हिंसामाथि निर्मम बहस गरौं- विचार - कान्तिपुर समाचार

हिंसामाथि निर्मम बहस गरौं

यौनक्रियाका लागि सहमतिको उमेर तोक्दा त्यसमा सँगै जोडिएर आउने सबै किसिमका परिणामहरू झेल्ने आत्मविश्वास, आत्मनिर्भरता र सामर्थ्यलाई समेत विचार गरिएको हुनुपर्छ भन्ने सामान्य अनुमान गर्न सकिन्छ ।
सरिता तिवारी

यौनहिंसा कहीँ पनि र कुनै पनि सर्तमा मान्य हुने वा जायज ठहरिने विषय होइन । त्यसमाथि पनि जबर्जस्ती करणी जघन्य अपराधको कोटिमा राखिएको कसुर हो ।

कसैले तथ्य, प्रमाण र स्थितिजन्य साक्ष्यसहित आफू वा आफ्नो संरक्षणमा रहेको व्यक्तिमाथि यस्तो अपराध भएको छ भनी उजुरी गर्दा कुनै दबाब र प्रभावबिना गरिएको अनुसन्धानले उक्त अपराध ठहर हुन्छ भने अरूले यसमा टीकाटिप्पणी गर्नु वा प्रचलित कानुनलाई दोष दिनु गलत हुन्छ । तर यतिखेर, यौनजन्य कसुरमा आरोपित व्यक्तिको ख्याति र लोकप्रियताकै आधारमा जेजसरी न्यूनतम विवेकको धज्जी उडाएर प्रचलित कानुन र पीडित/जाहेरीवालीको अपमान गरिएको छ, त्यसमाथि निर्मम छलफल हुनु आवश्यक देखिन्छ ।

०००

‘महिला’ हरेक समाजमा धर्म, वर्ग, वर्ण र जातभित्रै अन्तर्भूत एउटा त्यस्तो ‘क्लस्टर’ हो जो हजारौं वर्षदेखि संरचनात्मक विभेद, हिंसा, घनघोर अपमान, कठोर नैतिक घेराबन्दी र लाञ्छनाहरूको मनो–सामाजिक आतंकले प्रताडित छन् । ‘आधा धरती’ भनेर अलंकार दिइने यो सिंगो समुदायले खेपेजसरी लगातार हजारौं वर्ष लामो कोप, अन्याय र दमन खेप्ने अर्को समुदाय छैन । दमनकारी संरचनाका पत्रेदार शोषण–शृंखलाभित्र र तीदेखि बाहिर दुवैतर्फ महिलाले सांस्कृतिक अधीनस्थताका कारण भोग्नुपर्ने सबै प्रकारका विभेद त भोगेकै छन्, तीबाहेक पनि जन्मसिद्ध रूपमा यौनांग सँगै लिएर बाँचिरहेको शारीरिक–मानसिक त्रासदीले थिलथिलो परेका छन् । त्यति मात्र होइन, आफूमाथिको हिंसाविरुद्ध न्यायिक अपिल र विद्रोह गर्दासमेत भोग्नुपर्ने तमाम लाञ्छना र प्रहारहरूको एकोहोरो निसाना पनि महिला नै बन्नुपरेको यथार्थबीच उभिएर कठोरतापूर्वक सोच्नुपर्ने भएको छ ।

शिक्षा, आलोचनात्मक चेतना र विश्वव्यापीकरणका स्वाभाविक प्रभावले समाज नयाँ रूप, नयाँ संरचनातर्फ संक्रमण गर्ने क्रममा छ । महिलामाथिका परम्परित नैतिक आग्रह क्रमशः खण्डित भइरहेका छन् । स्त्री–पुरुषबीचका सांस्कृतिक–आर्थिक सम्बन्धका आयामहरू बदलिँदै छन् । विभेदहरूलाई स्थायी बनाइरहन खोज्ने सबै खालका संस्थागत भित्ता र पर्खालहरू दिनानुदिन भत्कने क्रममा छन् । यसले ऐतिहासिक–संरचनात्मक रूपमै दमित र अधीनस्थ स्थितिमा बसेका महिलाहरूलाई नयाँ आत्मविश्वास र संघर्षको चेत दिएको छ । तर परम्परित सहुलियत र सुविधामा टसमस नभई हिंसाको वैधकरण गर्न बानी परेको एउटा ठूलो तप्का पनि यहीँ छ जुन वर्ग–क्षेत्र–जात–लिंग र पहिचानहरूबीच पूरै ‘इन्टरलक्ड’ भएर बसेको छ । एक थरी अन्याय, विभेदकारी–हिंसाकारी विषय र प्रसंगमा ‘प्रगतिशील’, रूपान्तरणकारी देखिने व्यक्ति उस्तै अर्को विषयमा घोर अनुदार, असहिष्णु र हिंसावादी देखिन्छ । आपसमा पूरै बटारिँदै जोडिएका मानिसहरूको यो जालो तोड्नु हिजो राजतन्त्र फाल्न या गणतन्त्र ल्याउन लडिएको सोलोडोलो ‘क्रान्ति’ गर्नुभन्दा कैयौं गुणा बढी जटिल रहेछ भन्ने कुरा अनुभवहरूले पुष्टि गर्दै छन् ।

०००

जबजब यौनजन्य हिंसा र बलात्कारजस्ता मुद्दा सतहमा आउँछन्, त्यसको परिणतिको जिम्मेवारी र दायित्व महिलामाथि मात्रै थोपर्न उद्यत प्रतिक्रियाहरू यति दारुण र विवेकहीन छन् कि आफू यही समाजमा बाँच्दै छु भन्ने ठान्न सकस हुन्छ । पछिल्ला महिनाहरूमा सार्वजनिक भएका यौनहिंसाका ‘केस’ माथि व्यक्त अधिकांश टिप्पणीबाट स्पष्ट देखिन्छ, समाजको ठूलो तप्का एकनास र निरपेक्ष रुपले महिलाद्वेषी त छ नै, समग्र राजनीतिक आन्दोलनका उपलब्धिपछि बनेका मानवमर्यादाजन्य कानुनविरोधीसमेत छ । कलाकार सन्तोष पन्त वा शिव परियार, पूर्वप्रशासकसमेत रहेका भीम उपाध्याय र श्यामप्रसाद मैनालीदेखि ‘विज्ञ’ भनिने मदन राईसम्मले पितृसत्ताको उत्तरदानमा प्राप्त सुविधामूलक स्थानको ओटमा सार्वजनिक स्पेसबाट जे भन्दै छन्, तिनका ‘फ्यान–फलोअर्स’ हरूलाई मात्रै होइन, धेरैलाई लागेको छ- कुरो त ठीक हो ! देशको प्रचलित कानुन अनुसार एउटा न्यायिक प्रक्रियाभित्र प्रवेश गरिसकेको संवेदनशील विषयमा व्यक्ति–व्यक्तिलाई जे लाग्यो, त्यो भन्दै हिँड्ने र ठूलो संख्यामा मानिसहरूलाई दिग्भ्रमित बनाउने छुट यी महाशयहरूलाई छ ? राज्यको स्रोत, शक्ति र लोकप्रियताको दुरुपयोग गरेर यी मानिसहरू जाहेरीवाली सत्रवर्षे नाबालिगमाथि भएको जबर्जस्ती करणीजस्तो संगीन विषयमा दिएका अभिव्यक्तिका लागि कारबाहीभागी हुनुपर्दैन ?

हिंसामाथिको कानुनी र नैतिक उपचारको बाटो खोज्दा हरेकपल्ट जुनसुकै उमेर र अवस्थाकी महिलामाथि नै थोपिने नियमित शैली हो- पीडितमाथिकै लान्छना र प्रहार अर्थात् भिक्टिम ब्लेमिङ र सेमिङ । ‘वरिष्ठ’ को पगरी लगाएका कानुनकर्मीहरू नै बलात्कार मुद्दालाई ‘सेलेब्रिटी फँसाएर लाखौं कमाउने’ व्यवसाय र एनजीओ/आईएनजीओको नामबाट करोडौं डलर कुम्याउने खेलोफड्को भन्दै मिडियामा आउँछन् । जबकि ‘डिफेन्स’ का नामबाट आरोपित संरक्षण गरेरै तिनको ‘व्यवसाय’ धानिएको हुन्छ । तिनलाई आरोपितको ‘डिफेन्स’ गर्ने हक जति छ, नाबालिग उमेरकी पीडित वा पीडितको मुद्दामाथि समभाव राख्ने पंक्तिलाई न्यायका निम्ति बोल्ने र कानुनी उपचार पाउने हक त्यति नै छ भन्ने हेक्कासम्म नराखी सार्वजनिक स्पेसमा कानुनकर्मीहरू बोल्न मिल्छ कि मिल्दैन ? त्यस्ता अभिव्यक्तिले यौनहिंसालाई सामान्यीकरण गर्दै लैजाने र पीडितलाई नै दोषभागी बनाएर हिंसाको वैधकरण गर्छन् कि गर्दैनन् ? राज्यका जिम्मेवार निकायहरूले अविलम्ब ध्यान दिऊन् ।

०००

कानुन अतीतदर्शी होइन, वर्तमानका अनुभवबाट भविष्यदर्शी भएर निर्माण हुनुपर्छ । सारवान् कानुनको लक्ष्य नै हिजो वा अस्ति होइन, आज र भोलि हो । समाजलाई मर्यादा र अनुशासनमा राख्न कतिपय परम्परा र मूल्य–मान्यताको अहम् भूमिका हुँदाहुँदै पनि कैयौं सामाजिक विभेद, रूढि र गलत सांस्कृतिक अभ्यासहरूले गर्दा नैतिकता र मर्यादाका नाममा सबै परम्परा बिनासर्त रक्षा गर्नलायक हुँदैनन् । कतिपय सोच, चलन र तौरतरिकालाई निर्ममतापूर्वक उखेलेर फ्याँक्नुको विकल्प नै रहँदैन । आदर्श, समताकारी र सभ्य मानवसमाजका लागि ती विषतुल्य हुन्छन् । तिनैमध्येको एउटा हो- स्त्री–पुरुषबीचको यौन र यौनसम्बन्धबारे रहेको प्रचलित दृष्टि जसले यौनक्रिया (सेक्स) स्त्री शरीरमाथि अतिक्रमण गर्दै उसको स्वत्वमाथि नै शासन गर्ने हतियारका रूपमा बुझ्दै–बुझाउँदै आएको छ । ‘पुरुषका लागि’ शारीरिक आनन्द र वंश/उत्तराधिकारी उत्पादनको ध्येय नै यौनक्रिया हो भन्ने बुझिँदै आइएको र महिला पुरुषकी अधीनस्थ निष्क्रिय कर्ता मात्रै हो भन्ने ठान्ने गरिएकैले पहिलेका ‘थिति बसाल्ने’ भनिएका कानुनमा समेत महिलामाथिका करणीजन्य कसुरको क्षतिपूर्ति वा दायित्व पीडित महिलासँग होइन, उसको लोग्ने वा पितासँग रहने गर्थ्यो । त्यति मात्र नभई, ‘घटी–बढी जात’ अनुसार, ‘मासिन्या–नमासिन्या’ पहिचान अनुसार करणी कसुरका परिभाषा र सजायसमेत भिन्दाभिन्दै हुन्थे । यी सबैको लहरो उक्त महिलाको लोग्ने वा पतिको पहिचान/ स्थितिअनुकूल हुन्थ्यो । मुलुकी ऐन–१९१० को ‘करणी गर्न्याको’ महलमा यी सबै कुरा भेटिन्छन् ।

समयक्रममा ठूला राजनीतिक परिवर्तनका कारण जातीय र जातजन्य विभेदविरुद्धका कानुनसँगै लैंगिक उत्पीडनविरुद्ध समेत नयाँ कानुनहरू निर्माण भए । मानवीय मर्यादा र आदर्शका नयाँ रूपकहरू बने । देशको न्यायपालिकामा पेस भएका कैयौं मुद्दाका नजिरबाट प्रतिपादित न्यायिक दृष्टिकोणसमेत बने । त्यसै अनुसार कानुनहरूमा संशोधन र परिमार्जन मात्रै भएनन्, हाल सम्पूर्ण रूपले नयाँ कानुनको लेखन र प्रचलन नै भएको छ । यसका लागि इजलासभित्र र बाहिरका कानुनी बहस र अभ्यासका अनेकौं अनुभव, सयौं मानिसले गरेको अनुसन्धान, विवेक र ऊर्जा लागेको छ । कतिपयका तर्क सुनिन्छन्, सहज मानवीय आकर्षण र उद्वेगको उमेरलाई कानुनले रोक्न पाइँदैन । कतिपय भन्छन्, नेपाली समाजको संरचना र कहीँकहीँ अझै पनि बालविवाह गर्ने चलनका हिसाबले नाबालिग उमेरको सीमा घटाइनुपर्छ । कतिपय त अझ केसम्म भन्छन् भने, १८ वर्षे उमेरहदका कारण जबर्जस्ती करणीका मुद्दा बढे, पीडित ‘नाबालिग’ छिन् भन्दै होनहार सेलेब्रिटीहरू फँसाइए ! यसो भन्नेमा मन्त्रीदेखि अधिकारकर्मीसम्मै छन् । करणी सम्बन्धी हाल प्रचलित कानुन निर्माण गर्ने तत्कालको विधायकी मनसाय के थियो, सम्बन्धित व्यक्तिहरूले धेरै गहिरोसँग भन्न र बुझाउन सक्लान्, तर न्यूनतम मानवीय विवेकको आँखाबाट हेर्दा पनि के देखिन्छ भने अतीतको सांस्कृतिक अभ्यासले यौनसम्बन्धलाई कसरी हेर्थ्यो भन्ने कोण अब आधारहीन र बेकम्मा भैसकेको छ । यौनक्रियाका लागि सहमतिको उमेर तोक्दा त्यसमा सँगै जोडिएर आउने सबै किसिमका परिणामहरू झेल्ने आत्मविश्वास, आत्मनिर्भरता र सामर्थ्यलाई समेत विचार गरिएको हुनुपर्छ भन्ने सामान्य अनुमान गर्न सकिन्छ । हालको कानुनले तोकेको ‘सहमतिको उमेर’ माथि प्रश्न उठाउनेहरूले उत्तर दिऊन्, के अहिलेकै जसरी बलात्कार मुद्दामा जाहेरी दिने अवस्थामा स्वयम् तिनका बहिनी, छोरी वा नातिनीहरू परेको खण्डमा पनि तिनको तर्क यही हुन्छ ?

तीतो सत्य हो, आज पनि नेपालमा यौनजन्य हिंसालाई कुनै हिंसा नै मानिँदैन । आम वर्ग र ‘परम्परावादी/प्रतिक्रियावादी’ कित्ताका दलहरूमा मात्रै होइन, क्रान्तिकारी दाबी गरिरहेका पार्टी, समूह र कार्यकर्ता पंक्तिसम्ममा यौनहिंसाको सामान्यीकरण कति डरलाग्दो छ भन्ने कुरा कम्युनिस्ट पार्टीभित्र प्रभावशाली राजनीति गरेका ठूलठूला नामहरूका सार्वजनिक र असार्वजनिक इतिवृत्तहरूले आफैं बताउँछन् । यौनहिंसा कुनै पनि दलको छलफलको एजेन्डा नै बन्दैन । कथम् बनाइयो भने सम्भवतः परिणाम अपार र भयावह रूपले आउन सक्छ । त्यसैले राजनीतिक दलहरू यी विषयमा चुइँक्क पनि बोल्दैनन् । संसदीय राजनीतिलाई दलाल पुँजीवादी र ‘हिंसा संरक्षक’ करार गर्ने वामपन्थी दलहरू पनि यो विषयलाई राजनीतिक मुद्दा बनाउँदैनन् । राजनीतिलाई नयाँ कोर्समा लैजाने दाबी गर्दै ‘पाठशाला’ चलाउन रोमाञ्चित हुनेहरूमध्येको एउटा समूह त आफ्ना मुख्य सदस्यमाथि लागेको यौन हिंसाको आरोप र त्यसको न्यायिक सुनुवाइका क्रममा भर्खरै पूरै अनावरण भएर नांगियो । बाँकी समूहहरू पनि परीक्षाको कठघराभित्रै छन् ।

राजनीतिक बाहेकका क्षेत्रमा पनि जबर्जस्ती बन्धक बनाएर, शरीर कोपर्दै लुछ्दै, कपडा च्यातिने गरी नियन्त्रणमा लिएर यौनक्रिया गर्नुलाई मात्रै ‘जबर्जस्ती करणी’ मान्ने अन्यथा सबै खाले करणी सहमतिजन्य हुन्छन् भन्ने ढिठ धेरैमा देखिन्छ । कानुनमा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई वा मन्जुरी लिएर पनि अठार वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा निजले त्यस्ता महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ (मुलुकी अपराध संहिता–२०७४ को दफा २१९) स्पष्ट व्यवस्था गरिएको छ तर ‘विद्वान्’ कानुनचीहरू करणीजन्य कसुरको ‘ग्राउन्ड’ नै नहेरी सेलेब्रिटी ध्वस्त हुने चिन्तामा घाँटी सुकाउँछन् । पुरुष भएकैले उसलाई लहसिने, उमेरजन्य फन्डा र किस्साहरू बनाउने, मोजमस्ती गर्ने छुट दिएकाले पुरुषलाई स्वाभाविक रूपमा ‘बक्स’ दिनुपर्छ भन्ने सोच राख्नेहरू कुनै न कुनै रूपले कि त स्वयम् आफैं बलात्कारका लागि उद्यत भइरहेका पीडकहरू हुन् कि चाहिँ बलात्कारलाई पुरुषार्थ ठान्ने संरचनाका अनवरत लाभग्राही । महिलाहरू जोजो यस्तो विचारका पक्षपाती छन्, ती कि त आत्मघाती मूर्ख हुन् कि यो सांस्कृतिक सत्ताको चरित्र नै बुझ्न नभ्याएका वा नसकेका दयाका पात्र । जबसम्म प्रश्न र शंकाको सुईबाट पुरुषलाई संरचनात्मक छुट दिइराखिन्छ, महिला अपवादकै रूपमै सही, कसैलाई फँसाउने नियतबाटै आफूमाथि हिंसा भयो भन्न अगाडि आउँछिन् भने पनि उनलाई बिनासर्त विश्वास गर्नुको विकल्प रहँदैन । त्यसमा पनि उमेरदार पुरुष र नाबालिग स्त्रीको हकमा कानुनी उपचारमा ‘नाबालिगपन’ ले प्राप्त गर्ने अग्राधिकारको व्यवस्था किन गरिएको हो भन्ने नबुझी बहस गर्न उत्रिनु कानुनी रूपले साक्षरसम्म नहुनु हो ।

विचार गरौं, पुरुष स्वतः विशेषाधिकारसम्पन्न (प्रिभ्लेज्ड) रहिरहने र महिला अन्यायविरुद्ध मुख खोल्नु त परै जाओस्, खुलेर हाँस्दासमेत ‘वेश्या हुन्या हाँस्तछन्’ भनिने स्टेरियोटाइप्ड ‘नैतिक मूल्य’ ले जेलिएको समाजमा कोही ‘मलाई हिंसा भयो’ भन्दै अनाहक किन फिराद गर्ली ? कुनै खास कुराको प्रतिशोध साध्न वा ‘केही लाख कुम्ल्याउन’ सामाजिक सञ्जालभित्र र बाहिरका सबै खाले बेइज्जती खप्न, त्यसबाट आइपर्ने भयानक अभिघात झेल्न र परिवारलाई समेत मानसिक तनाव बेहोर्ने बनाउन किन तयार होली ? त्यसैले यौनहिंसाका विषयमा पीडितमाथि लाञ्छना थोपर्नु र टिप्पणी गर्नुअघि सयौंपल्ट आफ्नै विवेकसँग प्रश्न गर्नु जरुरी छ, हरेकपल्ट यस्ता हिंसाबारे कुरा गर्दा तपाईं–हामी आरोपित पुरुषमाथि चाहिँ किन निर्मम हुन सक्दैनौं ? किन उसलाई प्रश्नबाट उन्मुक्ति दिन्छौं ? किन अनुसन्धानका परिणाम आउनुअघि नै आरोपितलाई ‘सफाइ’ दिन हतारिन्छौं ?

प्रकाशित : भाद्र २८, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

पक्षधरताको संकट

पक्षधरताकै नाममा सिर्जना गरिएको ‘आफूहरू र अन्य’ को विभाजक रेखामाथि उभिएर आफ्नो घेरोभन्दा बाहिरका ‘अन्य’ माथिको अतिशय निषेध, घृणा र आक्षेप–वमनको विषाक्त संस्कृति नै आज ‘राजनीति’ बन्न पुगेको छ ।
सरिता तिवारी

एकपल्ट म निकै उचाइमा पुगेको थिएँ, जहाजको छतमा उभिएको थिएँ । अनि जब त्यो जहाज समुद्री किनारा छोडेर द्रुत गतिमा अघि बढ्यो, त्यतिखेर मैले चिच्याएर भनेको थिएँ, ‘किनार कुदिरहेको छ !’ त्यो कुरो मैले अहिले राम्ररी बुझिसकेको छु— वास्तवमा किनार कुदिरहेको थिएन, जहाज गतिमान थियो ।– ‘पृथ्वी घुमिरहेको छ’, पृष्ठ १३३ (बर्टोल्ट ब्रेख्त लिखित नाटक ‘ग्यालिलियो’ को नेपाली अनुवाद, अनुवाद : होमर श्रेष्ठ)

मानवीय अवस्थाजन्य ठम्याइ र ठहरहरू आफू अभ्यस्त भइरहेका प्रतिमान वा खास आग्रहका कारण निर्मित प्रतीतिहरूका झल्का मात्रै हुन् भन्ने बुझाउन नाटकको संवादमा ग्यालिलियो ग्यालिलेईले क्याथोलिक चर्चका अधिकारीहरूसँगको बहसमा दिएको उदाहरण हो यो ।

आफ्नो अनुकूल स्थितिका सापेक्षमा बनेका वस्तु र घटनामाथिका अनुमानलाई नै विश्वास गर्नु र तिनैलाई सत्य ठान्नु आम मानवीय स्वभाव हो । तर तथ्यको अस्तित्व र सत्यको सीमा हाम्रा विश्वासको घेराभन्दा परपरसम्म बलियो गरी मौजुद हुन सक्छन् भन्ने थाहा पाउन कतिपय (अन्ध)समर्थनका पर्खाल फड्कने साहस गर्नैपर्छ । सोह्रौं शताब्दीका नामी खगोलशास्त्री ग्यालिलियोले तत्कालीन धर्मसत्ताको विज्ञानविरोधी जडता र कठोरताविरुद्ध लड्न मानवीय ‘विश्वास’ का यिनै सीमा र परीक्षित विज्ञानसम्मत तर्क (साइन्टिफिक रिजन) को भिन्नता बुझाउन अनेक तरहको बौद्धिक प्रयत्न गरेका थिए । तर अन्ततः चर्चले नास्तिकता र ईश्वरनिन्दाको आरोपमा उनलाई मृत्युदण्ड वा आजीवन नजरबन्दमध्ये एउटा रोज्नुपर्ने घोषणा गर्‍यो । उनीअघि पनि सूर्यले पृथ्वीलाई घुम्छ भन्ने लोकप्रचलित धार्मिक मतको खण्डन गर्दै पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने खोज स्थापित गर्न तत्कालीन रोमन क्याथोलिक चर्चको आस्थाविरुद्ध प्रतिवाद गर्ने अर्का खगोल अध्येता जिओर्दानो ब्रुनो थिए । पृथ्वीले सूर्यलाई घुम्छ भन्ने अडानकै कारण चर्चको आदेशमा ब्रुनोलाई निर्ममतापूर्वक जिउँदै जलाएर मारिएको थियो । ग्यालिलियोले भने आफ्नो सिद्धान्त फिर्ता लिँदै आजीवन नजरबन्दको जिन्दगी रोजे ।

खास पक्षधरताका कारण बौद्धिक स्वतन्त्रतामा कठोर अंकुश लागेको न यो पहिलो घटना थियो न त अन्तिम नै । नाटकका सन्दर्भमा अनुवादक होमर श्रेष्ठले भनेजस्तै, मूल नाटककार बर्टोल्ट ब्रेख्तले पक्रेको त्यो विषय र समय दुवै भयावह थिए जहाँ हरेक नयाँ कुरा आफसे आफ झूटा बनाइन्थे वा बन्नुपर्थ्यो । त्यति बेला ब्रुनो या ग्यालिलियो दुवैको नियति त्यही हुन सक्थ्यो जे भयो । तर के पक्षधरतामाथिको संकट आज पनि योभन्दा भिन्न छ ? सवाल के मात्रै छ भने, पहिले राज्यसत्ता वा धर्मसत्तासँग मात्रै रहेको यस्तो अंकुश अहिले हर कुनै आग्रहका या कुनै न कुनै स्तरका संस्थापनसँग जोडिएका दल, समूह र झुन्डका हातमा छ । मुक्त विवेकको प्रश्न र पक्षधरतामाथिको संकट अहिले झन् डरलाग्दो छ ।

पक्षधरता कि पूर्वाग्रह ?

सामान्यतः पक्षधरता भनेको विचार या घटनाहरूमा जोडिएर आउने प्रतिक्रिया र मतमध्ये कुनै एक पक्षमा उभिनु हो । तर विशिष्ट रूपमा पक्षधरता भनेको इतिहास उधिनेर आजसम्मको गतिशील यथार्थभित्र पस्ने धैर्यसहित वस्तुगत सत्यको अनुभव, परीक्षण र निर्क्योलबाट एउटा खास मत निर्माण गर्नु हो । भलै त्यो मत वा पक्षमा उभिँदा अल्पसंख्यामा परियोस्, तर उभिइरहने साहस गर्नु हो । समाजको विवेकसम्मत दिशा र गतिमा योगदान दिन गहिरो रुचि राख्नेलाई पक्कै पनि पक्षधरताको प्रश्नमा खरो उत्रिन असम्भव छैन, तर कठिनचाहिँ अवश्य छ । यसरी उभिन बीचमा आइलाग्ने धेरै थरी (दुर्)आग्रह र पूर्वनिर्धारित सर्तहरूलाई अस्वीकार गर्ने आत्मबल र धैर्य भने कल्पना गरिएभन्दा धेरै नै बढी चाहिने रहेछ ।

अनुभवले पुष्टि गरिरहेकै छ, स्थापित धार्मिक, नैतिक वा सांस्कृतिक मान्यताविरुद्धको वैज्ञानिक र विवेकसम्मत ‘उभ्याइ’ मात्रैले पनि पक्षधरता पुष्टि नगर्ने रहेछ । पक्षधरता भनेको भन्नु मात्रै होइन, गरेर देखाउनु हो । पक्षधरताको सवालमा जति बृहत्तर, वस्तुगत, उदार र स्वयंप्रति समेत कठोर बनिन्छ, पक्षधरता उति विवेकसम्मत बन्ने हो । जति आत्मकेन्द्री वा निश्चित झुन्डकेन्द्री र निजी लाभको आकांक्षी बनिन्छ, पक्षधरता उति कमजोर र साँघुरो हुने हो । ब्रुनो वा ग्यालिलियोको पक्षधरता चलायमान समाजका सम्पूर्ण स्थापत्य र लोकमान्यताभन्दा भिन्न स्पेसमा उभिएर मात्रै बनेको थिएन; परीक्षणले निर्मित ज्ञान, विवेक र तक (रिजन) को जितका लागि जस्तोसुकै व्यक्तिगत क्षति बेहोर्न तयार भएरसमेत बनेको थियो । उदारवादी र तर्कसम्मत लोकमतको जग बसाल्ने यी दुई भलामानुषको कथाबाट सिकिने कुरा हो— भयावह र जीवनकै सबभन्दा चर्को मूल्यमा समेत पक्षधरताको निर्वाह । यस्तो मूल्य चुकाउनेका लागि न्यायिक क्षतिभरण कहिल्यै नहुन पनि सक्छ तर त्यसको लाभ पिँढीहरूले पाउँछन् । इतिहासले पाउँछ । फेरि पनि जति नै नयाँ पिँढी आओस्, हरेकपल्ट पक्षधरताको क्रूरतम मूल्य चुकाउने पात्रहरू दोहोरिइरहन्छन् । हरेक पल्ट पक्षधरताले नयाँ रूपको संकटबीच नयाँ मौलिकताको लडाइँ लड्नैपर्छ ।

हामीकहाँ त ‘पक्षधरता’ को अर्थ नै साह्रै संकुचित बनाइएको छ । अधिकांश प्रसंगमा वाद/विचारधारा मात्र होइन, पार्टी र झुन्डविशेषअन्तर्गत रहनु वा तिनको वरिपरि घुम्नुलाई नै ‘पक्षधर’ हुनुको अर्थले बुझिन्छ । कति अवस्थामा त झन्डा बोकिदिए वा सदस्यता/सहभागिताको दसी पेस गरे मात्रै पनि पक्षधर भइहाल्ने सुविधा छ । कुनै खास व्यक्ति वा खासखास प्रकारका स्वार्थ समूहको हितरक्षामा बोल्नु र तिनको प्राविधिक जित (धेरै अर्थमा चुनावी जित) का लागि जसरीसुकै प्रयोग हुन तयार बन्नुलाई समेत ‘पक्षधर’ मानिने स्थितिले ‘पक्षधरता’ अपहरित शब्द बन्न पुगेको छ । यस्तो दृश्य धार्मिक पन्थ–राजनीतिमा मात्रै होइन, आफूलाई प्रगतिशील कोटिमै उभ्याउन चाहने ठूला–साना दल र समूहमै पनि प्रशस्त देख्न सकिन्छ । यसरी साँघुरिनु पक्षधर हुनु होइन, केवल पूर्वाग्रही हुनु हो । त्यस हिसाबले भन्ने हो भने, हामीकहाँ ‘पक्षधरता’ धेरै अर्थमा मनोगत मात्रै होइन, निजी लिप्साजन्य पूर्वाग्रहको हबिगतले बदनाम छ । अपेक्षा र लिप्साको यो घेरोभित्र नआउने वा स्वायत्त स्व (अटोनोमस सेल्फ) भित्रै बसेर वैचारिक अभ्यास गर्नेलाई ‘पीँधबिनाको लोटा’ भन्दिने आम चलन नै छ ।

पक्षधरता : आत्मसन्देह र उदारता

रफ्तारमा गुडिरहेको बसको झ्यालबाट अलि बेर बाहिर हेर्ने गर्नुभएको छ भने तपाईंलाई आफू गुडिरहेको बस होइन, बाहिरका रूख, जंगल वा खेतहरू कुदिरहेजस्तो भान भएको हुनुपर्छ । कहिलेकाहीँ हामी यस्ता भान वा ‘आभासी सत्य’ लाई नै सही र अन्तिम ठानिदिन्छौं, ग्यालिलियोले किनार कुदिरहेको भन्ठानेजस्तो । हामी जहाँ उभिएका वा जुन आग्रहमा बाँचेका हुन्छौं, त्यसभित्रकै समेत गतिशीलता र मसिना द्वन्द्वहरू चिन्न नसक्दा हामी धेरै अवस्थामा आफैंलाई चिनिरहेका हुँदैन रहेछौं । पक्षधरता सबैभन्दा पहिले त आफैंलाई चिन्ने क्रिया रहेछ । आफ्ना अपेक्षाका सीमाहरू पहिल्याउने, ती सीमा नाघेर उदात्त, मानवीय र दृढ बन्न आफैंमाथि समेत प्रयोग/परीक्षण गर्न सक्ने स्थिति रहेछ । पूर्वाग्रह वा पूर्वनिश्चित सर्तको झ्यालबाट चीजहरूलाई ठीकठीक त्यस्तै देख्नुपर्ने वा मान्नुपर्ने अवस्थाबाट मुक्त नहुन्जेल हामीभित्रको ‘पक्षधरता’ पिँजराको चरोजस्तो निरीह र अधीनस्थ हुँदो रहेछ । कुनै घोषित विचार समूहभित्र रहँदा वा नरहँदा दुवै अवस्थामा आफ्नो नजिक वा टाढा दुवै दूरीका घटनाक्रम र वस्तुहरूमाथिको मिहिन जाँचकी नभई, आफ्ना पूर्वधारणाहरूलाई बारम्बार खकालेर पर्गेल्ने खाँचो नठम्याई, उपलब्ध बाह्य र आन्तरिक अनुभवजन्य तथ्यलाई सार्वभौम स्व (सोभरेन सेल्फ) को ऐनामा उभ्याएर नहेरी निर्माण भएको पक्षधरता कति विश्वसनीय हुन्छ ? यी सबै कुराको पत्र–पत्र परख गर्न तयार नभई कसैले कसरी पक्षधरताको दाबी गर्न सक्ला ?

निश्चय नै, तपाईं विचारधारात्मक या राजनीतिक निहितार्थमाथिको निष्ठामा बसेर पक्षधर बन्न मज्जाले सक्नुहुन्छ तर त्यहाँ एकको पक्षधर बन्न अर्कोको शत्रु नै बन्नुपर्ने आग्रह वा सर्तबिनाको उदात्तताको गुन्जाइस रहन्छ ? यस प्रकारको पक्षधरतामा इतिहासकार एरिक हब्सबाम ‘पक्षधरता’ कै लागि विरोधी (शत्रु) पक्ष अनिवार्य रूपले आवश्यक हुन्छ भन्छन् । उनी विचार, संगठन र त्यसले बोक्ने व्यापक सामाजिक हितका सन्दर्भको कुरा गर्दा पक्षधरताको दायरा धेरै फराकिलो र विज्ञानसम्मत हुनुपर्छ भन्छन् । तर त्यसो नभई अधिकांशतः संगठन र सामूहिकताको रक्षा गर्ने नाममा पक्षधरता नै मनोगत भइदिने दुर्घटना आइलागेको स्मरण गर्दै पक्षधरताको यस्तो चरम रूपलाई खारेज गर्नुपर्छ भन्छन् (अन हिस्ट्री, सन् १९९७) । यो आशयलाई पुष्टि गर्न उनले सोभियत संघको स्टालिनवादी काल र तत्कालीन ‘ग्रेट सोभियत इन्साइक्लोपेडिया’ का सूचनाहरूको दृष्टान्त दिएका छन् ।

हाम्रो आफ्नै अनुभवको समीक्षा गरौं । पञ्चायत बिदा भएयता मात्रै गएका तीस वर्षमा ठूला–साना शक्तिकेन्द्रका रूपमा स्थापित भएका ‘आन्दोलन’ केका पक्षधर थिए वा हुन् ? अहिले आएर आन्दोलनका इतिहासहरू नै खासखास ‘बा’ हरूका निजी ढिकुटी भए । र ती बाहरूसँगै पनि यतिखेर केही आत्ममुग्ध नोस्टाल्जियाबाहेक आफैंलाई दिने चित्तबुझ्दो जवाफ छैन । बाहरूको साम्राज्यले सिर्जेको पक्षधरतामा ‘हामी र अन्य’ (वी एन्ड अदर्स) को असहिष्णु सीमारेखा यति दुच्छर र चर्को छ, त्यहाँ उदात्त आत्मपरीक्षण र आत्मसमीक्षाको कुनै अस्तित्व नै छैन । पक्षधरताकै नाममा सिर्जना गरिएको ‘आफूहरू र अन्य’ को विभाजक रेखामाथि उभिएर आफ्नो घेरोभन्दा बाहिरका ‘अन्य’ माथिको अतिशय निषेध, घृणा र आक्षेप–वमनको विषाक्त संस्कृति नै आज ‘राजनीति’ बन्न पुगेको छ ।

अहिले राजधानीमा उम्रिइरहेका र आफूलाई ‘आन्दोलन’ दाबी गरिरहेका कतिपय झुन्डले पनि त्यही चरित्रलाई ‘कोअप्ट’ गरेका छन् । यीमध्ये धेरैका लागि त पक्षधरता भन्नु एउटा जात्रा हो । तिथि र पर्वमा प्रदर्शन गर्न काम लाग्ने ‘एक्जिबिसन’ को जिनिस । रहल केहीका लागि पक्षधरता शंखेकिराको हाडेखोल हो, लुक्ने र देखिने मौका र मुद्दाअनुकूल उपयोग हुने । यहाँभित्र दुराग्रह र दुराशयको घना कुहिरो रचेर त्यसैलाई ‘पक्षधरता’ करार गरी त्यसैका नामबाट पक्षधरताको कठालो समातिने अन्धमुस्ली यसरी बाक्लिँदो छ, पक्षधरता ‘पक्षधर’ को दोकान चलाइरहेका वर्गसँगै सबैभन्दा बढी आतंकित छ ।

...

इतिहासमा पक्षधरता जहिल्यै पेचिलो विषय बन्दै आएको छ । अनुकूलताअनुसारको विश्वास नै सही ठहरिने मानवीय स्वभाव पक्षधरताको पहिलो मानक बन्ने स्थिति सार्वकालीन र सार्वस्थानिक हुँदै आएको छ । यसले पक्षधरताजस्तो मिहिन जाँचको विषयलाई साह्रै सतही र सस्तो बनाइदिएको छ । कहाँ कोसँग के लिनु वा पाउनु छ, कतापट्टि फर्कंदा कुन–कुन अपेक्षा पूरा हुन्छन्, त्यहीअनुकूल उभिनु नै पक्षधरता हो भन्ने बनाइएको छ । पक्षधरता एउटा गहिरो र अर्थपूर्ण राजनीतिक क्रिया हुँदाहुँदै पनि यो दृश्य–अदृश्य सीमित निजी वा सामूहिक लाभको पोषकका रूपमा परिभाषित भइरहेकै छ ।

व्यक्तिको नैतिक उभ्याइ र विवेकको प्रश्नसँग जोडिने पक्षधरताको सम्बन्ध निजी अनुभवजन्य सिकाइ र समाजका गतिशील यथार्थसँग ठोक्किँदै, आफैंलाई हिजोभन्दा आज उन्नत विवेकको कसीमा जाँच्दै निर्माण भएका मूल्य र मनस्थितिसँग छ । कुनै खास विचारधारा, संगठन या संस्था रहनु वा नरहनुसँग पक्षधरताको सम्बन्ध छैन बरु कठोरभन्दा कठोर परिस्थितिमा पनि हामी कति मसिनो गरी या गहिरो गरी मानवीय, उदार र न्यायिक बन्न सक्छौं भन्ने परीक्षामा पक्षधरता जहिल्यै जोडिइरहन्छ । यसको मूल्यमा तमाम ‘विश्वास’ का सीमाहरूको पर्दाफास होओस्, सारा विचारधारा, संगठन र संरचनाहरू ध्वस्त भएर भत्किऊन्; कत्ति पनि फरक पर्दैन । जहाँनेर केही समाप्त हुन्छ, त्यहीँनेर केही नयाँ बनेर खडा हुन्छ । त्यो ‘नयाँ’ बनाउने सामर्थ्य त्यसैसँग मात्रै हुन्छ जोसँग आफू वा आफ्नो वरपरका लाभहानिजन्य आग्रहको प्रतिकूल पनि उभिने नैतिक साहस र विवेक छ ।

प्रकाशित : भाद्र १४, २०७९ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×