३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जब पोथीहरू बास्न थाल्छन् !

‘मलाई अन्याय भयो, न्याय चाहियो’ भन्न पनि नपाउने सामाजिक परिवेशमा आफ्नै सहकर्मी, आफन्त र छरछिमेकबाट सुरक्षित होइएला भनी कसरी ढुक्क हुने ? सामाजिक–सांस्कृतिक संक्रमणको यो समयमा पोथीहरू निरन्तर रूपमा बासिरहनुको विकल्प छैन ।
मीना पौडेल

सुप्रसिद्ध साहित्यकार कुन्ता शर्माको ‘पोथी बास्नु हुँदैन’ शीर्षक कविता हामी विद्यार्थी राजनीति गर्दा खुब प्रयोग गरिन्थ्यो, महिला अधिकार र मुक्ति आन्दोलन चेतनाका भूमिगत र खुला प्रशिक्षणहरूमा । खास गरी महिला हिंसासहित लैंगिक विभेदका बहसहरूमा त्यो कविता मूल सामग्रीका रूपमा प्रयोग हुन्थ्यो ।

जब पोथीहरू बास्न थाल्छन् !

म आफैंले पनि कैयौं प्रशिक्षण र छलफलहरूलाई सान्दर्भिक बनाउन उक्त कविताको सहयोग लिएका सम्झनाहरू ताजै छन् । त्यसो त मेरो पुस्तामा लैंगिक चेतनाको जग बसाउन यो सृजनाले धेरै भूमिका खेलेको थियो । साहित्यकार शर्मा र उनका समकालीनहरू मेरो पुस्ताभन्दा निकै पाको पुस्ताका हुन् । त्यति बेला हाम्रो समाजमा ‘लैंगिक’ शब्दको आयात भइसकेको थिएन, ‘महिला मुक्ति’ का कुरा गर्थ्यौं हामी ।

‘पोथी बास्न हुँदैन’ कविता फगत एउटा कविता मात्र थिएन र आज पनि होइन, यो त हाम्रो समाजको चरित्रका कैयौं पाटालाई उजागर गर्ने एउटा अस्त्र थियो, आज पनि छ र कालान्तरसम्म रहिरहनेछ । त्यस्तो अस्त्र जसले पितृसत्ताका सबै स्वरूपलाई दह्रो झापड दिन्छ र भन्छ— पितृसत्ता मानव जीवनको विष हो जसले महिलालाई मात्र होइन, पुरुष र अन्य लैंगिक पहिचान भएका मानवहरूको अस्तित्वमा समेत धावा बोल्छ । फरक यत्ति हो, त्यो विष पुरुषबाहेकका अन्य लैंगिक पहिचान भएकालाई बढी लाग्छ । त्यसले महिलालाई कसरी, कस्तो अवस्थामा बढी विषाक्त प्रभाव पार्छ र पारिरहेछ भन्ने सन्दर्भ कोट्याउनु यो आलेखको मूल आशय हो ।

हिजो त्यो कविता लेखिँदाको नेपाली समाज राजनीतिक रूपमा धेरै फरक र साँघुरो थियो तर आज समाजवाद–उन्मुख संविधानद्वारा निर्देशित संघीय गणतान्त्रिक प्रणालीमा छ । समावेशिता राजनीतिको एउटा मूलमन्त्र बनेको छ र मुलुक धर्मनिरपेक्षताको खुकुलो वातावरणमा विविध सांस्कृतिक समुदाय र लैंगिक पहिचान बोकेकाहरूले राज्यसँग आफ्नो सम्बन्ध के हो भनेर खोज्दै छन् । हुन त यी फराकिला र खुकुला परिवेशहरू व्यवहारमा कति रूपान्तरण भएका छन् भन्ने एउटा गहन बहसको पक्ष हो तर पनि सैद्धान्तिक रोकटोक, बोली र विचारमा कविता सृजना गर्दाको जस्तो बिर्को लगाउने समय भने आज छैन । यसको पुष्टि पछिल्लो समय महिलाहरूले हिंसाका आफ्ना अनुभवहरू सतहमा ल्याई संरचनागत तप्कालाई तरंगित पार्नुले पनि गर्छ । अनि ‘पोथी बास्नु हुँदैन’ त्यो युगको धारिलो चेत पनि थियो, जसले तत्कालीन ढोंगी समाजमा झाँंगिएको सामन्ती पितृसत्ता, त्यसलाई संरक्षण गर्ने सांस्कृतिक सर्त र सामाजिक जन्जिरहरूलाई एकै पटक चोटिलो प्रहार गर्थ्यो । उसो त त्यो कवितामार्फत महिला हिंसा र त्यस हिंसाबाट सृजित सामाजिक अवहेलना, राजनीतिक अर्घेल्याइँ, आर्थिक विभेद र सांस्कृतिक आक्षेपविरुद्ध आगो ओकल्ने साहित्यकार शर्मा र उनका समकालीन प्रखर महिलाहरूले पनि निकै सास्ती भोगे, लाञ्छना खेपे र अवहेलना बेहोरे भन्ने पढेको, सुनेको मात्र होइन, कतिपय सन्दर्भमा यो पंक्तिकार साक्षीसमेत थियो । उति बेला कति लाञ्छना, सास्ती र अवहेलना यस्तै थिए जुन अहिले हिंसाप्रभावित महिलाहरूले आफूविरुद्धका दुर्व्यवहार, हिंसा र उत्पीडनका भोगाइहरू सतहमा ल्याउँदा भोग्दै छन् । समय फेरियो तर प्रवृत्ति फेरिएन !

उति बेला पनि कतिले सार्वजनिक रूपमा व्यक्त गरे, कतिले चुपचाप सहेर बसे र अहिले पनि स्थिति त उही हो, सबै पीडित र प्रभावित कहाँ सतहमा निस्केका छन् र ? तर समयसँगै दबिएका, थन्किएका ती दुखाइ र आक्रोशका कथाहरू क्रमशः सतहमा आउनेछन् भन्ने संकेतहरू पनि देखिँदै छन् र त्यो भने राम्रो संकेत हो, ढोंगी समाज समाजको जबर्जस्त रूपान्तरणका लागि ! जे होस्, ‘पोथी बास्नु हुँदैन’ कविताले त्यति बेलाको सामाजिक चरित्रलाई चिरफार गरी महिलाहरूको वस्तुकरण, यौनकरण, दासत्वकरण गर्ने चिन्तन र त्यस्ता चिन्तनकै धरातलमा रचिएका सामन्ती, पुँजीवादी, प्रगतिशील अथवा अन्य यस्तै सैद्धान्तिक खाकाभित्र लैंगिकताका आधारमा गरिने मनोवैज्ञानिक, शारीरिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक शोषणप्रति एउटा शक्तिशाली प्रतिरोधको काम गरेको थियो ।

आज एकातिर त्यस्ता सृजनात्मक प्रहारहरू विरलै पाइन्छन् भने वस्तुकरण, यौनकरण र दासत्वकरण गरी लैंगिक हिंसा मच्चाउने प्रवृत्ति क्रमशः फस्टाउँदै गरेको भने प्रस्टै महसुस गर्न सकिन्छ । चाहे मनोरञ्जन क्षेत्र या घरेलु वा श्रम आप्रवासन क्षेत्रका श्रमिक महिलाका यौनहिंसाका कुरा होऊन् अथवा वैदेशिक रोजगारीमा रहेकाहरूका श्रीमतीलाई गरिने हिंसाका सन्दर्भ, चाहे सार्वजनिक यातायातको परिवेश होस् या साहित्य, सञ्चार, राजनीतिक अथवा सांस्कृतिक महत्त्वका माहोल, जतिजति महिलाहरू खुला राजनीतिक वातावरण र उदारवादी अर्थ व्यवस्थाले उत्पन्न गरेका उपार्जनका अवसरहरूमा सक्रिय हुन थाल्छन्, त्यतित्यति पितृसत्ताका सामाजिक–सांस्कृतिक नंग्राहरू तिखारिएर सलबलाउन थाल्दा रहेछन् । यो कठोर यथार्थलाई त अहिले सतहमा देखा परेका पुराना र ताजा लैंगिक हिंसाका फेहरिस्तहरूले झनै पुष्टि गरेका छन् ।

‘पोथी बास्नु हुँदैन’ कविताको मर्मलाई आजको हाम्रो समाजको परिवेश र यी घटनाक्रमका सन्दर्भमा जोड्ने हो भने यी नंग्राहरूले सायद हिजो कविता सृजना गर्दाका बखत चिथोरिने महिलाहरू र आज आफ्ना विगत र अहिलेका हिंसाग्रस्त भोगाइका पोका खोलेर न्यायको माग गर्ने महिलाहरूका दुखाइ, आक्रोश र प्रतिरोध समान छन् । हिजो पनि बास्न हुँदैन भनेर राजनीतिक पितृसत्ताले जारी गरेको उर्दी उल्लंघन गरेबापत चिथोरिएका थिए भने आज अनेक सैद्धान्तिक खोलभित्र फस्टाएको समाजवाद–उन्मुख पितृसत्ताले पोथीहरू नबास भनेर जारी गरेको उर्दीलाई नमानेकै कारण चिथोरिइरहेका छन् । जुनसुकै रूपमा चिथोरिऊन्, आखिर चिथोर्ने त अनेक वादका मलजलमा हुर्काइएका पितृसत्ताका नंग्राहरू नै हुन् । अनि चिथोरिने तिनै हुन् जसले हिंसाप्रभावित आफ्नो मौनतालाई ढिलै भए पनि तोड्दै छन् र चुनौतीको स्वरमा बास्न थाल्दै छन् ।

एउटा अनौठो संयोगचाहिँ सम्झनलायक छ । त्यो के भने, हिजो जुन राजनीतिक पितृसत्ताको नेतृत्वले बासेबापत महिलाहरूलाई सामाजिक–सांस्कृतिक नंग्राहरूले चिथोर्‍यो, आज करिब चार दशकपछिको समाजवाद–उन्मुख पितृसत्ताको नेतृत्वमा पनि उही छ । एक–दुई जना पात्र फेरिए होलान् तर मूल नेतृत्व र प्रवृत्ति उही नै छ । बरु लैंगिक, सामाजिक, सांस्कृतिक, वर्गीय र जातिय हिंसा झन् झाँगिएको छ, उदारवादको खाकाभित्र । यो झाँगिएको कसरी पनि प्रस्ट हुन्छ भने, एक्काइसौं शताब्दीको पहिचानको अधिकारमुखी आन्दोलनको युगमा पनि महिलाहरू आफ्ना भावना, समस्या, भोगाइ सतहमा ल्याएर न्यायको खातिर पहल गर्दा दिन–प्रतिदिन उल्टै लाञ्छित हुने क्रम बढ्दो छ । त्यसैले त आफ्नो कला खार्न मनोरञ्जन क्षेत्र रोज्ने किशोरीहरू आफ्नै निर्देशक र सहकर्मीद्वारा बलात्कृत हुन्छन् र चुप लाग्न भनिन्छन्, वयस्क महिलाहरू आफ्ना दाजुभाइजस्तै विश्वास गरिएका स्रष्टाबाट लैंगिक दुर्व्यवहार खेप्छन्, घटना सतहमा उतार्न वर्षौं लगाएर । अनि राजनीतिक र साहित्यिक रूपमा नंग्याइन्छन्, दबाइएको घटना सतहमा उतारियो भनेर ।

उता कति त वर्षौंसम्म हिंसालाई चुपचाप सहने प्रयास गर्छन् र नसके आत्महत्याको बाटो रोज्छन् । कति न्यायको प्रयास गर्दा पीडकबाटै रातारात मारिन्छन् । यी यस्ता प्रवृत्ति हुन् जसले हाम्रो समाज कता जाँदै छ भन्ने संकेत गर्छन् । यी प्रवृत्तिका विशिष्ट कारणहरू विश्लेषण गरिएको प्राज्ञिक र भरपर्दो अनुसन्धान त हामीकहाँ भएको पाइँदैन तर हाम्रोजस्तो जटिल समाज भएका केही एसियाली र अफ्रिकी देशहरूको अध्ययनलाई सन्दर्भ सामग्रीका रूपमा जोडेर विश्लेषण गर्ने हो भने माथि उल्लेख गरिएका प्रवृत्तिहरूका सामाजिक–सांस्कृतिक अस्त्र भनेको राजनीतिक पितृसत्ताले जारी गरेको पोथी नबास्नू भन्ने उर्दी नै हो भन्न कठिन छैन ।

आखिर नबास्नू भन्दाभन्दै पनि किन बास्न थाले आजका पोथीहरू ? अहं प्रश्न यो हो जसको जवाफ खोज्न आवश्यक मात्र होइन, जरुरी भइसक्यो । तर जवाफ कोसँग खोज्ने अनि र कसले खोज्ने ? किनकि बास्नेहरू अधिकांश ती हुन् जो राजनीतिक पार्टिहरूका वफादार महिला संगठनहरूका सदस्य होइनन्, न त ती पोथीहरू लाभको पद किनेर सामाजिक सञ्जालमा सामाजिक न्यायको परिभाषाको विज्ञापन गर्ने पार्टी र तिनका नेताका गुटगत शिष्यहरू नै हुन् । त्यसो त ती बास्नेहरू राज्यकोषको सुविधामा हालीमुहाली गर्दा उक्लिएको राजसी जीवन जिउने वर्तमान राजनीतिक, प्रशासनिक र न्यायिक नेतृत्वकी छोरी, बुहारी, दिदी–बहिनी, श्रीमतीको दायरामा पनि पर्दैनन् । ती बास्नेहरू त सामान्य नागरिक हुन् जो श्रम बेचेर आफ्नो परिवारको मात्र होइन, नबास भनेर उर्दी जारी गर्ने नेतृत्वको बेहिसाब खर्चका लागि करसमेत तिर्छन् । यसर्थ बास्न प्रतिबन्ध हुँदाहुँदै पनि किन पोथीहरू बास्दै छन् भन्ने प्रश्नको जवाफ हामीले यही समाज, राजनीतिक–सांस्कृतिक रूपले गिजोल्ने राजनीतिक नेतृत्व, सामन्ती न्यायालयको मुखिया र महिलाको यौनिकतालाई वस्तुकरण गरी नाफाको दलाली गर्ने पुँजीवादी बजारमा खोज्ने हो । किनकि यी तिनै पात्र, प्रवृत्ति र संरचना हुन् जसले सामाजिक न्यायको मर्ममा नाफाको व्यापार गर्छन्; लैंगिक पहिचानमा धावा बोल्छन्; हिंसा र उत्पीडनको आवाज बन्द गराउँछन् र चेतनाको प्रक्रियामा तगारो हाल्ने प्रयास गर्छन् । र सार्वजनिक रूपमै उर्दी जारी गर्छन् परिवार, समाज, रीतिरिवाज, संस्कृति जोगाउनकै लागि पनि पोथीहरू बास्नु हुँदैन भनेर ।

यसरी मुलुकको नेतृत्वले अझै पनि पोथी बास्नु हुँदैन भन्दै छ भने, महिला मुक्ति त धेरै टाढाको कुरा होला । ‘मलाई अन्याय भयो, न्याय चाहियो’ भन्न पनि नपाइने सामाजिक परिवेशमा आफ्नै सहकर्मी, आफन्त र छरछिमेकबाट सुरक्षित होइएला भनी कसरी ढुक्क हुने ? दिनभरि महिला अधिकारका, लैंगिक समानताका कुरा गरेर नथाक्ने; मुक्तिका सैद्धान्तिक प्रवचनहरूका खेती गरी जीविका चलाउनेहरू नै बेलुका घर गएर श्रीमतीलाई दुर्व्यवहार गर्ने, छोरीलाई नैतिक शिक्षामार्फत तीजमा सामन्ती पितृसत्ताको दीर्घायुको कामना गर्न पाठ सिकाउनेहरूले सामाजिक चेतनामा प्रभाव पारुन्जेल बास्न प्रयास गर्ने पोथीहरूलाई लगाइने लाञ्छना र गरिने अवहेलना उस्तै हुनेछन्, जुन ‘पोथी बास्नु हुँदैन’ भन्ने कविता सृजना गर्दाको परिवेशमा लगाइन्थ्यो ।

राजनीतिक परिवर्तनको नतिजालाई भरपूर प्रयोग गर्ने तर सामाजिक–सांस्कृतिक रूपान्तरणको प्रक्रियामा तगारो लगाउन चाहने दोहोरो चरित्रमा रमाइरहेको अहिलेको राजनीतिक, प्रशासनिक र न्यायिक नेतृत्वभित्रका महिलाविरोधि खिलहरू समाजबाट फाल्नका लागि त भाषण र अर्ती–उपदेश दिने होइन, ती पितृसत्तात्मक पिलाहरू नै निचोर्नुको विकल्प छैन । ती पिलाहरू पुँजीवादी होऊन् वा वामपन्थी, हुन् त आखिर सामन्ती पिलाहरू नै । र त्यसरी निचोर्नका लागि हाम्रोजस्तो वर्गीय समाजलाई ब्युँझाउन जरुरी छ । त्यसैले त पोथीहरू अझ प्रस्ट रूपमा, चर्को आवाजमा निरन्तर बासिरहनुको विकल्प छैन ।

साहित्यकार शर्माले भनेझैं, चेतनाहरूले साँचो कुरा बोल्न खोज्दा, मुख खोल्न खोज्दा हिंस्रक बर्बरताहरू एकैचोटि ब्युँझिएर मृत्युघण्ट ठोक्न खोज्दै छन् पीडितका विरुद्धमा; एकोहोरो शंख फुक्दै छन्, हिंसा फस्टाउनुमा महिलाहरू नै दोषी छन् भनेर । तर फेरि पनि बास्नुको विकल्प छैन किनकि राजनीतिक दर्शनको खोल ओढेर पितृसत्ताका धमिराहरूले तुलनात्मक रूपमा प्रगतिशील भनिएको समाजवाद–उन्मुख संविधान र यसका तपसिलका खाकाहरूको बर्खिलाफ मात्र गरिरहेका छैनन्, सामाजिक न्यायको न्यूनतम मर्म पनि भाँचिरहेका छन् ।

अनि सामाजिक न्यायका पक्षधरहरूका लागि पनि नैतिक परीक्षाको घडी आएको छ- सैद्धान्तिक खोलभित्र रचिएका हिंसाहरूलाई संस्थागत गर्न सहमत हुने कि हिंसापीडित नाबालिगसहित महिलाहरूको चेतनाको आवाजप्रति ऐक्यबद्धता जनाउने ? यो आजको अर्को अहं प्रश्न किन हो भने, प्राविधिक रूपमा शक्ति सम्झौताका खातिर लेखिएका कानुनका मोटा दफाहरूको सामन्ती व्याख्या–विश्लेषण र राजनीतिक पूर्वाग्रहले गरिने कार्यान्वयनले आजको हाम्रो समाजका छिद्रहरूबाट पलाएका हिंसा र उत्पीडनको जरोलाई उखेल्न सक्दैन भनी धेरै पटक पुष्टि भैसकेको छ । त्यसका लागि त बृहत् सामाजिक–सांस्कृतिक रूपान्तरणको, रणनीतिको खाँचो छ जुन कम्तीमा अहिलेको राजनीतिक नेतृत्वसँग छैन । त्यसैले त सामाजिक–सांस्कृतिक संक्रमणको यो समयमा पोथीहरू निरन्तर रूपमा बासिरहनुको विकल्प छैन ।

प्रकाशित : भाद्र ३, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?