उम्मेदवार चयनका सूत्र- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवार चयनका सूत्र

राज्यले वृद्धभत्ता दिने उमेर पुगेको व्यक्तिलाई उम्मेदवार नबनाउनु वा मत नदिनु जाती हुन्छ । यो कुरा युवामा पनि लागू हुन्छ । साह्रै काँचा, घामपानी नखाएका उम्मेदवारलाई खडा गर्नु पनि ठीक होइन ।
टीका भट्टराई

उम्मेदवारी घोषणा भएका खबरहरू धमाधम सार्वजनिक हुन थालेका छन् । दल दर्ताको प्रक्रिया चलिरहेको र दलहरूले आफ्ना उम्मेदवार तय नगरिसकेकाले यी सबैजसो स्वघोषित उम्मेदवार नै हुन् । स्थानीय चुनावदेखि चलेको ‘स्वतन्त्र’ को लहरले गति लिई नै रहेको छ । पेसेवर युवाहरू अगाडि सरेका छन् । यसले सम्पूर्ण दललाई भन्दा ‘प्रतिष्ठित राजनेता’ हरूलाई अझ चुनौती दिएको छ । तर विचार गरे जनतालाई पनि सजिलोचाहिँ छैन ।

एक जना नेताले ‘नेता उस्ता होइनन्, भोट दिन पैसा चाहिने जनता उस्ता हुन्’ भन्ने ठूलो आरोप लगाएका छन् । उनले नेताको बचाउ गर्न खोजेका हुन् तर यसले जनता अनुसारका नेता कि नेता अनुसारका जनता भन्ने प्रश्न बौराई पनि दिएको छ । गाली गर्ने अनि तिनै नेतालाई फूलमाला लगाउन जाने, आफ्ना मान्छेलाई जागिर, ठेक्का, नियुक्ति देऊ भन्न जाने हामी जनता नै हौं । हरेक पटक समाजले अयोग्य र भ्रष्ट सम्झिएका नेतालाई नै जिताउनाले खराब नेता जिताउनुको अपजस पनि जनताले बेहोर्नुपर्छ । हामीलाई राम्रोभन्दा हाम्रो चाहिएको छ । यस लेखमा, शैक्षिक प्रयोजनका लागि, कस्ता उम्मेदवारलाई भोट हाल्ने र कस्तालाई नहाल्ने भन्ने चेकलिस्ट प्रस्तुत गरिएको छ ।

दल कि उम्मेदवार ?

स्वतन्त्र उम्मेदवारहरूको विजयले समाज तरंगित भइरहेका बेला र दलहरूले स्वाभाविक रूपमा ती विजयी विपक्षीहरूमाथि असहयोगको बदला लिइरहेका बेला दललाई हेरेर भोट दिने कि उम्मेदवारलाई हेरेर भन्ने प्रश्न टड्कारो भएको छ । दलीय प्रतिस्पर्धा पश्चिमा लोकतन्त्रको शासकीय व्यवस्थामा जनताको प्रतिनिधित्व गर्ने श्रेष्ठतम प्रविधिका रूपमा स्थापित छ । दललाई उम्मेदवारले प्रतिनिधित्व गर्छन् । दलहरूको वैचारिक ध्र्रुवीकरण रहेका बेला दलको परिचय हावी हुने गर्छ । तर यो त्यति प्रखर नरहेका बेला कसलाई मत दिने भन्ने प्रश्न अझ पेचिलो हुन्छ । कति बेला उम्मेदवार र दलका विचार धेरै फरक पनि हुन सक्छन् । नेपालमा गएको दशकदेखि दलीय राजनीतिमा वैचारिक फरक निकै कम हुँदै गएको छ । राजाको आवश्यकताको वकालत गर्ने र निश्चित धर्मको आधिपत्य चाहने विषयलाई ‘दक्षिणपन्थ’ को छाया मान्दाबाहेक आर्थिक र शासकीय प्रबन्धनमा ‘वामपन्थ’ यी दुइको फरक कम से कम सत्तामा पुगिसकेका र विगतलाई हेरेर सत्तामा पग्ने सम्भावना भएका दलहरूमा छैन ।

नेपालमा दलीय वर्गीकरण बेलाबेला जातीय विभेदभन्दा कडा रूपमा पनि प्रस्तुत हुन्छ । दलको वफादारीका आधारमा घरगाउँ, परिवार पनि विभाजित हुन्छन् । अहिले मोटामोटी रूपमा नेपाली राजनीतिका चार धार छन् (जुन लेखकको दक्षताकै विषय होइनन्) ः कांग्रेस, कम्युनिस्टहरू, राजावादी र क्षेत्र वा समुदायवादी । यतिखेर कम्युनिस्टहरू धेरै हाँगामा विभाजित भएको र उनीहरू सत्तामा पुग्दाको चरित्र हेर्दा, विपन्न र समानताको ख्याल नगरेको देख्दा दलका आधारमा हुने वैचारिक भिन्नता सायद बाँकी रहेन । एमाले कांग्रेसभन्दा बढी दक्षिणपन्थी छ भन्दा अतिशयोक्ति नहोला । यदाकदा हरियाली नामका पार्टीबाहेक वातावरणीय सापेक्षता मूल प्रवाहका दलहरूको लक्ष्यमा परेकै छैन । यस अर्थमा जनतालाई वैचारिक आधारमा मतको निर्णय गर्ने अवस्था छैन ।

सम्भवतः यसका लागि मतदाताले ‘दलीय बन्धन’ र उम्मेदवारको योग्यताबीच सन्तुलन गर्नुपर्ने हुन्छ । यसका लागि समानुपातिकता र प्रत्यक्ष उम्मेदवारी स्पष्ट निर्देशक हुन सक्छन् । दलको उपयुक्तताका लागि समानुपातिकमा र उम्मेदवारको योग्यताका लागि प्रत्यक्षतर्फ मत विभाजन गर्ने तर्कपूर्ण सहुलियत हुन्छ, जनताका लागि ।

दृढ वा लचिलो ?

हाम्रा केही नेता बेलाबेला घमन्डी भए भनेर आलोचित हुन्छन् भने, कोही निर्णय गर्न नसक्ने नेताका रूपमा चित्रित हुन्छन् । सामान्यतः अनिर्णयको बन्दी हुनुभन्दा दृढता र निर्णय नै बढी आवश्यक हुन्छ । ‘अर्जुनदृष्टि’ दृढ नेताको परिचय हो । एक पटक असफल हुँदैमा आफ्नो अडान छाड्ने नेतालाई जनताले पनि छाड्नुपर्छ । फगत उनीहरू अहम्भन्दा मूल्यमान्यताबाट परिचित हुनुपर्छ ।

इमानदारी कि योग्यता ?

पक्कै पनि योग्य र इमानदार उम्मेदवार छान्ने । सजिलै पत्ता लगाउनचाहिँ सकिँदैन । तर जनताले यति बेला कुन तहको उम्मेदवार हो भनेर छुट्याउन जरुरी छ । संसद् स्थानीय सरकारभन्दा फरक हो । जनताले सांसदसँग आफ्ना घरगाउँका समस्याको समाधान गर्ने अपेक्षा गर्नु हुन्न । यो नीति निर्माण गर्ने ठाउँ हो । (राष्ट्रिय सभा यस दृष्टिले अझ महत्त्वपूर्ण हो । त्यसमा जनताले प्रत्यक्ष मत नदिने भएकाले यहाँ त्यसको चर्चा गरिँदैन ।) नीति निर्माणमा सुझबुझ र योग्यताको दरकार पनि पर्छ । नेतालाई कर्मचारीले अलमल्याउने यसै भएर पनि हो । तर इमानबिनाको योग्यताको अर्थ छैन । संसद्मा योग्यताबिनाको इमानदारी पनि पर्याप्त छैन ।

विशेष गरी नयाँ उम्मेदवार छान्दा इमानदारी खुट्याउन गाह्रो पर्छ । कुनै उम्मेदवार बेइमानी गर्ने अवसर नै नपाएर इमानदार ठहरिएको त होइन ? तल माथि भनिएका कुराका आधारमा उम्मेदवार कस्तो होस् र कस्तो नहोस् भन्ने सूची प्रस्तुत गरिएको छ । दलहरूले वस्तुपरक रूपमा सम्भावित उम्मेदवारको स्कोरबोर्ड बनाउन सक्छन् ।

भोट खेर जाँदैन !

मतदाताहरूलाई आफूले मत दिएको उम्मेदवारले जितेन भने आफ्नो मत खेर गयो भन्ने लाग्छ । तर हरेक मतको त्यत्तिकै महत्त्व छ, जित्ने उम्मेदवारले त्यस्तो मतको कदर नगर्ने गरेको मात्र हो । यसलाई समानुपातिकतर्फको मतले केही प्रतिनिधित्व र क्षतिपूर्ति पनि गर्छ । तर विचार गरेर दिएको भए हारेको मत खेर गएको होइन !

सकारात्मक सूची

पद्धतिवादी : पद्धतिमा विचार गर्ने र त्यस अनुसार आचरण गर्ने होस् । प्रकृतिले कसरी काम गर्छ, बुझोस् । समाजले कसरी काम गर्छ, बुझोस् । संघीयताले कसरी काम गर्छ, बुझोस्; त्यसरी कुनै विषय वा मन्त्रालय । निर्णय प्रक्रियाका लागि पद्धति बनाओस् र त्यो अनुसार गर्ने होस् । पद्धति फेरोस् तर पद्धति ननाघोस् । कुनै पद्धति नै अवज्ञा गर्ने हो भने घोषणा गरेर गरोस् । पद्धतिको कुरा गर्दा विश्वको भूगोल थाहा पाउनु जलवायु परिवर्तनका दृष्टिले आज त्यत्तिकै महत्त्वपूर्ण छ ।

सिकारु : नयाँ विषय जान्न–सिक्न उत्सुकता राख्ने होस् । सिकारु हुनुका विभिन्न पक्ष छन् । अर्काको कुरा सुन्नु गम्भीर सिकारुको लक्षण हो । अनि अहिले समाजको विकासक्रमका दृष्टिले प्रविधिको सिकाइ महत्त्वपूर्ण छ । कम्तीमा सूचना खोज्न जान्ने होस् । जानेको छैन भने साइकल, मोटरसाइकल वा गाडी सिक्न तयार होस् । जरुरी अवस्थामा चालकप्रतिको निर्भरता दक्षतापूर्ण हुँदैन । सिकारुको अर्को पक्ष भ्रमणको रुचि हो, देश–विदेशको भ्रमण र त्यसमा उल्लेखनीय पदयात्रा पनि पर्छ । सिकारुले नै शिक्षामा जोड पनि दिन्छ । एक विषयमा पर्यात दखलसहित केही औपचारिक शिक्षा पनि जरुरी छ । पर्याप्त रूपमा देशमै शिक्षा लिएको होस् । विदेशी शिक्षा पनि जरुरी छ तर सबै विदेशी शिक्षाले स्थानीय ज्ञान कम हुन्छ । भाषा त एकदम अपर्याप्त हुन्छ ।

विविधतावादी : विभिन्न किसिमले विविधतावादी र अभ्यासकर्ता होस् । यसमा राजनीतिक बहुलतादेखि जातीय एवं वैचारिक विविधता पनि पर्छन् । अलि विविधतावादको अभ्यासको कुरा गर्ने हो भने, एकै खालको खाना (रोटी वा भात नै उदाहरणका लागि) चाहिने नहुनु पनि विविधतातर्फको संकेत हो । यसमा धार्मिक तथा जातीय सद्भावदेखि समावेशितासम्मका कुरा आउँछन् ।

उत्पादक : कुनै न कुनै उत्पादनशील उद्योग गरेको होस् । सामान आयात गर्ने खालको व्यापार गर्ने होइन । कुनै संस्था, घर, खेतीको पूरा जिम्मा लिएर चलाएको होस् । महत्त्वपूर्ण अवधि कुनै पनि व्यवसायको आधारभूत काम हात लगाएर गरेको होस् । त्यो समाजसेवा नै हुन सक्छ । उपयुक्त उम्मेदवार पदबाट बाहिरिनासाथ फुर्सदिलो हुँदैन । फरक काममा लागिहाल्छ । फुर्सदिलो मानिस सामान्यतः काम लाग्दैन ।

नकारात्मक सूची

सार्वजनिक सेवाको व्यापार गर्ने : उम्मेदवार राज्यले दिनुपर्ने सेवाको व्यापार–व्यवसायमा लागेको नहोस् । उदाहरणका लागि, खानेपानी, शिक्षा र स्वास्थ्य आदि । यी प्रत्यक्ष रूपमा स्वार्थ बाझिने विषय हुन् । सांसद नै मन्त्री हुने भएपछि यो पक्ष अझ महत्त्वपूर्ण हुन्छ । जग्गा दलाली अझ नकारात्मक हो किनभने प्रकृति संरक्षण गर्ने राज्यको बृहत् जिम्मेवारीसँग यसले मेल खाँदैन र यो कुनै उत्पादनशील व्यवसाय पनि होइन । जनतालाई अधिकारका रूपमा प्रत्याभूति गरेका सेवाहरू सरकारी संयन्त्रबाटै लिएको होस् ।

सन्तान विदेशमा हुने : उम्मेदवारका सन्तान (छोराछोरी, नातिनातिना) विदेश बस्ने नहुन् । अहिले नेता या कर्मचारी कामप्रति जिम्मेवार नहुनुमा मनोवैज्ञानिक कारण छ, देश बिग्रँदा उनीहरूको चित्त दुख्दैन । सक्नेले देशमै गर्लान्, इमानदार होलान् तर सन्तान भएकै ठाउँको चासो बढी हुन्छ । यसमा नागरिक समाज, नेता, कर्मचारी सबै नै पर्छन् । यद्यपि यो उनीहरूको सचेष्ट प्रयत्न होइन । उनीहरू कति ती देशमा नेपालमा जस्तो सामाजिक प्रतिष्ठा पाउन नसक्ने भएका कारण जागिर, व्यवसायमा छन् । यस दृष्टिले चुनाव क्षेत्रमै मूल रूपमा नबसेको व्यक्तिलाई पनि मत दिनु उपयुक्त हुँदैन । अहिले दलहरूले राजनीतिक गठबन्धनका लागि प्राविधिक रूपमा घर वा पुर्ख्यौली घरसम्म नभएको उम्मेदवार पनि छान्न सक्छन् तर राष्ट्रिय जिम्मेवारी नलिएका बखत सोही ठाउँमा नियमित बस्ने हुनुपर्छ ।

दलको दास : अहिले स्वतन्त्रको लहर चल्नुको एउटा कारण दलप्रतिको वितृष्णा हो । विजयीहरूले माफ पनि गर्नुहोला, उहाँहरूको मत सधैं समर्थन नभएर असन्तुष्टिको अभिव्यक्ति पनि हो । यसको अर्थ स्वतन्त्र उम्मेदवारलाई मत नदिनु भन्ने पनि नलागोस् । उम्मेदवार दलको दास भएर जागिर खाइबस्ने नहोस्, आवश्यक परेका बेला आफ्नो दल र नेताको

आलोचना गर्न सक्ने होस् । एउटा दलको मतमा जितेर अर्को दलमा लाग्ने पनि नहोस् । मत पाएको अवधिभित्र आफ्नो दल नबदलोस् । लाभ पाएर अर्को दलमा कुहिएकाहरूलाई फेरि मत दिनु हुन्न । सामूहिक विद्रोह फरक विषय हो ।

अनिवृत्त : हाम्रो देशमा औपचारिक सेवा व्यवसायको खास सुरुआत भएको छैन । उमेर पुगेपछि पेन्सन दिनेमा मुख्य सरकार नै हो । आजकल ‘बूढालाई बिदाइ’ को कुरा चलिरहेको छ । यो निकै विवादास्पद विषय पनि हो र वृद्घ नेतृत्वको कार्यप्रदर्शनप्रति वितृष्णा पनि । अपवादलाई छाडेर उमेर पुगेपछि मानिसको शारीरिक र मानसिक क्षमता क्षीण हुँदै जान्छ । सार्वजनिक पद धारण गर्नेको औषधि खर्च राज्यले नै बेहोर्नु पनि पर्छ । यस अर्थमा राज्यले वृद्धभत्ता दिने उमेर पुगेको व्यक्तिलाई उम्मेदवार नबनाउनु वा मत नदिनु जाती हुन्छ । यो कुरा युवामा पनि लागू हुन्छ । साह्रै काँचा, घामपानी नखाएका उम्मेदवारलाई खडा गर्नु पनि ठीक होइन । संसद् सदस्य हुने ज्येष्ठता आउन पनि केही वर्ष लागिहाल्ने भएकाले राज्यले ‘युवा’ मानेकालाई उम्मेदवारी दिन नलगाउनु वा मत नदिनु बेस होला । राजनीति सुरु गरेकै दिन प्रधानमन्त्री पद जिप्ट्याउने विचार वा अपेक्षा पक्कै पनि स्वास्थ्यकर होइन ।

आलोचना नसुन्ने : आलोचना नसहनु र आलोचनाप्रति संवेदनशील नहुनु फरक कुरा हुन् । आफ्नाबारेमा बग्रेल्ती आलोचना आउँदा बेवास्ता गर्ने नेता पनि छान्नु हुँदैन । संवेदनशील नभएर पदबाट गलहत्याउनुपरेका उम्मेदवारलाई पक्कै दोहोर्‍याउन हुँदैन ।

फोहोरको कमल : सधैं फोहोरमा कमल फुल्दैन । कस्ता मानिस उम्मेदवारको वरपर घुम्छन्, त्यसले उसको कार्यप्रदर्शन प्रभावित हुने भएकाले संगतमा भ्रष्ट, दादा, तस्कर भएका उम्मेदवार आफैं जति राम्रो भए पनि उच्च कार्यप्रदर्शन गर्ने सम्भावना कम नै हुन्छ । त्यस्तालाई पनि उम्मेदवार नबनाऔं । कहिलेकाहीँ मानिस भएपछि नेता हुँदैमा भूल नहुने हैन तर त्यसको स्वीकार र सफाइ सन्तोषजनक दिएको हुनुपर्‍यो । पक्कै पनि पृष्ठभूमिमा ‘भूमिगत गिरोह’ भयो भने नेता र देश दुवै संकटमा फस्छन् !

प्रकाशित : आश्विन १२, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा अमृतकाल कि विनाशकाल ?

रामचन्द्र गुहा भन्छन्— १५ वर्षअघि मैले भारतको प्रजातन्त्रलाई यसका विभिन्न संस्थानका कमी–कमजोरीका आधारमा ५०–५० (अनुपात) डेमोक्रेसी भनेको थिएँ तर आज म त्यसलाई ३०–७० डेमोक्रेसी भन्छु । कारण, अब सरकारी तन्त्रहरू जनताको नभएर सरकारका पक्षमा छन् ।
हर्कबहादुर छेत्री

यतिखेर भारतमा सरकारी घोषणा अनुसार स्वाधीनताको अमृतकाल चलिरहेको छ । भारत स्वाधीन भएको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा भाजपा सरकारले गरेको यस घोषणालाई विपक्षी दलले ‘भाजपाको मात्र अमृतकाल, बाँकी देशवासीको विनाशकाल’ भन्दै कटाक्ष गरिरहेको छ । सरकारी घोषणा उसो त सधैं सरकारबाहिर रहेकाहरूको अनुभवको विपरीत नै हुन्छ तर यसपालि भने आम जनताको अनुभव पनि सरकारी घोषणासित साह्रै मिल्दो देखिएको छैन ।

एकातिर रेकर्डतोड महँगी त अर्कोतिर भारुको अवमूल्यन । बेरोजगारी समाधानको आश्वासन दिएर सत्तामा आएको सरकारको पालामा सबैभन्दा धेर बेरोजगार भएका छन् । देशभरिका किसानहरू आफ्ना उत्पादनहरूको न्यूनतम मूल्यको मागमा वर्ष दिनभन्दा धेर दिल्लीको सडकमा बिचल्ली पर्दा पनि सरकारले टेरेन । कतिले ज्यान गुमाए तर सरकारले सहानुभूतिको एक शब्द बोलेन । उत्तरप्रदेशमा चुनाव सामना गर्नुपर्दा कर लागेर किसानविरोधी कानुन फिर्ता लिन बाध्य भए पनि अझै यस विषयमा संसद्को सिलमोहर लाग्न बाँकी नै छ । यसबीच त्यही सरकारले कर्पोरेट (उद्योगपति) हरूको १० लाख करोड भारुको ऋण माफ गर्‍यो । संसद्मा यस विषयमा कुनै बहस भएन ।

बेरोजगारीको समस्याले पीडित देशवासीहरू रोजगारीको खोजीमा छन् तर सरकार ताजमहल र कुतुब मिनारमुनि शिवलिंग खोज्नमा व्यस्त छ, सहरहरूका नाम परिवर्तन गर्नमा व्यस्त छ । भर्खरै हो, लोकसभामा कतिपय शब्दलाई ‘असंसदीय’ घोषणा गरेर सरकारले तिनको प्रयोगलाई खारेज गर्‍यो । अर्थात्, प्रतिपक्षको विरोधका सम्भावनाहरू बिस्तारै संकुचित बन्दै गइरहेको यो स्वाधीनताको अमृतकाल हो । सन् २०१४ देखि यता देशमा सरकार बिस्तारै एकतन्त्री भएको छ अनि सञ्चारका माध्यमहरू सरकारकै विज्ञापन विभागजस्तो भएका छन् । लगभग ३३ वटा राष्ट्रिय च्यानलहरू अब ती उद्योगपतिका हातमा छन् जसको १० लाख करोड भारुको ऋण सरकारले माफ गरेको छ । माफ गरिएको ऋणको कति प्रतिशत सरकारी दलको ‘पार्टी फन्ड’ मा फर्कियो, त्यो जान्ने कुनै तन्त्र कसैसित नभए पनि कुरा स्पष्ट छ । भर्खरै करण थापरलाई दिएको एउटा अन्तर्वार्तामा प्रसिद्ध इतिहासकार अनि ‘इन्डिया आफ्टर गान्धी’ का लेखक रामचन्द्र गुहाले भने, ‘१५ वर्षअघि मैले भारतको प्रजातन्त्रलाई यसका विभिन्न संस्थानका कमी–कमजोरीका आधारमा ५०–५० (अनुपात) डेमोक्रेसी भनेको थिएँ तर आज म त्यसलाई ३०–७० (अनुपात) डेमोक्रेसी भन्छु । कारण, अब सरकारी तन्त्रहरू जनताको नभएर सरकारका पक्षमा छन् । अब सरकार उच्चतम न्यायालय, पुलिस, सीबीआई, ईडी र संसद्लाई केवल विपक्षको आवाज बन्द गर्ने काममा लगाइरहेको छ ।’

स्वाधीनताको यो अमृतकालमा तर प्रश्न गर्नुजस्तो जोखिमको अर्को कुरा छैन । २० वर्ष पुरानो कुनै टिप्पणीको निहुँमा मोहम्मद जुबेर पक्राउ परे, केवल मुसलमान भएका कारण । सरकारी संस्थानको सरकारद्वारा दुरुपयोगको कुरा गर्दैगर्दा गुहाले देशमा मुसलमानहरूलाई दोस्रो दर्जाको नागरिकको स्तरमा झार्ने प्रयास निरन्तर भइरहेको पनि यस्तै उदाहरणमार्फत दाबी गरेका छन् ।

जुन देशमा जनसंख्याको ४८ प्रतिशत नारी छन् त्यहाँ २० प्रतिशत नारीले मात्र रोजगारीको अवसर पाएको देखिन्छ । लाल किल्लाबाट प्रधानमन्त्रीले स्वतन्त्रता दिवसको भाषणमा नारी शक्तिको सम्मानको कुरा गर्दैगर्दा बिलकिस बानो मामिलामा बलात्कार अनि हत्याको आरोपमा आजीवन कारावास पाएका १० जना बन्दीलाई उच्चतम न्यायालयले रिहा गरिदियो । ती अपराधीलाई फूलमालाले स्वागत गरिएको दृश्य विभिन्न च्यानलले प्रसारण गरे । यस्तो दृश्य देख्दा पनि मनमा प्रश्न उठ्दैन भने हामी कस्तो नागरिकमा परिणत भइरहेका छौं ? चिन्ताजनक विषय हो यो । लखिमपुर खिरीमा उत्तरप्रदेशका गृहमन्त्रीको छोराले किसानमाथि गाडी चलाएर ६ जनाको हत्या गरेको घटनालाई स्वराज इन्डिया संगठनका अध्यक्ष योगेन्द्र यादवले किसानको जलियानावाला बागको संज्ञा दिएका छन् । सरकारमा भएको दलले एकपछि अर्को जनविरोधी र सम्प्रदायमाझ घृणा फैलाउने परिस्थिति उत्पन्न गर्दा पनि औंलामा गन्न सकिने व्यक्तिबाहेक अरूतिर कुनै प्रतिक्रिया र रोष नदेख्दा निराशाको वातावरण छ । त्यसैकारण प्रजातन्त्रकै स्वास्थ्यका निम्ति प्रश्न अनिवार्य भएको छ ।

प्रश्नको परम्परा कहिलेदेखि सुरु भयो, त्यो मलाई थाहा छैन, तर प्रश्नलाई नै ज्ञानको खोजीको माध्यम बनाउने पहिलो दार्शनिकका रूपमा मेरो स्मृतिमा ग्रीक दार्शनिक सुकरात नै आउँछन् । तिनी भन्थे, ‘म लोग्नेमान्छेहरूमाझ त्यो धाई हुँ जसले अरूको विचार जन्माउनमा सहायता गर्छ । मसित आफ्नो विचार छैन, केवल प्रश्नहरू मात्र छन् ।’

उत्तर दिने होइन, प्रश्न गर्ने व्यक्ति नै ज्ञानी हो किनकि उत्तरले प्रश्नलाई होइन प्रश्नले उत्तरलाई जन्म दिन्छ । २५०० वर्षअघि प्रश्न गरेको दोषमा सुकरातले विष पिउनुपर्‍यो । सत्तालाई प्रश्न गर्नुलाई राष्ट्रद्रोह सम्झने शासकहरू पौराणिककालमा मात्र थिएनन्, त्यसपछि राजतन्त्रमा स्पष्ट देखिएको यो रोग संसारका थुप्रै देशमा छद्म रूपमा प्रजातन्त्रमा आजको समयमा पनि देखिन्छ ।

‘हाम्रो कुनै विकल्प छैन’ भनी प्रचार नगर्ने कुन दल छ र ? अनि यस्ता दललाई चिन्तनको संसारका महामानवहरू के सोच्छन् भन्नेमा कुनै सरोकार छ र ?

एकतन्त्री सत्तामा सधैं यस प्रकारको संकीर्ण सोच रहन्छ जहाँ विकल्प भन्ने कुराको अस्तित्व रहन्न । संसारको शान्ति र खुसीका निम्ति यस्तै संकीर्ण सोचहरू नै सबैभन्दा ठूला शत्रु हुन् । अशिक्षित र पछौटे सम्प्रदायमा परेको भए पनि हाम्रा पुर्खाहरूले समेत ‘जति मान्छे उति कुरा’ जस्ता उखान आफ्नो अनुभवले नै सिर्जेका थिए ।

संसारको सुन्दरता नै यसको विविधता हो । प्रसिद्ध कथाकार सोमरसेट ममले मानिसको विविधताबारे चर्चा गर्दै लेखेका छन्, ‘मलाई मानिसहरू भेट्दा एक्वारियममा रंगी–बिरङ्गी माछाहरू हेरेझैं लाग्छ । माछाहरू एकै रङका भए दृश्य कति बेरमाइलो हुन्थ्यो होला ! मानिसहरू पनि एउटै प्रकारका भए संसार त्यस्तै उराठलाग्दो हुने थियो ।’

आज भारतमा विभिन्न रङ मेटाएर एकताका नाममा एउटै रङलाई प्राधान्य दिने प्रयास हुँदै गरेको परिस्थिति आँखाअघि छ । ‘एक राष्ट्र, एक कानुन’ का नाममा अदृश्य रूपमा मिसिएर एक रङ आइरहेको परिवेशको कल्पना गरेर कति उदारवादीहरू आत्तिएका छन् । यथार्थ मुद्दालाई नजरअन्दाज गरेर काल्पनिक मुद्दाको खेती चलिरहेको छ देशमा । ‘देश के गद्दारों को, गोली मारो सालों को’ जस्ता नाराहरू देशवासीकै विरोधमा केन्द्रीय मन्त्रीहरू लगाउँदै छन् । सरकारले ‘अमृतकाल’ भने पनि स्पष्ट चिन्तनको अभावमा यो अन्योलको काल हो । दलगत विचारको दबदबामा व्यक्तिगत विचारहरूलाई सास फेर्न गाह्रो परिरहेको समय हो यो ।

...

जबसम्म हामी शंका गर्दैनौं, समाज स्वस्थ हुँदैन । जबसम्म प्रश्न गर्दैनौं, प्रजातन्त्र बलियो हुँदैन । संसारमा निश्चित भन्ने कुरा केही छैन भन्ने ज्ञानबाटै साँचो प्रजातान्त्रिक मूल्यको विकास हुन्छ । यदि आफैंसित हार्नुदेखि बच्नु छ भने प्रत्येक कट्टरपन्थी विचारधारादेखि जोगिनुपर्छ । धार्मिक अनि राजनीतिक कट्टरपन्थी धारणा मानव जातिको अस्तित्वका निम्ति सबैभन्दा घातक देखिएको छ । यो कुरा वैदिककालका ऋषिमुनिहरूलाई समेत थाहा थियो र नै ऋग्वेदले ज्ञानको दाबी गर्नुको साटो अनिश्चितताको कुरा गरेको छ, संसार अनि सृष्टिबारे आफू अनभिज्ञ रहेको बताएको छ ।

वेदले ईश्वर धेरैपछि आएको कुरा गरे पनि विभिन्न धर्मका अनुयायी यस्तो कुरा मान्न तयार हुने होइनन् नै, तर विज्ञानसम्मत विचारबाट हेर्दा ब्रह्माण्डसितै जीवन पनि अचानक उत्पत्ति भएको हो । अचानकका घटनाहरूको प्रतिफलस्वरूप हामी एक दिन यो ब्रह्माण्डसितै अचानक हराउँछौं । भौतिक शास्त्रले ब्रह्माण्डको उमेरबारे कुरा गर्दा सूर्यको पनि आयु छ । एक दिन घामले आफूभित्र भएको सबै हाइड्रोजन जलाएर हेलियममा परिणत गरिसक्छ तर त्योभन्दा धेरै पहिले नै घामको बढ्दो तापले पृथ्वीका नदी र समुद्रहरू सुक्नेछन् । तातिएर घाम फैलँदै मंगलको नजिक आइपुग्नेछ तर त्यसअघि नै पृथ्वी मृत ग्रह भइसक्छ । यो अचानकको घटनालाई नाम दिनु अनि त्यसमा कुनै अदृश्य शक्तिको हात र उद्देश्य छ भन्नु त मानिसको आविष्कार मात्र हो ।

अनिश्चितताको ज्ञानको अभावमा खडा भएको कुनै धारणाको उमेर लामो हुन सक्दैन । यही धारणालाई आत्मसात् गरेपछि मात्र मानिसले कुनै पनि बहसमा सही अडान लिन सक्छ ।

पर्यवेक्षण नगरी हामी कुनै कुरालाई पनि स्वीकार नगरौं । केही जान्ने उत्सुकतासहित प्रश्न मानिसको प्रत्येक खोजीको औजार बनोस् । १८ औँ शताब्दीमा दार्शनिक रुसो र भोल्टेयरले फ्रान्समा त्यही गरे । परम्परागत सामाजिक मान्यतालाई आँखा चिम्लेर बिनाप्रश्न स्वीकार गर्नुको साटो प्रत्येक पारम्परिक मूल्यमाथि आफ्नो प्रसिद्ध पुस्तक ‘द सोसल कन्ट्राक्ट थ्यौरी’ मा गम्भीर प्रश्न उठाए ।

यस परिप्रेक्ष्यमा हेर्दा, स्वाधीनता मनाउने होइन कि प्रत्येकले अनुभव गर्ने विषय हो । यही कुरा प्लेटोद्वारा लिखित ‘द रिपब्लिक’ मा सुकरातले आफ्नो चेलालाई बताएका छन् । घटना यस प्रकार छ–

सुकरातको पछिपछि हिँडिरहेको चेला लगातार प्रश्न गरिरहेको थियो— जीवनको अर्थ के हो ? लक्ष्य के हो ? असल मानिसको लक्षण के हो ? सुकरात भने उत्तर नदिई चुपचाप हिँडिरहेका थिए । विरक्त भएर सुकरातले केही समयपछि चेलालाई छेवैमा बगिरहेको नदीमा हुत्त्याइदिए । चेला पौडी खेल्न जान्दैनथ्यो । ऊ ‘बचाऊ बचाऊ’ भन्दै चिच्याउन थाल्यो । चेलाले पौडन जानेको छैन भन्ने निश्चित भएपछि सुकरात स्वयं नदीमा पसे अनि उसलाई बाहिर निकाले ।

सामान्य भएपछि चेलाले रिसाउँदै तिनलाई भन्यो, ‘तपाईंले त झन्डै मलाई मार्नुभयो ! उत्तर थाहा थिएन भने भन्दा भइजान्थ्यो । यो सब गर्ने के दरकार ?’

शान्त भएर सुकरातले सोधे, ‘पानीभित्र तिमीलाई कुन कुराको अनुभव भयो ?’

‘कुन कुराको भन्नु र अब ! हावाको ।’

‘किन ?’

‘किन र अब ! त्यति नाथे कुरा त सबैलाई थाहा हुन्छ । हावा चाहिन्छ सास फेर्नलाई ।’

‘तर के यसअघि तिमीले सास फेर्नलाई हावा चाहिन्छ भन्ने कुरा सोचेका थियौ ?’

केही बेर अनकनाएपछि चेलाले सानो स्वरमा भन्यो, ‘अहँ ।’

त्यसपछि सुकरातले हाँस्दै सम्झाए, ‘तिमीले किन सोचेका थिएनौ भने तिमीलाई सोच्ने आवश्यकता नै थिएन । आवश्यकताले नै मानिसलाई सोच्न अनि खोज्न बाध्य बनाउँछ ।’

...

आजको परिस्थितिमा आम मानिसले आफ्नो आवश्यकता अनुभव गर्नुअघि राजनीतिले आवश्यकताको प्रचार गर्छ । आवश्यकताको उत्पादन र वितरण हुन्छ । भोकलाई भगवान् अनि रोगलाई संस्कृति र आत्मसम्मान बाँडिन्छ । एक्लै सोच्न परहेज गरिन्छ । झुन्डमा सोच्नुपर्छ अनि सोच्ने विषयहरू सरकारले वितरण गर्छ । घाँटीमा पेटीको दाग भएको बलियो कुकुरले दुब्लो भतुवा कुकुरलाई आफ्नो मालिकको घर गए प्रशस्त खान पाइने सुझाव दिएको कथा मैले तेस्रो श्रेणी/कक्षामा पढेको थिएँ । साथीको घिच्रोमा दाग हुनुको कारण थाहा पाएपछि ‘दिनभरि खोरमा बाँधिनुभन्दा भोको पेट खुल्लै बस्न पाउनु धेर महत्त्वको’ ठानेर त्यो भुस्याहा कुकुरले खाने निम्तो अस्वीकार गरेको थियो । आज आफैं बाँधिनलाई पेटी बोकेर भारतका बहुमत जनता मालिकको खोजीमा छन् अनि हामी स्वाधीनताको अमृतकाल मनाउँदै छौं !

अब पाठकहरूलाई म नितान्त व्यक्तिगत अनुभवको कुरामा फर्काउन चाहन्छु ।

प्राथमिक पाठशालाको विद्यार्थी छँदा मैले स्वाधीनता कति बुझेको थिएँ, थाहा भएन । पाठ्यपुस्तकमा गान्धी थिए । कस्तुरबालाई साथमा राखेर चर्खामा धागो कातिरहेका । स्कुलमा हामीलाई पनि चर्खामा धागो कात्न सिकाइन्थ्यो । कारण थाहा थिएन तर खेलझैं मजा नै लाग्थ्यो । परीक्षाका निम्ति पोरबन्दर, दाण्डी यात्रा, दक्षिण अफ्रिका, साबरमती मुखस्थ गर्नुपर्थ्यो । स्वाधीनताको होइन तर परीक्षा पास गर्ने विषयहरू थिए ती । रिचर्ड एटनबरोले गान्धीको फिल्मांकन नगरेका भए गान्धीमाथि चासो लाग्ने कुनै कारण थिएन । एटनबरोको ‘गान्धी’ फिल्म बेलायतका सिनेमाहलहरूमा देखाइँदा अंग्रेज दर्शकहरूले फिल्म सकिएपछि उठेर सम्मानमा पहिले भारतीय दर्शकहरूलाई निस्कन दिए भन्ने खबर त्यस समयको टेलिग्राफ पत्रिकाले छापेको थियो । मेरो उमेर र अध्ययन बढ्दै जाँदा गान्धी पनि बढ्दै गए अनि आँक्नै नसकिने उचाइका भए ।

असलमा कुनै पनि धर्म राजनीतिक उद्देश्यबिना बुझिएको छ भने सबै धर्मलाई सम्मान गर्न सकिन्छ । सबै धर्मको एउटै उद्देश्य भेटिन्छ । धर्म शरीरको होइन तर मनको विषय हो । यही कुरा बुझ्नेहरूले नै यो कथन बनाए होलान्– ‘मन चंगा तो कठौती मे गंगा’ ! तर आज विज्ञापनको जमानामा हुनुभन्दा देखिनु महत्त्वको छ । व्यभिचार र भ्रष्टाचारमा लिप्त भए पनि चन्दनको टीका लगाएपछि श्रद्धेय भइहालिन्छ । त्यही काम कोही दाह्री पालेर त कोही रोजरी लाएर गरिरहेका छन् ।

...

कुन अनुहार हो अनि कुन मखुण्डो, भन्नै नसकिने परिस्थिति छ आज । एउटा फरक के छ भने, सन् १९४७ अघि भारत पराधीन नै भए पनि गान्धी जीवित थिए अनि आज देश स्वाधीन छ तर गान्धी छैनन् । स्वाधीनता संग्राममा जुन जोससित देशवासीहरू एक भएर अंग्रेजविरुद्ध लडे, आज त्यही जोससित जाति र धर्मको नाममा देशवासीहरू आपस्तमा लड्दै छन् । हामी तिरंगा फहर्‍याएर स्वाधीनताको अमृतकालको उत्सव मनाइरहेका छौं । सत्ता अनि सत्तामार्फत पाइने सुविधा हालमा स्वाधीनताको पर्यायवाची शब्द भएको छ ।

विश्वले महामानव मानिलिएका गान्धीबारे आज उनैको प्रयासमा स्वाधीन भएको देशले के सोच्छ त ? केही दिनअघि भारतका प्रधानमन्त्रीले आफ्नो वक्तव्यमा भने–

‘दुनियाँ में गान्धी को कौन पहचानता था ? दुनियाँ में तो मार्टिन लुथर किङ और नेल्सन मण्डेला प्रसिद्ध थे ।’

यी दुवै व्यक्तिहरू महात्मा गान्धीबाट प्रेरित भएरै आआफ्ना देशमा स्वाधीनताको आन्दोलन लडेको कुरा वर्तमान प्रधानमन्त्रीलाई थाहा नभएको देखेर म छक्क परें । यो तिनको अज्ञानताको कारण थियो कि कुनै रणनीति ?

व्यंग्य कवि सम्पत सरल एउटा कवि गोष्ठीमा भन्दै थिए— भर्खरै एक मन्त्रीले नोटमा गान्धीको फोटो छापिएदेखि यता रुपैयाँको अवमूल्यन भएको हो अनि स्वाधीनता संग्राममा बापुको कुनै योगदान थिएन भने । त्यसपछि कवि सरल तिखो व्यंग्य यसरी गर्छन्, ‘मैंने उनकी बात का बुरा नहीं माना । हो सकता है कि वे खुद के बापु के बारे में बोल रहे हों । हमारी देश की प्रजातन्त्र की यही खासियत है कि दिमाग से बिमार व्यक्ति भी स्वास्थ्यमन्त्री बन सकता है ।’

स्वराज, स्वाधीनता अनि गणतन्त्रजस्ता आदरणीय शब्दहरू गान्धीको समयदेखि यात्रा गरेर हाम्रो समयमा आइपुग्दा कसरी हास्यास्पद भए ? प्रश्न गहन छ । उसो भए के आज हामी साँचो अर्थमा गणतन्त्र दिवस मनाउने अवस्थामा छौं त ? यो स्वाधीनता सत्तामा बस्नेहरूको मात्र हो कि आम जनताको पनि ? प्रश्न गहन छ । स्वाधीनता दिवसमा राजपथमा देशका विभिन्न राज्यका झाँकीहरू देखाइन्छन् । भनिन्छ, भारतको आत्मा गाउँमा बस्छ अर्थात् गाउँ नै साँचो भारतको प्रतिविम्ब हो । सुन्दा मीठो लाग्छ, तर राजपथमा एक दिन देखाइने झाँकीले गाउँको पीडा लुकाउन सक्दैन र नै बुकर पुरस्कार विजेता लेखिका अरुन्धती राय भन्छिन्, ‘राजपथको तमासाको कुनै अर्थ छैन । गाउँमा देशको आत्मा पाईने कुरा सरकारी झुट हो । गाउँ त देशमा सबैभन्दा बढ्ता अपहेलित ठाउँ हो जहाँ देशले लात खान्छ । गाउँ यस्तो ठाउँ हो जहाँ हर प्रकारको सुविधा अन्तमा पुग्छ । कुनचाहिँ सहर छ देशमा जहाँ बिजुली अझै पुगेको छैन ? तर लाखौं गाउँहरू छन् जो अझै अन्धकारमा छन् । कति अझै बेघर छन् भने हर घर तिरंगाको के अर्थ हुन्छ ?’

भर्खरै प्रधानमन्त्री मोदीले आम आदमी पार्टीले गुजरातमा गरेको चुनावी प्रतिश्रुतिबारे तिखो टिप्पणी गर्दै भने, ‘यह रेवडी कल्चर बन्द होना चाहिए ।’

आफूले चुनाव जिते गुजरातका प्रत्येक बेकारीलाई रोजगारी नपाएसम्म मासिक ३ हजार भारु भत्ताको आश्वासन दिएका केजरीवालले तुरुन्तै जवाफमा भने, ‘यह रेवडी कल्चर क्या है ? बेरोजगारों को कुछ रिहायत देना रेवडी कल्चर है तो फिर अपने उद्योगपति दोस्तों का १० लाख करोड कर्ज माफ करना क्या है ?’

अनुत्तरित नै रहे पनि यो सबैको मनको प्रश्न हो । अमृतकाल भनेर प्रश्नलाई अनदेखा गर्न मिल्दैन । आज सत्तापक्षबाट ‘एक राष्ट्र, एक विधान’ को कुरा पनि चल्दै छ । अनेकतामा एकता भारतको अन्यतम विशेषतामध्ये एक थियो । त्यो लोप हुने तरखरमा देखिन्छ । प्रजातन्त्र विशेष रूपले अल्पसंख्यकहरूका निम्ति श्रेष्ठ व्यवस्था मानिए पनि अर्थमा त्यो लागू गर्न नसकिने परिवेश देखिँदै छ । देश एउटै रङमा रंगिनुपर्छ भन्ने आवाज शक्तिशाली पक्षबाट उठिरहेको छ । स्वाधीनताको अमृत महोत्सव मनाइरहेका हामी यस्तो विचार किन भन्ने प्रश्न सोध्ने साहस जुटाउन नसकेर चुप छौं । कैयौं वर्षअघिका, कविगुरु रवीन्द्रनाथ टेगोरका ती पंक्तिहरूको स्मरण हुन्छ–

नाना भाषा नाना मत नाना पहिरान

विविधको माझ हेर मिलन महान...

कविगुरु रवीन्द्रनाथ टेगोर जीवितै भएका भए के भन्थे होला ?

...

राजनीतिमा धर्म हुनु एउटा कुरा हो तर धर्मलाई लिएर राजनीति देशका निम्ति घातक हो । अविभाजित भारतमा कवि इकबालले लेखेका थिए–

मजहब नहीं सिखाता आपस में वैर रखना

हिन्दी हैं हमवतन हैं हिन्दोस्तां हमारा

सारे जहाँ से अच्छा ।

कवि इकबालले लेखेका यी शब्दहरू आज पनि त्यहीँ छन् ।

स्वाधीनताको अमृतकालमा यी प्रश्नहरू उठान गर्न उपयुक्त नभएको पनि हुन सक्छ । तर साँचो अमृतकालको सपना तबसम्म साँच्न सकिँदैन जबसम्म प्रत्येक नागरिकमा प्रश्न गर्ने क्षमता र साहसको जन्म हुँदैन । सधैंभरि ‘हुन्छ’ र ‘हजुर ठीक छ’ भनेर टाउको स्वीकारोक्तिमा मात्र हल्लिए एक दिन टाउको र पुच्छरमाझको भेद हराउँछ ।

मानिसहरू किन प्रश्न गर्दैनन् त ? किन प्रश्नदेखि डराउँछन् ? प्रश्न किन प्रश्नको उठान गर्नेविरुद्ध नै गरिन्छ ? उत्तर सायद सोझो छ । स्वार्थ अनि अज्ञानता । ज्ञान पुस्तकभित्र सीमित छैन । परिवेश हेरेर पनि हेर्न चाहनेले परिस्थिति बुझ्न सक्छ । शब्दमा सीमित छैन ज्ञान किनकि शब्द नै संसार होइन । आज हामी देखेको भन्दा लेखेकामा धेर विश्वास गर्ने भएकै कारण एउटा पतनोन्मुख परिस्थितिअघि खडा छौं तर प्रश्न गर्ने साहस र ज्ञान दुवैदेखि वञ्चित । लेखेको त गोर्खाल्यान्ड र संविधानका प्रावधानहरू छ, तर देखेको उही झोडा, खोल्सा र बाटाहरू मात्र छन् । टाउको दुखेको औषधि नाइटामै दलिरहेका छौं । देशको संसद्मा प्रतिनिधि एउटा दलको पठाएर बिचरा प्रतिपक्षकाहरूलाई पो किन गोर्खाल्यान्ड भएन भन्ने प्रश्न गरिरहेका छौं । लार्किनको कविताझैं मरिरहेका त छौं तर किन मर्दै छौं, त्यो थाहा छैन ।

वास्तवमा हामीले मनाइरहेको यो अमृतकाल तुवाँलोले ढाकिएको कुइरोकाल हो । आँखासामुन्ने देख्न सकिने केही छैन । तैपनि भनिरहेका छौं– यो अमृतकाल हो ।

– भारतको कालेबुङ निवासी छेत्री पश्चिम बंगाल राज्यका पूर्वविधायक हुन् ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×