कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साना विद्यार्थीलाई जीवन–जगत्

मधु राई

साताका पाँच दिन कक्षाकोठामै पढाए पनि शुक्रबारका दिन, पानी नपरेका बेला, यूकेजीका विद्यार्थीलाई मैले आफ्नो कौसीखेती अवलोकन गराउँदै आएकी छु । वर्षायाममा करेसाबारीभन्दा कौसीमा मौसमी तरकारीसहित फलफूल बढी सप्रने गरेकाले पनि कौसीखेती अवलोकन बढी फलदायी हुने गरेको छ ।

साना विद्यार्थीलाई जीवन–जगत्

कौसीखेती घुमेपछि विद्यार्थीहरू तरकारीहरूका नाम भन्न, आफूलाई मन पर्ने तरकारी र फलफूलको चित्र बनाउन उत्साहित हुन्छन् । उनीहरूलाई तरकारी र फलफूलको महत्त्व बुझाउँदा तरकारी नखाने विद्यार्थीहरू पनि ‘अब त म पनि तरकारी खान्छु’ भन्न थाल्छन् । कहिलेकाहीँ अवलोकनपछि घर जाने बेला उनीहरूलाई मैले उपहारस्वरूप तरकारीको बिरुवा दिने गरेकी छु । यसरी आफूले दैनिक खाने तरकारी र फलफूल देखेर कतिपयले ‘मेरो घरमा पनि छ नि यस्तो तरकारीबारी’ भन्ने गर्छन् । यस्तै कतिपय भन्छन्, ‘अब त म पनि बाबामम्मीलाई पनि भन्छु यस्तै तरकारीबारी बनाउन ।’

सबैजसोका घरका कौसी र करेसाबारीमा तरकारी र फलफूल लगाउने गरिएकै हुन्छ तर अधिकांश साना विद्यार्थीलाई यसबारे त्यति थाहा हुँदैन या भनौं अभिभावकहरूले पनि यसको महत्त्व बुझाउने गरेका हुँदैनन् । तरकारी तथा फलफूलबारे पढाउने मात्रै होइन, महत्त्व पनि बुझाइदिनुपर्ने हुन्छ । अफसोस, सैद्धान्तिक ज्ञान मात्र बाँड्दै आएका अधिकांश शिक्षकका कारण विज्ञान विषय साना विद्यार्थीका लागि हाउगुजी बन्ने गरेको छ । विज्ञानको व्यावहारिक ज्ञानले विद्यार्थीलाई जिज्ञासु बनाउँछ । पूर्वप्राथमिक र प्राथमिक तहका विद्यार्थीहरूलाई विज्ञानप्रति कौतूहल जगाउन शिक्षक र विद्यालय व्यवस्थापनले अतिरिक्त समय र अर्थ खर्चिनुपर्ने हुन्छ । पूर्वप्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई विज्ञानको सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन, उनीहरूको सिकाइ पूरा गर्न व्यावहारिक ज्ञान अपरिहार्य हुन्छ ।

तल्लो तहमा विज्ञानको व्यावहारिक ज्ञान नपाएका कारण माथिल्लो कक्षा पुग्दा–नपुग्दै अधिकांश विद्यार्थीलाई यो विषय झ्याउ लाग्न थाल्छ । मेरा आफ्नै छोराछोरीले पनि स्कुले जीवनमा विज्ञानको व्यावहारिक ज्ञान पाएनन् । छोराले ‘वैज्ञानिकहरूले गरेका अनुसन्धानबारे हामीले किन पढ्ने, हामीले त नयाँनयाँ काम पो गर्ने हो त’ भन्ने गर्थ्यो । हुन त अधिकांश अभिभावकको चाहना आफ्ना छोराछोरीले स्कुले शिक्षापछि विज्ञानमा उच्च शिक्षा हासिल गरून् भन्ने हुन्छ तर तीमध्ये अधिकांशले सन्तानले विद्यालयमा विज्ञानको व्यावहारिक ज्ञान कस्तो पाइरहेका छन् भन्नेबारे त्यति चासो भने लिँदैनन् ।

पढेलेखेकै अभिभावकहरूको चासोचिन्तामा विज्ञान नपरेपछि यसका विषय शिक्षकहरूले पनि विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन आवश्यक ठान्दैनन् । त्यसो त प्रायः विद्यालय व्यवस्थापनले समेत यी र यस्ता विषयमा त्यति चासो लिँदैनन् । अधिकांश विषय शिक्षकको ध्याउन्न पनि विज्ञानलाई कसरी रुचिकर बनाउनेभन्दा पनि कहिले पाठ सिध्याउने भन्नेतिर हुन्छ । शिक्षकको यस्तो व्यवहार र निष्क्रिय शिक्षण सिकाइको दूरगामी प्रभाव विद्यार्थीको सिकाइमा पर्छ । साना विद्यार्थीहरूलाई जसरी पढाए पनि केही फरक पर्दैन भन्ने मनोविज्ञानबाट माथि उठ्न नसकेका कारण विज्ञान शिक्षकले व्यावहारिक ज्ञान दिन कन्जुस्याइँ गरेको देखिन्छ । यसो हुनुमा विज्ञान विषयका शिक्षकहरू स्वयंले पनि स्कुले जीवनमा व्यावहारिक ज्ञान पाएका हुँदैनन् ।

स्कुले जीवनमा बुझेरभन्दा पनि घोकेर विज्ञान पढ्ने कतिपयले स्कुले शिक्षापछि केही वर्ष विज्ञान पढ्छन् र कालान्तरमा संकाय नै बदल्छन् । कतिपयले पढाइ नै छाड्छन् । यसरी स्कुल पढ्दापढ्दै मात्र हैन, उच्च शिक्षा हासिल गर्दागर्दै पढाइ छाड्ने थुप्रै कारणमध्ये विज्ञान विषयको निष्क्रिय शिक्षण सिकाइ पनि एक हो भन्ने अध्ययनले औंल्याएको धेरै भयो । विकसित मुलुकहरूमा शिक्षाका सरोकारवालाहरूले विज्ञान विषयलाई मात्र हैन, समग्र शिक्षालाई नै मानिसको जीवन र जगत्सँग कसरी जोड्ने भनेर अध्ययन–अनुसन्धान गर्दै आएका छन् भने हामीकहाँ त्यस्तो अभ्यासको पूर्णतया कमी छ । स्कुले शिक्षा भनेको विद्यार्थीले आफ्नो जीवनको लक्ष्य निर्धारण गर्ने अवसर हो भन्नेबारे वर्तमान शिक्षाका सरोकारवालहरू अनभिज्ञजस्तै देखिन्छन् ।

पछिल्लो समय त बालमनोविज्ञानका कुरालाई चटक्क बिर्सेर साना विद्यार्थीहरूलाई जसरी पनि पढाउनैपर्छ भन्ने मनोविज्ञानले अधिकांश शिक्षक ग्रस्त छन् । यसरी विज्ञान पढाइको अवैज्ञानिक सुरुवातले साना विद्यार्थीहरूको प्रारम्भिक शिक्षणसिकाइ नै ‘हलुवामा बालुवा’ मिसिएसरह भएको छ । अधिकांश शिक्षक स्वयं पनि बालविज्ञानका आधारभूत कुराबारे अनभिज्ञजस्तै छन् । त्यसैले उनीहरूमा यस्तो मनोवृत्तिको विकास हुँदै गएको देखिन्छ । हुन त शिक्षकहरूमा यस्तो मनोवृत्ति विकास हुनुमा अभिभावकहरू पनि जिम्मेवार देखिन्छन् । किनभने निजी विद्यालयका अधिकांश अभिभावक स्वयं पनि आफ्ना छोराछोरीले बढीभन्दा बढी लेखपढ गरून् भन्ने चाहन्छन् । अभिभावकहरूको यस्तै अति चाहनालाई पूरा गर्न शिक्षकहरू कम्मर कसेर लागिपरेका देखिन्छन् ।

यस्तै कतिपय कारणले गर्दा पनि विज्ञानलाई जीवन र जगत्सँग जोड्न सकिएको छैन । पूर्वप्राथमिक र प्राथमिक तहका बालबालिकाको शिक्षणसिकाइमा व्यावहारिक शिक्षाले महत्त्व नपाएकै कारण विज्ञान मात्र हैन, अरू विषय पनि रुचिकर बन्न सकेका छैनन् । हुन पनि हो, औपचारिक शिक्षाको प्रारम्भिक खुड्किलो अर्थात् पूर्वप्राथमिक तथा प्राथमिक तह भनेका ज्ञान निर्माण गर्ने प्रारम्भिक अवस्था हुन् जसका लागि अभिभावकले घरमा र शिक्षकले विद्यालयमा सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ ।

विद्यार्थीहरूलाई सानैदेखि बारी गोडमेल गर्ने सीप पनि सिकाउन सके माटोसँगको सामीप्य बढ्छ । विद्यार्थी जीवनमा माटोसँग सामीप्य बढाउन विज्ञान विषयको सक्रिय शिक्षण सिकाइले महत्त्वपूर्ण भूमिका खेल्छ । प्राथमिक तहका विद्यार्थीलाई विद्यालयमा मात्र हैन, घरमा पनि अभिभावकहरूलाई कौसी र करेसाबारीमा सघाउन शिक्षकहरूले अभिप्रेरित गर्न सके सानै उमेरमा बोटबिरुवा हुर्काउने सीपको विकास हुन्छ । सहरबजारमा हुर्किरहेका साना–ठूला विद्यार्थीहरू अहिले मोबाइल र टीभीमा घण्टौं समय बिताउने गरेका छन् । यस्ता विद्यार्थीहरूको समयलाई सदुपयोग गर्न पनि विज्ञान विषयका शिक्षकहरूले व्यावहारिक शिक्षा दिन अपरिहार्यजस्तै देखिएको छ । यसो हुन सके उनीहरूलाई विज्ञान हाउगुजी हैन, ज्ञान निर्माणका लागि चाहिने अति आवश्यक विषय बन्न पुग्छ । यसरी विज्ञानको अपरिहार्यतालाई विषय शिक्षकले बुझ्न सके मात्र यसलाई जीवन र जगत्सँग जोड्न सकिन्छ ।

प्रकाशित : श्रावण २५, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?