१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तोप्केगोला र तोप्केगोलेन्सिसहरू

मुन्धुमी पदमार्गको सम्भावनाका लागि पैदलयात्रा गर्दा थुप्रै रैथाने वनस्पति भेटिए, तिनको संरक्षण गरिनु जरुरी छ ।
कमल मादेन

लिम्बूको आदिमकालको बसोबासस्थल संखुवासभास्थित अरुण खोला पूर्वको हिमाली तथा पहाडी भेग हो । त्यहाँका ओढार, ढुंगा, पहाड, खोला, पोखरी, बोटबिरुवा तथा जनावरसँग लिम्बूका प्रागैतिहासिक कालदेखिका कथा जोडिएका छन् । तिनै कथालाई समग्रमा मुन्धुम भनिन्छ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले मुन्धुमले चर्चेका ठाउँहरूलाई मुन्धुमी पदमार्गका रूपमा स्थापित गर्न स्थलगत अध्ययन सुरु गरेको छ ।

तोप्केगोला र तोप्केगोलेन्सिसहरू

यसका निम्ति गत भदौमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङका केही भूभागमा पैदलयात्रा गरियो । सो क्रममा लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङको टोलीमा म पनि मिसिएको थिएँ । लालीगुराँस नगरपालिकास्थित वसन्तपुरबाट संखुवासभास्थित जोरपोखरीबीच करिब ३४ किमि दूरी सुरुमा मोटरबाट पार गरियो । जोरपोखरी पूर्वतर्फको मेन्छायाम धाप मुन्धुमीस्थल हो ।

जोरपोखरीबाट पैदल हिँड्दै मिल्के, गिद्धे हुँदै खामबलेमा तेस्रो बास बसियो । खामबलेको पूर्वतर्फ लिम्बूका पुजारी (येबा) ले मान्ने गरेको पवित्र स्थल असाङलुङतर्फ गइयो । असाङलुङ करिब अर्धआयातकार तथा गोलाकार आकारको सयौं मिटर अग्लो एउटै ढुंगाको विशाल पहरो हो । दुर्भाग्य भनौं, वर्षा र कुइरोका कारण असाङलुङ स्तम्भ स्पष्ट देखिएन । त्यसपछि हाम्रो यात्रा सभापोखरीतर्फ अघि बढ्यो । सभापोखरी समुद्री सतहबाट ४ हजार १ सय ५० मिटर उचाइमा छ । जोरपोखरीबाट सरासर हिँडे अढाई दिनमा यहाँ पुगिन्छ । हामी सभापोखरीको पाटीमा चौथो बास बस्न पुग्यौं । उकालो यात्रामा लेक नलागोस् भनेर सभापोखरीमै पाँचौं बास पनि बसियो । लगातारको हिँडाइको आठौं दिनका राति तोप्केगोलाको एक होमस्टेमा बल्लतल्ल बास पाइयो । जोरपोखरीबाट हिँडेपछि गाउँ देखेको र घरमा बास बसेको त्यही हो ।

तोप्केगोला

तोप्केगोलामा दुई दर्जनभन्दा बढी घर छन् । दुईतिहाइजति भोटे परिवार नावा, ठोमा, फिरक्पा, लाम्साङ्गे, च्यावा थरका छन् । बाँकी साँवा थरी लिम्बू छन् । भोटे समुदायले तोप्केगोलालाई अचेल ढोक्प्या भन्छन् । तिब्बती भाषाको ‘ढोक’ र ‘पा’ बाट ढोक्प्या शब्द बनेको बताइन्छ, जसमा अघिल्लोको अर्थ गोठ र पछिल्लोको बस्ने ठाउँ हुँदो रहेछ । यसबाट उहिले त्यहाँ भोटे समुदायले याक गोठ राख्थे भन्ने बुझिन्छ ।

लिम्बू समुदायमा तोप्केगोलासँग जोडिएका अनेकन् मुन्धुम छन् । तिनले तोप्केगोलाको नामकरण पनि भिन्नै कथनबाट भएको बताउँछन् । मेयर माबुहाङका अनुसार ‘तक’ र गोलाबाट तोप्केगोला शब्द प्रचलनमा आएको हो । लिम्बू भाषामा ‘तक’ को अर्थ भात र गोलाले बजार भन्ने बुझाउँछ । उहिले उक्त ठाउँमा औलतिरबाट चामल व्यापारका लागि लगिन्थ्यो । तिब्बततिरबाट तिब्बती सरसामान ल्याइन्थे । त्यहाँ भात अर्थात् चामलको व्यापार हुन्थ्यो । कालान्तरमा उक्त ठाउँ ‘तकगोला’ हुँदै तोप्केगोला हुन पुगेको माबुहाङको कथन छ । तोप्केगोला समुद्री सतहबाट ३ हजार ७ सय मिटर उचाइमा छ । धान २ हजार मिटरभन्दा माथि विरलै लगाइन्छ । तोप्केगोलाभन्दा उत्तरतर्फ अझ उचाइको भूभाग छ । यसकारण त्यहाँ चामलको व्यापार हुन्थ्यो होला । अचेल तोप्केगोला ताप्लेजुङस्थित मिक्वाखोला गाउँपालिका–५ मा पर्छ । तोप्केगोलाबाट सोही वडाको दक्षिणतर्फको गाउँ पुग्न पूरै एक दिन मिक्वाखोला किनारैकिनार जंगलको बाटो हिँड्नुपर्छ ।

सरकारले २०५८ पुस २५ मा जारी गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनले तोप्केगोलासहित मिक्वाखोला गाउँपालिकामा बसोबास गर्ने भोटे समुदायलाई तोप्केगोला जनजातिमा सूचीकृत गरेको छ । यसैका आधारमा तोप्केगोला नजिकका थप तीन गाउँ, थुदाम, चेपुवा र ओलाङचुङगोलाबाट थुदाम, ल्होमी र वालुङ जनजाति सूचीकृत छन् । जबकि तिनको भाषा, संस्कृति एकै हो । उनीहरू भोटे हुन् । यसरी सूचीकृत हुँदा जनसंख्याका आधारमा उनीहरू अल्पसंख्यक जनजाति हुन पुगेका छन् । राज्यले दिने विभिन्न सुविधा उपभोग गर्ने अवसर पनि पाइरहेका छन् । यो राज्यलाई गुमराहमा राख्नु हो ।

लिम्बूले भोटेलाई मुदेम्बा भन्छन् । तोप्केगोलासहित मिक्वाखोला गाउँपालिकामा बसोबास गर्ने एउटा लिम्बू समुदाय मुदेन्छङ साँवा हो । मिक्वाखोला गाउँपालिकामा मुदेन्छङ साँवाबाहेक साँवा थरभित्र ८, ९ उपथर छन् । त्यहाँ साँवा भन्ने ठाउँ नै छ ।

मुदेन्छङ साँवाहरू भोटे पुरुष र लिम्बू महिलाको सन्तान भएको बताइन्छ । तिनले लिम्बू भाषा बोल्छन् र लिम्बू संस्कृति मान्छन् । उनीहरूका केही पैतृक कार्य अन्य लिम्बूको भन्दा पृथक् छन् । लिम्बूको कथन अनुसार साँवा क्षेत्रमा मानिसलाई दुःख दिने एक देवता छन् दुङ्दुङे जसलाई मिक्वाखोला दक्षिणतर्फका मेरिङ्देन र मैवाखोला गाउँपालिकाका केही लिम्बूले पुज्ने गर्छन् । दुङ्दुङेको पूजामा बोकालाई झुन्ड्याई जिउँदै चिरेर मुटु–कलेजो चढाउने चलन कतैकतै अझै छ ।

तीन तोप्केगोलेन्सिस

तोप्केगोलामा सर्वप्रथम सन् १९५३ भारतका वनस्पतिविज्ञ एमएल बनर्जी पुगेका थिए । त्यसपछि सन् १९९२ सम्म जापान र बेलायतका वनस्पति अन्वेषकहरू आधा दर्जन पटक पुगे । विदेशी टोलीमा नेपाल सरकारका तर्फबाट वनस्पति विभागका वनस्पतिविज्ञहरू पीआर शाक्य, एसके ढुङ्गाना, केआर राजभण्डारी, एन आचार्य सहभागी थिए । तीर्थबहादुर श्रेष्ठ र दामोदर जोशी पनि सन् १९७२ मा तोप्केगोला हुँदै थुदाम पुगेका थिए ।एक दशकयता वनस्पतिविज्ञ प्रवीण भण्डारी र हेमराज पौडेल पनि पुगेका छन् । अहिलेसम्म तोप्केगोलाबाट संकलन गरिएका वनस्पतिमध्ये तीन वनस्पति प्रजातिको वैज्ञानिक नाम तोप्केगोलेन्सिस बनाइएको छ (सेनेसियो तोप्केगोलेन्सिस, सउसुरिया तोप्केगोलेन्सिस र प्रुनस तोप्केगोलेन्सिस) । पहिलो र दोस्रो नेपालसहित अन्य देशमा पनि पाइन्छन् ।

केशवकुमार राजभण्डारी, सञ्जीवकुमार राई, मोहनदेव जोशी, सुभाष खत्री, गंगादत्त भट्ट र रीता क्षेत्रीको ‘इन्डेमिक फ्लावरिङ प्लान्ट्स अफ नेपाल ः स्टेटस एन्ड डिस्ट्रिब्युसन’ (सन् २०२१) लेख अनुसार ताप्लेजुङमा मात्र पाइने १० प्रजाति फूल फुल्ने वनस्पति छन् । तीमध्ये कोर्सिया स्टेन्टोनियना, पेडिकुलारिज अक्सिर्हिन्जा, प्रुनस तोप्केगोलेन्सिस र सेक्सिफ्रागा जलजलेन्सिसहरू तोप्केगोला क्षेत्रबाट संकलन गरिएका हुन् । यी अन्यत्र अहिलेसम्म फेला परेका छैनन् । यी चारमध्ये प्रुनस तोप्केगोलेन्सिस रूख हो । अन्य तीन रैथाने प्रजाति झार वर्गका वनस्पति हुन् । पैयुँ जातिको वनस्पति विषयमा चीनबाट विद्यावारिधि गरिरहेका दीपक

खड्कासँग यात्राको सुरुकै दिनमा प्रुनस तोप्केगोलेन्सिसबारे कुरा भएको थियो । यो पैयुँ जाति अन्तर्गतको वनस्पति हो । खड्काले यसअघि नै उक्त प्रजातिको नमुना संकलन गरिसकेका थिए ।

प्रुनस तोप्केगोलेन्सिस

प्रुनस तोप्केगोलेन्सिस सन् २०१० मा जापानी विज्ञले पत्ता लगाएका हुन् । यसको नमुना जापानको एक संग्रहालयमा मात्र संगृहीत छ । यो प्रजाति जापानको वनस्पतिविज्ञबाहेक स्थलगत रूपमा यसअघि खड्काले मात्र देखेका थिए । यो प्रजातिको विवरण ‘फ्लोरा अफ नेपाल, भोलम ३–२०११’ मा प्रकाशित छ । त्यसमा भनिएको छ, यो २ मिटरसम्म अग्लो झाडी वर्गको वनस्पति हो । तर, तोप्केगोलाको मिक्वाखोला दाहिनेपट्टि किनारमा यसको बोट १०–१२ मिटर अग्लोसम्म थियो । फेदको गोलाइ अढाई फिटसम्मको थियो ।

यो वनस्पति पातबाट स्पष्ट रूपमा चिनिँदो रहेछ । पात पलाएको काण्ड र पातको भेट्नु रातोरातो रंगमा प्याजी मिसिएजस्तो देखिने रहेछ । पातको फेद साँघुरिएको हुने । टुप्पो २ सेन्टिमिटरजति लाम्चो र चुच्चो । पैयुँका अन्य प्रजातिभन्दा यसको पातको वरिपरि आराका धारहरूजस्ता संरचना छन् । पातको वरिपरि उठेको भागमा जोडाजोडा धारहरू पातको टुप्पोतिर ढल्केका । पातको वरिपरि रहेका आराका धारजस्ता संरचनालाई डबल सेरेट मार्जिन भनिन्छ ।

‘फ्लोरा अफ नेपाल, भोलम ३’ मा प्रुनस तोप्केगोलेन्सिसको फल कस्तो हुन्छ, थाहा नभएको उल्लेख छ (पृष्ठ ३९१) । फूल जुनमा फुल्छ र फल अगस्टसम्म रहन्छ पनि भनिएको छ । हामीले फल सेप्टेम्बर ५ मा फेला पार्‍यौं । फल डेढ सेन्टिमिटर व्यासजतिको रातो रंगमा थियो । फलको भेट्नु भने ५–६ सेन्टिमिटर लामो, हल्का पहेलो रंगको थियो । यस्तै, उल्लिखित पुस्तकमा यो प्रजाति समुद्री सतहबाट करिब ३ हजार ७ सय मिटर उचाइमा पाइन्छ भनिएको छ । तर, त्यहाँ ३ हजार ३ सयदेखि ३ हजार ७ सय मिटरसम्म उचाइमा भेटियो । सामान्य लाग्ने यस्तो कुरा वैज्ञानिक जगत्मा नयाँ तथ्यांक हो । मुन्धुमी पदमार्ग अन्वेषणको सिलसिलामा यसबारे थप जानकारी जुटाउन सकियो । यस्ता रैथाने वनस्पतिको पहिचान गरी यसको संरक्षण गर्नु जरुरी छ ।

प्रकाशित : आश्विन ११, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?