कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पक्षधरताको संकट

पक्षधरताकै नाममा सिर्जना गरिएको ‘आफूहरू र अन्य’ को विभाजक रेखामाथि उभिएर आफ्नो घेरोभन्दा बाहिरका ‘अन्य’ माथिको अतिशय निषेध, घृणा र आक्षेप–वमनको विषाक्त संस्कृति नै आज ‘राजनीति’ बन्न पुगेको छ ।
सरिता तिवारी

एकपल्ट म निकै उचाइमा पुगेको थिएँ, जहाजको छतमा उभिएको थिएँ । अनि जब त्यो जहाज समुद्री किनारा छोडेर द्रुत गतिमा अघि बढ्यो, त्यतिखेर मैले चिच्याएर भनेको थिएँ, ‘किनार कुदिरहेको छ !’ त्यो कुरो मैले अहिले राम्ररी बुझिसकेको छु— वास्तवमा किनार कुदिरहेको थिएन, जहाज गतिमान थियो ।
– ‘पृथ्वी घुमिरहेको छ’, पृष्ठ १३३ (बर्टोल्ट ब्रेख्त लिखित नाटक ‘ग्यालिलियो’ को नेपाली अनुवाद, अनुवाद : होमर श्रेष्ठ)

पक्षधरताको संकट

मानवीय अवस्थाजन्य ठम्याइ र ठहरहरू आफू अभ्यस्त भइरहेका प्रतिमान वा खास आग्रहका कारण निर्मित प्रतीतिहरूका झल्का मात्रै हुन् भन्ने बुझाउन नाटकको संवादमा ग्यालिलियो ग्यालिलेईले क्याथोलिक चर्चका अधिकारीहरूसँगको बहसमा दिएको उदाहरण हो यो ।

आफ्नो अनुकूल स्थितिका सापेक्षमा बनेका वस्तु र घटनामाथिका अनुमानलाई नै विश्वास गर्नु र तिनैलाई सत्य ठान्नु आम मानवीय स्वभाव हो । तर तथ्यको अस्तित्व र सत्यको सीमा हाम्रा विश्वासको घेराभन्दा परपरसम्म बलियो गरी मौजुद हुन सक्छन् भन्ने थाहा पाउन कतिपय (अन्ध)समर्थनका पर्खाल फड्कने साहस गर्नैपर्छ । सोह्रौं शताब्दीका नामी खगोलशास्त्री ग्यालिलियोले तत्कालीन धर्मसत्ताको विज्ञानविरोधी जडता र कठोरताविरुद्ध लड्न मानवीय ‘विश्वास’ का यिनै सीमा र परीक्षित विज्ञानसम्मत तर्क (साइन्टिफिक रिजन) को भिन्नता बुझाउन अनेक तरहको बौद्धिक प्रयत्न गरेका थिए । तर अन्ततः चर्चले नास्तिकता र ईश्वरनिन्दाको आरोपमा उनलाई मृत्युदण्ड वा आजीवन नजरबन्दमध्ये एउटा रोज्नुपर्ने घोषणा गर्‍यो । उनीअघि पनि सूर्यले पृथ्वीलाई घुम्छ भन्ने लोकप्रचलित धार्मिक मतको खण्डन गर्दै पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने खोज स्थापित गर्न तत्कालीन रोमन क्याथोलिक चर्चको आस्थाविरुद्ध प्रतिवाद गर्ने अर्का खगोल अध्येता जिओर्दानो ब्रुनो थिए । पृथ्वीले सूर्यलाई घुम्छ भन्ने अडानकै कारण चर्चको आदेशमा ब्रुनोलाई निर्ममतापूर्वक जिउँदै जलाएर मारिएको थियो । ग्यालिलियोले भने आफ्नो सिद्धान्त फिर्ता लिँदै आजीवन नजरबन्दको जिन्दगी रोजे ।

खास पक्षधरताका कारण बौद्धिक स्वतन्त्रतामा कठोर अंकुश लागेको न यो पहिलो घटना थियो न त अन्तिम नै । नाटकका सन्दर्भमा अनुवादक होमर श्रेष्ठले भनेजस्तै, मूल नाटककार बर्टोल्ट ब्रेख्तले पक्रेको त्यो विषय र समय दुवै भयावह थिए जहाँ हरेक नयाँ कुरा आफसे आफ झूटा बनाइन्थे वा बन्नुपर्थ्यो । त्यति बेला ब्रुनो या ग्यालिलियो दुवैको नियति त्यही हुन सक्थ्यो जे भयो । तर के पक्षधरतामाथिको संकट आज पनि योभन्दा भिन्न छ ? सवाल के मात्रै छ भने, पहिले राज्यसत्ता वा धर्मसत्तासँग मात्रै रहेको यस्तो अंकुश अहिले हर कुनै आग्रहका या कुनै न कुनै स्तरका संस्थापनसँग जोडिएका दल, समूह र झुन्डका हातमा छ । मुक्त विवेकको प्रश्न र पक्षधरतामाथिको संकट अहिले झन् डरलाग्दो छ ।

पक्षधरता कि पूर्वाग्रह ?

सामान्यतः पक्षधरता भनेको विचार या घटनाहरूमा जोडिएर आउने प्रतिक्रिया र मतमध्ये कुनै एक पक्षमा उभिनु हो । तर विशिष्ट रूपमा पक्षधरता भनेको इतिहास उधिनेर आजसम्मको गतिशील यथार्थभित्र पस्ने धैर्यसहित वस्तुगत सत्यको अनुभव, परीक्षण र निर्क्योलबाट एउटा खास मत निर्माण गर्नु हो । भलै त्यो मत वा पक्षमा उभिँदा अल्पसंख्यामा परियोस्, तर उभिइरहने साहस गर्नु हो । समाजको विवेकसम्मत दिशा र गतिमा योगदान दिन गहिरो रुचि राख्नेलाई पक्कै पनि पक्षधरताको प्रश्नमा खरो उत्रिन असम्भव छैन, तर कठिनचाहिँ अवश्य छ । यसरी उभिन बीचमा आइलाग्ने धेरै थरी (दुर्)आग्रह र पूर्वनिर्धारित सर्तहरूलाई अस्वीकार गर्ने आत्मबल र धैर्य भने कल्पना गरिएभन्दा धेरै नै बढी चाहिने रहेछ ।

अनुभवले पुष्टि गरिरहेकै छ, स्थापित धार्मिक, नैतिक वा सांस्कृतिक मान्यताविरुद्धको वैज्ञानिक र विवेकसम्मत ‘उभ्याइ’ मात्रैले पनि पक्षधरता पुष्टि नगर्ने रहेछ । पक्षधरता भनेको भन्नु मात्रै होइन, गरेर देखाउनु हो । पक्षधरताको सवालमा जति बृहत्तर, वस्तुगत, उदार र स्वयंप्रति समेत कठोर बनिन्छ, पक्षधरता उति विवेकसम्मत बन्ने हो । जति आत्मकेन्द्री वा निश्चित झुन्डकेन्द्री र निजी लाभको आकांक्षी बनिन्छ, पक्षधरता उति कमजोर र साँघुरो हुने हो । ब्रुनो वा ग्यालिलियोको पक्षधरता चलायमान समाजका सम्पूर्ण स्थापत्य र लोकमान्यताभन्दा भिन्न स्पेसमा उभिएर मात्रै बनेको थिएन; परीक्षणले निर्मित ज्ञान, विवेक र तक (रिजन) को जितका लागि जस्तोसुकै व्यक्तिगत क्षति बेहोर्न तयार भएरसमेत बनेको थियो । उदारवादी र तर्कसम्मत लोकमतको जग बसाल्ने यी दुई भलामानुषको कथाबाट सिकिने कुरा हो— भयावह र जीवनकै सबभन्दा चर्को मूल्यमा समेत पक्षधरताको निर्वाह । यस्तो मूल्य चुकाउनेका लागि न्यायिक क्षतिभरण कहिल्यै नहुन पनि सक्छ तर त्यसको लाभ पिँढीहरूले पाउँछन् । इतिहासले पाउँछ । फेरि पनि जति नै नयाँ पिँढी आओस्, हरेकपल्ट पक्षधरताको क्रूरतम मूल्य चुकाउने पात्रहरू दोहोरिइरहन्छन् । हरेक पल्ट पक्षधरताले नयाँ रूपको संकटबीच नयाँ मौलिकताको लडाइँ लड्नैपर्छ ।

हामीकहाँ त ‘पक्षधरता’ को अर्थ नै साह्रै संकुचित बनाइएको छ । अधिकांश प्रसंगमा वाद/विचारधारा मात्र होइन, पार्टी र झुन्डविशेषअन्तर्गत रहनु वा तिनको वरिपरि घुम्नुलाई नै ‘पक्षधर’ हुनुको अर्थले बुझिन्छ । कति अवस्थामा त झन्डा बोकिदिए वा सदस्यता/सहभागिताको दसी पेस गरे मात्रै पनि पक्षधर भइहाल्ने सुविधा छ । कुनै खास व्यक्ति वा खासखास प्रकारका स्वार्थ समूहको हितरक्षामा बोल्नु र तिनको प्राविधिक जित (धेरै अर्थमा चुनावी जित) का लागि जसरीसुकै प्रयोग हुन तयार बन्नुलाई समेत ‘पक्षधर’ मानिने स्थितिले ‘पक्षधरता’ अपहरित शब्द बन्न पुगेको छ । यस्तो दृश्य धार्मिक पन्थ–राजनीतिमा मात्रै होइन, आफूलाई प्रगतिशील कोटिमै उभ्याउन चाहने ठूला–साना दल र समूहमै पनि प्रशस्त देख्न सकिन्छ । यसरी साँघुरिनु पक्षधर हुनु होइन, केवल पूर्वाग्रही हुनु हो । त्यस हिसाबले भन्ने हो भने, हामीकहाँ ‘पक्षधरता’ धेरै अर्थमा मनोगत मात्रै होइन, निजी लिप्साजन्य पूर्वाग्रहको हबिगतले बदनाम छ । अपेक्षा र लिप्साको यो घेरोभित्र नआउने वा स्वायत्त स्व (अटोनोमस सेल्फ) भित्रै बसेर वैचारिक अभ्यास गर्नेलाई ‘पीँधबिनाको लोटा’ भन्दिने आम चलन नै छ ।

पक्षधरता : आत्मसन्देह र उदारता

रफ्तारमा गुडिरहेको बसको झ्यालबाट अलि बेर बाहिर हेर्ने गर्नुभएको छ भने तपाईंलाई आफू गुडिरहेको बस होइन, बाहिरका रूख, जंगल वा खेतहरू कुदिरहेजस्तो भान भएको हुनुपर्छ । कहिलेकाहीँ हामी यस्ता भान वा ‘आभासी सत्य’ लाई नै सही र अन्तिम ठानिदिन्छौं, ग्यालिलियोले किनार कुदिरहेको भन्ठानेजस्तो । हामी जहाँ उभिएका वा जुन आग्रहमा बाँचेका हुन्छौं, त्यसभित्रकै समेत गतिशीलता र मसिना द्वन्द्वहरू चिन्न नसक्दा हामी धेरै अवस्थामा आफैंलाई चिनिरहेका हुँदैन रहेछौं । पक्षधरता सबैभन्दा पहिले त आफैंलाई चिन्ने क्रिया रहेछ । आफ्ना अपेक्षाका सीमाहरू पहिल्याउने, ती सीमा नाघेर उदात्त, मानवीय र दृढ बन्न आफैंमाथि समेत प्रयोग/परीक्षण गर्न सक्ने स्थिति रहेछ । पूर्वाग्रह वा पूर्वनिश्चित सर्तको झ्यालबाट चीजहरूलाई ठीकठीक त्यस्तै देख्नुपर्ने वा मान्नुपर्ने अवस्थाबाट मुक्त नहुन्जेल हामीभित्रको ‘पक्षधरता’ पिँजराको चरोजस्तो निरीह र अधीनस्थ हुँदो रहेछ । कुनै घोषित विचार समूहभित्र रहँदा वा नरहँदा दुवै अवस्थामा आफ्नो नजिक वा टाढा दुवै दूरीका घटनाक्रम र वस्तुहरूमाथिको मिहिन जाँचकी नभई, आफ्ना पूर्वधारणाहरूलाई बारम्बार खकालेर पर्गेल्ने खाँचो नठम्याई, उपलब्ध बाह्य र आन्तरिक अनुभवजन्य तथ्यलाई सार्वभौम स्व (सोभरेन सेल्फ) को ऐनामा उभ्याएर नहेरी निर्माण भएको पक्षधरता कति विश्वसनीय हुन्छ ? यी सबै कुराको पत्र–पत्र परख गर्न तयार नभई कसैले कसरी पक्षधरताको दाबी गर्न सक्ला ?

निश्चय नै, तपाईं विचारधारात्मक या राजनीतिक निहितार्थमाथिको निष्ठामा बसेर पक्षधर बन्न मज्जाले सक्नुहुन्छ तर त्यहाँ एकको पक्षधर बन्न अर्कोको शत्रु नै बन्नुपर्ने आग्रह वा सर्तबिनाको उदात्तताको गुन्जाइस रहन्छ ? यस प्रकारको पक्षधरतामा इतिहासकार एरिक हब्सबाम ‘पक्षधरता’ कै लागि विरोधी (शत्रु) पक्ष अनिवार्य रूपले आवश्यक हुन्छ भन्छन् । उनी विचार, संगठन र त्यसले बोक्ने व्यापक सामाजिक हितका सन्दर्भको कुरा गर्दा पक्षधरताको दायरा धेरै फराकिलो र विज्ञानसम्मत हुनुपर्छ भन्छन् । तर त्यसो नभई अधिकांशतः संगठन र सामूहिकताको रक्षा गर्ने नाममा पक्षधरता नै मनोगत भइदिने दुर्घटना आइलागेको स्मरण गर्दै पक्षधरताको यस्तो चरम रूपलाई खारेज गर्नुपर्छ भन्छन् (अन हिस्ट्री, सन् १९९७) । यो आशयलाई पुष्टि गर्न उनले सोभियत संघको स्टालिनवादी काल र तत्कालीन ‘ग्रेट सोभियत इन्साइक्लोपेडिया’ का सूचनाहरूको दृष्टान्त दिएका छन् ।

हाम्रो आफ्नै अनुभवको समीक्षा गरौं । पञ्चायत बिदा भएयता मात्रै गएका तीस वर्षमा ठूला–साना शक्तिकेन्द्रका रूपमा स्थापित भएका ‘आन्दोलन’ केका पक्षधर थिए वा हुन् ? अहिले आएर आन्दोलनका इतिहासहरू नै खासखास ‘बा’ हरूका निजी ढिकुटी भए । र ती बाहरूसँगै पनि यतिखेर केही आत्ममुग्ध नोस्टाल्जियाबाहेक आफैंलाई दिने चित्तबुझ्दो जवाफ छैन । बाहरूको साम्राज्यले सिर्जेको पक्षधरतामा ‘हामी र अन्य’ (वी एन्ड अदर्स) को असहिष्णु सीमारेखा यति दुच्छर र चर्को छ, त्यहाँ उदात्त आत्मपरीक्षण र आत्मसमीक्षाको कुनै अस्तित्व नै छैन । पक्षधरताकै नाममा सिर्जना गरिएको ‘आफूहरू र अन्य’ को विभाजक रेखामाथि उभिएर आफ्नो घेरोभन्दा बाहिरका ‘अन्य’ माथिको अतिशय निषेध, घृणा र आक्षेप–वमनको विषाक्त संस्कृति नै आज ‘राजनीति’ बन्न पुगेको छ ।

अहिले राजधानीमा उम्रिइरहेका र आफूलाई ‘आन्दोलन’ दाबी गरिरहेका कतिपय झुन्डले पनि त्यही चरित्रलाई ‘कोअप्ट’ गरेका छन् । यीमध्ये धेरैका लागि त पक्षधरता भन्नु एउटा जात्रा हो । तिथि र पर्वमा प्रदर्शन गर्न काम लाग्ने ‘एक्जिबिसन’ को जिनिस । रहल केहीका लागि पक्षधरता शंखेकिराको हाडेखोल हो, लुक्ने र देखिने मौका र मुद्दाअनुकूल उपयोग हुने । यहाँभित्र दुराग्रह र दुराशयको घना कुहिरो रचेर त्यसैलाई ‘पक्षधरता’ करार गरी त्यसैका नामबाट पक्षधरताको कठालो समातिने अन्धमुस्ली यसरी बाक्लिँदो छ, पक्षधरता ‘पक्षधर’ को दोकान चलाइरहेका वर्गसँगै सबैभन्दा बढी आतंकित छ ।

...

इतिहासमा पक्षधरता जहिल्यै पेचिलो विषय बन्दै आएको छ । अनुकूलताअनुसारको विश्वास नै सही ठहरिने मानवीय स्वभाव पक्षधरताको पहिलो मानक बन्ने स्थिति सार्वकालीन र सार्वस्थानिक हुँदै आएको छ । यसले पक्षधरताजस्तो मिहिन जाँचको विषयलाई साह्रै सतही र सस्तो बनाइदिएको छ । कहाँ कोसँग के लिनु वा पाउनु छ, कतापट्टि फर्कंदा कुन–कुन अपेक्षा पूरा हुन्छन्, त्यहीअनुकूल उभिनु नै पक्षधरता हो भन्ने बनाइएको छ । पक्षधरता एउटा गहिरो र अर्थपूर्ण राजनीतिक क्रिया हुँदाहुँदै पनि यो दृश्य–अदृश्य सीमित निजी वा सामूहिक लाभको पोषकका रूपमा परिभाषित भइरहेकै छ ।

व्यक्तिको नैतिक उभ्याइ र विवेकको प्रश्नसँग जोडिने पक्षधरताको सम्बन्ध निजी अनुभवजन्य सिकाइ र समाजका गतिशील यथार्थसँग ठोक्किँदै, आफैंलाई हिजोभन्दा आज उन्नत विवेकको कसीमा जाँच्दै निर्माण भएका मूल्य र मनस्थितिसँग छ । कुनै खास विचारधारा, संगठन या संस्था रहनु वा नरहनुसँग पक्षधरताको सम्बन्ध छैन बरु कठोरभन्दा कठोर परिस्थितिमा पनि हामी कति मसिनो गरी या गहिरो गरी मानवीय, उदार र न्यायिक बन्न सक्छौं भन्ने परीक्षामा पक्षधरता जहिल्यै जोडिइरहन्छ । यसको मूल्यमा तमाम ‘विश्वास’ का सीमाहरूको पर्दाफास होओस्, सारा विचारधारा, संगठन र संरचनाहरू ध्वस्त भएर भत्किऊन्; कत्ति पनि फरक पर्दैन । जहाँनेर केही समाप्त हुन्छ, त्यहीँनेर केही नयाँ बनेर खडा हुन्छ । त्यो ‘नयाँ’ बनाउने सामर्थ्य त्यसैसँग मात्रै हुन्छ जोसँग आफू वा आफ्नो वरपरका लाभहानिजन्य आग्रहको प्रतिकूल पनि उभिने नैतिक साहस र विवेक छ ।

प्रकाशित : भाद्र १४, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?