कार्कीलाई प्रधानन्यायाधीशकै सुविधाले निम्त्याउने अनर्थ- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सम्पादकीय

कार्कीलाई प्रधानन्यायाधीशकै सुविधाले निम्त्याउने अनर्थ

सम्पादकीय

छ महिनाभन्दा बढी कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएका व्यक्तिलाई प्रधानन्यायाधीशसरह सुविधा दिने भनी असोज ३ गते मन्त्रिपरिषद्ले गरेको निर्णय प्रथम दृष्टिमै खारेजयोग्य छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई अवकाशपछि प्रधानन्यायाधीशसरह सुविधा दिन सरकारले गरेको यो निर्णय संसद्निर्मित कानुनसित सोझै बाझिन्छ । यसै पनि राज्यकोषमा अनुचित भार पर्ने गरी मन्त्रिपरिषद्ले मनपरी सुविधा बाँड्न मिल्दैन, त्यसमाथि सर्वोच्च अदालतका न्यायमूर्तिका लागि त झनै मिल्दैन । न्यायपालिकाका पदाधिकारीका लागि कार्यपालिकाले कानुनविपरीत सुविधा तोक्नु आफैंमा अनर्थकारी कदम हो । जसरी व्याख्या गरे पनि यसले संसदीय लोकतन्त्रको सौन्दर्यका रूपमा रहेको शक्ति पृथकीकरणको सिद्धान्त र अभ्यासलाई संकुचित तुल्याउँछ, न्यायालयको साख गिराउँछ ।

मन्त्रिपरिषद्ले ‘६ महिनाभन्दा लामो समय कामु प्रधानन्यायाधीश भएको व्यक्तिका लागि’ भनेर नाम उल्लेख नगरे पनि जोकोहीले सजिलै बुझ्ने कुरा हो— यो निर्णयको लक्ष्य ६५ वर्षे उमेरहदका कारण आगामी असोज १५ मा सेवानिवृत्त हुन लागेका कामु प्रधानन्यायाधीश कार्की नै हुन्, जो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतमा कामु छन् । यसरी काययमुकायम जिम्मेवारीमा रहने व्यक्तिले पदमा रहँदा प्रधानन्यायाधीशका सम्पूर्ण अधिकार उपयोग गर्न पाउने भए पनि सेवानिवृत्त भएपछि प्रधानन्यायाधीशसरह सुविधा पाउँदैन । र, यो नियम कुनै कार्यपालिकीय कानुनले मात्र निर्धारण गरेको पनि होइन ।

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७४ मा प्रस्टै भनिएको छ, ‘कायममुकायम प्रधानन्यायाधीशले प्रधानन्यायाधीशको पारिश्रमिक र सुविधा पाउनेछ । तर कायममुकायम प्रधानन्यायाधीशले यो ऐन बमोजिम प्रधानन्यायाधीशले पाउने निवृत्तिभरण र पारिवारिक निवृत्तिभरण पाउनेछैन ।’ ऐनको यो प्रावधानको बर्खिलाफ हुने गरी मन्त्रिपरिषद्ले यसरी सुविधा तोक्न मिल्दैन । यसबाट सार्वभौम संसद्को अपमान मात्र हुँदैन, स्वयं न्यायपालिकाको विश्वसनीयतामा पनि ह्रास आउँछ । सरकारलाई कामु प्रधानन्यायाधीशलाई अवकाशपश्चात् पनि सुविधा दिन उचित लाग्छ भने संसद्मै छलफल र निर्णयका लागि विधेयक लैजानुपर्छ, मन्त्रिपरिषद् आफैंले निर्णय गर्ने होइन । यसलाई सरकारले अत्यावश्यक नै ठानेको हो भने त्यसबारे आसन्न निर्वाचनपछि बन्ने नयाँ संसद्ले विचार पुर्‍याउन सक्नेछ ।

फेरि, सरकारले यस्तो विषम परिस्थितिमा यो निर्णय गरेको छ जति बेला न्यायपालिका र कार्यपालिकाबीच थोरै मात्र ‘अतिरिक्त सद्भाव’ देखिँदा पनि न्यायपालिकामाथि अभूतपूर्व रूपमा औंला उठ्ने अवस्था छ । एकातिर प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारूढ दलहरूले संसद्मा महाभियोग दर्ता गरे पनि लामो समय त्यसलाई अघि बढाइएन, र कार्यकाल घर्किन लागिसकेको प्रतिनिधिसभाले त्यसलाई टुंगोमा पुर्‍याउन सकेन वा चाहेन । र, यही कारण कार्कीको कामु पदावधि लम्बिइरह्यो । अर्कातिर, तत्कालीन केपी शर्मा ओली सरकारले गरेको दोस्रो पटकको संसद् विघटनविरुद्धको जुन परमादेशका आधारमा यो सरकार बनेको हो, उक्त फैसला गर्ने एक न्यायाधीश कार्की आफैं हुन् । यस्तो अवस्थामा सरकारले कार्कीका निम्ति सुविधा बढाउनु भनेको न्यायालयलाई नै बदनाम तुल्याउने गरी आलोचना हुने ठाउँ दिनु हो । अतः कानुन र स्थापित पद्धति अनुसार मिल्थ्यो भने पनि समय–संवेदनशीलताका दृष्टिले कम्तीमा यही सरकारले चाहिँ यस्तो निर्णय गर्न मिल्दैनथ्यो, गर्नु हुँदैनथ्यो ।

तसर्थ, सवाल कार्कीलाई अब उपलब्ध गराउन लागिएको एक कार्यालय सहयोगी, एक सवारी चालक, एउटा गाडी र मासिक एक सय लिटर पेट्रोलको मात्र होइन, संसदीय लोकतान्त्रिक व्यवस्थाको मूल्य–मान्यता तथा शक्ति पृथकीकरण तथा नियन्त्रणको सिद्धान्तको पालनाको हो । र हो— न्यायालयको गरिमारक्षाको । सरकारले कानुनविपरीत सुविधा बाँड्दा भोलि लोकले उक्त न्यायमूर्तिले पदमा छँदा सरकारलाई ‘फाइदा’ हुने गरी गरेका फैसलाउपर प्रश्न गर्‍यो भने न्यायालयको साख के होला ? उक्त फैसला न्यायोचित ढंगले अर्थात् सम्पूर्ण रूपमा विधिशास्त्रीय सिद्धान्त बमोजिम नै गरिएको भए पनि त्यसको वैधतामा कस्तो प्रश्न उठ्ला ? ‘सरकारलाई सहयोग गरेबापत पुरस्कृत गरेको’ सन्देश जाँदा न्यायालयप्रति आम भरोसा के होला ? तसर्थ, यी सवालहरू मनन गर्दै सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्छ ।

कथं सरकारले यो निर्णय सच्याएन भने पनि कार्की स्वयंले न्यायालयको मर्यादारक्षाका निम्ति यो सुविधालाई अस्वीकार गर्नुपर्छ । यसो गर्दा सरकारले दिइसकेको सुविधाबाट त उनी वञ्चित होलान्, तर न्यायालयको आत्मसम्मान यही कारण गिर्न पाउँदैन । हिजो अदालतमा आफूले थालेको सुधार–कार्यको मनितो कायम राख्न र जनमानसमा अदालतबारे राम्रो सन्देश प्रवाह गर्न पनि कार्कीले यसो गर्नु जरुरी छ । आखिर उनलाई थाहै छ— सरकारले दिएको यो सुविधा गैरकानुनी छ । र त्यसमाथि, पूर्वविशिष्ट पदाधिकारीलाई मन्त्रिपरिषद्को पटके निर्णयका आधारमा सेवासुविधा उपलब्ध गराउने कार्यलाई सर्वोच्च अदालत स्वयंले पनि गैरकानुनी भनेकै छ ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

चारै दाजुभाइ फुटबलमा

प्रदीप मेन्याङ्बो, सुम्निमा चाम्लिङ

सुनसरी — धरानमा हुने अधिकांश फुटबल प्रतियोगितामा ठुल्दाइ आशिष राई जर्सी र फुटबल बुट लगाएर घरदेखि निस्कनासाथ उनका भाइहरू अमृत, सुजन र रविन पनि पछ्याउँछन् । चारभाइ फुटबल ड्रेसमा निस्कँदा धरान १७ रेल्वेवासीले नियालेर हेर्दै लख काट्छन्, आज कतै प्रतियोगिता हुँदै छ । चारै भाइले एकै रंगको जर्सी लगाउनुको अर्थ हो उनीहरू फुटबल प्रतियोगिताहरूमा सँगै हुन्छन् ।

उनीहरूले गोधूलि क्लब, धरान फुटबल क्लब, बिग्रेड ब्वाइज क्लब काठमाडौं, नेपाल पुलिस क्लब, फेयर फुटबल क्लब र बीआरसी भुटान क्लब, इम्पेरियम मार्केटिङ क्लब, रोयल क्लब सिलिगुढी क्लबबाट सँगै खेलेका थिए । पछिल्लो समयमा भने उनीहरू चारै धरानको फेयर फुटबल क्लबमा आबद्ध छन् ।

चारै छोरा खेलाडी भएर मैदानमा विपक्षीलाई छक्याउँदै बलसँग दौडिएको देख्दा बाआमा राजेन्द्रकुमार र लक्ष्मी राई फुरुंग हुन्छन् । चारै भाइले फुटबल खेलेरै जीविका चलाओस् भन्ने कामना राख्छन् । वर्षायामको बेला प्रतियोगिता नभए पनि सिजन सुरु भएपछि उनीहरूको दिनचर्या खेलेरै बित्छ । धरानको फुटबलमय वातावरणमा हुर्केका आशिषले भने, ‘साथी र अग्रजहरूले खेलेको देखेर ९ वर्षको उमेरदेखि खेल्न सुरु गरें । पढाइभन्दा फुटबलप्रति बढी झुकाव राख्थें । फुटबलमा चासो राख्न थालेको बेला धरानमा चार्ल्स राई र सुमन राई निकै चर्चित थिए । उनीहरू क्लबका पनि राम्रा खेलाडीमा दरिन्थे । सुमन र चार्ल्सको पथ पछ्याउँदै ०७१ देखि धरान फुटबल क्लब, गोधूलि क्लबमा आबद्ध हुँदै विभिन्न प्रतियोगिता खेल्न थालेपछि १९ वर्षको उमेरमा मेरो परिचय फेरियो ।’

त्यतिबेलाका स्टार खेलाडी सुरेन्द्र तामाङको साथ–सहयोग पाएकै कारण खेल जीवन उकास्न सहज भएको आशिषले सुनाए । उनले भने, ‘त्यसबेला मेरा बुवा वीपी प्रतिष्ठान धरानमा कार्यरत भए पनि थोरै तलब भएकाले घरखर्च, शिक्षादीक्षा परिवारको आवश्यकता जुटाउन मुस्किल हुन्थ्यो । तर उहाँले हाम्रा लागि जर्सी र बुट अन्य खर्च कटाएर भए पनि जुटाइदिनु हुन्थ्यो ।’ आशिष पुराना दिन बिर्सिएका छैनन् । ‘दसैंमा टीका लगाएको बेला पाएको दक्षिणा र तिहारमा देउसी खेलेको पैसा बचत गरेर पनि जर्सी र बुट किन्थ्यौं,’ उनले विगत सुनाए ।

उनी जुनसुकै क्लबमा खेले पनि प्रायः डिफेन्सको भूमिकामा देखिन्छन् । उनी ०७७ सालमा चर्च ब्वाइज क्लब काठमाडौंमा आबद्ध भएका थिए । प्रतियोगिता हुँदा काठमाडौं, पूर्वका जिल्ला साथै भारतको पश्चिम बंगालसम्म पुग्छन् । पूर्वको अधिकांश प्रतियोगितामा उनीसहित चारै दाजुभाइ एउटै टिमबाट खेल्छन् । टिममा भाइहरूको साथ खेल्दा सहज लाग्ने गरेको बताउँदै उनले भने, ‘म भएका कारण भाइहरूलाई पनि धेरै सपोर्ट छ, जानेको कुरा भन्छु । पराजित हुँदा गल्तीबारे समीक्षा गर्छौं ।’ उनीहरूको उमेर भिन्नता समेत कम छ । एकाघरकै दाजुभाइ भनेर परिचय गराउँदा थाहा पाउनेले अनौठो मान्छन् । घरको जेठो भएकाले होला आशिषलाई खेलाडी भएर जति गर्व छ, परिवारका लागि आर्थिक दायित्व सोचेजस्तो पुरा गर्न नसक्दा भने नमीठो अनुभव हुने गरेको सुनाउँछन् । उनका अनुसार नेपालबाहिर पश्चिम बंगालको सिलिगुढीका क्लबबाट खेल्दा बढी पारिश्रमिक प्राप्त हुन्छ । पुरा म्याच खेल्दा कम्तीमा २५ हजारदेखि ८७ हजार भारुसम्म पाउने गरेको सुनाए । यता धरानका स्थानीय क्लबमा भने एक खेलवापत १५ सयदेखि २ हजारसम्म मात्र पाउँछन् ।

आशिषका भाइ रविन र अमृतले दाजुकै सिको गरेर ७ वर्षको छँदामै फुटबल सिक्न थालेका थिए । उनीहरूभन्दा सिनियर दाइ चार्ल्स राई, निसान बर्देवाको हौसलाले अझ उत्साहित भए । डिपो स्कुलको मैदानमा खेल्दै गर्दा राष्ट्रिय खेलाडी भइसकेका सचिन राई गुरुका रूपमा थिए । उनले भने, ‘मेरो जिन्दगीको अधिकांश बाल्यकाल वीपी प्रतिष्ठानको क्वाटर र रेल्वेको मैदानमा बित्यो । आर्थिक अभाव एकातिर थियो, अर्कोतिर खेलाडी बन्ने सपना । त्यो सपना पुरा गर्न मैले कहिले दाइको जर्सी लगाएर खेलें, कहिले बाबाले किनिदिएको जर्सी र बुट लगाएर अभ्यास गरें ।’ ०७५ सालमा बिग्रेड ब्वाइज क्लबबाट खेलेको अनुभव उनीसँग छ । फुटबलमा केही परिपक्व हुन थालेपछि दाजुभाइको साथमा स्थानीय क्लबमा त कहिले पश्चिम बंगालसम्म खेल्न पुग्थे । रविनले भने, ‘गोधूलि क्लब धरानको पुरानो र स्तरीय टिमको भएकाले त्यहाँ पनि दाइहरूसँगै खेल्दा खेल्दै गोधुली कपको १८, १९ र २० औं संस्करणको उपाधि जित्दा चार दाजुभाइसँगै थियौं ।’

पुराना दिनका सम्झना पनि गजबको छ । ललित स्मृति यु–१८ का लागि पुलिस क्लबको टिम तयार हुँदै थियो । टोलीमा उनीसहित भाइ रविन र गोधूलि क्लबकै मन्जिल राई पनि छनोटमा परे । खुसीले उनको सीमा नाघेको थियो । अमृतको पुलिस क्लब र दशरथ रंगशालामा खेल्ने सपना पुरा भएको थियो । उनले एन्फा एकेडेमीका प्रशिक्षक इन्दु रसाइलीबाट फुटबलको टेक्निक सिकेको बताए । दाजुभाइ एउटै टिमबाट खेल्न पाउँदा खुसी लागेको बताउँदै उनले भने, ‘घरकै दाजुभाइ प्रायः एउटै टिमबाट खेल्छौं । फुपुको छोरा सुजन पनि हामीसँगै बस्ने भएकाले ५ जनाको टिम घरबाटै बन्छ ।’

अर्का भाइ रविन पनि दाइहरूले लगाउने जर्सी र बुटले रविनको बाल मस्तिष्कलाई लोभ्याएको थियो । जर्सीबाट आर्कषित हुँदै गएको उनी फुटबलमा तानिए । ७ वर्षको उमेरदेखि टोलको मैदानमा खेल्न थाले । उनी सुमन रार्ई, मिलन राई, योगन्द्र राई, चार्ल्स राईलाई फुटबलको गुरु ठान्छन् । रेल्वे युथ क्लबबाट धरानका वडास्तरीय प्रतियोगिताहरू खेल्न थाले । हेमन्त थापा मगर उनका छिमेकी थिए । उनी हेमन्तजस्तै राष्ट्रिय खेलाडी बन्ने सपना बुन्थे । २०७५ सालमा बिग्रेड ब्वाइज क्लबबाट खेलेका उनले ललित स्मृति यु–१८ भने पुलिस क्लबबाट खेलेको अनुभव छ । उनले प्रतियोगितामा २ गोल गरेका थिए । ४ गोलमा असिस्ट गर्न भ्याए ।

प्रशिक्षकको नजरमा भरपर्दा खेलाडीको रूपमा साबित भए पनि अन्त्यमा पुलिस क्लबको छनोटमा नपरेपछि घर आएको दुई वर्ष फुटबल नछोएको रविनले सुनाए । उनले भने, ‘पुलिस क्लबबाट फुटबल खेल्ने र राष्ट्रिय खेलाडी बनेर सफल फुटबल खेलाडी बन्छु भन्ने सपना अझै छ ।’

उनीहरूका फुपुका छोरा हुन् सुजन राई । सुजन पनि आशिषकै परिवारसँगै बस्छन् । उनले १५ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका थिए । १४ वर्षको उमेरसम्म बास्केटबल खेले । आशिष र अमृतको टिम फुटबल खेल्न भोजपुर जानुपर्ने भयो । तर टिममा गोलरक्षक अभाव थियो । उनी २०६८ मा एसएलसी परीक्षा दिएर बसेका थिए । बास्केटबल खेलाडीले गोलरक्षक गर्न सक्छन् भन्दै आशिष र अमृतले सुजनलाई भोजपुर लगेका थिए । यसरी सुजनको पनि फुटबल यात्रा सुरु भयो । सुजनको परिचय बन्नुमा सुविन्द्र राई, चार्ल्स राईको ठूलो भूमिका छ । गोधूलि कपका लगातार तीन उपाधि जित्दा गोलरक्षकको रूपमा आफूलाई बलियो साबित गर्दै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । धरान १७, रेल्वे चोक फुटबलका लागि यसै पनि उर्वर मानिन्छ । पूर्व राष्ट्रिय खेलाडी हेमन्त थापा मगर, सुरज बिक, सुमन सुवेदी, प्रकाश बुढाथोकीसहित महिला फुटबल टिमका सहायक प्रशिक्षक भगवती राना मगर, ए डिभिजन लिगमा खेल्ने थुप्रै खेलाडीले धरानको नाम रोशन गरिसकेका छन् । हाल रेल्वे चोकका ६० बढी नयाँ पुस्ताका खेलाडी स्थानीय फुटबल क्लबहरूमा सक्रिय छन् ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×