(कु)लतभित्रको विज्ञान- विचार - कान्तिपुर समाचार

(कु)लतभित्रको विज्ञान

मानिसभित्रको असीमित चाहना उकास्न, अत्यधिक उपलब्धिको भोक जगाउन, अधीर प्रोत्साहन खोजिरहन र अधिक सुखद आश्चर्यको आशामा रमाइरहन आकांक्षाको रसायन भनिने डोपोमिनको ठूलो हात छ ।
उत्तमबाबु श्रेष्ठ

केही वर्षपहिले युनिभर्सिटी अफ जिनेभा, स्विटजरल्यान्डका स्नायु वैज्ञानिक क्रिस्टियन लुसरको अनुसन्धान समूहले एउटा अध्ययनको नतिजा प्रकाशित गर्‍यो । मुसामाथि गरिएको उक्त अनुसन्धानका क्रममा उनीहरूले सुरुमा मुसाको मस्तिष्कको एक भागमा सूक्ष्म अप्टिकल फाइबरयुक्त सेन्सर जडान गरे । त्यसपछि उक्त मुसालाई उत्तोलक (लिभर) भएको एउटा सानो बन्द कोठामा राखियो । र, अध्येताहरूले मुसालाई बन्दकोठामा रहेको उक्त लिभर थिच्न सिकाए ।

अनुसन्धान परीक्षण यसरी डिजाइन गरिएको थियो कि मुसाले लिभर थिच्नासाथ त्यसले प्रकाश (लेजर बिम) उत्पन्न गराउँथ्यो जसको सहायताले मुसाको मस्तिष्कमा जडित सेन्सर स्वचालित रूपमा क्रियाशील हुन्थ्यो । सेन्सर क्रियाशील भएलगत्तै त्यसले मुसाको मस्तिष्कको डोपोमिन हर्मोन उत्पादन हुने भागलाई सक्रिय तुल्याउँथ्यो ।

त्यसरी मस्तिष्कमा डोपोमिन उत्पन्न भएपछि मुसालाई आनन्द लाग्थ्यो । परीक्षणमा मुसाले लिभर थिच्ने, लेजर बिम बल्ने, त्यसले मस्तिष्कको सेन्सरलाई सक्रिय तुल्याउने र मस्तिष्कमा डोपोमिन उत्पन्न भएर आनन्द आउने प्रक्रिया निमेषभरमै सम्पन्न हुन्थ्यो । जब लिभर थिच्दा आफूलाई मज्जा हुने उक्त प्रक्रियासँग अनुसन्धान परीक्षणमा सामेल गरिएका मुसाहरू अभ्यस्त भए, त्यसपछि तिनीहरू घण्टौंसम्म लिभर थिचेर लगातार आनन्द लिइराख्ने ‘अम्मली’ बने । यतिसम्म कि, मुसाहरू खानासमेत खान भुलेर लिभर मात्रै थिच्दै बस्दा मर्न सक्ने सम्भावना देखेर अध्येताहरूले मुसाहरूलाई कोठाबाट बाहिर निकालेर उद्घार गर्नुपर्‍यो । हिजोआज स्मार्टफोनको स्क्रिनमा निरन्तर स्क्रोल गरिराखेका आफू लगायतका असंख्य मानिस देख्दा मलाई क्रिस्टियन लुसरको परीक्षणमा सम्मिलित एकनासले लिभर थिचिरहेका मुसाहरूको सम्झना आउँछ ।

उद्विकास र डोपोमिन

डोपोमिन मानव मस्तिष्क प्रणालीमा विद्यमान एउटा स्नायुसञ्चारक (न्युरोट्रान्समिटर) रासायनिक अणु हो । शारीरिक क्रिया–प्रतिक्रियाको सञ्चालन वा नियन्त्रण गर्न–गराउन मानवमस्तिष्कलाई स्नायुकोषहरूबीच सन्देश आदानप्रदान गर्ने यस्ता सन्देशवाहक स्नायुसञ्चारकहरू चाहिन्छन् । डोपोमिनले स्नायुकोषहरूबीच स्नायुसन्देश आदानप्रदान गर्दछ । साथै यसले हर्मोनको काम पनि गर्ने भएकाले कतिपयले यसलाई डोपोमिन हर्मोन पनि भन्दछन् । मस्तिष्कभित्र उत्पादन हुने डोपोमिनले विभिन्न शारीरिक क्रियाकलाप र व्यवहारहरू — जस्तै ः शरीरको गति सञ्चालन गर्ने (मोसन), काम गर्न प्रेरणा दिने (मोटिभेसन), कामोत्तेजना बढाउने (अराउजल), प्रबलन (रिइन्फोर्समेन्ट) र पुलकित गराउने (फिल गुड) — लाई नियन्त्रण वा सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । साथै शरीरमा दूध उत्पादन गर्ने, मुटुको धड्कन बढाउने, निद्रा लगाउने, पिसाब खुलाउनेजस्ता अन्य शारीरिक क्रियाकलापसँग पनि डोपोमिन प्रत्यक्ष जोडिएको हुन्छ । तथापि मस्तिष्कमा धेरै उत्पादन हुँदा मानिस पुलकित हुने भएकाले डोपोमिनलाई चलनचल्तीको भाषामा ‘ह्याप्पी हर्मोन’ पनि भनिन्छ ।

डोपोमिन उत्पादनले मानिसलाई कुनै काममा लागिरहन प्रेरणा (मोटिभेसन) दिन्छ र काम गरेपछि विजयी भावना (रिवार्ड) जगाउँछ । मस्तिष्कमा डोपोमिनको उत्पादन केही चीजको अपेक्षा गर्दा वा केही वस्तु प्राप्त भएपछि वा केही कार्य सम्पन्न गरेपछि हुन्छ, जसको उत्पादनले मानिसलाई प्रसन्न तुल्याउँछ । जस्तै— मानिसलाई भोक लागेका बेला खानेकुरा खान पाउँदा, तिर्खा लागेका बेला पानी पिउन पाउँदा वा यौनसाथीसँग सम्भोग गर्न पाउँदा आनन्द वा खुसी लाग्छ, जसको मुख्य कारक त्यस्ता कार्य गरेसँगै वा त्यसलाई सम्झँदा मस्तिष्कमा उत्पादन हुने डोपोमिन नै हो । खाने, पिउने र सम्भोग गर्नेजस्ता बाँच्नका लागि अत्यावश्यक कार्य गर्दा रमाइलो महसुस हुने भएपछि, मानिसलाई प्रतिकूल परिस्थितिमा पनि खाना र पानी खोज्न जान, यौनसाथीलाई प्रभावित पार्ने कुरा गर्न हमेसा प्रेरणा मिलिराख्छ ।

हेक्का राख्नुपर्ने कुरा के छ भने, मानवमस्तिष्कको उद्विकास मानव प्रजाति जंगली अवस्थामा हुँदा भएको थियो र हाम्रो मस्तिष्क अहिले पनि लगभग १८ लाख वर्षअघिको आदिम मानवको जस्तै छ, त्यसमा कुनै तात्त्विक फेरबदल आएको छैन । त्यति बेला अहिलेको जस्तो जिउनका लागि चाहिने न्यूनतम कुराको प्रचुरता थिएन । आफू बाँच्न र आफ्ना सन्तानहरूलाई बचाउनका लागि चाहिने वस्तुहरू — जस्तै : खाना, पानी, यौन साथीसँग संसर्ग हुने परिस्थिति — को अभाव र अनिश्चय थियो । त्यस्तो अवस्थामा भोकाएका बेला मीठो खाना भेटेपछि, तिर्खाएका बेला पानी देखेपछि वा समूहमा अरूसँगै भाग्दा वा दौडँदा अरूलाई दौडमा पछि पारेपछि रमाइलो नलाग्ने वा मज्जा नआउने भए मानिसले ती कामहरू गर्दैनथ्यो । त्यसैले मस्तिष्कको डोपोमिन उत्पादन प्रणाली हामीलाई बाँच्न र सन्तान उत्पादन गर्न सहयोग पुर्‍याउने हेतुले प्रकृतिले छनोट गरेको त्यस्तो जैविक–रासायनिक प्रणाली हो, जुन मानव उत्पत्ति र अस्तित्वसँग जोडिएको छ ।

पछिल्ला अध्ययनहरूले मानवमस्तिष्कले अन्य प्राणीका तुलनामा बढी डोपोमिन लगायतका सहकार्य सहयोगी स्नायुसञ्चारक —

जस्तै : सेराटोनिन, न्युरोपेप्टाइड–वाई — उत्पादन गर्ने भएकाले मानिस सामाजिक प्राणीमा फेरिन सफल भएको दाबी गरेका छन् । सन् २०१८ मा पीएनएएस जर्नलमा प्रकाशित अनुसन्धान अनुसार, मानिसको मस्तिष्कले मानवसँग आनुवंशिक रूपमा नजिक भएका गोरिल्ला र चिम्पान्जीको मस्तिष्कले भन्दा बढी मात्रामा डोपोमिन उत्पादन गर्दछ । मानवमस्तिष्कमा अरू प्राइमेट्सभन्दा बढी डोपोमिन तर सँगै हैकमवादी (डोमिनेन्ट) र शासित भूमिको रक्षा गर्ने (टेरिटोरियल) प्रवृत्तिसँग जोडिएको स्नायुसञ्चारक रसायन एसिटाइल कोलिन कम उत्पादन हुने गर्छ । त्यसैले मानिसले चिम्पान्जी र गोरिल्लाका तुलनामा बढी सामाजिक गुण बोकेको, भाषाको विकास गर्न सकेको र आफ्नो यौनसाथीसँग घनिष्ठ आत्मीयता/सम्बन्ध स्थापित गरी एकल वैवाहिक जीवन (मोनोग्यामी) जिउने ‘संस्कार’ विकास गर्न सफल भएको दाबी उक्त लेखमा गरिएको छ ।

डोपोमिन र (कु)लत

मानिसलाई आनन्दित तुल्याउने कुनै व्यवहारजन्य क्रियाकलाप गर्दा वा केही वस्तु पाउँदा वा पाउने आशामा केही काम गर्दा मस्तिष्कमा डोपोमिन उत्पादन भई त्यसले हामीलाई खुसी तुल्याउने भएकाले हाम्रो मस्तिष्कले त्यस्ता आनन्ददायक कामहरू गरिराख्ने र खुसीप्रदायक वस्तुहरू ग्रहण गरिराख्ने चाहना राखिराख्छ । यसले गर्दा त्यस्ता खुसी पार्ने वस्तु वा आनन्ददायक क्रियाकलाप गरूँगरूँ लागिरहन्छ वा भनौं तलतल लाग्छ । कुनै प्राप्तिमा मात्रै होइन, प्राप्तिको कल्पना गर्दासमेत मस्तिष्कमा डोपोमिनको मात्रा बढ्छ, अझ त्यस्तो प्राप्ति अनिश्चित भएमा डोपोमिनको मात्रा झनै बढ्छ । ‘बिहेभ ः द बायोलोजी अफ ह्युमन्स एट आवर बेस्ट एन्ड वर्स्ट’ पुस्तकका लेखक रोबर्ट सापोलस्की भन्छन्, ‘मानिसलाई जागिरपछि निवृत्त जीवनमा पाइने मस्तीको कल्पनाले नोकरी गरिराख्ने प्रेरणा मिल्दछ ।’ मानिसभित्रको असीमित चाहना उकास्न, अत्यधिक उपलब्धिको भोक जगाउन, अधीर प्रोत्साहन खोजिरहन र अधिक सुखद आश्चर्यको आशामा रमाइरहन आकांक्षाको रसायन भनिने डोपोमिनको ठूलो हात छ । यही असीमित, अत्यधिक, अधीर र अधिक मानव चाहलाई स्थापित नैतिकता, डर, कानुन र विवेकको नियन्त्रणभित्र राख्न नसक्दा कतिपय मानिस हठात्मै अप्रिय निर्णय गर्ने ठाउँमा जान–अनजानमै पुग्दछन् ।

थप, जीवनमा आनन्द (सुख) बढाउने र उदासी (दुःख) घटाउने विशेषता मानवले उद्विकासका क्रममा हासिल गरेको हो ।

उद्विकासका क्रममा हासिल गरिएको सुख खोज्ने र दुःख पन्छाउने मानवीय गुण चरम अभाव भएको जंगली युगसुहाउँदो थियो । खाएर, पिएर, समागम गरेर आनन्द नहुने भए मानिसले ती काम किन गर्थ्यो होला ? साथै हामीसँग दुःख पन्छाउन सक्ने गुण नभएको भए जति बेला पनि हामीलाई चोटपटक लाग्न र मृत्युसमेत हुन सक्थ्यो । त्यसैले आनन्दको चाहना र दुःख छल्ने बहाना मानिसको जन्मसिद्घ स्वभाव हो । ‘डोपोमिन नेसन : फाइन्डिङ ब्यालेन्स इन द एज अफ इन्डल्जेन्स’ पुस्तककी लेखक एना लेम्कीका अनुसार, मानवमस्तिष्कमा खुसी र उदासीको उद्गमस्थल एउटै हुन्छ । तर मस्तिष्कको प्रणालीमा प्रसन्नता र उदासीपनको सम्बन्ध विपरीत हुन्छ— प्रसन्नतातिरको भाग उचालिँदा उदासीतिरको भाग तल झर्ने वा उदासी माथि पुग्दा प्रसन्नता तल पुग्ने, चाकाचुलीजस्तै । सामान्यतया सुखदुःखको त्यो दिमागी चाकाचुली यताउति कतै नढल्कीकन सन्तुलित भएर एउटा आधार रेखा (बेसलाइन) मा बसेको हुन्छ । तर कतिपय वस्तु र क्रियाकलाप यस्ता हुन्छन्, जसले मस्तिष्कको डोपोमिनको मात्रालाई छिट्टै र धेरै मात्रामा बढाउँछन् । लेम्कीका अनुसार, चकलेट खाँदा मानिसको मस्तिष्कको डोपोमिन सामान्य अवस्थाको भन्दा ५० प्रतिशत, सम्भोग गर्दा १०० प्रतिशत, चुरोटमा हुने निकोटिनले १५० प्रतिशत, कोकिनले २०० प्रतिशत र रक्सीले ३६० प्रतिशतसम्म बढ्छ । त्यसैले त्यस्ता वस्तुहरूको प्रयोग वा व्यवहारले मानिसलाई आनन्दित तुल्याउँछ र उदासी कम गराउँछ । डोपोमिन तत्कालै र ज्यादा बढाउने त्यस्ता वस्तु वा व्यवहारले मानिसलाई अधिक लोभ्याउँछन् र लत लगाउँछन् ।

तर जब आनन्दप्रदायक त्यस्ता वस्तुहरूको प्रयोग वा व्यवहारको प्रभाव शरीरमा कम हुन्छ, मस्तिष्कमा डोपोमिनको मात्रा घटेर सुखदुःखको चाकाचुलीमा प्रसन्नताको भाग सामान्य अवस्थाको भन्दा तल झर्छ । प्रसन्नताको भाग तल झर्दा स्वाभाविक रूपमा उदासीको भाग उकासिन्छ । त्यसैले ओरालो झरेको सुखद पक्षलाई सामान्य अवस्था (बेसलाइन) मा फर्काउनका लागि पनि मानिसलाई डोपोमिन उत्पादन गरिराख्ने वस्तु वा क्रियाकलापको जरुरी पर्दछ । त्यसकारण तत्कालै ठूलो मात्रामा डोपोमिन बढाउने वस्तु ग्रहण वा व्यवहार गर्न नपाएमा मानिसहरू सामान्य अवस्थाभन्दा बढी उदास र निराश हुने गर्दछन् । यसैका कारण डोपोमिन बढाउने वस्तुको संसर्गमा पुगेका मानिसहरू आफ्नो उदासी घटाउन र प्रसन्नता बढाउन मस्तिष्कमा डोपोमिन उत्पादन बढाउने वस्तु र व्यवहारको निरन्तर खोजीमा लाग्छन् ।

आदिमकालमा अभावको परिस्थितिमा मानवमस्तिष्कमा विकास भएको प्रेरणा–प्राप्ति–पुरस्कारसँगै खुसी हुने यो प्रणाली यतिखेरको प्रचुरताको समयमा प्रत्युत्पादक बन्न पुगेको छ । अहिलेको मानिससँग आफ्ना पुर्खाका तुलनामा आफूलाई प्रसन्न तुल्याउन सहयोगी अनेकौं सेवा र वस्तुहरू प्रचुर मात्रामा र सर्वसुलभ ढंगले उपलब्ध छन् । जब त्यस्ता आनन्ददायक वस्तु वा क्रियाकलापको प्राप्ति समीपमा र सहजै हुन्छ, आदिम मस्तिष्क बोकेको आधुनिक मानिसले चाहेर पनि त्यस्ता वस्तुको प्रयोग नगर्न वा सम्बन्धित व्यवहारलाई नियन्त्रण गर्न सक्दैन । मौका पाउनासाथ त्यस्ता वस्तुको प्रयोग र व्यवहार अपर्झट गरिहाल्ने अनियन्त्रित क्रियाकलाप (कम्पल्सिभ बिहेभिएर) — जसले स्वयंलाई र अरूलाई पनि हानि गर्छ — लाई हामी कुलत अर्थात् एडिक्सन भन्दछौं ।

आदिम मानवमस्तिष्कसँग सेवा र सुविधा तत्काल, हमेसा र सुलभ ढंगले उपलब्ध हुने आधुनिक सभ्यताको मिलनले यतिखेर मानिसलाई विभिन्न कुलतमा फसाउँदै लगेको छ । त्यस्ता कुलतहरू लागूऔषध, चुरोट, रक्सी, पत्रुखानाको सेवनदेखि अश्लील सिनेमा हेरिराख्ने, किनमेल गरेर कहिल्यै नथाक्ने, भिडियो गेममा लिप्त हुने र किताबको किरो हुने जे पनि हुन सक्छन् । र, वर्तमानमा सबैभन्दा ठूलो कु(लत) सधैं, सबैसँग उपलब्ध स्मार्टफोन र सोसल मिडिया बन्न पुगेको छ ।

प्रकाशित : भाद्र २३, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

सहरका अव्यवस्थित रूख

जसरी सहरका भौतिक पूर्वाधार निर्माणमा इन्जिनियरिङको प्रयोग गरिन्छ, त्यसरी नै सहरका हरित पूर्वाधार निर्माणमा पनि इकोलोजीको प्रयोग अनिवार्य हुन्छ ।
उत्तमबाबु श्रेष्ठ

साउन ८ गते आइतबार भक्तपुरको दूधपाटीमा एउटा सडक दुर्घटना भयो । अन्य सडक दुर्घटनाभन्दा पृथक् उक्त दुर्घटनाको कारक सडकछेउको रूख थियो । सल्लाको रूख ढलेर सडकमा गुडिरहेका स्कुटर र बसमाथि बज्रँदा घटनास्थलमै तीन जनाको मृत्यु भयो, सँगै १५ जना सामान्य र एक जना गम्भीर घाइते भए ।

तीन महिनापहिले वैशाखमा सुर्खेतमा यसरी नै रूखले किच्दा एक जनाले ज्यान गुमाएका थिए भने, गत जेठमा चितवनमा ढलेको रूखले सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको थियो । हुरीबतासको सिजन मानिने जेठमै थापाथलीको मध्यभागमा धुपीको रूख ढलेर सडक अवरुद्ध भएको थियो भने, जेठ ६ गते सिंहदरबारभित्रको एउटा रूखको हाँगा भाँचिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीले ज्यान गुमाएका थिए ।

पछिल्लो समय सहरमा बढिरहेको रूख ढल्ने र त्यसले मानिसको ज्यान लिने, घाइते बनाउने एवं यातायात र बिजुलीजस्ता सेवाप्रवाहलाई अवरुद्ध पार्ने शृंखलाले हाम्रा मानव बस्तीमा रोपिएका रूखहरू टाउकामाथि रौंमा झुन्डिएका तरबार बन्दै गएको देखिन्छ । तर हाम्रा सहरहरूमा रूख रोप्ने, हुर्काउने, नियमित सम्भार गर्ने र त्यसको समग्र जिम्मा लिने न कुनै निकाय छ, न त्यस सम्बन्धी स्पष्ट कार्ययोजना, कार्यविधि र नियमकानुन नै छन् । यसको अभावले सहरी जीवनलाई थप असुरक्षित र जोखिमउन्मुख बनाएको छ ।

आधुनिक सहरमा हरित पूर्वाधार

पहिलेपहिले सहरबस्तीहरूमा रूख रोप्ने भनेको सौन्दर्य बढाउनका लागि मात्रै हुन्थ्यो र त्यही मान्यतामा ‘सुन्दर’ प्रजातिका बिरुवाहरू छनोट गरेर सहरबस्तीमा ल्याई आफूखुसी रोपिन्थ्यो । तर यतिखेर रूखबिरुवा सहरी पूर्वाधारको महत्त्वपूर्ण हिस्सा बन्न पुगेका छन् । आधुनिक सहर निर्माणमा भौतिक पूर्वाधारहरू भनिने भवन, सडक, फुटपाथ, ढल, बिजुली, टेलिफोनका लाइन आदिलाई जत्तिकै प्राथमिकता हरित पूर्वाधार भनिने रूखबिरुवालाई दिने गरिन्छ । त्यसैले जसरी सहरका भौतिक पूर्वाधार निर्माणमा इन्जिनियरिङको प्रयोग गरिन्छ, त्यसरी नै सहरका हरित पूर्वाधार निर्माणमा पनि इकोलोजीको प्रयोग अनिवार्य हुन्छ ।

जसरी भौतिक निर्माणमा कमसल सामान प्रयोग गर्दा वा समयमै मर्मत–सम्भार नगर्दा समस्या हुन्छ, त्यसै गरी सहरका हरित पूर्वाधारहरूको निर्माणमा गलत प्रजातिको छनोट र हुर्केका रूखबिरुवाको सम्भार नगर्दा त्यसले थप समस्या निम्त्याउँछ । थप, रूखबिरुवा जमिनमुनि र आकाशतिर फैलने भएकाले अनि सहरमा जमिनमुनि र माथि पनि संरचना हुने भएकाले पनि रूखबिरुवाको व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी छ । अन्यथा सहरमा रोपिएका रूखहरू खास उद्देश्यप्राप्तिमा असफल हुने मात्रै होइन, तिनले नचिताएको जोखिम बढाउन सक्छन् ।

सहरमा रूखबिरुवा लगायतका हरित पूर्वाधारलाई महत्त्व दिनुको मुख्य कारण यसका वातावरणीय, सामाजिक र आर्थिक योगदानहरू हुन् । भनिन्छ, एउटा वयस्क रूखले एक वर्षमा करिब १० वटा एयर कन्डिसनर लगातार चलाए जसरी वायु चिस्याउने काम गर्छ र करिब ३,४०० लिटर बर्खेपानी सोस्छ । २७ किलो कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोन, सल्फरअक्साइडजस्ता प्रदूषक ग्यासलाई र १५० किलो हरितगृह ग्यास कार्बन डाइअक्साइडलाई वायुमण्डलबाट सोस्ने गर्छ । रूखका यस्तै विशेषताहरूले सहरमा औसत रूख भएको ठाउँको तापक्रम २ देखि ८ डिग्रीसम्म न्यून हुन्छ । पंक्तिकार र शिरीष महर्जनले ल्यान्डस्याट स्याटेलाइटको तस्बिरमा आधारित तीन वर्षको तापमान विश्लेषण गर्दा काठमाडौं एयरपोर्टको रनवेभन्दा सँगैको गल्फ मैदानको तापक्रम औसतमा ५ डिग्री कम थियो । जाउलाखेल चोकको भन्दा चिडियाखानको र भोटाहिटीको भन्दा खुलामञ्चको तापक्रम औसतमा लगभग ४ डिग्रीले कम थियो ।

यसले के देखाउँछ भने, बढ्दो जनसंख्या, सडकको सञ्जाल, सवारीसाधनको चाप आदिका कारण तापको टापु बनेको सहर (अर्बन हिट आइल्यान्ड) को तापमान घटाउन रूखबिरुवाले महत्त्वपूर्ण भूमिका खेल्छन् । सहरमा यस्तो उच्च तापमान हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर पुग्छ । गर्मीबाट बच्नका लागि मानिसहरूले पंखा र एसी चलाउँदा ऊर्जाको खपत बढ्छ । तर प्रशस्त हरियाली भएको सहरमा रूखबिरुवाले प्राकृतिक रूपमा एसीको काम गर्छन्, जसबाट ऊर्जाको प्रयोग घटी सहरी बासिन्दाहरूलाई आर्थिक फाइदा मिल्छ ।

आर्थिकसँगै, सहरी हरियालीका अप्रत्यक्ष सामाजिक फाइदाहरू पनि छन् । सहरी हरियालीले अपराध घटाउने, उत्पादकत्व बढाउने र सामाजिक सद्भाव बढाउने गर्छ । थप, सहरका रूखबिरुवाले वर्षातको पानी फिल्टर र रिचार्ज गर्नेर्देखि अन्य जीवलाई बासस्थान प्रदान गरेका हुन्छन् । जस्तै— रिङरोडको महालक्ष्मीमा बचेका ठूला ज्याकारान्डाका रूखहरू प्रत्येकमा चराका चार–पाँचवटा गुँड देखिन्छन् । त्यस कारण जैविक विविधता संरक्षणमा मात्रै होइन, जलवायु परिवर्तनले ल्याइरहेको अधिक गर्मी, अधिक वर्षाजस्ता चरम जलवायुजन्य घटनासँग जुध्नका लागि पनि आधुनिक सहरमा हरित पूर्वाधार अनिवार्य भएको छ ।

सहरमा रूख र मान्छेको प्रतिस्पर्धा

सहर भनेको मानवनिर्मित संरचना हो । सहरको निर्माण र विस्तारसँगै कृषि र वन क्षेत्र नासिँदै र त्यसमा मानवनिर्मित संरचनाहरू ठडिँदै जान्छन् । त्यसैले सहरमा मान्छे र रूखबीच जमिन ओगट्ने प्रतिस्पर्धा चल्छ । मानिसले सहरमा रूखका लागि मुख्यतः पाँच ठाउँ छुट्याएका हुन्छन् । पहिलो, गोदावरी वा थानकोटजस्ता काँठ (पेरी अर्बन) का ठूला पार्कहरूमा वा धार्मिक हिसाबले पशुपति, स्वयम्भूजस्ता ठाउँहरू । दोस्रो, सहरको केन्द्रमा रहेका सहरी पार्क भनिने रत्नपार्कजस्तो स्थान । तेस्रो, सहरका शंखमूल, नारायणचौरजस्ता ससाना पकेट पार्कहरू । चौथो, फराकिलो पैदल सडकका दुवैतिर रूख रोपेर त्यसको बीचमा हिँड्ने संरचना (एभिन्यु) जुन नेपालमा हतपती भेटिँदैन । र पाँचौं, सडकको वरपरÙ जस्तै— कोटेश्वरदेखि बल्खुसम्म रोपिएका जसरी वा माइतीघरदेखि तीनकुनेसम्मको सडकको बीचको मिडियन ।

यस्ता सार्वजनिक ठाउँमा बाहेक व्यक्तिगत वा सार्वजनिक संस्थानका ठूला कम्पाउन्डहरूमा पनि हरियाली हुन्छ तर जनसंख्या वृद्घिसँगै निजी घरका हरियालीहरू क्रमशः हराउँदै जान्छन् । जग्गाको मूल्यवृद्घिसँगै हरियालीयुक्त कम्पाउन्ड भएका घरहरूले रूखबिरुवा हुर्केका स्थानहरूमा मानवनिर्मित संरचनाहरू बनाउन थाल्छन् । त्यसको उदाहरण प्रशस्त हरियाली भएको ऐतिहासिक समिट होटलको ठाउँमा ठूलो अपार्टमेन्ट र होटल बनाइन लाग्नु हो । सिंहदरबारभित्रै पनि रूखबिरुवा हुर्केका स्थानहरूमा धमाधम भवनहरू बनिरहेका छन् ।

यस्तो परिस्थितिमा सहरमा मानवनिर्मित खैरा संरचनाका तुलनामा हरित संरचनाहरूले ओगटेको भू–अनुपात घट्दै जान्छ । र, सार्वजनिक जग्गाहरूमा हरित पूर्वाधारहरू निर्माण गर्ने बाध्यता पालिकाहरूलाई पर्छ । त्यस्तो अवस्थामा मन्दिर लगायतका धार्मिक ठाउँ, नदी किनारा र पार्कहरूमा थप बिरुवा रोप्ने, हरियाली बढाउने र प्रशस्त जग्गा भएका शैक्षिक, सरकारी संस्थाहरूमा वृक्षरोपण गर्नेबाहेक सडकवरपर बिरुवा रोप्ने बाध्यता आइपर्छ ।

सडक किनाराका रूख

हाल नेपालका राजमार्ग र सहरी सडकहरूवरपर रूख रोप्ने चलन बढेको छ । उपत्यकाका थुप्रै सडक किनारामा अहिले वृक्ष र हरियाली बढेको देख्न सकिन्छ । तर यहाँका सडक किनारामा रूख हुर्काउन थुप्रै चुनौती छन् । हाम्रा अधिकांश सडक किनारामा रूख हुर्काउने सोचले बनाइएका छैनन् । कैयौं सडक फुटपाथविहीन छन् र भएका फुटपाथ पनि साँघुरो हुनाले रूख हुर्काउन नमिल्ने छन् । कतिपयमा रूख हुर्काउन मिल्ने फुटपाथ भए पनि त्यसमाथिका बिजुली लगायतका तारले रूखबिरुवाको वृद्घिमा तगारो हाल्छन् ।

यस्ता भौतिक चुनौतीसँगै कतिपय ठाउँमा सडक किनारामा रूख रोप्न स्थानीय बासिन्दाले अवरोध गर्छन् । कोटेश्वर–बल्खु खण्डमा बाक्लो वृक्षरोपण गरी सहरी जंगलका रूपमा त्यहाँका सडक किनारलाई विकास गर्नमा स्थानीय बासिन्दाहरूले अवरोध गरे । यसले गर्दा रूखहरू एक लाइन मात्र रोपिए र बाँकी जमिनमा हेरचाह गर्न गाह्रो हुने, पानी बढी चाहिने तर कम वातावरणीय सेवा दिने चौर बनाउनुपर्‍यो ।

नेपालमा सडकवरपर कसले रूख रोप्ने, हुर्काउने र जिम्मा लिने भन्ने कानुनी अस्पष्टता छ । सहरी विकास रणनीति र राष्ट्रिय सडकको मापदण्डमा सहरी वन गायब छ । राष्ट्रिय सडकको मापदण्ड हेर्दा त्यसले सडकवरपर रूख रोपिने कल्पनासम्म नगरेको देखिन्छ । पछिल्लो वन ऐनले सडकका रूख स्थानीय निकाय अन्तर्गत हुने उल्लेख गरे पनि स्थानीय सरकार सञ्चालन ऐनमा त्यो कुरा परेको छैन । त्यसैले सडकका रूख विभिन्न क्लबदेखि बैंक, स्कुल–कलेज र वित्तीय संस्थाहरूको काम देखाउने साइनबोर्ड बन्न पुगेका छन् । र, हाम्रो सहरमा सबैभन्दा भद्रगोल कुनै वस्तु छ भने त्यो साइनबोर्ड हो ।

सामान्यतया सडकका रूखहरू जनधनलाई असुरक्षित नपार्ने, पदयात्री र गाडीहरूको दृश्यलाई नछेक्ने, बिजुली लगायतका तारलाई बाधा नपुर्‍याउने, जमिनमुनिको ढललाई नोक्सान नगर्ने र ठूला गाडीले नछुने हुनुपर्छ । साथै सहरमा निश्चित ठाउँमा मात्रै रूख रोप्न र हुर्काउन मिल्ने भएकाले रूखको प्रजाति छनोट गर्दा कुन ठाउँमा रोप्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । पार्कमा रोप्ने, फराकिलो फुटपाथमा रोप्ने, साँघुरो फुटपाथमा रोप्ने वा मिडियनमा रोप्ने भन्ने कुरामा रूखको प्रजातिको छनोट निर्भर गर्छ । तथापि सहरमा रूख रोप्दा प्रजातिगत, उमेरगत, उचाइगत र आकारको विविधता हेरिन्छÙ हलक्कै र सुस्तसँग बढ्ने, आगन्तुक र रैथाने, पतझड र सदावहार वनस्पतिको मिश्रण गरेर रोपिन्छ । बिरुवा रोपिसकेपछि त्यसलाई नियमित रूपमा हेरचाह गर्ने, हाँगा छिमल्ने, सीधा पार्ने, गोडमेल र सिँचाइ गर्ने, जाडो मौसममा पातको नियमित संकलन गर्ने गरिन्छ । विकसित देशका सहरहरूमा सडक किनाराको प्रत्येक रूखको लोकेसनसहितको तथ्यांक राखिएको हुन्छ ।

तर हाम्रा सहरका रूखहरू हेर्दा सहरी वनका यी सामान्य ज्ञान र विज्ञानलाई बेवास्ता गरिएको पाइन्छ । त्यसैले काठमाडौंको साँघुरो फुटपाथमा शमीजस्तो भीमकाय रूख हुने वनस्पति हुर्काइँदै छ, यहाँको हावापानीप्रतिकूल देवदार रोपिँदै छ वा पैदलयात्री र गाडीलाई छेक्ने र तारलाई छुने गरी जोखिमयुक्त रूख त्यसै छोडिएको छ । सहरी रूखहरूको यस्ता भद्रगोलले दृश्य प्रदूषण व्याप्त हाम्रा सहरमा केही शीतलता प्रदान गर्न फाट्टफुट्ट उभिएका हरिया रूखहरू पनि बोझिलो बनेका छन् ।

यो भद्रगोललाई सुधार्न कानुनी स्पष्टता, सहरी वन र ल्यान्डस्केपिङ सम्बन्धी पढाइ, सहरी रणनीति र सडकको मापदण्ड, वन र स्थानीय सरकार सञ्चालन ऐनमा सुधार जरुरी छ । भारतमा हालै राजमार्गलाई हरियालीपूर्ण बनाउन सुरु गरिएको ‘ग्रिन हाइवे मिसन’ अन्तर्गत त्यहाँको राजमार्ग बनाउने खर्चको १ प्रतिशत अनिवार्य रूपमा राजमार्गको हरित विकास र त्यसको सम्भारमा लगाउनुपर्ने नियम बनाइएको छ । संसारका अन्य सहरले सहरी वनलाई जलवायु परिवर्तनसँग जुध्ने दिगो, सबल र सस्तो आधार मान्दै सहरमा हरियाली बढाउन थालेका छन् । एउटा चिनियाँ उखान छ— ‘रूख रोप्ने उचित समय भनेको ५० वर्षअघि हो र दोस्रो उचित समय भनेको अहिले हो ।’ दोस्रो उचित समयमा रोपिएका रूखहरू भविष्यका लागि समस्या नबनून् ।

प्रकाशित : श्रावण १२, २०७९ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×