कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चार दिनको जिन्दगी !

योद्धाको सिंहासन, विद्वान्को मेच, गृहस्थको सुकुल एवं संन्यासीको मृगचर्ममध्ये जुनसुकै आसनमा बसे पनि पीजीको वजन यथावत् रहन्थ्यो । उनको लेखन पढ्नु नाउमा चढ्नुजस्तै हो, अर्को किनारा नपुगी बाटामा ओर्लिन खोज्ने हो भने डुबिन्छ । उनलाई सुन्नु आफ्नै अन्तर्मनको परीक्षण गर्नुजस्तो हो ।
सीके लाल

प्रदीप गिरिको नामका अगाडि झुन्ड्याउन सकिने उपयुक्त विशेषण भेट्टाउन कठिन छ । तर कुनै पनि सार्वजनिक व्यक्तित्वको देहान्त भएपछि तिनको नामसँग जोड्न सकिने विभिन्न खाले गुणवाचक शब्दहरूको खोजी हुन थाल्छ । त्यस अर्थमा केही दिनयता प्रदीप गिरि (यसपछि पीजी) बारे संस्मरण, श्रद्धाञ्जली वा गुणगाथा लेख्नेहरूलाई खासै गाह्रो भएन होला ।

चार दिनको जिन्दगी !

उनी मनमौजी थिए । पढैया थिए । एकान्तप्रिय थिए । सार्वजनिक प्रवचन दिन रुचाउँथे । अस्थिर प्रकृतिका थिए । चिन्तक थिए । दार्शनिक भने पनि फरक पर्दैन । समाजवादी थिए । सम्भ्रान्त थिए । जोगी थिए । पौराणिक कथालाई पुनर्व्याख्या गर्ने गर्थे । प्रेमी थिए । सांसारिक थिए । मार्क्स पढेका थिए । लेनिनबारे त पुस्तकै लेखेका थिए । सांसद थिए । सत्तासीन पार्टीका नेता थिए । नेपालमा संगठित मानवाधिकार आन्दोलनका प्रणेतामध्येका एक थिए । उनको जिवन रहस्यमयी थियो । रहनसहन खुला किताबजस्तो पनि थियो । अनुशासित थिएनन् । अराजक भन्न मिल्दैन । आफ्नो मातृदलको हितप्रति सदा समर्पित रहन्थे । सांसद भए पनि मनले नखाएको संसदीय ‘ह्वीप’ मान्दैनथे । प्रयोगधर्मी थिए । गतिविधिमा सम्मिलित हुन्थे तर प्रतिफलको जिम्मा लिन हच्किन्थे । सबैका आलोचक थिए । कसैका विरोधी थिएनन् । उनका शुभेच्छुकहरू प्रशस्त थिए । मित्र भने औंलामा गन्न लायक मात्र थिए होलान् । प्रशंसकको भरमार थियो । शिष्य बन्न आँट जुटाउन सक्ने उत्ति साह्रो देखिएनन् । व्यक्तिगत तवरमा शालीन थिए । व्यवहारमा राजनीतिक उग्रतासँग भने परहेज थिएन । अक्सर रिसाउँथे । रिसको अभिव्यक्ति भने संयमित, शिष्ट एवं सुरुचिपूर्ण हुने गर्थ्यो । विरोधाभास उनको जीवनशैलीको परिचायक थियो । पीजीबारे कुनै हिन्दी फिल्ममा सलमान खानले बडो सन्तुलित तवरले व्यक्त गरेको संवाद - इतना मत सोचो मेरे बारे में, दिल में आता हूँ, समझ में नहीं - ठ्याक्क मिल्न जान्छ ।

मधेशको सम्भ्रान्त पहाडी परिवारसँग सम्बद्ध रहेकाले बाल्यकालदेखि नै उनी भारतीय संस्कृतिमा भिजेका थिए । नेपालप्रति नयाँदिल्ली सत्ताको नीतिका सदाबहार आलोचक थिए । स्वघोषित राष्ट्रवादीहरूद्वारा भने ‘भारतभक्त’ कहलिन्थे । अमेरिकी अर्थ–राजनीति एवं ‘वासिङ्टन सहमति’ सँग विमति राख्थे । केही वामपन्थीहरू भने उनलाई पश्चिमाहरूको प्रियपात्र ठहर्‍याउन कन्दनी कसेर लाग्ने गर्थे । आस्थाले समाजवादी थिए । सादा जीवन थियो । संगत भने सम्भ्रान्तहरूको मन पराउँथे । उनको समय–सारणीबारे आश्वस्त हुन सकिँदैनथ्यो । भनेको बेलामा भलै नहोला, तर बोलाएको ठाउँमा पुग्न भने विरलै बिराउँथे । गाथा गढ्नेहरूलाई पीजी बडो सहज व्यक्तित्व लागेका हुन सक्छन् । उनका बारेमा जे बोल्ने वा लेख्ने हो, त्यसको ठीक विपरीत तर्क गर्न पनि कठिन हुँदैन । भूतकालमा लेख्दा विशेषणले कर्ता, क्रिया एवं कर्मलाई जित्दो रहेछ । विशेषणबाट जोगिएर विगतको वर्णन कठिन भएर नै होला, उनीबारे बोल्दा अरू केही नपाएर उनको विराट् व्यक्तित्वलाई ‘नेपाली कांग्रेसका सांसद’ परिचयमा सीमित गरिदिनेहरू पनि देखिएका छन् । राजनीतिका अन्तरविरोध, विरोधाभास एवं असंगतिहरूबीच जीवन बिताएका पीजी आफ्नाबारे अभिव्यक्त प्रशस्तिहरूको बाढीबाट आत्तिएर भाग्ने ठाउँ खोज्थे होलान् । जति नै आत्तिए पनि अशक्त भएर ओछ्यान समात्नुअगाडिसम्म पुस्तकको आश्रय उनलाई सदा उपलब्ध थियो । सायद उनी आफ्ना गहिरा र उदास आँखा चारैतिर दौडाउँदै असरदार आवाजमा फिराक गोरखपुरीका पंक्ति दोहोर्‍याउँथे होलान्- ‘यह माना जिन्दगी है चार दिन की, बहुत होते हैं यारों चार दिन भी’ !

महत्त्वाकांक्षाको उडान

सिरहाका सम्भ्रान्त भए पनि सन् १९५०–६० को दशकताका काठमाडौंका लागि सायद पीजी बाहिरिया नै थिए । प्रारम्भिक पढाइ अपेक्षाकृत कम उमेरमा सकेकाले व्यावहारिक परिपक्वता आइसकेको थिएन । विज्ञानको आधारभूत शिक्षा पुनरावृत्तीय (रिपेटिटिभ) प्रकृतिको हुन्छ । सूत्रहरू अमूर्त हुन्छन् । व्याख्या बेजान हुन्छ । प्रयोग पनि सुक्खा किसिमका हुन्छन् । स्थापित विधि पछ्याउने, प्रयोग गर्ने, परिणाम जाँच्ने, अवधारणा बनाउने, सम्भाव्य परिणति पहिल्याउने, र, अपेक्षित निष्कर्ष आएन भने पुनः पूरै प्रक्रिया दोहोर्‍याउने कामको उद्देश्य गम्भीर अन्वेषणका लागि नभई नहुने मानसिक अनुशासनको अभ्यास गराउनु हो । सुरक्षा बलका जवानले उस्तै व्यायाम दिनदिनै गरेर शरीरलाई अनुशासित बनाए झैं युवा अन्वेषणकर्ताहरूले प्रयोगशालामा मानसिक कसरत गर्ने गर्छन् । खुला परिवेशबाट आएकालाई सुरुमा विज्ञानको पढाइ निस्सासिँदो लाग्न सक्छ । रंगीन कल्पनामा रमाउन बानी परेका पीजी तथ्यहरूको रूखो संकलनमा जम्न सकेनन् । आश्रयका लागि सहरमा किसिम–किसिमका पुस्तकालयहरू थिए । अमेरिकी, बेलायती, सोभियत र चिनियाँसमेत गरी शीतयुद्धको वैचारिक प्रसारका मोर्चा रहेका पुस्तकालयहरूमा तिनका अध्ययन सामग्री निर्धक्क भएर पढ्न पाइन्थे । एकान्तमा पुस्तकका पानामार्फत चिन्तक एवं सर्जकहरूसँग संगत गर्ने लत बसेपछि सामान्य जीवनका चासो र चिन्ताहरू हल्का लाग्न थालेका हुँदा हुन् । उनी केही महिनाभित्रै काठमाडौं खाडलबाट उम्किएर बनारस पुग्छन् ।

सन् १९६३ का पीजीको व्यक्तित्व र चरित्रलाई तिनताकका उनका मित्र निरञ्जन कोइरालाले कतै ‘आफ्नो परिवेशसँग अप्रसन्न, कुपित एवं कुलीन युवा’ भनेर चित्रित गरेका छन् । शैलजा एवं पीजीको अन्तरंग सम्बन्धलाई औंल्याएका छन् । तर, आफ्नो मित्रले केही दिनपछि ‘नोना आमा’ सम्बोधनलाई अन्य कांग्रेसका कार्यकर्ताहरू जस्तै ‘नोना भाउजू’ मा रूपान्तरित गरेपछि छक्क पर्छन् । पीजीबारे बनारसका आफ्ना अनुभवहरू साझा गर्नका लागि निरञ्जन कोइरालासँगसँगै चक्र बाँस्तोला पनि अब यस दुनियाँमा छैनन् । तर, राजनीतिमा सक्रिय भएपछि देखिएको सम्बोधन परिवर्तनलाई अस्वाभाविक मान्न मिल्दैन । ‘आमा’ अपेक्षाको सम्बोधन हो । आत्मीयता ‘भाउजू’ सम्बोधनमा पनि कम छैन, तर त्यो वात्सल्य मात्र नभएर व्यावहारिकताको सम्बन्ध पनि हो । भनिन्छ, बनारसको हावामा भोगीलाई पनि जोगी बनाउने तागत छ, तर पवित्र गंगाको प्रवाहले लामो कालसम्म निर्लिप्त भएर बस्न भने दिँदैन । भारतीय समाजवादका प्रणेता राममनोहर लोहिया रामजन्मभूमि फैजावादका भए पनि विश्वनाथको काशीलाई उनले आफ्नो कर्मभूमि बनाएका थिए । घुमन्ते प्रवृत्तिका लोहियाको स्थायी ठौरठेगाना केही थिएन । समाजवादी मान्यताअनुसार उनी सामान्यजनसँग बस्न रुचाउँथे । राजनीति भने आन्दोलन मात्र नभएर व्यवस्थापकीय चुनौती पनि हो । समाजवादी विचारधाराको जीवन्तता एवं स्थायित्वका लागि लोहियाले काशीमा ‘समता घर’ बनाउन लगाएका थिए । सम्भवतः लोहियाको संगतले पीजीलाई समाजवाद एवं सनातन परम्परा, समता र समृद्धि, सहभागिता र समभाव, संस्थाकरण र निरन्तर क्रान्ति, पदको आवश्यकता एवं व्यर्थताजस्ता परस्पर विरोधी अवधारणाहरूभित्र बाँच्ने कला सिकायो । प्रखर चिन्तक लोहिया एकातिर हिन्दी भाषामार्फत ऐक्यबद्धता निर्माणको कुरा गर्छन् भने अर्कातिर सांस्कृतिक बहुलतालाई बढावा दिन्छन् । यदि भाषा संस्कृतिको संवाहक हो भने भाषिक विविधताबेगर सांस्कृतिक बहुलता सम्भव छैन । उनी समाजवादीहरूको नकारात्मकताको आलोचना गर्छन् तर विरोधबेगर प्रजातन्त्रको कुनै अर्थ हुँदैन भने तर्क पनि गर्छन् । लोहियालाई नपढी पीजीको जीवन पद्धतिका विडम्बनाहरूलाई बुझ्न सकिँदैन ।

दक्षिण एसियामा सन् १९६०–७० उथलपुथलको दशक थियो । अफगानिस्तानमा राजा जहीर शाहमाथि राजनीतिक प्रहार बढ्दै गइरहेको थियो । अन्ततः उनी झिटीगुन्टा कसेर भाग्न बाध्य भए । पाकिस्तान सैनिक शासनअन्तर्गत पश्चिमा खेमामा थियो । नेपालमा पञ्चायतको प्रयोग निष्प्रभावी हुँदै गएर चिनियाँ गतिविधि बढ्दै थियो । भारत–चीन युद्धको प्रहार खेप्न नसकेर भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको क्लान्त निधन भएको थियो । भारत–पाकिस्तान युद्धको दबाबमूलक निर्क्योल सहन नसकेर प्रधानमन्त्री लालबहादुर शास्त्री पनि बितेका थिए । सुरुमा लोहियाबाट ‘गुंगी गुडिया’ खिताब पाएकी प्रधानमन्त्री इन्दिरा गान्धी बंगलादेशको स्वतन्त्रतापछि प्रतिपक्षका नेता अटलबिहारी वाजपेयीका शब्दमा ‘बाघमा सवार दुर्गा’ बन्न पुगेकी थिइन् । कोरियाली युद्ध एवं भियतनाम युद्धमा साख गुमाएको अमेरिकाको छवी भारतीय उपमहाद्वीपमा पनि स्खलित हुँदै थियो । सन् १९६० को दशकमा बिहारको अकालले गर्दा ‘चीनका चेयरम्यान, हाम्रा पनि चेयरम्यान’ रट्ने नक्सलपन्थीहरूको लोकप्रियता उत्तर प्रदेशको सिमानासम्म पुग्न थालेको थियो । साम्यवादलाई पुँजीवाद वा राज्यनिर्देशित समाजवादले होइन कि मानसिक जागरण एवं जनपरिचालनको समाजवादद्वारा मात्र सामना गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेर जयप्रकाश नारायण आफ्नो सर्वोदय कार्यक्रमलाई विश्राम दिई युवाहरूलाई उद्वेलित र संगठित गर्ने अभियानमा फर्किएका थिए ।

बनारसबाट पीजी जवाहरलाल नेहरू विश्वविद्यालय पुग्छन् । विभाजित भारतको राजधानीबाट नयाँ दिल्ली सुस्तरी रचनात्मक सक्रियताको केन्द्र पनि बन्दै गइरहेको थियो । सच्चिदानन्द वात्स्यायन एवं रघुवीर सहायले ‘दिनमान’ लाई समाचार–विचारको अग्रणी पत्रिकाका रूपमा स्थापित गरेका थिए । भारतको अपेक्षाकृत उदार विदेशनीतिले गर्दा नयाँदिल्ली तेस्रो विश्वका विद्यार्थी, कवि, कलाकार एवं जुझारु कार्यकर्ताहरूको जमघट हुने स्थल बन्दै गएको थियो । इन्दिरा गान्धीको आपत्काल (सन् १९७५–७७) प्रजातान्त्रिक शून्यताको अन्तराल थियो, अधिनायकवादी क्रमभंगता थिएन । सन् १९७७ पछि गठबन्धनमार्फत केही कालका लागि भए पनि समाजवादीहरूको हातमा सत्ताको नियन्त्रणसमेत पुगेको थियो । त्यस अनुभवका दूरगामी असरहरूबारे पीजी घोत्लिन रुचाउँथे । तर उनको बहुआयामिक गतिविधि सन् १९७० को दशकमै फस्टाएको हुनुपर्छ । उनी हिन्दी भाषाका नामवर सिंह एवं मैनेजर पाण्डे जस्ता प्रतिबद्ध समालोचकका सृजना पढ्न चाहन्थे । संगीतमर्मज्ञ हुन चाहन्थे । जिज्ञासु त थिए नै । सायद मिर्जा गालिबलाई सम्झिँदा हुन्- ‘हजारों ख्वाहिशें ऐसी, के हर ख्वाहिश पे दम निकले / बहुत निकले मेरे अरमान, लेकिन फिर भी कम निकले’ । त्यसपछि डिसेम्बर १९७९ मा अफगानिस्तानमाथि सोभियत संघको प्रत्यक्ष सैनिक नियन्त्रण सुरु भयो, दक्षिण एसियाको भूराजनीतिक सन्तुलनमा भुइँचालो गयो, र, पीजीका कल्पनाका उडानहरूको दिशा मोडियो ।

व्यक्तिको प्रवृत्तिलाई अध्ययन गर्नेहरूले जन्मजात प्रकृति एवं परिवेश तथा परिस्थितिको भूमिकाको अनुपात ठम्याउन सकेका छैनन् । जुम्ल्याहाहरू शारीरिक रूपले एकसमान भए पनि तिनको प्रवृत्ति ठ्याक्क विपरीत पनि हुन सक्छ । उस्तै परिवेशबाट प्रतिगमनकारी र क्रान्तिकारी आउन सक्छन् । साहित्यमा रुचि थियो, बनारस पुगेर राजनीतिमा रमाए । अर्थ–राजनीतिले डोर्‍याउन थालेको थियो, नयाँ दिल्ली पुगेर विचारको स्वच्छन्द आकाशमा विचरण गर्न थाले । समाजवादीहरूको संगतले गर्दा शीतयुद्धको वैचारिक द्वन्द्वबाट पनि मुक्त रहन सकेनन् । पीजीको कुरा सुन्नु अँध्यारो गुफामा लुकेर त्यहाँ भएको खजाना फेला पार्नुजस्तो हुन्थ्यो । कसैले उनलाई ‘खुला विश्वविद्यालय’ भनेका छन्, तर उनी हरेक किसिमका शिष्यको निरन्तर खोजीमा रहेका बहुआयामिक गुरुजस्ता थिए । उनी स्वयं लोहियाका कृतिहरूको भरपूर उपयोग गर्थे एवं उनको ज्ञानको उपभोग अरूले पनि त्यसरी नै गरून् भन्ने चाहन्थे । हुन पनि गुरु–शिष्य परम्परामा जुन ज्ञान शिष्यमा छ, त्यो गुरुकृपाले नै सम्भव भएकाले गुरुको हक लाग्ने नै भयो । त्यस्तै आफ्नो समर्पणबाट गुरुको ज्ञानमाथि योग्य शिष्यले उपभोगको अधिकार स्थापित गर्छ । पीजीलाई योग्य शिष्य भेट्टाउन त्यसै कठिन भएको होइन । अन्ततः उनका सबै सम्भाव्य अनुयायीहरूले उनलाई ‘दाइ’ र ‘दाजु’ सम्बोधनको हितकारी भूमिकामा सीमित गरिछाडे ।

यथार्थको धरातल

आजभोलि सन् १९८० को जनमत संग्रहबारे नेपालको सार्वजनिक वृत्तमा प्राज्ञिक चर्चासम्म हुँदैन । सन् १९५१ को क्रान्ति एवं सन् १९६० को प्रतिक्रान्तिपछि सन् १९८० को जनमत संग्रहलाई सामाजिक रूपान्तरणको बुनियादी मोडका रूपमा अर्थ्याउन सकिन्छ । अस्पष्ट ‘संशोधनसहित’ को वाचाले पञ्चायतको निरन्तरतालाई झन्डै ५५ प्रतिशत मतदाताको समर्थन दिलाएको भए पनि बहुदलीयताको पक्षमा खसेको ४५ प्रतिशत मतको राजनीतिक वजन कम थिएन । त्यस तरल राजनीतिक आधारलाई सुदृढ गर्न नपाउँदै बीपी कोइरालाको देहावसान भयो । सन् १९८२ पछि जमलमा रहेको औपचारिक रूपमा प्रतिबन्धित एवं व्यावहारिक तवरले निष्क्रिय नेपाली कांग्रेसको ‘सम्पर्क कार्यालय’ सुनसान हुन थालेको थियो । भोजन र आरामपछि मध्याह्नतिर ‘नेतात्रय’ एवं तिनका विश्वासपात्रहरू एउटा कोठामा बसेर कार्यकर्ता जोगाउने रणनीतिबारे विमर्श गर्ने गर्थे । नजिकैको चियापसलमा समर्थकभन्दा गुप्तचरहरूको संख्या बढी हुने गर्थ्यो । जनमतको परिणामलाई स्वीकार गरे पनि मतदान प्रक्रियामा सहभागी नहुने नेपाली कांग्रेसको नीतिलाई अन्तर्राष्ट्रिय समुदायका अगाडि व्याख्या गर्न सक्ने व्यक्ति बीपीपछि कोही थिएनन् । तिनताक पीजीलाई खोज्न जमल पुग्नेजति सबैले उस्तै जवाफ पाउने गर्थे, ‘प्रकट हुन्छन् । अलप हुन्छन् । उनैले फेला पारे बेग्लै कुरा, नभए भेट हुन्न !’

सन् १९८० को मध्यतिर आइपुग्दा उनी सक्रिय राजनीतिभन्दा मानवाधिकारको प्रसारमार्फत प्रजातान्त्रिक संस्कार संस्थागत गर्ने प्रस्तावतिर आकर्षित हुन थालेका थिए । भारतमा जयप्रकाश नारायणले ‘पिपल्स युनियन फर सिभिल लिबर्टिज एन्ड डेमोक्रेटिक राइट्स’ स्थापित गरेर त्यस्तो प्रयोग पहिले नै गरिसकेका थिए । पछि त्यो संस्था शुद्ध मानवाधिकारमा काम गर्ने ‘पीयुसीएल’ हुन गयो । लोहियाले कोदालो, सडक र जेललाई समाजवादी आन्दोलनको प्रतीक भनेर औंल्याएका थिए । कांग्रेसीहरूका लागि जेल त दोस्रो घरजस्तै हुन्थ्यो । सडक संघर्षका लागि युवाहरूलाई प्रशिक्षित गर्नु थियो । र, कोदालोको महत्त्व ठम्याउन एक पटक फेरि बस्तीपुर नै पुग्नुपर्ने थियो । पछिसम्म पनि उनको सबभन्दा ठूलो पछुतो किसानहरूका लागि केही गर्न नसकेकैमा थियो ।

सन् १९८० दशकको अन्ततिर आइपुग्दा उनि जुझारु कार्यकर्ता, जिज्ञासु अध्येता, सक्षम प्रशिक्षक एवं समर्पित उत्प्रेरक हुँदै राजनीतिक शक्ति संघर्षमा पृष्ठभूमिको व्यवस्थापक (ब्याकरुम मनिप्यलेटर) भइसकेका थिए । बनारसको सम्पर्क, जेएनयूको संसर्ग, समाजवादी सञ्जाल एवं प्रभावशाली अभिव्यक्ति क्षमताले गर्दा नयाँदिल्लीको सत्तादीर्घामा उनको पहुँच गहिरो थियो । त्यसको प्रयोग उनले सन् १९९० मा बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनमा गरेका थिए । समर्थन गर्नेहरूले केही अपेक्षा पनि राखेकै हुन्छन् । त्यो पूरा गर्न उनी इच्छुक थिएनन्, भए पनि सक्दैनथे । कोइराला मण्डलीसँग उनको दूरी बनारसदेखि नै बढ्न थालेको थियो । बीपीको देहान्तपछि गहिरिँदै गएको असमझदारी सन् १९९० पछि झन् फराकिलो भयो । उमेरमा अग्रज भए पनि गिरिजाप्रसाद (जीपी) कोइरालालाई उनी आफ्नो वैचारिक समकक्षी स्वीकार गर्न तयार थिएनन् । जीपीलाई चुनावी राजनीतिका लागि विचारक होइन, संगठक र प्रचारकहरूको झुन्ड चाहिएको थियो । अर्थ–राजनीतिमा नव–उदारवादीहरूको जगजगी थियो । सन् १९९० दशकको अन्तसम्म आइपुग्दा मूलधारको राजनीतिमा सक्रिय रहे पनि पीजी लगभग असान्दर्भिक भइसकेका थिए । माओवादी सशस्त्र संघर्षको विस्तार एवं नारायणहिटी हत्याकाण्डपछि सायद उनी अलि अतालिएका थिए । उनको गतिविधि पुनः घनीभूत हुन थाल्यो । तर, सक्रिय राजनीतिको पक्षधरताले बौद्धिक अग्रसरताको प्रभावलाई कमजोर तुल्याउने रहेछ । उनी भने त्यो कुरा मान्न तयार थिएनन् । संसद् र संविधानसभा आफ्नो आवाज घन्काउने थलो हो भनेर तर्क गर्ने गर्थे । प्रतिरोधको राजनीति गर्नेले पनि संसद्को उपयोग गर्न छोड्नु हुन्न भन्ने मान्यता भारतीय समाजवादीहरूको पनि थियो ।

माओवादीहरूको विस्तार रोक्न स्थायी सत्तासँग अस्थायी सहकार्य जरुरी छ भने त्रुटिपूर्ण निर्क्योलले उनलाई नेपाली कांग्रेस (प्रजातान्त्रिक) प्रयोगको परिकल्पनाकार बनायो । त्यस राजनीतिक परीक्षणको एक मात्र उपोत्पाद ‘दमजम’ आह्वान थियो । तर, ‘दलित, मधेशी, जनजाति एवं महिला’ मुद्दाको तार्किक प्रतिरक्षा उनले गर्न सकेनन् । सन् २००२ पछि गणतन्त्र, संघीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता मुद्दाहरूलाई उनले मार्क्सवादी चस्मा फुकालेर हेर्ने प्रयत्न गरेनन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालतले गणतन्त्रको प्रवर्द्धन त गर्थ्यो, तर धर्मनिरपेक्षताजस्तो समाजवादको ज्वलन्त चासोलाई उनी वर्ग र वर्णको प्रश्नभन्दा गौण ठान्थे । उनलाई समाजवादभन्दा मार्क्सवादतिर उन्मुख गराउनमा सायद भारतिय राजनीतिमा देखिएको परिवर्तनले पनि सघाएको थियो । संविधानवादसँग कतै मेल नखाने ‘आवश्यकताको सिद्धान्त’ अनुसार न्यायपालिका प्रमुखले कार्यपालिका पनि सञ्चालन गर्ने जिम्मेवारी लिएपछि सन् २०१३ देखि उनले राजनीतिक व्यवस्थापनभन्दा प्राज्ञिक गतिविधिलाई महत्त्व दिन थालेका थिए ।

विश्रामको तयारी

दोस्रो संविधानसभामा रहे पनि आफ्नो उपस्थितिको निरर्थकता पीजीले सन् २०१४ तिरै ठम्याइसकेका थिए । त्यसपछि पंक्तिकारसँगको उनको वार्तालापले वैचारिक निर्देशको रूप लिन थालेको थियो । जस्तो कि, कुनै एउटा कार्यक्रमबाट निस्किएर त्रिपुरेश्वरतिर एउटा समोसा–चाट छलफल- ‘कत्ति मधेश–मधेश गर्नुहुन्छ ? त्यो नेपालको आन्तरिक नभएर भूराजनीतिक मुद्दा हो ।’ भारतीय प्रधानमन्त्रीको बहुप्रचारित संसद् सम्बोधनपछिको एउटा अनौपचारिक भेट- ‘दक्षिण एसियामा दक्षिणपन्थलाई रोक्न सक्ने शक्ति छैन ।’ सन् २०१५ ताका संविधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेपछि- ‘राष्ट्रवादी प्रतिप्रहार (ब्याक्लैश) सँग अब कसरी मुकाबिला गर्ने ?’ सन् २०१७ तिर वीरगन्जमा- ‘समाजवादबारे लेख्छु भन्दै हुनुहुन्थ्यो, के भो ?’ अध्ययन पुगेको छैन भन्ने बहानालाई ठाडै खारेज गर्दै- ‘धन, ध्यान र अध्ययन कहिले पनि पुग्दैन । सकेजति गरिहाल्ने हो ।’ बन्दाबन्दीका बेला एउटा लामो प्रवचनको बिट मार्दै- ‘नेपाली उपन्यास कत्तिको पढ्नुहुन्छ ?’ सीमित मात्र भन्ने उत्तर सुनेपछि- ‘त्यसो भए त झन् राम्रो ! राजनीतिक टिप्पणी धेरै लेख्नुभयो । अब साहित्यको समालोचनामार्फत समाजलाई उद्वेलित गर्नुस् ।’ क्षमता पुग्दैन भने स्वीकारोक्तिको प्रत्युत्तर- ‘कस्सिएर पानीमा हामफालेपछि पौडी खेल्न सिकिन्छ ।’ सायद अन्तिम भौतिक अन्तरक्रिया जनकपुरमा भएको थियो । आवाजमा ओज कति पनि कम भएको थिएन, तर अनुहारमा गहिरो उदासी स्पष्ट पढ्न सकिन्थ्यो । कुनै बेला उनको बस्तीपुर आश्रम एक्लै जानुपर्ने भयो । मैथिलीमा ‘घाघ’ भनिने कृषि र मौसमसम्बन्धी उक्तिहरूको संग्रह उनको पुस्तकालयमा छ भन्थे ।

अब केही दिनपछि पीजीलाई कसरी सम्झिने भन्ने बौद्धिक कर्मकाण्ड सुरु हुन्छ । नेपालका राजनीतिकर्मीहरूले बरु उनलाई कसरी बिर्सिने भन्ने अभ्यास गर्न थाले हुन्छ । योद्धाको सिंहासन, विद्वान्को मेच, गृहस्थको सुकुल एवं संन्यासीको मृगचर्ममध्ये जुनसुकै आसनमा बसे पनि पीजीको वजन यथावत् रहन्थ्यो । उनको लेखन पढ्नु नाउमा चढ्नुजस्तै हो, अर्को किनारा नपुगी बाटामा ओर्लिन खोज्ने हो भने डुबिन्छ । उनलाई सुन्नु आफ्नै अन्तर्मनको परीक्षण गर्नुजस्तो हो । राजकीय सत्ता पल्टिन सक्छ । व्यावसायिक सत्ता खिइन्छ । बौद्धिक सत्ताले आफ्नो उपस्थिति देखाउन कहिल्यै छोड्दैन । पीजीलाई नै आफ्नो जीवनको मूल्यांकन गर्न दिएको भए सायद उनले फैज अहमद फैजको नज्म दोहोर्‍याउँथे होला- ‘वो लोग बहुत खुश–किस्मत थे / जो इश्क को काम समझते थे / या काम से आशिकी करते थे / हम जीते–जी मसरूफ रहे / कुछ इश्क किया कुछ काम किया / काम इश्क के आडे आता रहा / और इश्क से काम उलझता रहा / फिर आखिर तंग आकर हम ने / दोनों को अधूरा छोड दिया’ !

पीजी अलप भएका हुन् । कतै गएका छैनन् । दराजको किताबका पानामा होलान् । युट्युबको भिडियोमा भेट्टिन सक्छन् । अखबारको चाङतिर पो कतै छन् कि ? अरू कहीँ भेटिएनन् भने आफ्नै मनमस्तिष्कभित्र खोजे हुन्छ । त्यहाँबाट उनलाई सजिलै निकाल्न सकिने सम्भावना छैन ।

प्रकाशित : भाद्र ८, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?