२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बीपीको उत्तराधिकारको सवाल

बीपीको राजनीतिक उत्तराधिकारीको लडाइँमा गिरिजाप्रसाद विजयी बने । सुशील कोइरालादेखि शेरबहादुर देउवासम्म बीपीका राजनीतिक उत्तराधिकारी बने भन्न सकिएला तर क्रान्तिकारी बीपीको सृजनशील उत्तराधिकार प्रदीप गिरिले जति विस्तार गरे, त्यति कसैले गर्न सकेनन् ।
शंकर तिवारी

नेपाली राजनीतिमा बीपी कोइरालाको के स्थान छ, नेपाली लोकतन्त्रको उन्नयनका लागि उनले के–के योगदान गरे, त्यो स्वर्ण अक्षरले इतिहासमा अंकित छ । उनी २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनादेखि २०३९ सालसम्म नेपाली राजनीतिको केन्द्रमा रहे । चाहे भूमिगत विद्रोहीका रूपमा होस् या सत्याग्रहीका रूपमा, सत्तामा हुँदा होस् वा विपक्षमा हुँदा, जेलदेखि निर्वासनसम्म, सशस्त्र संघर्षको आह्वानकर्तादेखि राष्ट्रिय मेलमिलापको प्रार्थी हुँदासम्म, उनको प्रत्येक डेगले सफलता–असफलताको पृथक् गोहो बनाउँदै गयो ।

बीपीको उत्तराधिकारको सवाल

ती गतिशील डेगहरूले कष्टकर समयमा निर्मित गरेको साँघुरो गोहो अहिले लोकतान्त्रिक गणतन्त्रमा नेपालको बृहत् राजमार्ग बनेको छ । लोकतन्त्रको यस्तो राजमार्गलाई सुरम्य बनाउन अझै सतत संघर्ष जरुरी छ ।

बीपीले कोरा राजनीति मात्र गरेनन् । साहित्य लेखे, सुसंस्कृत समाजको चित्र दिए । इतिहासकार सूर्यविक्रम ज्ञवालीका शब्दमा, नेपाली राजनीतिमा हस्तक्षेप गर्नुअघि नै उनले नेपाली साहित्यमा सफलतापूर्वक मनोविज्ञानमा आधारित कथाको श्रीगणेश गरेका थिए । नेपाली बौद्धिक विमर्शलाई एउटा उचाइ दिए । समाजवाद उनको लक्ष्य थियो । चार दशकमा उनको प्रत्येक पदचापले नेपाली राजनीतिमा वरद हस्तक्षेप गरिरह्यो । आफूले बाँचेको जीवनमूल्यका आधारमा नैतिकता र निष्ठाको राजनीतिको उम्दा उदाहरण बने ।

साहित्य, कला, राजनीति वा दर्शन — जीवनका यावत् अवयवमा सघन प्रभाव पार्ने व्यक्तित्वहरूको निधनपश्चात् उनीहरूका उत्तराधिकारीमा मानिसहरूको रुचि हुनु स्वाभाविक हुन्छ । जैविक वा अंशको उत्तराधिकार उनीहरूका परिवारको हुने नै भो, तर त्योभन्दा पर उनीहरूको वैचारिक–राजनीतिक–साहित्यिक आदिको उत्तराधिकार भने परिवारभन्दा पर, उनीहरूको शिष्य मण्डलीदेखि त्यो दायराभन्दा पर पनि खोज्नुपर्ने हुन्छ । कुनै पनि महापुरुषको अवदान साँघुरो आयतनमा सीमित हुँदैन । त्यसलाई पर्गेल्न बौद्धिक ल्याकतदेखि सुदीर्घ साधना, कर्तव्यबोध अनि एकलव्यनिष्ठा चाहिन्छ ।

नेपाली राजनीतिमा बीपीको उत्तराधिकारको विषयलाई लिएर उनको देहान्तलगत्तै, २०४० देखि नै विचारोत्तेजक बहस गर्दै आएका प्रदीप गिरिको यही भदौ ४ गते निधन भयो । यो सन्दर्भले बीपीको उत्तराधिकारको बहस फेरि एक पटक समीचीन बन्न पुगेको छ । प्रदीप गिरिले पहिलो पटक २०४१ वैशाख २५ गते देशान्तर साप्ताहिकमा ‘परिवारको दायरामा महापुरुष अटाउँदैनन्’ शीर्षक लेख प्रकाशित गरेका थिए, जसमा प्रस्ट रूपमा बीपीको उत्तराधिकारको मामिला परिवारमा सीमित नहुने खुलेआम घोषणा गरिएको छ । चार दशकयता अनेकले बीपीको उत्तराधिकारबारे बहस गरेका छन् । गणेशराज शर्मादेखि पुरुषोत्तम बस्नेतसम्म । शैलजा आचार्यदेखि रामचन्द्र पौडेलसम्म । नरहरि आचार्यदेखि इतिहासकार राजेश गौतमसम्म । तर निर्धक्क भन्न सकिन्छ— बीपीको वैचारिक उत्तराधिकारका लागि प्रदीप गिरिले जति काम कसैले गरेनन् । उनले बीपीका सामग्रीलाई संकलित/सम्पादित गरेनन् मात्र, बीपीका विचार र व्यक्तित्वका अनेक आयाममाथि निरन्तर बौद्धिक विमर्शमा सामेलसमेत भइरहे ।

प्रदीप गिरिले बीपी वैचारिक र क्रान्तिकारी नेता भएकाले उनको राजनीतिक उत्तराधिकारभन्दा पनि विचारक र क्रान्तिकारी व्यक्तित्वको उत्तराधिकार महत्त्वपूर्ण हुने भविष्यवाणी गरे । बीपीको परिवारभित्रबाटै, बीपीपुत्र प्रकाश र अनुज गिरिजाप्रसादबीच राजनीतिक उत्तराधिकारको विवाद सुरु भयो । त्यसले बीपीको निधनसँगै अस्वस्थ आकार ग्रहण गर्न लागेकामा प्रदीप गिरिले चिन्ता व्यक्त गरेका थिए । उनले पारिवारिक उत्तराधिकारको विवाद सन् १९६८ मा जेलबाट बीपीको रिहाइसँगै प्रारम्भ भएको संकेत गरेका छन् । प्रदीप गिरिलाई यस्तो पारिवारिक खिचातानीमा खास रुचि थिएन तर त्यो एउटा खास मर्यादाबाट निर्देशित हुनुपर्दछ भन्ने अवश्य थियो । प्रदीप गिरिको खास चिन्ता तत्कालीन समयमा पञ्चायतसँग को निकट हुने भन्ने होडमा लागिरहेका कोइराला परिवारका सदस्यहरूप्रति लक्षित थियो, कतै उनीहरूले सम्झौताको निकृष्ट राजनीतिको आहालमा डुबेर क्रान्तिकारी बीपीको पारिवारिक उत्तराधिकारलाई बिटुलो बनाउने त होइनन् भनेर ।

कोइराला परिवारसँग प्रदीप गिरिको विमति २०३० सालको दशक सुरु नहुँदै भएको भयो । बीपी जेलबाट रिहा हुनुअगावै उनी गिरिजाप्रसादलाई नेता मान्न पाउँदा गर्व गर्थे । त्यो २०२५ सालको कुरा थियो । तर सशस्त्र संघर्षको तयारीका क्रममा गिरिजाप्रसादसँग उनको मत बाझेको थियो । बीपीले प्रदीप गिरि र गिरिजाप्रसादबीचको फाटोमा मध्यस्थता गर्ने कोसिस गरे पनि त्यो निरर्थक साबित भयो । यी सबैका बीच प्रदीप गिरिलाई सरोज कोइरालाको व्यक्तित्वले विशेष आकर्षित गरेको थियो । तर सरोज कोइराला षड्यन्त्रको सिकार भए, उनको नृशंस हत्या भयो । प्रदीप गिरि यी सब घटनाक्रमबाट हतप्रभ भएका थिए ।

त्यसउप्रान्त प्रदीप गिरि नेपाली कांग्रेसको राजनीतिमा कोइराला परिवारको विपरीत खेमाको सदस्यका रूपमा हलचल नगरी बसिरहे । बीपीको राजनीतिक उत्तराधिकारी गिरिजाप्रसाद हुन मिल्ने तर शेरबहादुर देउवा हुँदा हास्यास्पद हुने कुरा उनलाई चित्त बुझेको थिएन । तर पनि उनको रुचि वैचारिक र क्रान्तिकारी उत्तराधिकारको विस्तारमा थियो । त्यसका लागि उनले निरन्तर चिन्तन–मनन गरिरहे, लेखिरहे, बोलिरहे । उनले बीपी कस्ता समाजवादी हुन्; कुन पृष्ठभूमिमा उनी दीक्षित भए; उनको समाजवाद बुझ्न किन मार्क्स, गान्धी, जयप्रकाश, लोहिया, अशोक मेहता, गेट्सकेल र युरोपेली परम्परा बुझ्न जरुरी छ भनेर विस्तृत सन्दर्भसहित सुनाइरहे । ठीक यस्तै कुरा बीपीको राष्ट्रियता, अनेक राजनीतिक अवधारणा, साहित्य सम्बन्धी विचार र त्योभन्दा बेसी उनको व्यक्तित्वमा विद्यमान मानवतावादी पक्षहरूबारे प्रकाश पारे ।

प्रदीप गिरि व्यक्तिपूजाका विरोधी थिए । ‘हेगियोग्राफी’ उनका लागि सह्य र पाच्य थिएन । उनी कुनै पनि विचार वा व्यक्तिको वस्तुनिष्ठ आलोचना गर्थे र सम्यक् मूल्यांकन होस् भन्ने चाहन्थे । बीपीको तारिफ गर्दा पनि उनको कमजोरीबारे घुमाई–फिराई संकेत गरिरहेका हुन्थे । प्रदीप गिरिको कथनमा, ‘बीपीमा कमजोरी थिए । तर ती कमजोरी उहाँका विशेषताका शक्ति र सामर्थ्यका पूर्वसर्त थिए । मनोवेत्ता अब्राहम मशलोको प्रतिमानमा बीपी आत्मोपलब्ध (सेल्फ एक्चुअलाइज्ड) मानिस हुनुहुन्थ्यो । लोहियाको प्रतिमानबाट हेर्दा अधिकतम कौशल (म्याक्सिमम इफिसियन्सी) मा सीमित नरहेर सम्पूर्ण कौशल (टोटल इफिसियन्सी) का सर्जक र वाहक बन्दै हुनुहुन्थ्यो । पुराणकालका अवधारणा अनुसार, बीपी अंश अवतारबाट पूर्ण अवतार हुने कोसिसमा हुनुहुन्थ्यो ।’ २०६० को दशकपछि प्रदीप गिरिको बीपीप्रतिको यस्तो मूल्यांकन उनले २०४० को दशकमा गरेको तीव्र आलोचनाबाट पृथक् थियो । यसरी प्रदीप गिरिको व्यक्तित्व निर्माण हुने क्रममा बीपीको वैचारिकीको असन्दिग्ध भूमिका रहन पुग्यो ।

प्रदीप गिरिले मार्क्स, लेनिन, गान्धी, पुराण, भगवान् श्रीकृष्ण आदिको कर्म र चरित्रको लोकहित (कतिलाई ती व्याख्या लोकरञ्जन पनि लागे होलान्) हुने गरी लोमहर्षक चर्चा गरे तर ती चर्चाभन्दा उनले बीपीका कर्म र विचारबारे गरेका लेखनी र परिचर्चा विशेष बने । बीपी नेपाली समाजका उत्पादन मात्र नभएर दक्षिण एसियाली सभ्यताका विशिष्ट उपलब्धिसमेत थिए । त्यो विराट् व्यक्तित्वका बहुआयामबारे र उनले बाँचेको समयको नयाँ पुस्ताका लागि अवसानप्रायः अतीतको सम्यक् रूपमा व्याख्या गर्दै थिए । कार्ल मार्क्सले एंगेल्सलाई जस्तै वा एंगेल्सले उनीहरूको विचारको विस्तारका लागि एडवर्ड बर्नस्तैन र अगस्त बाबेललाई इच्छाएर वैचारिक उत्तराधिकारी घोषणा गरेजस्तै बीपीले प्रदीप गिरिलाई यस्तो जिम्मेवारी विश्वासपूर्वक हस्तान्तरण गरेका भने थिएनन् ।

प्रदीप गिरि सत्ता राजनीतिमा कोइराला परिवारबाट यति किनारीकृत गरिएका थिए, त्यो दुःखान्त बन्नबाट मुस्किलले बचेको थियो । नेपाली कांग्रेसमा यस्ता अनेकन् प्रतिभा भस्म वा विलुप्त भएर गएका छन् । ती सबका बावजुद प्रदीप गिरिले आफू र आफ्नो ऊर्जालाई बीपीको सृजनशील उत्तराधिकारका लागि तयार गर्दै गए । बीपीबिनाका चार दशकमा उनले आफूलाई बीपी विचारको लगभग आधिकारिक व्याख्याताका रूपमा स्थापित गरे । कुनै पनि महापुरुषलाई त्यसपछिको पिँढीसँग साक्षात्कार बनाउने जिम्मेवारी उनीहरूसँग संगत गरेका मानिसहरूकै हुन्छ । यसरी विचार–सिद्धान्तको पुस्तान्तरण हुन्छ । गान्धीलाई नेहरू, आचार्य विनोबा भावे, जयप्रकाश नारायण, राममनोहर लोहिया आदिले नयाँ पुस्तासँग परिचित गराए ।

विचारको उत्तराधिकारको व्याख्यात्मक आयाम बहुल हुन्छ, विवादित हुन्छ र स्पर्धात्मकसमेत हुन्छ किनकि ती विचार मूल विचारका व्याख्या हुन्छन् । त्यस्ता विचारलाई नयाँ पुस्ताले प्रयोग गर्न, परिष्कार गर्न, पुनर्व्याख्या गर्न वा अस्वीकार गर्नसमेत सक्छ । उत्तराधिकारको दावा जति सहज छ, त्यो बृहत् रूपमा स्वीकृत हुन उत्ति नै असहज ।

वैचारिक उत्तराधिकारका अध्येता फ्रान्स आलिसान र अन्टी मिसिमरका अनुसार, विचारको उत्तराधिकार पुष्टि गर्नका लागि कुनै विचारको व्याख्या त अक्षरसंगत (कन्फर्मिटी विद द लेटर) हुनुपर्छ या आत्मसंगत (कन्फर्मिटी विद द स्पिरिट) हुनुपर्छ । फेरि त्यो मूल विचारको आधार सधैं सुस्पष्ट हुँदैन, त्यो एउटा खास समयको उत्पादन हुन्छ । विचारको सम्प्रेषण बहुआयामिक हुन्छ । अक्षरसंगत व्याख्या र आत्मसंगत व्याख्यामा केही समरूपता हुन्छ । आत्मसंगत व्याख्या विचारकको विशिष्ट तर्क मीमांसा र सत्त्व मीमांसाभन्दा पनि अनुयायीको समरूप व्याख्यामा आधारित हुन्छ ।

अक्षरको व्याख्या आत्माको व्याख्यासँग मिल्न सक्छ तर आत्माको व्याख्या अक्षरको व्याख्यासँग हमेसा मेल खाँदैन । आत्मसंगत व्याख्या व्यापक र विस्तृत मात्र हुँदैन, मूल विचारकका विचारहरू र जीवनको सांगोपांग अध्ययन र विश्लेषणमा आधारित हुन्छ । त्यसैले बीपीको विचारमा अक्षरसंगत हुनेहरूले बीपीलाई राजावादी भने तर क्रान्तिकारी बीपीको आत्मसंगत अध्ययन गर्नेहरूले बीपीलाई गणतन्त्रवादी देखे । प्रदीप गिरि बीपीको आत्मसंगत व्याख्या गर्नेमा पर्छन् भनेर यहाँनिर दोहोराइराख्नु परेन ।

कुनै पनि विचारको व्याख्या–विस्तार–परिष्कार अक्षरसंगत र आत्मसंगत भयो वा भएन भनेर फ्रेममा राखेर हेर्न सकिन्छ । यदि कुनै विचारको व्याख्या अक्षरसंगत र आत्मसंगत भयो भने त्यो इमानदार उत्तराधिकार हुन्छ । यदि व्याख्या अक्षरसंगत भयो तर आत्मसंगत भएन भने त्यो उत्तराधिकार औपचारिकतामा सीमित हुन्छ । यदि व्याख्या आत्मसंगत भयो तर अक्षरसंगत भएन भने त्यो वस्तुगत र यथार्थनजिक हुन्छ । यदि कुनै व्याख्या अक्षरसंगत पनि नहुने र आत्मसंगत पनि नहुने हो भने त्यो त उत्तराधिकार नै रहँदैन ।

बीपीको राजनीतिक उत्तराधिकारीको लडाइँमा गिरिजाप्रसाद विजयी बने । सुशील कोइरालादेखि शेरबहादुर देउवासम्म बीपीका राजनीतिक उत्तराधिकारी बने भन्न सकिएला तर क्रान्तिकारी बीपीको सृजनशील उत्तराधिकार प्रदीप गिरिले जति विस्तार गरे त्यति कसैले गर्न सकेनन् । बीपीका वैचारिक उत्तराधिकारी प्रदीप गिरिले सदैव आफ्ना व्याख्याको सीमितता बुझेर तिनलाई अन्तरिम व्याख्या भनेका छन् । कारण, बीपीका अनेकन् डायरी र लिखतहरू अझै सार्वजिनक हुन बाँकी छन् । बीपीका यत्रतत्र छिरलिएका सम्पूर्ण रचनावली प्रकाशित भएका मितिमा मात्र बीपीको पूर्ण मूल्यांकन सम्भव हुन्छ भन्ने प्रदीप गिरिको ठहर थियो । अब त्यो जिम्मा नयाँ पुस्ताको हातमा आएको छ । यो भदौ २४ गते, बीपीको १०९ औं जन्मजयन्तीमा नयाँ पुस्ता बीपीको क्रान्तिकारी उत्तराधिकारको बहसमा मात्र सीमित नरहेर प्रदीप गिरिको वैचारिक उत्तराधिकारको बहसमा समेत सामेल हुनुपरेको छ ।

प्रकाशित : भाद्र २३, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?