१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कैदीबन्दी महिलाका समस्या समाधान गर

सम्पादकीय

नेपालका कारागारहरू यसै पनि जोखिमगृहजस्ता छन् । कारागार व्यवस्थापन विभागकै प्रतिवेदन अनुसार देशका ७४ मध्ये आधाभन्दा बढी कारागार भत्किने अवस्थामा छन् । कतिमा छाना चुहिन्छ, कतिका भित्ता चिराचिरा परेका छन्; राति पानी परेका बेला कैदीबन्दी जाग्राम बस्नुपर्ने अवस्था छ । कैदीबन्दी मात्र होइन, कर्मचारी र सुरक्षाकर्मीसमेत धरापमा छन् । हरहिसाबले जीर्ण कारागारहरू महिलाका लागि त झनै यातनागृहजस्तै छन् । व्यक्तिगत सरसफाइका लागि पानी र शौचालयको तनाव उनीहरूले नै बढी झेल्नुपर्छ । महिनावारी हुँदा सेनिटरी प्याड र औषधि अभावले उनीहरूलाई सताउने गरेको छ ।

कैदीबन्दी महिलाका समस्या समाधान गर

कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका जेलमा करिब ७ सय महिला कैदी र ६ सयभन्दा बढी महिला थुनुवा छन्, उनीहरू सबैजसोका समस्या उस्तै छन् । कतिपय यौन तथा प्रजनन स्वास्थ्यका समस्यासँग जुधिरहे पनि उपचारबाट वञ्चित छन् । कारागार प्रशासनमा प्रायः पुरुष मात्रै हुँदा कति महिलाहरू आफ्नो समस्या निर्धक्क सुनाउनसम्म सक्दैनन् । स्त्रीरोग सम्बन्धी समस्या देखिँदा पनि परीक्षण गराउने व्यवस्था मिलाइदिनका लागि पुरुष प्रशासकहरूलाई भन्न संकोच मान्दा उनीहरू व्यथा बोकेरै कारागारभित्र गुम्सिन बाध्य छन् । कतिसम्म भने, महिनावारी हुँदा सेनिटरी प्याड मगाउनसम्म धक मान्छन् । प्याड अभावमा कतिले लगाउने कपडा च्यातेर समेत टालो बनाई प्रयोग गर्ने गरेका छन् । महिनावारीका बेला कतिपयलाई दुखाइ कम गर्ने औषधि आवश्यक पर्छ, जसको अभावमा उनीहरूले पीडा सहेरै चार दिन कटाउँछन् । जेल प्रशासनहरू थोरै मात्र संवेदनशील हुने हो भने यो समस्या सजिलै समाधान गर्न सकिन्छ, यसबारे गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागले ध्यान दिनुपर्छ ।

कारागार प्रशासनले कैदीबन्दीको नियमित जाँचका लागि महिला स्वास्थ्यकर्मीलाई पनि खटाउने प्रबन्ध मिलाउन सके महिला कैदीबन्दीले खुलेर आफ्ना समस्या बताउन सक्छन् । सेनिटरी प्याडजस्ता आवश्यक सामग्रीहरूको जोहो भने कारागार प्रशासनले आफैं समस्या बुझेर पनि गर्नुपर्छ । यस्ता सामग्रीहरू चाहिएमा वा कुनै स्वास्थ्य समस्या परेमा निर्धक्कसँग माग्नू भनेर कैदीबन्दीलाई भन्नुपर्छ । पुरुष कर्मचारी तथा सुरक्षाकर्मीसितै पनि महिलाले आफ्नो समस्या बताउन सक्ने वातावरण कारागार प्रशासनले सृजना गर्नुपर्छ ।

शौचालय प्रायः जेलका सबै कैदीबन्दीको साझा समस्या हो, जुन महिनावारी भएका महिलाहरूका लागि अझ सकसपूर्ण छ । त्यसमाथि पानी नहुँदा झनै समस्या थपिन्छ । अझ, कति जेलमा महिनावारीका बेला महिलाले छोइछिटो पनि बार्नुपर्छ, शौचालय अभाव भएका साँघुरा जेलहरूमा यो कुरीतिले अर्को समस्या थपेको छ । सरसफाइ र नियमित स्वास्थ्योपचार अभावमा कतिपय महिलामा पिसाब संक्रमण लगायतका समस्या थपिएका छन्, जुन चिन्ताको विषय हो । महिनावारीका बेला ख्याल नगर्दा संक्रमण बढ्दै गएर पाठेघरको मुखको संक्रमण र क्यान्सर लगायत रोगको जोखिम हुन्छ । महिनावारीको शारीरिक पीडा र पानी–शौचालय र सेनिटरी प्याड अभावले सताउँदा महिलामा ‘डिप्रेसन’ हुने जोखिम पनि हुन्छ । त्यसैले यी समस्याहरूप्रति कारागार प्रशासन गम्भीर बन्नुपर्छ । विद्यालयका छात्राहरूलाई जस्तै सरकारले कैदीबन्दी महिलाका लागि समेत सेनिटरी प्याड निःशुल्क वितरण गर्ने कार्यक्रम सञ्चालन गरे पनि जेलभित्रको एउटा ठूलो समस्या हल हुन्छ ।

कुनै कसुरमा दोषी ठहरिएका कैदी होऊन् या पुर्पक्षका क्रममा थुनिएका बन्दीहरू, हरेकलाई कारागारभित्र न्यूनतम मानवोचित जीवन जिउने हक हुन्छ । तर नेपालका अधिकांश कारागारका भौतिक अवस्था र व्यवस्थापकीय पक्षले कैदीबन्दीको त्यो अधिकारको संरक्षण गर्दैनन्, गरेका छैनन् । महिलाहरूका हकमा त झनै गरेका छैनन् । सबै कैदीबन्दीका निम्ति कारागार कुनै यातनालय नभएर सुधारगृह हो । त्यहाँ उनीहरूलाई मानवोचित व्यवहार र वातावरण प्रदान गर्नुपर्छ । राज्यको असंवेदनशीलताका कारण त्यहीँभित्रबाट उनीहरूमा थप रोग पलाउने अवस्था आउन दिनु हुँदैन । त्यसैले सरकारले महिला कैदीबन्दीको संख्या र समस्या विचार गरेर उनीहरूको यौन तथा प्रजनन स्वास्थ्यबारे छुट्टै नीतिगत व्यवस्था नै गर्न आवश्यक छ, जसले उनीहरूले भोग्नुपरिरहेका समस्याहरू सम्बोधन गर्न सकोस् ।

प्रकाशित : श्रावण १९, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?