कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मंसिर ४ मा लाग्ला त हाम्रो घैंटामा घाम ?

यस पटकको निर्वाचनलाई नेताको रूप फेर्न, मुलुकमा सुशासन कायम गर्न र राज्य संयन्त्रलाई बिचौलियामुक्त विधिको मार्गमा डोर्‍याउन सक्ने पात्र र प्रवृत्तिलाई स्थापित गर्ने अवसरका रूपमा उपयोग गरौं ।

उही पात्र, उही प्रवृत्ति र उही परिणामका लागि निर्वाचन गरिरहनुको के अर्थ रहन्छ र ! यो त अर्थकै विनाश मात्र हो । प्रवासबाट रगत–पसिनासँग साटेर पठाएको रेमिट्यान्सको टेकोमा अडेको राज्यको ढुकुटी उस्तै परिणाम र नियतिका लागि निर्वाचनमा खेर फाल्नुभन्दा त यिनीहरूकै म्याद अझै दुई कार्यकाल थपिदिनु श्रेयस्कर होला !

मंसिर ४ मा लाग्ला त हाम्रो घैंटामा घाम ?

गुण र दोषसम्म छुट्याउन नसक्ने निर्वाचनले लोकतन्त्रलाई बलियो र सार्थक बनाउन सक्दैन । मताधिकार मतको अधिकार मात्र होइन, व्यक्तिको अवसर र वैयक्तिक सार्वभौम शक्ति पनि हो । अधिकार शक्तिमा रूपान्तरण हुन सक्दैन भने नागरिकले आफैंलाई लाचारी र गुलामीको साङ्लोमा बाँधेको प्रमाणित हुन्छ । हामी आफ्नै गलत रोजाइको परिणाम भोग्दै छौं । चाणक्यले भनेका छन्- जुन देशका नागरिक लालची र लाचार छन्, त्यस देशका नेता पनि ठग हुने गर्छन् । हाम्रा नेताहरू राष्ट्र र समाजकै लागि हानिकारक छन् भन्ने हाम्रो ठम्याइ हो भने हामी विकल्पको रोजाइमा किन जान सक्दैनौं त भन्ने प्रश्नको उपयुक्त जवाफ निर्वाचनबाट नपाउन्जेल निर्वाचन एउटा आवधिक प्रक्रियामा मात्र सीमित रहने गर्छ । विकल्प आफूसँगै सुरक्षित राखेर नेताहरूले देश बिगारे भनी रोइलो गरिरहनुको तुक छैन ।

रक्सी स्वास्थ्यका लागि हानिकारक छ भन्ने सूचना रक्सीको हरेक बोतलमा उल्लेख गरिएकै हुन्छ, चिकित्सकले पनि ‘अब तपाईंको शरीरमा देखा परेका लक्षण र लिभरको अवस्थाले पनि रक्सी खान मिल्दैन’ भनेर सुझाएकै हुन्छ, तर पनि रक्सी खान छाड्न नसक्ने लतमा फसेका मदिराप्रेमीले जस्तै पटकपटक निर्वाचित भएर मुलुक र सुशासनका लागि हानिकारक प्रमाणित भइसकेका उही नेता, उही प्रवृत्तिलाई छाड्न नसक्नु भनेको गुलामी र लालचलाई आफ्नो चरित्र र स्वभावको अभिन्न अंग बनाउनु हो । यस्ता अविवेकी मतदाता र कार्यकर्ताको मनोविज्ञान पनि रक्सीको लतजस्तै नशाको बन्दी बनेको छ । नशा चेतनाशून्यको अवस्था हो । मानव शरीरलाई विवेकी र चेतनशील बनाउने प्रमुख चार आयाममा हुन्- मन, बुद्धि, चित्त र अहंकार । मन स्वार्थप्रेरित रहने, बुद्धि विकासमुखीभन्दा विनाशमुखी तर्कमै रुमल्लिने, चित्तको वृत्त साँघुरो बनाउने र आफन्तकै हकहितमा केन्द्रित रहने, अहंकारले अरू कसैको अस्तित्वलाई पनि स्वीकार गर्न नसक्नेजस्ता मनोदशाबाट ग्रस्त हाम्रा नेताहरू र तिनैलाई भाग्यविधाता ठान्ने र मान्ने मतदाता दुवै मुलुकको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छन् । दुवैको मिलनविन्दु वैयक्तिक हितमा मात्र हुने गर्छ । यो स्वार्थी अटुट निर्भरताको चर्को मूल्य भने मुलुकले चुकाउनुपरिरहेको छ ।

निर्वाचनको बलियो विवेकी जगमा उभिएको लोकतन्त्रले मात्र परिवर्तन र पुस्तान्तरणको मुद्दालाई स्थापित गर्न सक्छ । अझै पनि थोत्रा र अयोग्यलाई बोकिरहने हाम्रा काँधको भारी नबिसाउने हो भने हामी कुशासन र भ्रष्टाचारको कुचक्रमा फसी नै रहनेछौं । हाम्रा काँधमा विगतदेखि नै थच्चिएर बसेका हाम्रा नेता र थिच्चिएर बसेका हामी मतदाताबीचको छिनोफानो यस पटकको निर्वाचनमा हुनैपर्छ । अब भने हामी थप बहुमूल्य पाँच वर्ष खेर फाल्ने अवस्थामा छैनम् । आगामी पाँच वर्षको अवधि संकट र सम्भावनाका दृष्टिले हाम्रा लागि निकै महत्त्वपूर्ण रहनेछ ।

विश्वपरिवेशमा देखा परिरहेका आर्थिक मन्दी, ऊर्जा संकट र प्राकृतिक प्रकोपसँग सामना गर्ने प्रभावशाली राज्यसयंन्त्र निर्माण गर्न सकिएन भने मुलुककै अस्तित्व संकटमा पर्ने निश्चित छ । बिचौलियामा निर्भर राज्यसंयन्त्रले अबका अनपेक्षित चुनौती र नवीनतम सम्भावनाको उत्खनन गर्न सक्ने ल्याकत र नैतिक सामर्थ्य नै राख्दैन । राज्य संयन्त्र बलियो होस् भन्नका लागि पहिलो सर्त भनेकै विगतदेखि पटकपटक निर्वाचित हुँदै आएका, उमेर र विचारले पनि वृद्ध भइसकेकालाई हामीले काँधमा नबोक्नु नै हो । श्रीकृष्णलीला मनाउने क्रममा अग्लाइमा झुन्ड्याइएको दहीको घैंटो फुटाउन लौरो दिई धेरै जनाले काँध थापेर सक्षम, निर्भीक र विश्वासिलो मानी माथि पुर्‍याएको व्यक्तिले घैंटो फुटाएर दही प्रसादका रूपमा नबाँडी आफैंले खाएजस्तै छ मुलुकको अवस्था । हाम्रा घैंटे नेताहरू पनि अहिले मतदाताका काँधमा चढी दही खाएर मस्त निद्रामा छन् । आफूले खान नसेको दही बरु आफ्नै शरीरमा चुहाएर बसेका छन् तर प्रसाद बाँड्न भने कहिल्यै तत्पर देखिँदैनन् । अब त तिनीहरू शारीरिक र मानसिक दुर्बलताका कारण लौरो उठाउन पनि सक्दैनन् । तर अबोध भनौं वा अविवेकी हामी मतदाताले भने तिनीहरूलाई अझै काँध थाप्न छाडेका छैनौं । विषमा पनि विश्वास गरिरहने हामी अबोध हौं, कुहिएर गन्हाउनेलाई काँधमा बोकिरहने हामी अविवेकी पनि हौं । हामीले आफ्नै अविवेक र विवशताको प्रतिफल कहिलेसम्म बोकिरहने त ? यो सवाल घैंटे नेताहरूलाई होइन, हामी आफैंलाई गर्न आवश्यक छ । हामी आफ्नै घैंटामा बुद्धिको बिर्को लगाएर बसेका छौं । हाम्रो आफ्नै घैंटामा घाम लागेको छैन, त्यसैले अरूलाई दोष दिनुको अर्थ छैन । यसै त घैंटाको आकार नै यसरी बनेको हुन्छ कि यसलाई सूर्यको प्रकाशमा सोझै राख्दासमेत भित्र सम्पूर्ण रूपमा उज्यालो हुँदैन, यसैले घैंटामा बस्नेहरू सधैं सेवा र सुविधाबाट वञ्चित नै हुने गर्छन् ।

श्रीकृष्णलीलामा प्रदर्शन गरिने घैंटो फुटाउने खेलको प्रतीकात्मक सन्देश के पनि हो भने, जबसम्म आफैंमा रहेको विसंगतिको घैंटो फुटाउन सकिन्न, तबसम्म कुनै प्रतिफल पाउन सकिन्न । संगति, असंगति र विसंगतिको चेपुवामा परेको हाम्रो निर्वाचन प्रणाली र सो प्रणालीका सदाबहार घैंटे नेताहरू हाम्रै चेतनाका प्रतिनिधि पात्र हुन् । यस्ता नेताहरूबाट मुक्ति पाउन र मुलुकलाई सुशासनको मार्गमा डोर्‍याउन आफ्नो अविवेकी चेतनाको घैंटो आफैंले फुटाउनैपर्छ । यो घैंटो फुटाउने साइत यसपालि मंसिर ४ गते जुरेको छ । त्यो साइतमा हामी आफैंले अवसर खेर फाल्ने अनि नेताहरूलाई गाली गर्ने नियति सदाका लागि अन्त्य गरौं । भगवान् श्रीकृष्णले असत्यमाथि सत्यको विजयका लागि कुरुक्षेत्रको शंखनाद गरेझैं राजनीतिक वृत्तका असफल र अयोग्य पात्रहरूको विसर्जनका लागि हामी सबैले स्वधर्मका नियमको पालना मात्र गर्ने हो भने मुलुक र मुलुकवासीको मुहार फेर्ने प्रस्थानबिन्दु सजिलै भेटिनेछ । अन्यथा भ्रष्टलाई भ्रष्ट भनिरहनुको औचित्य हुँदैन ।

हालै एक नेताले सार्वजनिक रूपमै भने, ‘पैसा नलिई भोट नै नदिने जनता नै भ्रष्ट हुन् । हामी कसरी भ्रष्ट भयौं ?’ यसै गरी एक बिचौलियाले ठोकुवा गरे, ‘सांसद, लेखा समिति, राज्य व्यवस्था समिति सबैलाई म मिलाउन सक्छु । नेताहरूका लागि आवश्यक पर्ने सबै खर्चको जोहो मैले नै मिलाइदिने गरेको छु । आवश्यक परे सत्तापक्ष, प्रतिपक्ष र मिडिया सबैलाई मिलाउन सकिन्छ ।’ यो पेचिलो अवस्था हो, जसको हल लोकतन्त्रमा यथाशीघ्र खोज्नैपर्छ । भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले लोकतन्त्र कमजोर हुने प्रमुख तीन कारण उल्लेख गर्दै भनेका छन्, ‘जहाँ मिडिया बिकेको हुन्छ, प्रतिपक्ष भयभीत रहन्छ र मतदाताहरू मरेतुल्य छन्, त्यहाँ लोकतन्त्र बाँच्न सक्दैन । बाँचेछ नै भने पनि फलदायी हुन सक्दैन ।’ हामी अहिले यस्तै सामाजिक चेतनाको परिवेशमा बाँचेका छौं । हाम्रो लोकतन्त्रले पनि अयोग्यलाई मठाधीश बनाउने र योग्यको जन्मकुण्डली तयार गर्ने कर्मकाण्डी कामबाहेक केही गर्न सकेको छैन । तसर्थ यस पटकको निर्वाचनलाई नेताको रूप फेर्न, मुलुकमा सुशासन कायम गर्न र राज्य संयन्त्रलाई बिचौलियामुक्त विधिको मार्गमा डोर्‍याउन सक्ने पात्र र प्रवृत्तिलाई स्थापित गर्ने अवसरका रूपमा उपयोग गरौं । पात्र छुट्याउने साँचो हामीसँगै छ, आफ्नो साँचो आफैंसँग सुरक्षित राखौं ।

प्रकाशित : भाद्र २२, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?