जब वामपन्थी असफल हुन्छन्- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब वामपन्थी असफल हुन्छन्

इटालीमा मेलोनीको उदय उदारवादी विश्वमाथि उत्पन्न पछिल्लो चुनौती हो जसको सीधा सम्बन्ध प्रणालीगत संकटसँग छ ।
वामपन्थीहरू असफल भए भने, उनीहरूले जनतालाई संकटको विश्वसनीय विकल्पसहित अपिल गर्न सकेनन् भने चाहिँ हुने दक्षिणपन्थकै उदय हो जसले वामपन्थी र उदारवादीहरूलाई एउटै चिहानमा हाल्छ ।
झलक सुवेदी

गएको आइतबार इटालीमा सम्पन्न निर्वाचनमा फासीवादी रुझान राख्ने दल ब्रदर्स अफ इटाली र उसका दक्षिणपन्थी सहयोगीहरूको गठबन्धनले बहुमत हासिल गर्‍यो । ब्रदर्स अफ इटालीकी नेता जोर्जिय मेलोनीले आउने केही सातामा प्रधानमन्त्रीको पद सम्हाल्नेछिन् । ठ्याक्कै सय वर्षपहिले मुसोलिनीले जुन नारा दिएर इटालीमा फासीवादको उन्माद प्रवेश गराएका थिए, अहिले मेलोनी त्यही नारा दिएर सत्तामा पुगेकी छन् ।

‘ईश्वर, जन्मभूमि र परिवार’ फासीवादीहरूको नारा थियो जसले क्रिस्चियानिटी, इटालेली राष्ट्रवाद र परम्परागत परिवारका पक्षमा वकालत गर्छ । ‘म जोर्जिय हुँ, म महिला हुँ, म आमा हुँ, म इटालियन हुँ र क्रिस्चियन हुँ’ भन्ने भनाइ नै उनको राजनीतिक उदयको महत्त्वपूर्ण अपिल बनेको थियो । यसले इटालेली समाजमा हुर्कंदो श्वेत राष्ट्रवाद, तेस्रोलिंगीहरूप्रति निषेधको दृष्टिकोण, आप्रवासीहरूप्रतिको घृणा र उदारवादी तथा वामपन्थी राजनीतिक दर्शन सबैको निषेधको वकालत गर्ने गर्छ । यिनै कुरा मुसोलिनीको फासीवादको उदयका पनि वैचारिक आधारहरू थिए । उपर्युक्त कारणले पनि मुसोलिनीलाई यो या त्यो रूपमा आदर्श मान्ने दक्षिणपन्थी राजनीतिज्ञ बर्लुस्कोनी लगायतको गठबन्धन गरेर भएको मेलोनीको उदयले युरोपेली युनियनका मूल्यहरूमाथि सिधै चुनौती दिएको छ । मेलोनीको उदय उदारवादी विश्वमाथि उत्पन्न पछिल्लो चुनौती हो जसको सीधा सम्बन्ध प्रणालीगत संकटसँग छ, जसबारे पछि चर्चा गरिनेछ ।

‘इटालीमा उग्र दक्षिणपन्थीहरू सफल हुन सक्छन् किनभने वामपन्थीहरू, विश्वका अरू ठाउँमा जस्तै, विश्वसनीय दृष्टिकोण र रणनीति प्रस्तुत गर्न असफल भएका छन् । वामपन्थीहरू दक्षिणपन्थका विपक्षमा आफूलाई मत दिन त भन्छन् तर उनीहरू प्रस्ट राजनीतिक दृष्टिकोण र आर्थिक विकल्प दिन सक्दैनन् । जनतासँगको संवादमा वामपन्थीहरू चाहिँ सम्भ्रान्तहरूजस्ता सुनिन्छन् जबकि दक्षिणपन्थीहरूले अत्यन्त सामान्यकृत सीधा संवाद गर्छन् । जस्तो कि, आप्रवासीहरूको हिंसा र आतंकवादबाट इटालीको रक्षा गर्नुपर्छ भन्ने उनीहरूको नारालाई लिन सकिन्छ । ...सावधान रहनुस्, किनभने इटाली जता जान्छ, बाँकी युरोपले पनि छिटै त्यही बाटो अनुसरण गर्छ ।’ गार्जियनमा प्रकाशित इटालीका लेखक तथा टिप्पणीकार रोबेर्टो सेभियानोको यो टिप्पणीले युरोपेली राजनीतिका सम्भावित जोखिमबारे धेरै कुरा बताउँछ ।

सेभियानोको प्रस्ट धारणा छ— फासीवाद या उग्र दक्षिणपन्थको उदयको मुख्य राजनीतिक माटो वामपन्थी राजनीतिक शक्तिको असफलताले दिएको हो । वामपन्थीहरू समयअनुकूल आम मान्छेका आवश्यकताहरूसँग आफ्ना राजनीतिक कार्यसूचीलाई एकाकार गर्न नसकेका कारण कमजोर भएका हुन् या नवउदारवादले पहिले वामपन्थीहरूलाई किनारा लगायो र फासीवादलाई ठाउँ दियो ? विचारणीय प्रश्न भने यही छ ।

युरोपेली वामपन्थ औद्योगिक क्रान्तिपछि विकसित सामाजिक वर्ग विभाजनमा आधारित थियो । सम्पत्तिमा हालीमुहाली गरिरहेको पुँजीपति वर्ग र सर्वहाराकरण भएको श्रमजीवी वर्गबीचका तीव्र अन्तरविरोधकै हल खोज्ने क्रममा मार्क्सवादको विकास भएको हो । मार्क्सवादलाई आफ्नै ढंगले परिभाषित गर्दै कोही समाजवादी बनेका थिए त कोही साम्यवादी । युरोपेली लेबर पार्टीहरू, मध्यवामपन्थीहरू र समाजवादीहरू समग्रमा युरोपेली वामपन्थका हाँगाबिँगा हुन् जसमा साम्यवादी दलहरू पनि पर्छन् । दोस्रो विश्वयुद्धमा इटालेली र जर्मन फासीवादविरुद्ध सबैभन्दा अग्रमोर्चामा बसेर लड्नेहरू र स्पेनिस विद्रोहमा सामेल हुनेहरू वामपन्थीहरू नै थिए । तर दोस्रो विश्वयुद्धपछिको शीतयुद्धकालमा युरोपेली पुँजीवादी दलहरूले साम्यवादीहरूलाई निषेध गर्ने नीति लिए । सन् १९८० को दशकसम्म पुग्दा सोभीयत संघको नेतृत्वमा रहेको समाजवादी खेमाले पश्चिमा पुँजीवादी देशहरूकै जत्तिको विकल्प आफ्ना जनतालाई दिन सकेन र शीतयुद्धमा समाजवादी खेमाको हार निश्चित हुँदै गयो । यही मौका

छोपेर रेगन र थ्याचरले अँगालेको नवउदारवादी आर्थिक नीतिले बिस्तारै समग्र युरोपलाई प्रभावित गर्दै गयो । साम्यवादी दलहरू सीमान्तमा धकेलिए र कतिपय देशमा उपस्थिति देखाउन नसक्ने अवस्थामा पुगे । समाजवादी र लेबर पार्टीहरूसमेत नवउदारवादी आर्थिक नीतिसँग सम्झौता गर्दै गए ।

सन् २००८ को संकटपछि बेलायतका लेबर नेता जेरेमी कोर्बिन र सिप्रासजस्ता ग्रिसेली वामपन्थी आन्दोलनले विकल्प दिने प्रयास गरे पनि ती असफल रहे, फ्रान्समा वामपन्थीहरूलाई निस्तेज पार्दै वामपन्थी खेमाबाटै इमानुअल म्याक्रोंजस्ता नवउदारवादीहरू शक्तिमा आए । जर्मन चान्सलरका रूपमा एन्जेला मर्केलको सफलताले पनि वामपन्थीहरूलाई किनारामा धकेल्न सहयोग गरेको थियो ।

साम्यवादी खेमाको पतन र नवउदारवादले सृजना गरेको अर्थराजनीतिक प्रणालीको संकट सन् २००८ को विश्वव्यापी मन्दीका रूपमा देखा पर्‍यो । त्यसको विकल्प दिन वामपन्थीहरू असफल हुँदै जाँदा नै युरोपमा नवफासीवादी र उग्र दक्षिणपन्थी शक्तिहरूको उदय र विकास भयो । इटालीमा अहिले उदाएकी मेलोनी त्यसको जिउँदो अभिव्यक्ति त हुन् नै, डोनाल्ड ट्रम्प, ब्रेक्जिट, बोरिस जोन्सन, हंगेरीका भिक्टर ओर्बान, टर्कीका एर्दोगन, पोलिस दक्षिणपन्थी सरकार र पुटिनसमेत नवउदारवादको प्रणालीगत संकटका उपज हुन् । भारतमा हिन्दुवादी दक्षिणपन्थीहरूको शक्ति आर्जनमा पनि वामपन्थी र उदारवादीहरूको असफलता महत्त्वपूर्ण कारण रहेको छ ।

सेभियानोले भनेझैं, जहाँ वामपन्थीहरू असफल हुन्छन् त्यहीँ उग्र दक्षिणपन्थी र फासीवादीहरू सामाजिक असन्तोषलाई भजाएर शक्तिमा आउँछन् । प्रणालीगत संकटका कारण समाजमा उत्पन्न आर्थिक–सामाजिक संकटले या त वामपन्थी विकल्पसहित श्रमजीवी वर्गको आन्दोलन अघि आउँछ जसलाई क्रान्तिकारी संकट भनिन्छ, या जातीय (अन्ध)राष्ट्रवाद, महिलाहरूमाथि पितृसत्ताको दमन, महिला र पुरुषबाहेकको पहिचान भएका यौनिक अल्पसंख्यकमाथि दमन र घृणा, धार्मिक कट्टरता अर्थात् भिन्न धार्मिक समुदायमाथि दमन, आप्रवासीहरूमाथि दमन, श्रमिक आन्दोलन र ट्रेड युनियनहरूमाथि नियन्त्रण तथा कर छुटमार्फत ठूलो पुँजीपति वर्गको उत्थानमा मद्दत जस्ता नीति र नाराका माध्यमबाट लोकप्रियतावादी शक्तिले सत्तामा पकड जमाउँछ । बेलायत दक्षिणपन्थीकरणको यात्रामा निरन्तर हिँडिरहेको छ भन्ने वास्तविकता हालै प्रधानमन्त्री भएकी लिज ट्रसले लिएका कर सम्बन्धी नीतिहरूले पनि देखाउँछन् जसमा कर्पोरेट करलाई बीस ठूला अर्थतन्त्रभित्र सबैभन्दा कम सीमामा राखिएको छ । यसको अर्थ सामाजिक सेवाका क्षेत्रमा गरिने खर्चमा गरिबहरूको हिस्सा बढ्दै जानु हो । सँगै मुद्रास्फीति, कोरोना महमारी र रुस–युक्रेन युद्धले गर्दा विश्वव्यापी रूपमा आर्थिक वृद्धिदरमा आएको कमी, चीन र अमेरिकाबीचको बढ्दो तनावले उत्पन्न गरेको आपूर्ति शृंखला समस्याजस्ता कारणले उत्पन्न आर्थिक चुनौतीको सामना गर्ने दक्षिणपन्थी विकल्प पनि यो नीतिमा झल्किन्छ । यसैले उदाउँदो फासीवादलाई नवउदारवादकै प्रणालीगत संकटको अभिव्यक्तिका रूपमा बुझ्न सकिन्छ ।

वामपन्थी विकल्पले जनताको ध्यान तान्न नसकेका सम्बन्धमा पनि सेभियानोको भनाइले रहस्य खोल्छ । उनी भन्छन्, ‘वामपन्थीहरू जनताका अघि जाँदा यस्तो भाषामा संवाद गर्छन्, त्यसले आम जनताका मनका कुरा भन्दैन, उनीहरूलाई आकर्षित गर्दैन । उनीहरूको दैनिक जीवनका समस्या र वामपन्थी दल या नेताका भाषणबीच तालमेल नै हुँदैन ।’ नेपालकै अहिलेको राजनीतिमा देखिँदै गएका संकटहरूमा हामीकहाँको वामपन्थी या उदारवादी राजनीतिक नेतृत्वले देखाएको प्रवृत्ति जिम्मेवार छ । दक्षिणपन्थीहरू समाजमा विद्यमान संकटभित्र समाजलाई ध्रुवीकृत गर्ने नारा झिक्छन् । जस्तो— भारतमा अहिले हिन्दु राष्ट्रवाद, मुस्लिम र अल्पसंख्यकविरुद्धको घृणा, ‘क्रोनी क्यापिटालिस्ट’ वर्गको उत्थान, आलोचनात्मक चेतनासहित सीमान्तकृत वर्गको पक्षमा उठ्ने आवाजमाथि दमन भारतीय जनता पार्टीको उत्थानको मलिलो माटो बनिरहेको छ । नेपालमा पनि पहाडे राष्ट्रवादीहरूको स्वर चर्को सुनिँदै गएको, हिन्दुका नाममा मर्न–मार्न तयार हुनुपर्छ भन्ने फासीवादी राजनीतिलाई संवैधानिक उदारवादी राजनीतिभित्र हुर्कने अवसर भएको, धार्मिक अल्पसंख्यकमाथि घृणा फैलाउने गरिएको, महिला अधिकारवादीहरूमाथि सामाजिक सञ्जालमा देखिने घृणा र उदारवादी आधुनिक विचार तथा जीवन पद्धतिमाथि उठाइने प्रश्नहरूले दक्षिणपन्थी शक्तिको उत्थानका लागि बाटो बन्दै गएको हो कि भनेर प्रश्न गर्ने ठाउँ दिएको छ ।

ठीक यही बेला नवउदारवादी अर्थराजनीतिका पक्षधरहरूको एउटा हिस्साले लगातार वामपन्थी विचार र शक्तिमाथि आक्रमण गरिरहेको छ । मार्क्सवादी र वामपन्थी विकल्पहरूमाथि आक्रमण गर्ने क्रममा यसले पनि दक्षिणपन्थी विकल्पका लागि वैचारिक आधार निर्माण गर्न सहयोग नै गरिरहेको छ । वामपन्थी विचारलाई निषेध गर्न चाहने यो तप्काले समाजका विद्यमान प्रणालीगत समस्या र अर्थराजनीतिक संकटको उदारवादी विकल्पको कुनै गतिलो सूत्र अघि सारेको छैन । बरु प्रकारान्तरले विद्यमान संकटको मुख्य कारक रहेको नवउदारवादी अर्थराजनीतिक प्रणालीकै पक्षपोषण गरिरहेको छ जसले दक्षिणपन्थी हावा चल्न पर्याप्त स्पेस सृजना गर्छ । अर्थात्, वामपन्थीहरू (कम्युनिस्टहरू, प्रजातान्त्रिक समाजवादीहरू, क्रान्तिकारी मार्क्सवादीहरूसमेत) असफल भए भने, उनीहरूले जनतालाई संकटको विश्वसनीय विकल्पसहित अपिल गर्न सकेनन् भने चाहिँ हुने दक्षिणपन्थकै उदय हो जसले वामपन्थी र उदारवादीहरूलाई एउटै चिहानमा हाल्छ ।

संकट अर्थराजनीतिमा छ, प्रणालीमा छ, त्यसको प्रतिविम्ब दलहरूको विभाजन, संवैधानिक र लोकतान्त्रिक संस्थाहरूमा देखिएको अराजकतामा अभिव्यक्त भएको छ । यसको विकल्प थप लोकतान्त्रिक पद्धतिको विकास र यही पद्धतिभित्रबाट दिइने वामपन्थी र प्रगतिशील नीतिमा खोजिनुपर्छ । हाम्रो राजनीतिक नेतृत्व भने सत्ताप्राप्तिका तत्कालीन दाउपेच र असैद्धान्तिक गठजोडमा लिप्त छ । वैचारिक विकल्प दिनुभन्दा उत्ताउला नारा र परम्परागत रूढ शब्दाडम्बरमा मजा लिइरहेको छ । जनतामा निराशा छ, निकट विगतका विद्रोह र राजनीतिक परिवर्तनले जनताको जीवनमा तात्त्विक असर पारेका छैनन् । अहिलेको राजनीतिक नेतृत्वकै निरन्तरता हुँदासम्म नेपालको भविष्य उज्यालिने छाँट देखिन्न । उज्यालो सकिएपछि आउने अँध्यारो नै हो । विद्यमान प्रणालीगत संकटको वामपन्थी विकल्प खोज्न ढिलो गरियो भने चाहिँ हामी पनि दक्षिणपन्थी हावाले बढारिने निश्चित छ ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

मुटु र खानपिनबीच सन्तुलन

खानपिनको तौरतरिकामा व्यापक परिवर्तनसँगै व्यायाममा यथोचित समय खर्च नगरी मुटु रोगबाट बँच्न सकिन्न ।
अवनिभूषण उपाध्याय

हरेक २९ सेप्टेम्बरमा विश्व मुटु दिवस मनाइन्छ, यसपालिको नारा छ— ‘युज हार्ट फर एभ्री हार्ट ।’ संसारभरि मुटुरोगका कारण १८.६ मिलियन मानिसको अकालमा मृत्यु भइरहेको छ । यस हिसाबले यो एउटा महामारी हो ।

मुटुलाई रगत पुर्‍याउने करनरी आर्टरी हो । धेरै कारणले गर्दा यसको भित्री भाग बाक्लो हुँदै आउँछ, साँगुरिँदै जान्छ र त्यो धमनी बन्द हुन्छ वा थुनिन्छ अनि रगत पुर्‍याउने ठाउँमा रगत जान सक्दैन र मुटुको मांसपेशीको भाग मर्छ । यो मरेको भागलाई ‘इन्फ्याक्सन’ भएको अथात् हार्ट अट्याक भनिन्छ । मुटुरोग लगाउने कारक तत्त्वहरूमा वंशबाटै आउनेबाहेक मानिसको अस्तव्यस्त आनीबानी प्रमुख हो । यसलाई भने नियन्त्रण गर्न सकिन्छ, जरुरी पनि छ । धनी देशहरूले समयमै यसमा ध्यान पुर्‍याउन थाले, त्यहाँका नागरिकले जीवनशैली सुधार्न थाले र बिस्तारै मुटुको रोग घट्दै गएको विभिन्न तथ्यांकले देखाइरहेको छ । हामी भने यो विषयमा खासै जागरुक छैनौं ।

हार्ट अट्याकको उपचार गर्न सक्षम देशमा यो घट्दै छ । यसको पहिलो उपचार जनचेतना बढाउने नै हो । यसका लागि नेपाल हृदयरोग प्रतिष्ठान बनेको छ । घरघरमा पुगेर यो रोगबारे चेतना बढाउने काम गर्दै छ । मुटुरोगका केही मुख्य कारण निम्न छन् ः

धूमपान

सन् १९४० देखि नै धूमपान मुटुरोग लगाउने एउटा कारक तत्त्व हो भन्ने बुझिएको थियो । यो सिधै आफैं खाने र अरूले खाएको धूवाँबाट हुन सक्ने हुन्छ । अमेरिकाजस्तो धनी देशले धूमपानविरुद्ध ठूलो आन्दोलन नै गर्‍यो र सुर्तीजन्य पदार्थको उपयोग घट्न गयो भने हाम्रोजस्तो देशमा यो बढ्दो छ । उनीहरूले छोड्दै छन्, हामी सिक्दै छौं । उनीहरूकहाँ मुटुरोग ओरालो लाग्दै छ, हाम्रामा उकालो ।

उच्च रक्तचाप

यो आधुनिकीकरणको एउटा नकारात्मक पक्ष हो । उच्च रक्तचापको समस्या गाउँमा भन्दा सहरमा धेरै देखिन्छ । ठूलालाई मात्र नभएर साना उमेरका मानिसमा पनि देखिन थालेको छ । हाम्रो रहनसहन, खानपिनको बानीको नतिजा हो यो ।

मोटोपन

धेरै खाएपछि मोटोपन बढ्छ । तर धनी तथा खान पाउने देशमा यो घट्दै छ, गरिब देशमा भने बढ्दै छ, किन ? विकसित राष्ट्रले खानेतेलदेखि सब कुराको राम्ररी अध्ययन गरेका छन् । के कुरा खाने वा नखाने तिनमा राम्रो ज्ञान छ । हामीलाई भने यस्तो कुरामा त्यति वास्ता छैन । खानाबाट पाउने तत्त्व विचार नगरी खान्छौं । हामीले खानै नहुने खाना, पोके खाना, पत्रु खानामा गर्व गर्न थालेका छौं । विकिसित देशमा नियमित रूपमा व्यायाम, योग, ध्यान घरघरमा गरिन्छ । हामी भने न व्यायामलाई ध्यान दिन्छौं न योग वा ध्यानलाई नै ।

मधुमेह

सम्झ्यौं भने, हामी सानो हुँदा यो रोगबारे सुन्थ्यौं तर आजजस्तो हरेक घरमा यो देखिँदैन्थ्यो ।

मधुमेह पनि सुरुमा पश्चिमी राष्ट्रमै धेरै थियो, अब यो पनि बिस्तारै हाम्रोजस्तो अविकसित देशमा बढ्दै छ । खानाको स्तरमा गिरावट, व्यायामको कमी, पत्रु खाना खाएर वजन बढाउने लगायतले यो बढेको बढ्यौं छ र यसले मुटुरोगलाई निम्त्याउँछ ।

मोटापन, मधुमेहको भयावह अवस्थाले अर्को समस्या ‘इन्सुलिन रेजिस्टेन्ट’ आएको छ । यो मुटुरोग लगाउन सक्ने एउटा तत्त्व हो । यसले ‘युरिक एसिड’ बढाउने र ‘इन्फ्लामेसन’ भएर मुटुरोग निम्त्याउने भन्ने धारणा छ । यसको डर पक्ष, बालबालिकामा पनि यो देखिन थालेको छ । निमोनिया हुने जीवाणुहरूले पनि मुटुरोग निम्त्याउने विभिन्न अध्ययनले देखाइराखेका छन् । भिटामिन डी, बी १२, फोलिक एसिडको कमीले पनि मुटुलाई कमजोर बनाउँछ ।

आजको समाजमा भागदौडपूर्ण जीवन तथा खेलकुद गर्ने बेला कम्प्युटर वा सेलफोनमा बस्ने बानीले व्यायाम गर्ने चलनलाई पूरै निरुत्साहित गरेको छ । खानपिनको तौरतरिकामा व्यापक परिवर्तनसँगै व्यायाममा यथोचित समय खर्च नगरी यो रोगबाट बँच्न सकिन्न । सुरुमा चिनी खान बन्द गरौं, मीठो नखाऔं र खान पनि नदिऊँ, नुन कम गरौं, पोके पत्रु खानाभन्दा आफ्नै भान्सामा बन्ने खाना, खाजा खाने बानी बसालौं । ठूल्ठूला देशले आफूकहाँबाट भगाएर हामीकहाँ पठाएका पिज्जा, बर्गरको संस्कृति त्यागौं । के सहर, के गाउँ घरघरमा यो सन्देश पुर्‍याऊँ र त्यसको निगरानी गर्ने काम सरकारले गरोस् । हामी सबै सरकारको यस असल कार्यमा हात बढाऔं ।

मुटुरोग लाग्न सक्ने सम्भावना बढी भएका मानिस, जस्तो उच्च रक्तचाप, मधुमेह, चुरोट खाने, अल्छी, फलफूल नखाने, मोटोपन भएको, तनावमा रहने इत्यादिलाई लक्षित गरेर कार्यक्रम बनाऔं । यो काम नेपाल हृदयरोग निवारण प्रतिष्ठान, नेपाल हार्टनेट र ठूला अस्पतालहरू मिलेर गर्नुपर्छ । अस्पताल जनतामा पुग्नुपर्छ । अनि कसरी सहज तरिकाले यसबाट बच्न सकिन्छ भनेर सिकाउने काम विज्ञहरूबाट गराउनुपर्छ । यो कार्यक्रम सहज बनाउन सरकारी तथा गैरसरकारी जति पनि संघसंस्थाहरू छन् तिनले हातेमालो गर्नुपर्छ ।

रोग लाग्नुअगावै पत्ता लगाए उपचार गर्न सहज हुन्छ, खर्च पनि त्यति हुँदैन । धेरैलाई बचाउन पनि सकिन्छ । रोग भरसक लाग्नै नदिने तर लागिहाले यसको स्तरीय उपचार पाउने हक नागरिकले राख्छन् भन्ने कुरा सरकारले बुझ्नुपर्छ । हाम्रा भएका स्वास्थ्य संरचनामा अञ्चल (प्रादेशिक), जिल्ला अस्पतालमा एउटा वा दुईवटा मुटुरोग विशेषज्ञ पुर्‍याउने कार्यक्रम ल्याउनुपर्छ । त्यस्तै मुटुरोग हुँदा खानुपर्ने औषधि महँगा हुन्छन् । थरीथरीका खानुभन्दा पोलिपिल्स चाहिने औषधि एउटैमा मिलाएर बनाएको राम्रो हुन्छ र यसलाई कसरी सस्तो र सहजै उपलब्ध गराउने भन्नेमा सरकारको ध्यान जानुपर्छ ।

– उपाध्याय वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×