नेपालीबाहेकका भाषामा नलेखिएको नेपाली साहित्य- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीबाहेकका भाषामा नलेखिएको नेपाली साहित्य

नेपालीहरुले पेसाका लागि वा सम्पर्कभाषाका रुपमा सहजतापूर्वक प्रयोग गरिरहेका अङ्ग्रेजी वा हिन्दी भाषामा भयरहित भएर लेख्न र सृजना गर्न जरूरी छ । नेपालीले अन्य भाषामा लेख्दा नेपाल नै बलियो बन्नेछ ।
उज्ज्वल प्रसाई

नेपाली (पर्वते/खस) भाषाका लेखक–साहित्यकारले हिन्दी र बंगालीमा समेत लेख्न थालेका थिए भने के हुन्थ्यो ? सम्भवतः नेपाल, भारत, र अन्यत्रका हिन्दी र बंगाली भाषाका पाठकको ठूलो संख्यामा नेपाली जीवन, समाज र संस्कृतिबारे सूचना र ज्ञान, चासो र चिन्ता प्रसार हुन्थ्यो । सम्भवतः यी भाषामार्फत नेपालकै परिचय अझै फराकिलो र गहिरो हुन्थ्यो । कतिपय हिन्दी वा बंगालीमा लेखिएका त्यस्ता नेपाली साहित्यले अङ्ग्रेजी भाषामा अनुवाद हुने अवसर पनि छिटै पाउँथे कि ?

यस्तो अनुमान गर्नुको खास ऐतिहासिक कारण छ । नेपाली भाषा–साहित्यको जग बनाएको श्रेय दिइने प्रायः साहित्यकार हिन्दी भाषा पढ्थे, बोल्न जान्दथे र धेरैजसोले लेख्न पनि पक्कै जान्दथे । त्यसो त नेपालका विद्यालय र कलेजमा भारतीय बोर्डका पाठ्यक्रम पढ्ने र उतै परीक्षा दिने उपक्रम चलेकै थियो । साथै, यताका लेखपढ गर्न जान्ने धेरैको भारतका पत्रपत्रिकाका सम्पादक, लेखक, राजनीतिज्ञ आदिसँग प्रगाढ सम्बन्ध र आउजाउ पनि थियो । त्यसो त हिन्दीमै लेख्न सुरु गरेका बीपी कोइरालाहरूको कथा पनि नौलो होइन ।

जानेमाने नेपाली साहित्यकारले लेखेका अङ्ग्रेजी भाषाका लिखत हेर्दा, उनीहरू सम्भवतः अङ्ग्रेजीभन्दा राम्रो हिन्दी नै लेख्थे । दार्जिलिङमा रहेर अथवा कलकत्तातिर पहुँच बनाएर नेपाली साहित्य लेख्ने प्रायः लेखकमा हिन्दी र बंगाली भाषा चलाउने सीप थियो । इतिहासकार कुमार प्रधानले दार्जिलिङे साहित्य र खास गरी नाटकमा परेको बंगाली प्रभावबारे लेखेका छन्, ‘बंगालभरि घरेलु भएको गिरीश घोषको नाउँ दार्जिलिङमा नआउने कारण थिएन । ... विक्रमीय छप्पन सालको भलपैह्रो (सन् १८९९) बारे सवाई लेख्ने डाकमान थुलुङ राईले महेन्द्र वकील, रासविहारी डाक्टरको उल्लेख गरेकै छन् — बाहेक, तिब्बत भ्रमणले प्रसिद्धि कमाउने भोटिया स्कुलका हेडमास्टर शरत्चन्द्र दास र अरू त्यस्ता शिक्षामा पछ्यौटे गोर्खालीको निम्ति आदर्श थिए हुनन् । गिरीश घोष यता अभिनीत भएको थाहा लाग्दैन, तर मुखमुखै तिनको नाउँ अवश्यै लिइन्थ्यो ।’ प्रधानको दाबी अनुसार कतिपय सुरुआती नेपाली नाटक बंगालीमा रचित नाटकसँग हुबहु मिल्छन् ।

लक्ष्मीप्रसाद देवकोटाले आफ्नो कथा ‘बंगाली बाबू’ मा नेपाली र बंगाली पात्रबाट शुद्ध र सुगठित बंगाली भाषा बोलाएका छन् । ‘आपनि कि ? आर्येर सुन्दोर चोहरा । आपनार पूर्वपुरुष बंगदेशवासी छिलेन् कि ?’ के देवकोटा बंगाली बोल्न र लेख्न जान्दथे ? अङ्ग्रेजीमा त उनले साहित्य नै लेख्न भ्याएका छन्, अनुवाद पनि गरेका छन् । अङ्ग्रेजी सिक्ने रनाहाबारे ‘हाई हाई अङ्ग्रेजी’ शीर्षक निबन्ध पनि लेखेकै छन् । सम्भवतः उनलाई हिन्दी र बंगाली भाषा पनि राम्ररी चलाउन आउँथ्यो । त्यसो त कथाका लागि आवश्यक दुई–चार पंक्ति बंगाली जान्ने अरू कसैको सहयोगबाट लेखाइएको पनि हुन सक्छ ।

बनारसमा पढेका वा राजनीति गरेका नेपालीहरूमाझ हिन्दीको प्रभाव नहुने सवालै भएन । नेपाली भाषाको झर्रोपना बचाउन भाषिक आन्दोलन सञ्चालन गर्ने कतिपय साहित्यकारको बौद्धिक उन्नयन बनारसमै भएको हो । नेपाली लेखन औधी काशीभाषे भयो, संस्कृत र हिन्दीको प्रभाव ज्यादै पर्‍यो भनेर ठेट नेपाली शब्द र अभिव्यक्तिको खोजी गर्ने सुर ती साहित्यकारहरूलाई उतै हुँदा चलेको हुनुपर्छ । झर्रो आन्दोलनमा लागेका बालकृष्ण पोखरेल र तारानाथ शर्माहरू पछिल्लो समय अन्यत्रै मोडिए । सो आन्दोलनको मसिनो धिपधिपे साहित्यकार तथा भाषाविद् चूडामणि रेग्मीले अहिले पनि झापास्थित आफ्नै निवासबाट ‘जुही’ जस्ता पत्रिका प्रकाशन गरेर जगाइरहेकै छन् ।

हिन्दी र बंगालीमा लेख्न जान्नेहरूले किन ती भाषामा साहित्य रचना गरेनन् ? यसको एउटा भरपर्दो जवाफ— नेपाली भाषाको श्रीवृद्धि र प्रभाव नेपालभित्रै प्रसार गर्नुलाई उनीहरूले मुख्य दायित्व ठानेका हुन सक्छन् । नेपाली भाषालाई त्यसो त राष्ट्रवादको मुख्य मौलो बनाइएको परिवेश पनि छँदै थियो । दार्जिलिङमा अल्पसंख्यक नेपाली पहिचानका लागि नेपालीमा जोड दिइनु स्वाभाविक थियो । नेपालमा भने हिन्दी भाषा चलाउन थाले नेपालीको पहिचान मेटिन सक्छ र नेपाल सरहदभित्र आ–आफ्ना भाषा बोलेर बसेका विविध समुदायलाई नेपाली भाषाकै डोरीले नबाटे मुलुककै अस्तित्व धरापमा पर्न सक्छ भन्ने बुझाइले घर गरेको हुनुपर्छ ।

नेपाली लेखक आफैंले हिन्दीमा लेख्न थाले, भारतका पत्रिकामा प्रकाशित हुन थाले, हिन्दी वा बंगालीमै पुस्तक लेख्न थाले, नेपाली भाषा निःसहाय र टुहुरै रहन्छ भन्ने धारणा पनि बलियो बनेकाले त्यस्तो उपक्रम नगरिएको हुन सक्छ । नेपाली भाषाकै लागि राज्यसमेत लागेर लगानी गर्दा, नेपालभित्रकै अन्य भाषा चेपुवामा परेको तथ्यबारे यही मात्रामा चिन्ता गरिएको भने देखिँदैन ।

भवानी भिक्षुको उदाहरण सन्दर्भित गर्दा ऊ बेलाका साहित्यकारको मनोदशा बुझ्न सहज हुन्छ । घरगाउँमा अवधी बोल्दै, तराईका गैरअवधीभाषीसँग सम्पर्कभाषाका रूपमा सम्भवतः हिन्दी बोल्दै, औपचारिक पढाइ र सुरुआती साहित्य रचना पनि हिन्दीमै गरेर, करिब २७ वर्षको भएपछि मात्रै भिक्षु काठमाडौं आएर नेपाली भाषामा लेख्न थाल्छन् । साहित्यिक रुचिका कारण यहाँका साहित्यकारसँग चिनजान र सम्पर्क बढ्छ । समालोचनाबारे भिक्षुले लेखेको हिन्दी लेख ऊ बेलाको सबैभन्दा चर्चित पत्रिका ‘शारदा’ का प्रकाशक तथा सम्पादक ऋद्धिबहादुर मल्लले नेपालीमा अनुवाद गरेर प्रकाशन गरिदिन्छन् । त्यसपछि पनि उनी हिन्दी कविता र कथा लेखिरहन्छन् । भिक्षुकै अनुसार, उनले एक दिन कवि सिद्धिचरण श्रेष्ठको खप्की खान्छन्, ‘तिमीले नेपालको धरतीमा जन्म धारण गर्‍यौ, नेपालको अन्न खाई हुर्क्यौ र नेपाली हावामा सास फेरिरहेर हिन्दी वाणीको सेवामा लागेका छौ, होइन ?’

रोचक त के भने, श्रेष्ठ आफैंले कुनै सन्दर्भमा भिक्षुको डायरीको एक पानामा सम्झनास्वरूप भावुक हुँदै हिन्दीमा लेखेका रहेछन्, ‘यह न भूलना कि सिद्धिचरण तुम्हारा अनन्य मित्र था ।’ यस भावुक उद्गारको जवाफमा भिक्षुले सिद्धिचरणलाई हिन्दीमै तत्काल केही काव्यात्मक हरफ रचेर सुनाएका रहेछन्, ‘फिर फिरूँ फिरे गर फेरा, पर अब तो गति न घेरा / पन्थी का यह कैसा घर, पन्थी का कैसा डेरा ?’ योभन्दा अर्को रोचक तथ्य के हो भने, नेपाली भाषा त श्रेष्ठकै पनि मातृभाषा होइन, र खस नेपाली भाषाको चेपुवामा परेको आफ्नो मातृभाषा नेपाल भाषा (नेवार) जगेर्ना र प्रयोग गर्ने संघर्षमा लागेबापत राज्यद्वारा पक्राउ गरिएका र थुनिएका स्रष्टा पनि हुन् ।

काठमाडौंमा वर्षौं बसोबास गरे पनि र निरन्तर नेपाली भाषामै साहित्य रचना गरिरहे पनि भिक्षु हिन्दी भाषामा बोल्न सहज मान्थे । हिन्दी बुझ्ने र बोल्ने सबैसँग हिन्दीमै गफगाफ गर्न मन पराउँथे भन्ने उनीबारे लेखिएका धेरैका संस्मरणबाट बुझ्न सकिन्छ । त्यसो त उनको हाउभाउ, पोसाक र पान खाने बानी पनि कहिल्यै नफेरिएको देख्नेहरू अहिले पनि छँदै छन् । काठमाडौंमा एक्लो भएको र अरूले हेपेको अनुभूति भएका बेला भिक्षु अब फेरि हिन्दीमा लेख्न थाल्छु भनेर घुर्क्याउँथे । नेपाली लेखेर गरेको योगदानको खास कदर भएन, मान्छेले बुझेनन् र कतिपयले त हातपातै गरे भनेर उनी उद्विग्न हुने गरेको धेरैले लेखेका छन् ।

भिक्षु हिन्दी लेख्नतिर लाग्लान् भनेर उनका समकालीन र उनीभन्दा केही कान्छा थुप्रै नेपालीभाषी साहित्यकार सशंकित हुने गरेका उदाहरण प्रशस्तै छन् । भिक्षुजस्तो प्रतिभाले आफूलाई सहज लाग्ने भाषा हिन्दीमा लेख्न थाले बित्यास पर्ला वा आफूले मानिरहेको अग्रज साहित्यकारलाई हिन्दीमा लेखेका कारण शंका गर्दै र दुत्कार्दै हिँड्नुपर्ला भन्ने भयले गाँजेको मनोदशा उनीहरूकै संस्मरणमा देख्न सकिन्छ । कतिपयले भिक्षुलाई हिन्दीमा लेख्नेबारे सोधेका पनि रहेछन् । जस्तो, भिक्षुसँगको अन्तर्वार्तामा उत्तम कुँवरले यस विषयलाई प्राथमिकतासाथ उल्लेख गरेका छन् । त्यसै गरी, कालिप्रसाद रिजालसँग पनि भिक्षुको यसबारे संवाद भएको थियो ।

भिक्षुभन्दा पछिल्लो पुस्ताका गीतकार तथा कवि रिजाल राम्रो हिन्दी बोल्थे, सम्भवतः लेख्न पनि सक्थे । हुन सक्छ, भिक्षुसँग भेट्दा उनी धेरैजसो हिन्दीमै कुराकानी गर्थे । भिक्षुको सम्झनामा उनले लेखेको संस्मरणमा एउटा संवादको उदाहरण पेस गरेका छन्, भिक्षुको हिन्दीमा लेख्ने निर्णयबारेको संवाद नै हो यो । रिजाल सोध्छन्, ‘आप काठमान्डु के कुछ एक लोग का करनी का सजाय नेपाल और नेपाली भाषा को देना चाहते हैं ? क्या ऐसा करने पर आपको पश्चात्ताप नहीं होगा ?’ भिक्षु उत्तेजित हुँदै जवाफ दिन्छन्, ‘नहीं होगा, तनिक भी नहीं होगा ।’ कुँवरको प्रश्नको जवाफमा भने भिक्षुले कहिलेकाहीँ केही मिनेटसम्म मात्रै हिन्दीमा लेख्नेबारे सोच्ने र केही समयपछि फेरि नेपाली भाषामै फर्किहाल्ने गरेको भनेका छन् ।

श्रेष्ठ, रिजाल र कुँवरको भय धेरै नेपालीभाषी लेखक र बौद्धिकको भयको प्रतिनिधि हो । तर यो डर केका लागि ? भिक्षुलाई हिन्दीमा सहज लाग्थ्यो भने, उनले हिन्दीमै श्रेष्ठ साहित्य रच्न सक्थे । अझै खुलेर आफ्नो सृजनात्मक कला र प्रतिभाको प्रयोग गर्न सक्थे होलान् । त्यसले नेपाललाई कसरी गरिब बनाउँथ्यो ? नेपाली भाषामा त उनले उम्दा कविता, कथा र उपन्यास लेखिसकेकै थिए । हिन्दीमा तीभन्दा उच्च कोटिको साहित्य रच्न सम्भव हुन्थ्यो भने, यसरी तर्सिएर हिन्दी लेखनबाट विमुख हुनुले के प्राप्ति भयो ? तराई मधेशका, कपिलवस्तुका र काठमाडौंका जीवन लेख्थे होलान् । सुभद्रा बज्यै र घुरहु महतोका जीवनका ऊहापोह हिन्दीमा छापिँदा, नेपाल र भारतका असङ्ख्य हिन्दी पाठकलाई लाभ हुन्थ्यो । नेपालीका दुःख र सुख, तिनैका हाँसो र रोदन, तिनैका कुण्ठा र जुगुप्सा प्रसारित हुँदा कसरी केही हानि हुन्थ्यो होला र ? हिन्दीमा लेखिएको यहाँको साहित्य नेपालकै सम्पत्ति हुँदैनथ्यो र ? फेरि, ऊ बेला भिक्षुले लेखेका नेपाली साहित्यका पाठकहरू हिन्दी पढ्नै नसक्ने थिए र ?

भिक्षुका साथै देवकोटा र पारसमणि प्रधान, सिद्धिचरण र बीपी कोइराला, शंकर लामिछाने र ईश्वर बरालले नेपाली र हिन्दी दुवैमा लेख्दा नेपालभित्रको र डायस्पोराको नेपाली संस्कृतिकै प्रसार हुन्थ्यो । बरालले त अङ्ग्रेजीमा प्रशस्त लेखेका छन् । केही वर्षपहिले संकलीत भएर आएको उनको प्राज्ञिक लेखन नेपाली ज्ञानोद्यमकै श्रीवृद्धिमा काम लागेको छ । पञ्चायत बुझ्न सघाउने ती लेखहरू नेपाली अन्वेषकहरूले नै सबैभन्दा बढी उपयोग गरेका छन् । अङ्ग्रेजीमा सिद्धहस्त बरालजस्ता विद्वान्ले नेपाली चटक्कै छोडेर अरू भाषामा लेखेका होइनन् । उनी बंगाली भाषाको प्रयोग पनि गर्न सक्थे भनिन्छ । इतर भाषामा काम गर्दा नेपाली सर्लक्कै सकिँदैन भन्नका लागि बराल नै पर्याप्त उदाहरण हुन् । त्यसो भए अरू नेपाली साहित्यकार वा बौद्धिकले सहज मान्थे भने र लेख्ने सामर्थ्य थियो भने, तिनले पनि हिन्दी, मैथिली वा बंगाली साहित्य रच्दा समग्र नेपाली समाज नै धनी हुन्थ्यो ।

नेपालका अन्य भाषा प्रवर्द्धन हुनुपर्ने मत जायज र अत्यावश्यक छ । नेपालमा नेपाली भाषाको प्रभुत्व कायम छँदै छ । नेपालीहरूले पेसाका लागि वा सम्पर्कभाषाका रूपमा सहजतापूर्वक प्रयोग गरिरहेका अङ्ग्रेजी वा हिन्दी भाषामा भयरहित भएर लेख्न र सृजना गर्न जरुरी छ । राष्ट्रवादको उद्वेलनमा लहसिएका समेतले डराउनुपर्ने कारण छैन, नेपालीले अन्य भाषामा लेख्दा नेपाल नै बलियो बन्नेछ ।

प्रकाशित : श्रावण २७, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्

पितृसत्ता र पुरुषत्वको बोझ

महिला र पुरुष दुवैप्रति अन्यायी र हानिकारक पुरुषप्रधान व्यवस्थाप्रति हरेक पुरुषले आलोचनात्मक भएर सोच्नु जरुरी छ ।
प्रणेता

घटना १ : एक वर्षमै व्यापारमा करोडको घाटा बेहोर्नुपरेपछि तनावमा परेका चन्द्रागिरि नगरपालिका–४ का ३५ वर्षीय विनय लामिछाने श्रीमती र दुई नाबालक छोरासहित २०७६ माघको पहिलो साता त्रिशूली नदीमा हेलिए । उनीबाहेक सबैको मृत्यु भयो ।

घटना २ : अछामको बयलपाटा अस्पतालमा कार्यरत २७ वर्षीय सिद्धार्थ आउजी (त्यतिखेर ७ महिने शिशुका पिता) ले जागिरबाट निकालिएपछि आत्मदाह गरे । २०७७ जेठको अन्तिम साता लकडाउनका समयमा अस्पतालले तलब दिन नसक्ने बताउँदै ३२ कर्मचारीलाई जागिरबाट हटाएलगत्तै यो दर्दनाक घटना भएको थियो ।

घटना ३ : ‘म यस अवस्थामा हुँदा पनि पैसा कमाएर ल्याउनैपर्ने ? सम्पूर्ण परिवारको आवश्यकता पूर्तिको लागि मै खट्नुपर्ने ?’ जस्ता प्रश्न लैंगिक अध्ययनका ती पुरुष सहपाठीको दिमागमा आइरहन्छ रे जो गाडी दुर्घटनामा परेर अपांगताको अवस्थामा छन् ।

तथ्य १ : बीबीसीको एउटा रिपोर्टमा नेपालमा आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै रहेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनकै अनुसार आत्महत्या गर्नेमा ८ प्रतिशत पुरुष छन् भने ६ प्रतिशत महिला । अर्को तथ्यांक अनुसार विश्वमै आत्महत्या गर्नेमा करिब १४.६८ प्रतिशत पुरुष छन् भने महिला ४.३७ प्रतिशत । १५–२९ वर्ष उमेरसमूहकाहरू यो सूचीमा बढी छन् ।

तथ्य २ : संयुक्त राष्ट्रसंघीय जनसंख्या विभागको सन् २०२० को तथ्यांक अनुसार विश्वमा महिलाको औसत आयु ७५.६ वर्ष छ भने पुरुषको ७०.८ वर्ष । सोही वर्ष नेपाली महिलाको औसत आयु ७३.२३ वर्ष देखिँदा पुरुषको भने ७०.१३ वर्ष देखिएको छ ।

तथ्य ३ : पछिल्ला ९ वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये सरदर ९६ प्रतिशत पुरुष र सरदर ४ प्रतिशत महिला छन् भन्छ बीबीसीको रिपोर्ट ।

माथिका घटना र तथ्यहरूले पितृसत्तात्मक समाजका विविध पक्षमध्ये लैंगिक पाटो र यसको प्रभाव उजागर गर्छन् । यो आलेख तिनै घटना र तथ्यमा आधारित रहेर पितृसत्तामा कसरी पुरुष पनि दमित, पीडित र प्रभावित छ भन्नेमा केन्द्रित हुनेछ ।

महिलाका तुलनामा ठूलो संख्यामा पुरुष वर्षौं परदेसिँदा, शारीरिक रूपले अशक्त भए पनि काम गरिरहेको पुरुष देख्दा, चाहे उसको घरमा स्वस्थ तन्दुरुस्त महिला सदस्य किन नहोउन्, हामी अधिकांशलाई त्यो असामान्य लाग्दैन । किनकि हामीलाई पुरुष भनेका परिवारका ‘अन्नदाता’ लाग्छन् । अन्नदाताले जहाँ जसरी जुन अवस्थाबाट गुज्रिएरै भए पनि घरका सदस्यहरूको पेट भर्नुपर्छ भन्ने कुरा हाम्रो अन्तस्करणमा गहिरोसँग गडेको छ ।

आजसम्म पितृसत्ताले पुरुषलाई सर्वोच्च स्थानमा राखेको र घरका सदस्यहरू (महिला तथा कमजोर वर्ग) मा पुरुषकै नियन्त्रण चल्ने गरेको छ भनी निकै पटक दोहोराइयो । पुरुषलाई एक्लो र एक मात्रै ‘अधिकारसम्पन्न’ व्यक्ति भनियो, तर यो सत्ता र व्यवस्थाभित्र आफैं पनि ‘दास’ रहेको यथार्थलाई न पुरुषको हृदयचक्षुले देख्यो न दोस्रो दर्जाको अनुभूति गर्ने महिलाबाट मनन गरियो ।

अन्य समाजमा जस्तै नेपाली समाजमा पनि यहाँको आर्थिक, सामाजिक र राजनीतिक प्रणाली अनुसार द्विसांख्यिक वर्ग (महिला/पुरुष) लाई परिवार र समाजले भिन्दाभिन्दै छवि र भूमिका दिएको छ । शिशु जन्मिएपश्चात् उसको बाह्य प्रजनन अंगका आधारमा महिला र पुरुष बनाउन सोही अनुरूपले सामाजिकीकरण गरिन्छ ।

अतः पितृसत्तात्मक व्यवस्थामा एउटा वयस्क पुरुषमा ‘पुरुषत्व’ हुनुपर्छ भने महिलामा पनि नारित्वका गुणहरू देखिनु अनिवार्य छ । परिवार र समाजले शरीर र मनस्थिति दुवै हिसाबले बलियो, आर्थिक लगायत हरेक हिसाबले आत्मनिर्भर, बौद्धिक रूपले तार्किक र तीक्ष्ण, स्वभावमा आक्रामक, निर्णय लिन सक्ने, अरूको आवश्यकता पूर्ति गर्न सक्ने र हरेकको संरक्षक बन्न सक्ने गुण भएकालाई पुरुषत्वयुक्त मानेको छ । नारी जातिलाई कमजोर मानिएको छ । त्यस्तै महिलालाई एकदमै भावनात्मक, अरू (विशेषतः पुरुष) मा निर्भर रहने, गाईजस्तै सोझी मतलब

आफ्नो अक्कल नलगाउने, अरूको निर्णयलाई शिरोधार्य गर्ने, सहनशील र पुरुषको कमाइको प्रयोग गरी पाल्ने र पालिने, दयालु, मायालु, पालनपोषणकर्ताका रूपमा हेरिएको छ ।

जुन जातिमा जुन गुण देखिनुपर्छ त्यो भएन भने वा त्यसविपरीत व्यवहार गरियो भने परिवार र समाजले नै असामान्य मान्छन् । वा, निर्धारित गुणहरू प्रदर्शन नगरेमा यी महिला र पुरुष दुवै जाति पुरस्कृत होइन कि तिरस्कृत हुन्छन् । यसरी विविध छवि, उपमा र विशेषणसहित पुरुषलाई उच्च सामाजिक हैसियत दिइएको मात्र छैन, नाम–दाम कमाउनुपर्ने अनि सफल बन्नैपर्ने मनोवैज्ञानिक दबाब र बाध्यता आजीवन पुग्ने गरी सृजना गरिएको छ ।

पुलिंगी समाज व्यवस्थाको हरेक बालकलाई पुरुषत्वको सामाजिक परिभाषा, पुरुषार्थ झल्काउने कर्मका उदाहरणहरू अन्तर्मनमा गढ्ने गरी चिनाइन्छन् र बुझाइन्छन् । उनीहरू असली ‘मर्द’ बन्ने लालसा बोकेर हुर्किन्छन् । परिपक्व असंख्य लोग्नेमानिसको उद्देश्य, दौड, अठोट र सपना त्यही हुन्छ— ‘मर्द’ बन्ने । मर्द अर्थात् सफल–संरक्षक–आत्मनिर्भर–अन्नदाता–आक्रामक बन्ने र बन्नैपर्ने चक्करमा पुरुष यो संरचनाबाट अत्यधिक लाभान्वित भएको मात्रै छैन, वञ्चितीकरणमा पनि परेको छ ।

माथि तथ्यमा भनिएजस्तै प्रवासिनु स्वाभाविक र प्राकृतिक विषय होइन । यसभित्र त पितृसत्ताले पुरुषलाई थोपरेको भयावह जिम्मेवारी छ । जसरी दिनपछि रात आउँछ र बिहान पूर्वमा उदाएको सूर्य साँझ पश्चिममा अस्ताउँछ, त्यसरी नै केटाहरूले कमाउन पर्नु अनि केटीहरूले भातभान्सा छोड्नै नहुनु प्राकृतिक र स्वाभाविक विषय हुँदै होइनन् ।

छोरो मान्छे वीर र साहसी हुनुपर्छ भन्नेजस्ता भनाइ अभिभावकबाट सुनेको पुरुष अनजान समुद्रपार पुगेर संघर्ष गर्न ‘डराउन नहुने’ बाध्यता छ । त्यो किनभने, परिवारका सबैको रोजीरोटी उही दाताको पसिनामा निर्भर छ ।

जीवनका कैयन् वर्ष प्रियजन, साथीभाइ र जन्मथलोबाट टाढा रहेर पराई भूमिमा संघर्ष गरिरहने छोरोमान्छेलाई अपरिचित ठाउँका दर्दनाक भोगाइहरू छताछुल्ल गर्न र रुन छुट छैन । किनकि, परिवार र समाजले मन्त्र पढाएकै छन्, ‘छोरोमान्छे भएर कठोर हुनुपर्छ । आँसु देखाउनु हुँदैन । तार्किक हुनुपर्छ, भावनामा बगेर जीवन चल्दैन ।’ यसरी पितृसत्तात्मक मन्त्रले केटामान्छेको संवेदनामा अंकुश लगाइदिएको छ ।

‘अन्न/सर्वदाता’ को भूमिका निर्वाह गर्दागर्दै, म (पुरुष) बाहेक सर्वनाम (अरू) का लागि पौंठेजोरी खेल्दाखेल्दै मरुभूमिमा मृत्युवरण गरेकाहरूका बाकस दैनिक त्रिभुवन विमानस्थलमा आइपुग्छन् । ती काठका बाकसमा अधिकांश पुरुष (वैदेशिक रोजगार प्रर्वद्धन बोर्डमा पेस भएको क्षतिपूर्तिको दाबी विवरण अनुसार २०१५ को जनवरी १ देखि डिसेम्बर ३ सम्म ९ सय ८८ पुरुष र १२ महिला कामदारको मृत्यु भएको देखिन्छ) हुन्छन् । यसरी इहलीला समाप्त हुने बेलासम्म उसले सायदै ऐया भन्न पाउँछ ।

‘गरिब भएर जन्मनु तिम्रो दोष होइन, तर गरिब भएरै मर्नुमा तिमी दोषी हुनेछौ’ भन्ने माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सको भनाइ थुप्रै युवाको मुटुमै लाग्यो । मनु विकले लेखै लेखेर मर्ने बेलामा ‘आफ्नै पैसाले कम्तीमा कात्रो किन्न सक्ने बन्नुपर्छ’ भन्ने भाव पोखे । पुरुषलाई यसरी पोखिन कसरी आउँछ ? सके टन्न कमाउनु र जमाउनुपर्छ, नसके पनि कात्रो आफ्नै कमाइको हुनुपर्छ भन्ने सामाजिक पाठले होइन ?

यसरी पुरुषलाई भरपूर दाम कमाउने र घरघडेरी समयमै जोडेर सबैसामु ‘सफल’ पात्र बन्ने महत्त्वाकांक्षा पाल्न र हुर्काउन सिकाएको छ पितृसत्तात्मक सामाजिकीकरणले । यो महत्त्वाकांक्षाले आफ्नो क्षमता, स्तर, आयस्ता बिर्सेर अन्ध बन्ने अधिकांशमा पुरुष नै छन् । ‘छोरोमान्छेले हार्नु हुँदैन, हार्ने लाछी हो’ भनिन्छ । ‘लाछी’ नबन्न जित्नैपर्ने मनोविज्ञानले पनि काम गर्छ उनीहरूमा । ‘मर्दले आँट गर्नुपर्छ’ भनेर पढाइएको छ । फलस्वरूप सुरुआतमा ठूलो लगानीको जोखिम लिन किञ्चित् नहिचकिचाउने तर अन्तमा कारोबार बिगारेर अकालमा त्रिशूलीमा बग्ने विनय लामिछानेहरू अनगिन्ती छैनन् ?

आजको महिला आन्दोलनले र असंख्य महिलाले अधिकांश राज्यका ठूलासाना सबै संरचनाको मास्टर म्यान (मालिक/हर्ताकर्ता) पुरुष नै भएको ठहर्‍याउँछन् । प्रत्यक्ष हेर्दा यो कदापि झुठो होइन । तर ती सबै संरचनाका स्वामी/प्रमुखहरूको पीडानुभूति, अँध्यारा पाटाहरू सुनाइएका र नियालिएका छैनन् । सुनाउनबाटै वञ्चित गरेपछि सुनिइँदैनन् पनि । पुरुषहरूका संवेग र भावनाहरू अदृश्य छन् । लुकाइएका छन् । दाह्रीजुँगाको साख जोगाइराख्न पुरुषले झेलिरहेका कष्टहरूको मूल्याकंन कहिले होला ?

छोरोलाई ‘सम्पत्तिको हकदार र वंशको उत्तराधिकारी’ मानिएको मात्रै छैन बरु उसले निर्वाह गर्नुपर्ने गरी निर्धारण गरिएको पारिवारिक/सामाजिक भूमिकाको बोझले थिलोथिलो पारिएको पनि छ । परिवार बचाउने, मातृभूमि अर्थात् सीमाको ‘रक्षक’ बन्नुपर्ने जिम्मेवारी उसैलाई सुम्पिइएको छ । महिलालाई वस्तु ठानेर मात्रै होइन कि पुरुष एक्लैलाई ‘कर्ता’ मानेर पनि पितृसत्ताले यी दुवै जातिलाई अन्याय गरेको छ । कर्ता जसलाई अशक्त हुँदाकै अवस्थामा समेत लतारिएरै काम गर्नुपर्ने र आफूमा निर्भर परिवारको पेट भर्नुपर्ने बाध्यता छ ।

पुरुषलाई प्रधान मानिदिएर यो व्यवस्थाले ओजयुक्त अनेक विशेषण दिएको छ । पुरुषलाई एकातर्फ फुर्क्याएको छ, अर्कोतर्फ थाहा नदिई जुन विशेषणले डामेको छ त्यसकै भार वहन गरिरहन अभिशप्त तुल्याएको छ ।

नारीवादी समाजशास्त्री ओड्री लोर्ड र पर्यावरण नारीवादी मारिया मिएस भन्छन्, ‘कसैलाई आफूले चाहेजस्तै काम गर्न प्रेरित गर्नका लागि उसले जे काम गरिरहेको छ त्यसको प्रशंसा गर्नु एउटा तरिका हो ।’ यसरी नै अबोध पुरुषलाई पितृसत्ताको पारिवारिक–सामाजिक संरचनाले वंशको उत्तराधिकारी बनिरहने र सम्पत्तिको रखबारी गरिरहने कहिल्यै पार नलाग्ने जिम्मेवारीले बाँधिदिएको छ । यही प्रक्रियामा फुर्क्याएर दास बनाएको छ पिता, पति र पुत्रका हैसियतमा हर पुरुषलाई । यही सिलसिलामा पुरुष आफू मान्छे हुँ भन्ने बिर्सन्छ र गधा बन्छ, खच्चड बन्छ, काममा पेलिइरहन्छ ।

पहिलो विश्वयुद्धका दौरान युद्धमा सामेल नभएका बेलायती पुरुषहरूलाई लज्जाबोध गराउन तत्कालीन सैन्य अधिकारी चार्ल्स पेनरोज फिट्जगेराल्ड ले ‘सेतो प्वाँख’ अभियान चलाए । ‘कायरता, लाज र कर्तव्यको बेवास्ता’ को प्रतीक मानिएको सेतो प्वाँख फिट्जगेराल्डले ३० महिलामार्फत बर्दीमा नभएका पुरुषहरूलाई दिए ।

इंगल्यान्डको फोकस्टोन सहरमा ३० अगस्ट १९१४ मा सेतो प्वाँखमार्फत पुरुषत्वमाथि नियोजित रूपमा धावा बोलियो । पुरुषलाई लाज मान्ने बनाउन र शिर झुकाउन यो चाल चलिएको थियो । हातमा सेतो प्वाँख लिएका युवतीहरूले पुरुषतर्फ सोझिँदै प्रतीकात्मक रूपमा ‘हामी तिमीहरूलाई हेरिरहेका छौं’ भनिरहँदा कैयन् बेलायतीलाई फेरि पनि सेतो प्वाँख पाउन सकिने डरले युद्धमा होमिन कर लाग्यो । पुरुषत्व जोगाइराख्न पुरुषले गर्नुपरेको त्यागबारे गम्भीर रूपले सायदै बहस भएको छ । सायद यसैकारण, ‘पिता अधिकार आन्दोलन’ का सिद्धान्तकार तथा अभियन्ता डेनियल एमनेउसले तीव्र आक्रोशका साथ ‘नारीवादीहरूले पुरुषको पहिचान/अस्तित्व युद्धका समयमा मात्र खोज्ने’ गरेको अभिव्यक्ति आफ्नो पुस्तक ‘ब्याक टु प्याट्रिआर्की’ मा दिएका छन् ।

विश्वमै पुरुषले स्वास्थ्य सुविधा, पोसिलो आहार, निश्चित समयको कामपछि आरामको समय र परिवारको हेरचाह महिला सदस्यले भन्दा बढी पाउने गरेको विभिन्न तथ्यले देखाउँछन् । तैपनि पुरुषकै औसत आयु कम हुनुको खास कारण के हो त ? युद्ध, नरसंहारबाहेक आत्महत्या गर्नेमा पनि पुरुषकै संख्या बढी हुनुमा कुन रहस्य लुकेको छ ? मनोचिकित्सकहरू यसको मुख्य कारक डिप्रेसन रहेको बताउँछन् । यसका अलावा सहायक (सामाजिक र आर्थिक) कारण पनि छन् । पितृसत्तात्मक संरचनाले लुकेर हिर्काइरहेको छ, पुरुष रगतको आँसु पिएर बाँचिरहेको छ जुन अति घातक छ ।

सही उमेर र समयमा उन्नति–प्रगति गर्न नसक्नु, परिवारको आर्थिक बोझ हुनु, शैक्षिक रूपमा उच्चता प्रदर्शन गर्न नसक्नु, लक्ष्य तय र हासिल गर्न नसक्नु, सम्बन्धहरूमा उतारचढाव आउनु, पारिवारिक वा सामाजिक सम्बन्ध खराब वा कम सुमधुर हुनु, पारिवारिक अवहेलना हुनु, कुटपिट वा झैझगडा हुनु, व्यापार–व्यवसायमा अत्यधिक घाटा हुनु, कार्यस्थलमा कुशलता प्रदर्शन गर्न नसक्नुजस्ता यावत् कारण छन् जसले सार्वजनिक रूपमा बढी सक्रिय बन्नुपर्ने जिम्मेवारी सम्हालिरहेको पुरुषलाई डिप्रेसनतिर लैजान्छन् । उ अन्य पुरुष साथीले पराक्रमी बनेर पुरुषार्थ निभाइरहेको ठान्छ र आफू हीनताबोध गर्छ । नतिजा, उसमा जीवनप्रति वैराग्य छाउँछ । आशा गुमाउँछ र आफैंप्रति विश्वास नरहेपछि आफ्नै जीवन निमोठ्छ या त आयु छोट्याउँछ ।

यसर्थ पुरुषत्व सम्बन्धी विचार, पुरुषत्वका मानक/मापदण्डहरूले पुरुषको स्वास्थ्यका लागि ठूलो खतरा निम्त्याउन सक्छन्, किनभने पुरुषत्वले जोखिम लिने व्यवहारलाई प्रोत्साहन गर्छ र मद्दत खोज्ने वा स्वास्थ्य सुधार गर्ने व्यवहारलाई निरुत्साहित गर्छ । अर्थात्, पुरुषहरूलाई चोटपटक लाग्ने वा उनीहरू बिरामी हुने सम्भावना बढी हुन्छ र उनीहरूले मद्दत खोज्ने सम्भावना कम हुन्छ । अब के गर्ने त ?

अमेरिकी समाजशास्त्री एलन जी जोन्सनले आफ्नो आलेख ‘प्याट्रिआर्की, द सिस्टम’ मा भनेजस्तै ‘पुरुष र पुरुषत्वलाई बढावा दिन, नारी र नारित्वलाई अवमूल्यन गर्न आजैका दिनदेखि छोड्नुपर्छ’ । परिवार र समाजले दिएको ‘रियल म्यान’ को परिभाषा बदल्नुपर्छ । सुस्केरा, रोदन सुनिनुपर्छ । भूमिका लादिनु हुँदैन, स्वस्फूर्त रूपमा छनोट गर्न पाउनुपर्छ । मानव सभ्यताको प्रगतिपथको तगारो पारम्परिक लैंगिक श्रम विभाजन खारेज गर्नुपर्छ ।

पितृसत्ताको वैचारिक बाकसभित्र उकुसमुकुस भएर बाँचेको पुरुषलाई उन्मुक्त भएर सास फेर्ने वातावरण बनाउनुपर्छ र यसको सुरुआत महिलाहरूले गरिसकेका छन् । अहिले वैदेशिक रोजगारीमा जाने महिलाको संख्या झन्डै ९ प्रतिशतले बढेको छ । परम्परागत लैंगिक भूमिकाहरू बदलिँदै छन् । महिलाले देशमै रहेर पुरुष सदस्यको अनुपस्थितिमा पनि दोहोरो–तेहरो कार्यभार सम्हालिरहेको यथार्थले उनीहरू पुरुषको काँधको बोझ बाँडेर बोक्न तत्पर रहेको पनि बताउँछ । यसैले महिला र पुरुष दुवैप्रति अन्यायी र हानिकारक पुरुषप्रधान व्यवस्थाप्रति हरेक पुरुषले आलोचनात्मक भएर सोच्नु जरुरी छ । अब पनि अबोध रहिरहनु अर्को भूल हुनेछ ।

प्रकाशित : श्रावण २७, २०७९ ०७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×