कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पैसा र सुन स्वीकार्य, छोरी अस्वीकार्य !

ढोंगी समाज र त्यसभित्र हुर्केको हाम्रो पारिवारिक संरचना, श्रम बजारमा संस्थागत भएको लैंगिक विभेदलाई हामीले सांस्कृतिक पुँजी भनेर जगेर्ना गर्दै आएका धर्म, सामाजिक मूल्यमान्यता, इज्जत, मानसम्मानजस्ता अमुक अस्त्रको खोलले ढाकेका छन् ।
मीना पौडेल

नमुना (नाम परिवर्तन) मध्यपहाडका, उपल्लो जात भनिएका र स्थानीय राजनीतिमा राम्रै दखल राख्ने अनि शिक्षण पेसाद्वारा परिवारको जीविका चलाएका एक शिक्षककी छोरी हुन् । माध्यमिक तहको पढाइ सकी उनी २०६४ सालतिर काठमाडौं झरिन्, सानोतिनो काम गर्दै पढाइलाई निरन्तरता दिने सपना बुनेर । पढाइमा अब्बल नमुना बाबुकै पेसा पछ्याउने चाहनाले शिक्षाशास्त्र अध्ययन गर्न सम्भावित कलेजबारे बुझ्दै रोजगारीका सम्भावना पनि खोतल्न थालिन् । भर्खर शान्ति प्रक्रियाले अलिक आशा पलाएको तर राजनीतिक प्रक्रियाले बाटो लिइनसकेको मुलुकमा बेरोजगारी समस्या उकालोलाग्दो थियो, अनि राज्यका संरचना अस्तव्यस्त र समाज माओवादी युद्धको धङधङीले विभाजित ।

पैसा र सुन स्वीकार्य, छोरी अस्वीकार्य !

नमुनाजस्ता युवालाई शैक्षिक, आर्थिक र राजनीतिक रूपले समयसापेक्ष दृष्टिकोण र जीवन जिउन सकारात्मक ऊर्जा त्यो शिथिल माहोलमा प्राप्त हुन सक्ने कुरा थिएन । युवा पुस्ता कुन हदसम्मको अन्योलग्रस्त स्थितिमा रह्यो होला भन्ने सन्दर्भ त अनुमान मात्र गर्न सकिने विषय भयो । स्वाभाविकै रूपमा, युवा पुस्ताका लागि त्यो समय राजनीतिक रूपले नैराश्यको चरमकै थियो ।

बेरोजगारी योजना आयोग लगायतका राज्यका जिम्मेवार निकायहरूको तथ्यांकभन्दा कैयौं गुणा बढी रहेको पुष्टि त वैदेशिक रोजगारीका लागि बिदेसिने युवाहरूको लामो लस्कर, श्रम मन्त्रालयका विभिन्न निकाय र रोजगार व्यवसायीहरूका कार्यालयहरूमा तेह्र–तेह्र घण्टासम्म लाइन बसेर फर्केका युवायुवतीलाई सोध्दा स्पष्ट हुन्थ्यो । नमुना पनि तिनैमध्येकी एक थिइन्, जसले स्वदेशमा रोजगारीको सम्भावना नदेखेर होला सायद, अध्ययनलाई केही समय स्थगन गरी वैदेशिक रोजगारीमा जाने र केही कमाएर फर्केपछि आफ्नो पढाइमा पुनः जोडिने योजना बुनिन् । त्यसमा घरको पनि सहमति थियो ।

उनको योजनामा थप बल दिन एक जना आफ्नै भेगतिरका, उनकै शब्दमा, ‘एनआरएन दाइ’ रहेछन् जो आफू अस्ट्रेलियामा बस्थे र एक एसियाली मूलका अस्ट्रेलियनले चलाएको खाद्यान्न पसलमा काम गर्थे । उनको थप काम नेपालबाट अस्ट्रेलिया पढ्न जान चाहनेलाई सूचना र सल्लाह दिनु अनि यात्रा समन्वय गर्नु पनि रहेछ । नमुनाले घरसल्लाह गरी आफू वैदेशिक रोजगारीमा जाने चाँजोपाँजो मिलाउन थालेको वास्तविकता ती ‘एनआरएन दाइ’ ले नेपालमा रहेका आफन्तबाट थाहा पाएछन् र आफ्नो सहयोग रहने कुरा सामाजिक सञ्जालमार्फत नमुनालाई सुनाएछन् । अब नमुनाको मथिंगल खलबलियो । किनकि उनी त दुबई वा इजरायल जाने र केही कमाएर फर्किई आफ्नो अध्ययन पूरा गरेर बाबुकै शिक्षण पेसालाई पछ्याउने योजना बुनेर आफ्नो

अल्पकालीन वैदेशिक रोजगारीको तयारीमा थिइन् । घरसल्लाहमै यो तयारी भएका कारण राहदानी पनि बनिसकेको थियो । त्यसमाथि माओवादी जनयुद्धका बेला विभिन्न बहानामा स्थायी रूपमै मुलुक छाड्नेको ताँती त थियो नै, कोही राजनीतिक शरणार्थी बनेर त कोही युद्धले मुलुक सकियो, अब अन्य मुलुकमा दीर्घकालीन आप्रवासी भई सम्पन्न र सभ्य बन्ने भन्दै । ती ‘एनआरएन दाइ’ को कुरा सुनेपछि नमुनाको योजना एकाएक फेरियो र अब उनी दुबई वा इजरायल हैन, अस्ट्रेलिया जाने सपना देख्न थालिन् । तिनै ‘एनआरएन दाइ’ को सल्लाहमा आफ्ना योजना र सपना सबै जोडिदिइन् । केही महिनाको तयारीपछि उनी अस्ट्रेलियाका लागि भनेर उडिन् तर ओर्लिइन् कुवेतमा ।

मैले आफ्नो अनुसन्धानका लागि भेट्दा उनी भन्दै थिइन्, ‘मलाई एनआरएन दाइले झुक्याएर एक जना धनाढ्यको घरमा घरेलु कामदारको रूपमा बेचिदिएको रहेछ, दुबई हुँदै अस्ट्रेलिया जाने भनेर झुक्याएको रहेछ ।’ नमुना एउटा यस्तो प्रतिनिधि पात्र हुन् जसले यस्ता थुप्रै युवतीको प्रतिनिधित्व गर्छिन् जो वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य भनेर बुझिएका खाडी, मलेसिया, इजरायल, जापान र दक्षिण कोरिया लगायतका श्रम बजारभन्दा बाहिर जनजीविकाको सम्भावना खोज्दा ठगिएका छन्, बेचिएका छन् । हामी केमा पनि सचेत हुन जरुरी छ भने, वैदेशिक रोजगारीमा ठगी गर्ने र रोजगारीका नाममा बेरोजगारीको समस्याले हैरान युवायुवतीलाई सुनौलो गन्तव्यको सपना बाँडेर अध्यारो सुरुङमा होम्ने काम वैदेशिक रोजगार व्यवसायीले मात्र हैन, विभिन्न बहानामा पलायन भएका कतिपय गैरआवासीय नेपालीले पनि गर्छन् । नमुना त्यस्तै एउटा प्रतिनिधि पात्र हुन् जसलाई उनकै ‘एनआरएन दाइ’ भन्नेले अस्ट्रेलियाको सपना देखाई कुवेतमा लगेर बेचिदिएका थिए ।

संयुक्त राष्ट्रसंघको जागिरे जीवनमा मैले आफैंले यस्ता ठगिएका, बेचिएका नेपाली श्रमिक र विद्यार्थीहरूलाई युरोप, मध्यएसिया, पश्चिम युरोप र अफ्रिका लगायतका कतिपय राजधानीहरूबाट स्वदेश फर्कन सघाएकी छु । उदाहरणका लागि, पोल्यान्ड लगिदिने भनेर अफगानिस्तानमा अलपत्र पारिएका र इटाली पुर्‍याइदिने भनेर लिबियामा छाडिएका दर्जनौं युवा श्रम आप्रवासीलाई स्वदेश फर्काएको धेरै भएको छैन । म अजरबैजानमा कार्यरत रहँदा एक एनआरएनले मस्कोमा जागिर लगाइदिने भनेर अजरबैजानमा बिचल्लीमा पारेका युवकलाई स्वदेश फर्काउने क्रममा डेढ दशकअगाडि खेपेको सास्ती सम्झिँदा अहिले पनि हैरानी महसुस हुन्छ । यस्ता उदाहरणको छुट्टै फेहरिस्त बन्न सक्छ यहाँ उठाउन खोजिएको पक्षचाहिँ हो— वैदेशिक रोजगारीमा जाने सोच पलाएसँगै सुरु भएको मनोवैज्ञानिक छलछाम, यात्राका क्रममा भएका ठगी र आर्थिक दोहन, कार्यक्षेत्रमा गरिने यौन र गैरयौन शोषण अनि फर्केपछि परिवारले गर्ने व्यवहार । उसो त सबै परिवार उस्तै हुँदैनन्, कतिले आफ्नो सदस्यको भावना र उसले भोगेको सास्तीमा मल्हमपट्टी लगाउने मात्र होइन, न्यायका लागि वर्षौं लडी पनि दिन्छन् तर हजारौं नमुनाका सन्दर्भमा भने त्यस्तो हुँदैन ।

दुई वर्ष कुवेतमा यौन र गैरयौन श्रम बेचेर नेपाल फर्कंदा नमुनाले केही हजार रुपैयाँ, एउटा सुनको सिक्री र एउटा औंठी ल्याएकी रहिछन् । तर राजनीतिक पहुँच भएका शिक्षक बाबुले दुई वर्ष बेपत्ता छोरीको खोजी गरेनन् । नमुनाका दिदी–भिनाजुले मध्यपूर्वमा कार्यरत आप्रवासी श्रमिकहरूको अनौपचारिक सञ्जालको सहयोगमा स्वदेश फर्काउन पहल गरेछन् । नमुनाका लागि उनैको परिवारको करबाट सञ्चालित दूतावासको औचित्य त थिएन नै, उनका प्रतिष्ठित भनिएका बाबु सदस्य रहेको राजनीतिक पार्टीसम्बद्ध प्रवासी संगठन र श्रमिक अधिकारको दुहाई दिने मजदुर संगठनको पनि दैलो खुलेन । जेनतेन नेपाल फर्केर नमुना दिदी–भिनाजुका साथ आफ्नो घर गइन् । उनी दुई वर्ष कहाँ हराएको भनी खोजीनिती भयो र नमुनाले सबै कुरा विस्तृत रूपमा आफ्ना आमाबाबुलाई सुनाइन्, ‘एनआरएन दाइ’ विरुद्ध उजुरी हाल्ने मनसाय पनि व्यक्त गरिन् ।

घरमा केही महिना त उनलाई ठीकै व्यवहार भयो, सान्त्वनाका अनेक कथाहरू सुनाइए, पढाइमा फर्काउने आश्वासनहरू पनि दिइए, उनले ल्याएको धन घरखर्चमा लगाइयो र सुन पनि भविष्यमा उनैको विवाहमा उपयोग गर्ने भनेर बाबुले राखे । समय बित्दै जाँदा नमुना आफ्ना पूर्वदौंतरीहरूसँग भिज्न थालिन् र पढाइबारे पनि सोच्न थालिन् । मेलापात र हाटबजारमा साथीसंगीको संगतले उनलाई यौन र श्रम शोषणको निवर्तमान अनुभवजन्य पीडाबाट बिस्तारै निस्कन केही सहजजस्तो लागेको के थियो, घरको माहोल एकाएक बदलियो । बाबुले एक दिन नमुनालाई बाहिरै डेरा खोजेर बस्नू र आफ्नो जीविका आफैं चलाउनू भनेर आदेश दिए । नमुनाका आमा, दाजु र भाउजूमा यसको प्रतिवाद गर्ने हिम्मत थिएन, तर दिदी–भिनाजुले बाबुलाई सम्झाउन खोज्दा पनि केही लागेन । आफूलाई अस्ट्रेलिया जान सहयोग गर्ने भनेर कुवेतमा बेचिदिने ‘एनआरएन दाइ’ लाई कारबाही गर्न सहयोगको अपेक्षा गरेकी नमुना अब आफ्नै घरबाट निकालिइन् । केही दिन दिदीकहाँ बसेर काठमाडौं आई उनी एउटा गैससको आश्रयको बन्द कोठामा पसिन् । कहाँ उनलाई बेच्ने ‘एनआरएन दाइ’ भन्ने दलालविरुद्ध कारबाही, कहाँ पढाइमा पुनर्प्रवेश, अनि कहाँ भविष्यमा गरिने भनिएको विवाहका लागि राखिएको गहनाको उपयोग ! उसो त नमुनाले घर छोड्ने बेला आफूले ल्याएको केही हजार रुपैयाँ र सुन नमागेकी होइनन्, तर पैसा घरखर्चमा सकियो, सुन बैंकमा धितो राखेर ऋण लिई भैंसी किन्न खर्च जुटाएको भन्ने जवाफ दिए बाबुले ।

यसरी सुन्दर सपना बुनेकी, सम्भावना भएकी एउटी महिला चिनेजानेकाद्वारा बेचिएर आफ्नै परिवारबाट बहिष्कृत भई आश्रयस्थलमा पुर्‍याइन्छिन् र परिवार, आफन्त, समाजविहीन भएर सामाजिक, सांस्कृतिक, आर्थिक सजाय भोग्न बाध्य पारिन्छिन् । यही हो हाम्रो समाजको समग्र चरित्र, जहाँ हजारौं नमुना अरू कसैले गरेको अपराधको सजाय भोग्न बाध्य पारिन्छन् । मसँगको कुराकानीमा उनी भन्दै थिइन्, ‘अब पढाइमा फर्कने त आशा छैन, केही गरी प्राणचाहिँ धान्न पाए हुन्थ्यो !’ उनले आश्रय लिएको संस्था र उनका दिदी–भिनाजुले उनलाई दसैंतिहारमा घरपरिवारसँग पुनर्मिलन गराउन खोजेका रहेछन् तर उनका शिक्षक बाबुले कुलको इज्जत जान्छ, नवदुर्गा रिसाउँछिन् भनेर घर नआउनू भन्ने खबर समन्वय गर्ने व्यक्तिमार्फत पठाएछन् । यस्ता कैयौं नमुनासँगको अनुसन्धानमा के पाइएको छ भने, यौन र गैरयौन श्रम बेचेर आर्जन गरेको पैसा र अन्य जिन्सी सामान प्रयोग गरी इज्जत धान्ने हाम्रो पारिवारिक संरचनाले आफ्नो परिवारका सदस्यलाई स्विकार्नचाहिँ आनाकानी गर्छ, सामन्ती पितृसत्ताको खोल ओढी इज्जत र कुलदेवताजस्ता अमुक अस्त्र प्रयोग गरेर सामाजिक बहिष्कारको भीरबाट घचेटिदिन्छ । अनि सामाजिक बहिष्कारको अपमान थेग्न नसकेर कति नमुनाहरूले आत्महत्या गर्छन् भने, कति पुनः यौन शोषणको चक्रमा आफूलाई हेलिदिन्छन् र प्राण धान्छन् ।

महिला सदस्यको यौनिकताको टेकोमा उभिएको हाम्रो पारिवारिक संरचना कति जटिल तर कायर छ भन्ने पुष्टि गर्ने दृष्टान्त नमुनाहरू हुन् । यस्ता थुप्रै नमुनासँगको अनुसन्धान र सहकार्यमा के पनि पुष्टि भएको छ भने, यो कायर पारिवारिक संरचनालाई यदि सत्य कुरा नबताउने हो भने उसको न इज्जत जान्छ न त कुलदेवता रिसाउँछन् । पछिल्लो कुराकानीमा नमुना पश्चात्तापपूर्वक भन्दै थिइन्, ‘कुवेतमा मलाई के काम गर्न बाध्य पारिएको थियो, घरबाट यात्रा सुरु गरेदेखि फर्कंदासम्म केके भोगें भन्ने कुरा बाउलाई जस्ताको तस्तै भन्न हुँदैनथ्यो मैले ।’ उनको विचारमा, आफूले सत्यतथ्य नबताएको भए र ‘एनआरएन दाइ’ विरुद्ध कारबाहीको चाहना व्यक्त नगरेको भए आफू जन्मेको परिवार र हुर्केको समाजले सायद उनको वास्तविकता थाहा पाउने थिएन र उनी बहिष्करणमा पर्ने पनि थिइनन् ।

एकै छिन हामी आफैं नमुना भएर सोच्ने हो भने, ढोंगी समाज, त्यसभित्र हुर्केको हाम्रो पारिवारिक संरचना, श्रम बजारमा संस्थागत भएको लैंगिक विभेदलाई हामीले सांस्कृतिक पुँजी भनेर जगेर्ना गर्दै आएका धर्म, सामाजिक मूल्यमान्यता, इज्जत, मानसम्मानजस्ता अमुक अस्त्रको खोलले कसरी ढाकेका छन् र यौनिकताप्रतिको बुझाइ कति पूर्वाग्रही बनाएको छ भन्ने स्पष्ट हुन्छ ।

विविध जटिल परिवेशमा यौन बेच्न बाध्य पारिएर उपार्जन गरेको पैसा र सुन लगायत सहर्ष स्वीकार हुने तर त्यो उपार्जन गर्ने व्यक्ति बहिष्कृत हुनेजस्तो सामाजिक–सांस्कृतिक अन्तरविरोध अरू के होला ? यही अन्तरविरोधको एउटा परिणाम हो— नमुनाहरूको बहिष्करणको नियति ।

प्रकाशित : आश्विन १४, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?