२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

स्मार्टफोन र किताब

हेरोइन र अफिमलाई चिकित्सा जगत्ले पेनकिलरका रूपमा हेरेको थियो । सही प्रयोग गर्न नसक्दा प्रकारान्तरमा ती अम्मलका साधन बन्न पुगे । स्मार्टफोनप्रतिको निर्भरतालाई अम्मलको रूप लिन नदिन किताब पढ्ने बानी पनि विकास गर्न आवश्यक छ ।
सुजित मैनाली

निजामती सेवा, व्यापारसहित विभिन्न पेसामा संलग्न व्यक्तिहरूसँग किताब पढ्ने बानीबारे प्रसंगवश कुराकानी चल्दा अधिकांशले भन्ने कुरा प्रायः एउटै हुने गर्छ, ‘किताब पढ्ने रहर त छ नि, तर के गर्नु, भ्याए पो !’ अध्ययनलाई नै मूल कर्म बनाएका विद्यार्थीहरूले पनि अक्सर यस्तै तर्क गर्ने गरेका छन्, ‘दिनभरि पढेर घर फर्किनुपर्छ । असाइनमेन्ट र परीक्षाको तयारी गर्दैमा बाँकी समय बित्छ । फेरि भोलिपल्ट बिहानै कलेज पुग्नुपर्छ । कोर्सबाहिरका किताब कति बेला पढ्नु र खै !’ किताब पढ्न समय जुटाउन नसकेका सबै जनाले स्मार्टफोनमा चाहिँ हरेक दिन केही घण्टा बिताइरहेका हुन्छन् । मनले खाएको काम गर्न जस्तै व्यस्त दैनिकीमा पनि समय निकाल्न त आखिरमा सकिँदो रहेछ नि ! 

स्मार्टफोन र किताब

किताबलाई स्मार्टफोनजति प्राथमिकता नदिने क्रम बढ्दो छ । स्मार्टफोन लगायत डिजिटल स्क्रिनको बढ्दो प्रयोगले मानव जीवनमा पारेका प्रभावबारे विभिन्न देशमा अध्ययनहरू भएका छन् । यसले मानिसको व्यक्तिगत तथा सामाजिक जीवनमा पारेका नकारात्मक असर न्यूनीकरण गर्न पढ्ने बानी सहायक हुन सक्छ भनी प्रक्षेपण पनि भइरहेका छन् । यस्तो अवस्थामा स्मार्टफोन र किताबबारे एकमुस्ट विवेचना गर्नु सामयिक हुन्छ ।

इन्टरनेटको माखेसाङ्लो

हाम्रो दैनिकी इन्टरनेटमा जेलिँदै जाँदा स्मार्टफोनबिनाको जीवन कल्पनै गर्न नसकिने भएको छ । प्रविधिमा कुन देश अगाडि छन् भनी मापन गर्न हतियार उद्योगको प्रगतिलाई आधार बनाउने चलन पहिले थियो । अहिले सूचना–सञ्चार उद्योगको प्रगतिलाई त्यस्तो आधार बनाउन थालिएको छ । इ–सपिङको तीव्र विस्तारले अर्थतन्त्रको ठूलो हिस्सा स्मार्टफोनमा अटाउने आधार बनिसकेको छ । सामाजिक सञ्जालमा मानिसहरू झुम्मिने क्रम बढ्दै जाँदा त्यस्ता सञ्जालको आम्दानी चुलिएर सन् २०१६ मा ९५ प्रतिशतभन्दा बढी मुलुकको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी मापन भइसकेको छ । पछिल्लो समय फोर्ब्सका धनाढ्यहरूको सूचीका नवप्रवेशीहरूमध्ये करिब एकचौथाइ चिनियाँ छन् । उनीहरू जवान छन् र तीमध्ये अधिकांश सूचना–प्रविधि सम्बन्धी व्यवसायमा आबद्ध छन् । न्यून पुँजी भएका युवालाई पनि उद्यमी बनाउन सूचना–प्रविधिले मद्दत गरिरहेको छ । यस्ता तमाम अवसर बोकेर उदाएको स्मार्टफोन अहिलेको समयको मियोका रूपमा स्थापित भइसकेको छ ।

स्मार्टफोनको महत्त्वलाई स्विकार्दै गर्दा यसका दुष्प्रभावप्रति आँखा चिम्लिनुचाहिँ महँगो हुन सक्छ । स्मार्टफोनको अधिक प्रयोगका परिणामबारे विवेचना गरी अमेरिकी मनोवैज्ञानिक डा. निकोलस कार्दरसले सन् २०१६ मा लेखेको किताब ‘ग्लो किड्स’ बारे चर्चा गर्नु यहाँ प्रासंगिक हुन्छ । पछिल्लो समय मानिसहरू स्मार्टफोन र भिडियोगेमको अम्मलमा फसिरहेका छन् । यसले उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा पारिरहेको विघ्नबाधाबारे प्रकाश पार्दै किताबमा डिजिटल स्क्रिनको प्रयोग अनियन्त्रित बन्दै जाँदा बालबालिकासहित सबै उमेरसमूहका मानिस जोखिममा परिरहेकोतर्फ सजग गराइएको छ ।

स्मार्टफोन जब आवश्यकतामा सीमित नरही लत बन्छ, तब यसको अम्मल लागूऔषध दुर्व्यसनको जस्तै बन्न पुग्दो रहेछ । सन् १९९८ मा गरिएको एउटा अनुसन्धानले भिडियोगेम खेल्दा वा सम्भोग गर्दा मानिसको दिमागमा आनन्दप्रदायक हार्मोन (डोपमिन) सय प्रतिशतले वृद्धि हुने तथ्य फेला पारेको थियो । त्यसयता आईटी इन्जिनियरका अतिरिक्त मनोवैज्ञानिकदेखि न्युरोसाइन्टिस्टसमेतको सहयोगले स्क्रिन, थ्री–डी एनिमेसन आदिलाई उपभोक्ताको अभिरुचिअनुरूप ढालेर भिडियोगेमसहितका अनलाइन प्लेटफर्मलाई सम्मोहनकारी बनाउने दिशामा ठूलो उपलब्धि हासिल भएको छ । फलस्वरूप लागूऔषधको दुर्व्यसनले जस्तै डिटिजल स्क्रिनहरूले दिमागमा प्रचुर मात्रामा डोपमिन हार्मोन उत्सर्जन गर्न थालेका छन् । त्यही भएर तिनलाई डिजिटल हेरोइन, डिजिटल कोकिन, डिजिटल ड्रग आदि नाम दिएर लागूऔषधझैं तिनलाई पनि नियमन गर्नुपर्ने आवाज उठ्न थालेको छ । नशालु पदार्थबाट बन्ने पेनकिलर र भिडियो गेम दुवैले शरीरमा उस्तै असर उत्पन्न गर्ने भएकाले पेनकिलरको विकल्पमा भिडियोगेमलाई चिकित्सा प्रयोजनमा ल्याउनेबारे गरिएका अनुसन्धान सफलताउन्मुख रहेका विवरणहरूबारे पनि कार्दरसको किताबमा चर्चा छ ।

मानसिक अस्थिरता र बेचैनी, एकाग्रता र स्मरणशक्तिको कमी, विषादजस्ता मानसिक समस्या, रिसाहापन, पागलपन आदि स्मार्टफोनको अम्मल र लागूऔषध दुर्व्यसन दुवैका साझा परिणाम रहेछन् । स्मार्टफोनको अधिक प्रयोगले मानिसको शारीरिक गतिविधिमा कमी ल्याउँदा संसारको मुख्य स्वास्थ्य समस्याका रूपमा मोटोपन दरिन पुगेको छ । यसले निद्राको गुणस्तर र मात्रा दुवैको क्षय गराएर स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेकोबारे निद्रा विशेषज्ञ डा. म्याथ्यु वाकरले आफ्नो किताब ‘ह्वाई वी स्लिप’ मा विवेचना गरेका छन् । युट्युब र भिडियोगेममा बालबालिका, किशोरकिरशोरी र युवायुवती घण्टौं रत्तिन थालेपछि अतिरिक्त पठनसहित खेलकुदमा उनीहरूले बिताउने औसत समय घट्दो छ । यसबाट शारीरिक र मानसिक विकासमा बाधा पुग्नुका साथै खेलकुदमार्फत सहकार्य र प्रतिस्पर्धाको मर्म सिकेर सामाजिक बन्ने उनीहरूका अवसर पनि साँघुरिँदै गएका छन् । यस्ता समस्या बढ्दै जान थालेपछि विभिन्न देशमा इन्टरनेटको अम्मल छुटाउने उद्देश्यसहित सुधारगृह खोल्ने र यसका लागि विशेषज्ञ तयार पार्ने क्रम जारी छ । यस्तो सम्भावित अवस्थालाई विचारेर चीनले सन् २००८ मै इन्टरनेटको अम्मललाई प्रमुख स्वास्थ्य समस्याको सूचीमा राखेको प्रसंगबाट प्रेरणा लिने क्रम पनि बढ्दो छ ।

स्मार्टफोनबाट मानिसको सांस्कृतिक जीवन पनि अछुतो छैन । स्मार्टफोनसँग बढ्ता नजिकिने मानिस परिवार र समाजबाट टाढिन्छ । सूचना–प्रविधिका क्षेत्रमा निरन्तर भइरहने नयाँ प्रयोग, सुधार र आविष्कारबारे अद्यावधिक भइरहनुपर्ने, नत्र पछि परिने भयले मानिसलाई गाँजेको छ । यसले नयाँ आम मनोवृत्तिलाई आकार दिइरहेको छ । लिन्डा युएहले आफ्नो किताब ‘द ग्रेट इकोनोमिस्ट्स’ मा अर्थशास्त्री जोसेप समपिटरको ‘क्रियेटिभ डिस्ट्रक्सन’ को अवधारणालाई सूचना–प्रविधिका सन्दर्भमा व्याख्या गर्ने क्रममा ब्रान्डप्रति उपभोक्ताको विश्वास अब हिजोजस्तो स्थिर नरहेको जिकिर गरेकी छन् । अमेरिकी स्टक मार्केटमा सूचीकृत कम्पनीहरूको औसत आयु सन् १९५८ मा ६१ वर्ष थियो, जुन घटेर अहिले १८ वर्षमा पुगेको छ । अहिले प्रतिष्ठित ब्रान्डहरू केही वर्षमै गर्ल्यामगुर्लुम ढल्न सक्छन् । यसबारे प्रकाश पार्न लिन्डाले नोकिया, ब्ल्याकबेरी र कोडाकजस्ता प्रतिष्ठित ब्रान्डले बेहोरेको आकस्मिक पतनको कहानी उल्लेख गरेकी छन् । यस्तो जोखिमकै कारण अहिले प्रतिष्ठित कम्पनीका सञ्चालक र कर्मचारीहरूले पनि नयाँ कम्पनीका सदस्यले झैं बाह्रैमास काममा घोत्लिनुपरेको छ । बिदाको समयमा पनि अफिसको ‘च्याट ग्रुप’ मा आउने नोटिफिकेसनलबाट झस्किनुपरेको छ । हतारो, हताशा र बेचैनी आम संस्कृति बनिसकेको छ ।

किताबका कुरा

हतारिलो र बेचैन जीवन अँगालिरहेका हामीले एक पटक आफैंलाई प्रश्न गर्नुपर्ने भएको छ— के यस्तो जीवन हाम्रो वा समाजको हितमा छ त ? प्रकृतिका केही शाश्वत नियम हुन्छन्, जसलाई विकासतिर फड्किँदै गर्दा सदैव हेक्का राख्न सक्नुपर्छ । चिनियाँ दार्शनिक लाओत्सेको एउटा भनाइ छ, ‘प्रकृतिले कहिल्यै हतार गर्दैन, यद्यपि उसले भाँति पुर्‍याएर सबै काम निष्कर्षमा पुर्‍याउँछ ।’ यस भनाइमा प्रकृतिको त्यही शाश्वत नियमको मर्म अटाएको छ । व्यक्तिको सुख र सुविधाका लागि हामीलाई विकास चाहिएको हो । सबैलाई हताश अनि दुःखी बनाएर ‘प्रगतिको सिँढी’ उक्लिनुपर्ने बाध्यता हामीलाई किन छ ?

यस्ता कुरा विचार्न अहिले हामीसँग फुर्सद छैन । समय परिपक्व नभएसम्म प्रतिफलको अपेक्षा नगर्ने धैर्य हामीबाट गुम्दै छ । यस्तो हताशापूर्ण जीवनलाई सन्तुलनमा राख्न आवधिक मौनता र ध्यानको अभ्यास सहायक हुन सक्नेतर्फ प्रक्षेपणहरू भइरहेका छन् । पठन संस्कृतिबाट यस्तो लक्ष्य हासिल गर्न अझ सहज हुन्छ भनी यसलाई कार्यान्वयनमा लैजान विकसित भनिएका देशहरूले प्रयत्न गरिरहेका छन् । मानिसलाई कल्पनाशील, धैर्यवान् र सामाजिक बनाउन किताब उपयोगी हुन्छ भन्ने निष्कर्ष विभिन्न अध्ययनबाट निस्किएको छ । स्मार्टफोनको प्रयोगलाई जथाभावी प्रवर्द्धन गरिरेका हामीले चाहिँ यसप्रति चासो देखाएका छैनौं । शिक्षाप्रतिको सचेतना बढ्दै गएको भनिएको समयमा किताब पढ्ने बानी अझ खुम्चिँदै जाँदा पनि हामी बेफिक्री छौं ।

धैर्य सिकाउने गतिलो गुरु हो— किताब । किताब पढ्न लामो समय लाग्छ । एउटै किताबमा हप्तौं अथवा महिनौं घोत्लिँदा हामीमा धैर्यको विकास हुन्छ । फिल्म, डकुमेन्ट्री, भिडियो, पोडकास्ट आदि पनि सूचना र ज्ञानका स्रोत हुन् । इन्टरनेटमा सहजै उपलब्ध हुने ती माध्यमसँग किताबको तुलना गर्दैगर्दा हामीले केही महत्त्वपूर्ण कुरा मनन गर्न आवश्यक छ । कुनै पनि विषयको विस्तृत र गहिरो ज्ञान हासिल गर्न किताबजति उपयोगी माध्यम अरू केही हुँदैन । किताबबाट हासिल हुने ज्ञानको प्रकृति पनि फरक हुन्छ । मार्सल टी. पोईले श्रव्यदृश्य माध्यमहरू सामान्यतः मानिसलाई शिक्षित गर्न नभई उद्वेलित गर्न लक्षित हुन्छन् भनी गरेको टिप्पणीलाई यस सन्दर्भमा उल्लेख गर्नु प्रासंगिक हुन्छ ।

फेरि किताबलाई फगत ज्ञान र सूचनाको स्रोत ठान्नु हुँदैन । पठनको एउटा प्रमुख प्रयोजन स्वान्तःसुखाय पनि हो जुन गहिरो गरी किताब पढ्दै गर्दा हासिल हुन्छ । यस्तो पठनमा सामान्यतः फिक्सन बढी सहायक हुन्छ । स्मार्टफोनको अतिक्रमणले मानिसलाई सतही र बेचैन बनाउँदै लगेका बेला यस्तो खालको गहिरो पठन हामीलाई अझ चाहिएको छ ।

डिजिटल युगमा किताबको उपादेयता सकिएको छैन, बरु अझ बढेको छ भन्ने निष्कर्षसहित सन् २०१८ मा एक प्रतिष्ठित प्रकाशन संस्थामार्फत मार्था सी. पेनिङ्टन र रोबर्ट पी. वेक्सलरको ‘ह्वाई रिडिङ बुक्स स्टिल म्याटर्स’ शीर्षक शोधमूलक किताब प्रकाशित भएको थियो । इन्टरनेट युगमा कला र ध्यानबारे अध्ययन गरेका स्भेन बिर्कर्टसले साहित्यको गहिरो पठनलाई ‘सुस्तरी गरिने किताबको ध्यानस्थ पठन’ भनेको सन्दर्भलाई लेखकद्वयले उल्लेख गरेर त्यसप्रति सहमति दर्साएका छन् । उनीहरूका अनुसार गहिरिएर पढ्दा हाम्रा आँखा अक्षरमाथि दौडिरहेका मात्र हुँदैनन्, अक्षरले निर्माण गरेको काल्पनिक संसारछेउ हामीले आफ्नो अलग संसार पनि मनमनै बनाइरहेका हुन्छौं । लामो समयसम्म गरिने यस्तो पठनले हामीमा धीरताका साथै करुणा पनि जागृत गराउँछ । किताब पढ्दै गर्दा हामी पात्रहरूका भोगाइलाई गहिरोसँग महसुस गर्छौं । उनीहरूसँगै रमाउँछौं । उनीहरूको शोकमा आफ्ना आँखा भिजाउँछौं । यस्तो पठनले मानिसमा अरूको मनोभाव बुझ्ने र अरूको दृष्टिबाट जीवनजगत् नियाल्ने क्षमताको विकास गराउँछ । स्मार्टफोनले मानिसलाई परिवारबाट पनि एक्ल्याएर आत्मकेन्द्रित अनि स्वार्थी बनाइरहेको भनिएका बेला अरूको भावनालाई कदर गर्न सक्ने पात्रता मानिसमा विकास गराउन किताबले मद्दत गर्न सक्छ ।

एक हिसाबले सोच्दा स्मार्टफोनको युगमा पठन संस्कृति अझ विकास हुनुपर्ने हो । किनकि यसले किताबको सुनिश्चितता सहज गर्नुका साथै किताबप्रेमीहरूलाई एकअर्कासँग जोड्न र एकअर्काबाट प्रेरित हुन मद्दत गरेको छ । नेपालमा पनि २३ हजारभन्दा बढी किताबप्रेमीहरूलाई समेट्दै फेसबुक ग्रुप ‘बुकाहोलिक्स’ सञ्चालन भइरहेको छ । मानिसलाई किताबप्रति आकर्षित गर्न यस्ता पहलकदमी सहायक भए पनि पठन संस्कृति प्रवर्द्धन गर्न पर्याप्तचाहिँ साबित भएका छैनन् ।

स्मार्टफोनले किताबप्रतिको अभिरुचिमा कमी ल्याउनुका साथै किताब पढ्ने तरिकामा पनि बदलाव ल्याएर यसको उपादेयता घटाइरहेको छ । समाचार, लेखरचना, कथा, कवितासहित सिंगै किताब स्मार्टफोन अथवा ल्यापटपमा पढ्न जमर्को गर्ने मानिसको संख्या बढ्दो छ । तर स्क्रिनमार्फत गरिने अध्ययनबाट पठनको पूर्ण लाभ हासिल हुँदैन । यसका विभिन्न कारण छन् । इन्टरनेटले हामीमा धेरै काम एकसाथ गर्ने बानीको विकास गराएको छ । स्मार्टफोन अथवा ल्यापटपमा पढ्दै गर्दा हामी सामाजिक सञ्जालसहित विभिन्न वेबसाइटमा जोडिएका हुन्छौं । यसले ध्यानमग्न पठनलाई अवरुद्ध गर्छ । सामाजिक सञ्जालका नोटिफिकेसनले एकाग्रता भंग गरिरहन्छन् । त्यही भएर विज्ञहरू इन्टरनेटमार्फत हुने पढाइ खण्डित हुन्छ भन्छन् । यही कुरा विचारेर ‘किन्डल’ ले पढ्नेबाहेकका प्रयोजनमा उपयोग गर्न नमिल्ने ट्याबलेटजस्तो इ–बुक रिडर विकास गरेको छ । तर यसले पनि पठन संस्कृति उकास्न सकेको छैन ।

फेरि इन्टरनेटमार्फत गरिने पठनका आफ्नै सीमा छन् । शीर्षक वा कि–वर्ड सर्च गरेर आफूलाई चाहिएको हरफ वा अनुच्छेद मात्रै पढ्न यसमा सजिलो हुन्छ । यस्तो प्रवृत्तिले गर्दा विश्वविद्यालयमा पनि सिंगै किताबको सट्टा निश्चित अध्याय वा खण्ड मात्रै पढ्न अभिरुचि देखाउने जमात बढ्दो छ भन्दै फ्र्यांक फुरेडीले आफ्नो किताब ‘ह्वेर ह्याभ अल द इन्टलेक्चुअल्स गन’ मा चिन्ता व्यक्त गरेका छन् । गहिरो गरी आद्योपान्त किताब पढ्दा हासिल हुने फाइदा यस्तो पठनबाट प्राप्त हुँदैन ।

स्मार्टफोन र इन्टरनेट संस्कृतिका यस्ता दुर्गुणहरूको चर्चा गर्नुको अर्थ सूचना–प्रविधिको विरोध गर्नु होइन । यस्तो चर्चाले प्रविधिलाई समग्रमा बुझेर यसको हानि न्यूनीकरणमा सहयोग गर्न सक्छ । कोकिनलाई कुनै समय मनोविद् सिग्मन्ड फ्रायडले डिप्रेसनको उपचारमा काम लाग्ने अद्भुत औषधि भनेका थिए । हेरोइन र अफिमलाई चिकित्सा जगत्ले पेनकिलरका रूपमा हेरेको थियो । सही प्रयोग गर्न नसक्दा प्रकारान्तरमा ती अम्मलका साधन बन्न पुगे । यी अनुभव हाम्रा मार्गदर्शक हुन् । स्मार्टफोनलाई हामीले जीवन सहज बनाउने प्रयोजनमा लगाउन सक्नुपर्छ । यसप्रतिको निर्भरतालाई अम्मलको रूप लिन नदिन र यसले गर्न सक्ने हानिलाई सन्तुलनमा राख्न किताब पढ्ने बानी पनि सँगसँगै विकास गर्न आवश्यक छ । सुत्ने बेला ओछ्यानमा स्मार्टफोनको सट्टा किताब लग्ने बानी मात्रै बसाउन सके पनि यी दुवै लक्ष्य एकसाथ हासिल गर्न सहज हुन्छ ।

प्रकाशित : भाद्र १०, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?