२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

ककसको पूजा–अर्चना गर्ने हो कमरेड ?

सामाजिक क्रान्तिद्वारा दुःख, पीडा, हिंसाको अन्त्य गर्ने संकल्प गरेका मार्क्सवादीदेखि लेनिनवादी र माओवादीसम्मले पनि पूजा र भक्तिको परम्परालाई बचाइराखेका छन् ।
राजेन्द्र महर्जन

हामीकहाँ तेत्तीस कोटि देवता हुन्छन् । जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ ।’ दसौं राष्ट्रिय विज्ञान दिवसमा पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै नयाँ कुरा बोलेका थिएनन्, तर पनि पुरातनपन्थीहरूबाट उनको र उनका विचारको विरोधमा सामाजिक सञ्जालमा गालीगलौज ओकल्ने क्रम जारी छ ।

ककसको पूजा–अर्चना गर्ने हो कमरेड ?

हिन्दु देवीदेवता र देवताका मनुष्य अवतार मानिने राजाको पूजा गर्ने राप्रपाका नेता राजेन्द्र लिङ्देनहरूलाई मान्छे र गरिबलाई पूजा गर्नुपर्ने दाहालको मतसमेत आपत्तिजनक लागेको रहेछ । लाखौंलाख मानिसलाई मान्छे नै नमान्ने तथा चण्डाल, अछुत, नीच र शूद्र ठान्ने वर्ण–जात व्यवस्थालाई संस्थागत गर्दै आएको हिन्दु धर्मको रक्षाका लागि भारतमा जस्तै ‘मर्न–मार्न’ आह्वान गर्ने नेताहरूका लागि मान्छेलाई पूजा गर्ने विचार पनि अस्वीकार्य हुनु अनौठो होइन ।

मानिसहरू भनेका आधारभूत रूपमा असमान हुन्, उनीहरूबीच उँचनीच र विभेद हुनु नैसर्गिक भनी ठान्ने धर्मभीरुहरूको भोट घट्ला भन्ने पीर मान्दामान्दै पनि अन्धविश्वासको विपक्षमा बोलेका दाहालले खासमा पूजा–अर्चनाको विरोध गरेका थिएनन्; देवीदेवता र ढुंगाको सट्टा मान्छे र गरिबलाई पूजा गर्नुपर्ने मत मात्रै दिएका थिए, मान्छेलाई घृणा गर्ने संस्कारमाथि टिप्पणी गरेका थिए । ढुंगा र धातुमा कुँदिएका देवीदेवताको पूजा गर्ने–गराउने अन्धविश्वासी जमातलाई अचेल महाकवि लक्ष्मीप्रसाद देवकोटाको शैलीमा दाहालले ‘कुन मन्दिरमा जान्छौ यात्री ?’ भन्दै सोधे भने पनि आपत्ति हुन बेर छैन । सहिद शुक्रराज शास्त्रीका पिता र आर्य समाजका अगुवा माधवराज जोशी वा कांग्रेसका संस्थापक नेता एवं राजाबाट अपदस्थ प्रधानमन्त्री बीपी कोइरालाले जस्तै ‘पशुपतिनाथ त ढुंगाको मूर्ति न हो’ भनेका भए भक्तजनहरूले के गर्थे होलान् ?

मान्छेपूजादेखि भैंसीपूजासम्म

वास्तवमा दाहाललाई नै सोधिनुपर्ने प्रश्न हो- ढुंगाको सट्टा मान्छेलाई पुज्नु सही हो ? देवीदेवताको साटो गरिबको अर्चना गर्नु ठीक हो ? देवीदेवता वा मान्छे वा गरिबलाई पूजा–अर्चना गर्नुबीच के तात्त्विक भिन्नता छ ? यसले पूजा–अर्चनाको संस्कारलाई देवीदेवताबाट मान्छेमा स्थानान्तरण गर्नेबाहेक अरू के गर्ला ? अझ छुटाउनै नहुने सवाल के हो भने, पूजा–अर्चनालाई पनि ‘सेकुलराइजेसन’ गर्न वा धर्म, पन्थ र सम्प्रदायनिरपेक्ष बनाउन नै देवीदेवताको पूजा–अर्चना गर्ने कार्यलाई विस्तार गरीकन भैंसीपूजा गरिएको हो कि ?

सुनसरीमा २०६६ सालमा भैंसीपूजा गर्दै ग्रहशान्ति गरेका दाहालले २०७९ सालमा आएर मानिसको पूजाको वकालत गर्नुलाई पूजामा सुधार नै मान्न सकिएला । तर, आफूलाई द्वन्द्वात्मक भौतिकवादका व्याख्याता ठान्ने माओवादी पार्टीका अध्यक्ष दाहालले घुमीफिरी पूजा–अर्चनाकै पक्षपोषण गर्नुलाई सुधार मान्न सकिँदैन । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्दा मार्क्सवादी लेनिनवादी पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पशुपतिमा पूजाआजा गर्नु तथा राम–सीता–हनुमान मूर्ति बनाउनु र मन्दिरमा प्रतिष्ठापन गर्नु जसरी मार्क्सवादसँग अन्तरविरोधी कामकुरा हो, त्यसरी नै आफ्नो देवत्वकरण र पूजा–अर्चना गराउनु पनि अध्यात्मवादी र अन्धविश्वासी अभ्यास नै हो । कुनै नेता–कार्यकर्ताले आफूलाई मार्क्सवादी–लेनिनवादी र माओवादी दाबी गर्छन् र द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको वकालत पनि गर्छन् भने निजी र सार्वजनिक जीवनमा देवता वा मान्छेको पूजा–अर्चना गर्ने सहुलियत हुँदैन ।

नायकत्व र देवत्वकरणको लहर

सामन्तवादी युगमा सयौं वर्षदेखि देवीदेवताको र भगवान् ठानिएका राजा–महाराजाको पूजा गर्दै आएका मानिसहरू आजभोलि प्रजाका नेताहरूको अर्चनामा छन् । पुँजीवादी प्रजातन्त्रको कालखण्डमा पपुलिस्ट र चामत्कारिक नेताहरूको देवत्वकरण एवं भक्ति–स्तुतिबाट मुक्त हुन आफूलाई प्रजातन्त्रवादी, कम्युनिस्ट र वामपन्थी भन्ने नेता–कार्यकर्तालाई समेत गाह्रो रहेछ । यो असहज र अस्वाभाविक तथ्य बीपी कोइराला, मदन भण्डारीदेखि प्रचण्डसम्मको महिमागानबाट पनि देखिएकै हो । यतिखेर भने एउटा भीड ‘आई लभ यु बा’ भन्दै सडकमा संविधान र नेताको पूजाआजा गर्न निस्केको छ भने, अर्को जत्था ‘आई एम विथ बालेन’ भन्दै व्यक्तिविशेषकै नायकत्व निर्माण र देवत्वकरणमा मक्ख छ । बादेखि बालेनसम्मको नायकत्व र देवत्वकै विस्तार हो- पूजा-अर्चना, स्तुति, भक्ति, श्रद्धाको पक्ष ।

जर्मन नाटककार एवं कवि बर्तोल्त ब्रेख्तको नाटक ‘द लाइफ अफ ग्यालिलियो’ को चोटिलो संवाद यहाँ स्मरणीय छ । नाटकमा ग्यालिलियोका शिष्य एन्द्रियास दुःखपूर्वक भन्छन्, ‘कति अभागी छ यो धरती, जहाँ एउटा पनि नायक छैन ।’ त्यसको जवाफमा ग्यालिलियो भन्छन्, ‘होइन एन्द्रियास, अभागी उनीहरू हुन्छन्, जसलाई नायकहरूको खाँचो पर्छ ।’ यसै सन्दर्भमा चिन्तक प्रदीप गिरिले ब्रेख्तलाई उद्धृत गर्दै एउटा अन्तर्वार्तामा भनेका थिए, ‘जुन समाजलाई नायक चाहिन्छ, त्यो समाज नै अभागा समाज हो ।’ हामीलाई पनि कुनै न कुनै व्यक्तिलाई नायकका रूपमा नउभ्याईकन, उसको स्तुति नगाईकन, उसको पूजा–अर्चना नगरीकन आफू प्रजा भएको अनुभूति नै हुँदैन । यही प्रजापन, अधीनस्थपन, असहायपन, निरीहपन र एजेन्सी (अभिकर्ता) विहीनता बचाइराख्न नायक, राजा वा देवता चाहिन्छ; भक्ति–स्तुति–पूजा–अर्चनाको संस्कार जरुरी हुन्छ ।

पूजा–स्तुतिको इतिहास

इतिहासमा समुदायका नायक राजाले वंशानुगत र देव रूप लिएको इतिहास दुई हजार वर्षभन्दा कम छैन । कुनै न कुनै रूपमा मानव जातिले अमूर्त विचारको सिर्जना वा अलौकिक शक्तिको कल्पना वा देवीदेवताको निर्माणसँगै पूजा–स्तुति गर्न थालेको पनि सयकडौं वर्ष बितिसकेको छ । गोर्डन चाइल्डको भाषामा भन्दा, मानव इतिहासमा श्रमिक वर्ग र शासकमा विभाजित हुनुअघि, नगर क्रान्ति हुनुअघि न देवीदेवता थिए, न उनीहरूका प्रतिनिधि पुरोहित नै थिए, न उनीहरूलाई प्रसन्न गर्ने पूजा वा बलिजस्ता अनेक उपाय नै जानेका थिए, न त देवीदेवतालाई खुसी तुल्याएर सुरक्षाको आभास पैंचो लिने वैचारिकी नै बनिसकेको थियो । ऐतिहासिक यात्राका क्रममा मानिसहरूले लौकिक संसारमा प्रयोग गर्न औजारको निर्माणसँगसँगै अलौकिक शक्तिको कल्पना गर्न भ्याएका थिए, प्राकृतिक प्रक्रियालाई बुझ्ने वैज्ञानिक कोसिससँगसँगै काल्पनिक सत्ता पनि सृष्टि गरेका थिए ।

देवीप्रसाद चट्टोपाध्यायका अनुसार, मानव सभ्यताको विकासक्रममा वर्ग विभाजनसँगै नगर क्रान्तिलाई सम्भव बनाउने महत्त्वपूर्ण कारकका रूपमा समाजको वैचारिकीको विकास भयो, जसलाई आज साधारणतया धर्म भनिन्छ । जादु, देवदेवी, विश्वास, आस्था, निष्ठा, भक्तिजस्ता आध्यात्मिक र अलौकिक सत्ताले उत्पादनका संयोजकहरूलाई अत्यधिक शक्ति र अधिकार दिएपछि धार्मिक वैचारिकी नै सबैभन्दा प्रभावशाली भयो । अलौकिक शक्तिलाई आफ्नै प्रतिविम्बको रूप दिए पनि मानिसमाथि काल्पनिक सत्ता नै अन्ततः लौकिक सत्ताभन्दा बलियो भयो । त्यही सत्तालाई बाध्य पार्न वा प्रसन्न तुल्याउन पूजा र बलि प्रथाको थालनी गरियो, जसलाई चाटुकारिता भन्न सकिन्छ ।

अलौकिक शक्तिहरूको प्रभुत्व (डोमिनेसन) र काल्पनिक सत्ताको वर्चस्व (हेजिमोनी) कति छ भने, प्रत्येक प्राकृतिक घटना तिनको इच्छाविपरीत चल्दै नचल्ने विश्वास आम मानिसको चेतन, अवचेतन र अचेतन मनमा गढेर बसेको छ । त्यही कारण विश्वको तीन–चार हजार वर्षको कालखण्डमा अलौकिक सत्ता वा देवीदेवताको इच्छाबिना संसार नै नचल्ने अवस्थाका रूपमा बुझियो । उनीहरूको अनुमतिबिना हावा, हुरी, वर्षा, बाढी, भूकम्प, खडेरी, रोगव्याधि, महामारी र उपचार सम्भव नहुने वा जीवन–मृत्यु पनि असम्भव हुने बुझाइका साथ पूजा गरेर वा बलि दिएर प्रसन्न पार्ने संस्कार व्यापक भयो । आफैंले बनाएका देवीदेवताको चाकडी गर्दै यस्ता ‘दैवी–प्रकोप’ बाट मुक्त हुने वा मनोकांक्षा पूरा गर्ने रीतिरिवाजको नेपथ्यमा मूलतः अभिलाषा–पूर्ति रहेको मत सिग्मन्ड फ्रायडको छ ।

प्रतिमा–पूजनको लर्को

गरिबभन्दा गरिब तन्नम व्यक्तिमा धर्म, देवीदेवता र दैवी चमत्कारप्रति आस्था, विश्वास र भक्तिसँगै पूजाको प्रवृत्ति हुनुको कारण इच्छापूर्तिको प्रबल आशा, मानसिक सान्त्वना र दुःखको शमन रहेको चट्टोपाध्यायको विश्लेषण छ । यहाँ ‘धर्म जनताका लागि अफिम हो’ भन्ने कार्ल मार्क्सको प्रसिद्ध विचार उल्लेखनीय छ, जुन अपुरो उद्धृत गरिएको र अपूर्ण बुझाइ रहेका कारण विवादास्पद हुँदै आएको छ । अनेक जोडकोणबाट शोषण–दोहन, उत्पीडन र हिंसाको राज भएको समाजको चिरफार गर्दै मार्क्स भन्छन्, ‘धर्म भनेको पीडित प्राणीहरूको उच्छ्वास (दुःख–पीडाको अभिव्यक्ति) हो, हृदयहीन संसारको हृदय हो, ठीक त्यस्तै, यो आत्माहीन स्थितिको आत्मा हो । धर्म जनताका लागि अफिम हो ।’

मार्क्सलाई धर्मलाई वर्गीय सत्ताविरोधी जनविद्रोहको हतियारका रूपमा उपयोग गरिएको इतिहास थाहा नभएको होइन, न त शासक वर्गद्वारा शासन गर्ने वैचारिकीका रूपमा, विशेषतः पुरोहित समुदायद्वारा एकाधिकार प्राप्त गर्ने आध्यात्मिक अस्त्रका रूपमा दुरुपयोग गरिएको वर्तमानको ज्ञान पनि नभएको होइन । त्यसैले उनको ठम्याइ छ, आम रूपमा पीडितहरूका दुःखपीडा पोख्ने, मन शान्त पार्ने र भ्रान्तिपूर्ण सुख बाँड्ने भूमिकामा रहेको धर्मको अन्त्य तब मात्रै हुन्छ, जब जीवन र जगत्मा समग्र रूपान्तरणमार्फत दुःख वा समस्या वा शोषणको अन्त्य गर्न सकिन्छ । त्यसैले बुद्धले भनेका छन्, संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख निवारण गर्न सकिन्छ र दुःख निवारण गर्ने उपाय छन् । विडम्बनाको कुरा, दक्षिण एसियामा दुःखबाट मुक्तिका लागि सामाजिक रूपान्तरणको उपाय खोज्नुभन्दा देवत्वकरण र पूजाआजा नै बेसी प्रचलित छ, जसबाट न बुद्ध, न मार्क्स, न त उनीहरूका शिष्य नै अप्रभावित रहेको देखिन्छ ।

दुःखबाट मुक्तिको मार्ग खोज्न सघाउने बुद्धलाई नै देवत्वकरण गर्ने क्रममा बौद्ध धर्ममा कर्मकाण्ड, मन्त्रोच्चारण, पूजापाठसँगै मूर्ति निर्माणले जुन तीव्रता पायो, त्यो बुद्धको मूल्य, मान्यता र सिद्धान्तको पक्षपोषण होइन, न त विकास नै हो । इस्वी सन्को पहिलो शताब्दीको सुरुदेखि लोकप्रिय भएको बुद्धका प्रतीक वा प्रतिमाहरूको निर्माण र पूजाआजाले देखाएको छ— दुःखकष्ट हुँदा बुद्धका मूर्ति ढोगियो वा पूजा–अर्चना गरियो भने त्राण पाउन सकिन्छ । बौद्ध धर्मको यही प्रवृत्ति जैन धर्ममा पनि देखिन्छ, जहाँ महावीर र दिगम्बरहरूको प्रतिमा–पूजन व्यापक छ । हिन्दु धर्ममा ब्रह्मा–विष्णु–महेश्वरको मूर्तिपूजाको पृष्ठभूमिमा पनि दैवी–प्रकोपबाट बच्ने पुकार र मनोकांक्षा पूति गर्ने आस व्यापक छ ।

मार्क्सवादी नेताहरूको पनि पूजाआजा

यसरी हेर्दा नेपाल र दक्षिण एसियामा दुःखका कारण नखोतलीकन, निवारणका उपाय नखोजीकन दुःखमोचनको आस गर्ने फास्ट ट्र्याकको बाटामा जाने प्रवृत्ति सबैभन्दा बलियो छ । विशेष रूपमा पूजा वा बलि दिँदै, भक्तिभाव देखाउँदै, स्तुति गाउँदै पीडा शमन गर्ने वा इच्छापूर्तिको आस गर्ने रीत अझै कम भएको छैन । कतिसम्म भने, सामाजिक क्रान्तिद्वारा दुःख, पीडा, हिंसाको अन्त्य गर्ने संकल्प गरेका मार्क्सवादीदेखि लेनिनवादी र माओवादीसम्मले पनि पूजा र भक्तिको परम्परालाई बचाइराखेका छन् ।

वादको न्वारन नै व्यक्तिका नाममा गर्दै, वादका जननीहरूको जन्मदिन मनाउने सामन्ती संस्कृतिलाई निरन्तरता दिँदै, उनीहरूका विरुदावली लेख्दै, प्रचारित गर्दै यस परम्परालाई विस्तार गरिएको छ । त्यसमाथि थप, मिश्रका सम्राट्हरूका लास राख्ने पिरामिड शैलीसँग प्रतिस्पर्धा गर्ने गरी करोडौंकरोड रकमको खर्चमा लेनिनदेखि माओसम्मका लासको सङ्ग्रहालय बनाइएको छ । अन्ना लुई स्ट्रङले भनेझैं, यसले रुस र चीनका धर्मभीरु मनलाई सान्त्वना र राहत दिने कुरामा शंका गर्न सकिँदैन, तर आफूलाई नास्तिक, भौतिकवादी र द्वन्द्ववादी ठान्ने दल, सरकार र नेताहरूले कुनै न कुनै रूपमा धार्मिकता, आध्यात्मिकता र धर्मभीरुतालाई प्रोत्साहित गरिँदा सवाल पनि उठेको छ । यस्तो कामलाई लेनिन वा माओको व्यक्तिपूजाको विस्तारका रूपमा, देवीदेवताको अर्चनाकै मानवीय रूपको अर्थमा आलोचना हुँदा आफूलाई द्वन्द्वात्मक भौतिकवादी मान्ने कथित मार्क्सवादी, लेनिनवादी, माओवादी पार्टी र नेताहरूले कसरी फ्रतिवाद गर्छन्, विचारणीय छ ।

प्रकाशित : आश्विन ४, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?