खेतीपातीमा चराको साथ- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेतीपातीमा चराको साथ

रासायनिक विषादी हालिएका खेतका कृषि उपज र किरा खाँदा चराको श्वासप्रश्वासमा समस्या आउने, स्नायु प्रणालीमा असर पर्ने, तौल घट्ने र प्रजनन नहुने हुने गर्छ । 
कृष्णप्रसाद भुसाल

सन् १९५८ मा माओ त्सेतुङले चीनमा ‘भँगेरा सखाप’ अभियानको घोषणा गरे । अन्नबाली नोक्सान गरेको ठानेर चालिएको यो अभियानमा ६० करोडभन्दा बढी भँगेरा मारिएको बताइन्छ । बिडम्वना भँगेरा सखाप पारेपछि त्यहाँको कृषि उत्पादन झन् घट्यो । भँगेराले अन्न मात्र खाँदैनथे, किराफट्याङ्ग्रा पनि खान्थेँ ।

भँगेरा नहुँदा सलह र अन्य हानिकारक किराको संख्या ह्वात्तै बढ्यो फलस्वरूप अन्न कम भयो, भोकमरी झन् बढ्यो र यसैका कारण डेढ करोडभन्दा बढी मानिसले ज्यान गुमाएको चिनियाँ सरकारको तथ्यांक छ । सन् १९६० मा माओले यो अभियान फिर्ता लिए र कृषि उत्पादन दिगो राख्न भँगेराको पनि आवश्यकता महसुस गरी जोगाउन अपिल गरे । तर, चीनमा भँगेरा लगभग लोप भइसकेको थियो । यो अभियानबाट एउटा प्रजाति लोपोन्मुख मात्र भएन, सन्तुलित पर्यावरण नै खलबलियो, लाखौं मानिस भोकले मर्नुपर्‍यो, चरा मार्ने र खाने प्रचलन पनि व्यापक भयो ।

स्न १९३२ मा अस्ट्रेलियाको सैनिकलाई ‘इमु चरा’ मार्न निर्देशन दिइयो । किसानको खेती जोगाउन भन्दै हजारौं ‘इमु’ मारियो । तर मान्छेले आक्रमण गरेकोमा रिसाएका इमुले किसानको झन् धेरै अन्नबाली नोक्सान मात्र गरेनन्, सन्तान उत्पादन क्षमतासमेत बढाए । पछि अस्ट्रेलिया सरकारले ‘इमु’ मार्ने निर्णय फिर्ता लियो, सेनाको हार भयो । त्यस्तै औद्योगिक कृषि मलको अविष्कार भइनसकेको अठारौं शताब्दीमा चराको दिसा सबैभन्दा उत्तम मल मानिन्थ्यो र व्यापक प्रयोग गरिन्थ्यो । खासगरी समुद्री तटमा लाखौंको संख्यामा रहने चराको बिष्टा (गुवानो) को स्वामित्वका लागि देशहरूबीच लडाइँ नै भयो । सन् १८६४ मा पेरुभिएन टापुमा थुप्रिएको गुवानोका लागि स्पेनको पेरु, इक्वेडर र बोलेभियासँग युद्ध भएको इतिहास छ ।

यस्ता दृष्टान्तबाट चरा र कृषि पर्यावरण परिपूरक हुन भन्ने थाहा हुन्छ । चरा मात्र होइन माहुरी, पुतली, माकुराजस्ता किरादेखि चरनमा रमाउने ठूला जनावरसम्म कृषि प्रणालीका सारथि हुन् । तर पछिल्लो समय कृषिको व्यापक आधुनिकीकरण र व्यवसायीकरणसँगै यसका परम्परागत प्राकृतिक प्रणालीहरू खलबलिँदै छन् । विश्वको करिब ३८ प्रतिशत जमिनमा खेती गरिन्छ, मान्छेले छिटोभन्दा छिटो ठूलो परिणाममा उत्पादन गर्नेतिर मात्र ध्यान दिँदा कृषि पर्यावरणले आफ्नो प्राकृतिक स्वरूप, गुणस्तर र दिगोपन भने गुमाउँदै गएको छ ।

बर्डलाइफ इन्टरनेसनलका अनुसार विश्वमा चरा लोप हुँदै जानुको एउटा प्रमुख कारण आधुनिक कृषि प्रणालीको तीव्र विकास हो । विश्वमा पाइने ११ हजारभन्दा बढी प्रजातिका चरामध्ये करिब १५ सय प्रजाति लोपोन्मुख अवस्थामा छन्, जसमध्ये ७४ प्रतिशत प्रजाति बदलिँदो खेती प्रणालीको प्रत्यक्ष मारमा परेका छन् । कृषि क्षेत्रको विस्तारका कारण प्राकृतिक वातावरण नासिँदा चराको बासस्थान पनि हराएको छ । चिया, कफी, उखुजस्ता एकै जातका बालीनालीको खेती गरिँदा धेरै चरालाई सुहाउँदो आहार र उपयुक्त बासस्थान उपलब्ध हुँदैनन् । रासायनिक विषादीको व्यापक प्रयोग भएका खेतका कृषि उपज र किरा खाँदा चराको श्वासप्रश्वासमा समस्या आउने, स्नायु प्रणालीमा असर पर्ने, तौल घट्ने र प्रजनन नहुने विभिन्न अध्ययनले देखाएका छन् । संयुक्त राज्य अमेरिकामा मात्र हरेक वर्ष ६ करोड ७० लाख चरा रासायनिक विषादीको प्रयोगका कारण मर्ने र करिब ६० करोड चरा प्रभावित हुने वैज्ञानिकहरू बताउँछन् । डीडीटीजस्तो विषादीका कारण शाही बाज र अन्य सिकारी चराहरूको अन्डाको बोक्रा पातलो भएर प्रजनन असफल हुनु अहिले ठूलो चुनौती बनिरहेको छ । बसाइँसराइ गर्ने चराहरू विषादीका कारण तौल कम भई कमजोर हुँदा गन्तव्यसम्म उडान भर्न र स्नायु प्रणालीमा असर पर्ने हुँदा गन्तव्यसम्म पुग्ने बाटो पहिचान गर्न पनि सक्दैनन् ।

कृषिको तीव्र व्यावसायीकरणसँगै चराहरू घट्दै गएका छन् । संयुक्त राज्य अमेरिका र क्यानडामा सन् १९६६ देखि २०१३ सम्मको अध्ययनमा कृषि क्षेत्रमा बस्ने चराको संख्या ७४ प्रतिशतले घटेको छ । युरोपमा पनि सन् १९८० को दशकदेखि खेतबारीमा पाइने चराको संख्या ५७ प्रतिशतले कम भएको छ । युरोप र एसियाका खेतबारी र सँगैको सिमसार क्षेत्रमा बस्ने भँगेरा आकारको बगालेबगेडीको संख्या पनि स्न १९८० देखि २०१३ सम्म ९० प्रतिशतभन्दा बढीले घटेको छ । युरोपका खेतबारीमा पाइने तामे ढुकुर प्रजातिको संख्या गत १५ वर्षमा ४९ प्रतिशतले कम भयो ।

नेपालमा पाइने ८ सय ९० प्रजाति चरामध्ये करिब २१ प्रतिशत कृषि क्षेत्रमा बस्छन् र त्यसमा पनि विश्वमै दुर्लभ चराका ४३ प्रजातिमध्ये करिब आधा प्रजाति कृषि क्षेत्रमा निर्भर छन् । कान्लामा गुँड बनाउने संसारको सबैभन्दा अग्लो चरा सारस हुन् वा खेतहरू बीचका अग्ला रूखमा गुँड बनाउने गरुड, गिद्ध वा जाडोयाममा मंगोलियाबाट हाम्रो खेतबारीमा आउने पाहुना बगालेबगेडी, यी सबै लोपोन्मुख छन् ।

नेपालको कृषि क्षेत्रमा निर्भर चराको अवस्था र तिनले भोगिरहेका चुनौतीका विषयमा विद्यावारिधि गर्नुभएका हेमबहादुर कटुवालको हालैको अनुसन्धानमा सुनसरी, सर्लाही, चितवन तथा कपिलवस्तुका कृषि क्षेत्रमा २०१ प्रजातिका चरा पाइने र तीमध्ये ९ प्रजाति विश्वमै दुर्लभ रहेको अनि २६ प्रजाति राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा रहेको तथ्य पाइन्छ । रोचक त, वन र नदीको बहाव क्षेत्रमा भन्दा कृषि क्षेत्रमा चराको प्रजाति र संख्या बढी देखिएको छ । यो अध्ययनमा तराईमा विभिन्न बालीको मिश्रित तथा बीचबीचमा रूखहरू भएका खेतमा चराहरूको विविधता र संख्या बढी पाइएको छ । बहुवर्षीय बालीले भन्दा मौसमअनुसार लगाइने फरक–फरक खेतीले धेरै चरालाई आकर्षित गर्ने देखिएको छ । अध्ययनमा उखु खेती पनि गरिएका क्षेत्रमा प्रजाति बढी पाइने र धान खेतमा संख्यात्मक हिसाबले धेरै चरा पाइने उल्लेख छ । कटुवालकै अर्को अध्ययनमा तराईका ७ सय ४३ किसानमध्ये ६३ प्रतिशतले चरालाई मन पराएको र चराले उनीहरूलाई कुनै न कुनै रूपमा फाइदा पुर्‍याएको बताएका छन् ।

यसले के देखाउँछ भने, हाम्रो मिश्रित बालीको खेती गर्ने, मौसमअनुसारका फरक–फरक बाली लगाउने, खेतका बीचमा रूखहरू पनि जोगाउने परम्परागत खेती प्रणाली अत्यन्तै पर्यावरणमैत्री, सन्तुलित र दिगो छ । तर कटुवालको अध्ययनले यसको बदलिँदो र बिग्रँदो पाटो पनि उजागर गरेको छ । पछिल्ला दिनहरूमा खेतीयोग्य जमिनमा जथाभावी र मनोमानी तवरले घर, बाटो बनिरहेका छन्, बिजुलीका तारहरू राखिएका छन् । अध्ययनबिना इँटा उद्योग सञ्चालन र अनियन्त्रित ढुंगा, माटोको उत्खननले कृषि पर्यावरण नै खलबलिएको छ । चराहरूको चोरीसिकार पनि बढेको छ । मात्रा र सावधानीसम्बन्धी कुनै जानाकारीबिना विषादीको प्रयोग व्यापक बन्दै गएको छ । कृत्रिम वातावरण सिर्जना गरेर ठूलो परिणाममा उत्पादन गर्न अनेक हतकण्डा अपनाउने प्रवृत्ति मौलाएको छ । यसले चरा र किसानबीच द्वन्द्व पनि बढाएको छ । राज्यले पनि खेतीयोग्य जमिनको पहिचान गरी गुणस्तरीय र दिगो कृषि उत्पादनको प्रवर्द्धनमा खासै चासो दिएको छैन । स्थानीय सरकारले यो पाटोलाई बेवास्ता गरिरहेका छन् । उनीहरूको ध्यान अनुदान वितरण र राहात उपलब्ध गराउनेमा मात्र छ, जुन दिगो समाधानको बाटो हुँदै होइन ।

स्वाभाविक रूपमा खाद्यान्नको बढ्दो मागलाई पूर्ति गर्न उत्पादनलाई बढाउनुपर्ने बाध्यता छ तर यसको मतलब गुणस्तरीय, दिगो र पर्यावरणमैत्री उत्पादन र यसका प्राकृतिक प्रणालीहरूलाई बिर्सनु हुँदैन । कृषिमा आधुनिकीकरण भनेको बढी उत्पादन गर्नु मात्र होइन, त्यसको गुणस्तर कायम राख्नु र दिगो बनाउनु पनि हो । तर हाम्रोमा माटो र वातावरणको ख्यालै नगरी रासायनिक मल र विषादिको जथाभावी प्रयोग गरिन्छ । यसले माटोको उर्वराशक्ति घटाउनुका साथै उत्पादित चिजले नै विषको काम गर्ने खतरा रहन्छ । त्यस्तै यहाँको हावापानीमा अनुकूलित भएका स्थानीय जातका बालीहरू विस्तारै विस्थापित भइरहेका छन्, योसँगै पौष्टिकता मात्र हराएका छैनन्, बीउ, औजार र प्रविधिमा समेत परनिर्भरता बढ्दै छ । गहिरिँदो खाद्य संकट समाधान गर्दै भविष्यमा खाद्य सुरक्षाको सुनिश्चितताका लागि मात्रात्मक उत्पादन बढाउने मात्र होइन दिगो, गुणस्तरीय र पर्यावरणमैत्री कृषि उत्पादन, त्यसको बजारीकरण र जिम्मेवार उपभोगमा पनि जोड दिनुपर्छ । यसका लागि प्रांगारिक उत्पादन र ‘इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट’ जस्ता विधि अपनाउनुका साथै परम्परागत ज्ञान र सीपलाई समयानुल परिष्कृत र प्रभावकारी बनाउँदै लैजानुपर्छ । यस्ता विधिमा चरा, माहुरी, पुतली तथा गड्यौलाले महत्त्वपूर्ण सहयोग गर्छन् ।

विश्व प्रांगारिक कृषितिर ढल्कँदै छ, १८७ देशको ७ करोड २३ लाख हेक्टर जमिनमा ३१ लाख किसानले प्रांगारिक कृषिलाई अपनाएको बताइन्छ । कयौं बाली र फलफूलको बीउ वितरण र परागसेचनमा चराको महत्त्वपूर्ण भूमिका हुन्छ । कतिपय बीउ त चराले खाएर बिष्टाएपछि मात्र उम्रन सक्छन् । किसानको साथी भनिने गोठे लाटोकोसेरोको जोडीले एक प्रजनन अवधिमा करिब ३ हजार मुसा खाने कतिपय अध्ययनले देखाएका छन् । यसबाट चराले किसानलाई पुर्‍याउने सहयोगको सहजै अनुमान गर्न सकिन्छ । त्यसैले कृषि र चराको अन्तरसम्बन्धलाई खलबलिन दिनु हुन्न ।

भुसाल पन्छीविज्ञ हुन् ।

प्रकाशित : श्रावण २५, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

ट्रम्पको घरमा एफबीआईको छापा

एजेन्सी

वासिङ्टन — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा संघीय जाँच ब्युरो (एफबीआई) ले छापा मारेको छ । ट्रम्पले एक वक्तव्य जारी गर्दै लोरिडास्थित मार–ए–लागो रिसोर्टमा रहेको घर ‘एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ जनाएका छन् । अमेरिकी समाचार संस्था सीबीएस न्युजले आधिकारिक कागजपत्रहरूको विषयमा ट्रम्पको घरमा छापा मारिएको जनाएको छ । 

तस्बिर : रोयटर्स

अमेरिकी संसद् भवनमा गत वर्ष भएको हिंसात्मक घटनाका विषयमा पनि ट्रम्पमाथि अमेरिकी संसद्ले छानबिन गरिरहेको छ । सीएनएनका अनुसार एफबीआईले सोमबार छापा मारेको समयमा ट्रम्प भने न्युयोर्कस्थित ट्रम्प टावरमा रहेका थिए ।

राष्ट्रिय अभिलेखालयको विवरणसँग सम्बन्धित अनुसन्धानमा ट्रम्पको घरमा छापा मारिएको जनाइएको छ । उनी राष्ट्रपति हुँदाका बखतका महत्त्वपूर्ण सरकारी कागजात ट्रम्पले आफ्नो घरमा लुकाएका जनाइएको छ । तर ट्रम्पले उक्त आरोपको खण्डन गरेका छन् ।

ट्रम्पका वरिष्ठ सल्लाहकारले राष्ट्रपतीय अभिलेखसँग सम्बन्धित विषयमा ट्रम्प निवासमा छापा मारिएको बताएका छन् । छापा मार्ने क्रममा एफबीआईले निकै कम मात्र जानकारी प्राप्त गरेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो । अमेरिकी राष्ट्रपतिले सबै चिठीपत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेल राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

‘यो हाम्रो देशका लागि कालो समय हो,’ ट्रम्पले भनेका छन् । सबै सरकारी निकायसँग आफूले समन्वय गरेको दाबी गर्दै ट्रम्पले ‘पूर्वजानकारीबिना छापा मारिएको र उक्त कार्य अनावश्यक र अनुचित भएको’ दाबी गरेका छन् ।

अमेरिकामा सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा आफूलाई उम्मेदवार बन्न नदिन ‘न्याय प्रणालीलाई हतियारका रूपमा प्रयोग गरिएको’ ट्रम्पको आरोप छ । उनले यस्ता आक्रमण तेस्रो विश्वमा मात्र हुने गरेको दाबी गरे । ‘दुःखको कुरा अमेरिका जस्तो देशमा पनि यस्तै भएको छ । उनीहरूले मेरो सेफ पनि फुटाए,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पको घरमा छापा मार्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई पनि जानकारी नदिइएको अधिकारीको भनाइ छ । यसबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा भएको ह्वाइटहाउसका एक अधिकारीले बताए ।

प्रकाशित : श्रावण २५, २०७९ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×