३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

न्याय मरेकै हो त ?

झमक घिमिरे

नेपालमा न्याय मरेकै हो त ? यो समयमा अनेक घटना गराइएका छन् । त्यसको न उचित छानबिन भएको छ न त पीडित पक्षले न्याय पाएको छ । न्यायमूर्तिहरू पनि घटनाको सत्यतथ्य छानबिन गर्ने होइन, पीडित पक्षको आँसु, दर्द, पीडामा मलमपट्टी गर्ने होइन, टुलुटुलु हेरिरहन्छन् ।

न्याय मरेकै हो त ?

यहाँ निर्मला पन्त त एउटी प्रतिनिधि पात्र मात्र हुन् कैयौं निर्मला मारिइरहेका छन् । तिनका बरखिलापमा जनताले सडकमा आवाज त निरन्तर निकालेकै हुन्छन् तर तिनलाई गम्भीरतापूर्वक सुनेर सम्बोधन गर्न कुनै सरकारले पनि सकेका छैनन् । अनेक सन्दर्भमा हेर्दा न्याय पाउन नसकेका मान्छेहरूको ठूलै जमात छ । किन नेपालमा न्याय मर्दै छ ? निहारिका राजपुतले राष्ट्रपति भवन शीतलनिवास नजिकै पुगेर आफ्नो शरीरमा मट्टीतेल छर्किएर आत्मदाह गर्न खोजिन् तर पनि किन जुर्मुराएर उठ्दैन न्याय ? उनको न्यायको मागलाई संवेदनशील भएर सुन्नुको साटो पुलिसले लछारपछार पर्दै मानसिक यातना दिने काम गरेको छ । उफ् ! उनको घाउमा नुनचुक छरिएको छ । कति चहराइरहेको होला ? मनमनै सोचिरहेकी छु । वर्तमान रोइरहेको छ भने भविष्य के राम्रो होला र ?

यहाँ छ महिनाकी बच्ची आफ्नै हजुरबाले बलात्कार गरेका खबरहरू यत्रतत्र आइरहेका छन् । मान्छेमा यस्तो असंवेदनशीलता किन पलाइरहेको छ ? मान्छेमा यस्तो पाशविक भावना पलाउँदै छ किन ? ए समय ! तँ यति क्रूर र कुरूप भएको किन ? महिला–बालिकाहरूले आफ्नो अस्मिता भन्न पाएका छैनन् । यस्ता अपराधीहरूलाई उचित दण्ड दिनुको साटो उसलाई पुरस्कार दिइन्छ भने अपराधीहरूको मनोवृत्ति बढेर गइरहेको छ । न्यायमूर्तिहरू अपराधीहरूसामु निरीह बनेका छन् ।

वर्तमान परिवेशमा महिला र बालिकाहरू असुरक्षित छन् । उनीहरू आफ्नो घरकै पुरुष सदस्यहरूबाट सुरक्षित छैनन् । पुरुषत्व भनेको कसैलाई दमन गर्न पाएको होइन, निरीह मान्छेहरूको सहयोग गर्न पाएका हुन् । तर दुरुपयोग गरेर आफ्नै अपमान गरिरहेका छन् । कानुनी राज्यको कुरा गर्ने हो भने सबै नागरिकको हकमा समान हुनुपर्छ र हुनुपर्ने हो । तर यहाँ निहारिकाहरूले आफू बलात्कृत बनेर न्यायको ढोका खटखटाउँदा पनि न्यायमूर्तिहरूको आँखा पर्दैन । उनीहरूको मन पीडितहरूको पीडाले भतभती पोल्दैन । निर्मलाहरूको आत्मा चिच्याइरहन्छ न्यायका लागि तर कसले सुन्ने आत्माको गुहार ?

सत्तामा पुगे पनि न्यायको सवालमा कुनै दल गम्भीर देखिएनन् । हिजो जनता कानुनी राज्यको पक्षमा सडकमा उत्रिएका थिए । न्यायको पक्षमा आफ्नो प्यारो ज्यान समर्पण गरेका थिए । तर आज खोइ उनीहरूको रगत र पसिनाको मूल्य ? उनीहरूको आत्माको आवाज कसैले सुनेनन् । देशमा गणतन्त्र आयो, लोकतन्त्र आयो । तर न्यायको आशामा बसेका मान्छेहरूलाई न्याय नदिने ? कस्तो न्याय संयन्त्र हो हाम्रो ?

वर्षौंदेखि न्यायको प्रतीक्षामा बसेकी गंगामायाको शरीर जीर्ण भइसक्यो त्यो शरीरले अब न्यायको स्वर कहिलेसम्म थेग्ने ? डीएनए परीक्षण गर्न र दोषीलाई दण्ड दिन माग गर्दै आमरण अनशनमा बसेकी निहारिकाको न्यायपूर्ण आवाजलाई सम्बोधन गर्न र उनलाई न्याय दिन अहिलेको सरकारलाई केले रोकेको छ ? अनि न्यायमूर्तिहरू यो घटनालाई किन चुपचाप टुलुटुलु हेरेर बस्न बाध्य भएका छन् ? उनको सतित्व जबर्जस्ती लुटिएको छ । उनी कुमारी आमा बनेकी छन् । उनको गर्भबाट जन्मिएको बच्चाको डीएनए परीक्षण गरेर बाबु को हो पहिचान गरेर उसलाई सजाय दिनुका साथसाथै बच्चाको पालनपोषण गर्ने वातावरणको सिर्जना गरिदिनुपर्छ । आमाको नामबाट बच्चाको जन्म दर्ता अनि नागरिकता बनाउने कानुनी प्रक्रियालाई सहज बनाइनुपर्छ ।

प्रकाशित : भाद्र ३, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?