कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
सम्पादकीय

जलविद्युत् पीपीएका बाधा फुकाऊ

सम्पादकीय

सरकारले पछिल्ला चार वर्षदेखि नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) बन्द गरेपछि साढे ११ हजार मेगावाट क्षमता बराबरका आयोजनाको उत्पादन अनिश्चित छ ।

जलविद्युत् पीपीएका बाधा फुकाऊ

पीपीएका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएको लामो समयसम्म पनि जलविद्युत् प्रवर्द्धकहरूले जवाफ पाएका छैनन्, जुन दुर्भाग्यपूर्ण छ । खास गरी प्राधिकरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयबीच पीपीएका विषयमा समान धारणा हुन नसक्दा गाँठो अल्झिएको देखिन्छ । नेपालका लागि सबैभन्दा बढी सम्भाव्य अर्थात् आफ्नै उत्पादन विद्युत्का विषयमा चार वर्षदेखि भइरहेको यो अन्योलको अन्त्य जरुरी छ । त्यसका लागि मुख्य गरी प्राधिकरणले ऊर्जा र अर्थ मन्त्रालयबीच तत्काल समन्वय गरी उचित निर्णय लिन आवश्यक छ ।

लामो समयदेखि पीपीए रोकिएपछि निजी क्षेत्रकै दबाबमा सरकारले ऊर्जा सम्मिश्रण (इनर्जी मिक्स) सम्बन्धी व्यवस्थामा संशोधन गरी पीपीए गर्ने बाटो खुला गरिसकेको छ । अर्थात्, जलाशययुक्त आयोजनाको पीपीए सीमामा १० प्रतिशत कटौती गरेर आरओआर आयोजनालाई दिने निर्णय गत असार १४ को मन्त्रिपरिषद् बैठकले गरेको हो । उक्त निर्णयपछि १५ सय मेगावाट क्षमताका आरओआर आयोजनाका लागि थप पीपीए खोल्न नीतिगत बाटो खुलेको हो । तर यसको कार्यान्वयन गर्ने जिम्मा पाएको विद्युत् प्राधिकरण सञ्चालक समितिले पीपीए खुलाउने निर्णय गरेको छैन ।

प्राधिकरणले पीपीए नखोल्नुका पछाडि मुख्य गरी दुइटा कारण देखिन्छन् । पहिलो, १५ सय मेगावाट बराबर मात्र पीपीए खोल्दा कुन र कस्ता आयोजनालाई अनुमति दिने वा नदिने भन्ने मापदण्ड टुंगो लागेको छैन । करिब साढे ११ हजार मेगावाट क्षमताका आयोजनाले पीपीएका लागि निवेदन दिएकामा १५ सय मेगावाटलाई प्राधिकरणले कसरी स्वीकृति दिन्छ भन्ने टुंगो छैन । के–कस्ता आधारमा पीपीए स्वीकृति दिने भन्ने मापदण्ड ऊर्जा मन्त्रालयले तयार पारिदिएको छैन । यो दायित्व ऊर्जा मन्त्रालयकै हो । मन्त्रालयले मापदण्ड तयार पारिदिइसकेपछि मात्रै पीपीए खोल्ने प्रस्ताव प्राधिकरणले सञ्चालक समितिमा लैजाने भएकाले यसबारे शीघ्र निर्णय आवश्यक छ ।

दोस्रो, पीपीए गर्दा भविष्यमा आइपर्न सक्ने आर्थिक तथा प्राविधिक जोखिम वहन गर्न सरकार र प्राधिकरण दुवै तयार छैनन् । प्राधिकरणले थप पीपीए गर्न नचाहेको वा भविष्यमा जोखिम देख्नुको कारण प्रसारण संरचनाको क्षमता न्यून हुनु र प्रवर्द्धकबाट किनिएको बिजुली बेच्न बजार सुनिश्चित गर्न नसक्नु हो । पीपीए थप्दा आइपर्ने यिनै आर्थिक र प्राविधिक जोखिमको दायित्व प्राधिकरणले बेहोर्न चाहेको छैन । उसले सरकारबाटै जोखिम वहनको प्रत्याभूति खोजिरहेको छ, जसका लागि अर्थ मन्त्रालय तयार छैन । प्राधिकरणले पीपीए जोखिम वहन गर्न अर्थ मन्त्रालयसँग आग्रह गर्दै पत्र पठाएको थियो । तर अर्थ मन्त्रालयले त्यस्तो जोखिम लिन नसकिने जवाफ दियो । पीपीए गरेपछि निजी क्षेत्रसँग बिजुली किन्नैपर्ने तर बेच्नका लागि बजार नहुने अवस्थाबाट प्राधिकरण बच्न चाहेको देखिन्छ । एउटा कम्पनीका हिसाबले मात्रै हेर्दा प्राधिकरणका लागि यो रणनीति ठीकै देखिए पनि मुलुकका लागि प्रत्युत्पादक हुने भएकाले सरोकारवाला सरकारी निकायले निकास खोज्न ढिलाइ गर्नु हुन्न ।

ऊर्जा विकास सम्बन्धी दसवर्षे अवधारणापत्र अनुसार जलविद्युत् आयोजनाको पीपीए गर्दा विद्युत् प्राधिकरणलाई अतिरिक्त घाटा पर्न गएमा सोको सोधभर्ना सरकारले उपलब्ध गराउनुपर्छ । त्यसैले यसमा अर्थ मन्त्रालयले अनावश्यक अत्तो थाप्न हुँदैन । जलविद्युत्का सम्बन्धमा हाम्रा आन्तरिक स–साना समस्या समाधान गरी बाह्य बजारको खोजी र विद्युत् बिक्री सुनिश्चित गर्नैपर्ने भएको छ । अहिले वर्षायाममा उत्पादित बिजुली आन्तरिक माग धानी भारतमा समेत बिक्री हुन थालिसकेको छ । कुल जडित क्षमता २२ सय मेगावाट हाराहारी हुँदा नै आन्तरिक खपत धानेर बिजुली खेर जाने अवस्थामा छ । भारतले पनि ३ सय ६५ मेगावाटभन्दा बढी बिजुली किन्न अनुमति दिइसकेको छैन । अर्कातर्फ, भारतसँग दीर्घकालीन पीपीए भएको छैन । भारतले नेपालसँगको बिजुली व्यापार सम्झौता हरेक वर्ष नवीकरण गर्छ । आगामी वर्षहरूमा उसले आन्तरिक उत्पादनबाट माग धान्न सक्ने अवस्थामा नेपालको बिजुली त्यहाँ बिक्री नहुन सक्छ । यही जोखिमका कारण पनि प्राधिकरणले पीपीए खुलाउन चाहेको देखिँदैन ।

आर्थिक र प्राविधिक जोखिम छ भन्दैमा सरकारले पीपीए रोकेर राख्नु हुँदैन । सरकारले अरू विकल्प पनि हेर्नुपर्छ । जस्तै, अहिले नै करिब १६ सय मेगावाट क्षमता बराबरका आयोजनाले पीपीए लाइसेन्स लिए पनि निर्माण थालेका छैनन् । लाइसेन्स होल्ड गर्ने तर काम नगर्ने आयोजनाहरूसँगको पीपीए सम्झौता तोडेर विद्युत् उत्पादन सुनिश्चित गरिसकेका आयोजनाको पीपीए गरिदिन सकिन्छ । एकातिर वर्षौंदेखि लाइसेन्स लिएर निर्माणको काम सुरु नगर्ने आयोजनालाई पनि कारबाही नगर्ने र अर्कातिर उत्पादन गर्छु भन्नेहरूको पीपीए पनि नगरिदिने विरोधाभासपूर्ण नीति जलविद्युत् विकासका लागि अनुचित छ ।

सरकारले आफैंले पीपीए गर्न नसके निजी क्षेत्रलाई सुम्पन सक्ने अर्को विकल्प खुलै छ । अर्थात्, आयोजनाबाट उत्पादित बिजुली कि त प्राधिकरणले किनिदिनुपर्छ वा निजी क्षेत्रलाई नै व्यापारका लागि लाइसेन्स दिनुपर्छ । यसका लागि विद्युत् व्यापारको अनुमति दिने वैधानिक बाटो खुलाउन हाल संसद्मा विचाराधीन विद्युत् विधेयक पारित हुनुपर्छ । आफूले उत्पादन गरेको बिजुली आफैं बेच्न सक्ने अधिकार निजी क्षेत्रलाई दिन कानुनी व्यवस्था अपरिहार्य छ । बिजुली बेच्ने प्रत्याभूति नहुँदा एकातर्फ उनीहरूले लगानी जुटाउन सकेका छैनन् भने जुटेको लगानीमा पनि बैंक र वित्तीय संस्थाले असुरक्षित महसुस गर्न थालेका छन् । यसबाट नेपालमा लगानीमैत्री वातावरण छैन भन्ने सन्देश पनि गैरहेको छ । त्यसकारण, पीपीए गरिसकेपछि निश्चित समयसीमाभित्र आयोजना सम्पन्न गरिसक्ने प्रतिबद्धता लिएर पीपीएको अड्को फुकाइदिनुपर्छ ।

यसका लागि निजी क्षेत्र पनि केही लचिलो हुन आवश्यक देखिन्छ । निश्चित समयसीमाभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता निजी प्रवर्द्धकहरूले गर्नैपर्छ । अर्कातर्फ, ‘लेऊ वा तिर’ (टेक अर पे) प्रावधानको सट्टा लेऊ र तिर ‘टेक एन्ड पे’ को अवधारणामा पीपीए गर्न निजी क्षेत्र पनि तयार हुनुपर्छ । बिजुली लिएको अवस्थामा मात्रै पैसा तिर्ने अवस्था भएमा प्राधिकरणले पीपीए गर्न सक्छ । टेक एन्ड पे निजी क्षेत्र र प्राधिकरण दुवैले जित्ने अवस्था हो । त्यसैले निजी क्षेत्र, सरकार, प्राधिकरण र समग्र मुलुकै ‘विन–विन’ हुने अवस्था सृजना गर्नुपर्छ । त्यसका लागि विषयलाई समग्रतामा हेर्नुपर्छ; एउटा मन्त्रालय, प्राधिकरण वा एउटा प्रवर्द्धकको हिसाबले मात्रै नीति निर्णय गर्नु हुँदैन ।

प्रकाशित : श्रावण २४, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?