१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सांस्कृतिक पुनरुत्पादनमा तीज गीत

चेलीहरूलाई नारी जागरणका गीतहरू गाउन किन नदिने ? सुदूर छाउगोठमा सर्पदंशबाट मर्ने चेलीहरूको चेतनाको ढकनी गीतमार्फत नै किन नउघार्ने ?
प्रणेता

यो मौसम तीज पर्वको हो अनि रेडियो–टीभीबाट बज्ने र सामाजिक सञ्जालहरूमा राखिने नयाँ–पुराना गीतहरूले यसलाई झनै तीजमय बनाइरहेका छन् । हिन्दु नारीहरूको ‘महान्’ पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् ।

सांस्कृतिक पुनरुत्पादनमा तीज गीत

तीमध्ये कति जनाचाहिँ त्यस्ता गीतको भाव बुझेर त्यसरी नाचिरहेका, झुमिरहेका, रमाइरहेका हुन्छन्, यो छुट्टै बहसको विषय बन्न सक्छ । तर समयविशेषमा खास दर्शक–श्रोतालाई लक्षित गरेर त्यस्ता गीतहरू कुन दृष्टिले, कुन मनोविज्ञानले रचना गरिन्छन् भन्ने पाटो महत्त्वपूर्ण छ । यी गीतहरूले महिलाप्रतिको दृष्टिकोण निर्माणमा कस्तो भूमिका खेलिरहेका छन् भन्ने पक्षसमेत मननीय छ ।

परम्परागत भाष्य अनुसार, तीज सम्बन्धी सांगितिक रचनाहरूले पितृसत्तात्मक पारिवारिक–सामाजिक संरचनामा उकुसमुकुसपूर्ण नारकीय जिन्दगी बाँचिरहेका महिलाहरूका पीर, वेदना र रोदनलाई समेटेका हुन्छन् । तर त्यस्ता गीतहरूमा समयसँगै जुन हिसाबले परिवर्तन आउनुपर्ने थियो, त्योचाहिँ देखिँदैन । ‘राधा’ चलचित्रका लागि सृजना खत्रीले लेखेको तीज गीतलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ-

आहै सुन बरिलै

धपक्कै बलेकी राधा

छमछमै नाच्दी हुन् आज

ए सुन बरिलै

पावैमा पाउजु छैन बरिलै

नाच्न त मन थियो राधापियारी...

यहाँ ‘पाउमा पाउजु छैन बरिलै’ शब्दावलीलाई थेगोका रूपमा प्रयोग गरिएको छ । ‘कुनै भावलाई विशेष उराल्न र कसैका दुःखप्रति समवेदना प्रकट गर्न बरिलै शब्दको उपयोग गरिन्छ’ भन्छ बृहत् नेपाली शब्दकोश । यहाँ पाउजु अर्थात् गहना नभएकामा दुःखमनाउ गरिएको छ । नाच्न मन भए पनि खुट्टामा छमछम बज्ने पाउजु नभएकी राधालाई सहेलीहरूले सहानुभूति प्रकट गरिरहेका छन् । बिचरा भनेका छन्, किन ? किनकि, बहुमूल्य गहना छैन । युट्युबमा लाखौं पटक हेरिएको माथि उल्लिखित गीतले महिलाको सौन्दर्यचेत र चेतनानिर्माणको आधार के हो भन्ने दर्साउँछ ।

आम महिलाको सौन्दर्यचेत

सांस्कृतिक रूपमा महिलालाई, खास गरी पुरुष–आँखाका निम्ति ‘सुन्दर र कोमल वस्तु’ का रूपमा ग्रहण गरिएको छ । पुरुषको शक्ति संरचनाभित्र महिलालाई सक्रिय ‘कर्ता’ नभएर रङ्गी–बिरङ्गी ‘पुतली’ ठानिएको छ । ‘पुरुष थकित भएर आउँदा घरका महिला (विशेषतः पत्नी) को मुहार उज्यालो देखे दिनभरको थकान र कार्यबोझ बिर्सिन्छन्, उज्यालो र तेजयुक्त मुहार देखाउँदै बिदा गरेका पुरुष (विशेषतः लोग्ने) दिनभरि कार्यालयको काममा दत्तचित्त भएर लाग्छन्, सुन्दर नभएकी वा शृंगार रसमा चाख नराख्ने स्त्रीको पुरुष राम्रीहरूतर्फ आकर्षित हुने सम्भावना बढी हुन्छ, यसैले महिला अन्य विषयमा भन्दा आफ्नो सुन्दरता कायम राख्न निकै सचेत हुनुपर्छ’ भन्ने कुरा सुन्दै हुर्किएका, यही मनोविज्ञानबाट प्रशिक्षित र त्रसित महिलाले ‘धपक्कै बलेकी’ देखिन र सुन्दर बन्नका लागि अनेक सौन्दर्य प्रसाधनमध्ये ‘पहेंलपुर’ गहना प्रयोग गर्न जोड दिन्छन् । गायिका लक्ष्मी न्यौपानेको गीति माग सुनौं-

यसपालिको तीजमा जानी हो म माइत

बजार गर्न जान्छु स्वामी पैसा दिनुस् त

चुरा डोरी टीका शिरफूल र तिलहरी

भन्नुभो स्वामीले ल्याऊ त पियारी...

एवंरीतले चुडिया, डोरी, चोली, सारी, सिन्दूर, पोते र गहनाजस्ता साधनहरू किनिमागेको; ‘नागबेली चुल्ठो, पीपलपाते ओठ, बाटुलो निधार’ देखि अंगअंगमा तिनलाई लगाएको; श्रीमान्ले चट्ट परेकी भनिदिँदा एउटी महिला श्रीमान्लाई आकर्षित गर्न सकेकामा ‘मक्खै’ परेको जस्ता भावहरू गीतमा प्रशस्त पाइन्छन् । खास दार्शनिकीबाट उत्पन्न सांस्कृतिक विषयवस्तुलाई यस्ता गीतहरूले कसरी पुनरुत्पादन गरिरहेका छन् भन्ने प्रश्नको जवाफ त्यस्ता टुक्काहरूले दिन्छन् ।

तीजले महिलाविशेषको खास अवस्था झल्काउँछ, खास संस्कृतिभित्र र शक्ति संरचनामा महिलाको अवस्थिति केकस्तो छ भन्ने दर्साउँछ । तीजका गीतहरूमा सौन्दर्यको कुरा अर्थात् पाउजु, रानीहार, शिरफूलजस्ता गहनाहरूको प्रसंग आउनुले सौन्दर्यका दुईथरी चेतना एकै ठाउँ मिसिएको देखाउँछ । एक, महिला शक्ति संरचनामा भाग लिने मान्छे होइन । दुई, ऊ गरगहनासहित साजसज्जामा उत्रिएर, पुतली बनेर ‘घरभित्रको राजनीतिमा मात्र भाग लिने मान्छे’ हो । यसकारण महिलामा गहना लाउन पाऊँ भन्ने उत्कण्ठा हुन्छ । पुरुषले आफ्नो संरचनाभित्र आफूलाई स्विकारोस् भन्ने कामना हुन्छ । त्यो शक्ति संरचनामा आफ्नो स्पेस जहाँ छ, महिला त्यहीँ जमिरहन चाहन्छन् । बदल्ने संघर्ष कमै गर्छन् । जीवनसाथीलाई ‘स्वामी’ मानेर आफूलाई ‘वस्तु’ स्विकार्छन् । आफ्नो स्पेस तीज व्रतमा जल खाइदिनुपर्ने लोग्नेका खुट्टामा छ भनी उनीहरू सहर्ष स्विकार्छन् । अनि सुन्दर बनिरहेर, शृंगारपटार गरेर उनीहरू तिनै खुट्टैमा स्पेस खोजिरहन्छन् ।

शृंगारपटारलाई विशेष प्राथमिकता दिइएको गायिका लक्ष्मी न्यौपानेको अर्को गीतले भन्छ-

तीज आयो राजै

शिरमा लाउँला शिरफूल त

तिलहरी गलामा

शिरफूल मात्र सुहाउँदैन

चाहिन्छ चन्द्रमा...

यस गीतको भिडियोमा तीज मनाउन आवश्यक सामग्रीहरूको सूची नै तयार पारी बसेकी श्रीमती देखिन्छिन् । यसले तीजमा आम पुरुषलाई पर्ने आर्थिक भार पनि छ्याङ्ग पारिदिएको छ । यसरी अधिकांश महिलाले रचेका र गाएका गीतहरूमा महिला आकांक्षा, चासो र अपेक्षासँगै महिलाका प्राथमिकतालाई विश्लेषण गर्न एक हदसम्म आधार मिल्न सक्छ । उसो त गीतमा विविध गहनाप्रति लगाव र चासो देखाइनुबाट भूमण्डलीकृत र पुँजीवादी बजारले महिलाको चाहना बढाउन कसरी काम गरिरहेको छ भन्ने प्रश्नको जवाफ पनि मिल्छ । पत्तै नदिई गहनाप्रति उनीहरूको लालसा बढाउने सामग्रीहरूलाई नयाँपन दिएर बजारमा पठाउँदै उनीहरूलाई भरपर्दो र सार्वकालीन ग्राहक बनाउन पुँजीवादले कसरी छलपूर्ण खेल खेलिरहेको छ भन्ने पनि थाहा पाइन्छ, तीजका गीतहरूमार्फत ।

श्रीमतीको गहनामा अडिएको पुरुषको इज्जत

सबै महिलाको सौन्दर्यचेत एकै हो भन्नु गलत हुन्छ । गहना र पहिरनमा भन्दा बढी बौद्धिक खुराक चाहिने महिलाहरू पनि प्रशस्तै छन् अचेल, जसले स्थिति र अवस्था आकलन गरेर पर्वहरू मनाउनेबारे सोच्ने गर्छन् । तर पुरुषको प्रतिष्ठा, पुरुषत्वको मूल्यांकन उसकी श्रीमतीको शरीरमा ओइरिएका गहनाहरूमा निर्भर रहेको तीतो यथार्थ पनि छ । श्रीमतीलाई झरिझुट्ट गहना लगाइदिन नसक्ने पुरुषलाई समाजले त के, ससुरालीले पनि हुतीहारा सम्झिने प्रचलन पनि छँदै छ । किनिदिने र लगाइदिने अनि इज्जत गहनाभरि पोख्ने आकांक्षा प्रकट हुनुले महिलालाई नचाहँदा पनि ‘डमी’ बनाइछाड्न समाज र लोग्नेमान्छेको दबाब कुन तहसम्मको छ भन्नेसमेत देखाउँछन् तीज गीतहरूले । जस्तो, दुर्गा पौडेलको यो गीत हेरौं-

लगाई आछौ बाला अनि चुरा सुनैसुनका

अब भन्देऊ पालैपालो ज्वाइँ गतिला कुनका

माइत आयौ दिदीबहिनी मनका कुरा साटन

भिनाजु र ज्वाइँ सा’बको कुरा काटन...

जोन लकले सम्पत्तिको मात्रै नभएर राज्यको मालिकसमेत पुरुष हो भनेका छन् । यसरी मालिक मानिएको पुरुषबाट महिला मात्रै प्रभावित छैनन् । मालिकको सबैप्रतिको सबै खाले जिम्मेवारीका चाङ पनि छन् । पुरुषसत्ताको असर महिलाले मात्र भोग्छन् भन्ठान्नु बिलकुल गलत हो । पुरुषसत्ताको असर सबैले भोग्छन् । लक्ष्मी न्यौपानेकै गीति शब्द हेरौं-

शिरबन्दी किन चाहियो

जाम् दिदी भन्ला

शिरफूल ’नि छैन मेरो

जान्नँ म त नाइँ

ठूली दिदी आउँछिन् होला

शिरफूल टल्काउँदै

आफ्नो त छैन, भैगो गइनँ

शिरफूल किन चाहियो

जाम् दिदी भन्ला

चन्द्रमा ’नि छैन मेरो

जान्नँ म त नाइँ

माइली दिदी आउनी होलिन्

चन्द्रमा झल्काउँदै

आफ्नो त छैन, भैगो गइनँ...

यस गीतले नाक, कान, गला बुच्चै राखी निहुरिएको शिर लिएर वा बिचराको हालतमा संगिनी र माइतीका अगाडि किन देखिनु भनी हरेक विपन्न हिन्दु चेलीले सोच्ने गर्छन् भन्ने सन्देश दिन्छ ।

उसो त पंक्तिकारलाई नै तीजताका मावलमा आमाका दिदीबहिनी र सहेलीहरूबाट एकअर्काका गहनाको तौल सोधपुछ गरिएको, गहनाका लागि श्रीमान्लाई मनाउन गरिएको प्रयत्न सुनाएकोबारे जानकारी छ । जसको गहनाको सबैभन्दा बढी तौल हुन्छ, उसैलाई उति नै बढी इज्जतदार मान्ने गरेको पनि देखिएको छ । तर यी सब हुँदाहुँदै पनि अब हाम्रा सामु केही टड्कारा प्रश्नहरू पनि छन् । अब सोच्नुपर्ने बेला आइसकेको छ- पुरातन चिन्तनशैलीको खारेजमा लोककलाकारहरूको यति खेरको सांगीतिक भूमिका के हुने ? के महिलाको मनोभाव लाउँलाउँ र खाउँखाउँ मात्रै हो त ?

अहिलेका गीतहरूमा पनि पन्ध्र वर्षअघिकै जस्ता शब्द र भाव दोहोर्‍याई चेलीहरूलाई नचाउँदै उनीहरूकै भावना, लय र आवाज प्रयोग गरेर जसरी तीजको बिँडो थाम्न हिँडेको भन्ठानिएको छ, त्यसले आजका चेलीहरूलाई पटक्कै न्याय गरेको छैन; बरु संस्कृतिको पश्चगामी पाटोको पुनरुत्पादन गरिरहेको छ । महिला आन्दोलनको केही प्राप्तिपश्चात् चेलीका दैनिकी, आजका संघर्ष भिन्न छन् । हिजोको बुहार्तन एवं बुहारी, श्रीमती, भाउजू हुनुको सकस पनि आज औपचारिक रूपमा सशक्तीकरणतर्फको यात्रामा छ । यसर्थ सामाजिक चेत परिवर्तनको प्रभावकारी संवाहक मानिँदै आएका गीत–संगितसम्बद्ध व्यक्तिहरूले अब आफ्नो लेखन र गायनमा बदलाव ल्याउन ढिलो भइसकेको छ । लैंगिक दृष्टिले सामाजिक परिवर्तन र राष्ट्र उत्थान गर्ने अस्त्र बन्नुपर्छ अबका सांगीतिक रचनाहरू । त्यस्ता रचनाहरूले गहनाले कसिएर र बाँधिएर सुन्दर देखिएको आत्मभ्रम पाल्ने मनोग्रन्थिमा परिवर्तित सोच बहाउने ल्याकत राख्नुपर्छ । गहना चुँडालेर महिला मुक्तिको दौडमा होमिने प्रेरणा दिन सक्नुपर्छ ।

अचेल साह्रै सस्ता र अपाच्य शब्द समावेश गरेर गीत लेख्ने र तीज पर्वलाई विकृतितिर उन्मुख गराउने अभ्यास बढिरहेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्षसमेत रहेका गायक पशुपति शर्माले त तीजका गीत विकृत हुनु र ती गीतमा मौलिकता हराउनुमा दर्शक–श्रोताकै दोष देख्छन् । तर दर्शक–श्रोतालाई अपजस दिएर आफू भाग्ने छुट छैन कलाकारहरूलाई । रचनाकार/कलाकारहरूले भ्युजको लोभले सस्ता रत्यौली दर्शक–श्रोताका सामु फाल्नुअगाडि अब धेरै पटक सोच्नुपर्छ । नारीलाई भोग्या र पुरुषका निम्ति कामोत्तेजक वस्तु (इरोटिक अब्जेक्ट) वा पुतलीजस्ता पात्रका रूपमा चित्रित गर्न पनि छोड्नुपर्छ । यसो हुनका लागि पहिला त रचनाकार/कलाकारलाई महिला हिंसा र उत्पीडनका तेजाबी खबरहरूले छुनुपर्छ अनि मात्र गीतहरूमार्फत हिंस्रक र उत्पीडकमाथि आगो बर्साउन अघि सर्न सकिन्छ । दाइजो र सम्पत्तिको लालचमा परेर धेरै छोरीबुहारीले अकालमै ज्यान गुमाउनुपरेका घटनाहरू दैनन्दिन सुनिन्छन्, तीज गीतहरूले यो यथार्थ टपक्क टिप्न किन सक्दैनन् ? बाटामा हिँडिरहेकी युवती एसिड आक्रमणमा पारिन्छिन् र आजीवन जल्नुको पीडाले आहत भइरहन्छिन्, यस्तो घटना किन तीज गीतको विषय बन्दैन ? बलात्कारपीडित निहारिका राजपूतले त्यही हिंसाबाट जन्मिएको दुईवर्षे बालक बोकेर न्यायका लागि गरेको आर्तनाद तीज गीतको शब्द बन्न किन लायक हुँदैन ? समाजमा व्याप्त लैंगिक विभेद, सामाजिक कुरीति–कुप्रथा र राजनीतिक विसंगतिविरुद्ध विविध भाव र लयमा गीत लेख्न, गाउन अनि नारी चेतना तिखार्न किन मिहिनेत नगर्ने ? भल्गर र रत्यौली लेख्न र गाउन तीज कुर्नुपर्दैन । चेलीहरूलाई नारी जागरणका गीतहरू गाउन किन नदिने ? सुदूर छाउगोठमा सर्पदंशबाट मर्ने चेलीहरूको चेतनाको ढकनी गीतमार्फत नै किन नउघार्ने ?

अन्त्यमा, तीजका गीतहरूमा महिलालाई सुन्दरता र यौनका प्रतीकका रूपमा प्रस्तुत नगरी उनीहरूको अस्मिता–अस्तित्व फिर्ती र संघर्षको लय पनि भर्न सकिन्छ । जस्तो कि, रेम गुरुङका यी शब्द-

गलै लाउने सुनको हार छैन मेरो राजै

मायाको तिलहरी लाउँछु झपक्कै

सुख भन्नु धन मात्रै हैन मेरो राजै

सन्तोषको पछ्यौरी ओढ्छु छपक्कै...

प्रकाशित : भाद्र १३, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?