कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फैलँदो पूर्व, खुम्चिँदो पश्चिम

आफ्नो वर्चस्वका पाँच सय वर्षको इतिहासमा पश्चिमाले आफूअनुकूलका विश्वस्तर संस्थागत संरचना र पूर्वाधारहरू बनाएका छन्, जसले पश्चिमा स्वार्थकै रक्षार्थ र हितार्थ काम गर्छन् ।
निष्णु थिङ

गिडियन रक्म्यानद्वारा लिखित पुस्तक ‘इस्टर्नाइजेसनः वार एन्ड पिस इन द एसियन सेन्चुरी’ ले अबको युग पूर्वको हो भन्दै विश्वशक्ति पूर्वमा सर्ने निष्कर्ष निकालेको छ । पछिल्ला पाँच सय वर्षसम्म पश्चिमाले विश्वमा शासन गरेको र उनीहरू नै विश्व शक्ति रहँदै आएको परिप्रेक्ष्यमा अब त्यो शक्ति पूर्वमा सर्ने उनको विश्लेषणका केही ठोस आधारहरू छन् ।

फैलँदो पूर्व, खुम्चिँदो पश्चिम

उनका अनुसार, पश्चिमा शक्ति तीनवटा आधारमा निर्मित भएको थियो- प्रविधि, सैन्य क्षमता र आर्थिक प्रभुत्व । ती तीनै आधारमा तीव्र क्षयीकरण हुँदै छ भन्ने उनको निष्कर्ष छ ।

अहिलेको विश्व व्यवस्थामा पाँच प्रमुख आर्थिक शक्तिमध्ये तीनवटा त एसियाकै छन् । चीन, भारत र जापान । चीन अब पहिलो आर्थिक शक्ति बन्दै छ, भारत अहिले तेस्रो रहेकामा केही समयपश्चात् दोस्रोमा उक्लिने प्रक्षेपण गरिएको छ । चीन र भारतले मात्रै विश्वको कुल जनसंख्याको ४० प्रतिशत ओगट्छन् । एसियाकै जापान, दक्षिण कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, भियतनामसहित गर्दा विश्व शक्तिको रंगमञ्चमा पूर्वको पल्ला भारी हुँदै छ । विश्व व्यवस्थाको जीडीपीमा पूर्वको देन बढ्दो र पश्चिमको घट्दो छ । विश्वको जीडीपीमा कुनै बेला अमेरिका एक्लैले ३५ प्रतिशत योगदान गर्थ्यो, जुन अहिले १७ प्रतिशतमा झरेको छ ।

अमेरिकी आर्थिक शक्तिमा गिरावटको प्रत्यक्ष असर सामाजिक क्षेत्रमा पनि परेको छ । विगतमा अमेरिकालाई ‘स्वप्न भूमि’ का रूपमा चित्रण गरिन्थ्यो । अमेरिकाको स्वतन्त्रताको मूर्तिलाई प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रता र खुसीको प्रतीकका रूपमा लिइन्थ्यो । आर्थिक शक्ति खुम्चिएसँगै अमेरिकामा अनुदारवाद बढ्दै गएको छ । उदारवाद, खुला बजार व्यवस्था र मानवअधिकारका नायक अमेरिका र बेलायत अहिले अनुदारवादको वकालत गर्न थालेका छन् । बेलायत ब्रेक्जिटमार्फत आत्मकेन्द्रित यात्रातिर लागेको छ । योसँगै अमेरिकामा पनि मागा (मेक अमेरिका ग्रेट अगेन) आवाज बुलन्द भइरहेको छ, जसको नेतृत्व डोनाल्ड ट्रम्पले गर्दै छन् । विश्वग्राम (ग्लोबल भिलेज) बनाउने विश्व अभियानमा हिँडेको अमेरिका अहिले त्यहाँ पुगेका आप्रवासीहरूप्रति अति नै अनुदार बन्दै गइरहेको छ । श्वेत अमेरिकीहरूले आफ्नो रोटी खोसिएको गुनासो गर्न थालेका छन् । आप्रवासीहरूप्रति भौतिक आक्रमण र दुर्व्यवहार बढेको छ ।

तीन फैसलाको सन्देश

चीनले लामो समयदेखि एक सन्तान नीति अपनाउँदै आयो । करिब पैंतीस वर्षपछि त्यो नीति अन्त गर्दै सन् २०१३ र २०१७ मा एकबाट दुई सन्तानको नीति थालनी गर्‍यो । भर्खरै, अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन गर्न नपाइने फैसला गर्‍यो । यता भारतको सर्वोच्च अदालतले कुमारी महिलाले गर्भपतन गर्न पाउने फैसला गर्‍यो । उस्तै समयमा भएका यी फैसलाहरूले दूरगामी बहुपक्षीय प्रभाव पार्ने स्पष्टै छ । यी ऐतिहासिक घटनावलीको सन्देश निकै गम्भीर र गहिरो छ । अमेरिकाको सर्वोच्च अदालतको उक्त फैसलाको विरोध विश्वव्यापी रूपमा हुन थालेको छ । अमेरिकी समाज, व्यवस्था र संस्कृतिलाई आदर्श मान्दै आएका देश, संगठन र समूहहरू यसबाट झस्केका छन् । महिलाहरू स्वतन्त्र ठानिने अमेरिकामा अहिले गर्भपतनको नैसर्गिक हकलाई गैरकानुनी करार गराइनु अमेरिकी समाज र राज्य व्यवस्था नै अनुदारवादतर्फ अग्रसर भएको संकेत हो । यसले अमेरिका बन्द समाजतिर उन्मुख हुँदै गएको देखाउँछ ।

यता पूर्वका मुख्य देशहरू चीन र भारतको राज्यनीति भने उदार हुँदै गएको छ । चीन त्यति लामो समयसम्म अभ्यास गरेको एक सन्तान नीतिलाई अन्त्य गरेर खुला र उदारतातर्फ अगाडि बढेको छ । चिनियाँ समाजमा बरु नागरिक स्वतन्त्रतालाई बिस्तारै स्थान र महत्त्व दिन थालिएको देखिन्छ । एकदलीय शासनको अधिनायकत्वमा नागरिक अधिकार र स्वतन्त्रता कुण्ठित गरेको आरोप खेप्दै आएको चीनमा यस्तो ऐतिहासिक निर्णय हुनु चानचुने विषय होइन । भारतको सर्वोच्च अदालतको कुमारी महिलाले अनिच्छित गर्भपतन गर्न पाउने फैसला पनि कम ऐतिहासिक होइन । जबकि पूर्वीय समाज र सभ्यतालाई पश्चिमाहरूले रूढिवादी, अन्धविश्वासी र परम्परागत रहेको आरोप लगाउँदै आएका थिए ।

थुसिडाइडेस पासो

ग्राहम अलिशनले आफ्नो पुस्तक ‘डेस्टाइन्ड फर वार’ मा थुसिडाइडेस पासोबारे सैद्धान्तिक विवेचना गरेका छन्, इतिहास कोट्याउँदै प्राचीन एथेन्स र स्पार्टाको प्रसंग उल्लेख गरेका छन् । यी दुई राज्यमा एउटा खुम्चिँदै अस्ताउँदो र अर्को फैलिँदै उदाउँदो अवस्थामा थिए । पूर्व महाशक्ति स्पार्टालाई एथेन्सको उदयले मनोवैज्ञानिक त्रास उत्पन्न गराएको थियो, घट्दो र बढ्दो शक्तिबीच उत्पन्न हुने टकराव र युद्धलाई अलिशनले थुसिडाइडेस पासोका रूपमा व्याख्या गरेका छन् । दुई हजार वर्षअगाडिको एथेन्स र स्पार्टाबीचको युद्धलाई उनले थुसिडाइडेस पासो परिभाषित गरेका छन् । उनले यसलाई अझ सरलीकरण गर्दै, पहिलो विश्वयुद्धका दुस्मन बेलायत र जर्मनीको पनि उदाहरण प्रस्तुत गरेका छन् । त्यति बेला यी देशबीच विवाद भए पनि राम्रै व्यापारिक–आर्थिक कारोबार र सम्बन्ध थियो, एकअर्काप्रति अन्तरनिर्भरता हुँदाहुँदै पनि पहिलो विश्वयुद्ध भयो ।

अहिले चीन र अमेरिकाबीच पनि खर्बौं डलरको कारोबार छ । व्यापारिक, आर्थिक र शैक्षिक क्षेत्रमा त्यत्तिकै सहकार्य र प्रतिस्पर्धा छ । अमेरिकाका विश्वविद्यालयहरूमा सबभन्दा बढी विद्यार्थी चिनियाँ नै छन्, करिब ३१.५ प्रतिशत । भारतीय विद्यार्थी १७ प्रतिशत छन् । अमेरिका–चीन सम्बन्ध फराकिलो र विविधतायुक्त हुँदाहुँदै पनि युद्ध छेडिन्छ कि, थुसिडाइडेस पासोमा परिन्छ कि भन्ने चिन्ता विश्वमा छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका भ्रमणमा थुसिडाइडेस पासोबारे पनि बोलेका थिए । चीन यस्तो पासोमा पर्न चाहिरहेको छैन, सकभर छल्न खोज्दै छ । अलिशनका अनुसार, युद्ध अवश्यम्भावी छ, टार्न सकिँदैन । पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिकालाई शीतयुद्धमा प्रवेश गराएको छ ।

संस्थागत लाभ

खुम्चिँदै गएको, क्षयीकरण हुँदै गएको पश्चिमालाई संस्थागत लाभ भने रहेको दाबी गर्दै गिडियन रक्म्यानले लेखेका छन्— आफ्नो वर्चस्वका पाँच सय वर्षको इतिहासमा पश्चिमाले आफूअनुकूलका विश्वस्तर संस्थागत संरचना र पूर्वाधारहरू बनाएका छन्, जसले पश्चिमा स्वार्थकै रक्षार्थ र हितार्थ काम गर्छन् । विश्वस्तरका त्यस्ता संस्था हुन्— संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, स्वीफ्ट (सोसाइटी फर इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन), फिफा, गाफा (गुगल, एप्पल, फेसबुक र अमेजन), आइक्यान (इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम एन्ड नम्बर्स) जसले विश्वभरिका इन्टरनेटको व्यवस्थापन र नियन्त्रण गर्छ । पश्चिम (अमेरिका) ले आफ्नो प्रभुत्वकालमा दृश्य–अदृश्य सञ्जालहरू बिछ्याएको छ । मुख्यतः अदृश्य अन्तर्जालहरूले महत्त्वपूर्ण काम गर्ने भएकाले पश्चिमबाट शक्ति सजिलै पूर्वतिर हस्तान्तरण नहुने रक्म्यानको ठम्याइ छ । उनले एक्काइसौं शताब्दीमा पूर्वीयकरणले सबै मानव जातिको हितलाई व्यवस्थापन गर्ने प्रक्रियालाई ठूलो राजनीतिक चुनौती मान्दै त्यो कार्य गर्न सके पूर्वीयकरण हुने आशय व्यक्त गरेका छन् ।

अन्त्यमा, अहिले पनि अमेरिकी सपनाले विश्वका प्रायः मानिसलाई लोभ्याउँदै आएको छ । चीनले अगाडि सारेको चिनियाँ सपना बिस्तारै चर्चामा आउन थालेको छ । ‘अमेरिकन ड्रिम’ ले व्यक्तिलाई सर्वोपरि मान्छ भने ‘चाइनिज ड्रिम’ ले चाहिँ सैद्धान्तिक रूपमा समूहलाई बढी महत्त्व दिँदै आएको छ । प्रविधि, सैन्य, अर्थ र व्यापारबाहेक सामाजिक, लैंगिक दृष्टिले अमेरिका अनुदारवादतर्फ उन्मुख हुँदै गएको देखिन्छ । यता उदाउँदो पूर्व भने एक सन्तान नीतिको अन्त्य र कुमारी महिलाले गर्भपतन गर्न पाउने हक स्थापित गर्दै उदार राज्य व्यवस्थातिर अघि बढ्दै छ । यसले बन्द समाज खुलातिर र खुला समाज बन्दतिरको यात्रामा लागेको सन्देश दिएको छ ।

थिङ नीति अनुसन्धान प्रतिष्ठानमा आबद्ध छन् ।

प्रकाशित : भाद्र ३, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?