प्रजातन्त्रमा प्रियतावादको आकर्षण- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रजातन्त्रमा प्रियतावादको आकर्षण

प्राथमिकता आफैंले निर्धारित गरे पनि सूक्ष्म रूपमा दाताहरूको अर्थराजनीतिक दर्शनबाट प्रभावित हुनु नेपालका बौद्धिक उपक्रमहरूको विवशता हो ।
सीके लाल

पत्रकारितासँग सम्बद्ध संस्था भए पनि ‘खोज पत्रकारिता केन्द्र–नेपाल’ स्थापना भएको चौथाइ शताब्दी पुगिसकेको कुरा धेरैलाई थाहा नहुन सक्छ । पत्रकारितामा ‘के, को, कहाँ, कहिले, कसरी र किन’ प्रश्नहरूको उत्तरले घटनाको तथ्यपरक विवरण दिन्छ ।

प्रस्तुत विवरणको पृष्ठभूमीका लागि परिस्थितिको अध्ययन एवं पात्रहरूको अन्तर्वार्ता आवश्यक देखिन सक्छ । विज्ञहरूले तर्कसंगत व्याख्या प्रस्तुत गर्नुका साथै घटनाका सम्भाव्य असरहरू पनि औंल्याइदिने गर्दछन् । त्यस्ता सबै खाले नियमित रिपोर्टिङको आफ्नै महत्व छ । खोजी पत्रकारले भने तथ्य संकलन एवं तार्किक प्रस्तुतिसँगसँगै विधिवेत्ताहरूले खोज्ने सबुत र प्रमाण जुटाएर आफ्नो विवरणलाई तहकिकातका आधारमा पक्कापक्की गर्नुपर्ने हुन्छ । त्यस्तो तथ्य र जाँच गर्न निकै समय लाग्छ, मिहिनेत पर्छ र पर्याप्त स्रोत एवं साधन जुटाउनुपर्ने हुन्छ ।

लागतअनुसारको प्रतिफल आउने सम्भावना नरहेको हुँदा नेपालका नाफा क्षेत्रका मिडियाहरू खर्चिलो अनुसन्धानमा पूँजी फँसाउन हच्किन्छन् । मिडिया सञ्चालकहरूका ‘मिडिया सोसाइटी नेपाल’ वा ‘मिडिया अलायन्स नेपाल’ जस्ता संस्थाहरूले सामूहिक लगानीमा सार्वजनिक हितका लागि खोजी पत्रकारितालाई बढावा दिनुपर्ने हो । तर नेपालको नाफा क्षेत्रमा सार्वजनिक हितका लागी निजी लगानी गर्ने लोकोपकारी संस्कृति विकसित हुन बाँकी छ । सायद त्यसैले होला, खोज पत्रकारिता केन्द्र–नेपालजस्ता उपक्रमहरू लगभग पूरै विदेशी सहायतामा आश्रित हुने रहेछन् । संस्थाको २५ औं वार्षिकोत्सव समारोहको समापनका क्रममा कार्यक्रम सञ्चालनका लागि स्रोत जुटाउन सहयोग गर्ने सरकारी एवं गैरसरकारी निकायहरूलाई धन्यवाद दिन लामै सूची पाठ गरिएको थियो । स्रोत उपलब्ध गराउनेहरूको तालिकामा युरोपेली एवं अमेरिकी सहयोगीहरूको बाहुल्य स्पष्ट अनुभव गर्न सकिन्थ्यो । सहयोगी संस्थाहरूको सूचीमा ‘द एसिया फाउन्डेसन’ एवं ‘ओपन सोसाइटी फाउन्डेसन’ द्वारा नेपालमा सञ्चालित ‘अलाएन्स फर सोसल डायलग’ लगायतका ध्यान तान्ने नामहरू थिए ।

सन् १९५० को दशकमा एसियामा अमेरिकीहरूको हित प्रवर्द्धनका लागि स्थापित एवं सन् १९६७ मा अमेरिकाको बाह्य गुप्तचर संस्था सीआईएसँग सम्बद्ध रहेको प्रमाण सार्वजनिक भएपछि उत्पन्न विवादले गर्दा द एसिया फाउन्डेसन वर्तमान नाम र स्वरूपमा अपेक्षाकृत कम विवादास्पद गतिविधिमा संलग्न रहँदै आएको हो । भारतमा त सन् १९६८ तिर यो संस्था प्रतिबन्धित नै भएको थियो । नेपालमा भने यस गैरनाफामुखी उपक्रमका गतिविधिहरू निर्बाध रूपले सञ्चालित हुँदै आएका छन् । कार्य संचालनको अधिकतम स्रोत अहिले पनि अमेरिकी सरकारको अनुदान नै रहने गरेकाले यस अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई पनि, पाकिस्तानी मूलका बेलायती बौद्धिक तारिक अलीका भाषामा, चलनचल्तीको ‘एनजीओ’ को साटो ‘डब्ल्यूजीओ’ अर्थात् ‘पश्चिमाहरूको सरकारी संस्था’ भन्न मिल्छ । स्वाभाविक हो, सतहमा निष्पक्ष देखिए पनि डब्ल्यूजीओहरूले सम्बद्ध सरकारका प्राथमिकताहरूलाई आत्मसात् गरेर स्वेच्छाले तिनका स्वार्थ प्रवर्द्धन हुनेगरी आफ्ना कार्यक्रम निर्धारण गर्ने गर्दछन् ।

पहिलो शीतयुद्धताका अमेरिकीहरूको उद्देश्य तत्कालीन सोभियत संघको आकर्षण कम गर्नु थियो । दोस्रो शीतयुद्धको प्रारम्भिक अवस्थामा ‘बेइजिङ सहमति’ प्रस्तावनाले विश्व अर्थराजनीतिमा फैलाउँदै लगेको प्रभावलाई कम गर्नु अमेरिकी रणनीतिकारहरूको अघोषित अभिप्राय हुन सक्छ । खोज पत्रकारिता केन्द्रले आफ्नो २५ औं वार्षिकोत्सवमा आयोजन गरेको समूहगत छलफलको विषय निःसन्देह त्यस संस्थाको सुविचारित एवं उपयुक्त छनोट थियो । त्यसका साथै ‘प्रियतावादको पर्दाफासमार्फत बहुलवादको रक्षा’ विषयले सम्भ्रान्तहरूका विरुद्ध वामपन्थीहरूले वाचा गर्ने जनमुखी नीतिको भर्त्सना गर्ने उद्देश्यलाई पनि सघाउ पुर्याउछ । विकासशील देशहरूमा सांस्कृतिक सम्भ्रान्तसँग सहकार्य गर्न रुचाउने डब्ल्यूजीओहरू प्रायशः प्रतिगामी प्रियतावाद (रिग्रेसिभ पाप्यलिज्म) एवं प्रगतिशील प्रियतावाद (प्रोग्रेसिभ पाप्यलिज्म) जस्ता विपरीतार्थक अवधारणाहरूलाई छुट्याएर हेर्दैनन् । बहुलवादलाई खतरा प्रतिगामी प्रियतावाद एवं जनोत्तेजक प्रियतावाद (डेमगाजिक पाप्यलिज्म) सँग छ भन्ने कुरा बहसबाट गायब भएपछि यथास्थितिवादी राजनीतिलाई बल पुग्छ ।

अमेरिकी अर्बपति जर्ज सोरोसको अग्रसरतामा सन् १९८० को दशकमा सुरु गरिएको ओपन सोसाइटी फाउन्डेसनले आफूले आफैंलाई ‘राजनीतिक लोकोपकारी’ संस्थाका रूपमा परिभाषित गर्ने गर्दछ । औपचारिक रूपमा यो संस्था सन् २००७ पछि नेपाल प्रवेश गरेको हो । नेपालमा ‘अलायन्स फर सोसल डायलग’ यस संस्थाको लगानी गर्ने संयन्त्र हो । ओपन सोसाइटी फाउन्डेसनका पदासीन अध्यक्ष मार्क मलोक–ब्राउनले कुरो नचपाई सार्वजनिक लेखमार्फत आफ्नो उद्देश्यको घोषणा गरेका छन्, ‘आर्थिक र सामाजिक सीमान्तीकरणको दृष्टिबाट मात्र हेर्ने संकीर्ण सोचबाट माथि उठेर जनताले प्रत्यक्ष रुपमा सहनुपरेका समस्याहरूलाई समाधान गर्न सक्ने हुनुपर्छ ।’ आर्थिक र सामाजिक सीमान्तीकरणलाई ‘संकीर्ण सोच’

ठहर्याइसकेपछि यथास्थितिको पक्षपोषण संस्थाको प्रमुख उद्देश्य हुने नै भयो । आर्थिक समाजवादको साटो निर्बाध बजारवाद, सामाजिक समावेशिताको साटो व्यक्तिगत समर्थवाद, राजनीतिक बहुदलीयताको साटो मध्यधारका दलहरूको वर्चस्व, सांस्कृतिक बहुलताको साटो पश्चिमा शैलीको आधुनिकीकरण एवं दार्शनिक बहुविधताको साटो पुँजीवादको प्रभुत्व ओपन सोसाइटीको मूल उद्देश्यका अवधाराणात्मक अन्तर्वस्तुहरू हुनुपर्दछ । स्वाभाविक हो, त्यस्तो जीवनदृष्टिले प्रियतावादका वैचारिक, मानसिक, राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक आयामहरूलाई ओझेलमा राखेर निर्वाचनको उद्देश्यका लागि प्रयोग गरिने रणनीतिक प्रयोगलाई मात्र महत्त्व दिन्छ । प्राथमिकता आफैंले निर्धारित गरे पनि सूक्ष्म रूपमा दाताहरूको अर्थराजनीतिक दर्शनबाट प्रभावित हुनु नेपालका बौद्धिक उपक्रमहरूको विवशता हो । त्यस्ता सबै सीमितताका बाबजुद खोज पत्रकारिता केन्द्र–नेपालले एउटा महत्वपुर्ण विषयलाई सार्वजनिक चर्चामा भने ल्याएको छ । सन् १९६० को दशकमा अमेरिकीहरूको सहयोग स्वीकार गरेको आक्षेप लागेपछि भारतका केही समाजवादीले घोषणा गरेका थिए, ‘रकम विदेशी भए पनि आचार, विचार र उद्देश्य स्वदेशी भए फरक पर्दैन !’ नेपालका व्यावसायिक बाध्यताहरूलाई दृष्टिगत गरेर यहाँका गैससहरूले पनि त्यस्तै नीति अख्तियार गरिरहेको देखिन्छ ।

बहुमतीय विडम्बना

प्रजातन्त्रको प्रारम्भिक अवस्थादेखि नै राजनीतिक दर्शनमा ‘बहुमतको निरंकुशता’ भनिने प्रवृत्तिको जोखिम निरन्तर रहँदै आएको हो । पश्चिमी दर्शन विधाका जनक मानिने सुकरातलाई देशद्रोह एवं ईशनिन्दाको आरोपमा मृत्युदण्ड दिने कुनै क्रूर तानाशाह नभएर जनप्रतिनिधिहरूको समूह थियो । बहुमतले सदैव सही र सर्वहितकारी निर्णय नै लिन्छ भने छैन । बहुमतका पूर्वाग्रहहरूको सुरुवात प्रजातन्त्रमा अन्तर्निहित विरोधाभासबाटै हुन्छ । प्रजातान्त्रिक व्यवस्थाले सामान्यजनलाई स्वायत्ततामार्फत मुक्त गर्ने मात्र नभई नीति र नियममार्फत बाँध्ने काम पनि गर्ने गर्दछ । बहुजनहरूको हितका लागि नीतिको सर्वोच्चता स्थापित गर्न पहरेदार भगाउन र विष तयार गर्न हच्किँदासमेत सुकरातले अड्डी कसेर जहरको प्याला सहर्ष घुट्काएका थिए । सबै नागरिक सुकरात हुन सक्दैनन् । प्रजातन्त्रमा नागरिकको स्वतन्त्रता सुनिश्चित गर्नकै लागि तिनलाई संविधानको सर्वोच्चता, कानुनको शासन, स्वतन्त्र न्यायपालिका, शक्ति विभाजन एवं नियन्त्रण तथा सन्तुलन जस्ता प्रावधानमार्फत बाँधिएको हुन्छ । तर आफ्नै हितका लागि स्थापित बन्धन पनि सबैलाई मन पर्दैन । सोच्ने शक्ति भए पनि आधारभूत रूपमा मानिस पनि जनावरकै श्रेणीमै पर्दछ । प्रत्येक जन्तुमा काम, क्रोध, लोभ, मोह, अहंकार, ईर्ष्या, आसक्ति एवं भय जस्ता आवेग विद्यमान हुन्छन् । सामाजिक प्रथा, सांस्कृतिक मूल्य एवं धार्मिक मान्यताले तिनलाई नियन्त्रणमा राख्दछन् । प्रजातान्त्रिक राजनीतिको विडम्बना नै के हो भने, बहुमतको समर्थन प्राप्त गर्न महात्त्वाकांक्षी राजनीतिकर्मीहरू प्रायशः व्यक्तिका पाशविक आवेगलाई सल्काउन सहज ठान्दछन् । र, अस्तित्व मासिने एवं वर्चस्व गुम्ने डर सबभन्दा सहजै भजाउन सकिने सामूहिक आवेगहरू हुन् ।

सुकरातले निरन्तर प्रश्न गर्ने प्रवृत्तिलाई सत्यताको मर्म ठहर्‍याएका थिए भने अर्का ग्रिक दार्शनिक अरस्तुले प्रतीतिमार्फत स्थापित सत्यको प्रसारका विधिहरू सुझाएका छन् । वक्ताको चरित्र तथा आधिकारिकता, श्रोताको भावनात्मक अवस्था एवं प्रस्तुतिको तार्किक संयोजनबाट बहुमतलाई प्रभावित गर्न सकिन्छ भन्ने अरस्तुको व्याख्यानात्मक निष्कर्षले यथास्थितिको मजबुतीलाई दर्साउँछ । वक्ताको आधिकारिकता तिनको विगतबाट मात्र बुझ्न सकिन्छ । यस मान्यताले नव–प्रवेशीको राजनीतिलाई कमजोर देखाउँछ । प्रजातान्त्रिक राजनीतिमा वंशवादको प्रभावलाई बुझ्न वक्ताको आधिकारिकताको सिद्धान्तले सघाउन सक्छ । श्रोताको भावनात्मक अवस्थालाई काम, क्रोध, लोभ, मोह, अहंकार, ईर्ष्या, आसक्ति एवं भयजस्ता पाशविक प्रवृत्तिलाई सल्काएर सहजै उद्वेलित गर्न सकिन्छ । जनोत्तेजक प्रियतावादीले वर्चस्वशाली समुदायका पूर्वाग्रहहरूको तुष्टीकरणको नीति लिन्छन् । वर्चस्वशाली समुदायमा तिनको हालीमुहाली समाप्त हुने आतंक फैलाउनु जनोत्तेजक प्रियतावादीको मुख्य अस्त्र हो । भारतमा ८० प्रतिशतभन्दा बढी हिन्दुलाई १५.५ प्रतिशत मुसलमानको डर देखाइन्छ । बहुसंख्यक मतदातासँग वक्ताको तादात्म्य स्थापित गर्नु जनरञ्जक प्रियतावादीहरूको छनोट हुने गर्दछ । वर्चस्वशाली एबीसीडी (आर्य–खस, बाहुन, छेत्री र दशनामी) समुदाय नेपाललाई आफ्नो एकाधिकार कायम रहेको राष्ट्र मान्दछ । त्यस्तो पूर्वाग्रहलाई राष्ट्रिय स्तरमा नृजातीय बहुसंख्यकवादले बढावा दिन्छ । समाजशास्त्री सैम्मी स्मुहाले इजरायलको राजनीतिलाई आद्यप्ररूपीय (आर्कटाइपल) नृजातीय प्रजातन्त्र ठहर्याएका छन् । लगभग त्यस्तै परिस्थिति श्रीलंका एवं बर्मामा पनि विद्यमान छ । सन् २०१५ को विवादित संविधानमार्फत नेपालमा पनि नृजातीय प्रजातन्त्र संस्थागत गर्ने प्रयत्न सुरु भएको हो । प्रजातान्त्रिक व्यवस्थाका अन्तरविरोधहरूलाई उपयोग गरेर नृजातीय बहुसंख्यकले चामत्कारिक मुख्तियारको प्रमुखतालाई स्थापित गर्दछ । मतदानको मैदानमा सत्तासीन पाँचदलीय गठबन्धन एक्लो एबिसिडि समुदायका नृजातीय मुख्तियारसँग डराएका वा प्रतिपक्षमा रहेका वर्चस्ववादीहरू उनीप्रति त्यत्तिकै आकर्षित भएका होइनन् । सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीले तीन वर्षभित्र प्रियतावादलाई सच्याउन सकिने कुनै खास राजनीतिकर्मीको प्रवृत्तिजन्य विकारबाट हटाउनै नसकिने समग्र व्यवस्थाको राजनीतिक पद्धतिमा रूपान्तरित गरिदिएका छन् । समग्र पद्धति नै प्रियतावादी भएपछि त्यसबाट मुक्त हुन कति कठिन हुने रहेछ भन्ने कुरा बर्मा र श्रीलंकामा देखिँदै आएको छ ।

जनोत्तेजक एवं जनरञ्जकजस्ता प्रतिगामी प्रियतावादको दीर्घकालीन असर भय–अभिप्रेरित प्रतिरोधको सामूहिक मनस्थितिमा देख्न सकिन्छ । नेपालको एबीसीडी समुदायले आफ्नो वर्चस्वका लागि भारतीय संस्कृतिको विस्तारलाई जोखिमका रूपमा हेर्छ । त्यसैले आदर्श ‘नेपालीपन’ परिभाषाले ‘एउटै भाषा, एउटै भेष’ मात्र नभएर त्यस अवधारणाको प्रभुत्वलाई राष्ट्रवादको पर्याय ठहर्‍याएको छ । नेवाः संस्कृति हरेक अर्थमा एबीसीडी जीवनशैलीभन्दा उत्कृष्ट थियो, केही हदसम्म अहिले पनि निकै भव्य नै छ । नेवाः राज्यको राजनीतिक सम्प्रभुता समाप्त भएपछि भने सुस्तरी सांस्कृतिक स्खलन पनि सुरु हुँदै गयो । कमजोर भइसकेको सांस्कृतिक अस्तित्व मेटिने डरले नेवाः अभियन्ताहरू आफ्नो आतंकित मनस्थितिलाई साम्य पार्न भद्दा प्रहसनलाई हास्यव्यंग्य ठान्ने अपूर्व क्षितिज सिंहमाथि कारबाहीको कुरा उठाइरहेका छन् । मधेशी, थारू र मुसलमानविरुद्ध गरिने व्यंग्यलाई

कारबाहीको दायरामा ल्याउने हो भने कम्तीमा काठमाडौंको आधा जनसंख्यालाई हिरासतमा राख्नुपर्ने हुन्छ । तर, प्रतिगामी प्रियतावादको बहुमतीय विडम्बनाले सिर्जना गर्ने पतनोन्मुखी कुण्डल (डाउन्वर्ड स्पाइरल) भित्र पसेपछि ससाना समूह पनि मताधारको किल्ला बनाउन थाल्दछन् । बहुलतालाई संस्थागत गर्नुपर्ने बहुमतीय प्रथा यस प्रकार आफ्नै मान्यताको सिकार बन्न पुग्छ । समसामयिक विश्वमा प्रजातान्त्रिक व्यवस्थाका लागि सबभन्दा ठूलो चुनौती महात्त्वाकांक्षी सैनिक अधिकारी नभएर बहुमत प्रथालाई बहुसंख्यक वर्चस्वका रूपमा बेच्ने प्रतिगामी प्रियतावादीहरू बन्न पुगेका छन् । ट्रम्प, मोदी, बोल्सोनारो, एर्दोगान, दुतेर्ते, ओरबान, गोटाबाया र शर्मा ओली लगभग एकै प्रकारको प्रतिगामी प्रियतावादका राजनीतिक उत्पाद हुन् । एक्काइसौं शताब्दीको दोस्रो दशकपछि भने त्यस्तो प्रवृत्ति संसारभरि किन फैलिँदै गएको हो ? भौतिकशास्त्र वा गणितमा जस्तो समाजशास्त्रले एकल उत्तर दिन सक्दैन, फगत व्याख्या मात्र प्रस्तुत गर्न सक्दछ । समाजशास्त्रीहरूले वैचारिक राजनीतिको अवसान, बजारवादले निम्त्याएको व्यापक असमानता, जलवायु परिवर्तन एवं पर्यावरण संकटले सिर्जना गरेको असमानता, वैश्विक उपक्रमहरूले स्थानीय व्यवसायलाई समाप्त पार्न लागेको डर एवं मध्यम वर्गमा अपूरा अपेक्षाहरूले बढाएको असन्तोषलाई प्रतिगामी प्रियतावादको विस्तारका लागि जिम्मेवार ठहर्‍याएका छन् । त्यस्ता सबै व्याख्याहरूसँगसँगै मिडिया र सन्देश प्रवाहका माध्यमहरूमा देखिएको व्यापक परिवर्तन पनि प्रतिगामी प्रियतावादको बढ्दो आकर्षणका लागि कम जिम्मेवार छैन ।

प्रजातान्त्रिक विरोधाभास

सही, सामयिक र पर्याप्त सूचनाको प्रवाहलाई प्रजातान्त्रिक अभ्यासको प्राण भनिएको छ । जनभावनाको जाँच सामान्यजनको उद्गारलाई संकलित एवं परिष्कृत गरेर मात्र गर्न सकिन्छ । त्यसैले अभिव्यक्तिको स्वतन्त्रतालाई प्रजातान्त्रिक अभ्यासको आधारभूत सर्त ठहर्‍याइएको हो । हिंसाका लागि दुष्प्रेरित गर्ने संकेत, कर्म वा वचनबाहेक प्रजातान्त्रिक व्यवस्थामा अभिव्यक्तिको स्वतन्त्रतामाथि अरू कुनै बहानामा बन्देज लगाउन पाइँदैन । अध्येताद्वय जैक गर्सबर्ग एवं शान इलिङले मिडिया एवं प्रजातन्त्रको अन्तर्मुख (इन्टरफेस) प्रक्रियालाई आफ्नो पुस्तकमार्फत ‘प्रजातन्त्रको विरोधभास’ भनेर चित्रित गरेका छन् । प्रजातन्त्र क्रियाशील रहिरहन अभिव्यक्ति एवं सञ्चारको स्वतन्त्रताको प्रत्याभूति हुनुपर्दछ । विडम्बना के हो भने, त्यस्ता सबै प्रजातान्त्रिक अधिकारहरू प्रयोग गरेर अराजकता चाहने तत्त्व, विभाजनमा रमाउने स्वार्थ समूह, अनिश्चितताबाट लाभान्वित हुने धनपति, जनोत्तेजक राजनीतिलाई खुड्किलो बनाउने महत्त्वाकांक्षी शासक एवं बहुमतीय अहंकारलाई भजाउने संस्कृतिकर्मीले प्रजातन्त्रलाई भित्रभित्रै खोक्रो बनाउँदै लगेर धराशायी तुल्याउँछन् । गर्सबर्ग एवं इलिङले सञ्चारको प्रविधिमा देखिने संक्रान्तिकालमा प्रजातान्त्रिक विरोधाभासको प्रवृत्ति झनै व्यापक हुने तर्क गरेका छन् ।

अध्येताद्वयले राजनीतिकर्मी, मिडिया, सामाजिक परिवेश एवं सामान्यजनको मनस्थितिबीचको अन्तरक्रियालाई ‘मिडिया पारिस्थितिकी’ भनेका छन् । मिडिया पारिस्थितिकीमा देखिने तीव्र परिवर्तनलाई सम्बोधन गर्न विद्यमान राजनीति असफल ठहरिँदै गएको निष्कर्ष पनि आधारहीन होइन । तर, मिडिया पारिस्थितिकी विधालाई ‘मूल राजनीति विज्ञान’ भन्नु सम्भवतः अतिशयोक्ति हो । शासक र शासित आमुन्नेसामुन्ने हुँदा सानो स्तरको प्रजातन्त्रमा उम्मेदवारको चरित्र र आधिकारिकता यथास्थिति प्रियतावादको मुख्य आधार हुने गर्दथ्यो । निर्वाचक समूह केही ठूलो भएपछि वक्तृत्वकलामार्फत विश्वसनीय लाग्ने आश्वासन प्रगतिशील प्रियतावादको नारा हुने भयो । छापा माध्यमहरूले परिकल्पित समुदायसँगसँगै सुधारवादी प्रियतावादको सम्भावनालाई देखाउन थाले । जनोत्तेजक प्रियतावाद रेडियो संस्कृति एवं जनरञ्जक प्रियतावाद टेलिभिजनले निर्माण गरेको मिडिया पारिस्थितिकीबाट उब्जिएका हुन् । अन्तर्जालले आम सञ्चारका माध्यमहरूमा ल्याएका परिवर्तनहरूले राजनीतिका स्थापित विधिलाई चुनौती दिन थालेका छन् । मिथ्या प्रचार एवं दुष्प्रचारलाई ‘डिप फेक’ भनिने प्रविधिमार्फत विश्वसनीय बनाउने गरिएको छ । उदाहरण अप्रिय लाग्न सक्छ, तर टेलिभिजन र (अ)सामाजिक सञ्जालको सम्मिलित बोलवालाबीच बीपी कोईराला जस्ता उम्मेदवारलाई पनि चुनाव जित्न हम्मेहम्मे पर्न सक्दथ्यो होला ! सत्यको मन्द प्रवाहलाई ‘बोट्स’ भनिने ‘अव्यक्तिको अभिव्यक्ति’ ले सिर्जना गर्ने बाढीमा बगाउन सकिन्छ । जति धेरै उग्र भयो, विभिन्न खाले कुण्ठाले ग्रस्त समर्थकहरूमाझ उत्ति नै बढी लोकप्रिय ठहरिने सम्भावनाले गर्दा अल्पसंख्यक एवं कमजोरप्रति समभाव राख्ने राजनीतिको सम्भावना न्यून हुँदै गइरहेको छ । सन् १९९० पछि आएको ‘उदारवाद, नीजिकरण एवं वैश्वीकरण’ नीतिको असफलताले गर्दा नृजातीय राष्ट्रवादको आकर्षण बढ्दो छ । त्यस्ता सबै प्रवृत्तिको काट फगत तथ्यपरक पत्रकारिता होइन । पक्षधर पूर्वाग्रहलाई साम्य पार्न समावेशी कथ्य उत्पादन पनि उत्तिकै जरुरी हुन्छ । त्यस्तो उपक्रममा यथास्थितिवादी राज्य, बजार वा दातामध्ये कसैले पनि लगानी गर्दैन । त्यसैले प्रतिगामी प्रियतावादको विस्तारलाई रोक्न सहज देखिँदैन ।

प्रकाशित : भाद्र २२, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

चार दिनको जिन्दगी !

योद्धाको सिंहासन, विद्वान्को मेच, गृहस्थको सुकुल एवं संन्यासीको मृगचर्ममध्ये जुनसुकै आसनमा बसे पनि पीजीको वजन यथावत् रहन्थ्यो । उनको लेखन पढ्नु नाउमा चढ्नुजस्तै हो, अर्को किनारा नपुगी बाटामा ओर्लिन खोज्ने हो भने डुबिन्छ । उनलाई सुन्नु आफ्नै अन्तर्मनको परीक्षण गर्नुजस्तो हो ।
सीके लाल

प्रदीप गिरिको नामका अगाडि झुन्ड्याउन सकिने उपयुक्त विशेषण भेट्टाउन कठिन छ । तर कुनै पनि सार्वजनिक व्यक्तित्वको देहान्त भएपछि तिनको नामसँग जोड्न सकिने विभिन्न खाले गुणवाचक शब्दहरूको खोजी हुन थाल्छ । त्यस अर्थमा केही दिनयता प्रदीप गिरि (यसपछि पीजी) बारे संस्मरण, श्रद्धाञ्जली वा गुणगाथा लेख्नेहरूलाई खासै गाह्रो भएन होला ।


उनी मनमौजी थिए । पढैया थिए । एकान्तप्रिय थिए । सार्वजनिक प्रवचन दिन रुचाउँथे । अस्थिर प्रकृतिका थिए । चिन्तक थिए । दार्शनिक भने पनि फरक पर्दैन । समाजवादी थिए । सम्भ्रान्त थिए । जोगी थिए । पौराणिक कथालाई पुनर्व्याख्या गर्ने गर्थे । प्रेमी थिए । सांसारिक थिए । मार्क्स पढेका थिए । लेनिनबारे त पुस्तकै लेखेका थिए । सांसद थिए । सत्तासीन पार्टीका नेता थिए । नेपालमा संगठित मानवाधिकार आन्दोलनका प्रणेतामध्येका एक थिए । उनको जिवन रहस्यमयी थियो । रहनसहन खुला किताबजस्तो पनि थियो । अनुशासित थिएनन् । अराजक भन्न मिल्दैन । आफ्नो मातृदलको हितप्रति सदा समर्पित रहन्थे । सांसद भए पनि मनले नखाएको संसदीय ‘ह्वीप’ मान्दैनथे । प्रयोगधर्मी थिए । गतिविधिमा सम्मिलित हुन्थे तर प्रतिफलको जिम्मा लिन हच्किन्थे । सबैका आलोचक थिए । कसैका विरोधी थिएनन् । उनका शुभेच्छुकहरू प्रशस्त थिए । मित्र भने औंलामा गन्न लायक मात्र थिए होलान् । प्रशंसकको भरमार थियो । शिष्य बन्न आँट जुटाउन सक्ने उत्ति साह्रो देखिएनन् । व्यक्तिगत तवरमा शालीन थिए । व्यवहारमा राजनीतिक उग्रतासँग भने परहेज थिएन । अक्सर रिसाउँथे । रिसको अभिव्यक्ति भने संयमित, शिष्ट एवं सुरुचिपूर्ण हुने गर्थ्यो । विरोधाभास उनको जीवनशैलीको परिचायक थियो । पीजीबारे कुनै हिन्दी फिल्ममा सलमान खानले बडो सन्तुलित तवरले व्यक्त गरेको संवाद - इतना मत सोचो मेरे बारे में, दिल में आता हूँ, समझ में नहीं - ठ्याक्क मिल्न जान्छ ।

मधेशको सम्भ्रान्त पहाडी परिवारसँग सम्बद्ध रहेकाले बाल्यकालदेखि नै उनी भारतीय संस्कृतिमा भिजेका थिए । नेपालप्रति नयाँदिल्ली सत्ताको नीतिका सदाबहार आलोचक थिए । स्वघोषित राष्ट्रवादीहरूद्वारा भने ‘भारतभक्त’ कहलिन्थे । अमेरिकी अर्थ–राजनीति एवं ‘वासिङ्टन सहमति’ सँग विमति राख्थे । केही वामपन्थीहरू भने उनलाई पश्चिमाहरूको प्रियपात्र ठहर्‍याउन कन्दनी कसेर लाग्ने गर्थे । आस्थाले समाजवादी थिए । सादा जीवन थियो । संगत भने सम्भ्रान्तहरूको मन पराउँथे । उनको समय–सारणीबारे आश्वस्त हुन सकिँदैनथ्यो । भनेको बेलामा भलै नहोला, तर बोलाएको ठाउँमा पुग्न भने विरलै बिराउँथे । गाथा गढ्नेहरूलाई पीजी बडो सहज व्यक्तित्व लागेका हुन सक्छन् । उनका बारेमा जे बोल्ने वा लेख्ने हो, त्यसको ठीक विपरीत तर्क गर्न पनि कठिन हुँदैन । भूतकालमा लेख्दा विशेषणले कर्ता, क्रिया एवं कर्मलाई जित्दो रहेछ । विशेषणबाट जोगिएर विगतको वर्णन कठिन भएर नै होला, उनीबारे बोल्दा अरू केही नपाएर उनको विराट् व्यक्तित्वलाई ‘नेपाली कांग्रेसका सांसद’ परिचयमा सीमित गरिदिनेहरू पनि देखिएका छन् । राजनीतिका अन्तरविरोध, विरोधाभास एवं असंगतिहरूबीच जीवन बिताएका पीजी आफ्नाबारे अभिव्यक्त प्रशस्तिहरूको बाढीबाट आत्तिएर भाग्ने ठाउँ खोज्थे होलान् । जति नै आत्तिए पनि अशक्त भएर ओछ्यान समात्नुअगाडिसम्म पुस्तकको आश्रय उनलाई सदा उपलब्ध थियो । सायद उनी आफ्ना गहिरा र उदास आँखा चारैतिर दौडाउँदै असरदार आवाजमा फिराक गोरखपुरीका पंक्ति दोहोर्‍याउँथे होलान्- ‘यह माना जिन्दगी है चार दिन की, बहुत होते हैं यारों चार दिन भी’ !

महत्त्वाकांक्षाको उडान

सिरहाका सम्भ्रान्त भए पनि सन् १९५०–६० को दशकताका काठमाडौंका लागि सायद पीजी बाहिरिया नै थिए । प्रारम्भिक पढाइ अपेक्षाकृत कम उमेरमा सकेकाले व्यावहारिक परिपक्वता आइसकेको थिएन । विज्ञानको आधारभूत शिक्षा पुनरावृत्तीय (रिपेटिटिभ) प्रकृतिको हुन्छ । सूत्रहरू अमूर्त हुन्छन् । व्याख्या बेजान हुन्छ । प्रयोग पनि सुक्खा किसिमका हुन्छन् । स्थापित विधि पछ्याउने, प्रयोग गर्ने, परिणाम जाँच्ने, अवधारणा बनाउने, सम्भाव्य परिणति पहिल्याउने, र, अपेक्षित निष्कर्ष आएन भने पुनः पूरै प्रक्रिया दोहोर्‍याउने कामको उद्देश्य गम्भीर अन्वेषणका लागि नभई नहुने मानसिक अनुशासनको अभ्यास गराउनु हो । सुरक्षा बलका जवानले उस्तै व्यायाम दिनदिनै गरेर शरीरलाई अनुशासित बनाए झैं युवा अन्वेषणकर्ताहरूले प्रयोगशालामा मानसिक कसरत गर्ने गर्छन् । खुला परिवेशबाट आएकालाई सुरुमा विज्ञानको पढाइ निस्सासिँदो लाग्न सक्छ । रंगीन कल्पनामा रमाउन बानी परेका पीजी तथ्यहरूको रूखो संकलनमा जम्न सकेनन् । आश्रयका लागि सहरमा किसिम–किसिमका पुस्तकालयहरू थिए । अमेरिकी, बेलायती, सोभियत र चिनियाँसमेत गरी शीतयुद्धको वैचारिक प्रसारका मोर्चा रहेका पुस्तकालयहरूमा तिनका अध्ययन सामग्री निर्धक्क भएर पढ्न पाइन्थे । एकान्तमा पुस्तकका पानामार्फत चिन्तक एवं सर्जकहरूसँग संगत गर्ने लत बसेपछि सामान्य जीवनका चासो र चिन्ताहरू हल्का लाग्न थालेका हुँदा हुन् । उनी केही महिनाभित्रै काठमाडौं खाडलबाट उम्किएर बनारस पुग्छन् ।

सन् १९६३ का पीजीको व्यक्तित्व र चरित्रलाई तिनताकका उनका मित्र निरञ्जन कोइरालाले कतै ‘आफ्नो परिवेशसँग अप्रसन्न, कुपित एवं कुलीन युवा’ भनेर चित्रित गरेका छन् । शैलजा एवं पीजीको अन्तरंग सम्बन्धलाई औंल्याएका छन् । तर, आफ्नो मित्रले केही दिनपछि ‘नोना आमा’ सम्बोधनलाई अन्य कांग्रेसका कार्यकर्ताहरू जस्तै ‘नोना भाउजू’ मा रूपान्तरित गरेपछि छक्क पर्छन् । पीजीबारे बनारसका आफ्ना अनुभवहरू साझा गर्नका लागि निरञ्जन कोइरालासँगसँगै चक्र बाँस्तोला पनि अब यस दुनियाँमा छैनन् । तर, राजनीतिमा सक्रिय भएपछि देखिएको सम्बोधन परिवर्तनलाई अस्वाभाविक मान्न मिल्दैन । ‘आमा’ अपेक्षाको सम्बोधन हो । आत्मीयता ‘भाउजू’ सम्बोधनमा पनि कम छैन, तर त्यो वात्सल्य मात्र नभएर व्यावहारिकताको सम्बन्ध पनि हो । भनिन्छ, बनारसको हावामा भोगीलाई पनि जोगी बनाउने तागत छ, तर पवित्र गंगाको प्रवाहले लामो कालसम्म निर्लिप्त भएर बस्न भने दिँदैन । भारतीय समाजवादका प्रणेता राममनोहर लोहिया रामजन्मभूमि फैजावादका भए पनि विश्वनाथको काशीलाई उनले आफ्नो कर्मभूमि बनाएका थिए । घुमन्ते प्रवृत्तिका लोहियाको स्थायी ठौरठेगाना केही थिएन । समाजवादी मान्यताअनुसार उनी सामान्यजनसँग बस्न रुचाउँथे । राजनीति भने आन्दोलन मात्र नभएर व्यवस्थापकीय चुनौती पनि हो । समाजवादी विचारधाराको जीवन्तता एवं स्थायित्वका लागि लोहियाले काशीमा ‘समता घर’ बनाउन लगाएका थिए । सम्भवतः लोहियाको संगतले पीजीलाई समाजवाद एवं सनातन परम्परा, समता र समृद्धि, सहभागिता र समभाव, संस्थाकरण र निरन्तर क्रान्ति, पदको आवश्यकता एवं व्यर्थताजस्ता परस्पर विरोधी अवधारणाहरूभित्र बाँच्ने कला सिकायो । प्रखर चिन्तक लोहिया एकातिर हिन्दी भाषामार्फत ऐक्यबद्धता निर्माणको कुरा गर्छन् भने अर्कातिर सांस्कृतिक बहुलतालाई बढावा दिन्छन् । यदि भाषा संस्कृतिको संवाहक हो भने भाषिक विविधताबेगर सांस्कृतिक बहुलता सम्भव छैन । उनी समाजवादीहरूको नकारात्मकताको आलोचना गर्छन् तर विरोधबेगर प्रजातन्त्रको कुनै अर्थ हुँदैन भने तर्क पनि गर्छन् । लोहियालाई नपढी पीजीको जीवन पद्धतिका विडम्बनाहरूलाई बुझ्न सकिँदैन ।

दक्षिण एसियामा सन् १९६०–७० उथलपुथलको दशक थियो । अफगानिस्तानमा राजा जहीर शाहमाथि राजनीतिक प्रहार बढ्दै गइरहेको थियो । अन्ततः उनी झिटीगुन्टा कसेर भाग्न बाध्य भए । पाकिस्तान सैनिक शासनअन्तर्गत पश्चिमा खेमामा थियो । नेपालमा पञ्चायतको प्रयोग निष्प्रभावी हुँदै गएर चिनियाँ गतिविधि बढ्दै थियो । भारत–चीन युद्धको प्रहार खेप्न नसकेर भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको क्लान्त निधन भएको थियो । भारत–पाकिस्तान युद्धको दबाबमूलक निर्क्योल सहन नसकेर प्रधानमन्त्री लालबहादुर शास्त्री पनि बितेका थिए । सुरुमा लोहियाबाट ‘गुंगी गुडिया’ खिताब पाएकी प्रधानमन्त्री इन्दिरा गान्धी बंगलादेशको स्वतन्त्रतापछि प्रतिपक्षका नेता अटलबिहारी वाजपेयीका शब्दमा ‘बाघमा सवार दुर्गा’ बन्न पुगेकी थिइन् । कोरियाली युद्ध एवं भियतनाम युद्धमा साख गुमाएको अमेरिकाको छवी भारतीय उपमहाद्वीपमा पनि स्खलित हुँदै थियो । सन् १९६० को दशकमा बिहारको अकालले गर्दा ‘चीनका चेयरम्यान, हाम्रा पनि चेयरम्यान’ रट्ने नक्सलपन्थीहरूको लोकप्रियता उत्तर प्रदेशको सिमानासम्म पुग्न थालेको थियो । साम्यवादलाई पुँजीवाद वा राज्यनिर्देशित समाजवादले होइन कि मानसिक जागरण एवं जनपरिचालनको समाजवादद्वारा मात्र सामना गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेर जयप्रकाश नारायण आफ्नो सर्वोदय कार्यक्रमलाई विश्राम दिई युवाहरूलाई उद्वेलित र संगठित गर्ने अभियानमा फर्किएका थिए ।

बनारसबाट पीजी जवाहरलाल नेहरू विश्वविद्यालय पुग्छन् । विभाजित भारतको राजधानीबाट नयाँ दिल्ली सुस्तरी रचनात्मक सक्रियताको केन्द्र पनि बन्दै गइरहेको थियो । सच्चिदानन्द वात्स्यायन एवं रघुवीर सहायले ‘दिनमान’ लाई समाचार–विचारको अग्रणी पत्रिकाका रूपमा स्थापित गरेका थिए । भारतको अपेक्षाकृत उदार विदेशनीतिले गर्दा नयाँदिल्ली तेस्रो विश्वका विद्यार्थी, कवि, कलाकार एवं जुझारु कार्यकर्ताहरूको जमघट हुने स्थल बन्दै गएको थियो । इन्दिरा गान्धीको आपत्काल (सन् १९७५–७७) प्रजातान्त्रिक शून्यताको अन्तराल थियो, अधिनायकवादी क्रमभंगता थिएन । सन् १९७७ पछि गठबन्धनमार्फत केही कालका लागि भए पनि समाजवादीहरूको हातमा सत्ताको नियन्त्रणसमेत पुगेको थियो । त्यस अनुभवका दूरगामी असरहरूबारे पीजी घोत्लिन रुचाउँथे । तर उनको बहुआयामिक गतिविधि सन् १९७० को दशकमै फस्टाएको हुनुपर्छ । उनी हिन्दी भाषाका नामवर सिंह एवं मैनेजर पाण्डे जस्ता प्रतिबद्ध समालोचकका सृजना पढ्न चाहन्थे । संगीतमर्मज्ञ हुन चाहन्थे । जिज्ञासु त थिए नै । सायद मिर्जा गालिबलाई सम्झिँदा हुन्- ‘हजारों ख्वाहिशें ऐसी, के हर ख्वाहिश पे दम निकले / बहुत निकले मेरे अरमान, लेकिन फिर भी कम निकले’ । त्यसपछि डिसेम्बर १९७९ मा अफगानिस्तानमाथि सोभियत संघको प्रत्यक्ष सैनिक नियन्त्रण सुरु भयो, दक्षिण एसियाको भूराजनीतिक सन्तुलनमा भुइँचालो गयो, र, पीजीका कल्पनाका उडानहरूको दिशा मोडियो ।

व्यक्तिको प्रवृत्तिलाई अध्ययन गर्नेहरूले जन्मजात प्रकृति एवं परिवेश तथा परिस्थितिको भूमिकाको अनुपात ठम्याउन सकेका छैनन् । जुम्ल्याहाहरू शारीरिक रूपले एकसमान भए पनि तिनको प्रवृत्ति ठ्याक्क विपरीत पनि हुन सक्छ । उस्तै परिवेशबाट प्रतिगमनकारी र क्रान्तिकारी आउन सक्छन् । साहित्यमा रुचि थियो, बनारस पुगेर राजनीतिमा रमाए । अर्थ–राजनीतिले डोर्‍याउन थालेको थियो, नयाँ दिल्ली पुगेर विचारको स्वच्छन्द आकाशमा विचरण गर्न थाले । समाजवादीहरूको संगतले गर्दा शीतयुद्धको वैचारिक द्वन्द्वबाट पनि मुक्त रहन सकेनन् । पीजीको कुरा सुन्नु अँध्यारो गुफामा लुकेर त्यहाँ भएको खजाना फेला पार्नुजस्तो हुन्थ्यो । कसैले उनलाई ‘खुला विश्वविद्यालय’ भनेका छन्, तर उनी हरेक किसिमका शिष्यको निरन्तर खोजीमा रहेका बहुआयामिक गुरुजस्ता थिए । उनी स्वयं लोहियाका कृतिहरूको भरपूर उपयोग गर्थे एवं उनको ज्ञानको उपभोग अरूले पनि त्यसरी नै गरून् भन्ने चाहन्थे । हुन पनि गुरु–शिष्य परम्परामा जुन ज्ञान शिष्यमा छ, त्यो गुरुकृपाले नै सम्भव भएकाले गुरुको हक लाग्ने नै भयो । त्यस्तै आफ्नो समर्पणबाट गुरुको ज्ञानमाथि योग्य शिष्यले उपभोगको अधिकार स्थापित गर्छ । पीजीलाई योग्य शिष्य भेट्टाउन त्यसै कठिन भएको होइन । अन्ततः उनका सबै सम्भाव्य अनुयायीहरूले उनलाई ‘दाइ’ र ‘दाजु’ सम्बोधनको हितकारी भूमिकामा सीमित गरिछाडे ।

यथार्थको धरातल

आजभोलि सन् १९८० को जनमत संग्रहबारे नेपालको सार्वजनिक वृत्तमा प्राज्ञिक चर्चासम्म हुँदैन । सन् १९५१ को क्रान्ति एवं सन् १९६० को प्रतिक्रान्तिपछि सन् १९८० को जनमत संग्रहलाई सामाजिक रूपान्तरणको बुनियादी मोडका रूपमा अर्थ्याउन सकिन्छ । अस्पष्ट ‘संशोधनसहित’ को वाचाले पञ्चायतको निरन्तरतालाई झन्डै ५५ प्रतिशत मतदाताको समर्थन दिलाएको भए पनि बहुदलीयताको पक्षमा खसेको ४५ प्रतिशत मतको राजनीतिक वजन कम थिएन । त्यस तरल राजनीतिक आधारलाई सुदृढ गर्न नपाउँदै बीपी कोइरालाको देहावसान भयो । सन् १९८२ पछि जमलमा रहेको औपचारिक रूपमा प्रतिबन्धित एवं व्यावहारिक तवरले निष्क्रिय नेपाली कांग्रेसको ‘सम्पर्क कार्यालय’ सुनसान हुन थालेको थियो । भोजन र आरामपछि मध्याह्नतिर ‘नेतात्रय’ एवं तिनका विश्वासपात्रहरू एउटा कोठामा बसेर कार्यकर्ता जोगाउने रणनीतिबारे विमर्श गर्ने गर्थे । नजिकैको चियापसलमा समर्थकभन्दा गुप्तचरहरूको संख्या बढी हुने गर्थ्यो । जनमतको परिणामलाई स्वीकार गरे पनि मतदान प्रक्रियामा सहभागी नहुने नेपाली कांग्रेसको नीतिलाई अन्तर्राष्ट्रिय समुदायका अगाडि व्याख्या गर्न सक्ने व्यक्ति बीपीपछि कोही थिएनन् । तिनताक पीजीलाई खोज्न जमल पुग्नेजति सबैले उस्तै जवाफ पाउने गर्थे, ‘प्रकट हुन्छन् । अलप हुन्छन् । उनैले फेला पारे बेग्लै कुरा, नभए भेट हुन्न !’

सन् १९८० को मध्यतिर आइपुग्दा उनी सक्रिय राजनीतिभन्दा मानवाधिकारको प्रसारमार्फत प्रजातान्त्रिक संस्कार संस्थागत गर्ने प्रस्तावतिर आकर्षित हुन थालेका थिए । भारतमा जयप्रकाश नारायणले ‘पिपल्स युनियन फर सिभिल लिबर्टिज एन्ड डेमोक्रेटिक राइट्स’ स्थापित गरेर त्यस्तो प्रयोग पहिले नै गरिसकेका थिए । पछि त्यो संस्था शुद्ध मानवाधिकारमा काम गर्ने ‘पीयुसीएल’ हुन गयो । लोहियाले कोदालो, सडक र जेललाई समाजवादी आन्दोलनको प्रतीक भनेर औंल्याएका थिए । कांग्रेसीहरूका लागि जेल त दोस्रो घरजस्तै हुन्थ्यो । सडक संघर्षका लागि युवाहरूलाई प्रशिक्षित गर्नु थियो । र, कोदालोको महत्त्व ठम्याउन एक पटक फेरि बस्तीपुर नै पुग्नुपर्ने थियो । पछिसम्म पनि उनको सबभन्दा ठूलो पछुतो किसानहरूका लागि केही गर्न नसकेकैमा थियो ।

सन् १९८० दशकको अन्ततिर आइपुग्दा उनि जुझारु कार्यकर्ता, जिज्ञासु अध्येता, सक्षम प्रशिक्षक एवं समर्पित उत्प्रेरक हुँदै राजनीतिक शक्ति संघर्षमा पृष्ठभूमिको व्यवस्थापक (ब्याकरुम मनिप्यलेटर) भइसकेका थिए । बनारसको सम्पर्क, जेएनयूको संसर्ग, समाजवादी सञ्जाल एवं प्रभावशाली अभिव्यक्ति क्षमताले गर्दा नयाँदिल्लीको सत्तादीर्घामा उनको पहुँच गहिरो थियो । त्यसको प्रयोग उनले सन् १९९० मा बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनमा गरेका थिए । समर्थन गर्नेहरूले केही अपेक्षा पनि राखेकै हुन्छन् । त्यो पूरा गर्न उनी इच्छुक थिएनन्, भए पनि सक्दैनथे । कोइराला मण्डलीसँग उनको दूरी बनारसदेखि नै बढ्न थालेको थियो । बीपीको देहान्तपछि गहिरिँदै गएको असमझदारी सन् १९९० पछि झन् फराकिलो भयो । उमेरमा अग्रज भए पनि गिरिजाप्रसाद (जीपी) कोइरालालाई उनी आफ्नो वैचारिक समकक्षी स्वीकार गर्न तयार थिएनन् । जीपीलाई चुनावी राजनीतिका लागि विचारक होइन, संगठक र प्रचारकहरूको झुन्ड चाहिएको थियो । अर्थ–राजनीतिमा नव–उदारवादीहरूको जगजगी थियो । सन् १९९० दशकको अन्तसम्म आइपुग्दा मूलधारको राजनीतिमा सक्रिय रहे पनि पीजी लगभग असान्दर्भिक भइसकेका थिए । माओवादी सशस्त्र संघर्षको विस्तार एवं नारायणहिटी हत्याकाण्डपछि सायद उनी अलि अतालिएका थिए । उनको गतिविधि पुनः घनीभूत हुन थाल्यो । तर, सक्रिय राजनीतिको पक्षधरताले बौद्धिक अग्रसरताको प्रभावलाई कमजोर तुल्याउने रहेछ । उनी भने त्यो कुरा मान्न तयार थिएनन् । संसद् र संविधानसभा आफ्नो आवाज घन्काउने थलो हो भनेर तर्क गर्ने गर्थे । प्रतिरोधको राजनीति गर्नेले पनि संसद्को उपयोग गर्न छोड्नु हुन्न भन्ने मान्यता भारतीय समाजवादीहरूको पनि थियो ।

माओवादीहरूको विस्तार रोक्न स्थायी सत्तासँग अस्थायी सहकार्य जरुरी छ भने त्रुटिपूर्ण निर्क्योलले उनलाई नेपाली कांग्रेस (प्रजातान्त्रिक) प्रयोगको परिकल्पनाकार बनायो । त्यस राजनीतिक परीक्षणको एक मात्र उपोत्पाद ‘दमजम’ आह्वान थियो । तर, ‘दलित, मधेशी, जनजाति एवं महिला’ मुद्दाको तार्किक प्रतिरक्षा उनले गर्न सकेनन् । सन् २००२ पछि गणतन्त्र, संघीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता मुद्दाहरूलाई उनले मार्क्सवादी चस्मा फुकालेर हेर्ने प्रयत्न गरेनन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालतले गणतन्त्रको प्रवर्द्धन त गर्थ्यो, तर धर्मनिरपेक्षताजस्तो समाजवादको ज्वलन्त चासोलाई उनी वर्ग र वर्णको प्रश्नभन्दा गौण ठान्थे । उनलाई समाजवादभन्दा मार्क्सवादतिर उन्मुख गराउनमा सायद भारतिय राजनीतिमा देखिएको परिवर्तनले पनि सघाएको थियो । संविधानवादसँग कतै मेल नखाने ‘आवश्यकताको सिद्धान्त’ अनुसार न्यायपालिका प्रमुखले कार्यपालिका पनि सञ्चालन गर्ने जिम्मेवारी लिएपछि सन् २०१३ देखि उनले राजनीतिक व्यवस्थापनभन्दा प्राज्ञिक गतिविधिलाई महत्त्व दिन थालेका थिए ।

विश्रामको तयारी

दोस्रो संविधानसभामा रहे पनि आफ्नो उपस्थितिको निरर्थकता पीजीले सन् २०१४ तिरै ठम्याइसकेका थिए । त्यसपछि पंक्तिकारसँगको उनको वार्तालापले वैचारिक निर्देशको रूप लिन थालेको थियो । जस्तो कि, कुनै एउटा कार्यक्रमबाट निस्किएर त्रिपुरेश्वरतिर एउटा समोसा–चाट छलफल- ‘कत्ति मधेश–मधेश गर्नुहुन्छ ? त्यो नेपालको आन्तरिक नभएर भूराजनीतिक मुद्दा हो ।’ भारतीय प्रधानमन्त्रीको बहुप्रचारित संसद् सम्बोधनपछिको एउटा अनौपचारिक भेट- ‘दक्षिण एसियामा दक्षिणपन्थलाई रोक्न सक्ने शक्ति छैन ।’ सन् २०१५ ताका संविधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेपछि- ‘राष्ट्रवादी प्रतिप्रहार (ब्याक्लैश) सँग अब कसरी मुकाबिला गर्ने ?’ सन् २०१७ तिर वीरगन्जमा- ‘समाजवादबारे लेख्छु भन्दै हुनुहुन्थ्यो, के भो ?’ अध्ययन पुगेको छैन भन्ने बहानालाई ठाडै खारेज गर्दै- ‘धन, ध्यान र अध्ययन कहिले पनि पुग्दैन । सकेजति गरिहाल्ने हो ।’ बन्दाबन्दीका बेला एउटा लामो प्रवचनको बिट मार्दै- ‘नेपाली उपन्यास कत्तिको पढ्नुहुन्छ ?’ सीमित मात्र भन्ने उत्तर सुनेपछि- ‘त्यसो भए त झन् राम्रो ! राजनीतिक टिप्पणी धेरै लेख्नुभयो । अब साहित्यको समालोचनामार्फत समाजलाई उद्वेलित गर्नुस् ।’ क्षमता पुग्दैन भने स्वीकारोक्तिको प्रत्युत्तर- ‘कस्सिएर पानीमा हामफालेपछि पौडी खेल्न सिकिन्छ ।’ सायद अन्तिम भौतिक अन्तरक्रिया जनकपुरमा भएको थियो । आवाजमा ओज कति पनि कम भएको थिएन, तर अनुहारमा गहिरो उदासी स्पष्ट पढ्न सकिन्थ्यो । कुनै बेला उनको बस्तीपुर आश्रम एक्लै जानुपर्ने भयो । मैथिलीमा ‘घाघ’ भनिने कृषि र मौसमसम्बन्धी उक्तिहरूको संग्रह उनको पुस्तकालयमा छ भन्थे ।

अब केही दिनपछि पीजीलाई कसरी सम्झिने भन्ने बौद्धिक कर्मकाण्ड सुरु हुन्छ । नेपालका राजनीतिकर्मीहरूले बरु उनलाई कसरी बिर्सिने भन्ने अभ्यास गर्न थाले हुन्छ । योद्धाको सिंहासन, विद्वान्को मेच, गृहस्थको सुकुल एवं संन्यासीको मृगचर्ममध्ये जुनसुकै आसनमा बसे पनि पीजीको वजन यथावत् रहन्थ्यो । उनको लेखन पढ्नु नाउमा चढ्नुजस्तै हो, अर्को किनारा नपुगी बाटामा ओर्लिन खोज्ने हो भने डुबिन्छ । उनलाई सुन्नु आफ्नै अन्तर्मनको परीक्षण गर्नुजस्तो हो । राजकीय सत्ता पल्टिन सक्छ । व्यावसायिक सत्ता खिइन्छ । बौद्धिक सत्ताले आफ्नो उपस्थिति देखाउन कहिल्यै छोड्दैन । पीजीलाई नै आफ्नो जीवनको मूल्यांकन गर्न दिएको भए सायद उनले फैज अहमद फैजको नज्म दोहोर्‍याउँथे होला- ‘वो लोग बहुत खुश–किस्मत थे / जो इश्क को काम समझते थे / या काम से आशिकी करते थे / हम जीते–जी मसरूफ रहे / कुछ इश्क किया कुछ काम किया / काम इश्क के आडे आता रहा / और इश्क से काम उलझता रहा / फिर आखिर तंग आकर हम ने / दोनों को अधूरा छोड दिया’ !

पीजी अलप भएका हुन् । कतै गएका छैनन् । दराजको किताबका पानामा होलान् । युट्युबको भिडियोमा भेट्टिन सक्छन् । अखबारको चाङतिर पो कतै छन् कि ? अरू कहीँ भेटिएनन् भने आफ्नै मनमस्तिष्कभित्र खोजे हुन्छ । त्यहाँबाट उनलाई सजिलै निकाल्न सकिने सम्भावना छैन ।

प्रकाशित : भाद्र ८, २०७९ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×