राजनेताहरूका प्राध्यापक

प्रदीप गिरिले रामायण, महाभारत, पुराण, मार्क्स, गान्धी, बीपी, संगीत, साहित्य, कला, संस्कृति आदि पढेर पचाउनुभयो । त्यसले उहाँलाई ज्ञान दियो, प्रज्ञा दियो । अनि दियो आधिकारिकता, त्यो ज्ञानको सत्ता बन्यो । त्यसमा सुदीर्घ राजनीतिको संस्कार मिसियो । अनि बन्यो— प्राधिकारसहितको प्रदीप गिरि ब्रान्ड ।
शंकर तिवारी

भदौ ४ शनिबार राति समाजवादी चिन्तक एवं दार्शनिक व्यक्तित्व प्रदीप गिरिले भौतिक देह त्यागेर महाप्रस्थान गर्नुभएपछि उहाँका बारेमा सामाजिक सञ्जालका भित्ताहरू रंगिएका मात्र छैनन्, सिंगो देश नै ‘बौद्धिक शून्यता’ मा प्रवेश गरेजसरी स्तब्ध भएको छ ।

राजनेताहरूका प्राध्यापक

उहाँको निधन हुनेबित्तिकै तरोताजा उहाँका बारेमा लेख्नु–बोल्नु कसैका लागि पनि प्रिय कुरा होइन, त्यसमाथि उहाँको सान्निध्यमा रहेर काम गर्ने, दीक्षित हुने अवसर पाएका व्यक्तिहरूका लागि त झनै होइन । प्रदीप गिरिको स्पष्ट मान्यता थियो, निधनलगत्तै कुनै पनि व्यक्तिको सम्यक् मूल्यांकन सम्भव छैन । जसरी प्रदीप गिरिले बीपीको देहान्त भएपछि बीपीका बारेमा आफैंले लेखेका र बोलेका धेरै कुरा त्यसको दुई दशकपछि संशोधन गर्नुभयो, त्यसै गरी उहाँका

बारेमा अहिले हामीले भावनामा बहकिएर बोलेका कुराहरू समयक्रममा संशोधित हुन सक्छन् । तर त्यसो भन्दैमा अहिले नबोली, नलेखी पनि भएको छैन । प्रदीप गिरिले आजीवन जुन नेपाली समाजलाई पर्गेल्ने र परख गर्ने कोसिस गर्नुभएको थियो, आज त्यही नेपाली समाज प्रदीप गिरिको व्यक्तित्व पर्गेल्न र परख गर्न हतारिएको छ ।

२००७ सालको क्रान्तिमा हिस्सेदारीपूर्वक भाग लिएको राजनीतिक परिवारमा जन्मिनुभएका प्रदीप गिरिको परिवारका अग्रजहरू गृहमन्त्री, प्रधानमन्त्रीदेखि देशका अरू सामाजिक क्षेत्रमा पनि प्रभावी बने । प्रदीप गिरिले आजीवन आफूलाई राजनीतिज्ञका रूपमा उभ्याउनुभयो तर सत्ता उहाँको साध्य थिएन । राजनीति उहाँको साधन र साधनाको हतियार थियो । २०५६ सालको आम निर्वाचनमा पराजयपश्चात् किशुनजीले राष्ट्रिय सभामा मनोनीत गरेर मन्त्री बनाउने आग्रह गर्दा ईश्वरको इच्छा अर्कै रहेको भन्दै, किशुनजीको स्नेहले प्राप्त हुन लागेको पद सहर्ष इन्कार गर्नुभएको थियो । प्रदीप गिरिको रुचि क्रमशः साहित्य, अध्यात्म, राजनीति थियो तर उहाँको राजनीतिक व्यक्तित्वले साहित्यिक र आध्यात्मिक व्यक्तित्वलाई ओझेलमा पारेको थियो ।

पिता मित्रलाल गिरिले देशदेशावरबाट जम्मा गरेका किताब प्रदीप गिरिले विद्यालय जीवनमै छिचोल्नुभएको थियो । कुलदीप गिरिका सन्तानहरूमध्ये प्रदीप गिरिका हजुरबुवाको भागमा अंशबन्डा न्यायपूर्वक भएको थिएन, जिउनी पनि यथोचित थिएन । हजुरआमा सावित्री गिरिले राणाहरूसँगको पहुँचका आधारमा ससुरासँग ४,४०० बिघाÙ ४४ मौजाबाट जम्मा ८० बिघा मात्र हात पारिन् । क्रान्तिकारी हजुरआमासँग शाकाहारी भान्सा गर्ने सुविधा प्रदीप गिरिलाई थियो, जुन छुट परिवारका अरू सदस्यलाई थिएन । यसरी उहाँको बागी, विद्रोहको र समाजमा संघर्ष गरेपछि अधिकार र न्याय पाउन सकिन्छ भन्ने कुराको प्रेरणा हजुरआमा सावित्री हुनुहुन्थ्यो । कुलदीप गिरिले गिरि, नेवार, गुरुङ र छेत्री कन्यासँग विवाह गरेका थिए ।

पूर्वबाट सप्तकोशी पार गरेपछि नेपाली कांग्रेसको पहिलो कचहरी प्रदीप गिरिकै घरआँगनमा सुरु हुन्थ्यो । कोइरालाहरूको रोजाइको पहिलो थातबास भएपछि एक किसिमले सप्तकोशीबाट पश्चिम लाग्दाको नेपाली कांग्रेसको मुकाम बस्तीपुरको घर थियो । कृष्णप्रसाद कोइरालाको कलकत्ताको मण्डीमा कुलदीप गिरिको टी–स्टेटमा उत्पादित चिया पुग्थ्यो ।

परिवारमा राजनीतिक चेतना र नेपाली कांग्रेसको गुटबन्दीको प्रभावस्वरूप केटाकेटीमा पनि बीपी र मातृका समूह बनाएर खेल्ने गरेको कुरा प्रदीप गिरि रुचिपूर्वक सुनाउने गर्नुहुन्थ्यो । मित्रलाल गिरि २०१२ सालको जनकपुर अधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य थिए भने उनले २०१५ सालको आम निर्वाचनमा हालको सिरहा र सप्तरीको एउटै निर्वाचन क्षेत्रबाट गजेन्द्रनारायण सिंहलाई पराजित गरेका थिए ।

आफ्नै पिताले स्थापना गरेको विद्यालयबाट २०१८ सालको ब्याचमा प्रथम श्रेणीमा एसएलसी पास गरेपछि प्रदीप गिरि उच्च शिक्षाका लागि २०१९ सालमा काठमाडौं आएर अस्कलमा भर्ना हुनुभयो । परिवारले उहाँलाई विज्ञान पढ्नका लागि भर्ना गरिदिएको भए पनि कला संकायमा प्रवृत्त उहाँलाई विज्ञानले छुने कुरा थिएन । उहाँको बास कक्षाकोठामा भन्दा तत्कालीन अवस्थामा न्युरोडमा रहेको अमेरिकी पुस्तकालयमा हुन पुग्यो । हिन्दी र नेपाली साहित्यले काम चलाउँदै आउनुभएका उहाँलाई अंग्रेजीको लत बस्यो । उहाँको परिवारले प्राचार्य अमृत प्रधानसँग अध्ययनबारे सोधनी हुँदा क्याम्पस कम आउने गरेको थाहा भएपछि उहाँलाई बनारस पठाउने तय गर्‍यो ।

कुनै बेला पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि गोत्र परिवर्तन गरेको स्थल र हतियार पनि लिएर आएको पुण्यभूमि बनारस २०२० र २०३० सालका दशकमा नेपाली डायस्पोराले चलायमान थियो । २०३० सालको दशकपछि नेपाली राजनीतिमा बनारसको प्रभाव निस्तेजप्रायः भएको थियो ।

बनारसको नेपाली वातावरणमा प्रदीप गिरि २०२५ सालमा बीपी निर्वासनमा जानुपहिले नै स्थापित नाम बनिसक्नुभएको थियो । बीपी, सुवर्ण र पुष्पलालपछिको चौथो डन बनारसमा उहाँ नै हुनुहुन्थ्यो । अध्ययनमा तगडा, संगठन गर्न सिपालु र जमिनदार पिताले पठाएको पैसाले फुर्माइस गर्ने पैसाको कमी नहुने भएकाले बनारसमा उहाँको ग्याङ बहुत जम्यो । हुँदाहुँदा उहाँले बनारसमा बीपी र पुष्पलालको सहयोगबिना नेपाली छात्र संघमा आफ्ना उम्मेदवार जिताउने सामर्थ्य राख्न थाल्नुभयो ।

बनारसमा अध्ययन गर्दा नै बीपीले संगत गर्ने अवसर पाएका गान्धी र नेहरूबाहेकका दुई लौहपुरुष राममनोहर लोहिया र जयप्रकाश नारायणसँग प्रदीप गिरिको बाक्लो उठबस हुन पुग्यो । जयप्रकाश नारायणको आश्रममा शैलजा आचार्यसँगै पुगेको कुरा उहाँ रोमाञ्चित हुँदै सम्झनुहुन्थ्यो । लोहियासँग त उहाँले प्रजातान्त्रिक समाजवादी युवा लिग (डीएसवाईएल) का लागि लिखित शुभकामना मन्तव्यसमेत प्राप्त गर्नुभएको थियो, बिरामी नपरेका भए त्यसको सम्मेलन लोहियाले उद्घाटन गर्ने तय भएको थियो ।

नेपाली समुदायमा रहेको प्रदीप गिरिको व्यक्तित्वको दबदबा यसरी भारतीय साथीहरूमाझ पनि हुन थाल्यो । बनारसमा आफूसँगै दीक्षित भएका भारतीय साथीहरू उहाँ काठमाडौँ आएजसरी नै दिल्ली रवाना भए । उनीहरू दिल्लीको तत्कालीन स्थायी संस्थापनको अंग बन्न पुगे । राजीव गान्धीका खास विश्वासपात्र मानिएका उहाँका अनन्य मित्र डीपी त्रिपाठीले सन् १९८९ को एक साँझ ‘वान टु वान’ भेट गराइदिएपछि राजीव गान्धीले नेपालको सोलोडोलो वस्तुस्थिति बुझ्न पाए । बाहिर सार्वजनिक नभएको यस्तो तथ्य कुनै दिन डीपी त्रिपाठीसँगको अन्तर्वार्ता छापिँदा प्रकाशमा आउला ।

संस्था बनाउने/निर्माण गर्ने पक्षमा प्रदीप गिरिको सधैंको जोड थियो तर संस्थाले उहाँको व्यक्तित्वको अराजक शैलीका कारण सशक्त र मूर्त रूप लिन सक्थेन । उहाँले भारतमा भीमबहादुर तामाङलाई सम्पादक बनाएर ‘रहर’ पत्रिका निकाल्नुभयो । रहरमा निकालेको भएर पत्रिकाको शीर्षक नै ‘रहर’ राखिएको थियो । ‘तन्नेरी आवाज’ र ‘अब के गर्ने’ पुस्तिकासमेत उहाँले लेख्नुभयो, प्रकाशन गर्नुभयो । डीएसवाईएल गठन गरेर त्यसको अध्यक्ष शैलजालाई बनाउनुभयो, आफू उपाध्यक्ष बन्नुभयो र रामचन्द्र पौडेललाई महामन्त्री राख्नुभयो । बीपीको स्वदेश फिर्तीपछि उहाँकै दबाबमा शैलजा डीएसवाईएलमा निष्क्रिय हुनुभयो र त्यो संस्थाको औचित्य पनि समाप्त जस्तो भयो । २०३६–४६ सालसम्म उहाँले फेरि ‘समता’ पत्रिका प्रकाशन गर्नुभयो ।

पारिवारिक सम्बन्ध ठीकठाक भए पनि २०२० सालको दशकको अन्त्यमा पुग्दा–नपुग्दा गिरिजाप्रसादसँग प्रदीप गिरिको मत बाझियो । त्यसउप्रान्त कोइराला परिवारसँग उहाँको खास जम्न सकेन । उहाँ सुवर्ण गुट हुँदै किशुनजी गुट र त्यसपछि शेरबहादुर गुटका स्थायी सदस्य बनिरहनुभयो ।

किशुनजीको आप्त वचन प्रदीप गिरिका लागि प्रिय थियो । प्रदीप गिरिले २०४८ सालको संसदीय टिकट नपाउनुमा किशुनजीको सार्थक हस्तक्षेप नहुनु उहाँवरिपरिका सहयोगीहरूको ठम्याइ थियो । किशुनजीले खास समयमा संरक्षण नगर्नुभएको स्वीकारोक्ति उहाँको पनि थियो । तर २०५१ सालको संसद् प्रवेश र २०५७ सालमा पार्टी केन्द्रीय सदस्य बनेपछि उहाँ अर्ध–आधिकारिक कांग्रेस बन्नुभयो । राजा ज्ञानेन्द्रको ‘कु’ पछिको आन्दोलनले उहाँको व्यक्तित्व थप उज्यालियो । २०६२–६३ सालपछि बागी आवाज आधिकारिक बन्न पुग्यो । फेरि पनि बागी बन्ने लतले भने उहाँलाई छाडेन । यो सबबीच उहाँले बीपीका छरिएका सामग्रीहरू संकलन गरेर प्रकाशित गर्नुभयो, बीपीको राजनीतिक व्यक्तित्व मात्र स्विकारेका उहाँले बीपीको दार्शनिक पाटोबारे पनि खुलेर लेख्नुभयो । त्यसपछि सिंगो कांग्रेस वृत्तमा पनि उहाँको स्वीकार्यताको दायरा बढ्यो । २०७० सालको संविधानसभामा उहाँ कांग्रेसबाट एक नम्बरमा सिफारिस हुनुभयो ।

प्रदीप गिरिले सिरहामा पिताजीको नाम राखेर ‘मित्र आश्रम’ स्थापना गर्नुभयो, जसको भव्य उद्घाटन किशुनजीले गर्नुभएको थियो । मित्र आश्रम अहिले ‘स्वराज ट्रस्ट’ बनेको छ । आश्रममा उहाँको भान्से सधैं स्थानीय चमार, डोम र मुस्लिम हुन्थे । छुवाछूत मान्ने समाजमा समाजसुधारको हकमा त्यो ठूलो क्रान्ति थियो । उहाँले संसद् विकास कोषबाट कम्प्युटरको मात्र होइन, डकर्मी र सिकर्मीको तालिम पनि दिलाउनुभयो । उहाँ जरासँग जोडिएका बौद्धिक हुनुहुन्थ्यो र त्यो अभ्यास पनि गर्नुहुन्थ्यो भन्ने कुराको योभन्दा राम्रो प्रमाण के होला र !

एउटा रोचक कुरा, २०७४ सालको निर्वाचनमा मात्र उहाँले आफूलाई मतदान गर्न पाउनुभएको थियो । कारण, उहाँलाई २०५१, २०५६ सालमा दिइएको निर्वाचन क्षेत्र उहाँको घर भएको होइन कि कम्युनिस्ट दबदबा भएको क्षेत्र थियो । उहाँले झन्डै जादु गरेरै २०५१ सालमा निर्वाचन जित्नुभएको थियो । २०५६ सालको कथा अर्कै छ । तर त्यो हारले गर्दा उहाँलाई कहिल्यै चुनाव नजितेको भ्रम पर्न गएको थियो, त्यसलाई उहाँले २०७४ सालमा सानदार रूपमा बदर गरिदिनुभयो ।

निबन्धकार फ्रान्सिस बेकनले ‘अध्ययन’ शीर्षक निबन्धमा भनेका छन्, ‘केही किताब चाख्नका लागि, केही चबाउनका लागि र केही पचाउनका लागि हुन्छन् ।’ प्रदीप गिरिले रामायण, महाभारत, पुराण, मार्क्स, गान्धी, बीपी, संगीत, साहित्य, कला, संस्कृति आदि पढेर पचाउनुभयो । त्यसले उहाँलाई ज्ञान दियो, प्रज्ञा दियो । अनि दियो आधिकारिकता, त्यो ज्ञानको सत्ता बन्यो । अनि त सत्ताधारीदेखि सडकधारी सबै उहाँको सामु नतमस्तक बन्दै गए । त्यसमा सुदीर्घ राजनीतिको संस्कार मिसियो । अनि बन्यो प्राधिकारसहितको प्रदीप गिरि ब्रान्ड । यो सबका बावजुद उहाँलाई प्रसिद्धिसँग खास सरोकार थिएन । ज्ञानमा ‘पर्फेक्सनिस्ट’ बन्नुभयो, बाँकी सारा कुरा असरल्ल । झट्ट हेर्दा केही खोजी गरिरहेको, ‘कन्फ्युज्ड’ जस्तो तर अस्पष्टताभित्र एकदम प्रस्ट ।

विद्वत्ताका हिसाबले प्रदीप गिरिलाई सर्वाधिक प्रिय लाग्ने लोहियाको जन्मशताब्दी उहाँको ‘अल्मा म्याटर’ काशी हिन्दु विश्वविद्यालय (बीएचयू) ले मनाउने निर्णय गर्‍यो । त्यसमा उहाँ विशिष्ट वक्ता बनाइनुभयो । उहाँलाई ‘प्राध्यापक डाक्टर प्रदीप गिरि’ भनेर कार्यक्रमको निम्तो आयो, रोस्टर छापियो । उहाँलाई त्यो कुराले असहज भएको प्रस्ट थियो । अनि उहाँले मन्तव्यका क्रममा भन्नुभयो, ‘मैं प्रोफेसर भी नहीं हूँ और डाक्टर भी नहीं हूँ । लेकिन मैं प्रोफेसरों का पोलिटिसियन हूँ और पोलिटिसियनों का प्रोफेसर ।’ अर्थात्, म प्राध्यापकहरूको राजनेता हुँ र हुँ राजनेताहरूको प्राध्यापक । सभागार तालीले गुञ्जायमान भयो । आफूलाई नेपालमा भएको एक मात्र मार्क्सवादी दावा गर्ने प्रदीप गिरिलाई नेपाली कम्युनिस्टहरूले बारम्बार मार्क्सवाद प्रवचन गर्न लगाए । कांग्रेसको मात्र गुरु रहेका उहाँ यसरी नेपाली कम्युनिस्टका पनि गुरु बन्नुभयो र बन्नुभयो सिंगो देशका गुरु ।

‘राजनेताहरूका प्राध्यापक’ प्रदीप गिरिका बारेमा अहिलेलाई यति नै, उहाँको चर्चा गरेर नसकिने बहुआयामबारे कुरा गर्न हाम्रा लागि सिंगो जीवन छ, अनन्त समय छ ।

प्रकाशित : भाद्र ६, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?