२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सैनिक बर्दीले छेकिएको घाउ

सैनिकहरू जीवनभर कुनै भूगोलको रक्षार्थ शिर ठाडो पारी बाँच्छन् । त्यसैले उनीहरू आफूलाई मानसिक समस्या पर्‍यो भनी हत्तपत्त कमजोर देखिन चाहँदैनन् ।
सफल घिमिरे

बम, बारुद, लडाइँ र रक्तपातका विभीषिका प्रत्यक्ष बेहोरेका सैनिकहरूमा पछि ती स्मृतिले मानसिक आघात देखिने समस्या अहिले धेरै मुलुकमा छ । राजनीतिक इतिहासका कतिपय विन्दुमा युद्ध सैन्य जीवनको अनिवार्य पाटो बन्छ, जस्तै— हाम्रो दसवर्षे माओवादी युद्ध । हामी बाँचेको भूगोलका कतिपय कुनामा लडाइँ नित्य सत्य हो, जस्तै— कश्मीरको सीमाद्वन्द्व । नेपाली युवा भरभराउँदो उमेरमा यस्तै जटिल युद्धभूमिमा लड्न पठाइएका छन् । सीमायुद्धमा खटाइएका छन् । गृहयुद्धमै परिचालित भएका छन् ।

सैनिक बर्दीले छेकिएको घाउ

पछिल्लो पटक त भारतीय सेनाको अग्निपथ योजना अन्तर्गत आवधिक रूपमा भर्ती गर्ने कुरा पनि आएको छ । स्वदेशी होऊन् वा विदेशी, भर्ती योजनाहरूले जागिरमा छँदाका सेवासुविधाबारे बढी र जागिरपश्चात्को मानसिक कल्याणबारे कम चासो दिने गरेका छन् ।

यो शताब्दीको सुरुदेखि नै दसौं मुलुकका सैनिक इराक र अफगानिस्तानमा लामो लडाइँमा होमिए । युद्ध त थामियो, तर दीर्घकालसम्मै तिनको मस्तिष्कमा लडाइँको विभीषिकाले ठाउँ छोडेन । तिनको मानसिक उपचार खर्चले विराट् ढुकुटी रित्तियो । यसरी युद्धको सामाजिक मूल्य अर्बौं डलर पर्ने देखिएपछि बल्ल सैनिकका मानसिक स्वास्थ्यमाथि अध्ययन–अनुसन्धानहरू थालिएका छन् । हामीले पनि माओवादी युद्ध बेहोर्‍यौं । २०६२ सालसम्म लडाइँमा होमिएका कति माओवादी र सरकारी सैनिक घर फर्के, कति अझै सेवारत छन् । तिनको मानसिक अवस्थितिबारे भने खासै चासो–चर्चा कतै पाइँदैन ।

मानवमस्तिष्क संसारकै एक अद्भुत र क्लिष्ट रचना हो । मानिस जन्मे–हुर्केको समाज, पारिवारिक परिवेश र जीवनमा देख्नु–भोग्नुपरेका परिस्थितिले मस्तिष्कका विभिन्न तन्तुलाई असर पार्छन् । सैन्य जीवनमा लडाइँ, सहकर्मीको मृत्यु, क्रोधको चरमोत्कर्ष, चुनौतीपूर्ण अपरेसन आदि बेहोर्नुपर्छ । आफैंले नभोगे पनि हिंसा, सहकर्मीको आत्महत्याजस्ता घटनाबारे निरन्तर सुन्दा कतिपयलाई दिक्क लागिरहने र पीडितको पीडा आफैंले महसुस गर्ने अवस्था आउँछ । यस्तो आघातलाई मनोविज्ञानमा भिकेरस ट्रमा भनिन्छ । यसले नैराश्यभाव उत्कर्षमा पुर्‍याउँछ । संवेग नियन्त्रण गर्न मुस्किल बनाउँछ । परिणामतः कतिपयले अपराध गर्छन्, कतिले आत्महत्या । जस्तै— सन् २००१ पछि ८,००० अमेरिकी सैनिक विदेशमा युद्धमा मारिए, तर ३०,००० ले आत्महत्या गरे । अहिले पनि त्यहाँ प्रत्येक दिन औसत २० पूर्वसैनिकले आत्महत्या गरिरहेका छन् । सैनिकहरू जीवनभर कुनै भूगोलको रक्षार्थ शिर ठाडो पारी बाँच्छन् । त्यसैले उनीहरू आफूलाई मानसिक समस्या पर्‍यो भनी हत्तपत्त कमजोर देखिन चाहँदैनन् ।

मस्तिष्क बिथोलिँदा भावनात्मक इन्द्रियहरू वशमा हुँदैनन् । अपराधशास्त्र भन्छ, यस्तो मानसिकता अपराध गर्न सक्ने सबैभन्दा सम्भाव्य अवस्था हो । मानसिक स्वास्थ्यमा सघाउने कोही नहुँदा यस्तो अवस्थामा केहीले बाटो बिराउँछन् । अनि बाँकी जीवन लज्जित भई त्यही समाजमा शिर निहुर्‍याएर बाँच्नुपर्छ । सैनिक हुँदैमा मानसिकता आपराधिक हुने होइन, तर सामान्य मानिस र सैन्य पृष्ठभूमिका मानिसले गर्ने अपराधको परिस्थिति फरक हुन्छ । जागिर–जीवन र अवकाशउप्रान्तको जीवनमा सैनिकहरूको मानसिक स्वास्थ्यमा लगानी गर्न सके यस्ता समस्यालाई धेरै घटाउन सकिन्छ ।

मानसिक समस्यामा जेलिएर अपराध गर्न पुगी कारावास भोगिरहेका पूर्वसैनिकबारे हाम्रो ध्यान झनै पुगेको छैन । संसारमा सबैभन्दा उच्चतम कैदीदर (प्रति १ लाख मानिसमा ६५५ कैदी) भएको अमेरिकामा अनुमानित १ लाख ८१ हजार पूर्वसैनिक जेल वा न्यायिक निगरानीमा छन् । त्यहाँको न्याय मन्त्रालयका अनुसार यो संख्या त्यहाँको कुल कैदी संख्याको ८ प्रतिशत हो । बेलायतमा भने कुल कैदीको ३.५ प्रतिशत पूर्वसैनिक छन् । अरू धेरै मुलुकमा यस्तो तथ्यांक भेट्नै गाह्रो छ ।

भियतनाम युद्ध लडेका अमेरिकी सैनिकहरूले सैन्य जीवनपछि हिंसा र अपराधमा लाग्ने सम्भावनाबारे अमेरिकाको सिरक्युस युनिभर्सिटीका क्रिस रोल्फ्सले अध्ययन गरेका थिए । यो अनुसन्धानले लडाइँमा होमिएका र सामाजिक–आर्थिक रूपमा पनि पछि परेका सैनिकको समूहचाहिँ अपराध गर्ने जोखिममा धेरै परेको देखाउँछ । यस्ता पूर्वसैनिकको आत्महत्या दर पनि कहालीलाग्दो छ । आत्महत्या गर्नेमध्ये धेरैलाई सैन्य अनुभवले मानसिक आघात पारेको थियो । त्यसमाथि व्यक्तिगत जीवनको चोट पनि थपियो । यस्तै हानिको विश्लेषण गर्दा अमेरिकालाई भियतनामसँगको युद्धको सामाजिक मूल्य ६५ अर्ब डलर परेको अनुमान गरिएको छ ।

भारत, बेलायत, सिंगापुर र ब्रुनाईका फौजमा काम गरेका र हिंसात्मक घटनाका साक्षी हुनुपरेका थुप्रै नेपाली जवान छन् । जागिर…–जीवनपछि तीमध्ये अधिकांश नेपालमै जीवन बिताउने हुन् । तर तिनको मानसिक स्वास्थ्यमा के भइराखेको छ भन्ने ख्याल नगरिँदा देश र ती सैनिक दुवैलाई घाटा छ । सामाजिक सञ्जालभर तिनको साहसको मात्रै बारम्बार चर्चा भइरहँदा हामीले तिनको मानसिक पीडालाई ध्यान दिएजस्तो फिटिक्कै देखिँदैन । आखिर बारुद र रगतको राप र तापले त सबै मानव–मस्तिष्कलाई उस्तै प्रभाव पार्छन् ।

यस्तै अर्को अवस्था हो, संसारका सबैभन्दा जटिलतम भूगोलहरूमा शान्तिसेना भएर खटिने नेपाली जवानहरूको । आज पनि करिब ५,६०० नेपाली सैनिक शान्तिसेनामा छन् । तिनले नेपालमा परम्परागत सैन्य तालिम लिएका हुन्छन् । राष्ट्रसंघजस्तो विशिष्ट मिसनमा खटिँदा नयाँ भौगोलिक चुनौतीहरू हुन्छन् । रणशैली र कार्यसञ्चालन प्रक्रियाका मानक (स्ट्यान्डर्ड अपरेटिङ प्रसिजर) पनि फरक हुन्छन् । त्यसमाथि दोहोरो भिडन्त र काटमारका घटनाले बनाउने स्मृति अमिलो घाउ बनेर बल्झिरहन्छ । यसले जीवनभर नै मानसिक आघात पुर्‍याउँछ । बेलायती सशस्त्र फौजका शान्तिसेनामा गरिएको अध्ययनले कुल सहभागी सैनिकको ६ प्रतिशतसम्ममा आघातपश्चात् हुने मानसिक गडबडी (पोस्ट–ट्रमाटिक स्ट्रेस डिस्अर्डर— पीटीएसडी) भएको पाइएको छ । तर यो तथ्याङ्क शान्तिसेनामा सहभागी अन्य मुलुकका सैनिकको दाँजोमा कम मानिएको छ । यसको मतलब संस्थागत चालचलन र रणनीतिक अभ्यास बेलायती सेनाजत्तिको गुणस्तरीय नभएका मुलुकका शान्तिसेनामा पीटीएसडीको दर योभन्दा धेरै हुने निश्चित छ ।

सैनिक अनुभव भएका कति व्यक्ति किन र कसरी जेल परेका छन् भन्ने अनुसन्धान अहिले विभिन्न मुलुकमा थालिएका छन् । तर धेरै देशमा यस्ता तथ्याङ्क छ्रैनन् । केही मुलुकमा कैदीहरूलाई विगतमा सैनिक पेसामा रहेको हो भने खुलाउन प्रोत्साहित गरिन्छ । यसले पूर्वसैनिकलाई अपराधबाट पुनःस्थापन गर्ने विशिष्ट बाटो पहिल्याउन सजिलो हुन्छ । तर त्योभन्दा महत्त्वपूर्ण कामचाहिँ तिनको जीवनलाई नै तनावरहित बनाउनु र खराब बाटामा जानबाट रोक्नु हो ।

समष्टिमा, पूर्वसैनिकले गर्ने अपराधलाई अन्य अपराधझैं हेर्न मिल्दैन । सैनिकको मानसिक स्वास्थ्यलाई ख्याल राख्ने गरी नीतिनिर्देशन र लगानी भइदियो भने तिनको पारिवारिक कल्याण र समाजको सुरक्षा दुवैलाई फाइदा पुग्छ । यो मुद्दा सैनिक कल्याणकारी कोषको विशिष्ट प्राथमिकतामा परोस् । सैनिक श्रीमती संघजस्ताले उठाऊन् । रक्षा मन्त्रालयले गम्भीर भई आत्मसात् गरोस् । भारत र बेलायती सेनाले जिम्मेवारीबोध गरून् । सम्मानजनक रोजगारीको प्रलोभन दिँदै युवालाई सेनामा भर्ती गरेर मात्रै पुग्दैन, जीवन रहुन्जेल मानसिक आघातले ती सैनिक अँध्यारो कुनामा नधकेलिऊन् भन्न आवश्यक कदम पनि चाल्नैपर्छ ।

प्रकाशित : भाद्र ३०, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?