महिला फुटबललाई चाहिएको सरकारी साथ- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला फुटबललाई चाहिएको सरकारी साथ

सम्पादकीय

इतिहास लामो नभए पनि नेपाली महिला फुटबल त्यति धेरै कमजोर छैन । दक्षिण एसियाली उपमहाद्वीपमा महिला फुटबलमा भारतपछिको ‘शक्तिराष्ट्र’ नेपाल नै हो । फिफाको विश्व वरीयताले यही भन्छ— जहाँ भारत ५८ औं स्थानमा हुँदा नेपाल १०२ औं स्थानमा छ । तेस्रोमा रहेको बंगलादेश १४७ औं स्थानमा छ भने अरू देश त्यसभन्दा पछि । पुरुष फुटबलको विश्व वरीयतामा १७६ औं स्थानमा रहेको नेपाल महिला फुटबलमा सय हाराहारीमा हुनु निश्चय पनि खुसीको कुरा हो । तर अगाडिका बाटामा चुनौतीहरू यथेष्ट छन् । केवल खेलाडीको मनोबलले मात्र खेल्ने तर सरकारसित ठोस कार्ययोजना नहुने हो भने नेपालको अवस्था खस्कँदैन भन्न सकिन्न, जसका केही लक्षण देखिइसकेका छन् । 

हालै काठमाडौंमा सम्पन्न छैटौं साफ महिला च्याम्पियनसिपको नतिजाले नेपाललाई चेतावनीको घण्टी बजाइसकेको छ, खालि खेल पदाधिकारीहरूले यसलाई बुझ्न जरुरी छ । उक्त प्रतियोगितामा नेपालको च्याम्पियन सपना मात्रै अधुरो भएको होइन, साबिकको दोस्रो स्थानको जग पनि हल्लिएको हो । यसअघिका चार संस्करणमा फाइनल खेल्दा भारतसित पराजित भई उपविजेतामा सीमित बन्न पुगेको नेपाल यसपटक बंगलादेशसित उपाधिको भिडन्तका लागि मैदानमा ओर्लिएको थियो । चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको नेपाल जितको स्वाभाविक हकदार हुनुपर्थ्यो । तर त्यसो हुन पाएन, विश्व वरीयतामा आफूभन्दा ४५ औं स्थान पछि रहेको बंगलादेशद्वारा ३–१ गोल अन्तरले पराजित हुन पुग्यो । र, फेरि पनि उपविजेतामा चित्त बुझाउन विवश भयो । सबै खाले प्रतियोगिता गरी अहिलेसम्म दस प्रतियोगिताको फाइनल खेलेको नेपाल सबैमा पराजित हुन पुग्यो ।

भारत त महिला फुटबलमा निकै बलियो बनिसकेको छ । उसका खेलाडीहरू युरोपका व्यावसायिक लिग खेल्ने भइसकेका छन् । यस उपमहाद्वीपमा एक–दुई जितहारले कसैको समग्र स्तरको मापन नहुन सक्छ । तर अब बंगलादेश पनि बलियो देखिएको छ । नेपालले भारतसँगै बंगलादेशलाई पनि आफ्नो प्रतिद्वन्द्वीका रूपमा लिनुपर्नेर् भएको छ । फुटबल सबै सम्भावनाको खेल भए पनि बंगलादेशको उदय अकारण देखिन्न, जसबाट नेपालले शिक्षा लिनुपर्छ । बंगलादेशले पछिल्लो समय महिला फुटबलमा ठूलो लगानी गरेको छ । त्यहाँको सरकार नीतिगत रूपमै योजनाबद्ध तवरबाट महिला फुटबलको विकासमा लागिपरेको छ । यता नेपालको अवस्था भने टीठलाग्दो छ । सरकार मात्र होइन, अखिल नेपाल फुटबल संघ (एन्फा) को पनि महिला फुटबलमा चासो, लगानी र प्रतिबद्धता निकै कमजोर छ । खासमा एन्फा महिला फुटबलका प्रतियोगिता आयोजना गर्नधरि उदासीन छ । भएका प्रतियोगिताहरू पनि व्यवस्थित छैनन् ।

राज्यको लगानी, योजना, प्रतिबद्धता र इतिहासको दृष्टिमा त नेपालले जेजति सफलता हासिल गरेको छ, त्यो नै पनि प्रशंसायोग्य छ । २०४० सालआसपास मात्रै यहाँ महिला फुटबलको सुरुआत भएको हो । नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको पनि सन् १९८६ पछि मात्रै हो । त्यही पनि सन् २०१० पछि मात्रै अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल नियमित सहभागी भएको छ । पहिलो पुस्ताका खेलाडीले तत्कालीन समाजको नकारात्मक धारणा तोडेर मैदानमा उत्रिन सुरु गरेका थिए । ‘हाफ पाइन्ट’ लगाएर मैदानमा उत्रँदा खेलाडीमाथि नकारात्मक टीकाटिप्पणीहरू भएका थिए । खुसीको कुरा भन्नुपर्छ— यसबीच महिला फुटबलप्रतिको दृष्टिकोण फरक, उदार र सकारात्मक छ । खेलाडीहरूलाई समाज र प्रशंसकहरूको साथ छ ।

यी सबै परिदृश्यका आधारमा भन्न सकिन्छ— सरकार र एन्फाले गम्भीर भएर लगानी गर्ने हो भने महिला फुटबलमा नेपालले पर्याप्त प्रगति गर्ने सम्भावना छ । पुरुष फुटबलको भन्दा भविष्य सुन्दर देखिन्छ । योजनाबद्ध भएर अघि बढेको खण्डमा नेपाल सहजै दक्षिण एसियाली घेरा तोडेरै अघि बढ्न सक्छ । एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एसिया कपमै छनोट हुने सम्भावना पनि छ । तर त्यसका लागि एउटै सर्त आवश्यक छ— राज्यको व्यवस्थित पहल चाहिन्छ । नत्र आज बंगलादेश उदाएजसरी भोलि यही उपमहाद्वीपका अरू देशसँगै भिड्न पनि नेपाललाई हम्मे पर्न सक्छ । आशा गरौं— त्यो नकारात्मक दिन नआओस्, सरकार र खेलसम्बद्ध निकायहरूले यस क्षेत्रमा यथोचित ध्यान दिऊन्, र महिला फुटबलकै कारण पनि नेपालको नाम चम्किन पाओस् ।

प्रकाशित : आश्विन १४, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

सुवासलाई टुरिजम गल्फ

कान्तिपुर संवाददाता

काठमाडौँ — सुवास तामाङले नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप जितेका छन् । गोकर्ण गल्फ कोर्समा ५४ होलको प्रतियोगितामा नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास बिहीबार तीन अन्डर ६९ स्कोर गरेपछि उपाधिको हकदार बनेका हुन् ।

भारतको प्रतिष्ठित तरुण शरदेसाई एकेडेमीमा तीन महिना प्रशिक्षण लिएर फर्किएका सुवासले १० अन्डर कुल २ सय ८ को स्कोर बनाउँदै विजेता बने । तीन दिनै शीर्षस्थानमा रहेका उनले पहिलो, तेस्रो, सातौं र नवौं होलमा बर्डी बनाएका थिए ।

उनी टासी छिरिङभन्दा १३ स्ट्रोकले अगाडि रहे । नेपाल गल्फ संघ (एनजीए) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा भएको विश्व एमेच्योर वरीयताको प्रतियोगितामा टासीले एक ओभर ७३ को स्कोर खेल्दै कुल ३ ओभर २ सय १९ को स्कोर बनाए । वान्चेन ढोन्डुप ५ ओभर २ सय २१ स्कोरका साथ तेस्रो स्थानमा रहे । उनले दिनको खेलमा इभन पार ७२ स्कोर गरेका थिए । कतारका सेलाह अली लाकाबी ८ ओभर २ सय २४ स्कोर गर्दै चौथो स्थानमा रहे । उनले अन्तिम दिन ६ ओभर ७८ स्कोर गरेका थिए । सद्भव आचार्य पाँचौं स्थानमा रहे । उनले ५ ओभर ७७ स्कोर खेल्दै कुल ९ ओभर २ सय २५ स्कोर गरे ।

महिलातर्फको उपाधि कस्मिरा शाहले जितिन् । उनले २४ ओभर २ सय ४० को स्कोर बनाइन् । उनले बिहीबार १५ ओभर ८७ को स्कोर बनाइन् । सुष्मा सिग्देल ४५ ओभर २ सय ६१ स्कोरसहित उपविजेता र सोनिया अख्तर ४७ ओभर २ सय ६३ स्कोरसहित तेस्रो भए । रिंकी अख्तर १९ ओभर ९१ स्कोरसहित चौथो र प्रतिभा राई ५२ ओभर २ सय ६८ स्कोरसहित पाँचौं भए । प्रतियोगितामा ३४ गल्फरले सहभागिता थियो । अन्तिम दिन ७२ गल्फबीच सोसियल गल्फ भएको थियो । १८ होल स्टेबल फर्म्याटमा खेलिएको प्रतियोगिता नोर्बु छिरिङ शेर्पाले जिते । उनले ३९ स्कोर गरे । ढुन्डु नामग्याल ३५ स्कोरसाथ दोस्रो भए । आइस्टिन टण्डनले महिला सोसियल गल्फको उपाधि जितिन् । आर्सिया बानु दोस्रो भइन् ।

सुरेश बानियाँ सिनियर्सतर्फ पहिलो र एमबी राउत दोस्रो भए । अभिमन्यू कार्कीले जुनियर उपाधि जिते । सालेह अली लाकाबीले लङ्गेस्ट ड्राइभ र मुकेश जोशीले क्लोजेस्ट टु द पिनको अवार्ड पाए ।

विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैल, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, उपाध्यक्ष तिलक राई र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कृत गरे ।

प्रकाशित : आश्विन १४, २०७९ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×