मुटु अस्पताललाई महँगो नबनाइयोस्
सार्वजनिक स्वास्थ्य प्रणाली अति कमजोर रहेको नेपालमा सीमित मात्र अस्पताल छन्, जसलाई साधारणजनले पनि आफ्नै ठान्न सक्छन् । तुलनात्मक रूपमा सुलभ र गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गर्दै आएको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई यस्तै अस्पतालको कोटिमा निःसन्देह राख्न सकिन्छ । पछिल्लो समय यसै अस्पतालको व्यवस्थापनमा पनि समस्या बढ्नु भने दुःखद छ । अझ, बहिरंग विभागको टिकटदेखि उपचार शुल्क २३३ प्रतिशतसम्म वृद्धि गरिएपछि अब यो अस्पताल पनि कतै विपन्नको पहुँचबाहिर त जाँदैन भन्ने चिन्ता पलाएको छ । सर्वसाधारणको उपचारका लागि चिनिएको अस्पतालमा त्यस्तो अवस्था कदापि निम्त्याउनु हुँदैन । यसका निम्ति अस्पताल व्यवस्थापन र सरकारले उपाय पहिल्याउनु अपरिहार्य छ ।
अहिले गरिएको शुल्क वृद्धिपछि गंगालालमा साधारणजनको पहुँचलाई लिएर प्रश्न उठ्नु स्वाभाविक देखिन्छ । गंगालालको कायम गरेको शुल्क कति बढी हो भनेर तुलना गर्दा निजी नाफामुखी अस्पतालभन्दा पक्कै पनि कम हो । तर, सार्वजनिक सेवाको तुलना निजीसँग होइन, त्यस्तै सेवा दिने अर्को सार्वजनिक संस्थासँगै गर्न आवश्यक हुन्छ । गंगालाल अस्पतालले गरेको शुल्क वृद्धि सार्वजनिक रूपमा सञ्चालित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको दाँजोमा नै धेरै बढी छ । मनमोहनमा १३ सय तिरे पुग्ने आईसीयूको दैनिक शुल्क गंगालालमा ५ हजार अर्थात् झन्डै चार गुणा पुगेको छ । मनमोहनमा सीसीयूको दैनिक शय्याको १२ सय ५० रुपैयाँ मात्र हुँदा गंगालालमा ३ हजार रुपैयाँ पुगेको छ अर्थात् गंगालालमा यो शुल्क मनमोहनको तुलनामा करिब अढाई गुणा महँगो भएको छ । यस्तै, मनमोहनमा सबै प्रकारका इको परीक्षण शुल्क १२ सय रुपैयाँ तिरे पुग्नेमा गंगालालमा १५ सयदेखि २ हजार रुपैयाँसम्म लाग्छ । यस अतिरिक्त पनि गंगालालमा अरू कैयौं शुल्क मनमोहनको तुलनामा अधिक छ । पीडीए डिभाइस र सीएबीजी (कोरोनरी आट्री बाइपास सर्जरी) अपरेसनको शुल्क त सर्वसाधारणले धान्नै नसक्ने गरी अकासिएको छ । मनमोहनमा २२ हजारमा गरिने पीडीए डिभाइसका लागि गंगालालमा ५८ हजार रुपैयाँ लाग्छ । मनमोहनमा ७० हजारमै पाइने सीएबीजी अपरेसनका लागि गंगालालमा १ लाख २० हजार रुपैयाँ तिर्नॅपर्छ । पछिल्ला दुई सेवामा गंगालालमा बिरामीले मनमोहनको भन्दा क्रमशः ३६ हजार र ५० हजार रुपैयाँ बढी तिर्नुपर्छ । तुलानात्मक रूपमा सस्तो छ भन्दैमा सबै बिरामीको पहुँच र उपचार मनमोहनमा सम्भव छैन, त्यसैले फरक–फरक सार्वजनिक संस्था खोलिएका हुन् । तर, निजी अस्पतालहरूलाई समेत मनपर्दी रकम असुल्नबाट रोक लगाउनुपर्ने दायित्व भएको सरकारले नै सार्वजनिक अस्पतालकै शुल्क ह्वात्तै बढाउनु विडम्बनापूर्ण छ ।
निश्चय पनि कुनै पनि सेवा शुल्क सधैं एउटै रहन सक्दैन । तर, बढाइएको शुल्क तर्कसंगत हुन पनि जरुरी छ । सार्वजनिक अस्पतालका हकमा त स्रोत व्यवस्थापनका सबै विकल्प प्रयोग गरेपछि मात्र बिरामीसित लिइने पैसा बढाइनुपर्छ, त्यो पनि एकै पटक ठूलो भार नथपिने गरी । के गंगालालले पनि सम्पूर्ण रूपमा उपायहीन भएपछि मात्रै बिरामीका निम्ति शुल्क बढाएको हो त ? पक्कै होइन । सार्वजनिक संस्था भएकाले खर्चको अनुगमन गर्ने र अपुग बजेट व्यवस्थापन गरिदिने जिम्मेवारी सरकारको हो । यो सरकारबाट भिन्न अंग पनि होइन किनकि स्वास्थ्यमन्त्री नै सञ्चालक समितिका अध्यक्ष हुन्छन् । विरोध खतिवडा स्वास्थ्यमन्त्री भएका बखत अस्पताल सञ्चालक समितिले जेठ १६ देखि नयाँ शुल्क लागू गरेको हो । यसरी राजनीतिक प्रतिनिधिकै नेतृत्वबाटै अस्पतालको शुल्क भारी मात्रामा वृद्धि गरिनु जनस्वास्थ्यका हिसाबले टीठलाग्दो दृष्टान्त हो । उपचार महँगिएपछि विपन्न बिरामी मात्र प्रभावित हुनुपरेको छैन, स्वास्थ्य सेवाप्रति सरकारी सोच पनि संवेदनशील छैन भन्ने प्रस्ट भएको छ ।
गंगालालको मेसिन, घरलगायतको खर्च सरकारले बेहोर्छ । वर्षभरि गरिने निःशुल्क शल्यक्रिया तथा उपचारबापतै पनि यसले सामान्य शुल्कका तुलनामा १५–२० प्रतिशत बढी तोकेर सरकारबाट सोधभर्ना लिन्छ, जसबाट आम्दानी भइरहेको छ । सरकारले दिने अनुदान पनि अन्त कहीँबाट बर्सिने होइन, सर्वसाधारणले नुनदेखि सुन किन्दा तिरेको करबाट संकलित रकम नै हो । सार्वजनिक बजेटसमेत खर्च गर्ने अस्पतालले परीक्षण शुल्कका नाममा बिरामीबाट पनि अचाक्ली रकम उठाउनुलाई कसैगरी न्यायोचित मान्न सकिन्न । त्यसैले, अस्पताल सञ्चालक समितिले बढाएको शुल्कउपर पुनर्विचार गर्नैपर्छ । अस्पताललाई अतिरिक्त स्रोतको खाँचो छ कि छैन भनेर अध्ययन हुनुपर्छ, छ भने पनि सरकारले हेर्नुपर्छ, बेमुनासिब भार बिरामीमाथि थोपर्न पाइँदैन ।
शुल्क वृद्धि गर्ने असंवेदनशील निर्णय मात्र होइन, व्यवस्थापनमा पनि गंगालालले गम्भीर त्रुटि गरिरहेको छ । मुटुको भल्भ फेर्न भर्ना गरिएका बिरामीलाई पनि अस्पताल प्रशासनले ‘अक्सिजेनेटर’ सकियो भनेर घर पठाएका तस्बिर सञ्चारमाध्यममा आएका छन् । आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि अल्पकालीन औषधि दिएर घर फर्काउने गरिएको छ । अत्यावश्यक स्वास्थ्य सामग्री आयातमा खेलाँची गर्दा जनस्वास्थ्यमा गम्भीर धोका भएको छ । अहिले केही ‘अक्सिजेनेटर’ ल्याइए पनि शल्यक्रिया सुसञ्चालन कहिले हुने हो भन्ने ठेगान छैन । सर्वसाधारणको मुटुसँग यस्तो खेलबाड गर्ने अस्पतालले एक चिकित्सकको स्वार्थका लागि भने अवकाशको उमेरहद ६० बाट ६३ वर्ष पुर्याएको छ । अव्यवस्था र अक्षमता कायम रहेमा गंगालाल अस्पतालको सुनाम दीर्घजीवी बन्न सक्दैन, यसबारे सम्बन्धित सबै गम्भीर बनी सुधारका सार्थक पहल थाल्नु अति जरुरी छ ।
प्रकाशित : श्रावण २७, २०७९ ०७:१२