भीआईपी सवारीको तामझाम र ट्राफिक व्यवस्थापन

सवारी नीति बनाउँदा फिल्डमा खटिएका अनुभवी प्रहरीको सुझाव र आवश्यकताभन्दा पनि राजनीतिक नेतृत्वको मुख ताक्ने प्रशासनिक कर्मचारीहरूको निर्णय हावी हुने गरेकै कारण सवारीपिच्छे अनेक चुनौती भोग्नुपरिरहेको छ ।
शिवजी श्रेष्ठ

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणमा ट्राफिक अस्तव्यस्ततालाई लिएर काठमाडौंका बासिन्दामा व्यापक असन्तुष्टि देखियो । यही ट्राफिक अस्तव्यस्ततालाई लिएर कलाकार निश्चल बस्नेतले चिनियाँ भीआईपी र ट्राफिक प्रहरीसँग गुनासो गर्दै सामाजिक सञ्जालमा लेखे, ‘कसैले ती भीआईपीलाई सुनाइदिनू । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरूले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यानसमेत दाउमा राखेका छन् । जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनु भएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’ 

भीआईपी सवारीको तामझाम र ट्राफिक व्यवस्थापन

जुन बेला नेपालमा लीको सवारीका लागि सबै बाटा बन्द गरिँदै थिए, सोही समय बेलायतमा नयाँ राजा चार्ल्स तृतीयको सवारी भने नितान्त सामान्य तवरमा भइरहेको थियो । राजाको सवारी चलेको एक साइड मात्रै खाली गरिएको थियो, बाटामा भिजिबल प्रहरीसम्म थिएनन्, प्रहरीको एउटा मोटरसाइकलले राजाको सवारीको एस्कर्टिङ गर्दै पछाडि सुरक्षाकर्मीले पिछा गर्ने व्यवस्था थियो, अन्य तीन मोटरसाइकलले पालैसँग राजाको सवारी कारगेडको अगाडिअगाडि गएर चोक एवम्

जन्क्सनहरूमा एक–दुई मिनेट सवारी रोक्दै राजाको सवारी पास हुनेबित्तिकै छाड्दै गरिरहेका थिए । न ट्राफिक अस्तव्यस्त, न त प्रहरी नै व्यस्तव्यस्त ।

नेपालमा कुनै अन्तर्राष्ट्रिय वा राष्ट्रिय भीआईपीको कतै सवारी हुने भयो भने काठमाडौं उपत्यकावासीले मज्जाले सास्ती खाने भइयो भनेर पहिल्यै बुझिसकेका हुन्छन्, चाहे ती जनता तोकिएको फ्लाइट टाइम भ्याउन एयरपोर्ट जानुपर्ने होऊन् वा सिकिस्त भएर एम्बुलेन्समा अस्पतालतिर गइरहेकै किन नहोऊन् । सवारी पास नभएसम्म बाटैमा रुँदै कराउँदै भए पनि कुर्नैपर्छ । त्यसरी सास्ती भोगिरहेका जनताको आक्रोशको पहिलो सिकारचाहिँ उही अगाडि उभिएका ट्राफिक तथा अन्य प्रहरीहरू नै हुने गर्छन्, भलै बाटो बन्दको निर्णय गर्नेचाहिँ प्रहरीभन्दा प्रहरीलाई कज्याउने राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व नै होऊन् । तर जनताले तिनको भूमिका देख्दैनन्, देख्छन् त घण्टौंदेखि भोकभोकै सडकमा उभिएर बाटो रोक्दै गरेका उनै प्रहरीहरूलाई । भीआईपी सवारीमा सडकमार्ग त बन्द हुन्छहुन्छ, अचम्म त तीन वर्षअगाडि जब चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका थिए, उनी उड्नुभन्दा केही समयअगाडि र उडिसकेको केही समयपछाडिसम्म काठमाडौंको आकाश पूरै खाली गराइएको थियो । के त्यो आवश्यक थियो ? यता अहिले महारानी एलिजाबेथ द्वितीयाको शवयात्रामा सहभागी हुन संसारभरिका राष्ट्रप्रमुख र सरकारप्रमुखहरू बेलायत आउँदै छन्, अमेरिकी राष्ट्रपति जो बाइडेन पनि, तर यहाँ जनताले त्यस्तो सास्ती खेप्नु पर्दैन । बाइडेन गत वर्ष पनि बेलायत आएका थिए, तर संसारकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपति आए–गएको खासै अनुभूति भएन ।

लन्डनमा संसारभरिका नेता एवम् प्रभावशाली व्यक्तित्वहरूको नियमित भ्रमण भइरहेकै हुन्छ, सुरक्षा प्रबन्ध भइरहेकै हुन्छ, सडकमार्गबाटै उनीहरू यत्रतत्र भ्रमण गरिरहेकै हुन्छन् तर सडक बन्द भएको वा कसैको भ्रमण भनेर लामो समय सर्वसाधारणका लागि सवारी बन्द गरिएको कहिल्यै सुन्न पाइँदैन । आखिर यहाँको सवारी व्यवस्थापन कसरी हुन्छ त ?

नेपालका सम्बन्धित निकायहरूले सबैभन्दा पहिले आफैंलाई सोध्नुपर्छ- विदेशबाट आउने नेताहरूको सवारी व्यवस्था यही स्तर र तामझाममा गर्नु आवश्यक छ ? छैन भने त्यही अनुसार परिमार्जन गर्नुपर्छ । विदेशी नेताहरूको भ्रमण राजकीय हो वा औपचारिक वा अनौपचारिक, त्यही अनुसारको व्यवस्थापन गर्नुपर्छ । भ्रमणको प्राथमिकता त्यही अनुसार निर्धारण गर्नु सान्दर्भिक हुन्छ । जस्तै- अहिले सभामुख अग्नि सापकोटाको निमन्त्रणामा आएका भनिएका ली चान्सुसँग सम्बन्धित कार्यक्रममा यस्तो तामझाम जरुरी थियो कि थिएन ? उनले औपचारिक भेटघाट गरिसकेपछि अनौपचारिक भेटघाटमा त्यही स्तरको सवारी तामझाम गर्नुपर्दैनथ्यो ।

हाम्रा पूर्वप्रधानमन्त्रीहरूमध्ये कोही भक्तपुर, कोही ललितपुर त कोही काठमाडौंमा बस्छन् । विदेशी पाहुनालाई उनीहरूका घरघरमा लैजानुपर्दा औपचारिक कार्यक्रममा जस्तो सवारी तडकभडक गर्नेबित्तिकै काठमाडौं उपत्यका अस्तव्यस्त अनि ठप्प हुने भैहाल्यो नि !

एउटा प्रसंग यहाँ सान्दर्भिक छ । ठीक एक वर्षअगाडिको अक्टोबरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन बेलायत आउनुभएको थियो । सम्मेलन बेलायतमै भए पनि स्कटल्यान्डको ग्लास्गोमा थियो, प्रधानमन्त्री सम्मेलनको दुई दिनअगाडि नै लन्डन उत्रिएर अन्य कार्यक्रमहरूमा सहभागी हुनुभयो । तर उहाँका ती कार्यक्रमहरूमा न बेलायती प्रहरीले कुनै सवारी प्रबन्ध गर्‍यो, न त देखिने गरी एक जना प्रहरी नै खटायो । प्रधानमन्त्री देउवा औपचारिक सवारी तामझाम नभए पनि रमाएकै देखिनुभयो । बेलायती सुरक्षा निकायहरूले नदेखिने गरी हाम्रा पाहुनाको पिछा त पक्कै गरेकै थिए होलान् । के नेपालमा चिनियाँ पाहुनाको अनौपचारिक भेटघाटको भ्रमण व्यवस्थापन त्यही किसिमले मिलाउन सकिँदैनथ्यो ? हाम्रा पूर्वप्रधानमन्त्री वा नेताहरूका घरघरमा गएर भेटघाट गराई जनतालाई घण्टौं सास्ती दिनुभन्दा नयाँ बानेश्वरको उही चीनले बनाइदिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका सबै दलका संसदीय दलका कार्यालयहरूमा पालैपालो भेटघाट गराउन सकिएको भए उपत्यकाको ट्राफिक यसरी अस्तव्यस्त हुँदैनथ्यो कि ?

अर्कातिर छ, नेपालका राष्ट्रप्रमुख, सरकारप्रमुख लगायतका भीआईपीहरूका भ्रमणको सवारी र सुरक्षा व्यवस्थापन । हिजोसम्म जनताकै माझमा रहेका विभिन्न दलका नेताहरू जसै पदमा पुग्छन्, सुरक्षा र भ्रमण व्यवस्थापन उहिलेका राजा–महाराजाको भन्दा पनि तामझामपूर्ण हुन्छ । अरू त अरू, भर्खरै सम्पन्न इन्द्रजात्राको दिनसमेत भीआईपीहरूको सवारी देख्दा मनमा स्वाभाविक रूपमा जिज्ञासा उठ्छ- सवारीसाधनदेखि अन्य सहयोग सामग्रीसम्मका लागि अरू देशसँग हात पसार्नुपर्ने नियतिले दबिएको हाम्रो देशले यस्तो तामझाम धान्न सक्छ ? पूर्व भैसकेका प्रधानमन्त्रीहरू, सभामुखहरू, गृहमन्त्रीहरू व्यक्तिगत वा पार्टीगत कार्यक्रममा जाँदासमेत अगुवा–पछुवासहितका प्रहरीका गाडीहरू चाहिन्छन् र ?

नेपालमा सवारी व्यवस्थापनको इतिहास राणा प्रधानमन्त्री जुद्धशमशेरसँग जोडिन्छ । उनको सवारी व्यवस्थापनका लागि भन्दै तत्कालीन नेपाली सेनाको राम दललाई सडकमा खटाइएको थियो । भनिन्छ, सवारी नियन्त्रण त एउटा निहुँ मात्रै थियो, राम दललाई सडकमा बोलाउनुका पछाडि बढ्दै गरेको राजनीतिक गतिविधि नियन्त्रण गर्नु थियो भनी उस बेला प्रहरीसमेत हेर्ने हजुरिया जर्नेल (पछि नेपाल प्रहरीका आईजीपी) नरशमशेर जबराले आफ्नो जीवनीमा उल्लेख गरेका छन् । हुन पनि, त्यस बखत जम्माजम्मी दसवटा मोटर पनि नेपालमा आइसकेका थिएनन् । पछि यही राम दल राणा र राजाको सवारी व्यवस्थापनमा लाग्यो, राजा–महाराजालाई आफ्नो सुरक्षा त छँदै थियो, आफूहरू प्रजाभन्दा माथि छौं भनी रोबरवाफ देखाउने रहरसमेत थियो । २०१२ माघ १ मा नेपाल प्रहरीको पुनर्गठन हुँदा, नेपाल पुलिस फोर्सको नामकरणबाट निजामती किताबखानामा दर्ता भएको सेन्ट्रल पुलिस स्टोरमातहत एमटी सेक्सन खडा गरी राजा महेन्द्रले २०२४ सालमा चार मोटरसाइकल, एउटा डज कारसमेत थप गरे र त्यसैबाट राजपरिवार एवम् देशी–विदेशी भीआईपीहरूको सवारी व्यवस्थापन गर्न थालियो । पछि यही सवारी तामझामलाई शासकहरूको चाकडी गर्ने भाइभारदारले अवसरका रूपमा प्रयोग गरिदिँदा भीआईपीहरूको सवारी व्यवस्थापन अहिलेको स्वरूपमा आइपुगेको मानिन्छ ।

अहिले शासकहरूको रहर अनि जनता र प्रहरीको कहर बन्दै गएको सवारी तामझाम अब शासकहरूकै इच्छाशक्तिबाट मात्र आवश्यकतानुसार परिमार्जन गर्न सकिन्छ । यही मेलोमा २०५४ सालको एउटा दृष्टान्त जहिल्यै सम्झन्छु, जब म वडा प्रहरी कार्यालय, महाराजगन्जको प्रमुख थिएँ । तत्कालीन अधिराजकुमारी श्रुति राणा र अधिराजकुमारी (पछि बडामहारानी) कोमल शाहसहितको राजपरिवार तीजको दिन पशुपति मन्दिर दर्शनमा जाने भयो । उहाँहरूको सवारीमा अगाडि ट्राफिक प्रहरीको गाडीमा इन्स्पेक्टर (पछि आईजीपी) सर्वेन्द्र खनाल र पछाडि मेरो नेतृत्वमा प्रहरीको गाडी थियो । ठाउँठाउँमा भीडले नचिनेर बाटो नछाडिदिँदा हामीले साइरन बजाउनुपर्थ्यो । तर जब अधिराजकुमारी श्रुति आफ्ना काका धीरेन्द्र शाहकी छोरीलाई छाड्न बाँसबारी घरमा जानुभयो, त्यसै बखत गाडीबाट ओर्लिएर उहाँका शाही पार्श्ववर्तीले मलाई भन्नुभयो, ‘इन्स्पेक्टर सा’ब, श्रुति सरकारबाट आदेश भा’छ, सवारीमा साइरन नबजाई साधारण ढंगले गरिदिनुहोला ।’ हामीले आवश्यकता परेका बेला साइरन बजाउँदा पनि तत्कालीन अधिराजकुमारीको त्यस्तो इच्छा ! अहिलेका नेता अनि नेत्रीहरू यस्ता कुराको सिको गरे !

राजनीतिक र प्रशासनिक नेतृत्वले प्रहरीलाई अहिलेको आवश्यकता अनुसार सवारी व्यवस्थापनको नीति बनाउन स्वतन्त्र तवरमा छाडिदिनुपर्छ । राष्ट्रप्रमुख वा सरकारप्रमुख लगायतका पदासीनहरूको सुरक्षा र बाधा–अड्चनविहीन सवारीको चिन्ता उहाँहरू आफैंलाई भन्दा पनि त्यसमा खटिने सुरक्षाकर्मीलाई बढी हुन्छ । बेलायतमा यस्ता सबै पक्षको अध्ययन गरेर नीति बनाउने जिम्मा स्पेसल फोर्सका रूपमा सुरक्षा निकायलाई नै दिइएको छ । उसले स्वतन्त्र तवरले परम्परा र सुरक्षा थ्रेटलाई समेत ख्याल गरी नीति बनाउने गर्छ । कुन ठाउँमा जाने वा नजाने भन्ने विषयमा पनि सुरक्षा निकायले सल्लाह दिन वा हस्तक्षेप गर्न सक्छ । त्यस्तो सुझाव वा हस्तक्षेपलाई यहाँको सरकारले स्वाभाविक रूपमा लिने गर्छ । यहाँका जनता र मिडिया पनि यसबारे जागरुक छन्, उनीहरूले बढी तामझाम वा जनताको दैनन्दिन जीवनमा सरकार वा त्यसमा बसेकाहरूबाट अनावश्यक असर पुर्‍याउने काम भएमा ‘हाम्रै कर खाएर हामीमाथि नै असर पार्ने ?’ भन्ने प्रश्न उठाइहाल्छन् ।

अहिले त्यसै पनि काठमाडौंमा सडकको लम्बाइभन्दा गाडीहरू बढी छन् भनिन्छ । काठमाडौंको पुतलीसडकमा भएको जामको असर कोटेश्वरदेखि कलंकी अनि महाराजगन्जदेखि रिङरोडसम्मै पर्ने गर्छ । त्यसैले कुनै भीआईपीको सवारीका लागि भनेर आधा घण्टा रोकिएको सवारीको असर घण्टौंसम्म परिरहन्छ ।

नेपालमा नीति बनाउनेहरूमा सम्भावित चुनौती व्यवस्थापनको उपाय पहिल्याइहाल्नुभन्दा पनि क्षणिक समाधानमा रमाउने बानी छ । भीआईपीको सवारीमा बाटाहरू बन्द गरिदिएर त्योभन्दा ठूलो चुनौती निम्त्याउने सुतुरमुर्गे परिपाटी यसैको उपज हो । हाम्रो सवारी नीति बनाउँदा फिल्डमा खटिएका अनुभवी प्रहरीको सुझाव र आवश्यकताभन्दा पनि राजनीतिक नेतृत्वको मुख ताक्ने प्रशासनिक कर्मचारीहरूको निर्णय हावी हुने गरेकै कारण सवारीपिच्छे अनेक चुनौती भोग्नुपरिरहेको छ । संसारको सबैभन्दा बढी जनघनत्व अनि सवारी चाप भएको सहर लन्डन अनि संसारका करिब साढे ५ अर्ब मानिसले टीभीमा प्रत्यक्ष प्रसारण हेरेको भनिएको बेलायतका नयाँ राजाको दरबार आगमनको सवारी व्यवस्थापन त केही छिन एकतर्फी बाटो मात्रै बन्द गरेर गर्न सकिँदो रहेछ भने काठमाडौंजस्तो सानो सहरमा झन् किन नसकिने ?

नेपाल प्रहरीका पूर्वअधिकृत श्रेष्ठ हाल बेलायतको ह्याम्प्सायर पुलिस कान्स्टेबुलरीका सल्लाहकार छन् ।

प्रकाशित : भाद्र ३१, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?