आन्तरिक ऊर्जाको पर्व नवरात्रि- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्तरिक ऊर्जाको पर्व नवरात्रि

कृष्णप्रसाद न्यौपाने

बडा दसैंलाई राम्रो खाने–लाउने, अग्रजहरूसँग आशीर्वाद लिने र रमाइलो गर्ने पर्वका रूपमा मात्र सीमित राखेर हामीले धेरै लाभ लिन सक्ने अवसर गुमाएका छौं । यी मनोरञ्जन त केवल शरीर र मनसँग सम्बन्धित पाटा हुन् । शरीर र मन त हाम्रा खोल मात्र हुन् ।

यिनको पनि आवश्यकता त छ तर हामी शरीरभित्रको चेतना वा ऊर्जाका अंश हौं । चेतनाको अंश यिनै खोल ओढेर विगतका कर्मका आधारमा खेलमा सामेल हुन्छ, धेरै हदसम्म पहिला नै निर्धारित खेलमा । अनि मानिसको जीवनको उत्कर्षको अनुभव गर्न नपाई यी खोल छोडेर जान्छ ।

शारदीय नवरात्र आफ्नो चेतना वा अस्तित्व वा परिचय उत्खनन गर्ने एउटा अमूल्य अवसर हो । नवरात्रिमा माता दुर्गाको विधिपूर्वक तपस्या–साधना गर्दा आफ्नो सूक्ष्मता महसुस गर्न सकिन्छ । एउटा दसैंमा एक पटक यो अनुभूति गर्न सके पनि धेरै हुन्छ । जीवनमा सकारात्मकता र आत्मविश्वास बढ्दै जानेछ ।

हामीले पुर्खाहरूले अथक साधनाबाट पत्ता लगाएका अनेकौं साधना पद्धतिको जीवन्त अभ्यास गर्न सकेका छैनौं, न तिनको अध्ययन–अनुसन्धान नै गर्न सकेका छौं । हाम्रो शरीरमा थुप्रै ऊर्जा केन्द्र छन् (हेर्नुस् तालिका) ।

शरीरका सात चक्रलाई सक्रिय गराउन त धेरै नै दुरूह हुन सक्छ तर आज्ञाचक्र, मुटु र मूलाधार चक्रमा केही स्पन्दन ल्याउन त्यति कठिनचाहिँ छैन । इच्छाशक्ति भएमा यति त गर्न सकिन्छ । यसका लागि धेरै समय वा स्रोतको आवश्यकता पनि पर्दैन । केही सामान्य विधि प्रयोग गरेर नवरात्रको प्रत्येक दिन एक घण्टाको साधना गर्न सक्दा हुन्छ ।

साधना विधि

घटस्थापनाको दिनदेखि शुद्ध पवित्र भएर बस्ने । घरमा दुर्गा, काली, लक्ष्मी, सरस्वतीका फोटा–प्रतिमा जे छन्, सम्मुखमा राख्ने । ‘म हजुरको अंश हुँ, हजुर मेरी आमा हुनुहुन्छ’ भन्ने भाव राख्ने । अनुकूलताअनुसार पूजा गर्ने । दुर्गा सप्तशती, सिद्ध कुञ्जिका स्तोत्र पाठ गर्ने । अनि ‘दुर्गा आमा मेरो सम्मुख हुनुहुन्छ’ भन्ने विश्वास राख्दै यो बहुप्रचलित मन्त्र उच्चारण गर्ने, अनुकूलताअनुसार गर्दै रहने— ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ।

माला हुनेले दाना गनेर पनि यो मन्त्र उच्चारण गर्न सक्नुहुनेछ । मानसिक रूपमा पनि गर्न सक्नुहुनेछ । हरेक दिन पूजा समाप्त गर्दा ‘मैले जानेको छैन’ भन्ने भाव राख्ने । नवरात्रभरि यो अभ्यास गरेर देवी विर्सजनका बेला तीन कन्याको पूजन गर्ने र आशीर्वाद लिने ।

दुर्गा माताको माथिको मन्त्रमा तीनै प्रमुख देवीहरूको बीजमन्त्र समाहित छ, अनि हाम्रो शरीरका तीनै प्रमुख चक्रलाई सक्रिय बनाउन र यिनको शुद्धीकरण गर्न सहयोगी छ ।

दुर्गा संसारभरि सूक्ष्म रूपले व्याप्त छिन् । हाम्रो शरीरका यी केन्द्रमा पनि दुर्गाको ऊर्जा छ तर हाम्रा अनेक विचार र गलत संस्कारले यिनको शक्तिलाई छोपेको छ । जसरी बादल हटेपछि सूर्यको प्रकाश देखिन्छ, ठीक त्यसैगरी सही साधनाले ऊर्जाकेन्द्रमा रहेका विकार हटाई फरक अनुभूति दिँदै जानेछ । मन्त्रमा ध्यान लागेमा, मन्त्रपछि शरीर हल्का तातो भएमा, ऊर्जा केन्द्रहरूमा केही नरम स्पन्दनको अनुभूति भएमा साधना ठीक तरिकाले अगाडि बढेको छ भन्ने मानौं ।

साधनाका अतिरिक्त सदाचारमा पनि ध्यान दिनुपर्छ । सत्यको पालना गर्नु ऊर्जा संकलनको अर्को तरिका हो । गल्ती गरेपछि, झूटको सहारा लिएपछि डर उत्पन्न हुन्छ अनि शक्तिको क्षय हुन्छ । सत्यवादी हुँदा डराउनुपर्दैन । मन्त्रजप गरी फूलप्रसाद र धूपबत्ती चढाएर मात्र पनि हाम्रो प्रगति हुन सक्दैन । सत्यको पालना गर्दा सरस्वती, लक्ष्य लिएर सत्कर्म गर्दा लक्ष्मी र काल (समय) को सदुपयोग गर्दा काली खुसी हुन्छिन् । काली, लक्ष्मी र सरस्वतीमध्ये एकको कमी हुँदा जीवन अपांग हुन्छ । तीनै पक्षको आशीर्वाद मिल्न सके जीवन सन्तुलित हुन्छ ।

आवश्यकताअनुसार प्रकृति वा दुर्गाले धेरै रूप लिएकी हुन्छिन् । नवरात्रमा उनका नौ रूपको पूजा–आराधना हुन्छ । यीमध्ये पनि महाकाली, महालक्ष्मी र महासरस्वती उनका प्रमुख रूप हुन् । महाकाली, महालक्ष्मी र महासरस्वतीको एकीकृत रूप नै महादुर्गा हुन् । तसर्थ माता दुर्गाको साधना गर्नेले काली, लक्ष्मी र सरस्वतीको एकसाथ साधना गरेको हुन्छ । अर्को अर्थमा भन्दा, दुर्गाको साधना गर्दा सरस्वतीबाट प्राप्त गरिने ज्ञान–सीप, लक्ष्मीबाट प्राप्त गरिने वैभव र कालीबाट प्राप्त गरिने ऊर्जाशक्तिका लागि एकसाथ साधना गरिरहिएको हुन्छ । ब्रह्म निराकार छन् तर दुर्गा साकार रूपमा आउँछिन् ।

नवरात्र दुर्गाको परम आशीर्वाद र स्नेह पाउने अमूल्य अवसर हो । यस अवसरमा साधकले कस्तो भावबाट कति तीव्र साधना गर्छ, त्यसैअनुसारको कृपा पाउँछ । जीवनभर साधना गर्नेले निश्चिन्त र मस्त जीवन बिताउन सक्छ । यसरी साधना गरेर शरीरका मुख्य तीन ऊर्जा केन्द्रको शुद्धीकरण गर्न, तिनलाई सक्रिय गराउन सकेमा नवरात्रको वास्तविक महत्त्व थाहा हुनेछ ।

आधुनिक विज्ञान र अध्यात्म विज्ञान दुवैले सत्यको खोज गरेका हुन्छन् । आधुनिक विज्ञानले बाहिरी वस्तुको प्रयोग गर्छ भने अध्यात्मले आन्तरिक ऊर्जाको । शिक्षितहरूले प्रयोगबाट जे सिद्ध हुन्छ, त्यसैलाई स्वीकार गर्छन् र यो सही तरिका हो ।

दुर्गाले जातजातिबीच भेदभाव गर्दिनन् । उनका पनि को पो छन् र ? हामी नै त हौं सन्तान । टीका लगाउनु–नलगाउनु निजी विषय हो । हरेक धर्म वा सम्प्रदायमा साधनाका विधि हुन्छन् । इस्लाम र बौद्ध धर्ममा आस्था राख्नेहरूले पनि फरक पद्धतिबाट शक्तिको साधना गर्ने गर्छन् । सनातनहरूका यी विधि प्रयोग गर्न संकोच लागेमा आफ्नो समुदायको विधि प्रयोग गरेर साधना गरे पनि ऊर्जा जगाउन सकिन्छ ।

माता दुर्गा भन्नु वा प्रकृति भन्नु एउटै हो । उनले पौरखी र योग्य सन्तानलाई कर्मखातामा उपलब्ध भएअनुसार पुरस्कार र प्रेरणा दिन्छिन् भने अविवेकी सन्तानलाई विभिन्न किसिमका पीडा, असफलता, अभाव र रोग । जीवनमा रोग, अभाव र धेरै समस्या आएमा आफ्नो जन्मजन्मातरका कर्मसंस्कारले गर्दा प्रकृति रुष्ट भएकी छन् र यी समस्या झेल्दै आमाको शरणमा परौं वा आफ्ना सद्गुरु, इष्टदेवता वा कुलदेवताले देखाएको बाटोमार्फत समाधान खोज्ने प्रयास गरौं ।

प्रकाशित : आश्विन १६, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

सांकेतिक भाषालाई उपेक्षा नगरियोस्

सम्पादकीय

सेप्टेम्बर २३ मा पर्ने सांकेतिक भाषाको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि साताव्यापी रूपमा मनाइयो । यसपालिको नारा थियो— ‘सांकेतिक भाषाले हामीलाई एकताबद्ध गर्दछ ।’ नेपालमा, सांकेतिक भाषाको सामूहिक प्रशिक्षण सुरु भएको पाँच दशक नाघिसक्दा पनि यसको अपेक्षाकृत विकास हुन नसकेकाले बहिरा व्यक्ति र स्वर वा बोलाइसम्बन्धी अपांगता भएकाहरू समाजबाट टाढिइरहेका छन् । तिनको समावेशिताको सवालमा सरकारबाट भइरहेका कामहरू सन्तोषप्रद छैनन् । हरेक वर्ष सांकेतिक भाषाको महत्त्वलाई दिवसले सम्झाए पनि यसको प्रवद्र्धनका लागि गर्नुपर्ने पहल हुन सकेको देखिन्न ।

नेपालमा प्राय: सार्वजनिक सेवाप्रदायक संस्थाहरूमा सांकेतिक भाषा सहजै उपलब्ध छैन । यो भाषा–निर्भर समुदाय यसैका कारण सेवासुविधाबाट वञ्चित हुनुपरिरहेको छ । २०६८ को जनगणनाअनुसार, नेपालमा ७९ हजार ३ सय ७ बहिरा व्यक्ति छन्, जो सांकेतिक भाषाका प्रत्यक्ष प्रयोगकर्ता पनि हुन् । उनीहरूको शिक्षा र रोजगारीको आधार पनि हो यो । तिनको परिवारका अन्य सदस्यलाई पनि सांकेतिक भाषा चाहिन्छ । यस अर्थमा सांकेतिक भाषाको प्रवद्र्धनले एउटा ठूलो समुदायले राज्यप्रति अपनत्व महसुस गर्छ । यो बहिरा व्यक्तिको नागरिक अधिकारको सवाल पनि हो । तर यो विषयमा सरकार हुनुपर्नेजति गम्भीर छैन । पछिल्ला वर्षहरूमा सांकेतिक भाषाका लागि छुट्याइएको बजेटसमेत खर्च हुन सकेको छैन ।

महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले कोभिड–१९ अघि सांकेतिक भाषा प्रवद्र्धनका नाममा १ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कोभिडका कारण यो रकम खर्च हुन सकेन । त्यति बेला भाषा प्रशिक्षणका कार्यक्रम सञ्चालनका लागि उपयुक्त वातावरण पनि थिएन तर महामारी अलि मत्थर हुँदा छुट्याइएको बजेट पनि खर्च गर्न सकिएको छैन । कोभिडयताका दुई आर्थिक वर्षमा ४५ लाख रुपैयाँ बजेट थियो । चालु आर्थिक वर्षमा पनि ३० लाख रुपैयाँ छुट्याइएको छ । यसबाट सांकेतिक भाषाको सवाल सरकारको प्राथमिकतामा नपरेको प्रस्ट हुन्छ । बजेट सदुपयोग गर्नेबारे मन्त्रालयका पदाधिकारीलाई कुनै चासो भएजस्तो देखिन्न ।

सरकारले छुट्याएको बजेटको उपयोग हुन्थ्यो भने सेवाग्राहीहरू नि:शुल्क रूपमा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाउँथे । सरकारको अनुपस्थिति भए पनि वर्षौंदेखि यो काममा केही गैरसरकारी संस्था क्रियाशील छन् । तिनको गतिविधि राजधानीकेन्द्रित हुने भएकाले भाषा सिक्न चाहनेहरू देशैभरिबाट काठमाडौं आउनुपर्ने बाध्यता छ । प्रशिक्षण शुल्क त छँदै छ, काठमाडौं आउँदा–जाँदा र बस्दाको आर्थिक भार पनि ब्यहोर्नुपर्ने अवस्था छ । यस्तो वास्तविकताले सांकेतिक भाषाको आवश्यकता पर्ने सम्पूर्ण समुदायलाई उपहास गरेको छ । सूचना प्रविधिको व्यापक विस्तार भइरहेको अहिलेको समयमा प्रशिक्षणका कार्यक्रम भौतिक रूपमा मात्र गर्नुपर्छ भन्ने पनि छैन । सांकेतिक भाषा सिकाउन गुणस्तरीय भिडियो सामग्री बनाएर सजिलै प्रचारप्रसार गर्न सकिन्छ । तर, यतातिर सरकारले ख्याल गरेको छैन ।

मागअनुरूपै सांकेतिक भाषाका लागि वातावरण बनाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । साथै सांकेतिक भाषा–भण्डारको विकास पनि उत्तिकै आवश्यक छ । भाषा अभिव्यक्तिको सशक्त माध्यम भएकाले जति समृद्ध भयो त्यति नै सञ्चार प्रभावकारी हुन्छ । तर, नेपाली सांकेतिक भाषा शब्दकोशमा अहिलेसम्म ४ हजार ७ सय शब्द मात्र छन् । यति थोरै शब्दबाट सांकेतिक भाषाका प्रयोगकर्ताले आफ्नो अभिव्यक्तिलाई प्रभावकारी बनाउन सक्दैनन् । औपचारिक रूपमै नेपाली सांकेतिक शब्द प्रयोग गर्न थालिएको पाँच दशक नाघिसक्दा पनि बहिरा व्यक्तिले यति थोरै शब्दहरूबाट अभिव्यक्ति दिनु परिरहेको छ । यस्तो परिस्थिति बन्नुमा सांकेतिक भाषाप्रतिको सरकारी उपेक्षा नै मुख्य कारक हो, जुन अवस्था लम्बिरहनु हुँदैन । सांकेतिक भाषाको अभ्यास र अभिव्यक्तिलाई फराकिलो पार्न आवश्यक अनुसन्धानकेन्द्रित गतिविधिमा सरकारले अविलम्ब ध्यान दिनुपर्छ । नियमित बजेटको केही हिस्सा सांकेतिक भाषाका शब्दलाई बढाउन चाहिने अनुसन्धान गतिविधिमा खर्चनुपर्छ ।

बहिरा व्यक्ति भाषाको अभावमा समाजबाट वञ्चित हुनु नपरोस् भन्नका लागि सरकारका साथै अन्य सेवाप्रदायक संस्थाहरू पनि उत्तिकै संवेदनशील हुनुपर्छ । अझै पनि सांकेतिक भाषा एउटा सिंगो समाजलाई जोड्न चाहिन्छ भन्ने धारणा सार्वजनिक सेवाप्रदायक संस्थामा भेटिन्न । भिडियो समाचार सामग्री बनाउँदा, प्रकोपसम्बन्धी जानकारी दिँदा वा स्वास्थ्य लगायत अन्य सार्वजनिक सूचना प्रवाह गर्दा नेपालमा सांकेतिक भाषाको प्रयोग नगर्ने चलन यसैको उदाहरण हो । यस्तो अवस्थालाई सुधार्नु जरुरी छ । दोभाषेको संख्या पनि बढाउनु आवश्यक छ । त्यसो त, बहिरा व्यक्तिहरूको सरोकारलाई स्थापित गर्न उनीहरूबाटै संगठित प्रयास पनि भइरहेको देखिन्छ, केही गैरसरकारी संस्था स्थापना गरिएका पनि छन् । यस्ता संस्थाहरूको उपस्थिति सकारात्मक भए पनि, तिनले दिवस मनाउनेबाहेक सरकारको नीति तथा बजेट परिचालन विषयमा पनि निरन्तर खबरदारी गर्नु जरुरी छ । सबैको सचेत पहलबाट सांकेतिक भाषाको समुचित प्रवद्र्धन गर्नु अपरिहार्य छ ।

प्रकाशित : आश्विन १६, २०७९ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×