सिंगै नेपालको अर्थ- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंगै नेपालको अर्थ

अहिलेकै अवस्थामा देश श्रीलंकाको जस्तो टाट पल्टिने हैसियतमा त नपुग्ला तर अनाचार जारी रहने हो भने अहिलेका नामी–गिरामी नेताहरू देश छाडेर भाग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।
किशोर नेपाल

पहाड मधेश थुम्काथुम्की र उकाली ओरालीको देश
कसैको पेवा होइन, कसैले ठेक्का लिएर पनि हुने हैन,
मुहान जो बग्नुपर्छ, जम्नु यसको कुनै अर्थ हुँदैन ।
काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन
काठमाडौं एक्लैले अब सिंगै नेपालको अर्थ 
लगाउन सक्दैन ।


चार दशकअघि, सडक कविता क्रान्तिको समयमा, यो कवितामार्फत कवि कृष्णभूषण वलले उद्घोष गरिसकेका थिए- ‘काठमाडौं एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।’ तत्कालीन नेपाल ‘अधिराज्य’ काठमाडौंकेन्द्रित थियो । चर्को उकुसमुकुसको समय थियो त्यो । कवि, कलाकार र साहित्यकारले जसोतसो स्वतन्त्रताको दीपशिखा जलाएका थिए । रमाइलो कुरा, चर्को केन्द्रीयताको त्यो समयमा स्वतन्त्रताका सानातिना उच्छवास पनि काठमाडौंकेन्द्रित नै थिए । पढेलेखेका सचेत व्यक्तिहरू, कवि, कलाकार र साहित्यकारहरू, राजनीतिक कार्यकर्ताहरू र आन्दोलनकारी विद्यार्थीहरू साँझपख नयाँसडकको पीपलबोटमा जम्मा हुन्थे । भारतको राजधानी दिल्लीबाट प्रकाशित हुने प्रभावशाली समाचारपत्रहरू हरेक अपराह्न नयाँसडकको पत्रिकाबजारमा आइपुग्थे । प्रजातन्त्रवादी र प्रगतिवादी खेमामा विभाजित तत्कालीन नेपाली समाजको आँखीझ्याल थियो नयाँसडक ।

त्यो बेला कवि कृष्णभूषण वलको कविताले नेपालको एकात्मक राज्यसत्तालाई दिएको चुनौती कतिले महसुस गरे वा गरेनन्, त्यसको लेखाजोखा आवश्यक छैन । काठमाडौं सानो र गरिब अधिराज्यको वैभवको केन्द्र थियो भने त्यो केन्द्रको अन्तःपुर थियो नारायणहिटी राजदरबार । पश्चिम बैतडीको सीमामा पर्ने झुलाघाटदेखि सदरमुकाम गोठालापानीसम्म बाटो निर्माण गर्ने निर्णय पनि अन्तःपुरले नै गर्थ्यो । ‘राष्ट्रिय एकता’ कायम राख्न कर्णालीका विकट गाउँमा चामल पठाउँथ्यो सरकार । त्यसका लागि कोल्टी विमानस्थल सप्लाईको प्रमुख केन्द्र बनेको थियो । यो त अहिलेसम्म पनि नेपालको सर्वाधिक अविकसित क्षेत्रको चोला फेर्न नसकेको पश्चिम नेपालको कुरा हो । त्यतिखेर तुलनात्मक रूपले सम्पन्न मानिने पूर्वी नेपालको अवस्था पनि खासै राम्रो थिएन । देश विकासका लागि विकेन्द्रीकरणको नारा घन्काइएको थियो । तर, देशमा चलाइएको राजनीतिक परिपाटी पूरै केन्द्रीकृत थियो ।

निश्चय पनि, २०३६ सालमा राजा वीरेन्द्रले आफ्ना ‘प्रजा’ लाई बहुदलीय प्रजातान्त्रिक व्यवस्था र निर्दलीय पञ्चायत व्यवस्थाबीच चयनको आह्वान गरेका थिए, जनमतसंग्रहका माध्यमबाट । त्यो जनमतसंग्रहमा बहुदल पक्षको पराजय भएको थियो । तत्कालीन वामपन्थी राजनीतिमा प्रभावशाली मानिने ‘माले’ का नेताहरू र राजाबीच ‘समझदारी’ स्थापित भएपछि मालेले जनमतसंग्रह बहिष्कार गरेर निर्दलीय पक्षलाई सघाएको थियो । खास गरेर, देशमा प्रजातन्त्र स्थापनाका लागि आजीवन सक्रिय रहेका अथक योद्धा बीपी कोइराला र उनको दल नेपाली कांग्रेससँग विमति राख्ने त्यो समूह राजासँग मिलेर देशको शासन चलाउन चाहन्थ्यो । तत्कालीन परिस्थितिमा अपेक्षाकृत कमजोर रहेको कम्युनिस्ट नेता मनमोहन अधिकारीको समूह बहुदलीय प्रजातन्त्रको पक्षमा सक्रिय थियो । जनमतसंग्रहमा बहुदल पक्षको पराजयपछि स्थानीय रूपमा प्रभावशाली मानिएका मालेका केही नेता ‘जनपक्षीय’ पञ्चका रूपमा राजनीतिको मैदानमा उत्रिएका थिए ।

तत्कालीन निर्दलीय पञ्चायत व्यवस्थाका नेताहरू अहोरात्र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि शाहवंशीय राजाहरूको योगदानको चर्चा गर्थे । एक सय चार वर्षसम्म राणाहरूको ‘पिञ्जरा’ मा थुनिएका बबुरा शाहवंशीय राजाहरूले राष्ट्रिय स्वाभिमानको रक्षा कसरी गरेका थिए, अहिलेसम्म लेखिएको नेपालको इतिहासमा यसको उत्तर पाइँदैन ।

‘काठमाडौं एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन’ भनेर कवि कृष्णभूषण वल गर्जिएको तीन दशकपछि मूलधारका राजनीतिक दल र राज्यविद्रोहमा लागेका माओवादीको संयुक्त जन–संघर्षपछि नेपाल संघीय गणतन्त्रका रूपमा स्थापित भयो । ‘परिवर्तनका लागि’ हतियार बोकेर जंगल पसेका माओवादीहरू चुनबाङ बैठकसम्म दिशाहीन क्रान्तिको बाटामा दौडिरहेका थिए । त्यतिखेर उनीहरूको गन्तव्य भ्रमित थियो । त्यतिखेर, माओवादी जनयुद्धका कमान्डर प्रचण्डमा राजासँग मिलेर देश हाँक्ने अभिलाषा नभएको होइन । माओवादी विचारक मानिने मोहन वैद्य अहिलेसम्म पनि कम्बोडियाका राजा नरोदम सिंहानुकबाट प्रभावित रहनु भनेको माओवादी नेतृत्वको तत्कालीन चञ्चल मनस्थितिको संकेत हो ।

जनयुद्धको प्रारम्भदेखि जन–गणतन्त्र नेपालको स्थापनाको उद्देश्य राख्दै आएको माओवादीले सन् २००५ को चुनबाङ बैठकपछि संघीय गणतन्त्र नेपालको स्थापनालाई आफ्नो मुख्य कार्यसूची बनायो । त्यति बेला माओवादी नेताहरूले जन–गणतन्त्र कार्यान्वयनका लागि संरचना नभएको महसुस गरेका थिए । माओवादीहरूलाई मूलधारका दलहरूसँगको सहकार्यबिना नेपालका गाउँहरू मात्रै कब्जा गरेर सफलता हात लाग्दैन भन्ने अनुभूति भैसकेको थियो । तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्रको ‘नेमेसिस’ का रूपमा रहेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र माओवादीबीच सहकार्यका लागि रंगमञ्च तयार भैसकेको थियो । अहिले बुद्धिजीवीहरूले भन्ने गरेजस्तो यो रंगमञ्चको निर्माण भारतको सदाशयबाट मात्रै भएको थिएन । यसमा अमेरिका र युरोपका स्टेकहोल्डरहरू पनि संलग्न थिए ।

प्राचीन देशका रूपमा स्थापित नेपालजस्तो आकारले सानो र धार्मिक–सांस्कृतिक हिसाबले ठूलो देशको व्यवस्थापनमा सबै शक्तिराष्ट्रको चासो हुनु अस्वाभाविक होइन । लामो समयदेखि शक्तिराष्ट्रका नेताहरूबाट पुलपुल्याइँदै आएको राजतन्त्रात्मक देशले संघीय गणतन्त्रको यात्रा सुरु गर्नु सहज थिएन । यो असहज अवस्था राजा ज्ञानेन्द्रको व्यर्थको अभिमानका कारण उत्पन्न भएको थियो । उनको छोटो शासनकाल देशको विकासका लागि अवरोधकका रूपमा देखा पर्‍यो । यो घटनापछि नेपालको राज्यशक्ति कसको कब्जामा छ भन्ने नयाँ प्रश्नको उदय भयो । कुनै पनि देशको संरचनात्मक परिवर्तनका लागि राजनीतिक दलहरू, हिंसात्मक–अहिंसात्मक विभिन्न आन्दोलनहरू, नेपालको हकमा भारत, चीन, अमेरिका र युरोपको तागतले मात्र पुग्दैन । त्यसका लागि आन्तरिक रूपले बलिया रैथानेहरूको भूमिका महत्त्वपूर्ण रहन्छ । नेपालमा मल्लकालभन्दा पहिलेदेखि सत्ताको एकछत्र भोगचलन गर्दै आएको वर्ग यो कुराको निर्णायक हुन्छ ।

संघीय गणतन्त्रको स्थापनापछि परिवर्तनको जग बलियो बनाउन माओवादीसहितका राजनीतिक दलले छिटछिटो पाइला चलाउनुपर्थ्यो । तर, दलहरू आफैं संक्रमणमा थिए । संविधानसभामा झन्डै बहुमत ल्याएर सरकारको नेतृत्वमा पुगेको माओवादीले नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने गूढ सहमति तोडिदियो । यसले नेपाली कांग्रेसलाई मात्र रुष्ट बनाएन, शान्ति प्रक्रियामै असर पार्‍यो । नेपाली कांग्रेस र माओवादीबीच समझदारी कायम रहेको भए संविधानको निर्माण सहज हुने थियो । त्यो असमझदारीले गर्दा संविधानको निर्माणमै एक दशक लाग्यो । आफूलाई देशका धुरन्धर राजनीतिक खेलाडी हौं भन्नेहरू २०७२ सालको भुइँचालोपछि झस्किएका हुन् । भुइँचालो नआएको भए गणतन्त्र नेपालको संविधान निर्माण अझै पर धकेलिने थियो ।

तर, गणतान्त्रिक संविधान बनेर पनि देश राजनीतिक स्थायित्वको बाटामा उन्मुख हुन सकेको छैन । संविधान निर्माणका दस वर्ष नबित्दै देश आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक सबै क्षेत्रमा अस्तव्यस्त भएको छ । जुन केन्द्रीयताविरुद्ध जनताले विद्रोह गरेका थिए, त्यही केन्द्रीयतालाई निरन्तरता दिन ढल्केको स्पष्ट देखिन्छ अहिलेको नेपाली कांग्रेस र वामपन्थी दलको राजनीतिक नेतृत्व । नेपाली कांग्रेसको निर्णायक तहमा रहेका अहिलेका नेताहरूले जानीजानी संघीय संरचनाको अर्थ बुझ्न चाहेका छैनन् । उनीहरूका लागि संघीयता काकताली परेको हो ।

यो कुरा धेरैले अनुभव गरेको हुनुपर्छ- २०४६ को परिवर्तनपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले पञ्चायतको पालादेखि विकेन्द्रीकरणका नाममा चल्दै आएको केन्द्रीकरणको सिद्धान्तकै अनुगमन गर्‍यो । नेपाली कांग्रेसको विकल्पमा आएका वामपन्थीहरूले पनि त्यही नीतिलाई निरन्तरता दिए । निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध गणेशमान सिंहको नेतृत्वमा भएको पहिलो राष्ट्रिय जनआन्दोलनको एक दशक पनि नबित्दै जसरी घटनाक्रम बदलियो, त्यो नाटकीय थियो । त्यो नाटकको पटाक्षेप दोस्रो जनआन्दोलनले पनि गर्न सकेको छैन ।

नेपाली समाजको एउटा वर्ग - जसले आफ्नो स्वर बजारमा चर्काउन सक्छ - ले अहिलेको चातुर्दिक राजनीतिक र आर्थिक असफलताका लागि संघीय संरचनालाई दोषी ठहर्‍याउन लागेको छ । तर, यो असफलता संघीय सिद्धान्तको होइन, राजनीतिक नेतृत्वको हो । यो कुरा सत्य हो, माओवादीले नेपाली कांग्रेसलाई लतार्दै परिवर्तनको बाटामा ल्याएको थियो भने नेपाली कांग्रेसले पनि माओवादीलाई लतार्दै ल्याएको थियो संसदीय लोकतन्त्रको बाटामा । दुवै पार्टी राज्यको रूपान्तरण प्रक्रियामा सहमत थिए । तर, नेपाली राजनीतिमा यस्ता सहमतिहरूले खासै अर्थ नराख्ने रहेछन् । अहिले संघीयताविरुद्ध जुन हाहाकार मच्चिएको छ, त्यसको कुनै अर्थ र औचित्य छैन । नेपालको शासन राजाको दैवी शक्तिका आधारमा हुनुपर्छ भन्ने मान्यता राख्ने सानो समूहले गरेको चर्को हल्लाको खण्डन गर्न देशका राजनीतिक दलहरू अझै सचेत भएका छैनन् ।

अहिले हामीकहाँ जुन संघीय शासन छ, त्यो केन्द्रमै केन्द्रित रहेको संघीय शासन हो । भारतमा जिल्ला मजिस्ट्रेटको व्यवस्था छ भन्दैमा नेपालले उतैको मजिस्ट्रेटजस्तो प्रमुख जिल्ला अधिकारीलाई केन्द्रीय प्रतिनिधिको कार्यभार दिएर प्रत्येक जिल्लामा पठाउनु संघीय चरित्रको उपहास हो । केन्द्रले जबसम्म स्थानीय निकाय र प्रदेश सरकारबीच समन्वयको बाटो समात्दैन, तबसम्म संघीय पद्धति सफल हुँदैन । संघीय शासनले भ्रष्टाचार बढायो भन्दै आँसु खसालेर बिलौना गर्नुको पनि कुनै औचित्य छैन । केन्द्रीय शासनमा रहेका सत्तापक्ष र प्रतिपक्ष नै भ्रष्टाचारको दलदलमा फँसेको अहिलेको अवस्था जटिल छ । सरकारलाई बिचौलियाहरूले घेराबन्दीमा पार्दै लगेका छन् । यो परिस्थितिमा शासनमा सदाचारको कुरा गर्नु नै व्यर्थ छ ।

अहिलेकै अवस्थामा देश श्रीलंकाको जस्तो टाट पल्टिने हैसियतमा त नपुग्ला तर अनाचार जारी रहने हो भने अहिलेका नामी–गिरामी नेताहरू देश छाडेर भाग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । कुरा यति मात्रै हो- अहिले देश चलाउने सत्तापक्ष र प्रतिपक्ष दुवैतिरको नेतृत्वले शासन–प्रशासनमा सदाचार र संघीय संस्कृतिको अपरिहार्यतालाई आत्मसात् गर्न सक्नुपर्छ । उनीहरूले यो बुझ्नुपर्छ- काठमाडौं एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।

प्रकाशित : श्रावण २३, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

यही हो नेपाल, नेपालीको घर

शायरी त शायरी नै हो । हो, शायरीमा संगति मिल्नुपर्छ । तर, संगति मिल्नु नै शायरी होइन । जसरी लय मिल्नु मात्रै जीवन होइन । कहाँ मिलेको छ र लय हाम्रो जीवनमा ? जीवनको लय प्रत्येक पल, प्रत्येक दिन हराउँदै गएको छ ।
किशोर नेपाल

मनमा मुरीका मुरी माया भए पनि मैले मुख खोलेर स्पष्ट भन्न नसकेको एउटा शब्द थियो– मायालु । त्यो एउटा शब्दले दिने सम्पूर्ण अर्थ फरक थियो । अलिकति दार्शनिक र अलिकति भावनात्मक पनि : मेरो नजरमा तिमी सृष्टिको अनुपम सिर्जना हौ ।

‘अनुपम र सुन्दरी शब्द एकअर्कासँग ‘कम्प्याटिवल’ छैनन् । अनुपम त सिर्जना हुन्छ, मेरी आमा !,’ तर्कको एउटा शृंखला सम्झिन्छु अहिले । मेरो तर्क हुन्थ्यो, नेपाली भाषा र साहित्य पढाउनु हुने रत्नकुमारी गुरुमासँग । धेरै पटक विवाद गरेको थिएँ मैले । पछि गुरुमाले पनि स्वीकार गर्नुभएको थियो– हो नि, अनुपमको वृत्तमा सिर्जना पो महत्त्वपूर्ण हुन्छ । सौन्दर्य त पहिले दरबारका अन्तपुरहरूमा, घरका बैठक–कोठाहरूमा छाएको थियो भने अहिले पार्लरहरूमा फक्रिएको छ ।

त्यो एउटा कुरा सम्झ न । मैले ‘त्यो एउटा कुरा’ सुनाउनेबित्तिकै कति ‘खुसी’ भएकी थियौ तिमी । पहिलो निमेषमा त तिमीले मेरो कुरा पत्याइनौ । बडो आरामसँग आफ्नै शैलीमा भन्यौ, ‘झुट्टै’ । त्यो वातावरणबाट एकैछिन अलिकति परतिर पन्छिन पनि खोज्यौ । एकछिन पछि मैले देखें, तिमी साँच्चै सृष्टिको अनुपम सिर्जनाका रूपमा चहकिएकी छौ । त्यो चहकिलो खुसी बिस्तारै तिम्रो आभा–मण्डलमा समेटिएर टल्किन थालेको छ । बडो रमाइलो मानेर डुबेको छु म त्यो अप्रतीम दृश्यमा, सर्वचेतन मनले, आनन्दित ।

त्योबेला आफ्नो आँखाको कुना–कुनाबाट मैले छिनछिनमा तिमीलाई चियाइरहें । बेलाबेलामा तिमी नजानिँदो पाराले मसक्क मस्किएको दृश्य त झन् आँखा र मन दुवैतिर जम्मा भई नै रहेको थियो । मस्किनु ठूलो कुरा थिएन । कसरी र कुन हिसाबले मस्किने ? यो महत्त्वपूर्ण थियो ।

कति रमाइलो ! शायर मोजीको उर्दू शायरी

जस्तो : ‘दिलके आइनेमें है तस्वीर–ए–यार, जब जरा गर्धन झुकाली देखली ।’

शायरीका पंक्ति गद्यमा लेखिएका कविताजस्ता छन् । कवितामा लय र संगति मिलेको देखिँदैन । तर, शायरी सुहाएको छ । संगीतले, स्वरको माधुर्यले, ‘अदा’ ले । शायरी त शायरी नै हो । हो, शायरीमा संगति मिल्नुपर्छ । तर, संगति मिल्नु नै शायरी होइन । जसरी लय मिल्नु मात्रै जीवन होइन । कहाँ मिलेको छ र लय हाम्रो जीवनमा ? जीवनको लय प्रत्येक पल, प्रत्येक दिन हराउँदै गएको छ ।

तिमी मस्किएको बेला तिमीले थाहा नपाउने गरी चियाएर तिमीलाई हेर्नु मेरो आनन्द हो । त्यो मेरो आँखाको होइन मनको आनन्द हो । मनको मात्रै आनन्द पनि होइन आत्माको आनन्द हो त्यो । मानिस जीवनभर आनन्दमा डुब्न चाहन्छ । जति जति म आनन्दको गहिराइमा पुग्छु त्यति त्यति भावहरूको निरन्तर प्रवाहमा निथ्रुक्क भिज्न थाल्छु । कहिलेकाहीं यो कुरा तिमीले थाहा पाएकी छैनौ कि जस्तो लाग्छ । तर, कति कतिबेला तिमी आफ्नै सुरमा, आफ्नो ज्ञान र अनुभवको पिटारा खोलेर मान्छेका भावनाको पोल खोल्न थाल्छ्यौ । त्यो मेरा लागि निकै रमाइलो पल हुन्छ ।

म आफैंलाई थाहा छैन अनुपम सिर्जनाको अभिव्यक्ति पछिको यो आनन्द कस्तो आनन्द हो ? म यो आनन्दलाई शब्दमा व्यक्त गर्न सक्दिनँ । परमात्मा र परमानन्दलाई शब्दमा अभिव्यक्त गर्नु कठिन हुन्छ । बरु यो अव्यक्त नै रहोस् । कसैले यसको पोल नखोलोस् । त्यही नै राम्रो हुन्छ । तिमीलाई सृष्टिको अनुपम सिर्जना भनिसकेपछि त्यसमा ‘कैफियत’ जनाएर अरू थप विवरण किन दिनुपर्‍यो ? प्रेमका अनन्त स्पर्शहरूलाई उदांगो पार्दै जाने हो भने अन्ततः के बच्छ र जीवनमा ?

अनुपम सिर्जनाका फूलहरूको पत्ता गनेर पनि साध्य लाग्छ र ?

जब जरा गर्धन झुकाली देखली !

मेरा लागि गाउँ एउटा कोलाज हो । त्यसो त यो मेरो देश नै गाउँहरूको एउटा सामूहिक कोलाज हो । हामी जतिखेर गाउँको ‘कोलाज’ भित्र हुन्छौं अलग प्रकारको सौन्दर्य चेतनामा डुबेका हुन्छौं । गाउँमा दुःख छ, कष्ट छ । तर, सत्य र स्वाभिमान पनि जसोतसो गाउँमै टिकेको छ अहिलेसम्म । ‘प्लटिङ’ उद्योगले भत्काउँदै लगेको छ गाउँको सभ्यता । माटोको माया पातलिएको छ । आँसुले भिजेको गाउँलाई खोतल्ने समय नै छैन मानिससँग । इतिहासको नाममा गाउँमा कहिले मकरानन्दका तीन जना छोरीहरूको चर्चा हुन्छ, जो अचानक नै गाउँबाट हराएका थिए । अहिलेजस्तो वैदेशिक रोजगारको समय थिएन त्यो । मानिसको मूल्य निर्धारित भइसकेको थिएन । कहाँ हराए ? त्यो समयमा हराएका मानिसको खोजी पनि कहाँ गर्नु र ? बाटो–घाटो केही थिएन । पहाडको एक लहरमा पहिरो र अर्को लहरमा बाटो । खासै खोजी भएन । दुइ–चार दिन हल्ला भयो । लास फेला परेन । अहिलेसम्म ती तीन छोरीहरूको किरिया–कर्म भएको छैन । जान्ने–सुन्ने पण्डित र पुरोहित भन्दै थिए– शास्त्रले लास नपाएसम्म कसैको पनि किरिया गर्न निषेध गरेको छ । किरिया नगरेसम्म मृतात्मा प्रेत बनेर गाउँघरमा आउँछ । परिवारका सदस्यहरूलाई दुःख दिन्छ ।

कसैले प्वाक्क सोध्यो– मानिस त प्रेत बन्छन् । अनि स्वास्नी मानिसचाहिँ के बन्छन् नि ? प्रेतनी ? जान्ने–सुन्ने मानिएका एक जनाले प्रश्नको जवाफ दिँदै भने– त्यो त थाहा छैन । तर, स्वास्नी मानिस किचकन्नीको अवतारमा आएको र दुःख दिएको अहिलेसम्म थाहा पाएको छैन मैले ।

अहिलेको गाउँको मुहार फेरिएको छ । दुःखलाई पोलिस्टरको टिसर्टभित्र लुकाएर सुखको अनूभूति प्रकट गर्न थालेका छन् मानिसहरू । कछाडको सट्टा कट्टु लगाउनुपरेको छ । बजारमा कछाड नपाइने होइन, ती महँगा छन् । बूढापाकालाई बकेर्नु भैंसी दुहुँदैमा फुर्सद छैन । दूध दिन छाडेपछि भैंसी पाल्ने जाँगर हुँदैन मानिसमा । भैंसीले राँगो खोजेको बेला कता लैजानु ? त्यसपछिको स्याहार कसले गर्नु ? घाँस–पात, कुँडो–भुस्सा, भकारो । कामको त के दुःख भयो र !

गाउँका तन्नेरी नर र नारी यात्राको होडबाजीमा छन् । नारी बढी हौसिएका र हतारिएका छन् कुवेत–कतार गएर पैसा कमाउन । उनीहरूले मोबाइलमा सुनेका छन् र फेसबुकमा हेरेका छन्– यहाँ गाउँमा हामीले कोदोको बिस्कुन सुकाएजस्तो त कतार र कुवेततिर डलर र दिनारको बिस्कुन सुकाउँछन् रे !

उनीहरूको कुरा सुन्यौ भने तिमी फिस्स हाँस्नेछ्यौ । यो जमानामा पनि मानिस कति अवोध छन् ! उसो त तिमीलाई पनि गाउँले नतानेको होइन । यो पहाडी गाउँको वातावरणले भन्दा पनि यहाँका अवोध बासिन्दाको अज्ञानले तिमीलाई अलिकति उद्विग्न बनाएको हुनुपर्छ । अन्यथा तिमी खुसी छ्यौ । साँझ पर्न लागेको छ र पनि हाम्रो यात्रा जारी नै रहेको छ । भन्नु पर्दैन, गोधूलि साँझमा तिमी अझ जगमगाएकी छ्यौ । अँध्यारो बाक्लिँदै जाँदा तिम्रो अनुहारको चमक झन्झन् बढेको छ ।

हामी अब ठाडै ओर्लिंदै छौं लेकबाट बेंसीतिर ।

कुनै बेला एउटा गीत थियो खुब चल्तीको, ‘लेककी ठिटी बेंसीमा आई किन लायौ माया ठ्याम्मै, लौ भन

नढाँटी !’ अहिले त मानिसलाई यस्ता गीतको सम्झना पनि छैन होला । यस्तो गीत टिकटकमा चल्छ कि चल्दैन ? अचेल रेडियो पनि त कसैले सुन्दैन ।

तिमीलाई पहाडले थिच्यो । तिमीलाई गाउँको निष्पट्ट कालो अन्धकारले थिच्यो । तैपनि तिमीलाई डर लागेन । उता सरकार विदेशतिर उज्यालो निर्यात गरेर रमाउँदै छ । यता देशमा उज्यालो दिनभरि ड्रिप गरिरहन्छ । गाउँमा कष्टहरूको थुप्रो लागेको छ । सरकार आफ्नै सजिलोका लागि गाउँमा होइन शहरमा शासन गर्छ । समाजवाद यसैलाई भनिदिए हुन्छ ।

तिम्रो अनुहारमा थकान देखिएको छ अलिकति । त्यो थकानलाई तिम्रो इच्छाशक्तिले थिचेको छ । त्यसैले त तिमी अनुपम छौ । त्यसैले हो तिमीले आफ्नो शरीरको थकानलाई सजिलै दबाएकी छ्यौ । थकानलाई आफ्नै हिसाबले, आफूलाई चाहिएको समयसम्म इन्कार गर्ने तिम्रो शक्ति देखेर म लोभिएको छु ।

तिमीलाई गाउँ मनपर्छ । मलाई गाउँ मनपर्छ । देश गाउँकै समूहले बनेको छ । हाम्रा गाउँहरू ‘लाउड’ छैनन् । मोहभंगको स्थितिमा छन् हाम्रा गाउँहरू अहिले । भारतमा जस्तो किसानले आत्महत्या नै गर्नुपर्ने अवस्था देखिँदैन । तर, एउटा अंग्रेजी शब्द छ नि ‘सर्भाइभल’, त्यो नै जटिल भएको छ । तिमीले त राम्ररी बुझेकी छ्यौ, यो

रेमिट्यान्सको राजनीति कति खतरनाक हुन्छ ! यसले सबभन्दा पहिले व्यक्तिको अस्मितालाई सिध्याउँछ । त्यसपछि परिवार, खेतीपाती, नातागोता, इष्टमित्र – सबैलाई एकएक गरेर एकअर्कासँग पृथक् बनाइदिन्छ । रेमिट्यान्सले कुनै पनि देश सुधि्रँदैन । रेमिट्यान्समाथिको अति निर्भरताले श्रीलंका डुब्यो । फेरि पनि साहुजीहरू भन्छन्– श्रीलंकाले कमाउँछ । तर, एकपटक टाट पल्टिइसकेपछि फेरी उठ्नु त्यति सजिलो पक्कै छैन ।

के भन्छ्यौ तिमी गाउँ र शहरको निर्मम तुलना गर्नुपर्‍यो भने ? अचेल गाउँमा सुनाखरी पाइँदैन । गाउँलेले आफ्नो प्राकृतिक सौन्दर्य जसोतसो धानेका छन् । गाउँमा जिपलाइन खुलेका छन् र चलेका पनि छन् । तर, गाउँका कति जनाले यो जिपलाइनको ‘लुत्फ’ उठाएका होलान् ?

तिमी ज्ञानी छौ । ज्ञानी भएपछि मानिस अलिकति अभिमानी हुन्छ । अलिकति स्वाभिमानी पनि हुन्छ । तिमीमा आफूले मात्र जानेको भाव छैन । जो जति धेरै जान्दछन्, ती त्यति नै धेरै चिप्लिन्छन् । यो हाम्रो देशको चलन हो । हामीले आठ हजार वर्ष पुरानो सभ्यता र संस्कृतिको विसात थामेका छौं । हामी अहिलेसम्म पनि दिनहुँ काल भैरवलाई जल चढाउँदैछौं । हनुमानढोका कुरेर बसेका परेवालाई दाना खुवाउँदैछौं । राजदरबारको ढोकामा पहरेदारी गरेर बसेका पवनपुत्र हनुमानजीलाई मोतीचूरको लड्डु चढाउँदैछौं ।

समय घर्किंदो छ । म शायर ‘मोजी’ को शायरी सम्झिँदै छु :

‘दिल के आइने में है तस्वीर–ए–यार, जब जरा गर्धन झुकाली देखली ।’

प्रकाशित : असार ३२, २०७९ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×