१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अभूतपूर्ण बाघवृद्धि : उत्साह र आतंक

युवराज भट्टराई

बाघ वृद्धि र चुनौती
पछिल्लो बाघ गणना अनुसार नेपालमा पाटे बाघको संख्या ३५५ पुगेको छ, जुन सन् २००९ मा १२१ थियो । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने २०१० को पिटर्सबर्ग सन्धिको महत्त्वाकांक्षी घोषणायता नेपालले झन्डै तीन गुणाले बाघवृद्धि गरेर अभूतपूर्ण उपलब्धि हासिल गरेको छ ।

अभूतपूर्ण बाघवृद्धि : उत्साह र आतंक

पछिल्लो बाघवृद्धि धेरै उत्साहजनक छ । बाघ पाइने हरेक निकुञ्जमा तिनको संख्या उल्लेख्य बढेको छ । अघिल्लो सर्वेक्षणमा चितवनमा बाघको संख्या ९३ मा झरेको थियो भने शुक्लाफाँटामा यथास्थितिमा थियो । यसपालि चितवनमै बाघको संख्या १२८ पुगिसकेको छ । शुक्लाफाँटा र पर्सामा शतप्रतिशतभन्दा अधिकले वृद्धि हुँदै क्रमशः १६ बाट ३६ र १८ बाट ४१ पुगेको छ । बर्दियामा बाघको संख्या ८७ बाट १२५ पुगिसकेको छ भने तुलनात्मक रूपमा कम वृद्धि भएको बाँकेमा २१ बाट २५ पुगेको छ ।

चितवन र बर्दियामा बाघ र आहारा प्रजातिको घनत्व पनि उच्च छ । चितवन र बर्दियामा पहिल्यै प्रति सय वर्गकिलोमिटर ३ देखि ५ बाघ देखिएका थिए । अब त्यहाँको घनत्व क्रमशः ४.०६ र ७.१७ छ । पर्सामा यो घनत्व १.७४ छ । चितवन, बर्दिया र पर्सामा आहारा प्रजातिको घनत्व पनि प्रतिवर्गकिलोमिटर क्रमशः १००, ९० र ७५ छ । चितवनको आहारा घनत्व र अन्य पारिस्थितिक प्रणालीको पछिल्लो अध्ययनका आधारमा यो निकुञ्जले १३६ बाघ धान्न सक्ने संरक्षणकर्मीहरूले बताइसकेका छन् । अनि नेपाल ४०० पाटे बाघका लागि सुरक्षित घर बन्न सक्ने गर्विला तर्कहरू पनि सुनिन थालेका छन् ।

बाघको उत्साहजनक वृद्धिसँगसँगै चितवन र बर्दियाका मध्यवर्ती क्षेत्रका समुदायले चुकाएको मूल्य भने एकदमै चर्को छ । तीन वर्षयता चितवन र बर्दियामा मात्रै ६० जनाजति सर्वसाधारण बाघद्वारा मारिएका छन् । पछिल्लो आर्थिक वर्षभित्र मात्रै प्रतिमहिना सरदर ३ जना त्यसरी मारिएका छन् । यस्तो अवस्थामा निकुञ्जको क्षेत्रफल र सिकार घनत्वकै आधारमा मात्रै निकुञ्जको भारवहन क्षमता निर्धारण गर्नु युक्तिसंगत हुँदैन ।

भारतको उत्तराखण्डको जिम कुर्बेट टाइगर रिजर्भसँग तुलना गर्ने हो भने त चितवन र बर्दियाले अझै थप बाघ धान्छन् भन्ने लाग्न सक्छ । ९५२ वर्गकिलोमिटर क्षेत्रफल भएको चितवनमा १२८ बाघ छन् भने ५२१ वर्गकिलोमिटर क्षेत्रको जिम कुर्बेटमा २३१ वटा । त्यहाँ प्रति सय वर्गकिलोमिटरमा १३ देखि १४ बाघ छन् । यद्यपि त्यहाँ चितवन र बर्दियाका तुलनामा मानव–बाघ द्वन्द्व कम छ ।

कहिलेकाहीँ एउटै वयस्क बाघले २०० वर्गकिलोमिटरसम्म क्षेत्र ओगट्न सक्छ र आन्तरिक द्वन्द्व चर्कन सक्छ । द्वन्द्वबाट बाघहरू घाइते हुने र परम्परागत इलाकाबाट विस्थापित हुने प्रक्रिया पनि चलिरहन्छ । विस्थापित बाघहरू मानवइलाकामा प्रवेश गर्ने र मानव–बाघ द्वन्द्व निम्तने खतरा पनि त्यत्तिकै हुन्छ । सम्भवतः पछिल्ला वर्ष बर्दिया र चितवनको बाघ–मानव द्वन्द्वको चुरो कारण पनि यहाँको निरपेक्ष घनत्व नै हो । घनत्व अत्यधिक भए पनि जिम कुर्बेट टाइगर रिजर्भ आसपास नेपालमा जत्तिको बाघ–मानव द्वन्द्व नदेखिनुको कारण त्यहाँका द्वन्द्वबाट विस्थापित बाघको सहज पुनःस्थापना हुन सक्छ ।

भर्खरै भारतले उत्तराखण्डमा जिम कुर्बेट टाइगर रिजर्भबाट उत्तरी पहाडी क्षेत्रहरूलाई पनि बाघ क्षेत्रका रूपमा समेटेको छ । त्यहाँ अलमोडा लगायत बद्रीनाथसम्मै बाघ गणना गरिँदै छ । यसर्थ निकुञ्जभित्रको निश्चित क्षेत्रफल र सिकारको घनत्व मात्रैले बाघको संख्या यति हुनुपर्छ भनेर निर्धारण गर्दैन । बरु निकुञ्जको भारवहन क्षमता, त्यस आसपासका सीमावर्ती क्षेत्रको जनघनत्व, झाडी, वन, बुट्यान, खेतीयुक्त जमिन, मानव बस्ती तथा अन्य साना–ठूला जंगललाई जोड्ने करिडोरहरूले पनि त्यसलाई निर्धारण गरेका हुन्छन् । निकुञ्ज क्षेत्रमा बाघको घनत्वसँगै विस्थापित बाघकै कारण निकुञ्जबाहिर अहिलेको जस्तो बाघ–मानव द्वन्द्व बढ्दै जाने हो भने यसको नियन्त्रणका लागि निकुञ्जबाहिरको वातावरण र वस्तुस्थितिमा उत्तिकै ध्यान दिनुपर्छ । बाघ फैलन सक्ने अस्थायी/स्थायी इलाकाहरूको पहिचान गर्नुपर्छ । बाघ विचरणको प्रवृत्ति ख्याल गर्नुपर्छ ।

बाघले फैलन पाउनुपर्छ

हामीकहाँ बाघको अध्ययन विशेषतः निकुञ्ज तथा सीमावर्ती क्षेत्रमा केन्द्रित छ । बाघको विचरण प्रवृत्ति र निकुञ्जबाहिरका परम्परागत बाघ क्षेत्रबारे आवश्यक अध्ययनको कमी छ । यद्यपि पछिल्लो समय निकुञ्जबाहिरका विचरण इलाका र बाघको विचरण प्रवृत्तिबारे पनि अध्ययन–अनुसन्धान भइरहेको छ ।

अघिल्लो वर्ष भारतको पान्ना टाइगर्स रिजर्भकी एउटी बघिनी ९९ किलोमिटर लामो यात्रा गरी नयाँ बासस्थानमा सरेकी थिई । यो अहिलेसम्म रेकर्ड भएमध्येको सबैभन्दा लामो दूरीको बसाइँसराइ थियो । अनि उसको नयाँ इलाका संरक्षण क्षेत्रभित्र पनि पर्दैनथ्यो । ‘पी २१–२२’ कोड दिइएकी उक्त बघिनीले संरक्षण क्षेत्रबाहिरको नयाँ इलाकामा डमरुहरू जन्माएर हुर्काइरहेकी थिई । बाघले अन्य इलाकामा विचरण गर्नु तथा नयाँ बासस्थानमा सर्नु आफैंमा बाघको दीर्घकालीन संरक्षणका लागि महत्त्वपूर्ण छ । अझ बघिनीको लामो दूरीको स्थानान्तरणले त बाघको जिन तथा जनसंख्या फैलाउन ठूलो भूमिका खेल्ने गर्छ ।

नेपाल र भारतमा बाघ बासस्थान क्षेत्र धेरैतिर छरिएका छन्, करिडोरहरू छिन्नभिन्न छन् । अनि नयाँ बासस्थान पहिल्याउने क्रममा कतिपय अवस्थामा बाघले मानवबस्ती पार गर्नुपर्ने हुन्छ । पी २१–२२ पनि मानवबस्ती छल्न धेरैजसो राति हिँडेकी थिई । ऊ ससाना जंगल, खोल्सा र खेतहरू हुँदै अघि बढेकी थिई अनि २,०८२ वर्गकिलोमिटर बराबरको क्षेत्रमा विचरण गरेकी थिई । उसले १९ ठाउँलाई स्टेपिङ स्टोन (अस्थायी बासस्थान) बनाएकी थिई ।

‘स्टेपिङ स्टोन’ भनेको बासस्थान परिवर्तन गर्दा निश्चित समयका लागि पानी र खानाको राम्रो सुविधा भएको आश्रयस्थल हो । यस्ता ठाउँले नै बाघलाई धेरै टाढा–टाढा पुगेर पुनःस्थापित हुन सहयोग पुर्‍याउँछन् । ससाना जंगल, बुट्यान र झाडीले पनि स्टेपिङ स्टोनको भूमिका खेल्ने गर्छन् । बाघको घनत्व स्वस्थ र सापेक्ष राख्नु छ भने संरक्षण क्षेत्रबाहिरका कृषिक्षेत्र, साना

वनक्षेत्र र करिडोरहरूलाई उत्तिकै महत्त्व दिनुपर्छ । त्यसो त यसपालिको नेपालको बाघ गणनामै देखिएको छ, आवश्यक करिडोरहरू भए बाघहरू आफैंले पुनःस्थापित हुने सुरक्षित क्षेत्र पहिल्याउँछन् ।

जस्तै, शुक्लाफाँटा निकुञ्जमा बाघवृद्धि दुई गुणाभन्दा बढी भएको छ । यसमा पक्कै पनि आसपासका करिडोरहरूको उल्लेख्य भूमिका छ । सन् २०१८ मा त्यहाँ जम्मा १६ बाघ थिए, जसमा पनि भालेको संख्या अधिक थियो । नयाँ जन्मिएर मात्रै यो स्तरको वृद्धि सम्भव भएको होइन । त्यसो त अहिले लालझाडी–मोहना लगायत चुरेस्थित डडेलधुराको जोगबुडा लगायतका क्षेत्रमा बाघ देखिनुले के संकेत गरेको छ भने, निकुञ्ज आसपासमा वनक्षेत्रको पनि बाघ संरक्षणमा उत्तिकै ठूलो भूमिका हुने गर्छ । चुरेदेखि उत्तर महाभारत शृंखलाको डोटीको बुडरमा बाघ देखिनुले भन्छ, आवश्यक करिडोरहरू चुस्तदुरुस्त राख्ने हो भने तराईका निकुञ्जमा घनत्व बढी भएर विस्थापित हुने र मानवइलाकामा छिर्न सक्ने बाघलाई चुरे तथा महाभारतका वनतिर अस्थायी/स्थायी बसाइँसराइका लागि आकर्षित गर्न सकिन्छ ।

शुक्लाफाँटा र बर्दिया निकुञ्जबीचका सामुदायिक वन, बाँके र सोहेल्वा वन्यजन्तु आरक्षबीचको काम्दी करिडोर क्षेत्र अनि रुपन्देही, कपिलवस्तु र पाल्पाका चुरे पहाडहरू, चितवन पश्चिमका नवलपरासी र पर्सापूर्वको रौतहटका जंगल लगायतका निकुञ्जबाहिरका क्षेत्रहरूमा पनि पटक–पटक बाघहरू देखिँदै आएका छन् । यसले निकुञ्जबाहिर पनि बाघको गतिलो उपस्थिति छ भन्ने देखाएको छ । विरलै भए पनि शुक्लाफाँटा र भारतको पिलिभित निकुञ्ज तथा चितवन, पर्सा निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भबीच बाघको अन्तर्राष्ट्रिय विचरण पनि हुने गरेको छ ।

नेपालमा अहिले बाघ विशेषतः तराईका पनि मध्य र पश्चिमका पाँच निकुञ्जमा मात्र सीमित छन् । अनि यी पाँचै निकुञ्ज सबैतिरबाट मानवबस्तीद्वारा घेरिएका छन् । तराईको जनघनत्व असीमित ढंगले बढिरहेको छ । चितवन र बर्दियामा त विस्थापित बाघहरू सीधै मानवबस्तीमा गएर ठोक्किने अवस्था छ । कुनै दिन पूर्व–पश्चिम वारपार फैलिएको चारकोसे झाडी अहिले छिन्नभिन्न छ । त्यसैले तराईमा सम्भावित बाघ क्षेत्र विस्तार असम्भवप्रायः छ । अब सकिन्छ भने हरेक निकुञ्ज आसपासका तराईका करिडोर तथा बाघ विचरणका लागि आवश्यक सम्भावित ‘स्टेपिङ स्टोन’ जोनहरूको पहिचान र प्रवर्द्धन गर्नुपर्छ, जैविक मार्गलाई चुरे र महाभारत पर्वत शृंखलासँग जोड्नुपर्छ ।

महाभारत शृंखला : बाघको नयाँ गन्तव्य

तराईमा जनघनत्व अत्यधिक छ अनि तराईका निकुञ्जभित्र पाटे बाघको । अर्कातिर, बसाइँसराइका कारण पहाडी क्षेत्रहरू निर्जन बन्दै छन् । कृषि र वन पैदावरमाथिको निर्भरता पनि घट्दै छ । तसर्थ फेरि महाभारत शृंखलाका निर्जन जंगलहरूलाई पनि बाघको गन्तव्य बनाउने सम्भाव्यताको अध्ययन गरिनुपर्छ । यो बहस किन पनि आवश्यक छ भने, पछिल्ला वर्षहरूमा भारत, नेपाल र भुटानका उच्च पर्वत शृंखलामा लगातार बाघ देखिएका समाचारहरू आइरहेका छन् । सँगसँगै उच्च पर्वतीय शृंखला पनि पाटे बाघका स्वाभाविक परम्परागत विचरण इलाका हुन् भन्ने बहस सुरु भएको छ ।

पछिल्लो समय उच्च पहाडी शृंखलामा बाघ देखिएपछि नै उत्तराखण्ड सरकारले केदारनाथ वन्यजन्तु संरक्षण क्षेत्रको १२,००० फिटमाथिको उच्च पहाडी शृंखलामा समेत बाघ गणना गर्ने भएको हो । यसअघि नै भुटानमा पटक–पटक ९,०००, ११,००० तथा १३,००० फिट अर्थात् ४,२०० मिटर उच्च भूगोलमा पाटे बाघहरू भेटिएका छन् । सन् २०२० मा नेपालको डडेलधुरामा ५०० मिटर तथा सुदूरपूर्वको इलाममा ३,१६५ मिटरको उचाइमा बाघ भेटिएको थियो ।

ग्लोबल टाइगर फोरमको सन् २०१९ को एउटा अध्ययनले नेपाल, भारत र भुटानमा गरेर हिमाली भूभागमा कुल ५२,६७१ वर्ग किलोमिटरको बाघ विचरण क्षेत्र हुन सक्ने सम्भाव्यता देखाएको छ । नेपालमा मात्रै २,२१३ वर्गकिलोमिटर क्षेत्रफललाई सम्भावित बाघ बासस्थानका रुपमा औंल्याइएको छ । चुरे र महाभारतमा पनि सम्भावित बाघ क्षेत्र पहिल्याउने हो भने नेपालमा अझै धेरै बाघ फैलने क्षेत्र पहिल्याउन सकिन्छ । मानवीय व्यवधानको कमीका कारण पनि पहाडी इलाकामा कम घनत्वमै भए पनि बाघहरू छरिन सक्छन् ।

हामीले पनि महाभारत पर्वत शृंखला बाघको स्थायी तथा परम्परागत विचरण क्षेत्र हो कि फिरन्ते बाघहरूको स्टेपिङ स्टोन मात्रै, अध्ययन–अनुसन्धान गर्नुपर्छ । पहाडी इलाकामा बाघ विचरणको सम्भाव्यतालाई अध्ययन गर्दै चुरेका माध्यमबाट तराईका विस्थापित बाघहरूलाई महाभारततिर डोर्‍याउने हो भने पनि तराईको बाघ–मानव द्वन्द्वलाई धेरै हदसम्म सम्बोधन गर्न सकिएला । यसले थोरै संख्यामा भए पनि बाघहरूलाई सबैतिर फैलन सघाउँथ्यो । हाम्रोमा फरक–फरक उचाइमा प्राकृतिक/भौगोलिक विविधता असीमित छ । यद्यपि, प्रायः आरक्षण तराई, उच्च पहाडी र हिमाली क्षेत्रमा छन् । शिवपुरी–नागार्जुन निकुञ्ज छाड्ने हो भने एउटा पनि संरक्षण क्षेत्र मध्यपहाडी क्षेत्रमा पर्दैन । तराई आर्क ल्यान्डस्केपका पाँचै संरक्षण क्षेत्रले राम्रोसँग चारकोसे/चुरे र महाभारत छुँदैनन् ।

नेपालको पूर्वी पहाडी क्षेत्रमा पनि आक्कलझुक्कल बाघहरू देखिएका छन्, तर वाग्मती नदीपूर्व तराई आर्क ल्यान्डस्केपसँग जोडिने जंगलको सञ्जाल नै भत्किसकेको छ । चारकोसे झाडी तहसनहस पारिसकेपछि पूर्व, पश्चिम, चुरे–तराईबीचको जैविक करिडोर पूर्णतः ध्वंस भइसकेको छ । कोसी, गण्डकी र कर्णाली नदी करिडोरहरू पनि पहाड र तराईबीचका बायोलोजिकल करिडोर हुन सक्थे । तर पहाडमा संरक्षण क्षेत्रको अभावले तथा नदी किनारमा बनेका राजमार्ग र राजमार्गमा विस्तारित बस्तीका कारण तराईसँग पहाडलाई जोड्ने जैविक मार्ग भत्किसकेको छ ।

अहिलेको अभूतपूर्व बाघवृद्धिले निःसन्देह बाघ संरक्षणमा ठूलो उत्साह जगाएको छ । बढ्दो बाघ–मानव द्वन्द्वका कारण बाघवृद्धिको उत्साहसँगै आतंक पनि थपिएको छ । मुलुकको बाघको भारवहन क्षमतामाथि नै प्रश्न उठिसकेको छ । त्यसैले अहिले भएकै बाघको संख्या यथावत् राख्नु छ भने पनि आवश्यक करिडोरहरूको पहिचान गर्दै आन्तरिक द्वन्द्वबाट विस्थापित बाघहरूलाई सुरक्षितसँग नयाँ वातावरणमा पुनःस्थापित हुन सक्ने वातावरण बनाउनुपर्छ । ससाना होऊन् या ठूला, एकअर्को जंगलको सञ्जाललाई जोडेर मुलुकको हरेक भागमा बाघहरू पुग्न सक्ने जैविक मार्ग बनाउन सके मात्रै समस्यामा परेका बाघहरूले सुरक्षित गन्तव्य छनोट गर्नेछन् र यसले नै बाघ–मानव द्वन्द्वलाई केहि हदसम्म समाधान पनि गर्नेछ ।

प्रकाशित : श्रावण २९, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?