आजभोलिको सिक्किम- विचार - कान्तिपुर समाचार

आजभोलिको सिक्किम

अहिलेको सरकारले हरेक लिटर दूधमा आठ भारु प्रोत्साहन मूल्य राखेपछि गाउँमा दूधको उत्पादन ह्वात्तै बढेर गयो । सहर किन पस्नु, खेतबारी सम्हाल्दा नै आम्दानी सन्तोषजनक हुन्छ भने ! परम्परा–घर–खेती–पँधेरो–कुलेसो सबै बाँचे पनि ।
महेन्द्र पी‍. लामा

सन् १९७५ मा भारतको एक अभिन्न राज्य बनेपछि सिक्किमले निकै गहकिलै ढंगमा चौतर्फी विकास गरेको छ । सन् २०२०–२१ को वित्तीय वर्षमा ४,२४,००० भारुभन्दा बढी प्रतिव्यक्ति आय आर्जन गरेर सिक्किमले भारतमै प्रथम राज्यको दर्जा प्राप्त गरेको छ ।

हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आयोजित मुख्यमन्त्रीहरूको सभामा सिक्किमका मुख्यमन्त्रीले अति नै मन खाने मुद्दाहरू राखे । नीति आयोगको यस उच्चस्तरीय बैठकमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सन् २०४७ मा भारतले स्वतन्त्रता प्राप्त गरेको एक सय वर्ष पुग्दा सिक्किमको मोठ घरेलु बर्सेनि आय १,५०,००० करोड भारुभन्दा बढ्तै हुने कटिबद्धता जनाए । सन् २०२०–२१ मा सिक्किमको बर्सेनि अनुमानित आय २०,१५९ करोड भारुभन्दा सात गुणा बढेर जाने मुख्यमन्त्रीको प्रस्तुति सुनेर उपस्थित सबै गर्वित भएका थिए । सिक्किम यहाँ कसरी पुग्यो, केकस्ता नीतिहरू अपनाइए अनि कहाँ कसले सघाए भन्ने प्रश्नहरू धेरैले राख्ने गर्दछन् । म आफैं पनि सन् २००० देखि २००७ सम्म र २०१९ देखि आजसम्म सिक्किम सरकारमा प्रमुख आर्थिक सल्लाहकार रहेको हुनाले यस हिमाली राज्यका आन्तरिक आर्थिक गतिविधिहरूबारे केही मात्रामा भए पनि अवगत रहिआएको छु ।

भारतकै सम्पन्न राज्य हुन पुगेको सिक्किमको सन् १९७५ पछिको यात्रा अति नै रोचक छ । यसअघि सिक्किमको अर्थव्यवस्था कस्तो थियो भन्ने ऐतिहासिक विवरण सन् २००१ मा तिनताकाका प्रधानमन्त्री अटलबिहारी वाजपेयीद्वारा राष्ट्रिय स्तरमै विमोचन गरिएको सिक्किम ह्युमन डेभलपमेन्ट रिपोर्ट–२०२१ मा उल्लेख छ । अनेकन् कारण छन् सिक्किमको द्रुत विकासका । तीमध्ये पाँच–छ विशेष कारकहरू यहाँ लेख्नैपर्ने हुन्छ ।

प्रथमतः, सिक्किममा राजनीतिक स्थिरताले बिस्तारै जरा गाड्दै गयो । विभिन्न राजनीतिक दल र नेताहरूले सिक्किममा स्थायी रूपमा सरकार चलाए । प्रथम मुख्यमन्त्री काजी लेण्डुप दोर्जीदेखि नै यो प्रवृत्ति बसाइयो । तत्पश्चात् नरबहादुर भण्डारीले अझै व्यापक रूपमा राजनीतिक स्थिरता कायम राखे । राजनीतिक नेतृत्व सबल हुँदा नोकरशाही पनि सबल भएर गयो, सबैमा दायित्व र प्रभावशाली काम गर्ने जोस बढेर गयो । भण्डारी कुशल प्रशासक थिए । केन्द्र सरकारमा धेरै साथी राखेका थिए । उनको कामगराइ फलदायी थियो । त्यसपछि सिक्किम प्रजातान्त्रिक मोर्चाले २५ वर्ष सरकार चलायो । अनि आज सिक्किम क्रान्तिकारी मोर्चाले सुगठित सरकार बनाएर राजनीतिक स्थिरतालाई कायमै राखेको छ । राजनीतिक स्थिरताको कुरूप पनि सिक्किममा देखियो । लामो अवधिसम्म एउटै राजनीतिक दल र नेता सरकारमा बस्दा राज्यभन्दा पनि माथि व्यक्ति उभिने भए । धेरै क्षेत्रमा नीति नै बनाइएन । किनकि नीति बनाइए नियमकानुनले घेर्छ भन्ने भयले नेता व्याकुल भए । यसर्थ स्थिर सरकारभित्र पनि नीति नहुनु नै नीति हो भन्ने धारणामा नेता र सरकारी तन्त्र रुमलिए । नेता सर्वेसर्वा भए; संस्था, समाज, समुदाय सबैलाई मिच्ने भए । नेताले आफूलाई सर्वज्ञानी, सर्वोत्तम र सर्वश्रेष्ठ भन्दै दम्भ र आडम्बरको डोकोमा हाले । स्थिरताभित्र यसरी राजनीतिक र मानव अधिकारको भरमग्दुर हनन भयो । पश्चिम बंगालमा पनि वामपन्थी सरकारभित्र यस्तै तनाव देखियो र नै जरैसँग लथालिंग भए । सबैलाई लिएर हिँडौं, नेताभन्दा जनता र राज्य धेरैमाथि हुन्छन्, पार्टीभित्रै र बाहिर पनि भविष्य सम्हाल्ने नेताहरू हुर्काउँछु र बढाउँछु भन्ने भावनाले ओतप्रोत अहिलेका मुख्यमन्त्री भने ३० प्रतिशत काम गर्ने र ७० प्रतिशत ढोल बजाउने अघिल्ला नेताभन्दा धेरै दूरगामी छन् ।

दोस्रो, गत ४७ वर्षमा भारत सरकारले सिक्किमको सर्वांगीण विकासमा धनको पोको नै खोलेर राखिदियो । सिक्किमको आफ्नो आय–राजस्व कम भएकाले केन्द्र सरकारले नै विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम अन्तर्गत पर्याप्त मात्रामा विकासराशि दियो । यसोसले क्षेत्रीय राजनीतिक दल र नेताहरूले स्कुलदेखि अस्पतालसम्म, बाटाघाटादेखि पानी–बत्तीसम्म सबै सुविधा कुनाकाप्चामा पुर्‍याए । सिक्किमको आफ्नै राजनीतिक इतिहास भएको हुनाले र संवेदनशील सीमाक्षेत्रमा अवस्थित भएकाले भारत सरकारले सचेतै रहेर सिक्किमलाई विशेष राज्यका रूपमा विकासमार्गमा हिँडायो । बिहार, उत्तर प्रदेश, मध्य प्रदेश एवं उडिसा धीमा गतिको विकासमा लटपटिँदा पनि सिक्किम फड्को हान्ने भयो । दिल्लीदेखि टाढा रहेको सिक्किमले यसरी उत्तरपूर्वी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनायो ।

तेस्रो, भारतमा राज्यको दर्जा पाएपछि सिक्किमको पहिलो पिँढीको नोकरशाही अति नै कटिबद्ध एवं होनहार मात्रै नभएर उसले विभिन्न नौला संस्था र नीतिहरूसमेत बनायो । सिक्किमका आफ्नै सरकारी अधिकारीहरू र भारतका विभिन्न क्षेत्रबाट आएका कर्मचारी–अधिकारीहरूको जमघटको समयलाई सिक्किमको इतिहासमा सुनौलो अवधि नै मान्न सकिन्छ । सिक्किमका आफ्नै कर्मचारी–अधिकारीहरूले दार्जिलिङ–दिल्ली–कलकत्ताका विभिन्न शैक्षिक एवं पेसागत संस्थाहरूमा अति नै उच्चस्तरीय र होडबाजीको वातावरणमा अध्ययन गरेका एवं प्रशिक्षण पाएका थिए । कोही नियम–कानुन, कोही वनजंगल–खोलानाला र कोही शिक्षा–स्वास्थ्य–सडक निर्माणमा निपुणता हासिल गरी फर्केपछि सिक्किमेली नोकरशाहीमा नौलो जोस, परित्याग–योगदानको भावना स्फुरण भएको थियो । राष्ट्रका अन्य राज्यहरूबाट आएका कर्मचारी–अधिकारीहरू पनि सिक्किमलाई कर्मभूमि मान्दै काँधमा काँध मिलाई भीरपखेरा सबै सम्हाल्दै विकासमा तल्लीन भएका थिए । यस्ता अनेकन् व्यक्ति छन् जसलाई सिक्किमेली समाज–समुदायले कहिल्यै भुल्न सक्दैनन् ।

चौथो, सिक्किममा विभिन्न क्षेत्रमा प्रथम पिँढीका संस्थाहरू सन् १९७५ अघिदेखि बन्न थालेका थिए । शिक्षा–स्वास्थ्य–बिजुली–कृषि–वनजंगल आदि क्षेत्रमा सग्ला संस्थाहरू बन्न थालेपछि जनमानसले ज्ञान पाए, प्रौद्योगिकी बुझे, खेतीपातीमा आधुनिकीकरण आयो अनि फेरि मान्छेको सरदर आयु बिस्तारै बढ्दै गयो । गुम्बा–मन्दिर–गिर्जाघर र सम्बन्धित धर्मगुरुहरूको भूमिका पनि अत्यन्तै सराहनीय रह्यो । उनीहरूले सिक्किमलाई राष्ट्र, छिमेकी राष्ट्र अनि विश्वसँगै जोडे पनि । व्यापार–वाणिज्यमा तल्लीन संस्थाहरू मात्रै नपलाएर यी व्यापारीहरूले छिमेकी राष्ट्रहरूसँग आदानप्रदानको सिलसिला पनि जोडे । कोही सिक्किमभित्रैका, कोही अन्य क्षेत्रबाट आएका सबै मिली सीमापार व्यापार–वाणिज्यको एउटा परम्परा नै बसाए, नथुला र जेलेपलामार्फत ।

बिस्तारै सिक्किममा दोस्रो पिँढीका संस्थाहरू बन्न थाले । कलेज, विश्वविद्यालय, डाक्टर–चिकित्सक बनाउने संस्था, बिजुली र अन्य उत्पादनका कारखाना, पर्यावरण संरक्षण संस्था, होटल–रेस्टुरेन्ट–होमस्टे सबै बिस्तारै बन्दै गए सिक्किममा । यसरी नै साहित्यिक–सांस्कृतिक एवं खेलकुदका संस्थाहरूले ठूलै भूमिका निभाए ।

नथुलाको ऐतिहासिक व्यापार मार्ग ४४ वर्षपछि सन् २००६ मा फेरि खोलियो, सिक्किमलाई उत्तरपूर्वी परिषद् (नर्थ इस्टर्न काउसिन्ल) को सदस्यता प्राप्त भयो, राज्यको आफ्नै मानव अधिकार आयोग अनि विकास आयोग बने, केन्द्रीय विश्वविद्यालय र अन्य राष्ट्रिय संस्थाहरूको स्थापना गरियो । हामीले सन् २००० को प्रथम दशकमा ठूलै सोचेर ठूलै विकासका मूलहरू यसरी फुटायौं । यी सबै कसरी गर्‍यौं, कहाँ के चर्चा गर्‍यौं र अन्तमा कसरी सफलता हासिल गर्‍यौं, यी सबै प्रक्रिया र उपलब्धिबारे म आफैंसँग पनि इतिहास लेख्ने धेरै सामग्री र अनुभवहरू छन् । पछि लेख्नैपर्ला !

मुख्यमन्त्री प्रेमसिंह तामाङले अबउसो तेस्रो पिँढीका संस्थाहरू बनाउने भरमग्दुर प्रयास गर्दै छन् । आधुनिक अस्पताल, विश्वस्तरको शैक्षिक संस्था, जलवायु परिवर्तनसँग सम्बन्धित अनुसन्धानका केन्द्रहरू, भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको ‘एक्ट इस्ट पोलिसी’ अन्तर्गत दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका राष्ट्रहरूलाई जोड्ने संस्था एवं कार्यक्रमहरू अघि बढाउँदै छन् । मुख्यमन्त्री तामाङले यही सोच र परियोजना अन्तर्गत पश्चिम सिक्किमलाई पूर्वी नेपालसँग सांस्कृतिक–व्यापारिक–पर्यटन–आर्थिक सेवाको फाइदासँग जोड्ने चिवा भन्ज्याङको घाँटीलाई एउटा आधुनिक बहुउद्देश्यीय मार्गमार्फत जोड्ने कार्यक्रममा भारत सरकारसँग चर्चा–परिचर्चा सुरु गरिसकेका छन् । यसले सिक्किमको पश्चिमदक्षिण भूभागमा नौलो विकासको मूल फुटाउने नै छ । सिक्किमलाई विश्व रोजगार बजार व्यवस्थासँग जोड्ने हेतुले मुख्यमन्त्री तामाङले विदेशी रोजगार प्रशिक्षण केन्द्र स्थापनाको प्रक्रिया सुरु गरेका छन् । यस अन्तर्गत सिक्किमका युवायुवती र अन्य पेसाका व्यक्तिहरूले विदेशमा चाहिएको मानव संसाधनको आपूर्ति गर्नेछन् । केरला र पन्जाब एवं छिमेकी राष्ट्र नेपाल, बंगलादेश र श्रीलंकाका विशेषज्ञ एवं प्रशिक्षण केन्द्रहरूको अनुभव बटुल्ने कार्यक्रम पनि यस जमर्कोमा संलग्न छ ।

पाँचौं, सिक्किमको विकासमा ठूलो भूमिका निभाउनेहरूमा विशेषज्ञ एवं अन्तर्राष्ट्रिय संस्थाहरूलाई कहिल्यै भुल्न सकिँदैन । सन् १९७५ अघि पनि धेरै विशेषज्ञ एवं अन्तर्राष्ट्रिय संस्थाहरूले आधुनिक सिक्किमको निर्माणमा योगदान दिए । धार्मिक संस्था, शैक्षिक एवं वैज्ञानिक विशेषज्ञ, प्रशासनिक एवं कानुनविद्, धर्मगुरु एवं प्रौद्योगिकी विशेषज्ञ सबैले आआफ्ना क्षेत्रमा धेरै योगदान दिए । महाराजाहरू आफैं ज्ञान–अनुभव–प्रज्ञा आदिका समुद्र थिए । भारतको एउटा प्रमुख राज्य भएपछि सिक्किममा यस्ता धेरै विशेषज्ञ एवं संस्थाहरू आए । हामीले सन् २००२ मा सिक्किममा प्रथम पटक योजना आयोग बनायौं । राष्ट्रका अति नै विशिष्ट अर्थशास्त्री एवं विशेषज्ञहरूलाई यसमा सामेल गर्‍यौं । भारतको योजना आयोगसँग छलफल गरी विभिन्न विकास योजनाहरू ल्यायौं । पछि गएर कतिपय सदस्यले भारतको वित्त आयोगका अध्यक्ष सदस्य भएपछि सिक्किमलाई अझै सघाए । दिल्लीको इन्डिया इन्टरनेसनल सेन्टरमा विश्वका विशिष्ट विकास संस्थाहरू, गैरसरकारी संस्थाहरू र निजी पुँजी निवेशकहरूसँग सिक्किम विकास फोरम र सिक्किम इन्भेस्टमेन्ट फोरम बनाई मुख्यमन्त्री–नोकरशाही आदिको सभासम्मेलन गरेपछि सिक्किममा जापानी, स्विस, अस्ट्रेलिया, एडीबी, संयुक्त राष्ट्रसंघ, विभिन्न निजी पुँजी निवेशकहरू विकासका निम्ति अघि आए । जापानबाट अर्गानिक फार्मिङका कम्पनी विशेषज्ञसमेत लिएर आयौं ।

संस्कृति–विज्ञान–पर्यावरण–शिक्षक–स्वास्थ्य आदि क्षेत्रका धेरै विशेषज्ञ ल्यायौं र सिक्किमको चौतर्फी विकास अझै सुगठित ढंगमा अघि बढ्यो । एकापट्टि हामीले दीर्घकालीन विकासका खाँबाहरू गाड्दै थियौं, अर्कापट्टि यी सबै संस्था र विशेषज्ञहरूलाई केहीजस्तो नमानी नेताले नीति र संस्था नै नबनाई सिक्किमको मुटुमै भाला रोप्ने गरी कहिल्यै नामसम्म नसुनेका संस्थाहरूलाई टिस्टा–रंगीत नदीमा जलविद्युत् कारखाना निर्माण गर्न लिएर आए । हामी अवाक् भयौं । किन ल्याइयो, कसरी ल्याइयो, के सर्तमा ल्याइयो, हामी योजना आयोगका कसैलाई पनि टुप्पो पनि थाहा छैन, फेद त कुरै थिएन । हामीले चाहँदै नचाहेको यो घटना हुँदा अन्योलमा पर्‍यौं । प्रश्न गर्दागर्दै हामीले थाहा पनि नपाई अर्को योजना आयोगको गठन भयो । पछि आधाभन्दा बढी यी कम्पनीहरू सिक्किमको प्रकृतिलाई आधाकल्चो बनाई छोडेर गए । यति मात्रै कहाँ हो र, सन् २०१९ मा नया सरकार आएपछि प्रकाशित गरेको श्वेतपत्र अनुसार, यी कम्पनीहरू सरकारलाई ऋणमा चुर्लुम्मै डुबाएर गएछन् । सिक्किमको द्रुत विकासमा यति भीषण एवं आघातपूर्ण हस्तक्षेपले कहाँ कसलाई फाइदा पुर्‍यायो र कसले कति यातना–कष्ट–चोट पाए, कसैले लेख्ने नै छ, आज नभए भोलि पनि ।

छैटौं, सिक्किमको विकासमा सिक्किमकै शैक्षिक संस्था, गैरसरकारी एजेन्सी, नागरिक समाज एवं पत्रकार–शिक्षक–शोधकर्ता आदिले गहिरै भूमिका निभाएका छन् । ग्राम पञ्चायतका सदस्य, कृषक, उद्योगधन्धाका विशेषज्ञ, बैंक आदिले पनि त्यति नै योगदान गरेका छन्, जति बूढापाकाले आफ्ना अनुभव–प्रज्ञा जनता–सरकारसमक्ष ल्याउनमा गरेका छन् ।

आज र भोलिको सिक्किमलाई सबैभन्दा नितान्त आवश्यक कुरो हो- आधुनिक संस्थाहरूको निर्माण अनि पारम्परिक संस्थाहरूको पुनर्जागरण एवं पुनर्निर्माण । दिल्लीमा जे संस्था छ, सिक्किम पुग्नैपर्छ; टोकियो, हनोई र सिकागोमा जे प्रौद्योगिकी छ, त्यो पनि सिक्किम पुग्नैपर्छ । किनकि सिक्किमका युवायुवती र विद्यार्थीहरू होनहार छन्, प्रकृतिले नै उनीहरूलाई अरूभन्दा धेरै ज्ञान दिएको छ । अभाग्यवश, गत २५–३० वर्षमा सबैलाई सरकारी रोजगारी खोज्ने, देख्ने र समाउने मात्रै बनाइयो । नयाँ प्रशिक्षण केन्द्र र आधुनिक संस्था एकापट्टि, गाउँको ज्ञान, प्रकृतिको आलिंगन अर्कापट्टि । यी दुवैलाई समेटेर अहिलेको सरकारले नीति बनाएको खण्डमा, विद्यार्थी–युवाहरूलाई प्रशिक्षण दिएको खण्डमा हरेक सिक्किमे भारत त के, विश्वमै टक्कर दिन सक्ने हुन्छन् । मुख्यमन्त्री तामाङले स्थानीय विद्यार्थीहरूका निम्ति पचासवटा चिकित्सक–डाक्टर बन्ने निःशुल्क शिक्षाको जुन प्रावधान अघि ल्याएका छन्, यसले आगामी दुई दशकभित्रै अनेकन् सिक्किमे डाक्टरहरू विश्वबजारमा उपलब्ध गराउने नै छ । यस्तै प्रकारको नीति सबै क्षेत्रमा अघि ल्याएको खण्डमा पारंगत बनेका सिक्किमेहरूले भारत–विदेश सबै पिट्नेछन् ।

अर्कापट्टि, सिक्किमको ग्रामीण क्षेत्रमा कृषिको महत्त्व अझै गहिरिनुपर्छ । अहिलेको सरकारले हरेक लिटर दूधमा आठ भारु प्रोत्साहन मूल्य राखेपछि गाउँमा दूधको उत्पादन ह्वात्तै बढेर गयो । सहर किन पस्नु, खेतबारी सम्हाल्दा नै आम्दानी सन्तोषजनक हुन्छ भने ! परम्परा–घर–खेती–पँधेरो–कुलेसो सबै बाँचे पनि । आजको सिक्किम र सिक्किमेलाई चुनौती नै यही भयो- आफ्नै राज्य, आफ्नै सरकार, आफ्नै मुख्यमन्त्री हुँदाहुँदै पनि किन बेरोजगारी र असन्तुष्टि ? जवाफमा सबै भन्छन्- ठीक शिक्षा, प्रभावशाली प्रशिक्षण, बलियो आधुनिक संस्था सबैलाई अँगाल्ने नीति र सबैभन्दा प्रमुख हरेकले गर्नुपर्ने परिश्रम, अध्यवसाय एवं योगदान ।

प्रकाशित : भाद्र ७, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

अनि दार्जिलिङ अघि बढ्न सक्छ

चोकबजारको चियादोकानमा बसेर गफ गर्नु, देसान लागेको कुखुराले पिचिकपिचिक छेरेझैं सामाजिक सञ्जालमा अर्थहीन कुराहरू लेख्नु र कुनै ठोस मार्गदर्शन नपाउनु नै गोर्खाल्यान्डको परिकल्पना र प्राप्तिमा अर्को महाधोका हुन्छ ।
महेन्द्र पी‍. लामा

दार्जिलिङ र कालिम्पोङ जिल्ला अनि डुवर्स र चोपडा क्षेत्रका विभिन्न भूभाग, जनसमूह, प्राकृतिक संसाधन, संस्था आदिलाई छुट्टै राज्यको रूप दिनुपर्छ भन्ने लगभग एक सय पन्ध्र वर्षदेखिको माग अझैसम्म थाती नै छ ।

अंग्रेज शासनमा यस क्षेत्रका विज्ञजन, राजनीतिक दल आदिले नियमित रूपमा पश्चिम बंगालबाट छुट्याएर कि त अलग्गै प्रशासनिक व्यवस्था वा असमसँग मिलाएर उत्तरपूर्वी सीमाक्षेत्रमा गाभिदेऊ भन्ने माग राखे । भारत स्वतन्त्र भएपछि यो माग अझै चर्कियो र उग्र आन्दोलनको रूप धारण गर्‍यो । सयकडौं मानिस मरे । छुट्टै राज्यको मागको आगो निभाउन भारत सरकार, पश्चिम बंगाल सरकार अनि आन्दोलन गर्ने राजनीतिक दलबीच भएको त्रिपक्षीय सम्झौताले छुट्टै राज्य होइन तर स्वायत्त प्रशासनिक व्यवस्था दिएर यस मागलाई साम्य बनाउने कोसिस पनि दुईदुई पटक गरियो । तर यी व्यवस्थाहरू खोक्रा निस्किए । त्यहीमाथि व्यवस्था चलाउनेहरू नै क्षमताहीन र दिशाहीन भएर भ्रष्टाचारमा लिप्त भएकाले सरकारहरूले दिएका समाधानहरू त अझै हानिकारक भए । यी व्यवस्थाहरूलाई पहाडमा मात्रै सीमित राखियो; मधेश, तराई र डुवर्स–चोपडा इलाकाहरूलाई छुँदै छोइएन । यसर्थ यस क्षेत्रमा छुट्टै राज्यको माग अझै तीव्र हुँदै गयो । नेताले छलकपट गरेको कुरो जनताले बुझे तर मनभित्रै गडाइराखे । र नै घरीघरी आगोभित्रको अर्को आगोझैं यो माग कहिल्यै मर्दैन, निभ्दैन पनि ।

छुट्टै राज्य केवल गोर्खाल्यान्ड माग्नेहरूका लागि मात्रै होइन । यो गोर्खाहरूका निम्ति जातीय चिनारीको माग भए पनि यस राज्यमा बसोबास गरेका बंगाली, बिहारी, राजवंशी, आदिवासी, लाप्चे, भोटे, मारवाडीे र अन्य सबैका निम्ति एउटा भौगोलिक माग हो । छुट्टै राज्य भनेकै आफ्नै अलग भौगोलिक क्षेत्र, आफ्नै राजनीतिक शासन, आफ्नै नीति एवं योजना र आफ्नै विभाग–संस्थाहरू हुन् । सबैलाई छुट्टै राज्य सर्वमान्य छ, अति नै चाहिएको व्यवस्था पनि हो यो । किनकि पश्चिम बंगालभित्र बस्नाले यस क्षेत्रको प्राकृतिक संसाधन केवल लुटियो नै । विकासले कहिल्यै जरा गाडेन र चिया–कुइनेन–जंगल–बालुवा–ढुंगा–पानी पुराना स्रोतहरूलाई एकएक गरी स्वाहा बनाइयो । यति मात्र कहाँ हो र, जातजातका अनौठा बोर्डहरू थोपरिदिएर, सग्लो गोर्खा जातिलाई टुक्राटुक्रा बनाएर मास्ने प्रयास पनि जारी नै छ !

गोर्खाहरूले नचाहँदा–नचाहँदै पनि छुट्टै राज्यको यो मागलाई पहिले त पश्चिम बंगाल सरकारले राष्ट्रविरोधी भनेर ढोल

पिट्यो, पछि भारतका सबैले यो त्यस्तो होइन भन्दा फेरि त्यही बंगाल सरकारले यो साम्प्रदायिक माग हो भनेर नगरा बजायो । सानो सोच्ने, मस्त हुने र भ्रष्टाचारमा लिप्त हुने हाम्रा नेताहरूले आफूलाई मात्रै नभएर सम्पूर्ण गोर्खाहरूलाई नै पश्चिम बंगालले अघि ल्याएको दुष्प्रचारको डोकामा हालिदिए । तल मधेश–तराई–डुवर्स–चोपडाका जातजाति, विभिन्न धर्मावलम्बी जनसमूह छुट्टै राज्यको मागबाट यसरी टाढिए । बंगाल सरकारले गोर्खाल्यान्डको मागलाई अझै पहाडतिरै खाँदिदियो, सुकुनादेखि माथि नै सीमित राखिदियो । नेता र पार्टीहरू भने आफ्नैहरूबीच पाखुरा सुर्किन थाले, धम्की दिए, सरकारी तन्त्रसँग मिली हरेकलाई सताए,

झ्यालखानामै हालिदिए र छुट्टै राज्यको मागमा ढकनी लगाउने दुष्प्रयास पनि गरे । चारैतिर भ्रम फैलाइयो— यो माग साम्प्रदायिक हो र छुट्टै राज्यले केवल गोर्खाहरूलाई फाइदा पुर्‍याउनेछ । अन्य सबै जातजाति बिच्किए, यो मागबाट अझै टाढिए । यो भ्रम बंगाल सरकारले गोर्खा नेता–पार्टीमार्फत नै फैलायो र सबैलाई घेरिदियो । उकुसमुकुस भएका पहाडवासीमा यसरी विश्वास, आत्मविश्वास र आत्माभिमानको अनिकाल लाग्यो । सबै आफूकेन्द्रित भए । मलाई पुगे, मैले भेटे–पाए र मेरो परिवारले हत्याए भैगो; अरू जतासुकै जाऊन् भन्ने घीनैलाग्दो संस्कृति पहाडमा व्याप्त छ आज । पहाडका नेता–पार्टी र बंगाल सरकारका तन्त्रमन्त्र यति भयानक ढंगले मिले कि सबै वीर गोर्खा लगभग कातर–डरछेरुवा भई डोकाभित्रै पसे ।

वास्तवमा छुट्टै राज्य यस क्षेत्रका सबै बासिन्दा–संस्था–तन्त्रमन्त्रलाई प्रिय छ, सबैले मनभित्रैबाट चाहेको व्यवस्था पनि हो । यस क्षेत्रको यति शोषण गरियो, यति सर्वनाश गरियो, हिसाबकिताबै छैन । र सम्पूर्ण उत्तर बंगाललाई पश्चिम बंगालबाट छुट्याएर नयाँ राज्य बनाउनुपर्छ भन्ने माग पूर्ण हुने लछेप्रै सम्भावनाहरूबारे खबरकागज, सामाजिक सञ्जाल र अन्य साधनबीच व्यापक रूपमा चर्चा गरिँदै छ । निकट भविष्यमै उत्तर बंगाल अलग राज्य भए एक सय वर्षभन्दा पुरानो गोर्खा–पहाडवासी–दार्जिलिङले राख्दै आएको छुट्टै राज्यको माग के हुन्छ, उनीहरूले के व्यवस्था पाउँछन् र डुवर्स–चोपडा–तराई–मधेशका माग र समस्याहरूलाई कसरी राजनीतिक समाधान दिइनेछ भन्नेमा नेता–पार्टीले सोचेका पनि छैनन् । यसबारे चोकबजारको चियादोकानमा बसेर गफ गर्नु, देसान लागेको कुखुराले पिचिकपिचिक छेरेझैं सामाजिक सञ्जालमा अर्थहीन कुराहरू लेख्नु र कुनै ठोस मार्गदर्शन नपाउनु नै गोर्खाल्यान्डको परिकल्पना र प्राप्तिमा अर्को महाधोका हुन्छ । भोलि उत्तर बंगाल छुट्टै राज्य भएको खण्डमा पहाडवासी–तराई–डुवर्सकाहरू वेदनामा छटपटिने, विभाजित हुने, अन्योलको थुन्चेमा पस्ने वा आजै केन्द्र सरकारसँग आफूलाई चाहिएको व्यवस्थाबारे गहिरै रूपमा कुराकानी गरी, यस क्षेत्रलाई पनि कि छुट्टै राज्य वा केन्द्रशासित क्षेत्र बनाउने भन्नेबारे तय हुनुपर्छ । सबल, दूरगामी र टुंगोमै पुर्‍याउने एउटा राजनीतिक संस्था–दलको यसर्थ नितान्त आवश्यकता छ यस क्षेत्रमा । भारत र पश्चिम बंगाल सरकारले अहिलेका प्रायः राजनीतिक दल–नेताहरूको पित्तै केलाएका छन्, यिनीहरूको आन्द्रा–भुँडीमा कुन कीरा छ भन्नेसमेत थाहा पाएका छन् । र नै औषधिका ठिक्कका खुराकहरू यिनीहरूलाई दिई नै रहन्छन्; ठीक पनि नहोऊन्, अघि पनि नबढून् र सासचाहिँ फेरिरहून्, ताकि जीवितै रहेछन् भन्ने कुरा जनताले महसुसचाहिँ गरी नै रहून् !

दार्जिलिङ–कालिम्पोङ जिल्ला, तराई–डुवर्स–चोपडाका बासिन्दा, राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाज आदिले शीघ्रभन्दा शीघ्र भारत र पश्चिम बंगाल सरकारकहाँ अघि राख्नुपर्ने प्रमुख कुराहरूमध्ये एउटा हो— यो क्षेत्र छुट्टै राज्य घोषित गरिएको खण्डमा कसलाई, कहाँ, कति अनि किन फाइदा पुग्छ । यसै सन्दर्भमा यस क्षेत्रमा स्थापित हुन लागेको एउटा दूरगामी राजनीतिक संस्था–दलले आफ्नो विधानमै छुट्टै राज्यले अघि ल्याउने चारकुने फाइदाहरूको रूपरेखा गहकिलै ढंगमा उल्लेख गरेको छ ।

चारकुने फाइदाहरू (क्वाड्रिलेटरल डिभिडेन्ड्स) मा सबैभन्दा पहिलो र ठूलो फाइदा भारत सरकार, त्यसपछि पश्चिम बंगाल सरकार, तेस्रो फाइदा सिक्किम र उत्तरपूर्वी क्षेत्रका अन्य सात राज्य अनि चौथो यो नयाँ छुट्टै राज्यका बासिन्दाहरूलाई नै हुनेछ । भारत सरकार र भारतीयहरूलाई हुने नौबुँदे फाइदाको एक नम्बरमै तीन–चार अन्तर्राष्ट्रिय सिमाना क्षेत्रमा अवस्थित प्रस्तावित यस छुट्टै राज्यले भारतको राष्ट्रिय सुरक्षालाई कसरी अझै सबल एवं सुगठित बनाउँछ भन्ने उल्लेख गरिएको छ । राष्ट्रिय सम्पदा, प्राकृतिक धरोहर एवं यहाँका रूखपात–पानी–वनसम्पदा आदिको सुरक्षा एवं संवर्द्धन, पूर्वी हिमालय क्षेत्रमा सग्लो विकास क्षेत्रको गठन, मौसम परिवर्तनले हिमालय क्षेत्रमा पुर्‍याएका आघात एवं प्रभाव आदिको अध्ययन एवं निवारणबारे पनि त्यसमा कुराहरू छन् । अत्यन्तै गहकिलो कुरो के छ भने, छुट्टै राज्य भएको खण्डमा बंगलादेश, नेपाल, भोटाङ र भारतका अन्य ठाउँको आर्थिक, सामाजिक, सांस्कृतिक आदि विषयको संगमस्थल यही क्षेत्र हुनेछ । अर्थात्, यी चार राष्ट्रले स्थापित गरेको बीबीआईएन क्षेत्रीय सहयोग फस्टाउने मूल अड्डा एवं

उद्गमस्थल नै यो छुट्टै राज्यका भूगोल–जनसमूह–संस्थाहरू हुनेछन् । यी चार राष्ट्रले सन् २०१५ मा सम्झौता गरेको, मोटरवाहनको एकअर्काका राष्ट्रहरूमा आवतजावत गर्ने द्वार पनि यही छुट्टै राज्य हुनेछ । नेपालबाट भोटाङ र बंगलादेश जानलाई यही मार्ग लाभदायक हुनेछ ।

भारत सरकारलाई अर्को ठूलो फाइदा— अन्य राष्ट्रबाट हुने अवैध घुसपैठ एवं प्रवास लगभग बन्दै हुनेछ । भारत सरकारले पश्चिम बंगालमा लागू गर्न भनी नयाँ नागरिकता संशोधन कानुन (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) जस्ता मुद्दाहरू उठाइरहनुको प्रमुख कारण अवैध घुसपैठ एवं प्रवास नै हो । छुट्टै राज्य हुनासाथ यस क्षेत्रका चिया, कुइनेन–सिन्कोना, वनजंगल, जलविद्युत् आदिको फेरि एकपल्ट भव्य विकास हुनेछ । दार्जिलिङ र डुवर्सका श्रमिक वर्गको आङमा घाम लाग्नेछ । यस क्षेत्रमा ऐतिहासिक रूपमा रहेका र राष्ट्रिय–अन्तर्राष्ट्रिय भूमिका निभाएका शैक्षिक, स्वास्थ्य, पर्यावरण, पर्यटन, व्यापार, वाणिज्य आदि क्षेत्र पुनर्जीवित मात्रै नभएर द्रुत गतिमा फस्टाउने मौका पाउनेछन् । बंगलादेश (फूलबारी र चेग्राबन्धा), भोटाङ (जयगाउँ–फुन्सोलिङ) र नेपाल (पानीट्यांकी–काँकरभिट्टा एवं फूलबारी करिडोर) मा व्यापक रूपमा व्यापार–वाणिज्य र पुँजी निवेश गर्न सकिनेछ । सम्पूर्ण सिमाना क्षेत्रमै भारतको राष्ट्रिय सुरक्षाबारे सचेत, शिक्षित र सजीव मानवजमात तयार हुनेछ, जसले लागूपदार्थ, हातहतियार, तस्करीजस्ता अवैध धन्धाहरूलाई सामाजिक स्तरमा रोकिदिनेछ । यही जमात राष्ट्र सुरक्षाको पहिलो लहर भएर उभिनेछ । यस छुट्टै राज्यले अहिले ‘चिकन नेक’ मात्रै भएर उत्तरपूर्वी राज्यहरू प्रवेश गर्ने मार्गको विकल्प दिने सम्भावना पनि बढ्नेछ । सिलिगुडीदेखि अलिक परतिर रहेको बंगलादेशसँगको फूलबारी सिमाना र व्यापार–वाणिज्य गरिने मार्ग अन्तर्गत ढाका पुगी त्यहाँबाट मेघालय, असम र त्रिपुरा सहजै पुग्न पनि सकिन्छ । दार्जिलिङ जिल्लाको तराई क्षेत्रमा रहेको यो चिकन नेकमा हाल रहेको भीडलाई यस वैकल्पिक मार्गले सजिलो बनाइदिनेछ । समग्रमा यो छुट्टै राज्य प्रधानमन्त्री नरेन्द्र मोदीले अघि बढाएको भारतीय विदेशनीति ‘एक्ट इस्ट पोलिसी’ को सुरु–मञ्च हुनेछ ।

दोस्रो तहमा यस छुट्टै राज्यले पश्चिम बंगाललाई विस्तारित लाभ दिनेछ । छुट्टै राज्य जति ज्यादा विकसित एवं सम्पन्न हुँदै जान्छ, बंगाललाई छिमेकी राज्यका नाताले उति नै फाइदा पुग्नेछ । यस छुट्टै राज्यमा उद्योगपतिदेखि व्यापारीसम्म, विदेशी पुँजी निवेशकर्तादेखि अन्तर्राष्ट्रिय विकासका संस्थाहरूसम्म र पारवहन एवं सञ्चारसँग जोडिएका कम्पनीदेखि जमिन–अट्टालिका विकास गर्ने कम्पनीसम्म आएपछि, बंगालको अर्थव्यवस्था र बजारको आकार पनि व्यापक रूपमा फस्टाउनेछ । बंगालका राजनीतिक दलहरूले अर्को राज्यमा खेल्ने खुला जग्गा पाउनेछन् । दार्जिलिङ पहाडसँग पारम्परिक स्तरमा सम्बन्ध राखेका र माया गर्ने बंगालका प्रबुद्ध व्यक्तिहरू रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, सुवासचन्द्र बोस, रवीन्द्रनाथ ठाकुर, जगदीशचन्द्र बोस, सिस्टर निवेदिता, चित्तरञ्जन दास, विधानचन्द्र राय, सत्यजित रे, मदर टेरेसा, महाश्वेता देवी, ज्योति बसु, सिद्धार्थ शंकर रे, पीके बनर्जी अनि अन्य धेरैका बारेमा संरक्षण केन्द्रहरू पहाडमै बन्नेछन् । बंगालका बौद्धिक, धार्मिक एवं सामाजिक धरोहरहरूको यसरी संवर्द्धन नै हुनेछ ।

यति मात्रै कहाँ हो र, बंगालमा उत्पादन गरिएका घिउदेखि गाडीसम्म, लुगादेखि मोबाइलसम्म, जुत्तादेखि सिमेन्टसम्मलाई छुट्टै राज्यको सिमाना व्यापारमार्ग हुँदै सहजै नेपाल, भोटाङ, बंगलादेश, उत्तरपूर्वी क्षेत्र, बर्मा, लाओस आदिसम्म पुर्‍याउन सकिन्छ । अहिले सिमानामा व्यापारका नाममा पानवाला, रिक्सावाला, सिंगडावाला मात्रै छन्; छुट्टै राज्यले यसै सिमानालाई आधुनिक र वैज्ञानिक ढंगमा चलाइएको इन्टिग्रेटेड चेक पोस्ट बनाउनेछ । यस अन्तर्गत पर्यटन, व्यापार, तीर्थयात्रा, बिजुली तेल र ग्यासको व्यापार फस्टाउनेछ । बंगालले कहिल्यै नसोचेको अति विकसित छुट्टै राज्यलाई आफ्नो छिमेकमा पाउनेछ ।

सिक्किम, असम, मेघालय, अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, त्रिपुरा र मिजोरमले पनि दार्जिलिङ–डुवर्स छुट्टै राज्य भएपछि मनग्गे फाइदा उठाउन सक्छन् । पहिले त अति सहज ढंगमा भारतका अन्य प्रदेशदेखि उत्तरपूर्वी क्षेत्रहरू पुग्न सकिनेछ किनकि यस छुट्टै राज्यमा बाटाघाटा, हवाई अड्डा, सञ्चार आदिको आधुनिक ढंगमा निर्माण भारत सरकार तथा विश्वकै विकास एजेन्सीहरूले गर्नेछन् । बिजुली, ग्यास र तेलका विभिन्न पाइपलाइन एवं प्रसारण सुविधाहरू उत्तरपूर्वी क्षेत्रहरूलाई अझै सुचारु रूपमा जोड्ने हिसाबले उपलब्ध गराइनेछन् । बंगलादेश, भोटाङ, नेपालबाहेक उत्तरपूर्वी क्षेत्रले दक्षिणपूर्वी एसियाका राष्ट्रहरू बर्मा, थाइल्यान्ड, मलेसिया, भियतनाम, सिंगापुर आदिका बजार र माग सुहाउँदिलो उत्पादनहरू गर्न सक्नेछ र पर्यटनको विकास रफ्तारमा हुनेछ ।

अनि चौथो फाइदाचाहिँ यस छुट्टै राज्यका बासिन्दा, भूगोल, संस्था एवं बजार व्यवस्थालाई हुनेछ । छुट्टै राज्यको स्थापना हुनासाथ कलकत्ताबाट चिया लिलाम केन्द्रलाई सिलिगुडी–डुवर्स क्षेत्रमा सारिनेछ । यो दार्जिलिङ–डुवर्स–असम–नेपालको चियाका लागि सायद विश्वमै सबैभन्दा सजीव अनि ठूलो लिलाम केन्द्र हुनेछ । यो चियालाई अबउसो कलकत्ताबाहेक बंगलादेशका मोंगला र चटगाउँ बन्दरगाहमार्फत पनि विश्वबजारमा छ्यापछ्याप्ती पार्न सकिनेछ । छुट्टै राज्यका तीन–चार अन्तर्राष्ट्रिय सिमानामार्फत गरिने व्यापार–वाणिज्यले मात्रै नेपाल, भोटाङ, बंगलादेश र बर्माका पच्चीस करोड जनसमूहको बजारलाई भिजाउनेछ र राष्ट्रभित्रकै बंगाल–उत्तरपूर्वी क्षेत्रका बाइस करोड जनसंख्या भएको बजारलाई पनि । यति ठूलो बजारले छुट्टै राज्यको उत्पादन क्षमतालाई प्रचुर हौसला दिनेछ ।

छुट्टै राज्य हुनासाथ अन्य राज्यमा झैं यहाँ पनि कम से कम ५५ वटा सरकारी विभाग बन्नेछन् । छुट्टै राज्य बनेको छ महिनाभित्रै एक–डेढ लाख सरकारी पद अघि आउने अडकल गरिएको छ । अनेक उद्योगधन्दा, निजी क्षेत्रको विकास अघि आउनेछ । यस छुट्टै राज्यका जनता जनार्दनलाई तब थाहा हुनेछ, बंगालले किन यहाँका नेता–पार्टीलाई आफ्नो झोलामा हाली पार्वत्य परिषद् र गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेसनजस्ता अर्थहीन र हल्का व्यवस्थाहरू दिएर भुलाएको–छक्याएको रहेछ । तब पश्चात्ताप गर्नेछन् आदिवासी र राजवोसीले संविधानले दिएकै कुरो पनि किन कहिल्यै पाउनै सकेनौं भनेर ।

छुट्टै राज्य भएपछि फाइदैफाइदा छ भारत–भारतवासी, पश्चिम बंगाल, उत्तरपूर्वी क्षेत्र अनि दार्जिलिङ–कालिम्पोङ जिल्ला, तराई–डुवर्स र चोपडाका बासिन्दाहरूलाई । यसर्थ अन्तिम जमर्को गर्नुपर्छ, शान्तिपूर्ण तर प्रभावकारी रणनीति अपनाउनुपर्छ । एकत्रित हुनुपर्छ, पहाड–समतलवासी । अन्त पो छुट्टै राज्य पाउँछौं !

प्रकाशित : श्रावण २४, २०७९ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×