कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

विनिमय दर, अमेरिकी डलर र नेपाली रुपैयाँ

नेपालले आफ्नो मुद्रा अमेरिकी डलरका तुलनामा कमजोर भएका बेला निर्यात गर्न मिल्ने वस्तुहरूलाई व्यापक प्रचारसहित अन्तर्राष्ट्रिय बजारमा लगिहाल्नुपर्छ ।
सौरेन्द्रबहादुर शाह

अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर अहिले १ डलर बराबर १३० रुपैयाँजति छ भने मलेसियन रिंगिट १ बराबर करिब २९ रुपैयाँ छ । यो दर भोलि फरक हुन सक्छ, अर्को महिना वा अर्को वर्ष झन् भिन्न हुन सक्छ । तर, भारतीय रुपैयाँसँग नेपालको विनिमय दर सन् १९९३ देखि स्थिर छ र फेरि अर्को नेपाल–भारत सम्झौता नभएसम्म यही दर कायम रहिरहनेछ ।

विनिमय दर, अमेरिकी डलर र नेपाली रुपैयाँ

अहिले नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा छ, जुन भारुको अमेरिकी डलरसँगको मूल्यह्रासले गर्दा भएको हो । हुन त नेरुको विनिमय दर भारुसँग स्थिर नभएको भए नेरु अमेरिकी डलरसँग अझ कमजोर हुन सक्ने सम्भावना थियो ।

विनिमय दरको इतिहास

विनिमय दर सन् १८७०–१९१४ सम्म विश्वव्यापी रूपमै स्थिर थियो । मुद्राहरू सुनसँग जोडिएका थिए, स्थानीय मुद्राको विनिमय दर सुनसँग निश्चित गरिएको थियो, जसलाई ‘गोल्ड स्टान्डर्ड’ भनिन्थ्यो । यो व्यवस्थाले गर्दा पुँजीलाई गतिशीलता दिन सजिलो भएको थियो अनि यसले विश्वव्यापी रूपमा मुद्रा र अन्तर्राष्ट्रिय व्यापारमा स्थिरता ल्याएको थियो । तर, यो व्यवस्था अहिले चलनमा छैन । बेलायतले सन् १९३१ मा र अमेरिकाले १९३३ मा यो व्यवस्था परिवर्तन गरे भने १९७३ बाट त ‘गोल्ड स्टान्डर्ड’ बन्द नै भयो ।

दोस्रो विश्वयुद्धको अन्त्यतिर, सन् १९४४ मा अमेरिकामा ‘ब्रेटन वुड्स’ सम्मेलन भएको थियो, जसको उद्देश्य विश्वव्यापी रूपमा आर्थिक स्थिरता ल्याउनु, अन्तर्राष्ट्रिय व्यापार बढाउनु र अन्तर्राष्ट्रिय बजारमा नियम तथा नियमन बनाउनु थियो । ब्रेटन वुड्स सम्मेलनले मुद्राहरूलाई फेरि एकचोटि स्थिर गर्‍यो, तर यसपालि पहिलाजस्तो सुनसँग होइन अमेरिकी डलरसँग । उता अमेरिकी डलरचाहिँ सुनको भाउसँग स्थिर गरिएको थियो, ३५ डलर बराबर १ औंस (२८.३५ ग्राम) सुन । प्रायः देशका मुद्रा सिधै अमेरिकी डलरसँग जोडिएका थिए । यो व्यवस्था सन् १९७१ सम्म रह्यो जब अमेरिकी डलरले सुनसँगको विनिमय दर आर्थिक रूपले धान्न सकेन । त्यसपछि आर्थिक रूपले बलिया राष्ट्रहरूले अस्थिर विनिमय दर अपनाए । विश्वव्यापी रूपमा स्थिर विनिमय दर बनाउने प्रयास सन् १९८५ बाट पूर्णतः छोडियो ।

अमेरिकी डलर किन बलियो छ ?

अमेरिकी डलरको मूल्य अहिले २० वर्षमै सबैभन्दा उच्च छ । डलरले संसारकै अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुर्‍याउँछ । संसारभर ९० प्रतिशत एकतर्फी कारोबार डलरमै हुन्छ । कोभिड महामारीअघि दैनिक ६ खर्ब डलरको कारोबार हुन्थ्यो, जुन मुख्य गरी अन्तर्राष्ट्रिय लगानी र पर्यटकहरूले ‘क्रेडिट कार्ड’ बाट गरिने खर्च हो । संसारकै सबैभन्दा महत्त्वपूर्ण र धेरै कारोबार हुने डलरको भाउ आर्थिक शिथिलता वा युद्धका कारण संसारमा अस्थिरता भएपछि बढ्छ नै । किनकि लगानीकर्ताहरूले डलरलाई तुलनात्मक रूपमा सुरक्षित र स्थिर मान्ने गरेका छन् । साथै संसारभर मुद्रास्फीति बढ्दा, राष्ट्र/केन्द्रीय बैंकले ब्याजदर बढाउँदा पनि डलरको भाउ बढ्ने गरेको छ ।

संसारभरका राष्ट्र/केन्द्रीय बैंकहरूले बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न अहिले ब्याजदर बढाएका छन् । अमेरिकाको फेडरल रिजर्भले अरू विकसित देशका केन्द्रीय बैंकहरूका तुलनामा अझ आक्रामक रूपमा ब्याजदर बढाएको छ । अहिले अमेरिकामा अरू ठूला अर्थतन्त्रमा भन्दा उच्च ब्याजदर छ । फलस्वरूप संसारभरका ठूला लगानीकर्ता उच्च प्रतिफलको आशामा अमेरिका र सोको सरकारी ‘ट्रेजरी बन्ड’ मा लगानी बढेको छ । अमेरिकामा लगानी बढेपछि डलरको भाउ पनि स्वतः बढेको छ ।

संसारमा आर्थिक संकट आएका बेला अमेरिकामा लगानी तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । थप, डलरको मूल्य बढ्नुमा तेल/ग्यासको उच्च मूल्यवृद्धि, जसका कारण संसारभर र विशेष गरी त्यस्ता ऊर्जा आयात गर्ने अर्थतन्त्रहरूमा ठूलो संकट आएको छ । तेल र ग्यास आयातमा अमेरिका युरोप र अरू विकसित देशहरूभन्दा तुलनात्मक रूपमा धेरै कम आश्रित छ ।

जानेर मुद्रा अवमूल्यन

कुनैकुनै देशले आफ्नो मुद्रा जानीजानी पनि अवमूल्यन गर्छन् । त्यस्तो गर्नेमा प्रायः एसियाका देशहरू छन् । देशहरूले जानीजानी मुद्रा अवमूल्यन गर्नुको कारण भनेको व्यापार असन्तुलन हो । आफ्नो देशको व्यापार घाटा र अरू ऋण घटाउन केही राष्ट्रले आफ्नो मुद्रा जानीजानी अवमूल्यन गर्ने गर्छन् । सो गर्नेमा चीन अग्रपंक्तिमै छ भने, केही समययता आफ्नो मुद्रा अवमूल्यन गर्नेमा ब्राजिल र इजिप्ट पनि पर्छन् । जानीजानी मुद्रा अवमूल्यन गर्नुका बेफाइदा पनि छन् । त्यसबाट हुने बढ्दो मुद्रास्फीति र वैदेशिक ऋणको बढ्दो चापले त्यस्ता देशहरूलाई सताउँछ ।

नेपाल–भारतको मुद्रा विनिमय दर

नेपालको मुद्रा भारतीय रुपैयाँसँग स्थिर राखिएको छ । स्थिर विनिमय दर सरकारले निर्धारण गर्छ भने अस्थिर विनिमय दरमा विदेशी मुद्रा बजारको माग र आपूर्तिले सम्बन्धित देशको मुद्रा निर्धारण गर्छ ।

नेरु भारुसँग सन् १९९३ मा भारु १ बराबर नेरु १.६० कायम गरियो । विभिन्न आर्थिक विज्ञका अनुसार, नेरु–भारु स्थिर विनिमय दर नभएको भए अहिले भारु १ बराबर नेरु ३.९–४.१ सम्म पुग्न सक्थ्यो । नेपालमा कुल आयातको लगभग ७० प्रतिशत भारतबाट हुन्छ, यदि भारुसँग स्थिर विनिमय दर नभएको भए भारतीय सामग्रीको मूल्य नेपाली बजारमा उच्च हुन्थ्यो र नेपालको मुद्रास्फीति पनि धेरै हुन्थ्यो । समग्र अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्थ्यो । सन् १९६० अघि नेपालमा ९० प्रतिशत मुद्रा भारु नै चल्थ्यो, जुन चलन पछि राजा महेन्द्रले हटाए । नेपालको आर्थिक दुरवस्थाले गर्दा भारुसँगको स्थिर विनिमय दर हटायो भने पुँजी पलायन बढ्ने सम्भावना हुन सक्छ जसबाट अन्तर्राष्ट्रिय व्यापार–व्यवसाय र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्छ ।

जबसम्म भारुसँग हाम्रो मुद्राको स्थिर विनिमय दर कायम हुन्छ तबसम्म हाम्रो वित्तीय नीति, मौद्रिक नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव भइरहन्छ । तर, भारतसँगको यस्तो निर्भरता हटाउन हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र समग्र अर्थतन्त्रले गति लिनु अपरिहार्य छ । राष्ट्रको मुद्रा कमजोर भयो भने आयात महँगो हुन जान्छ, विदेशमा पढ्न र घुम्न जाने नेपालीहरूलाई पनि बढ्दो डलरले महँगो हुन जान्छ । देशको मुद्रा अवमूल्यनका फाइदाहरू पनि हुन्छन् । कमजोर विनिमय दरबाट यसरी फाइदा लिन सकिन्छ—

(क) व्यापार घाटा : राष्ट्रको मुद्रा कमजोर भएका बेला आयातित वस्तु/सामग्रीहरूको मूल्य बढ्छ । अत्यावश्यकबाहेकका आयातमा उपभोक्ताले कटौती गर्ने नै भए । अर्कोतिर, मुद्रा कमजोर हुँदा देशका निर्यातजन्य वस्तुहरूको मूल्यमा गिरावट आउँछ, जसका कारण देशले निर्यात गर्ने वस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा बढी ठाउँ पाउन सक्छन् । आयातित वस्तु महँगो भएर मागमा कमी आउँछ भने निर्यातमुखी वस्तुको मूल्यमा गिरावट आएर माग बढ्ने सम्भावना हुन्छ । आयात घट्नु र निर्यात बढ्नुले राष्ट्रको व्यापार घाटा घट्छ । नेपालले पनि आफ्नो मुद्रा डलरको तुलनामा कमजोर भएका बेला निर्यात गर्न मिल्ने वस्तुहरूलाई व्यापक प्रचारसहित अन्तर्रास्ट्रिय बजारमा लगिहाल्नुपर्छ ।

(ख) पर्यटन : आफ्नो मुद्रा कमजोर भएको फाइदा पर्यटन क्षेत्रले पनि उठाउन सक्छ । त्यस्तो बेला आन्तरिक पर्यटकहरू देशबाहिर जान महँगो पर्ने भएकाले त्यसमा निरुत्साहित हुने हुन्छन् । फलस्वरूप आन्तरिक पर्यटकहरूको चाप बढ्न थाल्छ । विदेशी पर्यटकहरू पनि घुम्न आउने सम्भावना बढ्छ । मुद्राको अवमूल्यन भएका बेला देशभित्रको घुमाइ सस्तिएको हुन्छ । त्यसैले देशको मुद्रा कमजोर भएका बेला पर्यटन क्षेत्रले विदेशी तथा आन्तरिक पर्यटकहरूबाट राम्रो कमाइ गर्न सक्छ । यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुनुका साथै समग्र अर्थतन्त्रलाई नै टेवा पुग्छ । देशको मुद्रा अवमूल्यन भएका बेला निर्यात बढ्ने भएकाले व्यापार घाटा घट्छ र साथै देशको कुल घाटा पनि कम हुँदै जान्छ ।

(ग) वैदेशिक लगानी : देशको मुद्रा कमजोर भएका बेला विदेशी लगानी बढी भित्रिन सक्छ । त्यस्तो समयमा देशभित्र वैदेशिक लगानीमैत्री नीति ल्याउने मात्र होइन, कार्यान्वयन पनि गरियो भने उल्लेख्य मात्रामा वैदेशिक लगानी आउने सम्भावना हुन्छ । यस कार्यमा एनआरएनहरूको भूमिका प्रमुख हुन सक्छ ।

एनआरएनहरूलाई नेपालभित्र लगानीमा प्राथमिकता राखियो भने विदेशमा बसोबास गर्ने नेपालीहरूबाट ठूलो मात्रामा लगानी आउन सक्छ । त्यसैले, देशको मुद्रा कमजोर भएका बेला देशभित्र ठूलो वैदेशिक तथा घरेलु लगानीको सम्भावना हुन्छ । निर्यात र पर्यटनमा वृद्धिले गर्दा समग्र अर्थतन्त्र र जीडीपी बढ्ने गर्छ ।

प्रकाशित : आश्विन १०, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?