१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नीरस कृषिमा रस

विश्वभरि नै एग्रो–टुरिजमको बजार बढ्दो छ । ताइवान, इटली, स्पेन, ब्राजिल, अमेरिका, फिलिपिन्स लगायत कृषि–पर्यटनका लोकप्रिय गन्तव्य मुलुक हुन् ।
जसरी अचेल मान्छेलाई हातले कपडा धुन गाह्रो लाग्छ, तर वासिङ मेसिनमा सजिलो र आकर्षक लाग्छ, कृषिकर्ममा पनि त्यस्तै आकर्षण चाहिएको छ ।
मैना धिताल

मुलुकमा कृषि क्रान्तिका कुरा धेरै भएका छन् । तर, ती सबै गफमा बढी सीमित भए । कृषिका कुरा गर्नेबित्तिकै मानिसहरूका ओठ लेप्रिन थाल्छन् । कसैले के पढेको भनेर सोध्यो र तपाईंले ‘कृषि’ भन्नुभयो भने ‘खेतीपाती पढेर पनि कोही ठूलो हुन्छ ?

नीरस कृषिमा रस

डाक्टर–इन्जिनियर पो पढ्नुपर्छ’ भन्ने जवाफ आउँछ । कृषि विषय रसिलो बन्न सकेको छैन । जतिसुकै ठूला कुरा गरे पनि यसलाई अहिलेसम्म मूलतः नपढेका, अरू क्षेत्रमा केही गर्न नसकेका र भुइँतहका मान्छेहरूले गर्ने पेसाका रूपमा लिइन्छ । हेपिएको कृषि क्षेत्रलाई ‘ग्ल्यामराइजेसन’ गर्नु अहिलेको चुनौती र आवश्यकता हो ।

कसरी आकर्षित गर्ने ?

कृषिलाई परम्परागत तरिकाले मात्रै अघि बढाउन खोज्दा सफल हुने देखिँदैन । बाँझो खेत खनेर परम्परागत शैलीमै धान–मकै लगाउँ भन्दा धेरै जना उत्साहित नहुन सक्छन् । किनकि त्यसले दिने प्रतिफल गतिलो छैन । तर, त्यसलाई उद्योग–व्यवसाय, शिक्षा, संस्कृति, पर्यटन र मनोरञ्जनसँग जोड्न सके त्यसतर्फ आकर्षण बढ्न सक्छ ।

राम्रो भनौं वा नराम्रो, नेपालीहरूको देखासिकी गर्ने बानी छ । कृषिमा पनि कुनै ठाउँमा कसैले राम्रो गर्‍यो भने अन्यत्र देखासिकी हुनेछ । पछिल्लो समय केही भइरहेका पनि छन् । त्यसैले दुई–चार ठाउँमा मोडल परियोजना मात्रै गर्न सकियो र त्यसमा युवा पुस्तालाई लगाउन सकियो भने यसले देशभरि नै अरूलाई पनि सिको गर्न प्रोत्साहन गर्नेछ । तर, एक जना कुखुरा पालेर सफल भएको देखेपछि पूरै जिल्लाले कुखुरा मात्रै पाल्न थाले भने समस्या हुन सक्छ । आ–आफूबीचको प्रतिस्पर्धाले टिक्न नसक्ने अवस्था आउँछ । बरु त्यस्तो अवस्थामा सामुदायिक तहबाटै मिलेर गर्न सकिन्छ । कृषिभित्र पनि विविधीकरणको खाँचो छ ।

एकातिर नेपाललाई कृषिप्रधान देश भनिएको छ, अर्कातिर, पर्यटन क्षेत्र, जसले रोजगारी र विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण टेवा पुर्‍याउँदै आएको छ । यी दुइटै क्षेत्रलाई जोडेर काम गर्न सके मुलुकले अझ ठूलो लाभ लिन सक्छ । अर्थात्, कृषि–पर्यटन (एग्रो–टुरिजम) बाट युवालाई कृषि व्यवसायमा आकर्षित गर्न सकिन्छ ।

अरू देशका उदाहरण

विभिन्न देशले एग्रो–टुरिजमबाट राम्रो गरेका छन् । ताइवान, इटली, स्पेन, ब्राजिल, अमेरिका, फिलिपिन्सलगायत कृषि–पर्यटनका लोकप्रिय गन्तव्य मुलुक हुन् । ताइवानमा सन् २०११ मा ४६७ यस्ता एग्रो–टुरिजमसम्बन्धी फार्म थिए (ताइपेई टाइम्स, २५ अक्टोबर २०१२) । साना कृषि फार्मले लाइसेन्स नलिईकनै यस्ता व्यापार–व्यवसाय गर्ने भएकाले यिनको संख्या निकै ठूलो रहेको अनुमान छ । ती फार्ममा १ करोड ४० लाखभन्दा बढीले भ्रमण गरेका थिए । उक्त वर्ष कृषि–पर्यटनसम्बन्धी उद्योगले ताइवानको अर्थतन्त्रमा ७ अर्ब २८ लाख ताइवानी डलर योगदान गरेका थिए ।

अमेरिकामा पनि एग्रो–टुरिजम लोकप्रिय छ । जस्तो, स्याउ फल्ने मौसममा पर्यटकले स्याउका बगैंचाहरू भरिन्छन् । स्याउ, स्ट्रबेरी, ब्लुबेरीजस्ता फलफूल पाक्ने सिजनमा बगानमा घुम्न जाने र आफूलाई चाहिएजति आफैंले टिप्ने । फलफूल र तरकारी पाक्ने सिजनमा ‘यु पिक’ (तपाईं आफै टिप्नुस्) भन्ने अभियानै चल्छ । यस्तै, क्रिसमसका बेला आफैं छानेर क्रिसमसका रूखहरू काट्न जाने, ह्यालोइनका बेला फर्सी टिप्न जानेजस्ता गतिविधि हुन्छन् । वाइनरी भनेर अंगुरको बगानदेखि त्यो कसरी टिपेर बनाइन्छ, प्रशोधन गरिन्छ भन्ने सबै हेर्न, बुझ्न र चाख्न पाइन्छ । स्थानीय उपभोक्तादेखि आन्तरिक र बाह्य पर्यटकहरू वाइनरीमा गएर वाइन टेस्ट गर्ने र आफूलाई मन परेको वाइन किन्ने गर्छन् । कतिपय वाइनरीले साथमा रेस्टुरेन्ट पनि चलाउँछन् ।

अमेरिकामा कृषि जनगणनाको तथ्यांकअनुसार, सन् २००२ देखि २०१७ बीच कृषि–पर्यटनबाट हुने आम्दानी तीन गुणाले बढेर ९५० मिलियन डलर (करिब १ खर्ब रुपैयाँ) पुगेको थियो । अमेरिकामा मात्रै हैन, विश्वभरि नै एग्रो–टुरिजमको बजार बढ्दो छ । सन् २०२० देखि २०२७ सम्म एग्रो–टुरिजमको विश्वबजार ७.४२ प्रतिशतले बढेर ११७.३७ अर्ब डलर पुग्ने अनुमान छ (फर्च्युन बिजनेस इन्साइट, २६ मे २०२२) ।

स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न यस्ता खाले एग्रो–टुरिजमका सम्भावना थुप्रै छन् । पछिल्लो समय नेपालीहरू देशभित्रै पनि घुम्न जाने क्रम बढेको छ । विदेशी पर्यटकलाई पनि हिमाल मात्रै देखाएर फर्काउनुपर्दैन, हाम्रो संस्कृति र जनजीवनको पाटोसमेत अनुभव गराउन सकिन्छ ।

युवा जनसंख्या कामका लागि बिदेसिने र केही सहर छिर्ने क्रमले गाउँघर शून्य बनेका छन् । जग्गाजमिन काँडाघारीमा परिणत भइरहेका छन् । गाउँघरमा कृषिलाई पर्यटनसँग जोडेर ती उजाड बस्तीलाई फेरि चलायमान बनाउन सकिन्छ । जीविकाका लागि मात्रै खेतीपाती गर्ने किसानले यसबाट आयआर्जन पनि गर्न सक्छन् । अर्कातर्फ, सांस्कृतिक र सामाजिक पक्षलाई पनि जीवन्त बनाइराख्न मद्दत मिल्छ ।

विद्यालय शिक्षामै कृषि

कृषिलाई विद्यालय तहदेखि नै गाँस्न आवश्यक छ । बालबच्चाहरूलाई जीवनोपयोगी कृषिसम्बन्धी सीप सिकाउने गरी पाठ्यक्रमहरू विकास गर्न जरुरी छ । त्यसो भयो भने मात्रै उनीहरूले यसलाई भार नभई ‘प्यासन’ का रूपमा लिन सक्छन् ।

त्यसका लागि उनीहरूले गर्न सक्ने खालका साना र सजिला परियोजनाबाट सुरु गर्न सकिन्छ । जसरी बच्चाहरू घरमा कुकुर र बिरालो पाल्न आकर्षित हुन्छन्, त्यसैगरी सानो कुखुरा, हाँस वा बाख्रा पाल्ने वा सानो तरकारी बारी लगाउने सीप सिकाउन सकिन्छ । धेरै जनघनत्व भएका सहरहरूमा सम्भव नहोला, तर गाउँ र सहरोन्मुख क्षेत्रमा यस्तो गर्न सकिन्छ ।

यस्तै, विद्यालयमा स्थानीय रूपमा उत्पादित कृषि उत्पादनलाई विद्यालयको दिवा खाजामा समावेश गर्ने, स्कुलमै तरकारी बारी चलाउने र विद्यार्थीलाई त्यसमा सहभागी गराउने, स्थानीय स्तरमा सञ्चालित कृषि फार्म छ वा कसैले व्यावसायिक फलफूल वा तरकारी खेती गरेको छ भने त्यहाँ देखाउन लैजाने गर्न सकिन्छ । विद्यार्थीहरूका लागि रेस्टुरेन्ट वा होटलका सेफहरूमार्फत स्थानीय उत्पादनबाट कसरी स्वादिष्ट र रुचिकर खानेकुरा बनाउने भनी प्रदर्शन गर्न लगाउन वा अनुभव बाँड्न सकिन्छ ।

हरेक पालिकामा कम्तीमा एउटा विद्यालयमा कृषिलाई अनिवार्य विषय बनाई सीपमूलक क्षमता विकाससँग जोड्न सक्नुपर्छ ।

होमस्टेसँगै अरू गतिविधि

त्यसो त पछिल्ला वर्षहरूमा होमस्टेहरू खुल्ने क्रम बढ्दो छ तर धेरैजसो होमस्टे पर्यटकलाई एक रात बसाउन अनि लोकल कुखुरा र दालभात खुवाउनमै सीमित छन् । गाउँघरमा खुलेका होमस्टेमा सत्कार पाइए पनि सरसफाइ, खानाको विविधीकरण र प्रस्तुतीकरणलगायतमा सुधार हुन सकेको छैन । मौलिक खानालाई पनि केही परिष्कृत गरेर प्रवर्द्धन गर्न सकिन्छ । अर्को, कृषि–पर्यटनमार्फत पर्यटकको बसाइ लम्ब्याउने गतिविधि पनि होमस्टेहरूले ल्याउनुपर्छ । सहरमा जन्मेहुर्केका बालबालिकालाई ढिकी, जाँतो, हलो, कोदालोजस्ता सामान नौला लाग्न थालिसकेका छन् । ढिकीमा कुटेको चामल र जाँतोमा पिसेको पीठोलगायत लोकल उत्पादनबाट बनेको खाना खुवाउने गरेसँगसँगै त्यो कसरी उत्पादन हुन्छ भनेर प्रत्यक्ष अवलोकन गराउने व्यवस्था किन नगर्ने ? अनि गाई–भैंसीको दूध, बाख्रा वा कुखुराबाट बनेका परिकार खुवाएसँगसँगै ती जनावरको पूरै जीवनकालको सूचना दिने गरी कार्यक्रम ल्याउन सकिन्छ । कसरी किसानले तिनको रेखदेख गर्छन्, के खुवाउँछन्, स्वास्थ्यको कसरी ख्याल गर्छन्, प्रजननका लागि कहाँ कस्तो व्यवस्था हुन्छ, दूध र दूधसम्बन्धी उत्पादन कसरी गरिन्छ भन्ने सबै देखाउन सकिन्छ ।

सरकारी लगानी

यस पालि सरकारले कृषि क्षेत्रका लागि बजेट केही बढाएर करिब ५६ अर्ब रुपैयाँ छुट्ट्याएको छ । ग्रामीण क्षेत्रलाई कृषि उत्पादन केन्द्रका रूपमा विकास गरिने बजेटले उल्लेख गरेको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा आत्मनिर्भरमुखी कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्न १० अर्ब छुट्ट्याएको छ । किसानलाई कर्जा लिन ५ खर्बबराबरको लघुवित्त कोष स्थापना गर्ने घोषणा गरेको छ । त्यो सकारात्मक कुरा हो । तर फेरि पनि घोषणा मात्रै हैन, कार्यान्वयन ठूलो कुरा हो । बजेट छुट्ट्याउनु मात्रै ठूलो कुरा हुँदैन, समयमा र सही रूपले बजेट खर्च गर्न सक्ने वातावरण पनि हुनुपर्छ । कतिपय कुरा बजेटमा सधैं दोहोरिरहन्छन् तर कार्यान्वयन हुँदैनन् । परम्परागत ढर्राका कार्यक्रम र बजेट विनियोजनले मुलुकको कृषिको कायापलट गर्न सक्दैनन् ।

हरेक पालिकामा कम्तीमा एउटा नमुना परियोजनाका रूपमा पनि एग्रो–टुरिजमलाई प्रवर्द्धन गर्न आवश्यक छ । जापान, दक्षिण कोरिया, पोर्चुगल, इजरायललगायतमा नेपाली कामदार कृषिमा लागेका छन् । प्रोत्साहन र उचित वातावरण भएमा उनीहरूले त्यहाँ सिकेका अनुभवलाई यहाँ प्रयोग गर्न सक्छन् । कतिपय युवा स्वदेश फर्केर व्यावसायिक कृषिमा पनि लागेकै छन् ।

विदेशमा कमाएर पठाएको पैसालाई उत्पादनशील क्षेत्रमा लगाउनबाट राज्य चुकिरहेको छ । अब कृषिलाई ब्युँताउन यसलाई अवसरका रूपमा लिनुपर्छ । स्वदेशमा रहेका र विदेशबाट फर्कने सबैलाई रोजगारी दिन सक्छ यसले । खेतीपातीको शैली पुरातन नै भइरहँदा यो हेय पेसा नै बनिरहनेछ । जसरी अचेल मान्छेलाई हातले कपडा धुन गाह्रो लाग्छ, तर वासिङ मेसिनमा सजिलो र आकर्षक लाग्छ, कृषिकर्ममा पनि त्यस्तै आकर्षण चाहिएको छ । त्यसका लागि अलिकति आधुनिकीकरण, अलिकति व्यवसायीकरण, अलिकति रमाइलो बनाउन सके यसमा व्यावसायिक भावना भएका युवाहरूको आकर्षण बढ्न सक्छ । कामको खोजीमा बिदेसिएका युवाहरूलाई स्वदेशकै कृषिमा भविष्य खोज्न सक्ने वातावरण बनाउन पनि कृषिलाई आकर्षक बनाउनु आवश्यक छ ।

प्रकाशित : भाद्र १, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?