प्रदीप गिरि गएपछि...- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदीप गिरि गएपछि...

अंकुशबेगरको व्यक्तिगत स्वतन्त्रताप्रतिको प्रतिबद्धताकै कारण उहाँ समाज र अर्थतन्त्रबारे आफूभन्दा बिलकुलै पृथक् विचार राख्ने साथीहरूसँग पनि अहिंसा, शान्ति र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्न एउटै दलमा बसेर सदैव क्रियाशील रहनुभयो ।
मीनेन्द्र रिजाल

अब प्रदीप गिरि रहनुभएन ! यो लेख प्रकाशित हुँदा उहाँको देहावसान भएको पाँच दिन हुनेछ । नेपालको राजनीति र वैचारिक आन्दोलनमा पुर्‍याएको योगदान, थुप्रै मानिसको जीवनमा प्रत्यक्ष वा परोक्ष रूपमा पारेको प्रभावमार्फत उहाँ हामीहरूबीच सधैं रहनुहुनेछ ।

यसै कारणले होला, आर्यघाटमा कतिपयले भिन्नभिन्न भाषा र बोलीमा तर एउटै अर्थ लाग्ने प्रश्न गर्नुभयो । त्यस्तो प्रतिनिधि प्रश्न थियो- आज यहाँ जम्मा भएकामध्ये कति जनाका लागि सत्तामा नरहेका बेला पनि अन्तिम बिदाइ गर्न मनैदेखि यति धेरै शुभचिन्तक जम्मा होलान् ? अन्तिम बिदाइका लागि जम्मा हुने सरकारी लस्कर होइन, शुभेच्छुकहरूले व्यक्त गरेको स्नेह र श्रद्धाले जीवनको अन्तर्य खोजी गर्न र आफ्नो कर्तव्यप्रति चिन्तन गर्न एवं इमानदार रहन अभिप्रेरित गर्दछ । यो अनि यस्तै धेरै प्रश्न मनमा बोकेर घाटबाट म फर्किएँ । अरू धेरैसँग यस कुरामा समभाव रह्यो होला भन्ने लागेको छ ।

मैले संवेदना व्यक्त गर्न खोज्दा उहाँकी सँगिनी भारती सिलवाल गिरि नै पहिले बोल्नुभयो, ‘मीनेन्द्र, तपाईंले फरक बेलामा प्रदीप गिरि अहिले कहाँ हुनुहुन्छ भनेर सोध्दा मैले आर्यघाटमा हुनुहुन्छ भन्या थिएँ । त्यो बेला उहाँ कसैलाई बिदा गर्न घाटमा हुनुहुन्थ्यो । आज पनि घाटमा हुनुहुन्छ । फरक यति छ, आज हामी उहाँलाई बिदा गर्न जम्मा भा’छौं । उहाँ आर्यघाटमा हामी सबैबीच चिरनिद्रामा हुनुहुन्छ ।’ भारतीले यसो भन्दै गर्दा तत्कालै केही भन्न मलाईं गाह्रो भयो, अलि पछि उहाँलाई सान्त्वनाका केही कुरा भनें । तर, उहाँको यो वचन मेरो मानसमा धेरै पछिसम्म गुन्जिरहनेछ । जम्मा भएका हामी प्रत्येकलाई बाँकी रहेका अरूले पालैपालो अन्तिम बिदाइ गरिरहनेछौं । सबैको जीवनको अन्तिम क्षणको निस्सारता आत्मसात् गर्दै शेष जीवनमा सार खोज्ने, निर्माण गर्ने प्रयत्न गर्ने पथमा क्रियाशील रहन यो वचनले मलाई अभिप्रेरित गरिरहनेछ ।

अर्कों प्रसंग, घाटबाट फर्किंदा सरिता प्रसाईंले सोधिन्, ‘दाइ, मामा (चक्रप्रसाद बाँस्तोला) पहिले जानुभयो, आज प्रदीप गिरि जानुभयो । अब देश र राजनीतिबारे गम्भीर कुरा गर्ने तपाईंहरूको कति ठाउँ बाँकी

रह्यो ?’ अलि वर्षअघि गणेशराज शर्मालाई बिदा गरेपछि म यस्तै भाव लिएर फर्किएको थिएँ । आज सरिता र म मात्रै होइन, अरु धेरै साथी पनि यही तरंग बोकेर फर्किनुभयो होला ।

प्रदीप गिरिसँग मेरो संगत धेरै लामो होइन, २०५३ सालपछि मात्रैको हो । सुरुमा नेपाली कांग्रेसको जुन राजनीतिक परिवेशमा हामी थियौं, त्यहाँ गिरिप्रति सहिष्णुता थिएन, जसका कारण, उहाँको राजनीतिक व्यक्तित्व र बौद्धिकताबारे परिचित हुँदाहुँदै पनि मलाई नेपालमा छँदा उहाँसँग भेट्न संकोच लाग्थ्यो । उहाँ मलाई सदैव ‘मीनेन्द्रजी’ भन्नुहुन्थ्यो भने म ‘प्रदीप दाइ’ भन्ने गर्थें । साख्यभाव र मित्रता, छब्बीस वर्षका केही प्रसंग र तीसँग जोडिएका विषयवस्तुबारे अब चर्चा गर्दछु ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा नेतृत्व छनोटबारे उहाँसँग पटकपटक लामो कुराकानी भएको थियो । उहाँले देख्न चाहेको जस्तो नेतृत्वबारे उहाँकै विचार सार्वजनिक जानकारीमा छन्, त्यसैले मैले केही भन्नुपरेन । उहाँको सोचअनुसार, आंशिक तर प्रभावकारी रूपमा, महाधिवेशनबाट नेतृत्व स्थापित भएको छ । लोकतान्त्रिक र समृद्ध नेपाल निर्माणमा उहाँकै भाषामा हस्तक्षेपकारी - मैले भन्दा नेतृत्वदायी - भूमिका भविष्यको गर्भमा छ ।

२०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा संसदीय बहुमत निर्माणका लागि जनदबाब सिर्जना गर्न बृहत् नागरिक आन्दोलनले आयोजना गर्न लागेको र पुष्पकमल दाहाल, माधवकुमार नेपाल र महन्थ ठाकुरसमेत सहभागी हुने कार्यक्रममा प्रदीप गिरिलाई आमन्त्रण गर्न नारायण वाग्लेसहित केही आन्दोलनका अगुवाहरू उहाँकहाँ आउनुभएको थियो । त्यो भेटघाटमा गिरिले मलाई पनि बस्न भन्नुभयो । उहाँले नेपाली कांग्रेसका तर्फबाट आफूलाई होइन, मलाई सो कार्यक्रममा सामेल गर्न आयोजकहरूलाई भन्नुभयो, सोहीअनुसार म त्यसमा सहभागी भएँ । यो सदाशयलाई मैले उहाँको मेराप्रतिको स्नेह र विश्वासका रूपमा मनमा राखेको छु ।

नेपाली कांग्रेस विभाजित भई नेपाली कांग्रेस (प्रजातान्त्रिक) बन्यो । सो दललाई तत्कालीन परिस्थितिमा स्थापित गर्न हामीले सँगसँगै काम गर्‍यौं । छुट्टिएका दुई दलका एघारौं महाधिवेशन अलगअलग हुन लागेका थिए । हाम्रा सभापति शेरबहादुर देउवा शाही आयोगको थुनामा हुनुभएकाले महाधिवेशन सम्पन्न गर्ने जिम्मा हामी बाहिर भएकाहरूको थियो । नेपाली कांग्रेसको विधानमा अठार निर्वाचित केन्द्रीय सदस्यको व्यवस्था थियो । गिरिको मूल अग्रसरतामा हामीले एक जना कर्णालीबाट अनि दलित, महिला, जनजाति र मधेशी समुदायबाट दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी सदस्यसंख्या वृद्धि गर्‍यौं । मूलधारका राजनीतिक दलमा समावेशी केन्द्रीय नेतृत्व परम्परा सुरु गर्न यो निर्णय कोसेढुंगा साबित भयो । र, गिरि ‘कदमजम’ का प्रतिपादकका रूपमा चिनिनुहुन्छ ।

समावेशी राजनीतिको कुरा गर्दा मैले अन्यत्र पनि चर्चा गरेको प्रसंग यहाँ पनि सान्दर्भिक हुन सक्छ । २०१६ सालको आमनिर्वाचनको प्रचारका क्रममा मधेशी समुदायको अत्यधिक बहुमत रहेको गिरिकै गृहजिल्ला सिरहामा एक पहाडे उम्मेदवारका लागि मत माग्दा बीपी कोइरालाले अर्को आमनिर्वाचनमा पहाडबाट मधेशी उम्मेदवारलाई विजयी बनाउने वाचा गर्नुभएको थियो । दुर्भाग्यवश, मुलुकले अर्को आमनिर्वाचनका लागि बत्तीस वर्ष परखनुपर्‍यो । पहाडबाट मधेशीलाई सांसद बनाउने बीपीको प्रतिबद्धता पूरा हुन देशले अरू कति कुर्नुपर्ने हो ! समावेशी राजनीतिकै प्रसंगमा नेपाली कांग्रेसकै अर्का नेता कृष्णप्रसाद भट्टराईको चर्चासमेत आवश्यक छ । जमानसिंह गुरुङ र देवानसिंह राई कारामुक्त हुने क्रममा सरकारी कागजमा हस्ताक्षर गर्न तयार नभएको स्मरण गर्दै भट्टराई ‘नोट्स फ्रम प्रिजनः सुन्दरीजल जेल’ मा २०१९ चैत १७ गते लेख्नुहुन्छ, ‘यहाँ हामी एक राई (किराती), एक पस्चिमका गुरुङ, एक थकाली, एक नेवार, दुई बाहुन छौं । हाम्रा समुदायहरूको कस्तो राम्रो प्रतिनिधित्व !’ त्यस बेला भट्टराई, गुरुङ र राईबाहेक सुन्दरीजल जेलमा बीपी, गणेशमान सिंह, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनसमेत बन्दी हुनुहुन्थ्यो ।

नेपाली कांग्रेस (प्रजातान्त्रिक) को एघारौं महाधिवेशनको अर्को महत्त्वपूर्ण पक्ष पारित राजनीतिक दस्ताबेजभित्रका दुई प्रस्ताव थिए । त्यस बेला मूलधारका दलहरूमा संघीयता स्वीकार्य थिएन । स्वाभाविक रूपमा हाम्रो दलमा पनि संघीयताको पक्षमा निर्णय गर्न सहज थिएन । थुनामा रहेका सभापतिले पनि संघीयताको निर्णय गर्न सहज मान्नुभएको थिएन । तर गिरिको मूल अग्रसरतामा राजनीतिक दस्ताबेज गर्ने मूल जिम्मेवारीमा रहनुभएका विमलेन्द्र निधिसहित हामीलाई मुलुकमा रहेको विविधतामा एकता कायम गरी समृद्धिको मार्गमा अघि बढ्न संघीयता आवश्यक छ भन्ने प्रस्ताव पारित गराउन सम्भव भयो । त्यस्तै अर्को प्रस्ताव नेपालमा राजतन्त्र विकल्पहीन रहेन भन्ने आशयको थियो । दलका सभापति र अर्का नेता प्रकाशमान सिंह कारागारमा रहँदा पनि सो पारित हुने कुरा कल्पनाबाहिर थियो । तथापि, गिरिकै कारण सो प्रस्ताव महाधिवेशनमा पारित भयो ।

अब नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) एकताबद्ध भएको करिब एक दशकपछि भएको तेह्रौं महाधिवेशनपछिको प्रसंग । त्यस बेला दलमा आफ्नो भूमिका संकुचित हुनेछ भन्नेमा मैले चित्त बुझाएरै बसेको थिएँ । संसदीय दलको नेता चयन गर्नसमेतका लागि विधान संशोधन गर्नुपर्ने बैठकमा थियौं हामी । गिरिले मलाई ‘बैठकले आवश्यक निर्णय गर्न तपाईंको पनि खासै जरुरत भएजस्तो लाग्दैन, ल मेरो डेरामा बसेर केही कुरा गरौं’ भन्नुभयो । म उहाँसँग खुरुखुरु बाहिरिएँ । निकै बेरको कुराकानीपछि, त्यस बेला प्रकाशित भई नसकेका आफ्ना दुई कृति दिनुभयो । तीमध्येको एउटा पुस्तकमा भारतका प्रसिद्ध प्राध्यापक हरिदेव शर्माले बीपीसँग लिएको अन्तर्वार्ताको नेपाली अनुवाद ‘मेरो जीवन असफल रहेन’ शीर्षकमा छ । मध्यम आकारको त्यस पुस्तकमा यो अन्तर्वार्ता १४१ पृष्ठ लामो छ । शर्माले लिएको सो अन्तर्वार्तामा बीपीले सुन्दरीजल जेलमा लामो समय लगाएर विल डुरान्टको ‘द स्टोरी अफ सिभिलाइजेसन’ का सबै ठेली पढिसक्नुभएको प्रसंग उल्लेख छ । सो ग्रन्थ रोचक भएको कुरा पनि छ । मलाई सो ग्रन्थ अध्ययन गर्ने तीव्र इच्छा जागृत भयो, फुर्सद थियो । अनलाइन भर्सन किनेर, फुर्सदको जुनसुकै बेला आइप्याड, मोबाइल जेमा मिल्यो त्यसैमा गरेर एक वर्ष लगाई आद्योपान्त पढें । प्राचीनकालमा पूर्वीय मुलुक बेबिलोन, चीन, भारत, इजिप्ट, जापानबाट सुरु भई ग्रिस, इटली, टर्की हुँदै पश्चिम युरोपका बेलायत, फ्रान्स, जर्मनी, रुस, नेदरल्यान्ड र वरिपरिका अनि अरू पश्चिमा देशमा नेपोलियनको अवसानसम्मको समयमा धर्म, दर्शन, साहित्य, गीत–संगीत, मूर्तिकला, वास्तुकला, इन्जिनियरिङ, चिकित्साशास्त्र, खगोलशास्त्र, भूगोल, जल यातायात, लडाइँ–युद्ध, सत्ता राजनीतिका कुटिल खेल, व्यापार, व्यवसाय, उद्योगधन्दा अनि ज्ञान–विज्ञान र चेतनासँगै मानव सभ्यताको कसरी विकास भयो, त्यस ग्रन्थमा सविस्तार वर्णन छ । अध्ययन गरेको कति सानो अंश आज र पछिसम्म ताजा रहला, थाहा छैन, तर आफूलाई साह्रै कम जानकारी रहेको विषयमा ज्ञान आर्जन गरें । राजनीतिक दैनन्दिनी, यसको उहापोहबाट मुक्त भएर अध्ययनतर्फ अभिरुचि पुनर्जागृत गर्ने अवसर भयो त्यो, मेरा लागि । गिरिसँगको अनियत बैठक, छलफलबाट यस्तो सम्भावना कुनै पनि बेला देखिन सक्थ्यो ।

गिरिजाप्रसाद कोइरालाको तीक्ष्ण नेतृत्व क्षमताका कारण माओवादीका लागि मूलधारको राजनीतिक यात्रा सम्भव भयो । तर लामो समयसम्म कोइरालासहित नेपाली कांग्रेसका सबैजसो नेतामा माओवादीप्रति निकै अनुदार र कठोर दृष्टिकोण थियो । माओवादीप्रति आफ्नो दलमा कठोर धारणा व्यापक हुँदा पनि गिरिचाहिँ निकै नरम हुनुहुन्थ्यो । माओवादीप्रतिको आफ्नो दृष्टिकोणबाट गिरिले कोइरालालाई कति प्रभावित पार्नुभयो, त्यो मेरो जानकारीबाहिरको विषय हो, तर सुरुका दिनहरूमा कोइरालाझैं माओवादीप्रति अनुदार रहेका भट्टराई र देउवालाई त्यसमा नरम बनाई माओवादीलाई वार्ता र सम्झौतामार्फत शान्ति र प्रजातन्त्रको बाटामा ल्याई समस्या समाधान गर्ने प्रतिबद्ध अग्रसरता लिने बनाउनुमा गिरिको प्रभाव रह्यो । गान्धीको अहिंसाको दर्शनप्रति गहिरो प्रतिबद्धताका बावजुद आन्दोलन र क्रान्तिको पृष्ठभूमिमा बनेको व्यक्तित्व भएकाले गिरिमा यस्तो समझ विकसित हुन सम्भव भयो होला ।

गिरि कुनै अंकुशबेगरको व्यक्तिगत स्वतन्त्रताको पक्षपाती हुनुहुन्थ्यो । साथै, आफ्नो दलभित्रको अनुशासनको परिधि नाघेको आरोप उहाँलाई लागिरह्यो, जुन पछि स्थायी गुनासोजसरी रह्यो । यस विषयमा पनि एउटा रोचक र गम्भीर प्रसंगको चर्चा गर्छु । दलीय अनुशासन, निलम्बन, कारबाही आदि दलीय राजनीतिभित्रका विवादित र सत्ता महत्त्वाकांक्षाका लागि बेलाबेला दुरुपयोग हुने विषय हुन् । २०३८ सालमा हाम्रो दलका कार्यवाहक सभापति भट्टराईले मलाई भन्नुभएको थियो, ‘दलीय सदस्यता ग्रहण गर्नु व्यक्तिको चाहनामा भर पर्ने कुरा हो । अरुचि भए व्यक्तिले आफैं दल परित्याग गर्दछ, त्यसैले त्यस्ता कारबाहीहरू औचित्यहीन छन् ।’ यस कुरालाई समर्थन गर्ने तर्कका रुपमा उहाँले दलभित्र अनुशासनको कारबाही गर्न बेलाबेलामा बेहोर्नुपर्ने दबाब झेलेर भए पनि आफ्नो कार्यकालभरि गिरिको नेपाली कांग्रेसको सदस्यता अविच्छिन्न रूपमा सुरक्षित राखेको सुनाउनुभएको थियो । सबै दलमा अनुशासनको डन्डा र इनामको लोभ देखाएर आफूमा आश्रित राख्ने प्रवृत्ति संस्कृतिकै रूपमा विकसित भएको वर्तमानमा यो कुरा मननीय नै होला ।

गिरिको समाजवादी चिन्तनबारे अरूले प्रशस्त लेख्नुभएको छ, मलाई पनि लेख्ने मन छ । तर यो लेख निकै लामो भइसकेकाले, त्यो विषयलाई पूरक रूपमा लेखुँला । अहिलेलाई यति उल्लेख गर्न आवश्यक छ- अंकुशबेगरको व्यक्तिगत स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धता, अझ भनौं आफ्नो चिन्तनमा यस विषयको प्रधानताका कारण नै समाज र अर्थतन्त्रबारे आफूभन्दा बिलकुलै पृथक् विचार राख्ने साथीहरूसँग पनि अहिंसा, शान्ति र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्न एउटै

दलमा बसेर गिरि सदैव क्रियाशील रहनुभयो । स्वतन्त्रता र उदार लोकतन्त्रप्रतिको अविचलित प्रतिबद्धताबाट मात्रै यो सम्भव छ । गिरिले जीवनभरि त्यसै गर्नुभयो र त्यसैले दलभित्र र दलबाहिर, लोकतान्त्रिक आन्दोलनमा पनि र वाम आन्दोलनमा पनि स्नेह र सम्मान आर्जन गर्न सफल हुनुभयो । उहाँको यो असाधारण विशेषता सबैका लागि सदैव अनुकरणीय छ ।

प्रकाशित : भाद्र ८, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

आत्ममोह र प्रतिशोधभन्दा परका बीपी

आगतमा बीपीले स्थापना गरेको नेपाली कांग्रेसले आफूलाई कहाँ उभ्याउनेछ भन्ने कुराले हाम्रो अर्थराजनीति र आम नागरिकको समृद्धिको चाहना पूरा गर्ने सफल हुने/नहुने निर्क्योल गर्नेछ ।
मीनेन्द्र रिजाल

आज बीपी स्मृति दिवस हो । महाप्रस्थानको ४० वर्षपछि पनि उहाँको आदर्श जीवन र संघर्षले हामीलाई कर्तव्यपथमा अविचलित भावका साथ अघि बढिरहन अभिप्रेरित गर्दछ । स्मृति दिवसको अवसरमा उहाँबारे थुप्रै लेख, संस्मरण र विचार सम्प्रेषित हुनेछन् । तसर्थ, उहाँको समग्र राजनीतिक उत्तरदानको विषयमा चर्चा गर्ने मेरो उद्देश्य होइन ।

तथापि उहाँबाट जानेका एक–दुई विषय र प्रसंग उल्लेख गर्न चाहन्छु । मलाई लाग्छ, समकालीन नेपाली राजनीतिमा यो चर्चाको प्रासंगिकता होला । सुरु आफैं संलग्न रहेको एउटा घटनाक्रमबाट गर्दछु ।

२०३८ सालको कुरा हो, म नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति थिएँ । विद्यार्थी राजनीतिको विषयमा नेतृत्वसँग मेरो असहमति रह्यो । त्यही असहमतिका आधारमा मैले गरेको निर्णयलाई लिएर म संघको सदस्यबाट निलम्बित भएँ । त्यो घटनाको आफ्नै महत्त्व त छैन, तथापि सो विवादलाई निरूपण गर्न उहाँले भन्नुभएको एउटा वाक्य शिक्षाप्रद र प्रेरणादायी रह्यो । बीपीले संघका सभापति विमलेन्द्र निधि र महामन्त्री दिलबहादुर घर्तीलाई बोलाएर सो कारबाही प्रतिशोधपूर्ण रहेको भन्दै त्यसलाई फिर्ता गर्न निर्देशन गर्नुभयो । त्यसपछि कारबाही फिर्ता गर्ने प्रक्रिया र निर्णयको बेग्लै प्रासंगिता होला । तर प्रजातान्त्रिक राजनीतिमा प्रतिशोधको भावना अनुचित हो भन्ने उहाँको वाणीले मलाई सधैं दिशाबोध गरेको छ र त्यसपछि आज चार दशकपछिसम्म पनि आफूमा यो भाव नहराओस् भन्नेमा म सचेत छु । मैले यो प्रसंग यस अर्थमा पनि चर्चा गर्न उपयुक्त ठानेको हुँ कि समकालीन नेपाली राजनीति, अझ विगत चार वर्षका घटनाक्रम मूलतः दुइटा सोचबाट प्रभावित छन् । पहिलो सोच आत्ममोहको र दोस्रो प्रतिशोधको ।

मेरो मनमा एउटा प्रश्न बारम्बार आउँछ, यदि हाम्रो राजनीतिमा प्रतिशोध र आत्ममोह प्रधान विषय नभएको भए आज नेपालको सरकार कस्तो अझ भनौं कसको हुने थियो ? यो प्रश्नको उत्तर मेरो मनमा लागेजस्तो नै भएको भए, आगामी आम निर्वाचनको तयारीमा दलहरू जुट्ने प्रक्रिया र चुनावी मुद्दा के हुने थिए होलान् ? अझ सीधा–सपाट भन्ने हो भने स्वाभाविक आरोह–अवरोहको पृष्ठभूमिमा नेपालमा वामपन्थी राजनीतिक आन्दोलन (मैले यहाँ दल भन्न खोजेको होइन) को औचित्यबारे मोटामोटी उद्देश्य जे भए पनि एउटा उत्तर फेला पर्ने थियो कि थिएन होला ? म क्रियाशील रहेको दल नेपाली कांग्रेसले बीपीसितको सहवास र उहाँको प्रेरणा पाएका अग्रज नेताहरूका कारण अहिलेसम्म बिनाकुनै पनि गम्भीर चुनौती विरासतमा पाएको नेपाली राजनीतिको प्रजातान्त्रिक स्थान सुरक्षित रहने थियो कि थिएन ? यी प्रश्नहरूको उत्तर अगामी आम निर्वाचनमा दलहरूबीच बन्ने–टुट्ने रसायन वा त्यसको परिणामस्वरूप प्राप्त हुने जय–पराजयमा मात्र सीमित वा अन्तर्निहित छ भन्ने ठान्नु सर्वथा अनुपयुक्त हो । तर आगतमा बीपीले स्थापना गरेको नेपाली कांग्रेसले आफूलाई कहाँ उभ्याउनेछ भन्ने कुराले हाम्रो अर्थराजनीति र आम नागरिकको समृद्धिको चाहना पूरा गर्ने कार्यको सफलता प्रभावित हुने निश्चित छ । बीपीले आफ्नो जीवनको उत्तराखण्डमा परिभाषित गर्नुभएझैं शान्ति, अहिंसा, ग्रामीण स्वावलम्बन आदिको प्रजातान्त्रिक समाजवादी आन्दोलन र त्यसलाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायत उहाँका उत्तराधिकारी नेताहरूले समयक्रमसँगै विकसित गर्दै स्वरूप प्रदान गर्नुभएको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र समाजवादको राजनीतिक मूलधारको नेतृत्व प्रदान गर्न नेपाली कांग्रेस सफल होला ? या आधुनिकता र चकाचौध पार्ने प्रविधिले नेपाली मन र मस्तिष्कको क्षितिजमा विस्तारित वा उजागृत गरेको समृद्धिका केही मूर्त र केही अपरिमेय चाहना पूरा गर्ने ऐतिहासिक जिम्मेवारी बहन गर्न सक्ला, बीपीको कांग्रेसले ? आजका दिनमा यी प्रश्नहरूको उत्तर र उपाय दुवै खोज्नु अपरिहार्य छ ।

आत्ममोहको राजनीतिबारे प्रशस्त चर्चा भएकै छ । म यहाँ फगत बीपीले महाभारतको लडाइँलाई पार्श्वमा राखेर उपन्यासकी मूल पात्र मोदिआइनमार्फत ‘ठूलो होइन असल मानिस बन्नू’ भनी दिनुभएको सन्देश स्मरण गर्न चाहन्छु । बीपीले जीवनकालमै प्राप्त त्यति ठूलो मान सम्मान, ख्याति र अर्चनाका बावजुद पनि आफूलाई अभिमानी होइन राष्ट्र निर्माणमा योगदान गर्ने अविश्रान्त यात्रीका रूपमा प्रस्तुत गर्नुभयो । यिनै सन्दर्भहरूमा आत्मबञ्चना, आत्मश्लाघा र राजनीतिक अपराजेयताको भावले गाँजिएको समकालीन नेपाली राजनीतिका घटनाक्रम नियालिरहेकी भए यतिबेला बीपीकी मोदिआइनले के भन्थिन् होला ?

अब अर्को प्रसंगमा केही चर्चा गरौं । २०३७ मा सम्पन्न जनमतसंग्रहमा समसामयिक सुधारसहितको पञ्चायती व्यवस्थालाई विजयी तुल्याइयो, प्राविधिक रूपमा झिनो मतले बहुदलीय राजनीति पराजित भयो । क्रान्तिकारी होइन, स्वाभाविक विकासको मेलमिलापको बाटोबाट संवैधानिक राजतन्त्रात्मक प्रजातान्त्रिक राजनीतिलाई संस्थागत स्वरूप दिन सक्ने नयाँ संविधानको पक्षमा हुनुहुन्थ्यो बीपी । तर यो बाटामा अघि बढ्न तत्कालीन राजतन्त्रका संस्था र संरचनाका बाधक थिए भन्ने निष्कर्ष थियो, बीपीका अनुयायी र उहाँको दलका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको ।

मेलमिलापको बाटोबाट संवैधानिक राजतन्त्रसँगसँगै राजनीतिक आधारभूमिमा प्रजातन्त्रको पक्षमा रहेको परिवर्तनको चाहनालाई संवैधानिक रूपमा संस्थागत गर्ने दिशामा बीपी प्रतिबद्ध र अविचलित हुनुहुन्थ्यो । त्यसबेला प्रतिबन्धित भन्ने लेखेर दलहरूले आफ्ना गतिविधि सञ्चालन गर्न पाउने अवस्था थियो । यो परिस्थिति सदुपयोग गर्दै बीपीले देशभरिका आठ प्रमुख स्थानमा पार्टीको बैठक राख्नुभएको थियो । पहिलो बैठक झापामा राखिएको थियो । तर आफ्नो

राजनीतिक विश्लेषण र त्यसप्रतिका आस्थावान् दृढ प्रतिबद्धताका कारण बीपीका कार्यवाहक सभापति भट्टराई झापा बैठकमा जान तयार हुनुहुन्थेन । बीपी आफ्नो दललाई एकताबद्ध राख्न चाहनुहुन्थ्यो, भट्टराईप्रति पनि विश्वास थियो । र, उहाँको सम्मानमा कुठाराघात नगरी अघि बढ्न चाहनुहुन्थ्यो । त्यसैले भट्टराईलाई झापा नगए पनि आफ्नो विराटनगरको घरमा पाहुना भएर जानका लागि बीपीले आग्रह गर्नुभयो । बीपीले गणेशमानजी, परशुनारायणजी र गिरिजाबाबुसँग बैठकमा आफू झापा जाने कुरा राख्नुभयो । साथै, विराटनगरमा कोइराला निवासकी मूल गृहणीसमेत रहनुभएकी नोना कोइरालाले पनि भट्टराईलाई विराटनगर आउन आग्रह गर्नुभयो । अत्यन्त सादगीपूर्ण रूपमा आफ्ना भान्जाको घरमा बसोबास गर्ने भट्टराईलाई नोना कोइरालाले आफैंले रेखदेख गर्ने कुरामा आश्वस्त तुल्याउनुभयो । विराटनगरसम्म जान भट्टराई तयार हुनुभयो । विराटनगर पुग्दासम्म बीपीसँगको लामो राजनीतिक सहवास, उहाँको नेतृत्व र संस्कृतिप्रतिको अविचलित विश्वासका कारण भट्टराईले झापा भेलामा आफू पनि सहभागी हुने निर्णय गर्नुभयो ।

झापा मात्र होइन, त्यसपछिका अरू सातवटा भेलामा पनि भट्टराई कार्यवाहक सभापतिका रूपमा सहभागी हुनुभयो । आठवटा भेला नसकिँदै राजाले मेलमिलाप होइन तथाकथित निर्विकल्प पञ्चायतको निर्दलीय संविधान घोषणा गरे । त्यसपछिको राजनीति र बीपीको उत्तराधिकारीका रूपमा भट्टराईले पुर्‍याउनुभएको योगदानबारे हामी सबै परिचित छौं ।

बीपी र उहाँका सहयात्री नेताहरूमा रहेको तर सतहमा खासै नदेखिएको र त्यति चर्चा पनि नहुने यस्ता थुप्रै विशिष्ट मानवीय गुणहरूले नेपाली कांग्रेस निर्माण र चिरपर्यन्तसम्म यसलाई जीवित राख्न पुर्‍याएको ऊर्जाबारे चिन्तन गर्न आजका नेता र भोलि नेता हुने महत्त्वाकांक्षा राख्ने सबैलाई यो स्मृतिले अभिप्रेरित गरोस् ।

प्रकाशित : श्रावण ६, २०७९ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×