने, डराउने सबै आफ्नै छायासँग मात्र हुन् । यिनका छायाहरूले यिनीहरूको अचेतनको कस्तो वास्तविक स्वभावको प्रतिनिधित्व गर्छन् भनेर मूल्यांकन गर्दा आगामी चुनावमा देखिने प्रवृत्ति अहिले नै आकलन गर्न सकिन्छ ।

दशकौंदेखि देशमा कुशासनका खलनायकहरू यिनै हुन् । चुनावी प्रचारमा अब यिनैले मुलुकमा कसरी सुशासनको युग सुरु गर्नेछौं भनेर भाषण गर्नेछन् । वर्षौंदेखि यिनैले आफू सत्तामा जान र टिक्नका लागि राष्ट्रियतालाई क्रमिक रूपमा कमजोर बनाउँदै लगेका छन् । र, यिनै फेरि लाज नमानीकन राष्ट्रियता जोगाउन आफूलाई भोट हाल्नु भन्दै आउनेछन् । वर्षौंदेखि दलाल पुँजीवादलाई प्रश्रय दिँदै, आफू र आफ्ना आसेपासेको रजाइँ चलाउन जसले प्रमुख भूमिका खेलेका छन्, तिनैले अब समाजवाद कस्तो हुनुपर्छ भनेर फेरि एक पटक भाषण गर्नेछन् । राजावादी रुझानका सबै व्यक्ति र दलले, राजतन्त्र भएको भए आफ्नो वा आफ्ना पिता–पुर्खाको भक्तिको प्रभावमा बिनाप्रतिस्पर्धा खान पाउने अंश अहिले ‘पहिले चप्पल लगाउनेहरूले’ खोसे भन्ने ग्रन्थीलाई विभिन्न छायामार्फत प्रकट गर्नेछन् ।

जजसले नेपालमा कम्युनिस्टहरू बढी ढोंगी हुन्छन् भन्छन्, तिनले मान्छेको आधारभूत स्वभाव र मार्क्सवाद नबुझेका हुन् । तिम्रो आफ्नो निजत्वका लागि भन्दा समाजका लागि बाँच भन्ने ! तिमीलाई नाच्न मन लाग्यो भने पनि समाजका लागि नाच भन्ने, गाउन मन लागे केवल समानताका लागि गाऊ भन्ने । जब मान्छेले आफ्नो कुनै पनि स्वभावजन्य आचरण गर्न पाउँदैन, अनि ऊ ढोंगी नभएर के हुने त ? जो ढोंगी छ, उसले आफू त्यस्तो भएको थाहै पाएको हुँदैन । बाहिरबाट सबैले देख्न सक्ने उसका ती ढोंगहरू जो छन्, युङले भनेका छायाहरू तिनै हुन् । कम्युनिस्ट नेता र कार्यकर्ताले - विपरीत विचारधाराका मान्छेलाई भन्दा - आफ्नै राजनीतिक गोत्रका पूर्वसहकर्मीलाई जति पनि सत्तोसराप गर्छन् नि, त्यो तिनीहरूको छायाले आफैंलाई गरेको गाली हो । किनकि हाम्रो सामाजिक नकाबले आफैंलाई गाली गर्न दिँदैन । तर आफू भित्रबाट जे हो, हाम्रो अचेतनको भूतले आफैंलाई गाली गर्नुपर्‍यो भने त्यसका लागि त्यस्तै चरित्र बोकेको अर्को मान्छे खोजेर सार्वजनिक रूपमा उसलाई गाली गर्छ ।

नेपालका सबैजसो कम्युनिस्टको अचेतनलाई सायद थाहा छ, उनीहरू कम्युनिस्ट हैनन् । युवावस्थामा आफ्नो सामाजिक ‘व्यक्तित्व’ बन्ने बेला धारण गरेको त्यो परिचय त्याग्न सजिलो हुँदैन । त्यसपछि आफू यथार्थमा कम्युनिस्ट नरहिसकेपछि पनि जब आफूलाई सामाजिक रूपमा कम्युनिस्ट नै भनाइन्छ, तिनीहरूका सबै ‘मानवजन्य’ स्वभाव र सोचाइजति अचेतनमा थुप्रिँदै जान्छन् । र, ती सोचाइका छायाहरू छद्म रूपमा विभिन्न बहानामा बाहिर आउँछन् । कम्युनिस्टहरू जतिजति आफ्नो मौलिक आदर्शबाट च्युत हुँदै जान्छन्, त्यतित्यति उनीहरूमा ‘कम्युनिस्ट’ लेबलप्रति आशक्ति बढ्छ ! कार्ल युङकै उदाहरण छ- यदि कुनै रात चर्चको पादरी वा मन्दिरको पुजारीले लुकेर पोर्नोग्राफी हेरेको छ भने भोलिपल्ट दिने उसको प्रवचनमा सदाचारको प्रसंग अघिल्लो दिनको भन्दा चर्को हुन्छ । हाम्रो अचेतनले काम गर्ने नै यस्तै छायाहरू सिर्जना गरेर हो ।

नेपाली कांग्रेसतिरका छायाहरूलाई संश्लेषण गरेर भन्न त झन् एक–दुई वाक्यमै सकिन्छ । शेरबहादुर देउवा जस्ता छायाको पनि छायाको मुनि ओत लागेर आफ्नो राजनीति गर्नुपर्नेहरू आफ्नै छायासँग कतिन्जेल भाग्ने होलान् ? तर भागेर जाने ठाउँ पनि कहीँ नरहेपछि उनीहरूका लागि रहने एक मात्र ठाउँ त्यही पार्टी र चुनावी राजनीति भएको छ । यस्ता सबैलाई मैदान खाली छाडिदिइराख्नु नेपाली समाजको अन्तहीन दुःखान्त भएको छ । र, दुःखका साथ स्विकार्नुपर्छ, मंसिरको निर्वाचनले फेर्ने भनेको केवल संघ–प्रदेशका संसद्को कार्यकाल हो, नेपाली राजनीतिको कुरूप नेतृत्वदायी अनुहार होइन ।

प्रकाशित : आश्विन २४, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?