तोप्केगोला र तोप्केगोलेन्सिसहरू- विचार - कान्तिपुर समाचार

तोप्केगोला र तोप्केगोलेन्सिसहरू

मुन्धुमी पदमार्गको सम्भावनाका लागि पैदलयात्रा गर्दा थुप्रै रैथाने वनस्पति भेटिए, तिनको संरक्षण गरिनु जरुरी छ ।
कमल मादेन

लिम्बूको आदिमकालको बसोबासस्थल संखुवासभास्थित अरुण खोला पूर्वको हिमाली तथा पहाडी भेग हो । त्यहाँका ओढार, ढुंगा, पहाड, खोला, पोखरी, बोटबिरुवा तथा जनावरसँग लिम्बूका प्रागैतिहासिक कालदेखिका कथा जोडिएका छन् । तिनै कथालाई समग्रमा मुन्धुम भनिन्छ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले मुन्धुमले चर्चेका ठाउँहरूलाई मुन्धुमी पदमार्गका रूपमा स्थापित गर्न स्थलगत अध्ययन सुरु गरेको छ ।

यसका निम्ति गत भदौमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङका केही भूभागमा पैदलयात्रा गरियो । सो क्रममा लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङको टोलीमा म पनि मिसिएको थिएँ । लालीगुराँस नगरपालिकास्थित वसन्तपुरबाट संखुवासभास्थित जोरपोखरीबीच करिब ३४ किमि दूरी सुरुमा मोटरबाट पार गरियो । जोरपोखरी पूर्वतर्फको मेन्छायाम धाप मुन्धुमीस्थल हो ।

जोरपोखरीबाट पैदल हिँड्दै मिल्के, गिद्धे हुँदै खामबलेमा तेस्रो बास बसियो । खामबलेको पूर्वतर्फ लिम्बूका पुजारी (येबा) ले मान्ने गरेको पवित्र स्थल असाङलुङतर्फ गइयो । असाङलुङ करिब अर्धआयातकार तथा गोलाकार आकारको सयौं मिटर अग्लो एउटै ढुंगाको विशाल पहरो हो । दुर्भाग्य भनौं, वर्षा र कुइरोका कारण असाङलुङ स्तम्भ स्पष्ट देखिएन । त्यसपछि हाम्रो यात्रा सभापोखरीतर्फ अघि बढ्यो । सभापोखरी समुद्री सतहबाट ४ हजार १ सय ५० मिटर उचाइमा छ । जोरपोखरीबाट सरासर हिँडे अढाई दिनमा यहाँ पुगिन्छ । हामी सभापोखरीको पाटीमा चौथो बास बस्न पुग्यौं । उकालो यात्रामा लेक नलागोस् भनेर सभापोखरीमै पाँचौं बास पनि बसियो । लगातारको हिँडाइको आठौं दिनका राति तोप्केगोलाको एक होमस्टेमा बल्लतल्ल बास पाइयो । जोरपोखरीबाट हिँडेपछि गाउँ देखेको र घरमा बास बसेको त्यही हो ।

तोप्केगोला

तोप्केगोलामा दुई दर्जनभन्दा बढी घर छन् । दुईतिहाइजति भोटे परिवार नावा, ठोमा, फिरक्पा, लाम्साङ्गे, च्यावा थरका छन् । बाँकी साँवा थरी लिम्बू छन् । भोटे समुदायले तोप्केगोलालाई अचेल ढोक्प्या भन्छन् । तिब्बती भाषाको ‘ढोक’ र ‘पा’ बाट ढोक्प्या शब्द बनेको बताइन्छ, जसमा अघिल्लोको अर्थ गोठ र पछिल्लोको बस्ने ठाउँ हुँदो रहेछ । यसबाट उहिले त्यहाँ भोटे समुदायले याक गोठ राख्थे भन्ने बुझिन्छ ।

लिम्बू समुदायमा तोप्केगोलासँग जोडिएका अनेकन् मुन्धुम छन् । तिनले तोप्केगोलाको नामकरण पनि भिन्नै कथनबाट भएको बताउँछन् । मेयर माबुहाङका अनुसार ‘तक’ र गोलाबाट तोप्केगोला शब्द प्रचलनमा आएको हो । लिम्बू भाषामा ‘तक’ को अर्थ भात र गोलाले बजार भन्ने बुझाउँछ । उहिले उक्त ठाउँमा औलतिरबाट चामल व्यापारका लागि लगिन्थ्यो । तिब्बततिरबाट तिब्बती सरसामान ल्याइन्थे । त्यहाँ भात अर्थात् चामलको व्यापार हुन्थ्यो । कालान्तरमा उक्त ठाउँ ‘तकगोला’ हुँदै तोप्केगोला हुन पुगेको माबुहाङको कथन छ । तोप्केगोला समुद्री सतहबाट ३ हजार ७ सय मिटर उचाइमा छ । धान २ हजार मिटरभन्दा माथि विरलै लगाइन्छ । तोप्केगोलाभन्दा उत्तरतर्फ अझ उचाइको भूभाग छ । यसकारण त्यहाँ चामलको व्यापार हुन्थ्यो होला । अचेल तोप्केगोला ताप्लेजुङस्थित मिक्वाखोला गाउँपालिका–५ मा पर्छ । तोप्केगोलाबाट सोही वडाको दक्षिणतर्फको गाउँ पुग्न पूरै एक दिन मिक्वाखोला किनारैकिनार जंगलको बाटो हिँड्नुपर्छ ।

सरकारले २०५८ पुस २५ मा जारी गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनले तोप्केगोलासहित मिक्वाखोला गाउँपालिकामा बसोबास गर्ने भोटे समुदायलाई तोप्केगोला जनजातिमा सूचीकृत गरेको छ । यसैका आधारमा तोप्केगोला नजिकका थप तीन गाउँ, थुदाम, चेपुवा र ओलाङचुङगोलाबाट थुदाम, ल्होमी र वालुङ जनजाति सूचीकृत छन् । जबकि तिनको भाषा, संस्कृति एकै हो । उनीहरू भोटे हुन् । यसरी सूचीकृत हुँदा जनसंख्याका आधारमा उनीहरू अल्पसंख्यक जनजाति हुन पुगेका छन् । राज्यले दिने विभिन्न सुविधा उपभोग गर्ने अवसर पनि पाइरहेका छन् । यो राज्यलाई गुमराहमा राख्नु हो ।

लिम्बूले भोटेलाई मुदेम्बा भन्छन् । तोप्केगोलासहित मिक्वाखोला गाउँपालिकामा बसोबास गर्ने एउटा लिम्बू समुदाय मुदेन्छङ साँवा हो । मिक्वाखोला गाउँपालिकामा मुदेन्छङ साँवाबाहेक साँवा थरभित्र ८, ९ उपथर छन् । त्यहाँ साँवा भन्ने ठाउँ नै छ ।

मुदेन्छङ साँवाहरू भोटे पुरुष र लिम्बू महिलाको सन्तान भएको बताइन्छ । तिनले लिम्बू भाषा बोल्छन् र लिम्बू संस्कृति मान्छन् । उनीहरूका केही पैतृक कार्य अन्य लिम्बूको भन्दा पृथक् छन् । लिम्बूको कथन अनुसार साँवा क्षेत्रमा मानिसलाई दुःख दिने एक देवता छन् दुङ्दुङे जसलाई मिक्वाखोला दक्षिणतर्फका मेरिङ्देन र मैवाखोला गाउँपालिकाका केही लिम्बूले पुज्ने गर्छन् । दुङ्दुङेको पूजामा बोकालाई झुन्ड्याई जिउँदै चिरेर मुटु–कलेजो चढाउने चलन कतैकतै अझै छ ।

तीन तोप्केगोलेन्सिस

तोप्केगोलामा सर्वप्रथम सन् १९५३ भारतका वनस्पतिविज्ञ एमएल बनर्जी पुगेका थिए । त्यसपछि सन् १९९२ सम्म जापान र बेलायतका वनस्पति अन्वेषकहरू आधा दर्जन पटक पुगे । विदेशी टोलीमा नेपाल सरकारका तर्फबाट वनस्पति विभागका वनस्पतिविज्ञहरू पीआर शाक्य, एसके ढुङ्गाना, केआर राजभण्डारी, एन आचार्य सहभागी थिए । तीर्थबहादुर श्रेष्ठ र दामोदर जोशी पनि सन् १९७२ मा तोप्केगोला हुँदै थुदाम पुगेका थिए ।एक दशकयता वनस्पतिविज्ञ प्रवीण भण्डारी र हेमराज पौडेल पनि पुगेका छन् । अहिलेसम्म तोप्केगोलाबाट संकलन गरिएका वनस्पतिमध्ये तीन वनस्पति प्रजातिको वैज्ञानिक नाम तोप्केगोलेन्सिस बनाइएको छ (सेनेसियो तोप्केगोलेन्सिस, सउसुरिया तोप्केगोलेन्सिस र प्रुनस तोप्केगोलेन्सिस) । पहिलो र दोस्रो नेपालसहित अन्य देशमा पनि पाइन्छन् ।

केशवकुमार राजभण्डारी, सञ्जीवकुमार राई, मोहनदेव जोशी, सुभाष खत्री, गंगादत्त भट्ट र रीता क्षेत्रीको ‘इन्डेमिक फ्लावरिङ प्लान्ट्स अफ नेपाल ः स्टेटस एन्ड डिस्ट्रिब्युसन’ (सन् २०२१) लेख अनुसार ताप्लेजुङमा मात्र पाइने १० प्रजाति फूल फुल्ने वनस्पति छन् । तीमध्ये कोर्सिया स्टेन्टोनियना, पेडिकुलारिज अक्सिर्हिन्जा, प्रुनस तोप्केगोलेन्सिस र सेक्सिफ्रागा जलजलेन्सिसहरू तोप्केगोला क्षेत्रबाट संकलन गरिएका हुन् । यी अन्यत्र अहिलेसम्म फेला परेका छैनन् । यी चारमध्ये प्रुनस तोप्केगोलेन्सिस रूख हो । अन्य तीन रैथाने प्रजाति झार वर्गका वनस्पति हुन् । पैयुँ जातिको वनस्पति विषयमा चीनबाट विद्यावारिधि गरिरहेका दीपक

खड्कासँग यात्राको सुरुकै दिनमा प्रुनस तोप्केगोलेन्सिसबारे कुरा भएको थियो । यो पैयुँ जाति अन्तर्गतको वनस्पति हो । खड्काले यसअघि नै उक्त प्रजातिको नमुना संकलन गरिसकेका थिए ।

प्रुनस तोप्केगोलेन्सिस

प्रुनस तोप्केगोलेन्सिस सन् २०१० मा जापानी विज्ञले पत्ता लगाएका हुन् । यसको नमुना जापानको एक संग्रहालयमा मात्र संगृहीत छ । यो प्रजाति जापानको वनस्पतिविज्ञबाहेक स्थलगत रूपमा यसअघि खड्काले मात्र देखेका थिए । यो प्रजातिको विवरण ‘फ्लोरा अफ नेपाल, भोलम ३–२०११’ मा प्रकाशित छ । त्यसमा भनिएको छ, यो २ मिटरसम्म अग्लो झाडी वर्गको वनस्पति हो । तर, तोप्केगोलाको मिक्वाखोला दाहिनेपट्टि किनारमा यसको बोट १०–१२ मिटर अग्लोसम्म थियो । फेदको गोलाइ अढाई फिटसम्मको थियो ।

यो वनस्पति पातबाट स्पष्ट रूपमा चिनिँदो रहेछ । पात पलाएको काण्ड र पातको भेट्नु रातोरातो रंगमा प्याजी मिसिएजस्तो देखिने रहेछ । पातको फेद साँघुरिएको हुने । टुप्पो २ सेन्टिमिटरजति लाम्चो र चुच्चो । पैयुँका अन्य प्रजातिभन्दा यसको पातको वरिपरि आराका धारहरूजस्ता संरचना छन् । पातको वरिपरि उठेको भागमा जोडाजोडा धारहरू पातको टुप्पोतिर ढल्केका । पातको वरिपरि रहेका आराका धारजस्ता संरचनालाई डबल सेरेट मार्जिन भनिन्छ ।

‘फ्लोरा अफ नेपाल, भोलम ३’ मा प्रुनस तोप्केगोलेन्सिसको फल कस्तो हुन्छ, थाहा नभएको उल्लेख छ (पृष्ठ ३९१) । फूल जुनमा फुल्छ र फल अगस्टसम्म रहन्छ पनि भनिएको छ । हामीले फल सेप्टेम्बर ५ मा फेला पार्‍यौं । फल डेढ सेन्टिमिटर व्यासजतिको रातो रंगमा थियो । फलको भेट्नु भने ५–६ सेन्टिमिटर लामो, हल्का पहेलो रंगको थियो । यस्तै, उल्लिखित पुस्तकमा यो प्रजाति समुद्री सतहबाट करिब ३ हजार ७ सय मिटर उचाइमा पाइन्छ भनिएको छ । तर, त्यहाँ ३ हजार ३ सयदेखि ३ हजार ७ सय मिटरसम्म उचाइमा भेटियो । सामान्य लाग्ने यस्तो कुरा वैज्ञानिक जगत्मा नयाँ तथ्यांक हो । मुन्धुमी पदमार्ग अन्वेषणको सिलसिलामा यसबारे थप जानकारी जुटाउन सकियो । यस्ता रैथाने वनस्पतिको पहिचान गरी यसको संरक्षण गर्नु जरुरी छ ।

प्रकाशित : आश्विन ११, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा ढुंगे युगको हतियार कारखाना

नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य कमैलाई थाहा छ । महोत्तरीमा ढुंगे हतियारको कारखाना नै भेटियो, दाङ–देउखुरीमा प्रागैतिहासिक युगका सामग्री फेला परे, जसको थप अध्ययन हुनु आवश्यक छ ।
कमल मादेन

उपल्लो मुस्ताङस्थित चोखोपानी र मेब्राकका मानव निर्मित गुफाहरूमा २४–३४ सय वर्षपहिलेका मानव कंकाल र ममीभूत सन् १९८२ र १९९५ मा फेला परेका थिए । मुस्ताङको दक्षिण सिमाना जोडिएको म्याग्दी जिल्लाको कालीगण्डकी किनारमा नार्च्याङ गाउँ पर्छ र यसको आसपासका क्षेत्रमा पनि मानव चहलपहल थियो थिएन, खोजीको विषय हो ।

म सन् २०१८/२०१९ मा नार्च्याङ गाउँ ६ चोटि पुगेको थिएँ, त्यतिबेला गाउँका नालीबेली थाहा भएका मानबहादुर पुनसँग मैले चट्याङ पर्दा आकाशबाट झर्ने बन्चरोको कुरा गरेको थिएँ । गाउँघरमा ढुंगे युगका बन्चरा कतै भेटिए, चट्याङ पर्दा आकाशबाट झरेको भन्छन् । नभन्दै मानबहादुरले ‘एउटा त्यस्तो बन्चरो उहिल्यैदेखि घरमा थियो, हिजोआज केटाकेटीले कता राखेका छन्, खोज्नुपर्छ’ भने । केही दिनपछि उनको घर पुग्दा पोलिस गरिएको चिल्लो, टुप्पो अलि फराकिलो ढुंगाको बन्चरो मलाई देखाए । यो ढुंगाको बन्चरो नभई जनावरको शरीरबाट छाला छुट्टयाउने हतियार हुनुपर्छ, अलिअलि चोइटिएको थियो, फेदतिर साढे ३ र टुप्पो ५ सेमि अनि चौडा र लम्बाइ १० सेमि थियो । यो ढुंगे हतियार फलाम आविष्कार अर्थात् ३ हजार वर्षपहिले बनाइएको हुनुपर्छ । यसैका आधारमा मुस्ताङ दक्षिणतिर त्यतिबेलै मानव चहलपहल थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

नेपालका विभिन्न भागमा ढुंगे युगका हतियार तथा अन्य सामग्री पाइएका छन् । करिब २५ लाखदेखि १२ हजार वर्षअघिको अवधिलाई पेलियोलिथिक अर्थात् पुरापाषण युग भनिन्छ । यसै गरी, मध्यपाषण र नवपाषण क्रमशः १२–१० र १०–६ हजार वर्षअघिका अवधिलाई मानिन्छ । लेख्य परम्पराभन्दा अघिको अवधिलाई प्रागैतिहासिक काल पनि भनिन्छ । सिन्धुघाँटी सभ्यतामा लेख्य परम्परा करिब साढे चार हजार वर्षअघि सुरु भएको थियो । त्यहाँ उत्खननपछि फेला परेका अक्षरहरू अझै पढ्न सकिएको छैन । जर्मनीका अध्येता गुड्रन कर्विनसले करिब ४ दशकअघि नेपालमा ढुंगे युगका सामग्री उत्खनन गरी अध्ययन गरेकी थिइन् । यो लेख मूलतः उनकै खोज अनुसन्धानमा आधारित छ ।

रातु खोला/महोत्तरी : कर्विनसले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य सर्वप्रथम विश्वलाई सविस्तार जानकारी गराइन् । तर यसबारे अझैसम्म कमैलाई जानकारी छ । कर्विनसले महोत्तरीस्थित शिवालिक पहाडको फेदीमा पाटु कारखानाको अवशेष जनवरी १९८५ मा पत्ता लगाएकी थिइन् (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल’, भोलम १, पृष्ठ २३९, सन् २००७) । पाटु ढुंगा, हड्डी वा काठबाट एकतिरको भाग धारिलो बनाइएको साना हतियार हुन् । ती हतियार १२ देखि १० हजार वर्ष पुराना हुन्छन् । महोत्तरीमा फेला परेको पाटु कारखाना, रातु खोलाको पाटु कारखाना भनेर चिनिँदो रहेछ । रातो माटो भएको भूभाग नजिक खोला पनि भएकाले त्यसलाई रातु खोला भनियो, जसको पूर्वतर्फ कमला नदी र पश्चिममा बोक्सी खोला छ ।

कारखानाको अवशेष खोला किनार नजिक भर्खरभर्खर फँडानी गरेको भिरालो ठाउँमा थियो । नजिकै ढुंगे युगका मानवले बनाएका समान र सामग्री बनाउन प्रयोग गरिने ढुंगाका टुक्राहरू हजारौंको संख्यामा थिए । जंगलको सम्म जमिनमा भने तिनीहरू ३० देखि ७० सेन्टिमिटर मुनि राता माटामा पनि थिए । अचम्म त, ती हतियारको स्वरूप भारतमा पाइएका मध्यपाषणकालको जस्तो छैन । तिनका बनावट भियतनाममा पाइएका मध्यपाषणकालमा बनेकासँग मिल्दोजुल्दो छ । यसले महोत्तरीमा मानव भारततर्फबाट नभई दक्षिणपूर्वतर्फबाट आएका थिए भन्ने संकेत गर्छ ।

जीवाष्म र आनुवंशिक अध्ययन अनुसार होमो सेपियन्स अर्थात् हिजोआजको मानवको उद्गमस्थल अफ्रिका हो । धेरैजसो मानव जीवाष्म पूर्वी अफ्रिकाको रिफ्ट भ्याल्ली अन्तर्गत दक्षिण अफ्रिका, तान्जानिया, केन्या, इथोपियामा पाइएका छन् । तर, होमो सेपियन्सको ३ लाख १५ हजार पुरानो जीवाष्म उत्तरपश्चिम अफ्रिकाको मोरोक्कोमा फेला पर्‍यो । अफ्रिकाबाट होमो सेपियन्स इजरायल र ग्रीसमा करिब २ लाख वर्षपहिले पुगेका थिए ।

करिब २०, ३० हजार वर्षअघिसम्म संसारका कतिपय समुद्र आजको भन्दा १२० मिटरसम्म कम गहिराइका थिए । होमो सेपियन्स पूर्वी अफ्रिकाबाट रातो समुद्र भई पश्चिम एसिया पुगे । त्यसपछि गल्फ अफ ओमन भएर इरान पुगे होलान् । इरानबाट समुद्र किनारैकिनार पाकिस्तान हुँदै दक्षिण एसिया भित्रिए । ‘पिपुल अफ द अर्थ’ (२०१९) पुस्तकमा दक्षिण पूर्वी एसियामा ७० हजार वर्ष पुरानो मानव जीवाष्म फेला परेको उल्लेख छ । बर्मा र थाइल्यान्ड पश्चिमतर्फ अन्डमान टापुहरूमा करिब ६० हजार वर्षपहिले मानव पुगेका बारेका सामग्री प्रशस्तै पढ्न पाइन्छ । उनीहरूलाई नेग्रिटो भनिन्छ । नेग्रिटोहरू मेलेसिया, फिलिपिन्समा पनि आदिवासीका रूपमा छन् । पहिले नेग्रिटोलाई कंगोको अफ्रिकन पिग्मिजसँग सम्बन्ध होला भनिन्थ्यो । हिजोआज आनुवंशिक अध्ययनले उनीहरूबीच सम्बन्ध छ भन्ने पुष्टि गर्न सकेको छैन । अन्डमानको दक्षिणतर्फको निकोबार टापुहरूमा करिब ३० हजार वर्षपहिले मंगोलियन मूलका बासिन्दा पुगे । पपुवा न्युगुनियाबाट मानव करिब ६० हजार वर्षपहिले अस्ट्रेलिया पुगे ।

पूर्वी चीनमा ६८ हजार वर्ष पुरानो होमो सेपियन्सको जीवाष्म फेला परेको छ । त्यहाँ मध्यएसियाबाट गएको अनुमान छ । पूर्वी चीनबाट मानव दक्षिण र दक्षिणपूर्व एसियातिर फैलिए । निकोबार टापुहरूमा बसोबास गर्ने मानिस चीनबाट पुगेका मंगोलियन मूलका हुन् । तिब्बतमा मानव चहलपहलका निम्ति वातावरण प्रतिकूल अर्थात् ज्यादै ठन्डा थियो । त्यसैले करिब ३०,४० हजार वर्षअघि मात्र होमो सेपियन्स त्यहाँ पुगे । यसकारण, पूर्वी नेपालमा तिब्बततर्फबाट भन्दा पहिले दक्षिणपूर्व एसियाबाट आइपुगेको हुनुपर्छ । महोत्तरीको रातु खेला र त्यस आसपास क्षेत्रमा फेला परेको मध्यपाषणकालका मानवनिर्मित औजार दक्षिण पूर्व एसियासँग मिल्दोजुल्दो हुनुले पनि त्यसैलाई संकेत गर्छ । उनीहरू नेग्रिटो वा मंगोलियन समूहका हुनुपर्छ । मंगोलिया, चीनको येल्लो तथा याङ्जे रिभर बेसिनतर्फ आएकालाई मंगोलियन मूलका भनिन्छ ।

सिन्धुघाँटीमा साढे ५ देखि ४ हजार वर्षपहिले सिन्धु घाँटी सभ्यता थियो । उनीहरू द्रविडियन थिए भन्ने पुष्टि भएको छ । नेपालमा द्रविडियन परिवारको भाषा बोल्ने जाति उराउ वा झाँगड मात्र हुन् । उनीहरू सिन्धुघाँटी सभ्यता विलय भएपछि धेरैजसो दक्षिण र थोरै बिहार, झारखण्डतिर गए । मध्यपूर्वबाट इरानियन एग्रकल्चरिस्टहरू ९ हजार वर्षपहिले दक्षिण एसियातर्फ बढेका थिए । वैदिक आर्यहरू करिब ४ हजार वर्षअघि युरासियाबाट झुन्डझुन्डमा दक्षिण एसिया आएका थिए । यसकारण, महोत्तरीमा ढुंगे हतियार बनाउनेहरू दक्षिण पूर्वबाट आउने निग्रटो वा मंगोलियन नै हुनुपर्छ ।

दाङ देउखुरी : दाङ–देउखुरी भित्री मधेश अर्थात् चारैतिर शिवालिक क्षेत्रले घेरिएको भूभाग हो । अझ दाङ र देउखुरीलाई पनि शिवालिक पहाडले छुट्ट्याएको छ । यी दुवै उपत्यका करिब ५० किमि लम्बाइ, १० देखि १७ किमि चौडा छन् । देउखुरी भएर पश्चिमतर्फ बग्ने राप्ती नदी बाँके जिल्लाबाट भारत प्रवेश हुन्छ । त्यसपछि दक्षिणपूर्व बही घाघरा नदीसँग मिसिन्छ । कर्विनस सर्वप्रथम सन् १९८१ मा नेपाल आएकी थिइन् । त्यसताका नेपालको प्रागैतिहासिक जानकारी शून्यजस्तै थियो । उनले सन् १९८३–१९९४ ताका दाङ–देउखुरीमा करिब ३५ महिना स्थलगत अध्ययन गरिन् । सोही अवधिमा उनले कम्तीमा ७० ठाउँमा ढुंगे युगका मानव गतिविधि फेला पारिन् । धेरैजसो निकै पुराना थिए । थोरै मात्र १२ हजार वर्षभन्दा केही पुराना थिए (हेर्नुहोस्, अर्ली ह्युमन बेहावियर इन ग्लोबल कन्टेस्ट, पृष्ठ ३९०, सन् १९९०) । त्यहाँ ढुंगाको हतियार बनाउने ब्रखुटी कारखानाको अवशेष फेला परेको थियो । तिनीहरू ४० देखि २५ हजार वर्ष पुराना हुन् ।

महोत्तरीमा मानव चलहपहल दाङ–देउखुरीभन्दा पछि हो । दाङ–देउखुरी प्रागैतिहासिक युगमा बनाइएका सामग्री महोत्तरीको भन्दा भिन्न थियो । त्यो समय फरक भएर मात्र होइन बनाउने कला नै फरक थियो । ती सामग्रीको स्वरूप भारतको प्रागैतिहासिक कालको सामग्रीसँग मिल्दोजुल्दो थियो । कर्विनसले भारतमा पनि प्रशस्त मात्रामा प्रागैतिहासिक सामग्रीको अध्ययन अनुसन्धान गरेकी थिइन् । भारत आउनुअघि पूर्वी अफ्रिकामा दशकौं काम गरेकी थिइन् । उनैले सन् १९७८ मा पूर्व मानव प्रजाति ओस्ट्रालोपिथेकस अफरेन्स पत्ता लगाएकी थिइन् । उक्त प्रजाति ३८ देखि २९ लाख वर्षपहिले अस्तित्वमा थियो ।

दाङ–देउखुरीका केही सामग्री ७० हजार वर्ष पुराना छन्, सोही समयमा त्यहाँ भारतबाट मानव राप्ती नदी किनारैकिनार आइपुगेका थिए होलान् । पूर्वी अफ्रिकाबाट इरान, पाकिस्तान हुँदै भारत प्रवेश गर्ने समूह ६० हजार वर्षपहिले अन्डमान टापु पुगेका थिए, तिनैमध्ये केही उत्तरपूर्व भारत नगई दाङ–देउखुरीतर्फ आएको हुनुपर्छ । उसो त दाङ–देउखुरी र महोत्तरीको रातु खोला शिवालिक हो, जुन अफगानिस्तानदेखि भारतको ब्रह्मपुत्रसम्म फैलिएको छ । दक्षिणपूर्व एसियाबाट रातु खोला आसपास क्षेत्रमा शिवालिक हुँदै आएको हुनुपर्छ । तर, दाङ–देउखुरीमा प्रागैतिहासिक कालमा आउनेहरू अफगानिस्तान, पाकिस्तानबाट शिवालिककै भूभाग भएर भन्दा पनि दक्षिणतर्फबाट राप्ती नदी किनारैकिनार आए होलान् ।

कर्विनसले लेखेको ‘प्रिहिजटोरिक कल्चर्स इन नेपाल’ भोलम २ मा प्रागैतिहासिक मानवनिर्मित ढुंगे हतियारका तस्बिरहरू छापिएका छन् । हामीले त्यस्ता ढुंगा कैयन ठाउँ देखेका छौं, विचार नगरेको मात्र हो । केही ढुंगे हतियारका तस्बिर पुरुषोत्तमलोचन श्रेष्ठलिखित ‘गुहा, गहालेख, गुहाची एवं अन्य सम्पदा’ पुस्तकमा समावेश छन् । नेपाल सरकारको पुरातत्त्व तथा विश्वविद्यालयको भूगर्व विभागबाट पनि प्रागैतिहासिक मानवनिर्मित सामग्रीको बृहत् अध्ययन अनुसन्धान हुनुपर्छ ।

प्रकाशित : असार २०, २०७९ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×