सम्पादकीय

डेंगुविरुद्ध अभियान चलाऊ

सम्पादकीय

डेंगुको संक्रमण द्रुत गतिमा फैलिरहेको छ । अहिलेसम्म ११ हजारभन्दा बढी संक्रमित हुँदा ११ जनाले ज्यानै गुमाइसकेका छन् । अढाई महिनायता संक्रमितको संख्या अकासिएको छ । अस्पतालहरूमा चाप बढ्दो छ । भर्ना भएरै उपचार गर्ने तथा सघन उपचार कक्ष (आईसीयू) सम्मै पुग्ने बिरामीको संख्या थपिँदो छ ।

डेंगुविरुद्ध अभियान चलाऊ

यसको रोकथाम र नियन्त्रणमा ध्यान नदिइए अवस्था भयावह हुने जोखिम छ । संक्रमणबाट बच्ने एउटै उपाय यो रोग सार्ने लामखुट्टेको टोकाइबाट जोगिनु हो । तसर्थ सरकार, नागरिक र समुदाय सबैले डेंगु सार्ने लामखुट्टेको फुल र लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गर्नु अपरिहार्य छ ।

देशैभर फैलिसकेको संक्रमणबाट काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रूपन्देही, दाङ, धादिङ, तेह्रथुम, काभ्रेपलान्चोक र चितवन बढी जोखिममा छन् । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यी जिल्लामा मात्र ९ हजार जनाभन्दा बढीमा संक्रमण पाइएको छ । त्यहाँका संक्रमण बढी फैलिएका स्थानमा लामखुट्टेको फुल र लार्भा खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्न ढिलाइ भैसकेको छ । सम्बन्धित पालिका, वडा कार्यालय, स्थानीय सामाजिक संघसंस्था र समुदाय सबै यसतर्फ चिन्तित हुनुपर्छ ।

डेंगु भाइरस एडिस एजिप्टाई लामखुट्टे र एल्बोपिक्टस जातका पोथी लामखुट्टेबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिमा सार्छ । घाम उदाएको दुई घण्टादेखि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडिसम्म यो लामखुट्टे बढी सक्रिय हुन्छ । त्यसैले उक्त अवधिमा बढी सतर्कता अपनाउनुपर्छ । लामखुट्टेबाट जोगिन शरीर पूरै ढाक्ने लुगा लगाउने वा हात–गोडामा यसले नटोक्ने स्प्रे छर्कने वा मल्हम लगाउने गर्नुपर्छ । सुत्दा झुलको प्रयोग गर्नुपर्छ ।

टिनका डब्बा, प्लास्टिकका खोल, टायर, सिसी, अण्डाका बोक्रा, ड्रम, गमला, पानी ट्यांकीजस्ता पानी जम्ने भाँडामा यो लामखुट्टेले फुल पार्छ । त्यसैले यसलाई हुर्कनै नदिन घरभित्र मात्र होइन, वरिपरि पनि पानी जम्न दिनु हुँदैन । भाँडाकुँडा, गमला, छत, बरन्डा, बार्दली लगायत घरका सबै अन्तरकुन्तरमा ध्यान पुर्‍याउनुपर्छ । एउटा मात्रै लामखुट्टे छुट्यो भने पनि त्यसको वंशवृद्धिले छोटो समयमै टोल नै प्रभावित पार्न सक्छ । घर–घरमा नागरिक स्वयं सचेत हुने र सरकारी संयन्त्र तथा समुदायको सहयोग लिने, अनि सार्वजनिक स्थानमा सबै मिलेर अभियान चलाउने हो भने लामखुट्टेको फैलावट रोक्न सकिन्छ । जनघनत्व बढी भएका काठमाडौं, ललितपुर, भक्तपुरमा स्वाभाविक रूपमा अझ बढी जोखिम छ । यहाँका पालिकाहरूले डेंगु रोकथाम र नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतासूचीमै पार्नुपर्छ । यसमा आवश्यक अभिमुखीकरण एवं प्राविधिक सल्लाह र सहयोगका लागि स्वास्थ्य मन्त्रालयले सघाउनुपर्छ ।

प्रभावकारी अभियान नचलाइएमा कम्तीमा ‘पोस्ट मनसुन’ अर्थात् कात्तिक–मंसिरसम्म प्रकोप जारी रहन सक्छ । यसको फुल र लार्भा नष्ट नगरिए आगामी वर्ष संक्रमण अझ भयावह हुन सक्छ । कारण, लामखुट्टेको फुल ८–९ महिनाभन्दा बढी समय बाँच्न सक्छ । र, यस पटक नष्ट हुनबाट जोगिएको फुल पुनः अर्को वर्ष पानीको सम्पर्कमा आउनासाथ लामखुट्टे बन्ने सम्भावना हुन्छ । लामखुट्टे र त्यसको लार्भा नष्ट गर्न औषधि छर्कने अभियान चलाउँदा अन्तर्राष्ट्रिय रूपमा वर्जित विषादीहरूको प्रयोग भने गर्नु हुन्न ।

संक्रमितमध्ये धेरैमा कडा ज्वरो आउने; टाउको, पेट र जिउ दुख्ने; खान मन नलाग्ने; वाकवाकी, वान्ता हुने; एकदमै कमजोरी अनुभव हुनेजस्ता लक्षण देखिएका छन् । यस अतिरिक्त, आँखाको गेडी दुख्ने; हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने; रिँगटा लाग्ने; श्वासप्रश्वासमा समस्या आउने; नाक वा गिजाबाट रगत बग्ने; रक्तस्राव हुने; बेहोस हुनेजस्ता समस्या पनि देखिन सक्छन् । त्यसैले यी लक्षण देखिएमा स्वास्थ्य संस्था पुगेर परीक्षण गराउनुपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार छिटो रोग पत्ता लगाई उचित चिकित्सकीय हेरचाह पुर्‍याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ ।

समस्या के छ भने, डेंगु संक्रमण तीव्र बनेकै बेला औषधिपसलहरूमा पारासिटामोल अभाव सुरु भएको छ । फार्मेसी सञ्चालकहरूका अनुसार महिनायता सिटामोल आएकै छैन । जबकि, डेंगु संक्रमण भएका बेला ज्वरो तथा दुखाइ कम गर्न ‘पेनकिलर’ नभएर पारासिटामोल मात्र खानुपर्ने सुझाव चिकित्सकहरूको छ । तसर्थ, सरकारले पारासिटामोलको अभाव हटाउन ठोस पहल गर्नुपर्छ । उसले आफू अन्तर्गतको नेपाल औषधि लिमिटेडलाई सिटामोल उत्पादनको मात्रा बढाउन निर्देशन दिनुपर्छ, र यसका लागि निजी औषधि कम्पनीहरूसित पनि आग्रह गर्नुपर्छ । संक्रमितहरूले चिकित्सकको सिफारिसबिना पारासिटामोलबाहेक अरू औषधि खानु हुँदैन । झोलिलो तथा पोषिलो खाने कुरा अधिक मात्रामा खानुपर्छ । शरीरमा पानीको कमी हुन दिनु हुन्न । दिन बिराएर प्लेटलेट्सको जाँच गर्नु उचित हुन्छ ।

नागरिकहरू सतर्क र स्थानीय सरकार–समुदाय सक्रिय भएमा मात्रै डेंगु नियन्त्रणमा आउन सक्छ, नत्र अवस्था अझ भयावह हुन सक्छ । त्यसैले संक्रमण रोकथाम र नियन्त्रणका लागि सम्बन्धित सबै जिम्मेवार हुनुपर्छ ।

प्रकाशित : भाद्र ३१, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?