१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७
सम्पादकीय

पाठेघरको समस्यालाई उपेक्षा नगरियोस्

सम्पादकीय

प्रजनन स्वास्थ्यबारे कमै खुल्ने नेपाली समाजमा पाठेघर खस्ने समस्या विकराल छ । चिकित्सकहरूका अनुसार प्रजनन उमेरका एकचौथाइ महिलाको पाठेघर खस्ने गर्छ । महिनावारी सुक्ने उमेरमा प्रजनन सम्बन्धीका हर्मनहरूको मात्रा कम हुने गर्छ, जसको प्रभावका कारण पाठेघर लगायत प्रजनन अंग खस्ने गर्छन् । तसर्थ, यो उमेरमा पाठेघरको परीक्षण अनिवार्य गर्नुपर्ने हुन्छ ।

पाठेघरको समस्यालाई उपेक्षा नगरियोस्

सरकारले तोकिएका अस्पतालमा निःशुल्क पाठेघर परीक्षण र उपचारको व्यवस्था मिलाएको छ । उपचार विधि त्यति जटिल पनि छैन । तर यो समस्याबारे अझै कति महिलाहरू परिवारभित्रै खुल्न सकिरहेका छैनन् । कारण, पाठेघर खस्नुलाई अझै लाजको विषय मानिन्छ, अझ कति परिवारमा त पुरुष सदस्यलाई यस्तो विषय थाहै दिनु हुन्न भन्ने धारणा पनि छ । कति पुरुष सदस्यहरू आफैं यसबारे सचेत छैनन्, या उनीहरू पाठेघरको समस्यालाई उपेक्षा गर्छन् । यही कारण कैयौं महिला व्यथा बोकेरै बाँच्न विवश छन् ।

अर्को, विशेष गरी दुर्गम तथा ग्रामीण भेगमा धेरै सन्तान जन्माउँदा, कम अवधिमै अर्को बच्चा पाउँदा, असुरक्षित तवरले सुत्केरी हुँदा र सुत्केरी अवस्थामा आराम नपाउँदा पनि पाठेघर खस्ने समस्या उत्तिकै छ । यसरी अस्वाभाविक तरिकाले पाठेघर खस्ने समस्या कम गर्न जनचेतनाको टड्कारो खाँचो छ । ग्रामीण तथा दुर्गम भेगमा धेरैलाई पाठेघर खस्नु के हो, खसे कसलाई भन्ने र कहाँ जानेजस्ता विषयमा अझै जानकारी छैनÙ यो अवस्थामा सुधार ल्याउनुपर्छ ।

पाठेघर समस्याको उपचार नगर्दा महिलाहरू आफू मात्र पीडित बनिरहेका छैनन्, दाम्पत्य जीवनमा पनि यसको असर परिरहेको छ । उनीहरू श्रीमान् तथा समाजबाट अपहेलित हुनुपरेको छ । रोग लुकाउनुपर्दाको पीडा एकातिर छ र त्यसले दिने मानसिक यातना अर्कातिर । यस्तोमा निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरिदिएकै छ भनेर ढुक्कसँग बस्ने छुट सरकारलाई छैन । यो समस्याबाट निकै प्रताडित दुर्गम भेगका महिलाहरूलाई सहयोगको आवश्यकता बढी छ । त्यहाँ शिक्षाको कमी छ, ‘पाठेघर खस्नु सामान्य हो उपचार गरे सजिलै निको हुन्छ’ भन्ने जानकारी पनि छैन । प्रजनन स्वास्थ्यबारे नै जानकारी नभएपछि, निःशुल्क परीक्षण र उपचार कार्यक्रम उत्ति फलदायी भइरहेको छैन । त्यस्ता भेगमा पाठेघर खस्ने समस्या र सरकारको निःशुल्क कार्यक्रमबारे बुझाउन स्वास्थ्यकर्मीका अतिरिक्त महिला स्वास्थ्य स्वयंसेविकाहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । सम्बन्धित सरकारी संरचना र पालिकाहरूले उनीहरूको परिचालनमा विशेष ध्यान दिनु आवश्यक छ ।

पहुँच नहुनेहरूका लागि निःशुल्क पाठेघर परीक्षण र उपचार समुदायस्तरमै पुर्‍याउन स्वास्थ्य शिविर सञ्चालन भइरहेका हुन्छन् । तर आफैं खुलेर आउन नसक्दा, परिवारले यसमा सहयोग नगर्दा, त्यस्ता शिविरमा सबै महिलाको उपस्थिति नहुने चिकित्सकहरूको अनुभव छ । शिविरमा आएका महिलालाई पनि शल्यक्रिया नै गर्नुपर्ने रहेछ भने अस्पतालसम्म ल्याउनु अर्को चुनौती छ । यो समस्या कम गर्न सरकारी स्वास्थ्य संरचना र पालिकाहरूले समन्वयमा काम गर्नुपर्छ । पालिकाहरूले आफ्नो क्षेत्रका पाठेघर खसेका बिरामीको पहिचान गरी उपचार सुनिश्चित गर्न र आवश्यक परेमा शल्यक्रियाका लागि अस्पताल पुर्‍याउन पनि सहजीकरण गर्न जरुरी छ ।

बेलैमा उपचार नपाए पाठेघर क्यान्सरको जोखिम उत्तिकै हुन्छ । पाठेघर मुखको क्यान्सरबाट बर्सेनि कैयौं महिलाले अकालमै ज्यान गुमाउनुपरेको छ । विश्व स्वास्थ्य संगठन अनुसार जुन २०२० सम्म १०७ राष्ट्रले पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) को खोप भित्र्याइसकेका छन् । नेपालले भने यसलाई अझै ल्याउन सकेको छैन । चिकित्सकहरूका अनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघर क्यान्सर एचपीभी भाइरसले हुने गर्छ, र यसविरुद्धको खोपले पाठेघर क्यान्सरको जोखिमलाई स्वाट्टै घटाउँछ । सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एचपीभी खोपको लगाउने योजना कार्यान्वयनमा ल्याउने बताए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । यसका लागि मुख्यतः स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले खोप ल्याउन पहल गर्नुपर्छ । र ‘नेसनल इम्युनाइजेसन सेड्युल’ मै यो खोप राख्नुपर्छ ।

पाठेघर स्वास्थ्य सम्बन्धी जागरण र अस्पतालसम्मको सहज पहुँचमा वृद्धिका साथसाथै एचपीभी खोपमा पनि जोड दिएर लाखौं महिलाले भोगिरहेको समस्याप्रति सरकार संवेदनशील देखिनुपर्छ ।

प्रकाशित : भाद्र २७, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?