कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मुटु र खानपिनबीच सन्तुलन

खानपिनको तौरतरिकामा व्यापक परिवर्तनसँगै व्यायाममा यथोचित समय खर्च नगरी मुटु रोगबाट बँच्न सकिन्न ।
अवनिभूषण उपाध्याय

हरेक २९ सेप्टेम्बरमा विश्व मुटु दिवस मनाइन्छ, यसपालिको नारा छ— ‘युज हार्ट फर एभ्री हार्ट ।’ संसारभरि मुटुरोगका कारण १८.६ मिलियन मानिसको अकालमा मृत्यु भइरहेको छ । यस हिसाबले यो एउटा महामारी हो ।

मुटु र खानपिनबीच सन्तुलन

मुटुलाई रगत पुर्‍याउने करनरी आर्टरी हो । धेरै कारणले गर्दा यसको भित्री भाग बाक्लो हुँदै आउँछ, साँगुरिँदै जान्छ र त्यो धमनी बन्द हुन्छ वा थुनिन्छ अनि रगत पुर्‍याउने ठाउँमा रगत जान सक्दैन र मुटुको मांसपेशीको भाग मर्छ । यो मरेको भागलाई ‘इन्फ्याक्सन’ भएको अथात् हार्ट अट्याक भनिन्छ । मुटुरोग लगाउने कारक तत्त्वहरूमा वंशबाटै आउनेबाहेक मानिसको अस्तव्यस्त आनीबानी प्रमुख हो । यसलाई भने नियन्त्रण गर्न सकिन्छ, जरुरी पनि छ । धनी देशहरूले समयमै यसमा ध्यान पुर्‍याउन थाले, त्यहाँका नागरिकले जीवनशैली सुधार्न थाले र बिस्तारै मुटुको रोग घट्दै गएको विभिन्न तथ्यांकले देखाइरहेको छ । हामी भने यो विषयमा खासै जागरुक छैनौं ।

हार्ट अट्याकको उपचार गर्न सक्षम देशमा यो घट्दै छ । यसको पहिलो उपचार जनचेतना बढाउने नै हो । यसका लागि नेपाल हृदयरोग प्रतिष्ठान बनेको छ । घरघरमा पुगेर यो रोगबारे चेतना बढाउने काम गर्दै छ । मुटुरोगका केही मुख्य कारण निम्न छन् ः

धूमपान

सन् १९४० देखि नै धूमपान मुटुरोग लगाउने एउटा कारक तत्त्व हो भन्ने बुझिएको थियो । यो सिधै आफैं खाने र अरूले खाएको धूवाँबाट हुन सक्ने हुन्छ । अमेरिकाजस्तो धनी देशले धूमपानविरुद्ध ठूलो आन्दोलन नै गर्‍यो र सुर्तीजन्य पदार्थको उपयोग घट्न गयो भने हाम्रोजस्तो देशमा यो बढ्दो छ । उनीहरूले छोड्दै छन्, हामी सिक्दै छौं । उनीहरूकहाँ मुटुरोग ओरालो लाग्दै छ, हाम्रामा उकालो ।

उच्च रक्तचाप

यो आधुनिकीकरणको एउटा नकारात्मक पक्ष हो । उच्च रक्तचापको समस्या गाउँमा भन्दा सहरमा धेरै देखिन्छ । ठूलालाई मात्र नभएर साना उमेरका मानिसमा पनि देखिन थालेको छ । हाम्रो रहनसहन, खानपिनको बानीको नतिजा हो यो ।

मोटोपन

धेरै खाएपछि मोटोपन बढ्छ । तर धनी तथा खान पाउने देशमा यो घट्दै छ, गरिब देशमा भने बढ्दै छ, किन ? विकसित राष्ट्रले खानेतेलदेखि सब कुराको राम्ररी अध्ययन गरेका छन् । के कुरा खाने वा नखाने तिनमा राम्रो ज्ञान छ । हामीलाई भने यस्तो कुरामा त्यति वास्ता छैन । खानाबाट पाउने तत्त्व विचार नगरी खान्छौं । हामीले खानै नहुने खाना, पोके खाना, पत्रु खानामा गर्व गर्न थालेका छौं । विकिसित देशमा नियमित रूपमा व्यायाम, योग, ध्यान घरघरमा गरिन्छ । हामी भने न व्यायामलाई ध्यान दिन्छौं न योग वा ध्यानलाई नै ।

मधुमेह

सम्झ्यौं भने, हामी सानो हुँदा यो रोगबारे सुन्थ्यौं तर आजजस्तो हरेक घरमा यो देखिँदैन्थ्यो ।

मधुमेह पनि सुरुमा पश्चिमी राष्ट्रमै धेरै थियो, अब यो पनि बिस्तारै हाम्रोजस्तो अविकसित देशमा बढ्दै छ । खानाको स्तरमा गिरावट, व्यायामको कमी, पत्रु खाना खाएर वजन बढाउने लगायतले यो बढेको बढ्यौं छ र यसले मुटुरोगलाई निम्त्याउँछ ।

मोटापन, मधुमेहको भयावह अवस्थाले अर्को समस्या ‘इन्सुलिन रेजिस्टेन्ट’ आएको छ । यो मुटुरोग लगाउन सक्ने एउटा तत्त्व हो । यसले ‘युरिक एसिड’ बढाउने र ‘इन्फ्लामेसन’ भएर मुटुरोग निम्त्याउने भन्ने धारणा छ । यसको डर पक्ष, बालबालिकामा पनि यो देखिन थालेको छ । निमोनिया हुने जीवाणुहरूले पनि मुटुरोग निम्त्याउने विभिन्न अध्ययनले देखाइराखेका छन् । भिटामिन डी, बी १२, फोलिक एसिडको कमीले पनि मुटुलाई कमजोर बनाउँछ ।

आजको समाजमा भागदौडपूर्ण जीवन तथा खेलकुद गर्ने बेला कम्प्युटर वा सेलफोनमा बस्ने बानीले व्यायाम गर्ने चलनलाई पूरै निरुत्साहित गरेको छ । खानपिनको तौरतरिकामा व्यापक परिवर्तनसँगै व्यायाममा यथोचित समय खर्च नगरी यो रोगबाट बँच्न सकिन्न । सुरुमा चिनी खान बन्द गरौं, मीठो नखाऔं र खान पनि नदिऊँ, नुन कम गरौं, पोके पत्रु खानाभन्दा आफ्नै भान्सामा बन्ने खाना, खाजा खाने बानी बसालौं । ठूल्ठूला देशले आफूकहाँबाट भगाएर हामीकहाँ पठाएका पिज्जा, बर्गरको संस्कृति त्यागौं । के सहर, के गाउँ घरघरमा यो सन्देश पुर्‍याऊँ र त्यसको निगरानी गर्ने काम सरकारले गरोस् । हामी सबै सरकारको यस असल कार्यमा हात बढाऔं ।

मुटुरोग लाग्न सक्ने सम्भावना बढी भएका मानिस, जस्तो उच्च रक्तचाप, मधुमेह, चुरोट खाने, अल्छी, फलफूल नखाने, मोटोपन भएको, तनावमा रहने इत्यादिलाई लक्षित गरेर कार्यक्रम बनाऔं । यो काम नेपाल हृदयरोग निवारण प्रतिष्ठान, नेपाल हार्टनेट र ठूला अस्पतालहरू मिलेर गर्नुपर्छ । अस्पताल जनतामा पुग्नुपर्छ । अनि कसरी सहज तरिकाले यसबाट बच्न सकिन्छ भनेर सिकाउने काम विज्ञहरूबाट गराउनुपर्छ । यो कार्यक्रम सहज बनाउन सरकारी तथा गैरसरकारी जति पनि संघसंस्थाहरू छन् तिनले हातेमालो गर्नुपर्छ ।

रोग लाग्नुअगावै पत्ता लगाए उपचार गर्न सहज हुन्छ, खर्च पनि त्यति हुँदैन । धेरैलाई बचाउन पनि सकिन्छ । रोग भरसक लाग्नै नदिने तर लागिहाले यसको स्तरीय उपचार पाउने हक नागरिकले राख्छन् भन्ने कुरा सरकारले बुझ्नुपर्छ । हाम्रा भएका स्वास्थ्य संरचनामा अञ्चल (प्रादेशिक), जिल्ला अस्पतालमा एउटा वा दुईवटा मुटुरोग विशेषज्ञ पुर्‍याउने कार्यक्रम ल्याउनुपर्छ । त्यस्तै मुटुरोग हुँदा खानुपर्ने औषधि महँगा हुन्छन् । थरीथरीका खानुभन्दा पोलिपिल्स चाहिने औषधि एउटैमा मिलाएर बनाएको राम्रो हुन्छ र यसलाई कसरी सस्तो र सहजै उपलब्ध गराउने भन्नेमा सरकारको ध्यान जानुपर्छ ।

– उपाध्याय वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?