कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

मानवतावादी केसी र स्विडेनको स्वास्थ्य सेवा

पारदर्शी र जिम्मेवार शासन प्रणालीले जनताको विश्वास जित्छ । मानवतावादी दृष्टिकोणबिना सबैको पहुँच हुने जनस्वास्थ्य सेवा स्थापना हुन सक्दैन ।
कटक मल्ल

मानवतावाद भनेको विचारधारा होइन, आफूलाई अरूमा देख्न सक्ने दृष्टिकोण र क्षमता हो । यो लेख लेख्दै गर्दा मानवतावादी चिकित्सक गोविन्द केसी नेपालमा सबैका लागि सुलभ चिकित्सा उपचार हुनुपर्छ भन्ने मागसहित २० औं पटक अनशन बसिरहेका छन् । चिकित्सक केसी अरूको स्वास्थ्य सेवाका लागि लडिरहेका छन्, आफ्ना लागि होइन । त्यसैले उनी मानवतावादी हुन् । 

मानवतावादी केसी र स्विडेनको स्वास्थ्य सेवा

मानवतावाद भनेको विचारधारा होइन, आफूलाई अरूमा देख्न सक्ने दृष्टिकोण र क्षमता हो । यो लेख लेख्दै गर्दा मानवतावादी चिकित्सक गोविन्द केसी नेपालमा सबैका लागि सुलभ चिकित्सा उपचार हुनुपर्छ भन्ने मागसहित २० औं पटक अनशन बसिरहेका छन् । चिकित्सक केसी अरूको स्वास्थ्य सेवाका लागि लडिरहेका छन्, आफ्ना लागि होइन । त्यसैले उनी मानवतावादी हुन् ।

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नि:शुल्क सुनिश्चित हुनुपर्ने उल्लेख गरेको छ । संविधानको प्रस्तावनामा नेपाल समाजवादप्रति प्रतिबद्ध छ भनेर लेखिएको छ । समाजवाद र सामाजिक लोकतन्त्रबारे बेलाबेला नेपालमा बहस भैरहन्छ, तर समाजवादी स्वास्थ्य सेवा भनेको कस्तो हुन्छ भन्ने चर्चा कमै हुन्छ । ‘सामाजिक लोकतन्त्र’ र ‘लोकतान्त्रिक समाजवाद’ मा अभिव्यक्तिगत भिन्नताहरू छन् । ‘सामाजिक लोकतन्त्र’ को अभिव्यक्ति प्रयोग गरिने स्विडेनमा स्वास्थ्य सेवा प्रणाली मानव मर्यादा, आवश्यकता र सामूहिक ऐक्यबद्धतामा आधारित छ भन्न सकिन्छ । अर्थात्, जसलाई तत्काल चिकित्सा हेरचाह चाहिन्छ, उसलाई पहिले नि:शुल्क वा सुलभ उपचार सुविधा हुनुपर्छ भन्ने सार्वजनिक स्वास्थ्य सेवा प्रणाली छ । यस्तो स्वास्थ्य प्रणाली अन्तर्गत गुणस्तरीय स्वास्थ्यका लागि नागरिकहरूको आर्थिक तथा सामाजिक स्तरले कुनै भिन्नता गर्दैन । सोसल डेमोक्रेट पार्टीको नेतृत्वमा वर्तमान स्वास्थ्य सेवा प्रणाली विकसित भएको हो । पछिल्लो दशकमा यस प्रणालीको केही भाग निजीकरण गरिएको छ । स्विडेनका दक्षिणपन्थी राजनीतिक दलहरू यस प्रणालीको विरोध पनि गर्छन् । यही सेप्टेम्बरको दोस्रो साता भएको निर्वाचनको नतिजामा सोसल डेमोक्रेट सबैभन्दा ठूलो दल भए पनि दक्षिणपन्थी गठबन्धनका तीन सांसद बढी भएकाले रेड–ग्रिन सोसल डेमोक्रेट वाम गठबन्धन सत्ताबाहिर हुन लागेको छ । स्विडिस प्रणाली संसारको उत्तम सेवा नहुन सक्छ तर यसलाई स्वतन्त्र बजार अन्तर्गत पूर्ण निजीकरण गरिएको स्वास्थ्य प्रणालीभन्दा राम्रो मानिन्छ । नेपालमा समाजवाद र सामाजिक लोकतन्त्रबारे बेलाबेला चल्ने गरेको बहससँगै वास्तविक सामाजिक लोकतन्त्रभित्र पर्ने स्विडेनको स्वास्थ्य प्रणाली अन्तर्गतको सार्वजनिक स्वास्थ्य सेवा कसरी सञ्चालन गरिन्छ भनेर छलफल गर्नु यस लेखको उद्देश्य हो ।

सामाजिक स्वास्थ्यसेवा

सर्वप्रथम, जनस्वास्थ्य सेवाको संगठन र व्यवस्थापनको दृष्टिबाट स्विडेनको केन्द्रीय सरकार र स्थानीय तहहरूबीचको समन्वय प्रेरक देखिन्छ । स्विडेनको सम्पूर्ण स्वास्थ्य प्रणाली तीन तहको छ जस अन्तर्गत एकात्मक केन्द्रीय सरकार र शक्ति–विकेन्द्रीकृत स्थानीय स्वशासन अन्तर्गत जम्मा २१ काउन्टी र २९० नगरपालिकामा संगठित संरचना छ । यस प्रकारको संरचनाभित्र विभिन्न संस्था मिलेर काम गर्छन्, जस्तै- केन्द्रीय स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, स्वास्थ्य परिषद्, सामाजिक बिमा कम्पनी, औषधि एजेन्सी, कर प्रणाली (रोजगारदाता–कर्मचारी सम्झौता अनुसार तिरेको कर) का साथै चिकित्सा विश्वविद्यालयहरू ।

केन्द्रीय सरकारसँग समन्वय गरी काउन्टी र स्थानीय नगरपालिकाद्वारा सार्वजनिक स्वास्थ्य सेवा व्यवस्थित गरिन्छ । स्वास्थ्य सेवा प्रणाली मुख्यतया काउन्टी काउन्सिल र नगरपालिकाद्वारा लगाइएका करहरूमार्फत सञ्चालन हुन्छ । नगरपालिकाहरूले आफ्नो जनसंख्यामा समानुपातिक आयकर लगाउँछन् भने काउन्टीमा पनि आम्दानी करद्वारा स्वास्थ्य प्रणालीका लागि कर छुट्याइएको हुन्छ । काउन्टी र नगरपालिकाको आवश्यकता अनुसार केन्द्र सरकारबाट दिइने अनुदान अर्को स्रोत हो । स्विडेनमा कर्मचारी र रोजगारदाताहरूले सार्वजनिक स्वास्थ्य सेवा कोषमा कर तिर्छन् जुन व्यक्तिको आम्दानी करबाट छुट्याइन्छ । कर कार्यालयले सबै वित्तीय गतिविधि हेर्छ । सामूहिक प्रणालीमा आधारित स्विडेनको स्वास्थ्य सेवाको लागत कुल राष्ट्रिय घरेलु उत्पाद (जीडीपी) को ११ प्रतिशत छ । ११ प्रतिशत जीडीपीमध्ये १५ प्रतिशत लगानी भने बिरामी शुल्कबाट उपलब्ध गराइन्छ जुन असाध्यै न्यून हुन्छ ।

दोस्रो विशेषता, मानव मर्यादा र सामूहिक ऐक्यबद्धताका आधारमा सार्वजनिक र निजी स्वास्थ्य सेवा नियमन गरिएको छ । काउन्टी काउन्सिल र स्थानीय नगरपालिकासँग गरेका सम्झौता अन्तर्गत निजी अस्पतालहरूले स्वास्थ्य सेवा दिने गर्छन् । सम्झौताहरू यस्ता हुन्छन् जस अन्तर्गत निजी र सार्वजनिक स्वास्थ्य सेवाको लागत समान हुनुपर्छ भन्ने छ । निजी होस् या सार्वजनिक अस्पताल, स्वास्थ्य सम्बन्धी नियमकानुन एउटै हुन्छ । स्वास्थ्य सेवाको गुणस्तरको ग्यारेन्टी भएको छ–छैन भनी अवलोकन, निरीक्षण तथा परीक्षण गर्ने जिम्मा भने स्विडिस सरकारले नै गर्छ । काउन्टी र नगरपालिकामा स्विडेनमा स्थायी बसोबास गर्ने गैरनागरिकहरूले समेत स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउँछन् जहाँ शिक्षा र स्वास्थ्य प्रत्यक्ष रूपमा संलग्न हुन्छन् । सार्वजनिक स्वास्थ्य सेवाहरूमा आप्रवासीहरूसहित सबै बासिन्दाको समान पहुँच छ ।

तेस्रो विशेषता, स्विडेनमा स्वास्थ्य उपचारलाई प्राथमिक र विशेष गरी दुई भागमा विभाजन गरिएको छ । प्राथमिक उपचारका लागि निजी र सरकारी दुवै थरीका प्राथमिक केन्द्रहरू हुन्छन् । यस्ता प्राथमिक उपचार केन्द्रहरू एउटै नगरपालिकाको जनसंख्याका आधारमा धेरै ठाउँमा हुन्छन्, जनताले पायक पर्ने प्राथमिक उपचार केन्द्र छनोट गरी आफ्नो नाम लेखाउने गर्छन् र इमर्जेन्सीबाहेक अन्य सबै स्वास्थ्य सेवाका लागि जनमानसको पहिलो सम्पर्कस्थल त्यही प्राथमिक उपचार केन्द्र हुन्छ । रोग या लक्षणको प्रक्रिया हेरेर इमर्जेन्सी या विशेष उपचारका लागि भने प्राथमिक उपचारमा खटेका चिकित्सकहरूले अस्पताललाई सार्वजनिक र निजी अस्पतालमा रिफर गर्ने गर्छन् । इमर्जेन्सी र स्पेसियालिस्ट स्वास्थ्य सेवाको जिम्मेवारी भने निजी र सरकारी अस्पतालको हुन्छ । स्विडेनका प्राथमिक उपचार केन्द्रहरूमध्ये ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी छन् । स्विडेनको १० मिलियन जनसंख्याका लागि ८५ ठूला सार्वजनिक अस्पताल छन् भने निजी केवल १५ वटा । करिब २० प्रतिशत स्वास्थ्य सेवा निजी अस्पतालले दिने गरेका छन् । स्विडेनमा सार्वजनिक स्वास्थ्य सेवा सबैभन्दा सस्तो विकल्प मानिन्छ । अतिरिक्त स्वास्थ्य सेवा चाहनेहरूका लागि निजी बिमा (सन् २०१० देखि) उपलब्ध छ । लगभग १० मध्ये १ जनाले निजी स्वास्थ्य सेवा लिइरहेका छन् । चिकित्सकसँग भेट्न लामो समय पर्खनु नपरोस् भनेर निजी स्वास्थ्य सेवा छनोट गर्ने गरेको पाइए पनि गुणस्तर र सेवामा भने निजी र सरकारी प्राथमिक उपचार केन्द्र र अस्पतालहरूमा खासै फरक नभएको सर्वेक्षणले देखाएको छ ।

आकस्मिक अवस्थामा अस्पतालद्वारा र एम्बुलेन्स सेवाद्वारा सार्वजनिक स्वास्थ्य सेवा तुरुन्तै प्रदान गरिन्छ । आकस्मिक सेवाका लागि जुनसुकै ठाउँमा बसोबास गरे पनि बढीमा २० मिनेटभित्र घटनास्थलमा पुगी स्वास्थ्य उपचार सुरु गर्ने लक्ष्य एम्बुलेन्स सेवाले लिएको छ । यद्यपि गाउँमा टाढा बस्नेहरू भनेको समयमा एम्बुलेन्स सेवा नपुगेको गुनासो गर्छन् । काउन्टीहरूले आकस्मिक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स वा हेलिकप्टर सेवा शुल्क लिन सक्छन् तर यो १,१०० क्रोनरमा सीमित छ । गैरआकस्मिक स्वास्थ्य समस्याहरूका लागि चौबीसै घण्टा सल्लाह उपलब्ध हुन्छ । आपत्कालीन अवस्थामा राज्य स्वास्थ्य बिमा नभएका वा पर्यटकहरूजस्ता सबैका लागि हेरचाह उपलब्ध छ । बिरामीहरूले विशेषज्ञलाई भेट्न समय माग्दा ९० दिन कुर्नुपर्न सक्छ । स्विडिस सार्वजनिक स्वास्थ्यको यो सबैभन्दा विवादास्पद मुद्दा हो । यद्यपि, यदि ९० दिनको अवधि नाघ्यो भने अन्यत्र हेरचाहको प्रस्ताव गरिनेछ र कुनै पनि यात्रा लगायतको खर्च काउन्टी काउन्सिलले भुक्तानी गर्नेछ । विशेषज्ञ उपचारमा ढिलाइ हुनमा स्वास्थ्यकर्मी, चिकित्सकहरूको कमी भएकाले स्विडिस सरकारले विशेषज्ञ चिकित्सक र विशेष नर्सहरूको संख्या बढाउन अन्य युरोपेली राष्ट्रहरूबाट चिकित्सक र विशेष नर्सहरू झिकाउनुका साथै स्विडेनभित्रैका नर्सहरूलाई कामकै तलबसहित स्पेसियालिस्ट नर्सिङ पढ्न पाइने व्यवस्था ल्याएको छ । यो लेख लेख्दै गर्दा १ लाख ८३ हजार व्यक्ति ९० दिनभन्दा बढी विशेषज्ञ चिकित्सकको पर्खाइमा छन् । विशेषज्ञ चिकित्सकको अभाव गम्भीर छ । स्वास्थ्य सेवामा पहुँच, गुणस्तर, दक्षता र आवश्यक आर्थिक स्रोतहरूको उपलब्धता सार्वजनिक प्रणालीको सबैभन्दा ठूला चुनौती बनिरहेका छन् ।

चौथो विशेषता, सरकारले औषधि कम्पनीसँग औषधिको मूल्य निर्धारण र कम्पनीलाई मूल्य परिपूर्ति गर्छ । विशेष गरी उच्च गुणस्तरीय र प्रभावकारी उपचारहरूमा स्वास्थ्य सेवामा आम जनताको पहुँच सुनिश्चित गर्न सरकारले औषधिहरूमा अनुदान दिन्छ । औषधि कम्पनीले मूल्य निर्धारण र परिपूर्तिका लागि सरकारमा आवेदन पेस गर्नुपर्छ । अन्तिम निर्णय सरकारी विज्ञहरूको बोर्ड र फर्मास्युटिकल बेनिफिट्स बोर्डले गर्छन् । परिस्थिति अनुसार औषधि परिपूर्ति गर्न रोकिन्छ । उच्च लागतका औषधिलाई सरकारले कर–अनुदान दिन्छ र लागतको एक भाग सरकारले तिर्छ । बिरामीहरूले चिकित्सकले लेखिदिएको औषधि सेवन गर्दा बढीमा वर्षको २,४०० क्रोनर (नेपाली लगभग २८ हजार) भन्दा बढी तिर्नु नपर्ने व्यवस्था छ । सरकारले औषधि कम्पनीहरूलाई बाँकी पैसा भुक्तानी गर्छ ।

स्वास्थ्य सेवा र शुल्क

स्विडेनमा सार्वजनिक वा निजी अस्पतालमा स्वास्थ्य सेवा शुल्क निश्चित छ । चिकित्सकसँगको प्रतिभेट ११० देखि २२० क्रोनरसम्म तिर्नुपर्छ । विशेषज्ञ चिकित्सक भेट्न ४०० क्रोनरसम्म लाग्न सक्छ । प्रत्येक काउन्टी र नगरपालिकाको नीतिका आधारमा प्रतिभेट १०० देखि ३०० र विशेषज्ञका लागि २०० देखि ३०० वा ४०० सम्म क्रोनर लाग्न सक्छ । बिरामीले चिकित्सकलाई भेट्न प्रतिवर्ष १,६०० क्रोनरभन्दा बढी तिर्नुपर्दैन । बिरामीले अस्पतालमा बस्नुपर्दा पहिलो दस दिनका लागि प्रतिदिन ११० र त्यससपछि ५५ क्रोनर प्रतिदिन लाग्छ । लामो समयका लागि चाहिँ खर्च आफैंले बेहोर्नुपर्छ ।

माथि उल्लिखित मूल्य सार्वजनिक र निजी दुवै अस्पतालमा लागू हुन्छ । त्यो मूल्यमा नर्डिक राष्ट्रबाहेकका युरोपेली राष्ट्रहरू र अमेरिकामा पनि चिकित्सा सेवा प्राप्त गर्न सम्भव छैन । नेपालकै तुलनामा पनि स्विडिस पैसा १२ गुणा बढी भएकाले सार्वजनिक वा निजी अस्पतालमा चिकित्सक भेट्न १०० देखि ४०० सयसम्म रुपैयाँ लागेको जस्तो तुलना गर्न सकिन्छ । फरकचाहिँ स्विडेनमा केही उपचार (जस्तो- भिडियो एक्सरे, ल्याब टेस्ट लगायत) को छुट्टै पैसा लाग्छ, अरू थप उपचार खर्च लाग्दैन । यहाँ उल्लेख गरिएको शुल्क काउन्टी अनुसार फरक हुन सक्छ ।

बालबालिका, किशोर र वृद्धहरू प्रयोगकर्ता शुल्कबाट मुक्त छन् । बालबालिका २४ वर्ष पूरा नहुन्जेल दन्त स्वास्थ्य पनि नि:शुल्क हुन्छ । त्यसो त प्रसूति हेरचाह, खोप, शारीरिक–मानसिक स्वास्थ्य हेरचाह र क्यान्सर स्क्रिनिङजस्ता निवारक लगायतका सेवाहरू पनि बालबालिकाका लागि नि:शुल्क नै हुन्छन् । सामान्य मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई प्राथमिक हेरचाह मनोचिकित्सकद्वारा गरिन्छ । गम्भीर मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूलाई अस्पतालहरूमा विशेष मनोचिकित्सककहाँ पठाइन्छ । वृद्धहरूका लागि दीर्घकालीन हेरचाह र अपांगता भएका व्यक्तिहरूका लागि रेखदेख गर्दै स्वास्थ्य उपचार गर्ने जिम्मेवारी नगरपालिकाहरू (करमार्फत वित्तपोषण) को हुन्छ । स्विडिस मातृ हेरचाहलाई बाँकी विश्वका लागि रोल मोडलका रूपमा लिइन्छ । स्विडेनमा प्रसूति हेरचाह गर्ने छुट्टै प्राथमिक उपचार केन्द्रहरू छन् जहाँ स्पेसियालिस्ट मिडवाइफहरू काम गर्छन् । सुत्केरी नहुन्जेल महिला र गर्भको बच्चाको स्वास्थ्य परीक्षण, उपचार र स्वास्थ्य प्रवर्धन गर्नु यस्तो प्राथमिक केन्द्रको मुख्य दायित्व हुन्छ । जब बच्चा जन्मन्छ, त्यसपछि बच्चाको स्वास्थ्यको हेरविचार, शारीरिक र मानसिक वृद्धि, रोग या अन्य समस्या आदि सबैको उत्तरदायित्व प्राथमिक उपचार केन्द्रकै हुन्छ जहाँ विशेष योग्यताप्राप्त नर्सहरूबाट शिशुको स्वास्थ्य परीक्षण उनीहरू ६ वर्ष नपुग्दासम्म गरिन्छ । त्यसपछि १८ वर्ष नपुगुन्जेल स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी विद्यालयले लिन्छ । स्विडेनमा हरेक विद्यालयमा स्कुल नर्सहरू, साइकोलोजिस्टहरू लगायत हुन्छन् जसले स्वास्थ्य मात्र नभै शिक्षामा कसरी बालबालिकाले सफलता हासिल गर्छन् भन्ने विषयलाई समेत ख्याल गर्ने गर्छन् ।

स्विडेनमा सम्पूर्ण स्वास्थ्य सेवा नि:शुल्क छैन । उदाहरणका लागि, यदि आँखाको मोतीविन्दुको शल्यक्रिया लगभग नि:शुल्क छ । तर पढ्ने चस्मा प्रयोग र आँखा अपरेसन गर्नुपर्ने भयो भने २५,००० क्रोनर खर्च हुन सक्छ । सरकारी कर्मचारी, सरकारी स्वामित्वमा रहेका विश्वविद्यालय वा संस्थाहरूमा काम गर्ने कर्मचारीहरू - जो अक्सर कम्प्युटर स्क्रिनसामु हुन्छन् - ले आधुनिक ‘प्रोग्रेसिभ चस्मा’ किन्न करिब ३,००० क्रोनरको अतिरिक्त कोष पाउन सक्छन् । त्यसै गरी कस्मेटिक शल्यक्रिया पनि निकै महँगो हुन्छ । दाँत सम्बन्धित खर्च पनि उच्च छ । यदि दाँतको वार्षिक जाँच गर्न २,००० क्रोनर खर्च लाग्यो भने त्यसको लगभग ५० प्रतिशत पब्लिक इन्स्योरेन्सले कभर गर्छ, तर नयाँ दाँत लगाउन चाहनेलाई भने महँगो पर्न जान्छ ।

सरकारको भूमिका

स्विडेनमा राष्ट्रिय स्तरमा स्वास्थ्य र सामाजिक मामिला मन्त्रालय समग्र स्वास्थ्य हेरचाह नीति र नियमनका लागि जिम्मेवार छ । मन्त्रालयले सरकारी एजेन्सीहरूका लागि बजेट र क्षेत्रहरूलाई अनुदान निर्धारण गर्छ, सरकारी एजेन्सीहरूसँग मिलेर काम पनि गर्छ । क्षेत्रीय स्तरमा स्वास्थ्य सेवा प्रदान गर्न २१ निकाय जिम्मेवार छन् । स्थानीय तहमा २९० नगरपालिकाले दीर्घकालीन हेरचाहसहित वृद्ध र अपांगहरूको रेखदेख गर्छन् । स्थानीय र क्षेत्रीय अधिकारीहरू स्थानीय प्राथमिकता र राष्ट्रिय नियमनद्वारा निर्देशित हुन्छन् ।

केही वर्षयता स्थानीय र राष्ट्रिय स्तरमा सेवाको गुणस्तर र समानता, पर्खने समय, वृद्धहरूको हेरचाहको समन्वय र ई–स्वास्थ्यमा लगानीजस्ता स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण नीतिहरूबारे चर्चा छ । सन् २०१८ को एउटा ऐनले बिरामीहरूको अधिकारलाई सुदृढ गर्ने व्यवस्था ल्याएको छ । यसले बिरामीहरूलाई जानकारी दिने, बिरामीहरूलाई दोस्रो रायको अधिकारको ग्यारेन्टी गर्ने र रोग हेरी विशेष हेरचाहमा छनोट सुनिश्चित गर्छ । सरकारले नागरिकहरूलाई उच्च गुणस्तरीय सेवा दिन सार्वजनिक विश्वास प्रवर्धन गर्ने लक्ष्य राखेको छ । यसको उद्देश्य प्रतिस्पर्धा बढाउने र कार्यसम्पादन सूचकहरूमा आधारित सेवाप्रदायकहरूको अनुगमन गर्ने हो ।

स्वास्थ्य सेवाहरू : घरनजिकैको सेवा अन्तर्गत पारिवारिक चिकित्सक, प्राथमिक हेरचाह क्लिनिकहरू, प्रसूति क्लिनिकहरू, मनोचिकित्सक क्लिनिकहरू पर्छन् । आपत्कालीन हेरचाह, वैकल्पिक हेरचाह, विशेषज्ञ हेरचाह, दाँतको हेरचाहबारेमा सार्वजनिक विकल्प नरोज्नेहरूका लागि निजी योजनाहरू पनि उपलब्ध छन् । केही व्यक्तिले सार्वजनिक कभरेजको कटौती गर्न निजी बिमा खरिद गर्ने गर्छन् । निजीका चिकित्सकहरूको शुल्क निकै महँगो त हुन्छ, तर छिटो भेट्न पनि सकिन्छ । निजीमा प्रतिवर्ष लगभग ४,००० क्रोनरसम्म पनि लाग्न सक्छ ।

सरकारी एजेन्सी : स्विडेनको स्वास्थ्य कल्याण राष्ट्रिय बोर्डले स्वास्थ्यकर्मीहरूलाई पर्यवेक्षण र इजाजतपत्र दिने काम गर्छ, जनचेतना फैलाउँछ, चिकित्सा सेवाको मापदण्ड बनाउँछ, विशिष्ट चिकित्सा क्षेत्रहरूका लागि राष्ट्रिय दिशानिर्देश गर्छ । डेटा संकलन र विश्लेषणका माध्यमबाट मापदण्डहरू सुनिश्चित गरिन्छन् । स्वास्थ्य डेटा रजिस्ट्रीहरू र आधिकारिक तथ्यांकहरू पनि राखिन्छन् । एजेन्सीले स्वास्थ्य र सामाजिक हेरचाह गर्नेहरू र निर्णयकर्ताहरूबीच साझेदारीलाई बढावा दिने गर्छ । यसले स्विडेनमा जारी गरिएका इलेक्ट्रोनिक प्रिस्क्रिप्सनहरू भण्डारण र स्थानान्तरण गर्छ अनि विदेशमा इलेक्ट्रोनिक प्रिस्क्रिप्सनहरू स्थानान्तरण गर्ने जिम्मेवारी लिन्छ ।

एजेन्सीहरू : औषधि बिक्रीको तथ्यांकका लागि औषधि एजेन्सी जिम्मेवार हुन्छ । स्वास्थ्य र सामाजिक हेरचाह निरीक्षणालयले स्वास्थ्य निकायहरू, सामाजिक सेवाप्रदायक र अपांगता भएका व्यक्तिका लागि सेवाप्रदायक निकायहरू सम्बन्धी गतिविधिको पर्यवेक्षण गर्छ । स्वास्थ्य सेवा विश्लेषणका लागि एजेन्सीले स्वास्थ्य सम्बन्धी नीतिको मूल्यांकन गर्नुका साथै नागरिकको स्वास्थ्य सेवाको जानकारी तथा उपलब्धताको विश्लेषण र मूल्यांकनसमेत गर्छ ।

जनस्वास्थ्य एजेन्सीले राष्ट्रिय सरकार, सरकारी निकायहरू, नगरपालिकाहरू र क्षेत्रहरूलाई संक्रामक रोग नियन्त्रण र सार्वजनिक स्वास्थ्य सम्बन्धी प्रमाण–आधारित ज्ञान दिने गर्छ ।

स्वास्थ्य काउन्सिल : स्विडिस स्वास्थ्य काउन्सिलले लागत–प्रभावी स्वास्थ्य सेवा प्रविधिहरूको प्रयोगलाई बढावा दिन्छ । काउन्सिलले चिकित्सा, आर्थिक, नैतिक र सामाजिक दृष्टिकोणबाट नयाँ उपचारहरूको समीक्षा र मूल्यांकन गर्छ । औषधिको गुणस्तर र बजार व्यवस्थापनको मूल्यांकन भने डेन्टल र फर्मास्युटिकल एजेन्सीले गर्छन् ।

निजी स्वास्थ्य बिमाको भूमिका : बिरामीले चिकित्सक भेट्न पर्खनुपर्ने समय घटाउनेजस्ता विशेष पहलहरूलाई बिमाले वित्तीय अनुदान दिन्छ । मुख्य रूपमा विशेषज्ञसम्म द्रुत पहुँचको ग्यारेन्टी गर्न र वैकल्पिक उपचारका लागि प्रतीक्षासूचीहरूबाट बच्न यसलाई प्रयोग गरिन्छ । एउटा पछिल्लो रिपोर्ट अनुसार ६,३३,००० जना स्विडिससँग मात्र निजी बिमा छ ।

विद्युतीय अभिलेख : औषधि वा चिकित्सा उपकरणहरूको प्रिस्क्रिप्सन झन्डै शत–प्रतिशत डिजिटल हुन्छ । उच्च गुणस्तरका सूचना प्रविधि प्रणालीहरू अस्पताल, प्राथमिक हेरचाह र उपचारका अभ्यासहरूमा प्रयोग गरिन्छ । क्षेत्र अनुसार प्रयोग गरिएका प्रणालीहरूको प्रकार फरक हुन्छ । बिरामीहरूले व्यक्तिगत स्वास्थ्य डेटा हेर्न, चिकित्सकका नोटहरू पढ्न, चिठी आदानप्रदान गर्न, भेटघाटको समयतालिका र प्रिस्क्रिप्सनहरू पुन: भर्नका लागि चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र बिरामीले इलेक्ट्रोनिक मेडिकल रेकर्डहरू बढ्दो रूपमा प्रयोग गर्छन् ।

औषधि पसलहरू : स्विडेनमा सार्वजनिक र निजी दुवै प्रकारका औषधिपसलहरू छन् । चिकित्सकबाट तोकिएको औषधि (प्रिस्क्रिप्सनमा लेखिएका औषधि वा चिकित्सा उपकरणहरू) औषधिपसलहरूलाई विद्युतीय माध्यमबाट उपलब्ध हुन्छ । बिरामीले औषधि सार्वजनिक वा निजी दुवै खालका औषधिपसलबाट किन्न सक्छन् । तोकिएको औषधि खरिद गर्दा मान्य परिचयपत्र देखाउनुपर्छ । चिकित्सकको प्रिस्क्रिप्सन नपर्ने साधारण औषधि पनि औषधिपसलहरूमै किन्न सकिन्छ । त्यस्ता औषधिहरू पनि स्वास्थ्य एजेन्सीहरूले निर्धारण र मूल्यांकन गर्छन् । राष्ट्रिय औषधि योजनाद्वारा निर्धारित गरिएका औषधिहरूका लागि बिरामीहरूले प्रतिवर्ष १,१२५ देखि १,६०० क्रोनरसम्म तिर्छन् । बाँकी राज्य अनुदानद्वारा कभर गरिन्छ ।

चिकित्सा विश्वविद्यालयहरू

चिकित्सक केसीका मागहरू चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित छन् । केसीका मागहरू अनुसार सबैका लागि सुलभ उपचार गर्न सरकारी बजेटमा आधारित चिकित्सा शिक्षा आवश्यक हुन्छ ।

स्विडेनमा चिकित्सा विश्वविद्यालयहरू सार्वजनिक छन् । स्विडेनका सात उत्कृष्ट विश्वविद्यालयमा चिकित्सा शिक्षाका लागि कुनै शुल्क लाग्दैन । यद्यपि प्रत्येक वर्ष स्वीकृत विद्यार्थीहरूको संख्या सीमित छ । मेडिकल युनिभर्सिटीमा भर्ना हुनका लागि जीव विज्ञान, रसायन विज्ञान, भौतिकशास्त्र र गणितमा पूरा पाठ्यक्रमहरूसहितको हाइस्कुल (९+३) आवश्यक छ । स्विडेनको राजधानी स्टकहोमस्थित कारोलिन्स्का अग्रणी चिकित्सा विश्वविद्यालय हो जसले प्रतिवर्ष अधिकतम १६० विद्यार्थी भर्ना लिन्छ । स्वस्थ, बिरामी, क्लिनिकल मेडिसिन, शल्यक्रिया, न्युरोसेन्सरी/मनोरोग चिकित्सा, प्रजनन र विकास, सामाजिक/वातावरणीय स्वास्थ्यजस्ता सात विषयवस्तु हुन्छन् पाठ्यक्रममा । चिकित्सा शिक्षा ६ वर्षमा पूरा हुन्छ । स्विडेनजस्तो १० मिलियन जनसंख्या भएको देशमा वार्षिक रूपमा लगभग १,५७० जना विद्यार्थीले चिकित्सा शिक्षामा भर्ना पाउँछन् । स्विडिस मेडिकल युनिभर्सिटीमा भर्ना नपाउने विद्यार्थीले अन्य युरोपेली विश्वविद्यालयहरूमा अध्ययन गर्न सक्छन् । त्यस्ताले विदेशमा अध्ययन गर्न स्विडेनबाट विद्यार्थी ऋण पाउन सक्छन् जुन जागिर खाएपछि मात्र तिर्न सुरु गर्नुपर्छ र त्यो अत्यन्तै न्यून ब्याजदरको पनि हुन्छ । स्विडेनमा नर्सिङ स्नातक तीन वर्षको छ । स्विडिस नर्सिङ कार्यक्रमको पाठ्यक्रममा ३ वर्षे रजिस्टर नर्सको अध्ययन (स्नातक तह) र विशेष नर्स (१ देखि १.५ वर्षको स्नातकोत्तर तह) गरिसकेपछि, विद्यावारिधि अनुसन्धान गर्न सकिने व्यवस्था र पाठ्यक्रम छन् । स्विडेनमा स्पेसियालिस्ट नर्सहरूको आवश्यकता बढ्दो छ र स्पेसियालिस्ट नर्सको पढाइ देशका १५ भन्दा बढी विश्वविद्यालय र कजेलहरूमा हुने गर्छ ।

निष्कर्षत:, ‘जसलाई तत्काल चिकित्सा सेवा चाहिन्छ, उनीहरूलाई पहिले नि:शुल्क वा सुलभ उपचार गरिन्छ’ भन्ने स्विडिस स्वास्थ्य सेवा सिद्धान्त प्रशंसायोग्य छ । ‘उच्च कर तिरेर एकअर्कालाई मद्दत गर्न सक्छौं’ भन्ने राजनीतिक शिक्षा प्रणालीको सफलताले गर्दा पनि यस्तो हुन सकेको हो । पारदर्शी र जिम्मेवार शासन प्रणालीले जनताको विश्वास जित्छ । राजनीतिक नेतृत्व र व्यावसायिक कर्मचारीहरू पनि उत्तिकै जिम्मेवार छन् । अन्तत: चिकित्सकहरू, मेडिकल नर्सहरू र गुणस्तरीय चिकित्सा शिक्षा प्रणालीको मेरुदण्ड हुन् । शिक्षाजस्तै स्वास्थ्य सेवा ठूलो मात्रामा कर राजस्वद्वारा चलेको छ । यो व्यवहारत: कल्याणकारी राज्य सञ्चालनको नमुना हो पनि भन्न सकिन्छ । स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, डेनमार्क, बेल्जियम, फिनल्यान्ड र लक्जमबर्गजस्तै स्विडेनको स्वास्थ्य सेवा पनि विश्वमै उत्कृष्ट मनिन्छ । स्विडिस स्वास्थ्य सेवा समस्यारहित चाहिँ छैन । प्राविधिक प्रगति र सामाजिक–राजनीतिक उन्नतिसँगै प्रणालीगत प्रगति हुन बाँकी नै छ । मानवतावादी दृष्टिकोणबिना सबैको पहुँच हुने जनस्वास्थ्य सेवा स्थापना हुन सक्दैन ।

प्रकाशित : आश्विन ९, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?