घरायसी काममा सन्तुलन

सुशीला शर्मा

केही अघि मेरी साथी अपूर्वा श्रीमान् र छोरालाई घरमै छोडेर माइत गएकी थिइन् । त्यतैबाट उनले किशोर अवस्थाको छोरालाई चामल अड्कल्न, तरकारी पकाउन सिकाउँथिन् । त्यसबेला निकै कष्टका साथ बाबुछोराले खाना बनाएर खाए । जब अपूर्वा घर फर्किइन्, छोरो न्याउरो भएको थियो भने श्रीमान्लाई ज्वारो आएको थियो ।

घरायसी काममा सन्तुलन

एकल परिवारमा मात्र होइन संयुक्त परिवारमै पनि घरायसी काममा सिन्को नभाँच्ने सुविधा पुरुषहरूले आजको दिनसम्म पनि पाएकै देखिन्छ । महिला सदस्य भने दिनको १८ घण्टासम्म परिवारका सदस्यहरूको हेरचाहमै समर्पित हुनैपर्ने अवस्था छ । पुरुष सदस्य घरमा छँदा भान्सामा दिदीबहिनी, आमा, श्रीमतीलाई सघाउन सक्ने थुप्रै काम हुन्छन्, जस्तो भाँडाकुँडा माझिदिने, कसिंगर बढारिदिने, कपडा पट्याइदिने, पानी तताइदिने, खाना नै पकाइदिने गर्न सक्छन् । तर अधिकांश परिवारमा पुरुष सदस्यले यस्तो काम गर्न हुन्न भन्ने ठानिन्छ । महिला सदस्यले भने, जस्तो अवस्थामा पनि काम गर्नुपर्छ । यस्तोमा महिलाप्रतिको संवेदना बुझ्नका

लागि पुरुषले पनि घरायसी काममा सहयोग गर्नुपर्ने हुन्छ । पुरुषको भूमिका पैसा जोहो गरेर मात्र पूरा हुँदैन । वर्षौंदेखि भान्सा र हेरचाहकै काममा टाक्सिएका आमा, दिदीबहिनी, श्रीमतीलाई पनि कहिलेकाहीँ आफ्नो पेसादेखि दिक्दार लागेर आउँछ होला भनेर कहिल्यै छोरा, दाजुभाइ, श्रीमान्ले सोचेका होलान् त ?

मेरो छिमेकमा एक जना दिदी छन् आफ्नो घरवरिपरि निकै सफा राख्नुपर्ने बानी भएकी । ती दिदीको घरमा दुई छोरा र श्रीमान् मात्र छन्, तीनै जनाले भान्सामा भात खानबाहेक टेक्दैनन् । माइत गए उनीहरू होटलबाट ल्याएर खाँदा रहेछन् । उनीहरूलाई पकाउने मेलोमेसो नै हुँदैन । कथंकदाचित उनका श्रीमान्ले भात–तरकारी पकाइहाले पनि पटक्कै जाँगर नचलाई पकाउँछन् । छोराहरू र श्रीमान्ले उनको काममा चासो राखेको भए, यस्तो अवस्था आउँदैन थियो । अनि भान्सामा सधैँ एक जना मात्रै घोटिइरहनु पर्दैनथ्यो । यस्तो कथा प्रायः सबै परिवारसँग मिल्दोजुल्दो छ । समाजले व्याख्या गरिदिएको लैंगिक जिम्मेवारीका कारण यस्तो भएको हो ।

यस्तो लैंगिक व्याख्या र सोअनुरूप परिवारमा घरायसी काम महिलाले गर्नुपर्ने भन्ने सोच नेपाली समाजमा मात्र होइन, विश्वमै शक्तिशाली अनि प्रजातान्त्रिक मानिएको अमेरिकामा पनि छ । कपडा धुने, भाँडा माझ्ने, भुइँ–कोठा लगायत सफा गर्ने, खाना पकाउने, छोराछोरीको हेरविचार गर्ने काम महिलाले बढी गर्छन् भने पुरुष विशेष गरी कार मेन्टिनेन्स, बगैंचाको हेरचाह लगायत काम गर्छन् । लगानी र बचत गर्नेबारे पनि निर्णय गर्ने सवालमा पुरुषहरू नै अगाडि छन् भने घरको सजावटको निर्णय भने महिलाले बढी गर्ने गर्छन् । विभिन्न अध्ययनले पछिल्लो समय भने अमेरिकामा महिला र पुरुषको कार्य विभाजन र समान जिम्मेवारी लिने सबालमा भने बढोत्तरी आएको देखाएको छ । महिलाहरूले पनि परिवारको आर्थिक जिम्मेवारी उठाउन थालेका छन् । आर्थिक आर्जनमा महिला सक्रिय हुन थालेपछि घर र कार्यस्थलको काममा सन्तुलन आएको छ ।

नेपाली समाजमा यस्तो अवस्था ल्याउन निकै समय लाग्नेछ । अझ महिला–पुरुष असमानता बढिरहेको छ । हाम्रा सामाजिक, सांस्कृतिक तथा धार्मिक मूल्यमान्यताले पनि परिवारमा महिलाको भूमिका पुरुषको भन्दा भिन्न तोकिदिएकाले महिला शिक्षित, सचेत तथा आर्थिक रूपमा आत्मनिर्भर भए पनि घरायसी काममा पुरुषले सहजीकरण गरिदिने चलन छैन । घरायसी काममा महिला नै जोतिनुपर्ने मुख्य कारण पुरुषहरूले सोच्ने शैली हो । अधिकांश विवाहित पुरुष आफ्नी श्रीमतीले कामकाजी नै भए पनि घरधन्दा गरिदिए हुन्थ्यो भन्ने ठान्छन् । कतिपय श्रीमान्–श्रीमतीमा यही निहुँमा मनमुटाव नै भइरहेको हुन्छ । कतिपय महिलाले चाहिँ दुवै उस्तै भए घरबार नै चल्दैन भन्दै, एक जना र आफूले नै जतिसुकै कामको बोझ थोपरिए पनि सहनुपर्छ भन्ने ठान्छन् । यसो गर्नुको पछाडि परिवार चलिरहन्छ भन्ने सोचले काम गरेको छ । र यस्तो सोच विकास गर्न सामाजिक संरचनाले नै भूमिका खेलेको हुन्छ ।

प्रसिद्ध भारतीय नारीवादी अभियन्ता कमला भासिनले आफ्नो पुस्तक ‘पितृसत्ता क्या है ?’ मा ‘समाजका मुख्य संस्थाहरूको विश्लेषण गर्‍यौं भने त्यसको स्वभाव, चरित्र र ढर्रा सम्पूर्ण रूपले पितृसत्तात्मक हुन्छ । यो व्यवस्थाको खाँबो यति बलियो कि यसलाई हल्लाउन असम्भवप्रायः छ । परिवार समाजको महत्त्वपूर्ण एकाइ हो । पुरुष नै यो संस्थाका मुखिया हुन् । परिवारभित्र उनीहरूले महिलाको यौनिकता, मिहिनेत, उत्पादन, प्रजनन र गतिशीलतामाथि नियन्त्रण राख्ने गर्छ । आजका किशोर पुरुष पदानुक्रमले पछि मुखिया बन्न सक्छन् तर महिला यो पदानुक्रममा सधैं पुरुषभन्दा तल नै हुन्छन् । शक्ति सम्बन्ध दबाबकारी र दबिनेका रूपमा नै हुन्छ,’ भनेकी छन् । उनको यो विचार नेपाली समाजको परिवारमा पनि मिल्छ । हाम्रो परिवारको संरचनामा एकले अर्कोलाई नहेप्न र विभेद नगर्नका लागि हरेक काम सहअस्तित्वको आधारमा विभाजन गर्नुपर्छ । यसो भए एक जना मात्रैले थेगिरहेको घरायसी कार्यबोझमा पनि कमी आउने थियो । मुख्य कुरा घरेलु काम महिला–पुरुष दुवैले आफ्नो जीवन सहज बनाउन गर्नुैपर्छ । यो लैंगिक भूमिका होइन ।

प्रकाशित : आश्विन ६, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?