३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

महिलाद्वेषी मान्यताको निरन्तरता

सुशीला शर्मा

हाम्रो समाज पितृसत्तात्मक चरित्रको छ । यस्तो मान्यताले परिवारमा पुरुष सदस्यलाई मात्र सम्मानित स्थान तथा भूमिका दिन्छ । महिलालाई परिवारभित्रै दोस्रो तहको ठानिन्छ । हाम्रोजस्तो पिछडिएको समाजमा महिलामाथि हुने विभेद टड्कारै देखिन्छ । महिलाको जिम्मेवारी घरधन्दा तथा छोराछोरीको स्याहार–सुसार गर्नु हो भन्ने मानिन्छ । यो समाजले नै महिलालाई दिलाइदिएको भूमिका हो । तर महिला बुद्धि, विवेक र कार्यक्षमतामा पुरुषभन्दा कमजोर छैनन् । अवसर पाएकाहरूले समाजमा अग्रणी स्थान हासिल गरेका पनि छन् । यति हुँदाहुँदै पनि महिलाप्रति समाजको दृष्टिकोण राम्रो छैन । पुराना रीतिथिति, मूल्य मान्यतालाई आधार मानेर महिलाको कामको परिभाषा दिइन्छ । 

महिलाद्वेषी मान्यताको निरन्तरता

चाडपर्वमा रमाउन वा धर्मकर्ममा लाग्न सबै स्वतन्त्र हुन्छन् । यसो भनिरहँदा अभ्यासमा रहेका थितिहरू कत्तिको समय अनुसार, न्यायमूलक तथा वैज्ञानिक छन् भन्ने भेद बुझ्दै जानु समयको माग हो । नेपाली समाजमा कुनै बेला चल्तीमा रहेका सती, देउकी तथा झुमा प्रथा कानुनतः अवैज्ञानिक भइसके । यस्तो प्रथा मानवताविरोधी छ भनेर निषेध गरियो । तर अझै छाउपडी, बोक्सी, दाइजो, कुमारी लगायत प्रथा चलिरहेका छन् । धर्म र संस्कृतिको नाममा यस्ता प्रथा जीवित भइरहनुले महिला हिंसा बढाइरहेको छ ।

साउने सोमबार, तीज, स्वस्थानी व्रतकथा लगायत विशेषतः महिलाहरूले पुरुषहरूका नाममा आराधना गरेर मनाइने धार्मिक अनुष्ठानहरू हुन् । यसमा धेरै महिला यति अभ्यस्त भइसकेका छन् कि तिनको दैनिक जीवनमै प्रभाव पारेका छन् । घरको चौघेराबाट निस्केर अन्य महिलासँग नाचगान गर्ने अवसरका रूपमा पनि यस्ता चाडपर्वलाई लिने गरिन्छ । अचेल महिलाहरू अनेक झकिझकाउ पहिरनमा थरीथरीका डिजाइनका गहनाका साथ मन्दिरहरूमा थाली बोकेर लाइन लागिरहेका हुन्छन् । यहाँसम्म ठीकै छ । तर संस्कृतिभित्रका लैंगिक मान्यता, विभेद तथा महिलाको भूमिकाबारे महिलाहरू बेखबर हुनु हुन्न ।

अहिले धमाधम बजारमा तीजका गीतहरू आइरहेका छन् । अधिकांश गीतमा राम्रो लगाउने, खाने, माइत जाने, सासू–बुहारीको जुहारी लगायत विषय छन् । वर्षभरिका दुखेसो, गुनासो, तीजको गीतमा उन्मुक्त भएर पोखेकोजस्तो पनि लाग्छ । अर्कातिर ‘काइँयोदेखि झुम्कासम्म ल्याइदेऊ श्रीमान्’ भनेर आग्रह गरेका गीतहरू छन् । कतिपय गीतले ‘महिला भनेका गृहलक्ष्मी’ हुन् पनि भन्छ । ‘घर सम्हाल्दै लोग्ने रिझाएपछि तिनले लगाउने, खाने रहर पूरा गरिदिनुपर्छ’ भन्ने मान्यताका गीतहरू पनि छन् । ‘चरी जेलैमा’ गीत तीजमा खुबै सुनिन्छ । सर्जकले महिला–पुरुषको सम्बन्धमा हुनुपर्ने समय अनुसारको परिवर्तन सम्बन्धी गीत लेख्दैनन् । गायकले पनि परिवर्तनका गीत विरलै गाउँछन् । यस्ता गीतहरूमा केवल गुनासा, कर्म, भाग्य, कमाएर ल्याइदेओस् भन्ने आशाहरू बढी सुनिन्छन् । के महिला भोगवादी र भाग्यवादी मात्र छन् त ?

फ्रान्सकी प्रसिद्ध नारीवादी लेखिका तथा दार्शनिक सिमोन द बोउआरले ‘द सेकेन्ड सेक्स’ मा महिलाहरू पुरुषको तुलनामा पछाडि पारिनुको जरैदेखिको कारण खोतलेकी छन् । उनका अनुसार पुरुषले महिलालाई आफ्नै सापेक्षतामा परिभाषित गरेका छन् । जीवविज्ञानका तथ्यहरूलाई आर्थिक, सामाजिक र शारीरिक दृष्टिकोणले हेरिनुपर्छ । महिनावारी, महिला यौनिकता लगायत विषय पनि पुरुषकै आँखाले हेरिने हुनाले महिलाप्रतिको दृष्टिकोणमा समस्या छ भन्ने बोउआरको मतसँग पूर्णतः सहमत हुन सकिन्छ । यहाँ विवाह तथा मातृत्वलाई पनि पुरुषले नै व्याख्या गरिदिएका छन् ।

महिलालाई पुरुष मानसिकताले हेर्दा महिलाका बारे काल्पनिक कुराहरूले स्थान पाएका छन् । यस्ता विषयमा वैज्ञानिक धारणा बनाउनुपर्छ भन्ने बोउआरको भनाइ विश्वप्रसिद्ध छ । उनले जरैदेखि कसरी महिलाद्वेषी मानसिकता उखेल्ने भन्ने उपाय दिएकी छन्, जुन हाम्रोमा पनि लागू हुन्छ । हाम्रा समाजमा महिलाप्रतिको धारणा बनाउन संस्कृति र धर्मको भूमिका छ र त्यसलाई निरन्तरता दिइरहेका छौं । यसैलाई मुक्तिको बाटो, भाग्यको पाटो भनेर भनिरहनु हाम्रो संस्कृतिमा भएका भेद नबुझ्नु त होइन ? अबका दिनमा महिलाले धर्म र संस्कृतिका नाममा थोपरिएको राजनीति बुझ्नैपर्छ र यसका लागि हाम्रो समाज, संस्कृति र धार्मिक मानिएका पक्षहरूलाई पनि आलोचनात्मक दृष्टिकोणले हेर्नैपर्छ । बोउआरले भनेझैं महिलालाई हेर्ने वैज्ञानिक दृष्टि बनाउनुपर्छ । मान्नुपर्ने कला–संस्कृतिलाई फैलाउनुपर्छ र महिलालाई उपभोग्य वस्तु ठान्ने मूल्यमान्यतालाई छाड्दै जानुपर्छ ।

प्रकाशित : श्रावण ३०, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?