कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शोधकर्तालाई कुरिबसेका लिखतहरू !

उज्ज्वल प्रसाई

ओसामु दजाई जापानका पुराना र प्रसिद्ध साहित्यकार हुन् । जापानबाहिर र खास गरी नेपाल र भारतजस्ता मुलुकमा दजाई धेरै पढिएका वा चर्चा गरिएका लेखक भने होइनन् । हिन्दी आमवृत्तकी अध्येता फ्रान्सेस्का ओर्सिनीले हिन्दीका कथाकार ज्ञानरञ्जनको संस्मरण पढ्दा थाहा पाइन्, सन् १९५० को दशकमा इलाहाबादमा उच्च शिक्षा लिन बसेका ज्ञानरञ्जन ओसामु दजाईका कथा पढिरहेका थिए ।

शोधकर्तालाई कुरिबसेका लिखतहरू !

ओर्सिनीलाई लाग्यो, ज्ञानरञ्जनले पक्कै दजाईका अंग्रेजीमा अनूदित कृतिहरू पढे । सन् १९५६ मा ‘न्यु डिरेक्सन्स’ नामक प्रकाशन गृहले दजाईका उपन्यास अंग्रेजीमा अनुवाद गरी जापानबाहिरका अंग्रेजी पाठकसम्म पुर्‍याएको थियो । तर, अनुसन्धानका क्रममा दजाईका कथाहरू हिन्दीमा अनूदित भएर ‘नयी कहानियाँ’ र ‘सारिका’ जस्ता साहित्यिक पत्रिकामा प्रकाशित भएका ओर्सिनीले फेला पारिन् । सम्भवत: ज्ञानरञ्जनले दजाईजस्ता लेखकका कृति अंग्रेजीमा होइन, हिन्दीमै अनूदित भएको पढेका थिए ।

ओर्सिनीले साहित्यिक पुस्तक र पत्रिकाका आधारमा हिन्दी आमवृत्तका चरित्र उधिन्ने थुप्रै अनुसन्धान गरेकी छन् र उनका केही महत्त्वपूर्ण पुस्तक पनि प्रकाशित छन् । पछिल्लो एक खोजमूलक लेखमा भने शीतयुद्धकालमा हिन्दी पत्रिकाहरूले आफ्ना पाठकलाई कस्तो वैश्विक साहित्यसँग परिचय गराएका थिए भनेर खोजेकी छन् ।

शीतयुद्धकाल भन्नासाथ सहजै अनुमान गर्न सकिन्छ- अमेरिकी क्याम्पबाट उदारवादी प्रजातन्त्रको संवर्द्धनार्थ लेखिएका एवं कम्युनिस्ट खेमाको आलोचना गरिएका साहित्यहरू प्रसारित हुन्थे भने, सोभियत संघले प्रकाशन गरेका साम्यवादी धारका अनूदित साहित्य र पत्रिकाहरूको पनि उत्तिकै द्रुत प्रसार हुन्थ्यो । नेपालमा समेत मस्को प्रकाशनका किताब अनि ‘सोभियत भूमि’, ‘सचित्र चीन’, र ‘स्वतन्त्र विश्व’ जस्ता पत्रिका प्रसारित भएका कथाहरू धेरैका संस्मरणमा पढ्न पाइन्छन् । तिनताका हिन्दी पत्रिकामा पनि सोही दुई ध्रुवबाट प्रभावित र प्रसारित साहित्य नै प्रकाशन भए होलान् भन्ने सहज अनुमान गर्न सकिन्छ । तर, ओर्सिनीको अनुसन्धानले भने यो सजिलो अनुमानभन्दा केही फरक तथ्य फेला पारेको छ । ज्ञानरञ्जनले पढेका दजाईका कृति स्वयंमा त्यही फरक तथ्यको एक नमुना हुन् ।

सन् १९५० पछिका दुई दशकका साहित्यिक पत्रिकाहरू पढ्दा, ओर्सिनीले अंग्रेजी मूलधार (क्यानन) र प्रगतिवादी भनिने कम्युनिस्ट साहित्यका मात्र नभई अफ्रिकी दुनियाँमा लेखिएका, दक्षिणपूर्वी एसियामा रचिएका, अरब दुनियाँमा ख्याति कमाएका र ल्याटिन अमेरिकाका विभिन्न भेगमा प्रसिद्धि कमाएका लेखकहरूका प्रशस्त रचना हिन्दी साहित्यिक पत्रिकाका खुराक बनेको भेटिन् । खास गरी, यी विभिन्न महादेश र मुलुकमा प्रकाशित कथाहरू भेला पारेर हिन्दीमा अनुवाद गराउने, कहिले फुटकर रूपमा भने कहिले थोकमै विशेषाङ्कमार्फत प्रकाशन गर्ने गरिएका थुप्रै प्रमाण फेला पारिन् । साहित्यिक पत्रिकाका सम्पादकले योजनै बनाएर विशेष गरी कथा विधालाई प्राथमिक बनाउँदै अनेक भेगका अनेक किसिमले लेखिएका कहानीहरू अनुवाद गराएको तथ्यका आधारमा ओर्सिनीले केही रोचक निष्कर्ष निकालेकी छन् ।

शीतयुद्धकालमा दुई ध्रुवले चलाएको प्रोपगान्डा र प्रतिप्रोपगान्डाको घर्षणबीचबाट हिन्दी साहित्यिक पत्रिकाहरूले निकै फराकिलो वैश्विक साहित्यको फलक तयार गरेको उनको निष्कर्ष छ । त्यसमा पनि कमलेश्वरजस्ता सिद्धहस्त लेखक र सम्पादकले आफ्नै सक्रियतामा तेस्रो दुनियाँ भनिने क्षेत्रबाट कथाहरू सञ्चयन गर्ने र क्रमश: अनुवाद गराउने काम गरेकाले उस बेलाको हिन्दी आमवृत्त निकै विविधतापूर्ण र समृद्ध बनेको थियो । उदाहरणका लागि, जनवरी १९७३ मा प्रकाशित ‘सारिका’ को एक विशेषाङ्कमा छापिएका अनूदित कथाहरूको सूची हेर्दा देखिन्छ, त्यहाँ नाइजेरियाका चिनुवा अचेबेदेखि केन्याका ङुगी व थियोङ्गोसम्म, साउदी अरबका मोहम्मद हलिम अब्दुल्लाहदेखि इराकका अब्द अल–मलिक नुरीका कथासम्म समेटिएका छन् । भियतनाम, डोमिनिकन रिपब्लिक, इजरायल, दक्षिण अफ्रिका, क्युबा र ग्वाटेमालाका कथाहरू हिन्दीमा अनुवाद गरिएका छन् । सो विशेषाङ्कको शीर्षक नै रोचक थियो- ‘तिसरी दुनियाँ : सामान्य जन और सहयात्री लेखक ।’ ओर्सिनी भन्छिन्, ‘यी सबै कथा उत्तरऔपनिवेशिक कालमा लेखिएका हुन् तर यी कथामा शोषण र औपनिवेशीकरण वा उत्तरऔपनिवेशिक विरक्ति मात्र विषय छैनन् । ...बरु केही प्रेम कहानी छन् भने ...एउटा कथामा गरिब माली र सानी केटीबीचको कोमल मित्रताको वर्णन छ ।’

विशेषाङ्कको शीर्षकले इंगित गरेझैं, दुई ध्रुवका महाशक्तिराष्ट्रभन्दा भिन्न र विविध क्षेत्रमा बसोबास गर्ने अनेक भाषा र समुदायबाट टिपिएका आम मान्छेका सुखदु:ख कथाहरूमा वर्णित थिए । भारतका (र, सम्भवत: नेपालका पनि) हिन्दी साहित्यका पाठकले ‘सारिका’ को सो अंक पढ्दा आफ्ना सुखदु:खसँग कथाका पात्रका भोगाइ दाँजेर हेरे होलान् । कतै समानता र कतै भिन्नताहरू भेटे होलान् । लेखक र समालोचकहरूले आफ्ना वरपर लेखिइरहेका र दुनियाँका अनेक कुनामा रचिइरहेका साहित्यका समानता र फरक खुट्याउने अवसर पाउनुलाई पक्कै सुखद माने । ज्ञान र कलाको यो अत्यन्त विविधतापूर्ण विनिमयले शीतयुद्धले निर्माण गर्न खोजेको प्रोपगान्डाको साँघुरो छिँडीलाई फराकिलो बनाएको थियो । सम्भवत: हिन्दी साहित्यमा त्यस कालमा गरिएका विभिन्न प्रयोगपछिल्तिरको अभिप्रेरणा साहित्यिक पत्रिकाहरूले गरेका यस किसिमका सृजनात्मक उद्यम हुन सक्छन् ।

शीतयुद्धकालको खास चरित्र र त्यसबाट उत्पन्न साहित्यिकहरूको मनोदशा रोचक खोजीको विषय हो । असंलग्न राष्ट्र बन्ने भारत र अन्य धेरै मुलुकको जोडका साथै सन् १९५५ मा सम्पन्न अफ्रो–एसियाली मुलुकहरूको बान्डुङ सम्मेलन लगायतलाई सन्दर्भित गर्दा रोचक इतिहास सतहमा उतार्न सकिन्छ । ओर्सिनीको लेखमा आएको अर्को उत्तिकै रोचक तथ्य भने कमलेश्वरजस्ता सम्पादकले देखाएको सक्रियता र गरेको मिहिनेत पनि हो । साहित्यिक लेखन, समालोचनात्मक अन्वेषण र समग्र आमवृत्त समृद्ध बनाउन पत्रिका सञ्चालन गर्ने सम्पादकको कति महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कमलेश्वरको सम्पादनमा निस्केका ‘सारिका’ का अंकहरूबाट बुझ्न सकिने ओर्सिनीले संकेत गरेकी छन् ।

केन्या र डोमिनिकल रिपब्लिक, इजरायल र साउदी अरबका राम्रा साहित्यकार पहिचान गर्न, तिनले रचना गरेका पठनीय कथा थाहा पाउन, तिनका अंग्रेजी अनुवाद भेट्न, सञ्चयन गर्न र तिनको हिन्दीमा अनुवाद गराउन उस बेला पक्कै सहज थिएन । इन्टरनेट लगायत अनेक सुविधाले सम्पन्न आजकै युगमा पनि यति विविधितापूर्ण रचना एक ठाउँ भेला पार्न र तिनको अनुवाद गराएर प्रकाशन गर्न साह्रै हम्मे पर्छ । सन् १९७० को दशकमा यस्ता काम निरन्तर गरिरहन कसरी सहज होस् ? त्यसमाथि साहित्यिक पत्रिका आफैंमा धनी संस्था हुँदैनथेÙ ठूला सञ्चारगृहका आडमा सञ्चालित पत्रिकामा पनि सधैं स्रोतको संकट हुन्थ्यो । दर्जनौं पत्रिका साह्रै छोटो आयु लिएर आउने गरेको तथ्यले हिन्दी आमवृत्तको इतिहास भरिएको छ । यी अप्ठ्याराबीच सम्पादकले देखाएको सक्रियता, जाँगर र लगनका पछिल्तिर कस्ता प्रेरणा र ऊर्जा थिए होलान् भनेर थप खोज गर्न सके, अझै रोचक तथ्यहरू सतहमा आउँदा हुन् ।

हिन्दी साहित्यका साधक निर्मल वर्मा र अज्ञेयजस्ता लेखकबारे पछिल्लो समय लेखिएका शोधपरक जीवनीले अनेक नयाँ तथ्यहरू उजागर गरेका छन् । पेसाले पत्रकार अक्षय मुकुलले वर्षौंसम्म शोध गरेर हाल सालै प्रकाशनमा ल्याएको अज्ञेयको नयाँ जीवनी ‘राइटर, रेबल, सोल्जर, लभर : द मेनी लाइभ्स अफ अज्ञेय’ ले ओर्सिनी र वसुधा डालमियाले हिन्दी आमवृत्तमा गरेका खोजका आधारमा अघि सारेका कतिपय दाबीलाई पुनर्पुष्टि गरेका छन् भने कतिपय भारतीय इतिहासका नयाँ पत्र उक्काएका छन् । जस्तो, ओर्सिनीले लेखमा भनेझैं अमेरिकी संस्था कंग्रेस फर कल्चरल फ्रिडम (सीसीएफ) - जो कम्युनिस्टविरोधी गतिविधि गर्न र संकथन प्रसार गर्न खडा गरिएको थियो - को स्रोतलाई अज्ञेयजस्ता लेखकले आफूले सम्पादन गर्ने पत्रिकामा उपयोग गर्ने चलाखीपूर्ण काम गरेको मुकुलले किताबमा खुलाएका छन् । अज्ञेयको सम्पादकत्वमा प्रकाशन हुने पत्रिका एकोहोरो अमेरिकी वा अरू कुनै ध्रुवको प्रोपगान्डा प्रसार गर्ने औजार मात्र भने थिएन । त्यसै गरी अब केही दिनमा बजारमा आउने विनीत गिलले लेखेको निर्मल वर्माको नयाँ जीवनी ‘हियर एन्ड हियरआफ्टर : निर्मल वर्माज लाइफ इन लिटरेचर’ बाट उद्धृत गरिएको एक अंश पढ्दा यस किताबले पनि रोचक विश्लेषण र तथ्य सतहमा ल्याउने अनुमान गर्न सकिन्छ ।

हिन्दी आमवृत्तमा गरिएका खोजजस्तै सन् १९५० पछिका नेपाली साहित्यिक र अन्य सामयिक पत्रिकाहरूमा प्रकाशित अनेक सामग्रीको मसिनो अन्वेषण गर्दा रोचक तथ्यहरू सतहमा आउने थिए । साथै, साहित्यिक एवं अन्य क्षेत्रका विद्वान्हरूको शोधपरक आलोचनात्मक जीवनी नै लेख्न सक्दा पनि नेपाली इतिहासका नयाँ घुम्तीहरू देखिन सक्थे । स्मृतिग्रन्थका दर्जनौं सीमितता र आत्मकथाका साँघुरोपनालाई छिचोल्न ढिलो भइसकेको छ । त्रिविको नेपाली विभागले तय गरेका समालोचना र अन्वेषणका साँघुरा छिँडीहरू फराकिलो बनाउन उसै गरी अति ढिलो भइसकेको छ । आवश्यक समय लगाएर, सुगठित विधि अपनाएर, गहिरो गरी शोध गर्न सक्दा र आवश्यकता अनुसार ‘इन्टरडिसिप्लिनेरी अप्रोच’ उपयोग गर्दै सिद्धिचरण श्रेष्ठ वा सूर्यविक्रम ज्ञवालीकै जीवनका उतारचढावबाट पनि इतिहासको नयाँ पत्र उक्काउन सकिँदो हुन् । ‘शारदा’ का विभिन्न अंक, ‘उद्योग’ पत्रिकामा सञ्चित लिखतहरू र अन्य केही पत्रिकामा गरिएका अध्ययनले नेपाली इतिहासका पहिले थाहा नपाइएका कतिपय रोचक घुम्तीहरू पहिल्याएका उदाहरणका आधारमा पनि यति दाबी गर्न सकिन्छ ।

ओर्सिनीले जस्तै अनुवाद मात्रमा केन्द्रित अध्ययन गर्न सक्दा पनि शीतयुद्धकालमा नेपाली आमवृत्तमा कस्ता रचनाहरू प्रसार भए र तिनले कस्तो प्रभाव पारे भनेर खोजी गर्न सकिँदो हो । त्यसका लागि मदन पुरस्कार पुस्तकालयमा सञ्चित पत्रिका, मार्टिन चौतारीको शिव रेग्मी संकलन र त्रिवि केन्द्रीय पुस्तकालयको अव्यवस्थाका बावजुद जोगिएका केही पत्रिकाको गहिरो आकर–शोधले नेपालको विगतलाई बढी बोधगम्य बनाउन सक्थ्यो । प्रश्न उही पुरानै र एउटै हो- यस्ता कामका लागि सार्वजनिक स्रोतको उपयोग कसरी र कहिले सुरु हुन्छ ?

प्रकाशित : आश्विन ७, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?